बाल-लघुकथा-- चलाखी
‘दिमागले भन्दा हृदयले लेखेको सिर्जना चिरकालपर्यन्त जीवन्त रहन्छ ।’
कक्षाबाट बाहिरिँनै लाग्दा कक्षा ११ का विद्यार्थीलाई नेपाली गुरुले भन्नुभएको थियो । विद्यार्थीलाई सिर्जनात्मक कार्यअन्तर्गत कथा लेखेर ल्याउन गृहकार्य समेत दिनुभएको थियो ।
म लघुकथा लेख्ने निर्णयमा पुगेँ । यसको बनोट र बुनोट बारे कुरा खेलाउँदै घर आइपुगेँ । रातभर दिमागले सोच्छु, भोलिपल्ट शनिबार हुदयले लेख्छु भनेर थन्काएँ ।
खाना खाएपश्चात् रातमा सोचेको कथावस्तु रैखिक ढाँचामा सरासर लेखेँ । त्यसपछि लघुकथाका अनिवार्य तत्त्वहरू मनमा गुनेँ । रफ रूपमा लेखिएको कथामा कथावस्तु, पात्र, दृष्टिबिन्दु, लघुत्व, सूत्रता, तिक्ष्णता, बक्ररेखीय तीव्र बहाव, सौन्दर्य, शिल्प, रसनिदानजस्ता कुराहरूको तारतम्य भए नभएको जाँच गरेँ । कथावस्तु अनुरूप थपघट गरेँ ।
त्यसपछि कथानकमा सार्थक उठान गर्ने, सङ्घर्ष आरम्भ गर्ने, सङ्घर्षको चरम सीमामा पुग्ने, संघर्षको विस्तारै ह्रास गर्ने र अर्थपूर्ण तवरले कथाको अन्त्य गरी पाठकको मनलाई झङ्कृत गर्ने कुरामा यथोचित ध्यान पु¥याएँ । यस किसिमका कुरामा हेक्का पु¥याउँन दिमाग मात्रै क्रियाशील भएको पाएँ । कथानक, पात्र, द्वन्द्व, परिवेश, भाषाशैलीमा कतैकतै हृदयलाई प्रवेश गराउन खोजेँ । यसरी कथा लेखेर सिद्धयाएँ ।
आमाले सुकुल ओछ्याइदिँदै भन्नुभएको सम्झेँ, ‘बिस्कुन रुँग्दै पढ् है छोरा । चार डाला धानमा एक माना पनि यताउती होला नि !’
गाउँभरिकै परेवाहरू धुइरेर एक डालो बिस्कुन सखाप पारेछन् । मनमा ढ्याङ्ग्रो बज्न थाल्यो । उड्दै गरेका ती परेवा शत्रुजस्ता देखेँ । आफैँ उभिएको धर्ती फनफनी घुमेको भेटेँे । टन्टलापुर घामले जिस्क्याएको पाएँ ।
तुरुन्तै भकारीबाट एक डालो धान ल्याएर बिस्कुनमा थपेँ र चयनको सास फेरेँ ।
२०७८.०७.१४ उदयपुर ।
No comments:
Post a Comment