लघुकथा- सरम
‘सिर्जनाको सिर्जनशीलता किन ओइलिएको अचेल ? तपैँहरूको के स्पष्टीकरण छ ? बुझूँ न ।’
प्रधानाध्यापकको प्रश्नले शिक्षकहरू सकसमा परेका थिए । किनभने दश कक्षाकी प्रथम विद्यार्थी सिर्जना विद्यालय नियमित आउँथिन् । सबै शिक्षकहरूकी आँखाकी नानी थिइन् । शिक्षकले पढाउँदा ध्यान दिएर सुन्थिन् । सहकर्मी साथीहरूलाई सोधेको प्रश्नको जवाफमा समेत एक चित्त लगाउँथिन् ।
शिक्षकहरूले उत्कृष्ट ग्रेड ल्याएर सिर्जनाले एसइई परीक्षामा विद्यालयको इज्जत जोगाउने छिन् भन्ने आशा राखेका थिए । यद्यपि प्रथम त्रैमासिक परीक्षाको रिजल्ट हेरेर निरास थिए । परीक्षा परिमाणलाई सुधार गर्ने विषयमा छलफल हुँदै थियो ।
‘केही विषयमा साह्रै कमजोरी देखियो । सिर्जना त अघिको अघि हुनुपर्ने हो, तपैँहरूलाई प्रश्न सोध्दिनन् ? उनको स्तर पनि खस्केको देखियो । कार्यमूलक अनुसन्धान गर्नुपर्ने भो ।’
प्रधानाध्यापकले अङ्ग्रेजी पढाउने राजकुमार शिक्षकतिर फर्केर भने । राजकुमार चिन्तामा डुबे । कक्षामा पुगेर छलफल चलाए । चित्त बुझ्दो कारण फेला परेन ।
अभिभावकहरूसँग भेटघाट गरे र केही समस्याहरू महसुस गरे । आफूबाट समाधान गर्नसक्ने कुरामा सचेत भए । व्याख्यान विधिको प्रयोगमा कमी ल्याए । प्रयोगात्मक विधिमा सबैलाई सक्रिय पार्न खोजे । केही मात्रामा सुधार अवश्य भयो तर कसैले प्रश्न सोध्दै सोधेनन् । अझै समस्याको जरो पत्ता नलाग्दा राजकुमारको चिन्ता कम भएन ।
मिल्ने साथीसँगीहरूसँगको गोप्य छलफलबाट राजकुमारले खुलस्त थाहा पाए । शिक्षकले पढाइसकेपछि ‘बुझ्यौ ?’ भनेर प्रश्न गर्दा रहेछन् । केही केटाहरू ‘बुझिनँ’ भनेर जान्न खोज्ने विद्यार्थीलाई ‘पढनदास’ भनेर जिस्क्याउँदा रहेछन् । त्यसैले नबुझे पनि ‘बुझेँ’ भन्न वाध्य भएका रहेछन् ।’
२०७७.०६.०९
No comments:
Post a Comment