लघुकथा– शिखाको शक्ति
–नन्दलाल आचार्य
‘एई पण्डित ! तिमी मलाई शासनशैली नसिकाऊ । आफ्नो पण्डित्याइँ गरेर जनता उल्लू बनाउन छुट पाएकै छौ । जाऊ उल्लू अभियानमा सरिक भएर पुख्र्यौली परम्परा चलाऊ ।’
राजा धनानन्दको कुरा सुनेर चाणक्यको अन्तस्करणमा ठूलो चोट लाग्यो । उनी संसार विजय गर्ने सिकन्दरको अभियानबाट त्रस्त थिए । उनले अखण्ड भारतको परिकल्पना गरेका थिए । शक्तिशाली तर न्यायप्रेमी राजाको छत्रछहारी पाउन सके मात्र जनता सुखी हुन्छन् भन्ने उनको सोच थियो । आफ्ना राजा धनानन्द जनता बीच अलोकप्रिय भएकोमा उनको मनमा आँधी चलिरहेको थियो ।
आफ्नो मनको असन्तोष सुनाउने इरादाले उनले राजा समक्ष पुनः आग्रह गरेका थिए, ‘महाराज, जनताबाट कर लिनुपर्छ र त्यसको उपयोग जनताकै सुखसुविधामा लगाउनुपर्छ ।’
राजाले प्रत्युत्तर नदिई सोचमग्न भएकै बेला उनले थपेका थिए, ‘तर यहाँ जनताले तिरेको कर राजसंस्थाको विलासितामा खर्च हुन्छ । जनताको आँसु र खुनको दुरुपयोग गरिरहे त्यस शासकको मात्रै हैन उसका सन्ततिको समेत भलो हुँदैन ।’
राजा रिसले चुर हुँदै गलहत्याएर सभाबाट निकाल्न घचेट्दा चाणक्य भुइँमा पछारिए । लड्दा टाउकोमा बेरिराखेको शिखा फुस्यो । त्यही शिखालाई सुम्सुम्याउँदै उनले भनेका थिए, ‘राजा धनानन्द, आजैका दिनदेखि तिम्रो मगध शासनमा धमिरा पस्यो । तिमीलाई सत्ताको मात चढेछ । तिमीलाई सत्ताच्युत नगरी म यो शिखा समेट्दै समेट्तिनँ ।’
त्यसपछि उनले १८ वर्षे चन्द्रगुप्तलाई प्रशिक्षित पारे । तिनै चन्द्रगुप्तले धर्मानन्दलाई सत्ताच्युत गरे । अन्ततः राजाको रूपमा चन्द्रगुप्त र प्रधानमन्त्रीको रूपमा चाणक्यले मगधको सत्ता समाले ।
२०७८–०६–१३ गोलबजार, सिरहा ।
No comments:
Post a Comment