Thursday, September 30, 2021

लघुकथा– विचार र अनुभूति –नन्दलाल आचार्य

लघुकथा– विचार र अनुभूति
–नन्दलाल आचार्य


एक पटक यस सृष्टिको कल्याणका खातिर भन्दै दुई शत्रु बीच आमनेसामने भएर अन्तरक्रिया भएको थियो ।
‘एई, तँ मान्छेलाई अलमल्याउन माहिर छस् । वर्तमानलाई ओल्टाईपल्टाई गरेर पनि जीवन चल्छ र ?’
शत्रु–१ को विचार सुनेर शत्रु–२ को अनुभूति केहीबेर अलमलमा प¥यो । उसले शत्रु–१ का कुरामा निकैबेर गम खायो । केहीबेरमै उसलाई दिव्यज्ञान प्राप्त भएझैँ लाग्यो । आफूले आफ्नै स्वभाव कुल्चेको ठहर भयो र तुरुन्तै सतर्क बन्यो ।
‘मेरो प्रश्नको जवाफ दिन नसके मसँग नै लम्पसार परेर क्षमा माग्दा भइगयो नि ! किन आलटाल गरिराख्नु प¥यो ?’
शत्रु–१ कोे व्यङ्गयात्मक विचार र कटु कुरा सुनेर शत्रु–२ को अनुभूतिलाई खपिनसक्नु भयो । भित्री मनदेखि नै रिस उम्लेर आयो ।
रिसाउनु र रिस प्रकट गर्नु शत्रु–१ को काम हो; आफ्नो हुँदै होइन भन्ने सोचेर शत्रु–२ ले सहजभावमा भन्यो; ‘सरी, अहिले केहीबेरलाई छुट छ भन्दैमा मख्ख नपर । म र तिमी बीच आकाश–जमीनको सम्बन्ध छ । म भए ठाउँमा तिम्रो प्रवेश निषेध छ । तिमीकहाँ म आफ्नो स्वभाव लिएर जाने कुरै आउन्न ।’
शत्रु–१ सोचमा डुबेकै बखत शत्रु–२ को अर्को स्वर थपिएको थियो; ‘तिमी मनुष्यलाई दास बनाउँछौ अर्थात् कैद गर्छौ । म मनुष्यलाई सम्पूर्ण रूपले दासत्वबाट मुक्ति दिलाउँछु ।’
अन्ततः दुबैको अन्तरक्रियाबाट मनुष्यलाई बाहिरी जगत् शत्रु–१ ले विचरण गराउने कुरा भयो । भित्री जगत् भने शत्रु–२ ले घुमाउने निचोड निस्कियो । यसै कुरामा ल्याप्चे लगाएर उनीहरू दुबै आआफ्नो स्थानमा रवाना भए । 
ती दुई थिए– शत्रु–१ को भूमिकामा मनुष्यको ‘विचार’ र शत्रु–२ चाहिँ मनुष्यको ‘अनुभूति’ ।

२०७८–०६–१५

प्रतियोगी गजल - नन्दलाल आचार्य

प्रतियोगी गजल
- नन्दलाल आचार्य


बिरुवा बदलिएर अत्तर भयो
भगवान् फेरिएर पत्थर भयो ।

चर्को उत्पात मच्चाएर बल्ल
मनभरिको आँधी मत्थर भयो ।

सन्त्रासले सदैव थरथर पार्थ्यो
सन्तोष घर पस्दा जन्तर भयो ।

तिमी आउना साथ ब्यथा हटेर
शिरखाने दर्द फुमन्तर भयो ।

समान युगमा सबै एकै भन्छन्
नर र नारी किन अन्तर भयो ?

-उदयपुर
  



Laxmi Rijal

Wednesday, September 29, 2021

बाल-लघुकथा-- चलाखी --नन्दलाल आचार्य


बाल-लघुकथा-- चलाखी
--नन्दलाल आचार्य


‘दिमागले भन्दा हृदयले लेखेको सिर्जना चिरकालपर्यन्त जीवन्त रहन्छ ।’
कक्षाबाट बाहिरिँनै लाग्दा कक्षा ११ का विद्यार्थीलाई नेपाली गुरुले भन्नुभएको थियो । विद्यार्थीलाई सिर्जनात्मक कार्यअन्तर्गत कथा लेखेर ल्याउन गृहकार्य समेत दिनुभएको थियो ।
म लघुकथा लेख्ने निर्णयमा पुगेँ । यसको बनोट र बुनोट बारे कुरा खेलाउँदै घर आइपुगेँ । रातभर दिमागले सोच्छु, भोलिपल्ट शनिबार हुदयले लेख्छु भनेर थन्काएँ ।

खाना खाएपश्चात् रातमा सोचेको कथावस्तु रैखिक ढाँचामा सरासर लेखेँ । त्यसपछि लघुकथाका अनिवार्य तत्त्वहरू मनमा गुनेँ । रफ रूपमा लेखिएको कथामा कथावस्तु, पात्र, दृष्टिबिन्दु, लघुत्व, सूत्रता, तिक्ष्णता, बक्ररेखीय तीव्र बहाव, सौन्दर्य, शिल्प, रसनिदानजस्ता कुराहरूको तारतम्य भए नभएको जाँच गरेँ । कथावस्तु अनुरूप थपघट गरेँ । 
 
त्यसपछि कथानकमा सार्थक उठान गर्ने, सङ्घर्ष आरम्भ गर्ने, सङ्घर्षको चरम सीमामा पुग्ने, संघर्षको विस्तारै ह्रास गर्ने र अर्थपूर्ण तवरले कथाको अन्त्य गरी पाठकको मनलाई झङ्कृत गर्ने कुरामा यथोचित ध्यान पु¥याएँ । यस किसिमका कुरामा  हेक्का पु¥याउँन दिमाग मात्रै क्रियाशील भएको पाएँ । कथानक, पात्र, द्वन्द्व, परिवेश, भाषाशैलीमा कतैकतै हृदयलाई प्रवेश गराउन खोजेँ । यसरी कथा लेखेर सिद्धयाएँ ।

आमाले सुकुल ओछ्याइदिँदै भन्नुभएको सम्झेँ, ‘बिस्कुन रुँग्दै पढ् है छोरा । चार डाला धानमा एक माना पनि यताउती होला नि !’
  गाउँभरिकै परेवाहरू धुइरेर एक डालो बिस्कुन सखाप पारेछन् । मनमा ढ्याङ्ग्रो बज्न थाल्यो । उड्दै गरेका ती परेवा शत्रुजस्ता देखेँ । आफैँ उभिएको धर्ती फनफनी घुमेको भेटेँे । टन्टलापुर घामले जिस्क्याएको पाएँ ।

तुरुन्तै भकारीबाट एक डालो धान ल्याएर बिस्कुनमा थपेँ र चयनको सास फेरेँ ।

२०७८.०७.१४ उदयपुर ।





Laxmi Rijal

लघुकथा– शिखाको शक्ति –नन्दलाल आचार्य

लघुकथा– शिखाको शक्ति
–नन्दलाल आचार्य


‘एई पण्डित ! तिमी मलाई शासनशैली नसिकाऊ । आफ्नो पण्डित्याइँ गरेर जनता उल्लू बनाउन छुट पाएकै छौ । जाऊ उल्लू अभियानमा सरिक भएर पुख्र्यौली परम्परा चलाऊ ।’

राजा धनानन्दको कुरा सुनेर चाणक्यको अन्तस्करणमा ठूलो चोट लाग्यो । उनी संसार विजय गर्ने सिकन्दरको अभियानबाट त्रस्त थिए । उनले अखण्ड भारतको परिकल्पना गरेका थिए । शक्तिशाली तर न्यायप्रेमी राजाको छत्रछहारी पाउन सके मात्र जनता सुखी हुन्छन् भन्ने उनको सोच थियो । आफ्ना राजा धनानन्द जनता बीच अलोकप्रिय भएकोमा उनको मनमा आँधी चलिरहेको थियो ।

आफ्नो मनको असन्तोष सुनाउने इरादाले उनले राजा समक्ष पुनः आग्रह गरेका थिए, ‘महाराज, जनताबाट कर लिनुपर्छ र त्यसको उपयोग जनताकै सुखसुविधामा लगाउनुपर्छ ।’

राजाले प्रत्युत्तर नदिई सोचमग्न भएकै बेला उनले थपेका थिए, ‘तर यहाँ जनताले तिरेको कर राजसंस्थाको विलासितामा खर्च हुन्छ । जनताको आँसु र खुनको दुरुपयोग गरिरहे त्यस शासकको मात्रै हैन उसका सन्ततिको समेत भलो हुँदैन ।’

राजा रिसले चुर हुँदै गलहत्याएर सभाबाट निकाल्न घचेट्दा चाणक्य भुइँमा पछारिए । लड्दा टाउकोमा बेरिराखेको शिखा फुस्यो । त्यही शिखालाई सुम्सुम्याउँदै उनले भनेका थिए, ‘राजा धनानन्द, आजैका दिनदेखि तिम्रो मगध शासनमा धमिरा पस्यो । तिमीलाई सत्ताको मात चढेछ । तिमीलाई सत्ताच्युत नगरी म यो शिखा समेट्दै समेट्तिनँ ।’
त्यसपछि उनले १८ वर्षे चन्द्रगुप्तलाई प्रशिक्षित पारे । तिनै चन्द्रगुप्तले धर्मानन्दलाई सत्ताच्युत गरे । अन्ततः राजाको रूपमा चन्द्रगुप्त र प्रधानमन्त्रीको रूपमा चाणक्यले मगधको सत्ता समाले ।

२०७८–०६–१३ गोलबजार, सिरहा ।


Laxmi Rijal

Tuesday, September 28, 2021

लघुकथा– बुझाइ नन्दलाल आचार्य

लघुकथा– बुझाइ
---नन्दलाल आचार्य
‘बाबा, हजुर एक ठाममा पुगेसी जहिल्यै नमस्कार गरिसिन्छ । हजुरको यो बानी देख्दा मलाई मिसको सम्झना झल्झली आउँछ ।’

मर्निङ वाकमा जाँदाको समय स्मरण गर्दै मैले बाबालाई भनेको थिएँ । त्यसबेला म फुच्चेका कुरालाई उत्ति साह्रो महत्त्व दिनुभएको थिएन । मैले पनि त्यसबारे पुनः तत्कालै कुरा झिकिनँ । 

अर्को दिन मर्निङ वाकबाट घर फर्किँदा उहाँले प्रश्न राख्नुभएको थियो, ‘छोरा, मैले नमस्कार गर्दा तिम्री मिसको याद कसरी आयो ?’

मिसले कक्षामा पढाउँदा सम्झाएको कुरा स्मरण गर्दै भनेको थिएँ, ‘हामीलाई गुण लगाउने प्रति कृतघ्न हुनु जत्तिको मानवताहीन कुरो संसारमा अर्को केही छैन । कृतज्ञता प्रकट गर्ने मानवको स्वभाव हुनुपर्छ ।’
‘त्यो हो त हो केटा । आफूलाई उपकार गर्नेको उपकार सोच्नु मान्छेको सोच हुनैपर्छ । यत्ति गर्न सके मात्रै मानव धर्म बाँच्छ र अस्तित्वमा टिकिरहन्छ ।’

बाबाको गम्भीर कुरा मेरो मगजमा घुस्दै  घुुसेन । म ट्वाल्ल परिरहेको देखेर उहाँ वर्णन गर्न तम्सिनुभएको थियो, ‘तिमीले भनेको ठाउँमा मैले नमस्कार गर्नु हाम्रो सनातनी परम्परा हो । हिन्दू संस्कृतिको सोच र अमूल्य संस्कार हो । किनभने त्यहाँ शिवजीको मन्दिर छ ।’

बाबाका कुरा काट्दै मैले खुलस्त पारेको थिएँ, ‘ए बाबा, हाम्री मिसले त्यसो भन्नुभा थिएन । बोटबिरुवाले बाँच्दा पनि मर्दा पनि हर्दम हाम्रै सेवा गरेर गुन लगाएका हुन्छन् । हजुरले तिनीहरूको गुनप्रति कृतज्ञता प्रकट गरिसिएको पो ठानेको थिएँ ।’ 

२०७८–०६–१३ बुधबार । गोलबजार, सिरहा ।



Laxmi Rijal

लघुकथा– याद कथाकार–कृष्ण तिमिल्सिना


लघुकथा– याद    
 कथाकार–कृष्ण तिमिल्सिना

‘म तिमीलाई आज मार्दै छु तर तिमी एक जनालाई आफूसँग लान सक्छौ ।’ एकाएक यमदूत प्रकट भएर एक जवान युवकलाई भने ।
युवक सोचमा पर्न नपाउँदै यमदूतले थपे, ‘भन, आमाबुवा, साथीभाइ, दिदीबहिनी, आफ्नी प्रेमिकामध्ये कसलाई साथमा लान चाहन्छौ ।’
युवक आश्चर्यमा प¥यो । यमदूतले फेरि भने, ‘भन, चाँडो भन । यस्तो मौका सबैले पाउँदैनन् ।’
युवक नाजवाफ भएर सोचमा अल्झिरह्यो ।
‘के सोचेको युवक ? यस नश्वर धर्तीमा मर्न त एकदिन सबैले पर्छ नै । तसर्थ डराउनु पर्दैन ? कि नेताको जस्तै ‘तँ आउँदा मोही पाइनस् तेरो कमारो पठाइदे दूध दिऊँला’ भनेर मलाई पनि आश्वासनका साथ फर्काउन खोज्दै छौ ?’ यमदूत केही रुखो स्वर निकाले ।
युवकले पनि हिम्मत गर्दै भनेछ, ‘मलाई सबै जना प्यारा लाग्छन् । त्यसैले मलाई उनीहरूको दिमागबाट मेरा सबै यादहरू मसँगै लान दिनुस् । मेरो याद कसैलाई नआउने होस् ।’
कंचनरूप नगरपालिका– १२, प्रगतिटोल, रूपनगर, सप्तरी २०७८–०६–१३
(पुनर्लेखन÷परिमार्जन–नन्दलाल आचार्य)


2090.03.27

Laxmi Rijal

Friday, September 24, 2021

लघुकथा- सरम -नन्दलाल आचार्य

लघुकथा- सरम
-नन्दलाल आचार्य


‘सिर्जनाको सिर्जनशीलता किन ओइलिएको अचेल ? तपैँहरूको के स्पष्टीकरण छ ? बुझूँ न ।’
प्रधानाध्यापकको प्रश्नले शिक्षकहरू सकसमा परेका थिए । किनभने दश कक्षाकी प्रथम विद्यार्थी सिर्जना विद्यालय नियमित आउँथिन् । सबै शिक्षकहरूकी आँखाकी नानी थिइन् । शिक्षकले पढाउँदा ध्यान दिएर सुन्थिन् । सहकर्मी साथीहरूलाई सोधेको प्रश्नको जवाफमा समेत एक चित्त लगाउँथिन् । 
शिक्षकहरूले उत्कृष्ट ग्रेड ल्याएर सिर्जनाले एसइई परीक्षामा विद्यालयको इज्जत जोगाउने छिन् भन्ने आशा राखेका थिए । यद्यपि प्रथम त्रैमासिक परीक्षाको रिजल्ट हेरेर निरास थिए । परीक्षा परिमाणलाई सुधार गर्ने विषयमा छलफल हुँदै थियो ।
‘केही विषयमा साह्रै कमजोरी देखियो । सिर्जना त अघिको अघि हुनुपर्ने हो, तपैँहरूलाई प्रश्न सोध्दिनन् ? उनको स्तर पनि खस्केको देखियो । कार्यमूलक अनुसन्धान गर्नुपर्ने भो ।’ 
प्रधानाध्यापकले अङ्ग्रेजी पढाउने राजकुमार शिक्षकतिर फर्केर भने । राजकुमार चिन्तामा डुबे । कक्षामा पुगेर छलफल चलाए । चित्त बुझ्दो कारण फेला परेन । 
अभिभावकहरूसँग भेटघाट गरे र केही समस्याहरू महसुस गरे । आफूबाट समाधान गर्नसक्ने कुरामा सचेत भए । व्याख्यान विधिको प्रयोगमा कमी ल्याए । प्रयोगात्मक विधिमा सबैलाई सक्रिय पार्न खोजे । केही मात्रामा सुधार अवश्य भयो तर कसैले प्रश्न सोध्दै सोधेनन् । अझै समस्याको जरो पत्ता नलाग्दा राजकुमारको चिन्ता कम भएन ।
मिल्ने साथीसँगीहरूसँगको गोप्य छलफलबाट राजकुमारले खुलस्त थाहा पाए । शिक्षकले पढाइसकेपछि ‘बुझ्यौ ?’ भनेर प्रश्न गर्दा रहेछन् । केही केटाहरू ‘बुझिनँ’ भनेर जान्न खोज्ने विद्यार्थीलाई ‘पढनदास’ भनेर जिस्क्याउँदा रहेछन् । त्यसैले नबुझे पनि ‘बुझेँ’ भन्न वाध्य भएका रहेछन् ।’ 


२०७७.०६.०९

Laxmi Rijal

लघुकथा- भावी वैज्ञानिक -- नन्दलाल आचार्य

लघुकथा- भावी वैज्ञानिक
नन्दलाल आचार्य


स्कुल छुट्टी भएपछि कतै नअलमलिई नरेश घर फर्कन्थ्यो । भान्सामा बनेको खाजा खाएर एक्लै घरबाट निस्कन्थ्यो । कसैले नदेखेको र नरोकेमा प्रशन्न चित्त बनाउँथ्यो । सूर्य अस्ताचलमा पुगेपछि भने मलिन मुहार लगाएर घर फर्कन्थ्यो । विहान झिसमिसेमै ब्रस गर्दै निस्कन्थ्यो र ८ बजेपछि हडबड गर्दै घर पस्थ्यो ।

नरेशको दिनचर्याबाट उसका बाबु आजित थिए । उनी आज चाहिँ हकार्छु भन्थे तर छोराको अरू कुनै कमजोरी नभेट्दा त्यसै तत्रन्थे । अरू सबै कुरामा उसलाई होसियार भेट्थे । सिर्फ साँझ–विहान डुल्ने बानी सुध्रे हुन्थ्यो भन्थे । एक दिन बेलुका झुन्ड्याएको पेन्टको गोजीबाट पर्स नै गायब भएको बुझेपछि भने उनको कन्सिरी तात्न पुग्यो । 
‘सधैँको एकनासे डुलुवा बानी गर्छस् ? लफङ्गा केटाहरूसित लागेर पैसा चोर्न थालिस्, हैन ?’

आफूले लगेकै छैन भनेर नरेशले जवाफ फर्काउँदा बाबु झन् आक्रोशित भए, ‘खुरुक्क अपराध स्विकारेर बिगारेको काम सपारिहाल् । आजैबाट डुल्ने र लफङ्गाहरूसित हेलमेल गर्ने काम बन्द गर् ।’
बाबुले दाह्रा किटेर खाऊँलाझैँ गरेर हेरेको देखेर नरेश डरायो । आफूले कहिल्यै गलत कर्म नगरेको र गर्नेलाई साथ नदिएको भनेर विश्वास दिलायो । बाबुले विश्वासै गरेनन् । सारा कोसिस वालुवाको पुल नै सावित हुँदा ऊ झन्् चिन्तित भयो ।

बाबुछोराको खैलाबैला सुनेर करेसाबारीको काम छाडेर आमा आएर भनिन्, ‘पर्स त तल खसेको थियो । दराजमा राखिदे’की छु ।’

 बाबुको शिर तत्रियो । नरेशतिर फर्केर मायालु पाराले सोधिन्,’ तिमी किन बाहिरफेरो अलमलिएको ? यही कुराले रडाको भइरहेछ ।”

गाह्रो मानेर नरेशले मुख खोलेको थियो, ‘जीव र वनस्पति विज्ञानप्रतिको मेरो रुचि देखेर विज्ञान शिक्षकले सल्लाह दिनुभयो । त्यसैले म साँझमा चारकोसे वनका बोटबिरूवा नियाल्छु र विहान खोला किनारका जीवजन्तुसँग रमाउँछु ।’

२०७८.०६.०९
 



Laxmi Rijal

Wednesday, September 22, 2021

लघुकथा– सरी बाबा –नन्दलाल आचार्य

 सुधारमाथि पुनः सुधार गरिएको लघुकथा–  सरी बाबा
–नन्दलाल आचार्य

नमस्कारदेखि सरीसम्म
ंंंंंंंंंंंं
नमस्कार ! लु जा भनेर मैले त मलाई नै छोएको तर सामान्य प्रसङ्गको बालमनोविज्ञानमा आधारित कथा पो यहाँ राख्ने हिम्मत गरेँ । आफ्नै शब्द अरूका मुखारबिन्दबाट सुन्ने रहरले कुत्कुत्यायो । प्रशारण हुने पालो पाउन गाह्रो हुँदो रहेछ । लघुकथाप्रेमी मित्रहरू ! भुल भएको भए सरी !!!
ंंंंंंंंंंंं
लघुकथा–  सरी बाबा
–नन्दलाल आचार्य

‘यस मच्छडलाई एकै झापडमा तीनत्रिलोक चौध भुवन देखाइदेऊ त, नानी ।’ देब्रे पाखुरामा बसेर मस्तले खुन चुसिरहेको मच्छड देखाउँदै पीडामिश्रित स्वरमा ८ वर्षे सानी छोरीलाई भनेको थिएँ ।

त्यसलाई धपाउन मसँग सामथ्र्य थियो तर ज्यान लिन छँदै थिएन । कारण मेरो दाहिने हात चल्दैनथ्यो । म त्यसलाई त्यत्तिखेरै थिलिपितिली पार्न चाहन्थेँ । बरोबर त्यसले दिने गरेको पीडा मलाई असह्य थियो । एक ध्यानले काम गर्न बाधा गरिरहेको थियो । म धुरुधुरु रुन मात्रै सकेको थिइनँ । 

‘त्यसले मलाई पीडा दिँदा हुने मैले बदला लिँदा किन नहुने ?’ मनले मनसँग नै प्रश्न गरिरहेको थियो ।

मच्छड खुन चुसेर अघाइसक्न लागेको थियो । म दाह्रा किटेर सहने शक्ति बटुलिरहेको थिएँ । सानी मच्छडको मस्त र मेरो त्रस्त क्षण नियालिरहेकी थिइन् । त्यस राक्षसलाई ठहरै पार्न पनि केको आइतबार पर्खेको होला भन्दै थिएँ म । उनले एक्कासी जोडले ‘फूऽऽऽ’ गरिन् । मच्छड उडेर अलप भयो । 

मेरो कन्पारो तातेर आयो । झपार्ने मन भयो तर मनको आक्रोश दबाएर विस्तारै सोधेँ; ‘यो तिमीले के गरेकी सानी ?’

अवाक् पार्ने गरी उनले भनेकी थिइन्, ‘बुद्धवाणीको उदाहरण दिँदै हजुरले नै अस्ति नै भन्या हैन ? भरसक कुनै जीवजनावरको ज्यान लिँदै नलिनू भनेर !’ 

२०७८–०६–०७ उदयपुर । हाल– गोलबजार, सिरहा ।

लघुकथा– सरी बाबा 
–नन्दलाल आचार्य
































‘यस मच्छडलाई एकै झापडमा तीनत्रिलोक चौध भुवन देखाइदेऊ त, नानी ।

’ देब्रे पाखुरामा बसेर मस्तले खुन चुसिरहेको मच्छड देखाउँदै पीडामिश्रित स्वरमा ८ वर्षे सानी छोरीलाई भनेको थिएँ । 

त्यसलाई धपाउन मसँग सामथ्र्य थियो तर ज्यान लिन छँदै थिएन । कारण मेरो दाहिने हात चल्दैनथ्यो । म त्यसलाई त्यत्तिखेरै थिलिपितिली पार्न चाहन्थेँ । बरोबर त्यसले दिएको र दिने पीडा मलाई असह्य थियो । म धुरुधुरु रुन मात्रै सकेको थिइनँ ।

 ‘त्यसले मलाई पीडा दिँदा हुने मैले बदला लिँदा किन नहुने ?’ मनले मनसँग नै प्रश्न गरिरहेको थियो । 

‘मान गर्नेलाई मान गर्नु कर्तव्य हो । अपमान गर्नेलाई मान दिनैपर्छ भन्ने कहीँ लेखेको छैन । हामी सुखका हिमायती हौ । यद्यपि जानीजानी दुःखको समुद्रमा हेलिन विल्कुलै चाहनौँ ।’ म मनोविनोदमै मख्ख हुने प्रयासमा थिएँ । 

मच्छड खुन चुसेर अघाइसक्न लागेको थियो । म दाह्रा किटेर सहन शक्ति बटुलिरहेको थिएँ । सानी मच्छडको मस्त र मेरो त्रस्त क्षण नियालिरहेकी थिइन् । 

मेरै करबलले उनले हात बढाउनुको सट्टा मुन्टो नजिकै ल्याइन् । मन्त्र जपेजस्तो गरिन् । त्यस राक्षसलाई ठहरै पार्न पनि केको आइतबार पर्खेको होला भन्दै थिएँ म । उनले छोटो समयमै जोडले ‘फू’ गरिन् । मच्छड उडेर अलप भयो । त्यसैसँग मेरो चाहना समेत धुलिसात भयो । 

मेरो कन्पारो तातेर आयो । झपार्ने मन भयो तर बाबा हुनुको नाताले संयमित हुनु मेरो वाध्यता थियो । 

मनको आक्रोश दबाएर विस्तारै सोधेको थिएँ; ‘यो तिमीले के गरेकी सानी ?’

 ‘हजुरले नै अस्ति नै भन्या हैन ? भरसक कुनै जीवजनावरको ज्यान लिँदै नलिनू भनेर । बुद्धका सन्तति भएर कसैलाई विपत्तिमा पार्नुहुन्न भनेर ।’ अगाडि उनको बोली सुनिएको थियो; ‘त्यसैले होला । कताबाट एक झोक्का हावा आयो र खुन चुस्दै गरेको मच्छड उडाइदियो । म त मार्नै लागेकी थिएँ । अनर्थ घटना हुनबाट जोगियो । सरी बाबा ?’ 

२०७८–०६–०७ गोलबजार, सिरहा ।

 Laxmi Rijal

Tuesday, September 21, 2021

लघुकथा– पारपाचुके –नन्दलाल आचार्य

लघुकथा– पारपाचुके –नन्दलाल आचार्य
‘म नयाँ अपाङ्गलाई सजिलो हुने नयाँ जुत्ता हेराउनुस् त, साहुनी ? त्यो पनि एकदमै सस्तो । गुणस्तर मजस्तै बेकामे भए पनि चल्छ ।’ तिमीले सोधेको सवालको जवाफमा साहुनी बोलेकी थिइन्; ‘यो सपाङ्गको पसल हो । यस गौशालामा अपाङ्गका लागि जुत्ता बनाउने ठाउँ उत्ता तल्तिर पर्छ ।’ ‘मान्छे म जे भए पनि जुत्ता चैँ सपाङ्ग नै चाहियो । म जन्मजात हैन; भरखरै प्यारालाइलिसको सिकार भएको हुँ ।’ तिम्रो उत्तरमा अलमलिएकी साहुनीलाई विश्वास दिलाउन एकै चोटि तिमीले मलाई न्यानो स्पर्श दिँदै भनेका थियौ; ‘मलाई यही चाहियो । मेरा गोडामा सुहाउने पुरानो डिजाइनको जुत्ता यही हो ।’ यसरी म सदाको लागि तिम्री भएकी थिएँ । मलाई लगाउनासाथ धोका दिने पुरानो जुत्ता त्यागेका थियौ । मैले पनि भरमग्दुर साथ दिएकी थिएँ । बदलामा तिमीबाट उस्तै प्रेम भेटेकी थिएँ । यसरी म २०७५ कार्तिक १० गतेदेखि केवल तिम्री मात्रै भएकी थिएँ । त्यसबेला तिमी भर्खरै जन्मेका पाडापाडीजस्तो बाङ्गा खुट्टा टेक्थ्यौ । लौराको सहाराबिना एक डेग पनि हिँड्ने आँट गर्दैनथ्यौ । त्यसै बेलादेखि तिमीले मलाई भएभरको मायाप्रिति लगाएका थियौ । पाँच सयमै मलाई आफ्नो बनाउन पाएकोमा मख्ख थियौ । सुरुआतमा म तिमीसँग खुशी थिइनँ । विस्तारै तिम्रो निश्चल प्रेमसामु पग्लिएँ र तिम्रो मोहजालमा फँस्न पुगेँ । म फाट्न लागेकी थिएँ । एकपटक तिम्री गृहमन्त्रीले गोलबजार नगरपालिकाको फोहर बोक्ने ट्रकमा फाल्दिन् । थाहा पाएर तिमीले हत्त न पत्त उठाएर ल्यायौ र बजार लगी मर्मत गरेर दुरुस्त पा¥यौ । अब म तिम्रो मर्निङ वाककी सहेली मात्रै रहेँ । साथ दिँदादिँदै सोलको पिँधमै प्वाल परेर बुढी औँला बाहिर जमिनमा पर्ने अवस्था आयो । तिमी शङ्कालु बन्दै थियौ । अर्को खुट्टामा समेत प्वाल परेछ । यद्यपि तिमी अझै मलाई प्रेम गर्न खोजिरहेछौ । कसैले तिमीलाई भन्न सक्छ; ‘फट्लाहा जुत्ता पिनैबाला मास्टर्वा बच्चा सभक कथी पढेतै । फटलाहा बाते सुनेतै ।’ फाटेको जुत्ता लगाउने शिक्षकले फाटेकै कुरा पढाउँछ भनेर कसैले खिसिटिउरी गरेको सुन्नु प¥यो भने मलाई जिउँदै मरेको दिन हुन्छ । तसर्थ भो प्रभु भो । मेरै कारण तिम्रो अपमान मलाई सह्य छैन । मलाई अब घृणा चाहियो । तिम्रो अतिशय प्रेमबाट मुक्ति चाहियो । तिमीबाट पारपाचुके चाहियो । २०७८–०६–०६ उदयपुर । Laxmi Rijal

लघुकथा- दूधभात प्रसङ्ग –नन्दलाल आचार्य

लघुकथा- दूधभात प्रसङ्ग –नन्दलाल आचार्य
‘सानी नानीलाई दूधभात देऊ । सारै ल्यान्ते भइन् । चाँडो तन्दुरस्त पार ।’ मैले उनकी आमालाई अह्राउँदा उनी भने सुनिरहेकी थिइन् । प्रतिक्रियाविहिनको अवस्थामा हुनु भनेको भनिएका कुरा स्वीकार गर्नु हो । मेरो यस्तै बुझाइ रहेको थियो । बिहान दस आसपासको समय थियो । सडकमा जानेआउने विद्यार्थीहरूको बाक्लो उपस्थिति देख्न सकिन्थ्यो । शिक्षण पेशा अपनाएको मान्छे थिएँ । मलाई पनि विद्यालय जान हतार हुँदै थियो । भरसक सानीले खाना खाएर मसँगै विद्यालय गइदिए हुन्थ्यो भन्दै थिएँ मनमनै । उनी हप्ता दिन अघि टाइफाइड भएर बल्ल तङ्रिँदै थिइन् । चाँडो तगडा होऊन् भनेर डेरीबाट समेत दूध ल्याउने गरेको थिएँ । उनलाई दूध पिउन समेत हर्लिक्स नभई हुन्नथ्यो । सबै कुराको ब्यवस्था गरिदिएको थिएँ । सानीका सामु दूधभात आइसकेको थियो । उनी घुरेर बसिरहेकी मात्रै थिइनन्, घृणित नजर गाडेर हेरिरहेकी पनि थिइन् । सानीलाई रिस उठ्ने काम पो गरिएछ कि भनेर घोरिएको थिएँ एकै क्षण । यद्यपि मलाई त्यस्तो बिझाउने व्यवहारको यादै आएन । अरू बेला स्कुल जान भनेपछि जस्तोसुकै अवस्थामा पनि तयार हुने छोरी यत्तिखेर चाहिँ बाङ्गिरहेकी थिइन् । उनी बाङ्गिनुको भेउ नपाएर म अलमलमा थिएँ । ‘अचेलका नानीबाबुलाई असल खानेकुरा सहजै खुवाउनुभन्दा बरु बैतरणी नदी पार गर्न सजिलो होला । अरू जङ्क फुड र चटपटे खानेकुरा खान भनेपछि बिमारले आलसतालस भएकाहरू पनि ज¥याकजुरुक उठछन् ।’ आमाले यसो किन भनेको होला भन्थेँ उसबेला । आज आएर आफैँ दलदलमा फँस्न लागेको अनुभूत हुँदै थियो । सानीले भाउ खोजेकी होलिन् भनेर नम्र भएर भनेको थिए, ‘खाऊ सानी खाऊ । दूधभात खाऊ । अनि स्कुल जान तयार होऊ । आज मसँगै स्कुल जानुपर्छ ।’ मेरो आवाज भुइँमै पर्न नपाईकन उनी बम्केकी थिइन्; ‘मलाई फकाउन पर्दैपर्दैन । म बिरालो होइन; दूधभात खाने !’ २०७८–०६–०५ उदयपुर । Laxmi Rijal

Monday, September 20, 2021

सदाबहार जनयोद्धा– कृष्णराज वर्मा –नन्दलाल आचार्य

सदाबहार जनयोद्धा– कृष्णराज वर्मा –नन्दलाल आचार्य
उनलाई न बाबुको पुर्खौली स्थान थाहा छ न त आमाको नै थाहा छ । मात्र थाहा छ– पिता तीर्थराज शर्माका बुबाको घर नुवाकोट हो रे । माता वेदकुमारी वर्माको माइती गाउँ धनकुटा हो रे । न उनका मातापिता फर्केर नुवाकोट नै गए । न त माइती भन्दै आमाले नै धनकुटा धाइन् । मातापिताको भेट सप्तरीमै भयो । दुबैको लगनगाँठो सप्तरीमै बाँधियो । उनीहरूले अनेक प्राकृतिक विपत्ति सहे । भौतिक त्रासलाई जसोतसो पचाए । यद्यपि सप्तरी त्यागेर हिँड्ने चाहना पनि राखेनन् । त्यस्तो सोच मनमा आउन पनि दिएनन् । र, उनीहरूले स्थायी बसोबास बनाए, सप्तरीकै हनुमाननगरमा । त्यहीँ जन्मिए– वि.सं. १९८७ पुस २५ गते उनी । अर्थात् कृष्णराज वर्मा । जागिरका सिलसिलामा आएका उनका पिताले सप्तरीलाई नै मुकाम बनाउनुका कारण चाहिँ सप्तरीको माटोले लोभ्याएर हो । मलिलो माटो, सिँचाईको व्यवस्थित व्यवस्था, हिमालको हिउँ पग्लेर आएको सप्तकोसीको ठण्डा पानीले दिने सदाबहार शीतलता, ठूलो क्षेत्रफल र शान्तिमय प्राकृतिक वातावरण । यी सबैको जोड सप्तरीको हनुमाननगर नै थियो । त्यसैले पनि शर्मा र वर्मा मिलेर सुविधाजनक कम्पाउन्ड राखेर घर बनाएका थिए । वाल्यकालमा कृष्णराज वर्मा शारीरिक रूपमा ल्यान्ते थिए । उनी मात्रै सात महिना आमाको गर्भमा अडिएका थिए । सात महिने बच्चो बाँच्यो भने एक न एक किसिमको उद्यम गर्छ भन्ने लोकआहान गाउँघरतिर प्रचलित छ । हाम्रा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह पनि सात महिनामै जन्मेका थिए भन्छ हाम्रो इतिहास । उनले पराक्रम र पुरुषार्थ नदेखाएका भए नेपाल देश हावामै विलिन हुन्थ्यो । उनले थालनी नगरेको भए विशाल नेपाल एकीकरण कार्य प्रायः असम्भव हुन्थ्यो । हामीलाई नेपाली भनेर मन र मुटुमा लेखिदिने उनै सात महिनामा जन्मेका पृथ्वीनारायण शाह हुन् । उनको त्याग र समर्पणले हामी दास हुनबाट जोगिएका छौँ । हामी तेजस्वी शिर परचक्रीको पाउमा निहुरिनबाट बँचेका छौँ । हो, सात महिनामै जन्मेका कृष्णराज वर्माले पनि मधेसी भोकानाङ्गा जनताका हितैषी भएर दुःखहरणकर्ता बनेका छन् । उनीहरूको भकारीमा अन्न भरिदिएर भोकै मर्नुपर्ने त्रास भगाएका छन् । सप्तरीको माटोका होसविहीन जनताको मनमा चेतनाको दीप प्रज्ज्वलित गरी छाती ठूलो बनाउने मौका दिएका छन् । राष्ट्रिय राजनीतिमा समेत हस्तक्षेपकारी भूमिका खेलेको जिउँदो इतिहास उनको निधारमा टलक्क टल्किरहेको छ । उनी शिशु छँदा आमाको स्तनपान गर्नबाट बन्चित भए । एक त समय अगाबै जन्मनु र अर्कातिर आमाको दूध चुस्न नपाउँदा शिशु कमजोर हुनु स्वभाविकै हो । यस हिसावले उनले जन्मँदै दुर्भाग्य साथै लिएका रहेछन् । उनलाई गाईको दूध पिलाइएको थियो । गाई सुधो प्राणी हो । उनमा पनि सुधोपन सरेको थियो । यद्यपि बालसुलभ क्रीडाका लागि भने उनी साह्रै चञ्चले थिए । नोकरचाकर र दीनदुःखीका लागि भने उनी गाईझैँ सुधा थिए । उमेर बढ्दै जाँदा उनी सूरा भए । अनेकन उट्पट्याङ काम गरे । कहिले जीवनलाई दाउमा राखेर बेगले बग्दै गरेको सप्तकोसीमा हाम फाले । कहिले जिउँदो सर्प पक्रेर सबैका सामु प्रदर्शन गरी चमत्कार देखाए । उनलाई केहीको अभाव थिएन । सबै कामधाम गरिदिने वर्ग अर्कै थियो । यसप्रकार बाल्यकालमा उनले दुःखको रङ चिन्न नै सकेनन् । सप्तकोसीको बाढी पसेर हनुमाननगर र वरपरका प्रगन्ना मरुभूमि र जलाशय बनाएपछि उनले मानिसहरूको विचल्नी नजिकैबाट नियाल्ने मौका पाए । नौलखा फुलबारी लगायत सानाठूला कैयौँ फुलबारी कोसीले कटान गरी लिएर गंगातिर हानिएपछि सप्तरीको सदरमुकाम राजविराज सार्नुपर्ने अवस्था आयो । वर्मा परिवार पनि खर्सालटोलमै बस्न थाल्यो । उनी २००६ सालदेखि निरन्तर रूपमा कम्युनिष्ट पार्टीमा लागे हुन् । त्यसबेला उनी १७ वर्षका थिए । जनक्रान्तिबाट छुटाउन स्कुल मास्टर बनाएको स्मरण गर्दै उनी भन्छन्– ‘सप्तरीमा आन्दोलनको तयारी ब्यापक रूपमा हुँदै थियो । आम जनमानसको भिड थेगिनसक्नु थियो । म पनि के कम यसो चार शब्द बोली हालूँ भनेर भाषण मात्र के गरेको थिएँ । ‘बाख्रा हराउनु र बाघ कराउन’ु एकै पटक भएछ । अर्थात् कांग्रेसका कार्यकर्ता खोज्दै गाँउमा बडा हाकिम आएको रहेछ । धर्ना, जुलुस र भाषण गर्नु त्यो समयमा बिष खानु बराबर नै थियो । मलाई देख्नासाथ बडा हाकिमले मज्जाले हप्कायो । त्यसपछि फकाउँदै लगेर स्कुल मास्टर बनाइदियो ।’ नेपालमा २००७ साल कात्र्तिक २४ गते जनक्रान्तिको घोषणा भयो । उनलाई पनि जनक्रान्तिको स्वाद चाख्ने मन थियो । नेपाल आमालाई राणाहरूको जंजिरबाट मुक्त पार्ने सपना थियो । नेपाली जनतालाई स्वतन्त्रता, स्वाधीनता, प्रजातन्त्र दिलाउनु थियो । त्यसैले उनले घरपरिवार छोडेर क्रान्तिको बिगुल फुक्दै क्याम्प गएका थिए । जानु अघि बिहानी पखको ३ बजे लेखेर पिताको सिरानीमुनि घुसारेको पत्रको आशय यस्तो थियो– श्री मातापिता, ढोगसेवा ! यस मध्यरातमा यो किस्ने घर छाडेर कता हिँडेछ भन्नुहोला भनी म चिठी कोर्न बसेको छु । यसमा म मनका सारा औडाहालाई सोरसार पारी समेट्ने कोशिसमा छु । जेजति समेट्न सक्छु । त्यसैलाई यथेष्ट सम्झेर मेरा कुरालाई ग्रहण गर्नुहुने छ भन्ने पूर्ण विश्वासमा छु । खाट्टी कुरा बताउनु अघि दुईचार कुरा नबताए मैले माफी पाउन्न भन्ने भय छ । जन्मनासाथ यस किस्नेले दुःख दिएको वयस्क भएपछि पनि छाडेन भन्नुहोला । मेरो सोचसमझमा हजुरहरूकै बीज छरेको छ । किनभने कसैको दमनकारी नीति नसहने र दीनदुःखीका आँखामा आँसु देख्न नचाहने हजुरहरूकै स्वभाव ममा सर्लक्क सरेको हो । अहिले मलाई दोषी देखेर असहयोगको नजरले हेर्नुहुन्छ भने हजुरहरूको आनिबानीमै खोट छ कि भनी कोट्याउन थाल्नुहोला । मलाई थाहा छ । यो पत्र पढ्नासाथ हजुरहरू आपसमा भन्न थाल्नुहुने छ, ‘यो किस्ने सुखले मात्तिएछ । ज्ञानले सम्पन्न भएपछि पखेटा बलिया भएछन् । एक्लैदोक्लै स्वतन्त्र आकाशमा कावा खान उडेछ । हामीलाई लाग्दैथ्यो– छोरो सानै छ । व्यवहार पनि सिकेको छैन । तर, ऊ त हामीलाई सुइको नै नदिई लत्याएर हिँड्न सक्ने भएछ ।’ हजुर, म रहरले निजी पारिवारिक वातावरण त्यागेर हिँडेको हैन । निमुखा जनताले भोग्नुपरेको वेथिति र अहङ्कार सहन नसकेर म हिँडेको हुँ । सामन्ती सोच र संस्कार निर्मूल पारी समतामूलक समाज निर्माणको दिशामा अग्रसर भएको हुँ । मेरा पछिल्ला हरफले यी कुराहरू पुष्टि हुँदै जाने छन् भन्ने लागेको छ । स्कुलमा मास्टरी गर्दाका मेरा मुस्लिम मित्र कमर शाह समेत मेरो साथमा छन् । हाम्रो घरबाट १०÷१२ किलोमिटर भारत साइडमा हाम्रो ज्वाइन क्याम्प राखिएको छ । म त्यही क्याम्पमा रहेको मुक्ति सेनामा भर्ती हुने छु । त्यहाँबाट नै कसलाई कहाँ खटाउने भन्ने कुराको निक्र्याेल हुन्छ । समग्रमा यो राणाहरूको सिष्टम विरुद्धको विद्रोह हो । म क्रान्तिमा होमिन अति उत्सुक छु । घरसल्लाहले एक पाइलो अगाडि बढाउन पाउँदिन भन्ने मलाई पूरापूरी थाहा छ । तसर्थ मैले यस्तो कदम चालेको हुँ । हाम्रो अन्तिम उद्देश्य भनेको प्रजातन्त्रको स्थापना गर्नु हो । अहिलेसम्म व्यक्तिगत रूपमा मलाई कुनै पिरालो छैन । ढुक्कले बसे निकट भविष्यमै दास जीवन जिउँनुपर्ने वाध्यता देखिरहेको छु । सामुहिक रूपमा सोच्यो भने अहिले पनि वातावरण नै कोक्याउँछ । त्यही कोक्याएको एउटा क्षण यहाँ प्रस्तुत गरेर चिठी स्वतः अन्त्य गर्न चाहान्छु– मसँग एक बुज्रुक थिए । उनी समझदार थिए । उमेरले, ज्ञानले, जानकारीले र व्यवहारले मभन्दा निकै बढता भोटा फटाइसकेका थिए । म उनका कुरा सुन्थेँ । उनी अनौठा अनौठा कुरा गर्थे । ती सबै जसोमा म विद्रोही स्वर दिन्थेँ । उनी भन्थे, ‘त्यो उस बेलाको कुरा हो, यस बेलाका पुस्ताले नपचाउनु स्वभाविकै हो । तिमी यस समयका उपज हौँ । तिम्रा आँखामा बिझाउनुलाई हामीले अन्यथा मान्न मिल्दैन ।’ उनको परोक्ष समर्थनले मेरो मनको विद्रोही बिरुवालाई मलजल पुग्थ्यो । म आफ्नो विचार मजबुत बनाउन तागत भेट्थेँ । प्रायः उनी मसँगै टहलिन खोज्थे । म पनि नयाँनयाँ कुरा सुनेर र सिकेर नयाँ धारणा बनाउन लागि पर्थेँ । एक दिन उनी र म फुलबारीतिर टहल्न जाँदै थियौँ । चारैतिरबाट आएको ठूल्ठूलो आवाज सुनेर टक्क अडियौँ । रातविरातमा बाघ, भालु, हात्ती, बँदेल जस्ता जंगली जन्तुले बाली विनास गर्दा किसानहरू कोकोहोलो मच्चाउँथे । त्यत्तिखेर त्यस्तै कोलाहल थियो । यद्यपि आवाज स्पष्ट बुझिन्थ्यो । मानिसहरू भनिरहेका थिए, ‘सरकार ! सरकार ! सरकारको जय होस् । सरकारको जय होस् ।’ कृष्णाष्टमी, दशैँ, दिपावली, वसन्तपञ्चमी जस्ता पर्वहरूमा देवीदेवताको जयगान गरेको, स्तुति÷भजन गाएको सुनेको थिएँ । त्यो समय यस्तो कुनै पर्वको थिएन । आवाज झनझन् घना हुँदै थियो । त्यही नजिकैको घरको छतमा उभिएर हेरिरहेको जुँगामुठे पहलमानले पनि ‘सरकार ! सरकार !! सरकार !!!’ भनेर भुइँमै लम्पसार परेर साष्टाङ्ग दण्डवत गरेको देख्ता म तीन छक्क परेको थिएँ । ‘पक्कै एकै पटक यी सबै मानिसको दिमाग खुस्कियो नत्र किन यस्तो फोहरमा जताततै लम्पसार परेर कराउँथे ।’ मैले मनमनै सोचेको थिएँ । ‘अरू दिन मै हुँ भन्ने मानिसहरू एकाएक ओइलिएको सागजस्ता भए त ! फेरि भित्री रोदन र करुण बोलीले वातावरण नै कस्तोकस्तो पो बनाए त ! कारण के हो ?’ मेरो सामु भएका बुजु्रकले उत्तर दिन नपाउँदै सुकिलोमुकिलो पोशाकमा ८÷९ वर्षको बालक लमकलमक हामीतिरै आइरहेको थियो । उसका नजिक भएका सबै लम्पसार थिए या नि साष्टाङ्ग दण्डवतको मुद्रामा थिए । बुजु्रकले तानेर मलाई ओल्टेकोल्टे लगेका थिए । ‘के हामीले पनि त्यस बालकलाई देख्नासाथ त्यसै गर्नुपर्छ ?’ मेरो प्रश्न सिद्धिन नपाउँदै उनले मेरो मुख थुनिदिएका थिए । त्यो बालक आँखाबाट ओझल परेपछि उनले भनेका थिए, ‘पर्न त सबैले पर्छ । जिउनु छ भने यस्तै चाकरी र गुलामी गर्नैपर्छ । जसले चाकरी र गुलामीबाट रिझायो, उसैले त सुविधा पाउने हो ।’ बुज्रुकको मुखबाट थाहा पाएँ, ऊ कमान्डर इन चिफको सुपुत्र रहेछ । चाकरी गरिएन भने उसका भरौटेहरूले रिपोर्ट दिँदा रहेछन् । र, त्यसको सरकारी संरक्षणमै ब्रह्मलुट गरिँदो रहेछ । दिनदहाडै उठिबास गराइँदो रहेछ । विरोध गरेर शिर ठाडो पार्न मनाही रहेछ । चाकरी गरेर र शिर लत्र्याएर मात्रै जिउँदो रहन पाइने रहेछ । मलाई जनता दास बनाउने त्यस्तो अहंकारी राणा शासनप्रति वितृणा जागृत भयो । हो, त्यही व्यवस्थाको जरोकिलो उखलेर आर्यघाटमा सेलाउन मैले घर त्यागेको हुँ । म निरंकुश सत्ताको समूल अन्त्य नगरी घर फर्कन्न । म सिद्धार्थ गौतम होइन तर उनलेझैँ दिमागमा लक्ष्य लिएर त्यसमै दृढ हुँदै यस मध्यरातमा पाइलो सारेको छु । म लक्ष्यमा अवश्य पुग्छु । नेपालको आमूल क्रान्तिकारी प्रजातान्त्रिक आन्दोलनमा तिल जति भए पनि योगदान दिन्छु । म नेपाल आमाको अनुहारमा खुशीले भर्ने छु । नेपाली जनताको ओठमा मुस्कार छर्ने छु । पीरचिन्ता लिने हैन मातापिता, यस पुत्रलाई सदैव आशीर्वाद दिइरहनुहोला ! बस्, यस पटक यत्ति नै ! हजुरहरूकै प्यारो पुत्र, कृष्णराज वर्मा । ००० यसरी उनी २००७ सालको क्रन्तिमा होमिएका थिए । आमा र उनको थर वर्मा हुनुको रहस्य बारे उनको कथन छ, ‘क्षेत्रीय कवच धारण गर्नेलाई वर्मा भनिँदो रहेछ । बुबाले नै परिवारका सबैलाई वर्मा लेख्न लगाउनुभयो । नेपालमा पहिलो वर्माको कवच धारण गर्ने व्यक्ति म नै हुँ । अहिले धेरैले लेख्न थाले । म ‘खनाल’बाट वर्मा भएको हो ।’ राजनीतितिरको कुरा गर्दा, वीरगञ्जमा उनले प्रजापरिषदको नामक राजनैतिक पार्टीको नाम सुनेका थिए । त्यहीँ प्रजापरिषदको कार्यालयमा मदनमणि दीक्षितसँग उनको भेट भयो । दीक्षितकै कारणले अहिलेका महान् आख्यानकार धनुषचन्द्र गौतमसँग भेटघाट भयो । उनीहरूकै आडभरोसामा सप्तरीमा कम्युनिष्ट कार्यालय खोलियो । विस्तारै मदनमणि दीक्षितले कम्युनिष्टको सम्पर्क सूत्रहरू बनाउन थालेको कुरा वर्मा बताउँछन् । वि.सं २००८ सालमा देशमा भयंकर अनिकाल लाग्यो । चामलकै लागि मानिसहरू मरिहत्ते गर्थे । यताउता दौडिन्थे । अनिकाल लागेका गरिबलाई बाड्नु भनेर ल्याएको चामलको गैरकानूनी निकासा हुन थालेकाले वर्मा रुष्ट भएका थिए । गैरकानूनी निकासी विरुद्ध उनले युवा संगठन खडा गरी आन्दोलन नै छेडेका थिए । फलतः अनुदानमा ल्याएको चामलको गलत प्रयोग गर्ने कार्य रोकियो । वर्माको नेतृत्वको यस कार्यले गरिबनिमुखामा राम्रो प्रभाव परेको थियो । राजनैतिक जीवनको शुरुआत बारे उनको कथन छ, ‘२००७ सालको जनक्रान्ति लगत्तै २००८ सालको अनिकालमा असार महिनामा सप्तरीको बेल्हीचपेनाका जमिनदार विश्वराज जोशीको भकारी खोलेर तीन सय मन धान जबरजस्ती त्यहाँका जनतालाई बाँड्ने घटनाबाट मेरो राजनीतिक जीवन शुरु भएको थियो । केवल किसानहरूका हितको आन्दोलनमा मैले पाँच वर्षभन्दा बढी त जेल सजाय नै भोगेँ । फेरि मैले २०१७ सालमा दुई वर्ष र २०४२ सालमा पाँच महिना जेलजीवन बिताएँ ।’ वास्तवमा विश्वराज जोशी थरका एक व्यापारीको मिलबाट ३ सय मन धान उठाएर किसानलाई बाँडिएको थियो । यसले गर्दा पनि उनलाई संगठन तयार गर्नमा सहज वातावरण बन्यो । उनले दिनरात नभनीकन सप्तरीका गाँउगाँउ छिरेर कम्युनिष्ट संगठन तयार गरेका थिए । उनी वि.सं. २०१२ सालमा राजधानी पसेका थिए । उनले २०१७ सालको बमकाण्डमा समेत आफनो सहभागिता दर्साएका थिए । त्यसैकारण सजाय स्वरूप उनले जेलसजाय भोग्नुपरेको थियो । जनताको नेतृत्व गर्न तम्सनेले पक्राउ खान पनि लुगलुग काप्नुहुन्न भन्ने उनको ठहर थियो । नेपाल कम्युनिष्ट पार्टी (केशरजंग रायमाझी) समूहको अञ्चल सचिव हुँदाखेरी राजविराज पुगेका बेला पुनः पक्राउ परेका थिए । त्यसका लागि सेनाका जर्नेल आफँैले वारेन्ट लिएर आएका थिए । २०४० मा रायमाझी समूहबाट कृष्णराज वर्माले विद्रोह गरी नेकपा (वर्मा) पार्टी स्थापना गरेका थिए । आफ्नो थरसँग पार्टीको नाम जोडिँदा उनले गर्वानुभूति भएको उल्लेख गरेका छन् । उनको अर्को मार्मिक कथन छ, ‘मैले आफ्नो सक्रिय राजनीतिक जीवनका ६७ वर्षभित्र झन्डै चालीस वर्ष मधेसका जनतामाझ सेवा गर्दै तिनको सरसहयोगमा नै बिताएको छु ।’ मधेस आन्दोलनका बेला र त्यसकै प्रभावले त्यसपछि पनि पहाडे मूलका छिमेकीहरूलाई कौडीको मोलमा घरजग्गा बिक्री गराई भगाउने र गैरनागरिकहरूलाई रातारात नागरिकता दिलाएर नेपाली बनाउने काम भएकोमा उनी असन्तुष्ट देखिएका छन् । अवसरवादी चरित्रहरूले मधेस आन्दोलनको असली चरित्रलाई ओझेलमा पारेको भन्ने उनको बुझाइ छ । सिङ्गो मधेस अलग र स्वायत्त राज्य हुनुपर्छ भन्ने सोचका साथ यसको प्राप्तिका लागि हतियार नै उठाउनुपर्छ भन्ने धारणा राख्नेहरूसँग उनको मतभेद कायमै छ । मधेसी बौद्धिक युवाहरूमा मध्यमार्गीहरूको सङ्ख्या र प्रभाव बढ्दै गएकोमा सन्तुष्ट छन् । साथै उनी शान्त र स्थिरता कायम हुनेमा आशावादी छन् । उनले राज्यका रूपमा नेपालको उदय र राष्ट्रका रूपमा यसको विकासको प्रश्नलाई उठाएका छन् । उनी विगत दुई दशकदेखि गहिरो रूपमा खलबलिन पुगेको जातीय सद्भाव पुनः कायम हुनुपर्छ भन्ने मान्यता राख्तछन् । यसका लागि हामीले आफ्नो राष्ट्रिय जनतान्त्रिक आन्दोलनको गहिरो ढङ्गले चिरफार गर्नु आवश्यकता छ भन्ने विचार प्रकट गरेका छन् । उनी जातीय सद्भाव बिथोल्ने सबै अवस्थाहरू र विविध अवधारणाका कारणहरू छुट्याउन चाहन्छन् । जनतालाई नाङ्गो पार्ने प्रायोजित शक्तिहरूलाई नै नङ्गयाउन हामीले खुट्टा कपाउन नहुने धारणा अघि सारेका छन् । उनी विभिन्न जातीय समुदायलाई आफ्ना स्वार्थमा उपयोग गरिरहेकोमा असन्तुष्ट देखिएका छन् । मनमोहन अधिकारीसमेतको संलग्नतामा १५ सेप्टेम्बर १९४९ मा पुष्पलालले ५ जना साथीसँग मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका हुन् । उनी पनि तिनीहरूसँगै २०१९ साल सम्मसँंगै रहे । त्यसपछि रायमाझी समूहमा गएका थिए । २०४० सालमा रायमाझी समूहबाट कृष्णराज वर्माले विद्रोह गरी नेकपा (वर्मा) अस्तित्वमा ल्याए । कम्युनिष्ट हुनुपूर्व अघि उनी प्रजापरिषदसँग आबद्ध थिए । मदनमणि दीक्षित र धनुषचन्द्र गौतम भित्रैबाट कम्युनिष्ट थिए । उनीहरूकै सम्पर्कले उनी कम्युनिष्ट बनेको देखिन्छ । पछि वर्मासँग धनुषचन्द्र गौतमले नै पुष्पलालको भेट गराए । त्यो ठाउँ थियो– वीरगन्ज । त्यसपछि पुष्पलालले उनको घरमा नै आएर पार्टी सदस्यता दिएका थिए । नेपालमा पुष्पलालले कम्युनिष्ट बनाउन धेरै ठूलो मेहनत, त्याग र तपस्या गरेकोे कुरा उनी बताउँछन् । उनको एउटा अर्को मत घतलाग्दो छ– ‘नेतृत्व गर्ने मानिसले जेल नेलसँग डराउनु हुँदैन ।’ २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि चौतर्फी विरोध गरियो । धेरैले परोक्षमा उभिएर विरोध गरे तर उनी आमुन्नेसामुन्ने पुगेर ठाडो असन्तुष्टि पोखे । यस प्रकार उनी सम्मिलित टोलीले आफ्नो कुरा प्रष्ट राखेको थियो । उनी स्पष्ट वक्ता थिए । अझै पनि बोलेर थाक्तैनन् । उनी अमेरिकालाई साम्राज्यवादी शक्ति मान्दछन् । त्यसैले उसलाई कम्युनिष्टविरोधी ठान्दछन् । प्रजातान्त्रिक सरकार भएको भारत मित्रशक्ति हुँदाहुँदै पनि हामीप्रति साम्राज्यवादी आकांक्षा राखेकोमा उनको ठूलो असन्तुष्टि छ । तीनतिरबाट घेरेको कारण हामी भारतमाथि निर्भर रहेकाले उसले लाभ उठाउने गरेको बुझाइ वर्माको छ । तसर्थ नेपालीले परनिर्भरता हटाई आत्मनिर्भर हुन बैकल्पिक बाटो अबलम्बन गर्न ढिलो भइसकेको देखिन्छ । कृष्णराज वर्माको हालै प्रकाशित ‘मधेस र मधेसी आन्दोलन’ पुस्तकमा एउटा दुःखद प्रसङ्ग समेटिएको छ – “मधेस आन्दोलन शुरु भएपछि म एक दिन राजविराजको हाटमा तरकारी किन्न गएका बेला एउटी तरकारी बेच्ने कुजर्नी बूढीले के भनिन् भने ‘बौवा, आब त तोरा सबके राज चल गेलौ । आब हम सब राज करबौँ ।’ (अब तिमीहरु पहाडेको राज गयो । अब हामी राज गर्दछौँ ।) म एकछिन त छक्क परेर ती बूढीको मुखमा हेरेको हे¥यै भएँ ।” यसबाट मधेसका जनतामा जनजागरण आएको देखिन्छ । मेरो पनि माटो छ र पहिचान छ भनेर स्वामित्ववोध भएको देखिन्छ । यद्यपि त्यत्ति नै अरूको अस्तित्व अस्विकार गर्न उग्रचिन्तन हाबी भएको भेटिन्छ । यस खाले चिन्तनलाई सुधार र परिमार्जन गर्न गराउन स्थानीय बौद्धिकवर्गले कसरत गर्न नितान्त आवश्यक छ । पुस्तकमा अर्को ठाउँमा छ– “एक्कासि पछाडिबाट एक व्यक्तिले मेरो कमिज समातेर तान्दै ‘तु पहाडिया छि कि मधेसी ?’ भनेर सोध्यो । म त अक्क न बक्क परें । उसको मुखबाट रक्सीको गन्ध आइरहेकोले म कुनै पनि जवाफ नदिई कमिजको फेर फुत्त तानेर हिँडेँ । म अगाडि गएर सोच्न थालेँ– ‘सायद यो सचेतनाको बिल्कुलै अर्को नयाँ मापदण्ड हुनुपर्छ ।’ अब बाटामा भेटिने हरेक बटुवालाई ‘तँ मधेसी होस् कि होइनस् ?’ भनेर सोधिने भयो ।” यो पनि सचेतपनको आवाज हो । आफू हुनुको आत्मबोध हो तर यसमा पनि उग्रपन जिउँदो छ । कृष्णराजजस्ता बयोवृद्ध रैथानेलाई त प्रयोग गरिने शब्दचेत निम्न स्तरको छ भने बाँकी सर्वसाधरणलाई कस्तो थियो होला ! कल्पना गरे नै काफी हुन्छ । उनको मेरो सिङ्गो युवावस्था यी मधेसी जनता माझ वितेको भनाइ छ । दुई नम्बर प्रदेशका पाँच जिल्ला र सिन्धुलीको कमला नदीको खोँच तथा उदयपुरको त्रियुगा नदीको खोँचसम्मका जनताको सेवा गरेरै जीवन विताएको भनाइ छ । त्यस हिसावले कृष्णराज वर्मा भनेकै जनताका मान्छे हुन् र उनका आफन्त भनेकै नेपाली जनता हुन् । त्यसमा पनि दुई नम्बर क्षेत्रका पाँच जिल्लाका साथै कमला र त्रियुगाको खोँच त उनी रमाउने आफ्नै घर हो । अरू भूभाग चाहिँ उनी दौडधूप गर्ने स्थान हो । उनले सोही पुस्तकको एक ठाउँमा यस्तो दुःखद प्रसङ्ग लेखेका छन् । पढ्दै र सुन्दैमा आङ सिरिङ्ग हुन्छ– ‘त्यस घटनाको वर्ष दिन नबित्दै २०६५ साल वैशाख १८ गते राति आठ बजेतिर कसैले मेरो कोठाको ढोकाको पर्दा यसो हटाएर मलाई पुलुक्क हे¥यो । उसले टाउको मात्र देखाएको थियो । मैले के भो भनेर सोधेँ । उसले त्यसको जवाफ दिनुको साटो एक्कासी मतिर पेस्तोल सोझ्याएर ड्याम्म गोली हान्यो । म सोझै उसलाई समात्न दौडेँ । मलाई गोली लागेको छ भन्ने थाहा नै भएन ।’ उनलाई छातीभरि रगत देखेपछि मात्र गोली लागेको थाहा भएछ । छ घण्टापछि धरान अस्पतालमा एमआरआई गरेपछि मात्र छातीमा गोली लागेको ठहर भएछ । अलिकति माथि लागेको भए मुटु नै छियाछिया हुने रहेछ । त्यसैबेला उनले मधेस आन्दोलनमा यस्ता विकृति आउन सक्ने सम्भावना बढेको देखेका रहेछन् । अझै उनको मनमा गोली हान्नेले केका लागि उनलाई सजाय दिन चाहन्थ्यो भन्ने खुल्दुली रहेछ । मधेश आन्दोलन ताका उनी मुटुको रोगी भएकाले राजनीतिमा त्यति सक्रिय रहेनछन् । अरूले गोली हान्नुपर्ने र आफूले अपराधको फल पाउन गोली नै खानुपर्ने त्यस्तो कुनै कारण उनले अझै देखेका छैनन् । मधेसीका शुभचिन्तक र जानकार एवं नेतृत्व वर्गले निहत्था कसैको ज्यान नै लिने नियत राखी कार्वाही गर्नु अधिकारवादी आन्दोलनलाई रसातलमा भसाउनु हो भन्ने बुझ्नु जरुरी छ । यस्ता उग्रव्यवहारलाई समयमै लगाम नलगाए लोकतन्त्रका उपलब्धी अनिष्टको घानमा भुटिने निश्चित छ भन्दा अतिशयोक्ति नठहर्ला । र, अन्त्यमा कृष्णराज वर्मा कुनै एक समुदाय र वर्गका व्यक्ति होइनन् । मधेसी जनताका लागि त एक संस्था हुन् । उनी त तीन कोटी नेपालीका ढुकढुकी हुन् । जनसङ्घर्ष उनले रोजेको प्रिय बाटो हो । शताब्दी नजिक उमेर पुगेर पनि उनी देश र जनताकै खातिरमा तन, मन, विचार र कर्मले अग्रसर छन् । उनी सप्तरीले जन्माएका खाट्टी जनयोद्धा हुन् । पहिले पनि र अहिले पनि उत्तिकै खटिरहने र डटिरहने सदाबहार जनयोद्धा कृष्णराज वर्माको स्तुत्य बाटोलाई हार्दिक सलाम !!! २०७८–०६–०३ संविधान दिवस मो.नं. ९८४२८२९२०६ श्री जनता मावि, गोलबजार–४, सिरहा, प्रदेश नं. २, नेपाल । लबलमबबिबिअजबचथब२नmबष्।िअयm Laxmi Rijal

Sunday, September 19, 2021

लघुकथा– उत्तरकथा –नन्दलाल आचार्य

‘बेलाबेलामा साहित्यमा विविध प्रयोगहरू हुन्छन् । साहित्यको लागि समाज कच्चा पदार्थ भण्डारण गर्ने भरपर्दो थलो हो ।’ मैले बोल्दाबोल्दै उसले बीचमै बोल्न सुरु गर्दै भनेको थियो; ‘सबै कुराको प्रयोग गर्ने ठाउँ नै समाज भएको छ । अहिलेको समाजले कलुषित पक्ष खल्तीमा राख्ने र अमृतमय चिज लत्याउने गरेको छ । के यही हो प्रयोग ?’ ऊ साहित्यमा बामे सर्दै थियो । म भने अलिक अघि थिएँ । ऊ कानुनको विद्यार्थी भईकन साहित्यको रसिक पाठक थियो । अब लेखक पनि हुँदै थियो । म भाषासाहित्यको विद्यार्थी भईकन पनि उत्ति साह्रो लम्कन सकिरहेको थिइनँ । ऊ मेरा हरेक शब्द र वाक्य अनि भावलाई प्रश्नसूचक नेत्रले हेथ्र्यो । उसको मनमा जान्ने इच्छा प्रवल थियो । प्रश्नोत्तरबाट सिकिन्छ भन्ने ठान्थ्यो । ‘हरेक कुराका अँध्यारा र उज्याला पाटा हुन्छन् । उज्यालो पाटो छाडेर अँध्यारो पक्रे गन्तव्यमा पुगिन्न । नकार धारमा खडा मान्छे कहलिन सकिन्छ ।’ मेरो कुरा सुनेर ऊ हायलकायल भएको थियो । त्यही मौकामा मैले भनेको थिएँ; ‘अग्रजका कुरा पढेर त्यसपछिका कुरा आफ्नो समाजसापेक्ष अभिव्यक्त गर्ने कला कस्तो लाग्छ ?’ “समाजमा अनगिन्ती विषयवस्तु छन् । एउटालाई सर्लक्क टिपेर अक्षरमा रूपान्तरण गरे भइगयो नि ! किन लेखिसकेका र मृत घोषित प्रसङ्गलाई कोट्याएर बिउँझाउन खोज्नु ?“ उसको प्रश्नमा मेरो जवाफ थियो; ‘हो, बाँचेकालाई दीर्घ जीवन दिनु हाम्रो काम हो । मरिसकेकालाई पुनर्जीवित पार्नु महाकाम हो । कामले मात्रै नाम, दाम र इनाम कमाइन्न । त्यसका लागि महाकाम पनि गर्नुपर्छ ।’ मेरो कुरामा सहमत हुँदै उसले सोधेको थियो; ‘त्यो महाकामको नाम चाहिँ के हो ?’ जबाफमा मैले भनेको थिएँ; ‘आख्यान विधामा यसको प्रयोग हुन्छ । मरिसकेको कथावस्तु, पात्र, परिवेशलाई ज्यान भरेर जीवित पार्ने त्यस कामको नाम हो– उत्तरकथा ।’ २०७८–०६–०४ उदयपुर । Laxmi Rijal

Saturday, September 18, 2021

अभिव्यक्ति द्वैमासिकलाई पाँच लघुकथाहरू– शत्रुप्रेम–१,२,३,४ र ५ –नन्दलाल आचार्य


अभिव्यक्ति द्वैमासिकलाई पाँच लघुकथाहरू– शत्रुप्रेम–१,२,३,४ र ५
–नन्दलाल आचार्य


१. शत्रुप्रेम– १ 

‘केटी रै‘छेस् । प्राणदान भो । भागी हाल् ।’

विपक्षी बन्दुकधारीले भनेका कुरा सुनेर आश्चर्यमा परेकी थिएँ । दोहोरो भिडन्त थामिएको थियो । बमको आवाज र बारुदको गन्ध आउन बन्द भएको थियो । पाखाभरि विपक्षी बन्दुकधारी मात्रै थिए । मेरा माओवादी सहयोद्धाहरूको अत्तोपत्तो थिएन । म घाइते अवस्थामा मृत्युसँग जुध्दै थिएँ ।

हिँड्न खोजेँ । सकिनँ । छिटो भाग् भन्दै थियो । ऊ गम्भीर थियो ।

‘अहिले अरू साथी आए घाइते भन्दैनन् । तेरो सतित्व लुट्न सक्छन् । मरे छाड्दिन्छन् ।
बाँचिरहे गोली ठोकिदिन्छन् । भिडन्तमा मृत्यु भएको छापामार भेटियो भन्ने रिपोर्ट तयार
पार्छन् ।’

उसको कुराले मनमा आँधी चल्यो । विपक्षी बन्दुकधारीहरू घाइते र लास खोज्दै थिए । हिँड्न खोजेँ । घस्रेर अलिक अघि बढेँ । उनीहरूले नै प्रहार गरेको टुइन्च मोर्टारको छर्राले छिद्र बनाएको शरीर मरिकाटे घिस्याउन सकिनँ ।

‘चाँडो भाग् न भन्या । मेरो आँखासामु तेरो क्रन्दन सुन्न सक्तिनँ भन्या ।’

उसको कुरोले मन पग्ल्यो । अघि बढ्न न्वारानदेखिको बल झिकेँ । हार खाएँ । 

तत्कालै भनेकी थिएँ, ‘दाजु्, म अघि बढ्न सक्तिनँ । तागत हरायो । तिम्रा साथीले नभेट्तै मलाई तात्तातो गोली खुवाऊ । म तिम्रो ऋणी हुन्छु ।’

‘तेरो क्रन्दन सुन्न नसक्नेले तेरो मृत्यु कसरी हेर्न सक्छु । त्यो पनि आफ्नै हातले ।’
उसको कुरा सुनेर म मरेतुल्य भएकी थिएँ ।

‘उसो भए एउटा हतियार देऊ न त । म आफैँ काम तमाम गर्छु ।’

उसले टाउको हल्लाएर अस्वीकृत जनायो । 

मैले प्रश्न राखेँ, ‘मलाई किन जोगायौ ?’

मतिर हेर्दै उसले भनेको थियो, ‘तेरो साथीले मलाई र मेरा साथीले तँलाई बाँकी छाडेछन् भने अवश्य हाम्रो भेट हुने छ । त्यसैबेला सप्पै कुरा बताम्ला ।’

२. शत्रुप्रेम–२ 

‘ए, तिमीहरू त्यो पाटो खोज । म यो पाटो खोज्छु ।’
मतिर आइरहेका साथीहरूलाई उसले अन्यत्रै पठाएको थियो । र, आफूले म भएको पाटो खोज्ने जिम्मा लिएको थियो ।

अरू सिपाहीहरू पनि ‘एस सर’ भन्दै आदेश भुँइमा खस्न नपाईकन बाँचे÷मरेका सिपाहीहरू खोज्दै थिए । चारैतिरका हरिया स्याउलामा रगत लागेको थियो । ठाउँठाउँका झ्यासम्यास समेत रगत लत्पतिएको पोतारोजस्ता थिए । 

ऊ मेरो सम्मुखमा आयो । चिउँडो उचालेर मेरो लत्रिएको टाउको उठायो र हेरिरह्यो । म निकै भयभित भएकी थिएँ । उसले निर्दयी मन बनाउला र ममाथि खनिएला भन्ने अज्ञात भयले गाँज्न थाल्यो । अब मेरो शरीर भोग्ने भयो भन्ने लागेको थियो ।

‘ऊ, ऊ माओवादी’ भन्दै एउटा सिपाही हाम्फाल्दै मतिर आयो । ‘खै, काँ छ ? खै, काँ छ ?’ भन्दै अरू थुप्रैले उसैलाई पछ्याए ।

उसले हत्त न पत्त पानी भरिएको तुम्लेट र केही ट्याब्लेट मतिर फ्याकेर आफू भने सिपाहीहरूलाई छेक्न अघि बढ्यो ।

‘स्टोप, नन्सेन्स’ ऊ गर्जिएको थियो । सबै शान्त भएपछि अर्कै दिशातिर देखाउँदै भनेको थियो, ‘ऊ, ऊ उता गएछ । घाइते छ । निःशस्त्र छ । गोली नहान् पक्री, पक्री ।’

उसले इशारा गरेतिरै सबै दगुरेका थिए । ऊ समेत मलाई छाडेर अन्यत्रै लागेको थियो । म त्यहाँ निकैबेर तेर्सिरहेँ । उसले दिएको पानी पिएपछि केही त्राण आयो । शरीरबाट खुन बग्न बन्द भएको थियो ।  
उसले दिएको ओखती एउटा पेनकिलर थियो । अरू दुईटा के थियो, थाहा भएन । मर्न दिए पनि बाँच्न दिए पनि प्रेमले दिएको हो । यस्तै सोच्दै तीनओटै ओखती एकै पटक सुलुत्तै निलेँ र पेटभरि पानी पिएँ । 
झमझम निद्रा लाग्यो । कतिबेरसम्म निदाएँ । पत्तै भएन । बिउँझँदा त शरीरमा पीडा बन्द थियो । तागत भरिएर आएको थियो । 
अघिका सिपाहीहरूको चालचुल कतै थिएन । अज्ञातस्थलतिर पाइला चाल्नु थियो । मसँग अब केही थिएन । मात्रै उसैले दिएको बाँकी आधा दर्जन ट्याब्लेट थिए ।
 
००० 
२०७८–०६–०१ विश्वकर्मा पूजा ।

३. शत्रुप्रेम–३ 

सकेर हैन वाध्यताले म कम्ब्याट ड्रेसमै जंगलबाट गाउँ पसेकी थिएँ । मान्छे त जंगली थिइनँ तर गाउँलेले जंगली नै ठानेर लखेट्न खोजे ।

‘हजुर, म घाइते छु । भोकी छु । लगाएको वस्त्र च्यातचुत छ । रगतले कटकटिएको छ । साथीहरूबाट बिछोडिएकी छु । मलाई शत्रुबाट जोगाएर सकुसल आफ्नो समूहमा जान दिनुस् ।’ हात जोड्दै मैले प्रार्थना गरेकी थिएँ ।

‘याँ माओवादीलाई पाले सेनाले हामीलाई नै भडखारामा फाल्दिन्छ । हामी तेरो करुण बोलीले पग्लनौँ । बाध्यताको साङ्लोले बेरिएका छौँ । तँ याँबाट गइहाल् त !’
त्यहाँ उपस्थित एक भलाद्मीको बोली सुनेर भित्रैबाट खुन उम्लेर आएको थियो । म निरीह भएर खडा थिएँ ।  एकएक गर्दै गाउँलेहरू आउँदै हेर्दै जान्थे । त्यहीँ ढुक्कले बसिराख्ने चाहिँ ८÷१० जना मात्र थिए ।
‘तँ घाइते रहिछस् । चाँडै मर्छेस् । बरू त्यो रागे भिरबाट हाम्फाल्दे, नानी । सबैले चयनको सास फेर्न पाउँछन् ।’ एउटी अधबैँसे महिलाले गहभरि आँसु पारेर भनेकी थिइन् ।
‘म भिरबाट हाम्फाल्न बन्दुक भिरेर जंगल पसेकी हैन आमा । बहुलाएर जंगल पस्न वाध्य भएकाहरूलाई गाँस, बास र कपास यही समाजमा दिलाउन हिँडेकी थिएँ । यद्यपि यस्तो हालतमा एक्लो परेँ । एक्लो वृहस्पती झुुटो भन्छन् तर म झुटो छुइनँ, आमा !’
मेरो जवाफ सिद्धिन नपाउँदै एक अधबैँसे दौडेर आए । बाहिर उभिएका मानिसका कानमा केके जाति भने । एकाएक सबै जनाको मलाई हेर्ने नजर बदलियो ।
अघि गइहाल भनेर लखेट्न तम्सने भलाद्मी समेत मेरो सामु नौनी भए । एकाएक गोहीका आँसु झार्दै भन्न थाले, ‘नानी, भित्रै बसौँ न । मनमा कुनै कसरमसर नलिनू है । विपत्मा परेकालाई सहयोग गर्नु हाम्रो सनातनी धर्म हो ।’
उनले नजिक उभिएकाहरूलाई अह्राउँदै थपेका थिए, ‘के हेर्छौ । चाँडो पानी ठीक पार । नयाँ लुगा ल्याइदेओ । दूध तताओ । नानीलाई भोजन गराओ । फटाफट काम गरिहाल ।’
सबै जुटेर क्षणभरमै काम तमाम गरेका थिए । मैले नुहाइधुवाइ सकेर अघाउँजेल तात्तातो खाना खाँदै सोच्न पुगेकी थिएँ, ‘अघि छिछिदुर्दुर् गर्ने गाउँले एकाएक कानेखुशी गर्दै किन मेरो सेवामा जुटेका ?’
००० 
२०७८–०६–०२

४. शत्रुप्रेम–४ 

‘त्यो केटी, महारानी हो र ! हामी सेवामा जुट्नू । कहिले सेनाको सेवा गर्नू त कहिले माओवादीको । कसैले निको मान्ने होइनन् हामीलाई । दाल पिँस्दा घुनझैँ पिसिनुपर्छ नै ।’
बाहिर ठिटोले गरेको गुनासो भित्र ढल्केर म सुनिरहेकी थिएँ । मनको पीडा कम भए पनि शरीरको पीडा बढ्दै थियो । पेनकिलरले केही घण्टा विसेक हुन्यो । पुनः उस्ताको उस्तै ।
नयाँ मान्छे बम्कन्थ्यो । अरूको इसारा र कानेखुशी सुनेपछि सूर्यको ताप पाएको हिउँझैँ विस्तारै पग्लन्थ्यो । म पीडाले छटपटाइरहेकी थिएँ । मेरो सेवामा तीन वटी नारी जुटेका थिए । उनीहरूले जतिसुकै चोचोमोचो गरे पनि पीडा कम भएको थिएन । काँडो बिझ्दा त शरीरमा छउँन्जेल खपिनसक्नु हुन्छ । त्यसमा मेरो शरीरमा त टुइन्च मोर्टारको छर्रा गडेको थियो । न बाँच्न दिन्थ्यो न त सजिलै मर्न नै । 
त्यस घरमा एक्कासी एक पुरुष र एक नारी आए । उनीहरूले डाक्टरी पोशाक पहिरेका थिए । सरासर म नजिक आए । 
‘हामी सहाराविहिनको प्राथमिक उपचार गर्दै हिँड्दै छौँ । तपैँको शरीरभरि छर्रा छ रे । हामी निकाल्दिन्छौँ । तपैँ घोप्टो पर्नुस् त ।’
नारी स्वर सुनियो । म केही बोलिनँ । उनीहरूले भने बमोजिम गरिदिएँ । कहाँकहाँ सुई हानेँ । कतिबेर लट्याए । केही थाहा पाइनँ । ती हाम्रा समूहका थिए कि सरकारी थिए ? वा कुनै निरपेक्ष स्वास्थ्य स्वयम्सेवक थिए ? वा त्यही ठिटो कमान्डरले खटाएको पो हो कि ? मनमा अनेक तर्कना आए ।
उठेर बसेँ । शरीर भरि व्यान्डेज थियो । एक झोला ओखती र पुर्जा थियो । मास्तिर ओखतीको नाम थियो । तल्तिर लेखेको थियो– हामी माथि शंका नगर्नू । दिएको औषधी नियमित खानू । थप सेवा चाहिए हामी आउँछौँ । वरपरका मान्छेलाई आफूलाई चाहिएको कुरा भन्नू । सबै कुरा पूरा हुन्छ । ढुक्कले आराम गर्नू ।
०००
२०७८–०६–०३

५. शत्रुप्रेम–५ 

‘गाउँले दाजुभाइ, मलाई कसले सहयोग पु¥याउँदै छ ? यी थरीथरीका पोशाक र श्रृङ्गारका साधन कसले पठाउँदै छ, हँ ?’

एक एक गर्दै मेरो नाममा आएका समानहरू देखाउँदै मैले सोधेको प्रश्नको उत्तर दिनुको साटो सबैले टाउको निहु¥याएका थिए । मानौँ उनीहरू मेरो काम बिगारेका कारिन्दा हुन्, म हाकिम हुँ । निकैबेरको गलफती पछि पनि स्पष्ट जवाफ आएन । नयाँ कपडा मेरै सेवामा तैनाथ युवतीहरूलाई बाँडिदिएँ । 

घाइते छोरीलाई आमाले सेवा गरेजस्तो सेवा पाएको थिएँ । म आफ्नै घरमा छु जस्तो अनुभूत गरिरहेकी थिएँ । आफ्ना सहयात्री साथीहरूको धमिलो स्मृति मात्रै मनमा थियो । खालि मनमा उही ठिटो कमान्डरको गम्भीर मुहार मनमा नाच्न आउँथ्यो । 

आफू तन्दुरस्त भएको अनुभव हुँदै थियो । धेरै दिन बस्नु खतरा मोल्नु हो भन्ने सोचेर आफ्नो कम्ब्याट ड्रेस पोको पारी हिँड्न लागेकी थिएँ ।

‘म्याम, सबै सामान पठाएको र उपचारको व्यवस्था गरेको एक जना हाकिम सरले हो । बेलाबेलामा उहाँ यता आइरनुहुन्छ । हजुर्को खबर बुझिरनु हुन्छ । कुनै कमजोरी नरहोस् भनेर खबरदारी गरिरनुहुन्छ ।’ पुरुष आवाज सुनेर टक्क अडिएँ ।

‘हो, त्यै सरले तपैँलाई जङ्गलाँ बचाएको रे । नत्र अरू सिपाहीले अचार बनाम्थे रे ।’

स्त्री स्वर रोकिना साथ एक प्रौढ स्वर सुनिएको थियो, ‘तिन्ले नानीलाई पिरेम गर्छन् जस्तो छ । मयापिरेमले शत्रुलाई मित्रुमा बदल्ने तागत राख्छ रे । कतै सेना र माओबादी बीच यस्तै पिरेम भएर शान्ति आइदिए कस्तो काइदा हुन्थ्यो ।’
 
जवाफ फर्काउँदै मेरा पाइला अघि बढेका थिए, ‘मेरो मायाको सागर विशाल र गहिरो छ । म संसारलाई माया गर्न हिँडेकी हुँ । शत्रु पक्षको यत्ति धेरै मायाका लागि आभारी छु । मेरो पनि उत्तिकै गहिरो माया छ भनी सुनाइदिनू ।’ 

२०७८–०६–०४
मो.नं. ९८४२८२९२०६
उदयपुर, बेलका–२, सिद्धार्थटोल, गल्फडिया ।

nandalalacharya@gmail.com


Laxmi Rijal

लघुकथा– तिजैतिज – नन्दलाल आचार्य

लघुकथा– तिजैतिज
– नन्दलाल आचार्य


‘तिज र आमा समानार्थी नभए पनि उस्तै शब्द हुन् । आमाबिना तिजमा माइत जानुको अर्थ थकाइ मात्रै हो ।’

उहाँको भनाइ विपरीत उभिँदै मैले प्रतिकारका शब्द ओकलेकी थिएँ; ‘आमालाई पाउन माइत जानुप¥यो । घराँ बसेर आमा कहाँ पाइन्छ त ?’

उहाँ चुप हुनुहुन्थ्यो । त्यही मौकामा थपेकी थिएँ; ‘आमाको प्रतिनिधि भएर भाइ मलाई लिन आउँछ रे । उसैसँग माइत जान तयार होऊँ त ?’
‘पर्दै पर्दैन । लिन आमा आए जानू नत्र तिज घरमै मनाउँनू । भन्द्या छु । अरू आर हुँदै हुँदैन ।’

अफिसतिर प्रस्थान गर्दै थप्नुभएको थियो; ‘साधन नभए बोलेरो पठाम्छु । तर आमा नै आउनुपर्छ ।’

सधैँ मेरो बोली भुँइमा खस्न नपाउँदै ‘एस’ भन्नुहुन्थ्यो । यसपाली चाहिँ किन सानो कुरामा अहम् देखाउनुभएको होला ? बूढो हुँदै गएपछि मान्छे निहुँ खोज्छ भनेको ठीकै हो कि क्या हो ।

मनोविनोदमा ब्यस्त भएकै बखत मोबाइलको रिङटोनले तन्द्रा भङ्ग गरिदियो ।

‘हजुर आमा, ज्वाइँकै मोबाइलमा फोन गर्नु रे ।’

आमाको स्वर सुन्नासाथ औपचारिकता पनि पूरा नगरी हत्त न पत्त भनिहालेँछु ।

फोन काट्न कानबाट मोबाइल हटाउँदा हटाउँदै आमाको थोतेबोली सुनिएको थियो; ‘हैन, यो प्रतिमा कस्तरी मात्तिएकी । पैली तिजाँ बोलाम्नु, आइहाल्छु भन्थी । ऐले ज्वाइँको नाम जप्छे ।’

मलाई सबै जनासँग रिस उठेको थियो । बसेको सोफा पनि बिझाउन थालेको थियो । ओछ्यानमा पल्टँदा ओछ्यान नै पाछ्न थाल्थ्यो । छोराछोरीको बोली पनि कर्कश कागेबोली लाग्न थालेको थियो ।

उहाँले अफिसबाट फर्कंदा थरीथरीका सामान ल्याउनुभएको थियो । मलाई फकाउन त होला नि भन्दै म ठुस्किएर परपरै हुन्थेँ । उहाँ ककसलाई फोन डाइल गरिरहनुहुन्थ्यो । मैले बुझ्ने जमर्को नै गरिनँ ।

भोलिपल्ट ठीक ११ बजे आमा चढेको बोलेरो गेटभित्र छि¥यो । मेरा मिल्ने सहेलीहरू पनि एकएक गर्दै भित्रिए । खानेकुरा बनाउनेहरू समेत भाडावर्तन र औजारसाथ त्यसैबेला हाजिर भए । म तीन छक्क परेकी थिएँ ।

सबैले आमाको सत्कार ग¥यौँ । नाचगान सुरुआत भयो । खुब नाचियो, गाइयो र खाइयो । यसखाले सरप्राइजका लागि मैले उहाँलाई ‘धन्यवाद’ भन्दा उहाँले भन्नुभएको थियो; ‘जहाँ आमा त्यहाँ तिजैतिज ।’

२०७८–०६–०३ सातौँ संविधान दिवस
–उदयपुर, बेलका–२, सिद्धार्थटोल, गल्फडिया । Laxmi Rijal

Wednesday, September 15, 2021

लघुकथा : बाको अन्तिम बोली -नन्दलाल आचार्य

सम्पूर्ण बाहरूमा सम्मान गर्दै नातिहरूका बा अर्थात् मेरो भतिजको स्वास्थ्य लाभको कामनामा समर्पित------

लघुकथा :  बाको अन्तिम बोली
-नन्दलाल आचार्य 


'सन्तोष, आफूभित्रको हिम्मतलाई उचाल्नुपर्छ । सहासले बिमारसँग जुध्नुपर्छ । हिम्मतका अघि सत्रु झुक्छ । सहास देखेर सत्रु चुक्छ ।'

भतिजोलाई ऊर्जा भरिदिने मनसायले मैले भनेको सुनेर जयप्रसाद दाजुले भनेका थिए; 'केको सन्तोष, सन्तोष अब असन्तोषी भयो । यसको दायाँबायाँ दुईटै खप्पर खोलेको चार दिन भयो । तहिलेदेखि धुकधुकी छ तर मान्छे छैन ।'

म निरुत्तर थिएँ ।  मनमा थरीथरीका सुनामी तँछाडमछाड गरेर दगुर्दै थिए । खोपको नाममा यो सबै काण्ड भइरहेको थियो । म स्वयम् खोप लगाएपछिको ज्वरोले आफैँ तखतरान थिएँ ।

'बाबु, डाक्टरहरूले गर्ने गरे । अब हामी सबैको कामना र प्रार्थनाले सन्तोष फर्कन्छ भन्ने झिनो आश मात्रै छ । यही मेरो चाहानानुसार तपैँ र तपैँका मित्रलाई कामना र प्रार्थना गर्दिन भनिदिनुस् है ।'

भाउजूले आँसु खसाल्दै भनेका शब्दले मन भक्कानिएको थियो । बुहारी भतिजको सिटिस्क्यान गराउने क्रममा ढलेर अर्को बेड भरेकी रहिछन् । यी सबै भद्रगोल देखेर अब सहासले जुध्ने काम मेरो नै थियो ।

खोप लगाउनासाथ ज्वरो आएछ । पखाला चलेछ । यताउताको ओखतीमुलोले नछोएपछि उपचारार्थ विराटनगर जाने भएछन् । बुहारी भित्र कपडा लगाउन गइछन् । पोशाक लगाएर तयार भई बाहिरिएको भतिजोलाई एक्कासी उच्चरक्तचापले ढलेछ । ढल्दा अझ टाउकामै चोट थपिएछ ।

बाहिर निस्केर बुहारी चिच्याइछन्; 'आम्मै ! यो तपैँले के गर्नुभाको ? के गर्नुभाको ? हे भगवान् ! ---'
भतिजो त काटेको बोकोझैँ रगतको आहालमा छटपटाइरहेको पो रहेछ ।

भतिजाका दुबै छोराले एम्बुलेन्समा बसाएपछि भनेछन्- 'बा, उपचारबाट निको भएर हाँस्दै फर्कनुस् है । हामीलाई बचन दिनुस् ।'

त्यसबेला भतिजोले भनेको रहेछ; 'म फर्किहाल्छु । तिमेर्को मायाका सामु मेरो रोग, भोक र शोक कता भाग्छ, भाग्छ ! मलाई नै थाहा हुन्न । तसर्थ ढुक्क होओ ।'

-उदयपुर । रचनाकाल- २०७८/०५/२२

तिज लघुकथा : मातृचाह - लक्ष्मी रिजाल


लघुकथा : मातृचाह
- लक्ष्मी रिजाल

सधैंझैँ साडी लाउने रहर थियाे तिजमा
काेराेनाले डिस्टब गर्याे बीचबीचमा  ।
पाेहर साल नाचियाे राताे सारी लतारी
यसपालीको तिजमा  सारै भाे भारी ।

तिजगीत बज्दै थियोे । आमा सम्धीगाउँ नभनी धित मरुन्जेल नाच्नुभएको थियो  । त्यसबेला उहाँले आफूलाई सोह्र वर्षे षोडशी नै सम्झनुभएको थियो ।

"चाडबाडाँ नाच्दा लजाउन हुन्न । यो समय र स्थान मन खोल्ने रङ्गमञ्च हो । यहाँ मन लुकाउने पछुताउँछ । मन खोलेर देखाउनेले जीवनको अपूर्व आनन्द लिन्छ ।"

आफू नाचेर थाकेपछि स्वाँस्वाँ हुँदै अरूलाई उकास्न उहाँले भन्नुभएको थियो । उहाँको ऊर्जाशील अभिव्यक्ति सुनेर सबैजसो रमितेले जानिनजानी  कम्मर मर्काएका थिए । रमितेमध्येका एक मेरा ससुरा बा समेत एक कुनामा उभिएर मुख आँ गरेर आमाको नृत्य हेरिरहनुभएको थियो ।

"हजुरले खाटमै बसेर  हेर्नु र सुन्नुभएको भए हुन्थ्यो । यहाँ उभिँदा दु:ख भो होला !"

मेरो भनाइको प्रत्युत्तरमा आएको आवाज सुनेर मस्वयम् नतमस्तक भएकी थिएँ; "मभन्दा सात बर्ख जेठी सम्धिनीको मयुरझैँ नृत्य कुनै अप्सरा नृत्यभन्दा कम छैन । उहाँलाई यहाँ बोलाएछाै । जमघट देखेर मेरो शरीरको बिमार काँडो झिकेजस्तो भो, दुलही !"

"अचेलका केटाकेटीलाई चाहिँ खायोपियो सामाजिक सञ्जालमा झुम्मिन पाए पुग्यो ।  वास्तविक चाडबाडको मज्जा त पुरानै पुस्ताले लिन जानेका हुन्  ।"

म मनोवादमा मस्त रहेको बेला आमाले मलाई झक्झकाउँदै भन्नुभएको थियो; "माइत जान्छु लिन आउनुस् भनेर मलाई बोलाइस् । म आएँ । फेरि दाजुभाउजूलाई तीज सकेर आमा लिएर आउँछु भनिस् । तिनले नाइँनास्ती गरेनन् । तेरा बाले धर्ती छाडेदेखि त्यो घर मेरो लागि बिरानो देश भाको छ । मेरो अर्को छोरो तैँ होस् । अबदेखि मलाई पनि यतै राख्छेस्  कि ?"

आमाका कुरा सुनेर मेरा अङ्गप्रत्यङ्ग उमङ्गले फुरुङ्ग भएका थिए ।

२०७८/०५/२५
स्थाई बसाेबास-  सिद्धार्थटाेल, उदयपुर 
अस्थायी - इटहरी, सुनसरी ।

लघुकथा– शत्रुप्रेम -नन्दलाल आचार्य

लघुकथा– शत्रुप्रेम -नन्दलाल आचार्य
‘केटी रै‘छेस् । प्राणदान भो । भागी हाल् ।’ विपक्षी बन्दुकधारीले भनेका कुरा सुनेर आश्चर्यमा परेकी थिएँ । दोहोरो भिडन्त थामिएको थियो । बमको आवाज र बारुदको गन्ध आउन बन्द भएको थियो । पाखाभरि विपक्षी बन्दुकधारी मात्रै थिए । मेरा माओवादी सहयोद्धाहरूको अत्तोपत्तो थिएन । म घाइते अवस्थामा मृत्युसँग जुध्दै थिएँ । हिँड्न खोजेँ । सकिनँ । छिटो भाग् भन्दै थियो । ऊ गम्भीर थियो । ‘अहिले अरू साथी आए घाइते भन्दैनन् । तेरो सतित्व लुट्न सक्छन् । मरे छाड्दिन्छन् । बाँचिरहे गोली ठोकिदिन्छन् । भिडन्तमा मृत्यु भएको छापामार भेटियो भन्ने रिपोर्ट तयार पार्छन् ।’ उसको कुराले मनमा आँधी चल्यो । विपक्षी बन्दुकधारीहरू घाइते र लास खोज्दै थिए । हिँड्न खोजेँ । घस्रेर अलिक अघि बढेँ । उनीहरूले नै प्रहार गरेको टुइन्च मोर्टारको छर्राले छिद्र बनाएको शरीर मरिकाटे घिस्याउन सकिनँ । ‘चाँडो भाग् न भन्या । मेरो आँखासामु तेरो व्रmन्दन सुन्न सक्तिनँ भन्या ।’ उसको कुरोले मन पग्ल्यो । अघि बढ्न न्वारानदेखिको बल झिकेँ । हार खाएँ । तत्कालै भनेकी थिएँ, ‘दाजु्, म अघि बढ्न सक्तिनँ । तागत हरायो । तिम्रा साथीले नभेट्तै मलाई तात्तातो गोली खुवाऊ । म तिम्रो ऋणी हुन्छु ।’ ‘तेरो व्रmन्दन सुन्न नसक्नेले तेरो मृत्यु कसरी हेर्न सक्छु । त्यो पनि आफ्नै हातले ।’ उसको कुरा सुनेर म मरेतुल्य भएकी थिएँ । ‘उसो भए एउटा हतियार देऊ न त । म आफैँ काम तमाम गर्छु ।’ उसले टाउको हल्लाएर अस्वीकृत जनायो । मैले प्रश्न राखेँ, ‘मलाई किन जोगायौ ?’ ‘तेरो साथीले मलाई र मेरा साथीले तँलाई बाँकी छाडेछन् भने अवश्य हाम्रो भेट हुने छ । त्यसैबेला सप्पै कुरा बताम्ला । उदयपुर, बेलका–२, सिद्धार्थटोल, गल्फडिया । (साभार– २०७७ माघ महिनाको शब्दाङ्कुर साहित्यिक मासिक पत्रिका ।)

Monday, September 13, 2021

लघुकथा : बेताल - नन्दलाल आचार्य

Laxmi Rijalआज २०७८ भदौ २९ गते मनाउँदै गरेको  ५७औँ राष्ट्रिय बालदिवसकाे समय सुहाउँदो नारा छ- ‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ 
प्रस्तुत छ यही सन्दर्भकाे लघुकथा-

लघुकथा : बेताल
- नन्दलाल आचार्य

 

"आजका बालबालिका भाेलिकाे राष्ट्रकाे लगाम पक्रने सारथि हुन् । उनीहरूले आज सम्मानजनक ज्ञान आर्जन गर्न पाए मात्रै बाेली र व्यावहारमा एकरूपता हुन्छ ।"

मन्त्रीले भाषण गरिँरहँदा ताली बजाउने सबै बालबालिकाहरू नै थिए । उनीहरू भदौको चर्काे घाममा थाेरै बसेर र धेरै उठेर ताली बजाउँदा थिए । बजाउन अल्छी गर्नेलाई उनीहरूका शिक्षक बजाउन सङ्केत गर्दा थिए ।

कार्यक्रमको अन्तमा आयाेजककाे दयादृष्टि भएकाे थियाे- सबै जसाे बालबालिकाे हातमा कसैकोमा एउटा कसैकाेमा दुइटा चकलेट परेको थियाे । एउटा पनि चकलेट नपाउने केही बालबालिका वितरकको मुहार टुलुटुलु हेरिरहेका थिए ।

 केही बुज्रुकहरू चकलेट पाइनँ भन्नेहरूलाई 
खेतबारीमा पाकेका मकै खाला भनेर बाँदर लखेटेझै लखेटिरहेका देखिन्थे ।

मञ्चबाट उठेर आफ्नो सवारी साधनतिर लम्कँदै गर्दा मन्त्रीकाे बाेली सुनिएकाे थियोे; "ए फुच्चे, कार राम्रोसँग पुछपाछ त गरिस् नि ? टलक्क टल्किने बनाइस् नि ?"

बाेली भुइँमा खस्न नपाईकन १२ वर्षको धनमान "एस सर, तयार छ सर" भन्दै सामुन्नेमा हाजिर भएको थियोे ।

२०७८/०५/२९  
बेलका- २, सिद्धार्थटाेल, उदयपुर ।

Wednesday, September 1, 2021

लघुकथा : भर्याङ कमरेड - लक्ष्मी रिजाल

Laxmi Rijal(याे फादर्स डे/बा/बुबा/पिता सप्ताह मनाउने क्रममा सिर्जना गरिएको  'बा' विषयक लघुकथा हाे ।)

लघुकथा : भर्याङ कमरेड
- लक्ष्मी रिजाल

"नानी तँ मन खोलेर पढ है ! अहिले सिक्ने समयमा मन लुकाइस् भने जीवनभर लुकाएर बाँच्नुपर्छ ।"

बुबाले यसो भन्दा के भनेको होला भन्थेँ म । शिक्षण पेशामा आबद्ध हुँदै गर्दा उहाँ भित्रभित्रै राजनीतिमा सक्रिय हुनुहुँदो रहेछ ।

मण्डलेहरूको झोसपोलले उहाँ प्रहरीको आँखी हुनुभएको थियो । त्यही कारणले उहाँले जागिरबाट हात धुनु परेको थियो ।

पूर्णकालीन कार्यकर्ता भएपछि उहाँ परिवारबाट बेखबर हुनुहुन्थ्यो । उहाँको भूमिगतले हाम्रो जीवन कष्टकर भएको थियो ।

यदाकदा आधारातमा उहाँ आउनुहुन्थ्यो । र; गुनासो गर्नुहुन्थ्यो; "गाउँमा सामन्तीहरूको एकक्षत्र राज भयो । त्यसलाई ध्वस्त पारेर जनताको घरमा हाँसो फर्काउन राजनीतिमा लागेँ । आफ्नै हाँसो गुम्यो । र; पनि जनताको चै फर्कला भन्थेँ । केको फर्कन्थ्यो ? टाठाबाठाको मात्रै पो दिन फर्कने रहेछ ।"

उहाँ मलाई पढेर मात्रै हैन परेर पनि सिक्न भन्नुहुँदो रहेछ । ज्ञान लिन कोढीका पाउ मोल्न पनि पछि नहट्नु भन्नुहुँदो रहेछ । आफ्नो समूहमा आफैँ बढता बुझ्ने हैसियतमा रहन सके मात्र कसैले दबाउन नसक्ने ठोकुवा गर्नुहुँदो रहेछ ।

उहाँ अहिले आफ्नै साथीहरूले व्यवस्था गरेको वृद्धभत्ता लिन जाँदा भन्ने गर्नुहुन्छ; " यी फटाहाहरूलाई काँध थापेर उसबेला भर्याङ चढाइयो । रितो शरीरका साथ फुक्लो जीवन राजनीतिबाट सन्यास लिँदा गाउँलेहरू 'भर्याङ कमरेड' भनी खुब गिल्ला गर्थे उत्तिबेला । यतिबेला मर्ने बेलामा दुईचार पैसो गोजीमा हाल्देर निकै काम गरेका छन् ।"

कञ्चनरूप- रूपनगर, प्रगतिटोल, सप्तरी

लघुकथा- बाको रिन असुल

Laxmi Rijalबा/बुबा/पिता सप्ताह मनाउने क्रममा 'बा' लघुकथा-२

लघुकथा- बाको रिन असुल
- नन्दलाल आचार्य


"तेरा बा बिनारथ कतै चटपटाउनुहुन्नथ्यो उत्तिबेला ! यत्तिबेला तँ पनि शौखिन हुन खोज्छस् ?"

पुरानो बेचेर नयाँ मोडेलको मोटरसाइकल किन्न अनुमति माग्दा आमाले भन्नुभएको कुराले मनमा झड्का हानेको थियो ।

बाको शौखको बारेमा त्यत्ति थाहा थिएन । म सानै छँदा उहाँले परमधाम सुधार्नुभएको थियो ।
उहाँ सुनैसुनले बेरिएको लौरो टेक्नुहुन्थ्यो । चाँदीका बर्तन बाहेक अरूमा पानी समेत पिउनुहुन्नध्यो । कुच्चिएका र दुला परेका चाँदीका भाँडाकुँडा बोराभरि कोचेर राखेको हुन्थ्यो । मैले यत्ति चाहिँ देखेको थिएँ । 

"बुलबुल बाबु ! सप्तकोसी हमरा घरसर सबटा बगादेलके । हम आ हमर बालबच्चा सभ भुकसँ मरैअ ।"

सप्तकोसीले घरबारबिहिन पारेको भन्दै आफ्ना अघि हात जोड्नेलाई उहाँ भन्नुहुन्थ्यो; "अच्छा, तुँ हमरा सँ कथि चाहैछी ?"

मबाट के चाहन्छौ भन्ने उहाँको उदार प्रश्नको जबाफमा उनीहरू बसोबासका लागि आफ्नो नाममा घरेडी पास गरिदिन र ६ महिना खाने अन्न माग्थे । पछि कमाएर त्यो रिन चुक्ता गर्ने बचन दिन्थे ।

"मान्छे आँसु खसाल्न हैन; हाँसो बाड्न जन्मेको हो । सहासी सधैँ मुस्कुराउँछ । कायरले मात्र आँसुलाई प्रसाद ठान्छ ।"

बाका कुरा सुनेर रोदन गर्न बन्द गर्थे मानिसहरू । त्यही मौकामा बाको कथन पुन: सुनिन्थ्यो; "पाँच कठ्ठाका दरले घरेडी पास गरिदिउँला । चार बोरा धान र गहुँ दिन मुन्सीलाई चिठी लेखिदिउँला । अब त खुशी हुन्छौ नि !"

त्यसपछि बुलबुल बाबुले जग्गा र अन्न बिनाधितो सापटी दिँदै छ भनेर गाउँभरि हल्ला फिँजिएछ । हाम्रो घरमा मालपोत कार्यालयको जस्तै भीड लागेको थियो ।

त्यस भिडलाई देखेर उहाँले एक कठ्ठा घरेडी र एक मन अन्न मात्रै सापटी दिने कुरा गरेपछि २०% मानिस थोरै त लिन्न भनेर खाली हात घुरेका थिए । बाँकी मानिसहरू चाहिँ हातहातमा  मुन्सीलाई सम्बोधित चिठी पक्रेर बाहिरेका थिए ।
घरेडी पास गराउन बाहेक अरू बेला कहिल्यै ती मान्छे फर्केर आएनन् । बुबा बितेको ३० वर्षपछि घुम्दैफिर्दै म त्यहाँ पुगेँछु ।

 'बुलबुल मालिके बेटा' भन्दै  सबै बुढापाका नरनारी जम्मा भएर मलाई घेर्दै भनेका थिएँ, "मालिकको छोरो मालिक नै हो । हामीलाई रिनमुक्त गराइदिनुस् । रिन बोकेर मयौँ भने माथि अल्लाहले हामीलाई माफ दिँदैनन् ।"

उनीहरूको मन राख्न सबैको हातबाट केही न केही खाएर रिनमुक्त गरिदिनु पर्यो । मेराे अगाडि थुप्राे लागेको थियोे- खाजा, लड्डू, पेडा, चिया, चकलेट, सुन्तला, नरिवल------- आदिकाे !!!

बेलका २; सिद्धार्थटाेल, गल्फडिया, उदयपुर ।
nandalalacharya@gmail.com


सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...