लघुकथा- भावी वैज्ञानिक
स्कुल छुट्टी भएपछि कतै नअलमलिई नरेश घर फर्कन्थ्यो । भान्सामा बनेको खाजा खाएर एक्लै घरबाट निस्कन्थ्यो । कसैले नदेखेको र नरोकेमा प्रशन्न चित्त बनाउँथ्यो । सूर्य अस्ताचलमा पुगेपछि भने मलिन मुहार लगाएर घर फर्कन्थ्यो । विहान झिसमिसेमै ब्रस गर्दै निस्कन्थ्यो र ८ बजेपछि हडबड गर्दै घर पस्थ्यो ।
नरेशको दिनचर्याबाट उसका बाबु आजित थिए । उनी आज चाहिँ हकार्छु भन्थे तर छोराको अरू कुनै कमजोरी नभेट्दा त्यसै तत्रन्थे । अरू सबै कुरामा उसलाई होसियार भेट्थे । सिर्फ साँझ–विहान डुल्ने बानी सुध्रे हुन्थ्यो भन्थे । एक दिन बेलुका झुन्ड्याएको पेन्टको गोजीबाट पर्स नै गायब भएको बुझेपछि भने उनको कन्सिरी तात्न पुग्यो ।
‘सधैँको एकनासे डुलुवा बानी गर्छस् ? लफङ्गा केटाहरूसित लागेर पैसा चोर्न थालिस्, हैन ?’
आफूले लगेकै छैन भनेर नरेशले जवाफ फर्काउँदा बाबु झन् आक्रोशित भए, ‘खुरुक्क अपराध स्विकारेर बिगारेको काम सपारिहाल् । आजैबाट डुल्ने र लफङ्गाहरूसित हेलमेल गर्ने काम बन्द गर् ।’
बाबुले दाह्रा किटेर खाऊँलाझैँ गरेर हेरेको देखेर नरेश डरायो । आफूले कहिल्यै गलत कर्म नगरेको र गर्नेलाई साथ नदिएको भनेर विश्वास दिलायो । बाबुले विश्वासै गरेनन् । सारा कोसिस वालुवाको पुल नै सावित हुँदा ऊ झन्् चिन्तित भयो ।
बाबुछोराको खैलाबैला सुनेर करेसाबारीको काम छाडेर आमा आएर भनिन्, ‘पर्स त तल खसेको थियो । दराजमा राखिदे’की छु ।’
बाबुको शिर तत्रियो । नरेशतिर फर्केर मायालु पाराले सोधिन्,’ तिमी किन बाहिरफेरो अलमलिएको ? यही कुराले रडाको भइरहेछ ।”
गाह्रो मानेर नरेशले मुख खोलेको थियो, ‘जीव र वनस्पति विज्ञानप्रतिको मेरो रुचि देखेर विज्ञान शिक्षकले सल्लाह दिनुभयो । त्यसैले म साँझमा चारकोसे वनका बोटबिरूवा नियाल्छु र विहान खोला किनारका जीवजन्तुसँग रमाउँछु ।’
२०७८.०६.०९
No comments:
Post a Comment