Tuesday, September 21, 2021

लघुकथा- दूधभात प्रसङ्ग –नन्दलाल आचार्य

लघुकथा- दूधभात प्रसङ्ग –नन्दलाल आचार्य
‘सानी नानीलाई दूधभात देऊ । सारै ल्यान्ते भइन् । चाँडो तन्दुरस्त पार ।’ मैले उनकी आमालाई अह्राउँदा उनी भने सुनिरहेकी थिइन् । प्रतिक्रियाविहिनको अवस्थामा हुनु भनेको भनिएका कुरा स्वीकार गर्नु हो । मेरो यस्तै बुझाइ रहेको थियो । बिहान दस आसपासको समय थियो । सडकमा जानेआउने विद्यार्थीहरूको बाक्लो उपस्थिति देख्न सकिन्थ्यो । शिक्षण पेशा अपनाएको मान्छे थिएँ । मलाई पनि विद्यालय जान हतार हुँदै थियो । भरसक सानीले खाना खाएर मसँगै विद्यालय गइदिए हुन्थ्यो भन्दै थिएँ मनमनै । उनी हप्ता दिन अघि टाइफाइड भएर बल्ल तङ्रिँदै थिइन् । चाँडो तगडा होऊन् भनेर डेरीबाट समेत दूध ल्याउने गरेको थिएँ । उनलाई दूध पिउन समेत हर्लिक्स नभई हुन्नथ्यो । सबै कुराको ब्यवस्था गरिदिएको थिएँ । सानीका सामु दूधभात आइसकेको थियो । उनी घुरेर बसिरहेकी मात्रै थिइनन्, घृणित नजर गाडेर हेरिरहेकी पनि थिइन् । सानीलाई रिस उठ्ने काम पो गरिएछ कि भनेर घोरिएको थिएँ एकै क्षण । यद्यपि मलाई त्यस्तो बिझाउने व्यवहारको यादै आएन । अरू बेला स्कुल जान भनेपछि जस्तोसुकै अवस्थामा पनि तयार हुने छोरी यत्तिखेर चाहिँ बाङ्गिरहेकी थिइन् । उनी बाङ्गिनुको भेउ नपाएर म अलमलमा थिएँ । ‘अचेलका नानीबाबुलाई असल खानेकुरा सहजै खुवाउनुभन्दा बरु बैतरणी नदी पार गर्न सजिलो होला । अरू जङ्क फुड र चटपटे खानेकुरा खान भनेपछि बिमारले आलसतालस भएकाहरू पनि ज¥याकजुरुक उठछन् ।’ आमाले यसो किन भनेको होला भन्थेँ उसबेला । आज आएर आफैँ दलदलमा फँस्न लागेको अनुभूत हुँदै थियो । सानीले भाउ खोजेकी होलिन् भनेर नम्र भएर भनेको थिए, ‘खाऊ सानी खाऊ । दूधभात खाऊ । अनि स्कुल जान तयार होऊ । आज मसँगै स्कुल जानुपर्छ ।’ मेरो आवाज भुइँमै पर्न नपाईकन उनी बम्केकी थिइन्; ‘मलाई फकाउन पर्दैपर्दैन । म बिरालो होइन; दूधभात खाने !’ २०७८–०६–०५ उदयपुर । Laxmi Rijal

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...