लघुकथा– बुझाइ
---नन्दलाल आचार्य
‘बाबा, हजुर एक ठाममा पुगेसी जहिल्यै नमस्कार गरिसिन्छ । हजुरको यो बानी देख्दा मलाई मिसको सम्झना झल्झली आउँछ ।’
मर्निङ वाकमा जाँदाको समय स्मरण गर्दै मैले बाबालाई भनेको थिएँ । त्यसबेला म फुच्चेका कुरालाई उत्ति साह्रो महत्त्व दिनुभएको थिएन । मैले पनि त्यसबारे पुनः तत्कालै कुरा झिकिनँ ।
अर्को दिन मर्निङ वाकबाट घर फर्किँदा उहाँले प्रश्न राख्नुभएको थियो, ‘छोरा, मैले नमस्कार गर्दा तिम्री मिसको याद कसरी आयो ?’
मिसले कक्षामा पढाउँदा सम्झाएको कुरा स्मरण गर्दै भनेको थिएँ, ‘हामीलाई गुण लगाउने प्रति कृतघ्न हुनु जत्तिको मानवताहीन कुरो संसारमा अर्को केही छैन । कृतज्ञता प्रकट गर्ने मानवको स्वभाव हुनुपर्छ ।’
‘त्यो हो त हो केटा । आफूलाई उपकार गर्नेको उपकार सोच्नु मान्छेको सोच हुनैपर्छ । यत्ति गर्न सके मात्रै मानव धर्म बाँच्छ र अस्तित्वमा टिकिरहन्छ ।’
बाबाको गम्भीर कुरा मेरो मगजमा घुस्दै घुुसेन । म ट्वाल्ल परिरहेको देखेर उहाँ वर्णन गर्न तम्सिनुभएको थियो, ‘तिमीले भनेको ठाउँमा मैले नमस्कार गर्नु हाम्रो सनातनी परम्परा हो । हिन्दू संस्कृतिको सोच र अमूल्य संस्कार हो । किनभने त्यहाँ शिवजीको मन्दिर छ ।’
बाबाका कुरा काट्दै मैले खुलस्त पारेको थिएँ, ‘ए बाबा, हाम्री मिसले त्यसो भन्नुभा थिएन । बोटबिरुवाले बाँच्दा पनि मर्दा पनि हर्दम हाम्रै सेवा गरेर गुन लगाएका हुन्छन् । हजुरले तिनीहरूको गुनप्रति कृतज्ञता प्रकट गरिसिएको पो ठानेको थिएँ ।’
No comments:
Post a Comment