Monday, September 20, 2021

सदाबहार जनयोद्धा– कृष्णराज वर्मा –नन्दलाल आचार्य

सदाबहार जनयोद्धा– कृष्णराज वर्मा –नन्दलाल आचार्य
उनलाई न बाबुको पुर्खौली स्थान थाहा छ न त आमाको नै थाहा छ । मात्र थाहा छ– पिता तीर्थराज शर्माका बुबाको घर नुवाकोट हो रे । माता वेदकुमारी वर्माको माइती गाउँ धनकुटा हो रे । न उनका मातापिता फर्केर नुवाकोट नै गए । न त माइती भन्दै आमाले नै धनकुटा धाइन् । मातापिताको भेट सप्तरीमै भयो । दुबैको लगनगाँठो सप्तरीमै बाँधियो । उनीहरूले अनेक प्राकृतिक विपत्ति सहे । भौतिक त्रासलाई जसोतसो पचाए । यद्यपि सप्तरी त्यागेर हिँड्ने चाहना पनि राखेनन् । त्यस्तो सोच मनमा आउन पनि दिएनन् । र, उनीहरूले स्थायी बसोबास बनाए, सप्तरीकै हनुमाननगरमा । त्यहीँ जन्मिए– वि.सं. १९८७ पुस २५ गते उनी । अर्थात् कृष्णराज वर्मा । जागिरका सिलसिलामा आएका उनका पिताले सप्तरीलाई नै मुकाम बनाउनुका कारण चाहिँ सप्तरीको माटोले लोभ्याएर हो । मलिलो माटो, सिँचाईको व्यवस्थित व्यवस्था, हिमालको हिउँ पग्लेर आएको सप्तकोसीको ठण्डा पानीले दिने सदाबहार शीतलता, ठूलो क्षेत्रफल र शान्तिमय प्राकृतिक वातावरण । यी सबैको जोड सप्तरीको हनुमाननगर नै थियो । त्यसैले पनि शर्मा र वर्मा मिलेर सुविधाजनक कम्पाउन्ड राखेर घर बनाएका थिए । वाल्यकालमा कृष्णराज वर्मा शारीरिक रूपमा ल्यान्ते थिए । उनी मात्रै सात महिना आमाको गर्भमा अडिएका थिए । सात महिने बच्चो बाँच्यो भने एक न एक किसिमको उद्यम गर्छ भन्ने लोकआहान गाउँघरतिर प्रचलित छ । हाम्रा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह पनि सात महिनामै जन्मेका थिए भन्छ हाम्रो इतिहास । उनले पराक्रम र पुरुषार्थ नदेखाएका भए नेपाल देश हावामै विलिन हुन्थ्यो । उनले थालनी नगरेको भए विशाल नेपाल एकीकरण कार्य प्रायः असम्भव हुन्थ्यो । हामीलाई नेपाली भनेर मन र मुटुमा लेखिदिने उनै सात महिनामा जन्मेका पृथ्वीनारायण शाह हुन् । उनको त्याग र समर्पणले हामी दास हुनबाट जोगिएका छौँ । हामी तेजस्वी शिर परचक्रीको पाउमा निहुरिनबाट बँचेका छौँ । हो, सात महिनामै जन्मेका कृष्णराज वर्माले पनि मधेसी भोकानाङ्गा जनताका हितैषी भएर दुःखहरणकर्ता बनेका छन् । उनीहरूको भकारीमा अन्न भरिदिएर भोकै मर्नुपर्ने त्रास भगाएका छन् । सप्तरीको माटोका होसविहीन जनताको मनमा चेतनाको दीप प्रज्ज्वलित गरी छाती ठूलो बनाउने मौका दिएका छन् । राष्ट्रिय राजनीतिमा समेत हस्तक्षेपकारी भूमिका खेलेको जिउँदो इतिहास उनको निधारमा टलक्क टल्किरहेको छ । उनी शिशु छँदा आमाको स्तनपान गर्नबाट बन्चित भए । एक त समय अगाबै जन्मनु र अर्कातिर आमाको दूध चुस्न नपाउँदा शिशु कमजोर हुनु स्वभाविकै हो । यस हिसावले उनले जन्मँदै दुर्भाग्य साथै लिएका रहेछन् । उनलाई गाईको दूध पिलाइएको थियो । गाई सुधो प्राणी हो । उनमा पनि सुधोपन सरेको थियो । यद्यपि बालसुलभ क्रीडाका लागि भने उनी साह्रै चञ्चले थिए । नोकरचाकर र दीनदुःखीका लागि भने उनी गाईझैँ सुधा थिए । उमेर बढ्दै जाँदा उनी सूरा भए । अनेकन उट्पट्याङ काम गरे । कहिले जीवनलाई दाउमा राखेर बेगले बग्दै गरेको सप्तकोसीमा हाम फाले । कहिले जिउँदो सर्प पक्रेर सबैका सामु प्रदर्शन गरी चमत्कार देखाए । उनलाई केहीको अभाव थिएन । सबै कामधाम गरिदिने वर्ग अर्कै थियो । यसप्रकार बाल्यकालमा उनले दुःखको रङ चिन्न नै सकेनन् । सप्तकोसीको बाढी पसेर हनुमाननगर र वरपरका प्रगन्ना मरुभूमि र जलाशय बनाएपछि उनले मानिसहरूको विचल्नी नजिकैबाट नियाल्ने मौका पाए । नौलखा फुलबारी लगायत सानाठूला कैयौँ फुलबारी कोसीले कटान गरी लिएर गंगातिर हानिएपछि सप्तरीको सदरमुकाम राजविराज सार्नुपर्ने अवस्था आयो । वर्मा परिवार पनि खर्सालटोलमै बस्न थाल्यो । उनी २००६ सालदेखि निरन्तर रूपमा कम्युनिष्ट पार्टीमा लागे हुन् । त्यसबेला उनी १७ वर्षका थिए । जनक्रान्तिबाट छुटाउन स्कुल मास्टर बनाएको स्मरण गर्दै उनी भन्छन्– ‘सप्तरीमा आन्दोलनको तयारी ब्यापक रूपमा हुँदै थियो । आम जनमानसको भिड थेगिनसक्नु थियो । म पनि के कम यसो चार शब्द बोली हालूँ भनेर भाषण मात्र के गरेको थिएँ । ‘बाख्रा हराउनु र बाघ कराउन’ु एकै पटक भएछ । अर्थात् कांग्रेसका कार्यकर्ता खोज्दै गाँउमा बडा हाकिम आएको रहेछ । धर्ना, जुलुस र भाषण गर्नु त्यो समयमा बिष खानु बराबर नै थियो । मलाई देख्नासाथ बडा हाकिमले मज्जाले हप्कायो । त्यसपछि फकाउँदै लगेर स्कुल मास्टर बनाइदियो ।’ नेपालमा २००७ साल कात्र्तिक २४ गते जनक्रान्तिको घोषणा भयो । उनलाई पनि जनक्रान्तिको स्वाद चाख्ने मन थियो । नेपाल आमालाई राणाहरूको जंजिरबाट मुक्त पार्ने सपना थियो । नेपाली जनतालाई स्वतन्त्रता, स्वाधीनता, प्रजातन्त्र दिलाउनु थियो । त्यसैले उनले घरपरिवार छोडेर क्रान्तिको बिगुल फुक्दै क्याम्प गएका थिए । जानु अघि बिहानी पखको ३ बजे लेखेर पिताको सिरानीमुनि घुसारेको पत्रको आशय यस्तो थियो– श्री मातापिता, ढोगसेवा ! यस मध्यरातमा यो किस्ने घर छाडेर कता हिँडेछ भन्नुहोला भनी म चिठी कोर्न बसेको छु । यसमा म मनका सारा औडाहालाई सोरसार पारी समेट्ने कोशिसमा छु । जेजति समेट्न सक्छु । त्यसैलाई यथेष्ट सम्झेर मेरा कुरालाई ग्रहण गर्नुहुने छ भन्ने पूर्ण विश्वासमा छु । खाट्टी कुरा बताउनु अघि दुईचार कुरा नबताए मैले माफी पाउन्न भन्ने भय छ । जन्मनासाथ यस किस्नेले दुःख दिएको वयस्क भएपछि पनि छाडेन भन्नुहोला । मेरो सोचसमझमा हजुरहरूकै बीज छरेको छ । किनभने कसैको दमनकारी नीति नसहने र दीनदुःखीका आँखामा आँसु देख्न नचाहने हजुरहरूकै स्वभाव ममा सर्लक्क सरेको हो । अहिले मलाई दोषी देखेर असहयोगको नजरले हेर्नुहुन्छ भने हजुरहरूको आनिबानीमै खोट छ कि भनी कोट्याउन थाल्नुहोला । मलाई थाहा छ । यो पत्र पढ्नासाथ हजुरहरू आपसमा भन्न थाल्नुहुने छ, ‘यो किस्ने सुखले मात्तिएछ । ज्ञानले सम्पन्न भएपछि पखेटा बलिया भएछन् । एक्लैदोक्लै स्वतन्त्र आकाशमा कावा खान उडेछ । हामीलाई लाग्दैथ्यो– छोरो सानै छ । व्यवहार पनि सिकेको छैन । तर, ऊ त हामीलाई सुइको नै नदिई लत्याएर हिँड्न सक्ने भएछ ।’ हजुर, म रहरले निजी पारिवारिक वातावरण त्यागेर हिँडेको हैन । निमुखा जनताले भोग्नुपरेको वेथिति र अहङ्कार सहन नसकेर म हिँडेको हुँ । सामन्ती सोच र संस्कार निर्मूल पारी समतामूलक समाज निर्माणको दिशामा अग्रसर भएको हुँ । मेरा पछिल्ला हरफले यी कुराहरू पुष्टि हुँदै जाने छन् भन्ने लागेको छ । स्कुलमा मास्टरी गर्दाका मेरा मुस्लिम मित्र कमर शाह समेत मेरो साथमा छन् । हाम्रो घरबाट १०÷१२ किलोमिटर भारत साइडमा हाम्रो ज्वाइन क्याम्प राखिएको छ । म त्यही क्याम्पमा रहेको मुक्ति सेनामा भर्ती हुने छु । त्यहाँबाट नै कसलाई कहाँ खटाउने भन्ने कुराको निक्र्याेल हुन्छ । समग्रमा यो राणाहरूको सिष्टम विरुद्धको विद्रोह हो । म क्रान्तिमा होमिन अति उत्सुक छु । घरसल्लाहले एक पाइलो अगाडि बढाउन पाउँदिन भन्ने मलाई पूरापूरी थाहा छ । तसर्थ मैले यस्तो कदम चालेको हुँ । हाम्रो अन्तिम उद्देश्य भनेको प्रजातन्त्रको स्थापना गर्नु हो । अहिलेसम्म व्यक्तिगत रूपमा मलाई कुनै पिरालो छैन । ढुक्कले बसे निकट भविष्यमै दास जीवन जिउँनुपर्ने वाध्यता देखिरहेको छु । सामुहिक रूपमा सोच्यो भने अहिले पनि वातावरण नै कोक्याउँछ । त्यही कोक्याएको एउटा क्षण यहाँ प्रस्तुत गरेर चिठी स्वतः अन्त्य गर्न चाहान्छु– मसँग एक बुज्रुक थिए । उनी समझदार थिए । उमेरले, ज्ञानले, जानकारीले र व्यवहारले मभन्दा निकै बढता भोटा फटाइसकेका थिए । म उनका कुरा सुन्थेँ । उनी अनौठा अनौठा कुरा गर्थे । ती सबै जसोमा म विद्रोही स्वर दिन्थेँ । उनी भन्थे, ‘त्यो उस बेलाको कुरा हो, यस बेलाका पुस्ताले नपचाउनु स्वभाविकै हो । तिमी यस समयका उपज हौँ । तिम्रा आँखामा बिझाउनुलाई हामीले अन्यथा मान्न मिल्दैन ।’ उनको परोक्ष समर्थनले मेरो मनको विद्रोही बिरुवालाई मलजल पुग्थ्यो । म आफ्नो विचार मजबुत बनाउन तागत भेट्थेँ । प्रायः उनी मसँगै टहलिन खोज्थे । म पनि नयाँनयाँ कुरा सुनेर र सिकेर नयाँ धारणा बनाउन लागि पर्थेँ । एक दिन उनी र म फुलबारीतिर टहल्न जाँदै थियौँ । चारैतिरबाट आएको ठूल्ठूलो आवाज सुनेर टक्क अडियौँ । रातविरातमा बाघ, भालु, हात्ती, बँदेल जस्ता जंगली जन्तुले बाली विनास गर्दा किसानहरू कोकोहोलो मच्चाउँथे । त्यत्तिखेर त्यस्तै कोलाहल थियो । यद्यपि आवाज स्पष्ट बुझिन्थ्यो । मानिसहरू भनिरहेका थिए, ‘सरकार ! सरकार ! सरकारको जय होस् । सरकारको जय होस् ।’ कृष्णाष्टमी, दशैँ, दिपावली, वसन्तपञ्चमी जस्ता पर्वहरूमा देवीदेवताको जयगान गरेको, स्तुति÷भजन गाएको सुनेको थिएँ । त्यो समय यस्तो कुनै पर्वको थिएन । आवाज झनझन् घना हुँदै थियो । त्यही नजिकैको घरको छतमा उभिएर हेरिरहेको जुँगामुठे पहलमानले पनि ‘सरकार ! सरकार !! सरकार !!!’ भनेर भुइँमै लम्पसार परेर साष्टाङ्ग दण्डवत गरेको देख्ता म तीन छक्क परेको थिएँ । ‘पक्कै एकै पटक यी सबै मानिसको दिमाग खुस्कियो नत्र किन यस्तो फोहरमा जताततै लम्पसार परेर कराउँथे ।’ मैले मनमनै सोचेको थिएँ । ‘अरू दिन मै हुँ भन्ने मानिसहरू एकाएक ओइलिएको सागजस्ता भए त ! फेरि भित्री रोदन र करुण बोलीले वातावरण नै कस्तोकस्तो पो बनाए त ! कारण के हो ?’ मेरो सामु भएका बुजु्रकले उत्तर दिन नपाउँदै सुकिलोमुकिलो पोशाकमा ८÷९ वर्षको बालक लमकलमक हामीतिरै आइरहेको थियो । उसका नजिक भएका सबै लम्पसार थिए या नि साष्टाङ्ग दण्डवतको मुद्रामा थिए । बुजु्रकले तानेर मलाई ओल्टेकोल्टे लगेका थिए । ‘के हामीले पनि त्यस बालकलाई देख्नासाथ त्यसै गर्नुपर्छ ?’ मेरो प्रश्न सिद्धिन नपाउँदै उनले मेरो मुख थुनिदिएका थिए । त्यो बालक आँखाबाट ओझल परेपछि उनले भनेका थिए, ‘पर्न त सबैले पर्छ । जिउनु छ भने यस्तै चाकरी र गुलामी गर्नैपर्छ । जसले चाकरी र गुलामीबाट रिझायो, उसैले त सुविधा पाउने हो ।’ बुज्रुकको मुखबाट थाहा पाएँ, ऊ कमान्डर इन चिफको सुपुत्र रहेछ । चाकरी गरिएन भने उसका भरौटेहरूले रिपोर्ट दिँदा रहेछन् । र, त्यसको सरकारी संरक्षणमै ब्रह्मलुट गरिँदो रहेछ । दिनदहाडै उठिबास गराइँदो रहेछ । विरोध गरेर शिर ठाडो पार्न मनाही रहेछ । चाकरी गरेर र शिर लत्र्याएर मात्रै जिउँदो रहन पाइने रहेछ । मलाई जनता दास बनाउने त्यस्तो अहंकारी राणा शासनप्रति वितृणा जागृत भयो । हो, त्यही व्यवस्थाको जरोकिलो उखलेर आर्यघाटमा सेलाउन मैले घर त्यागेको हुँ । म निरंकुश सत्ताको समूल अन्त्य नगरी घर फर्कन्न । म सिद्धार्थ गौतम होइन तर उनलेझैँ दिमागमा लक्ष्य लिएर त्यसमै दृढ हुँदै यस मध्यरातमा पाइलो सारेको छु । म लक्ष्यमा अवश्य पुग्छु । नेपालको आमूल क्रान्तिकारी प्रजातान्त्रिक आन्दोलनमा तिल जति भए पनि योगदान दिन्छु । म नेपाल आमाको अनुहारमा खुशीले भर्ने छु । नेपाली जनताको ओठमा मुस्कार छर्ने छु । पीरचिन्ता लिने हैन मातापिता, यस पुत्रलाई सदैव आशीर्वाद दिइरहनुहोला ! बस्, यस पटक यत्ति नै ! हजुरहरूकै प्यारो पुत्र, कृष्णराज वर्मा । ००० यसरी उनी २००७ सालको क्रन्तिमा होमिएका थिए । आमा र उनको थर वर्मा हुनुको रहस्य बारे उनको कथन छ, ‘क्षेत्रीय कवच धारण गर्नेलाई वर्मा भनिँदो रहेछ । बुबाले नै परिवारका सबैलाई वर्मा लेख्न लगाउनुभयो । नेपालमा पहिलो वर्माको कवच धारण गर्ने व्यक्ति म नै हुँ । अहिले धेरैले लेख्न थाले । म ‘खनाल’बाट वर्मा भएको हो ।’ राजनीतितिरको कुरा गर्दा, वीरगञ्जमा उनले प्रजापरिषदको नामक राजनैतिक पार्टीको नाम सुनेका थिए । त्यहीँ प्रजापरिषदको कार्यालयमा मदनमणि दीक्षितसँग उनको भेट भयो । दीक्षितकै कारणले अहिलेका महान् आख्यानकार धनुषचन्द्र गौतमसँग भेटघाट भयो । उनीहरूकै आडभरोसामा सप्तरीमा कम्युनिष्ट कार्यालय खोलियो । विस्तारै मदनमणि दीक्षितले कम्युनिष्टको सम्पर्क सूत्रहरू बनाउन थालेको कुरा वर्मा बताउँछन् । वि.सं २००८ सालमा देशमा भयंकर अनिकाल लाग्यो । चामलकै लागि मानिसहरू मरिहत्ते गर्थे । यताउता दौडिन्थे । अनिकाल लागेका गरिबलाई बाड्नु भनेर ल्याएको चामलको गैरकानूनी निकासा हुन थालेकाले वर्मा रुष्ट भएका थिए । गैरकानूनी निकासी विरुद्ध उनले युवा संगठन खडा गरी आन्दोलन नै छेडेका थिए । फलतः अनुदानमा ल्याएको चामलको गलत प्रयोग गर्ने कार्य रोकियो । वर्माको नेतृत्वको यस कार्यले गरिबनिमुखामा राम्रो प्रभाव परेको थियो । राजनैतिक जीवनको शुरुआत बारे उनको कथन छ, ‘२००७ सालको जनक्रान्ति लगत्तै २००८ सालको अनिकालमा असार महिनामा सप्तरीको बेल्हीचपेनाका जमिनदार विश्वराज जोशीको भकारी खोलेर तीन सय मन धान जबरजस्ती त्यहाँका जनतालाई बाँड्ने घटनाबाट मेरो राजनीतिक जीवन शुरु भएको थियो । केवल किसानहरूका हितको आन्दोलनमा मैले पाँच वर्षभन्दा बढी त जेल सजाय नै भोगेँ । फेरि मैले २०१७ सालमा दुई वर्ष र २०४२ सालमा पाँच महिना जेलजीवन बिताएँ ।’ वास्तवमा विश्वराज जोशी थरका एक व्यापारीको मिलबाट ३ सय मन धान उठाएर किसानलाई बाँडिएको थियो । यसले गर्दा पनि उनलाई संगठन तयार गर्नमा सहज वातावरण बन्यो । उनले दिनरात नभनीकन सप्तरीका गाँउगाँउ छिरेर कम्युनिष्ट संगठन तयार गरेका थिए । उनी वि.सं. २०१२ सालमा राजधानी पसेका थिए । उनले २०१७ सालको बमकाण्डमा समेत आफनो सहभागिता दर्साएका थिए । त्यसैकारण सजाय स्वरूप उनले जेलसजाय भोग्नुपरेको थियो । जनताको नेतृत्व गर्न तम्सनेले पक्राउ खान पनि लुगलुग काप्नुहुन्न भन्ने उनको ठहर थियो । नेपाल कम्युनिष्ट पार्टी (केशरजंग रायमाझी) समूहको अञ्चल सचिव हुँदाखेरी राजविराज पुगेका बेला पुनः पक्राउ परेका थिए । त्यसका लागि सेनाका जर्नेल आफँैले वारेन्ट लिएर आएका थिए । २०४० मा रायमाझी समूहबाट कृष्णराज वर्माले विद्रोह गरी नेकपा (वर्मा) पार्टी स्थापना गरेका थिए । आफ्नो थरसँग पार्टीको नाम जोडिँदा उनले गर्वानुभूति भएको उल्लेख गरेका छन् । उनको अर्को मार्मिक कथन छ, ‘मैले आफ्नो सक्रिय राजनीतिक जीवनका ६७ वर्षभित्र झन्डै चालीस वर्ष मधेसका जनतामाझ सेवा गर्दै तिनको सरसहयोगमा नै बिताएको छु ।’ मधेस आन्दोलनका बेला र त्यसकै प्रभावले त्यसपछि पनि पहाडे मूलका छिमेकीहरूलाई कौडीको मोलमा घरजग्गा बिक्री गराई भगाउने र गैरनागरिकहरूलाई रातारात नागरिकता दिलाएर नेपाली बनाउने काम भएकोमा उनी असन्तुष्ट देखिएका छन् । अवसरवादी चरित्रहरूले मधेस आन्दोलनको असली चरित्रलाई ओझेलमा पारेको भन्ने उनको बुझाइ छ । सिङ्गो मधेस अलग र स्वायत्त राज्य हुनुपर्छ भन्ने सोचका साथ यसको प्राप्तिका लागि हतियार नै उठाउनुपर्छ भन्ने धारणा राख्नेहरूसँग उनको मतभेद कायमै छ । मधेसी बौद्धिक युवाहरूमा मध्यमार्गीहरूको सङ्ख्या र प्रभाव बढ्दै गएकोमा सन्तुष्ट छन् । साथै उनी शान्त र स्थिरता कायम हुनेमा आशावादी छन् । उनले राज्यका रूपमा नेपालको उदय र राष्ट्रका रूपमा यसको विकासको प्रश्नलाई उठाएका छन् । उनी विगत दुई दशकदेखि गहिरो रूपमा खलबलिन पुगेको जातीय सद्भाव पुनः कायम हुनुपर्छ भन्ने मान्यता राख्तछन् । यसका लागि हामीले आफ्नो राष्ट्रिय जनतान्त्रिक आन्दोलनको गहिरो ढङ्गले चिरफार गर्नु आवश्यकता छ भन्ने विचार प्रकट गरेका छन् । उनी जातीय सद्भाव बिथोल्ने सबै अवस्थाहरू र विविध अवधारणाका कारणहरू छुट्याउन चाहन्छन् । जनतालाई नाङ्गो पार्ने प्रायोजित शक्तिहरूलाई नै नङ्गयाउन हामीले खुट्टा कपाउन नहुने धारणा अघि सारेका छन् । उनी विभिन्न जातीय समुदायलाई आफ्ना स्वार्थमा उपयोग गरिरहेकोमा असन्तुष्ट देखिएका छन् । मनमोहन अधिकारीसमेतको संलग्नतामा १५ सेप्टेम्बर १९४९ मा पुष्पलालले ५ जना साथीसँग मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका हुन् । उनी पनि तिनीहरूसँगै २०१९ साल सम्मसँंगै रहे । त्यसपछि रायमाझी समूहमा गएका थिए । २०४० सालमा रायमाझी समूहबाट कृष्णराज वर्माले विद्रोह गरी नेकपा (वर्मा) अस्तित्वमा ल्याए । कम्युनिष्ट हुनुपूर्व अघि उनी प्रजापरिषदसँग आबद्ध थिए । मदनमणि दीक्षित र धनुषचन्द्र गौतम भित्रैबाट कम्युनिष्ट थिए । उनीहरूकै सम्पर्कले उनी कम्युनिष्ट बनेको देखिन्छ । पछि वर्मासँग धनुषचन्द्र गौतमले नै पुष्पलालको भेट गराए । त्यो ठाउँ थियो– वीरगन्ज । त्यसपछि पुष्पलालले उनको घरमा नै आएर पार्टी सदस्यता दिएका थिए । नेपालमा पुष्पलालले कम्युनिष्ट बनाउन धेरै ठूलो मेहनत, त्याग र तपस्या गरेकोे कुरा उनी बताउँछन् । उनको एउटा अर्को मत घतलाग्दो छ– ‘नेतृत्व गर्ने मानिसले जेल नेलसँग डराउनु हुँदैन ।’ २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि चौतर्फी विरोध गरियो । धेरैले परोक्षमा उभिएर विरोध गरे तर उनी आमुन्नेसामुन्ने पुगेर ठाडो असन्तुष्टि पोखे । यस प्रकार उनी सम्मिलित टोलीले आफ्नो कुरा प्रष्ट राखेको थियो । उनी स्पष्ट वक्ता थिए । अझै पनि बोलेर थाक्तैनन् । उनी अमेरिकालाई साम्राज्यवादी शक्ति मान्दछन् । त्यसैले उसलाई कम्युनिष्टविरोधी ठान्दछन् । प्रजातान्त्रिक सरकार भएको भारत मित्रशक्ति हुँदाहुँदै पनि हामीप्रति साम्राज्यवादी आकांक्षा राखेकोमा उनको ठूलो असन्तुष्टि छ । तीनतिरबाट घेरेको कारण हामी भारतमाथि निर्भर रहेकाले उसले लाभ उठाउने गरेको बुझाइ वर्माको छ । तसर्थ नेपालीले परनिर्भरता हटाई आत्मनिर्भर हुन बैकल्पिक बाटो अबलम्बन गर्न ढिलो भइसकेको देखिन्छ । कृष्णराज वर्माको हालै प्रकाशित ‘मधेस र मधेसी आन्दोलन’ पुस्तकमा एउटा दुःखद प्रसङ्ग समेटिएको छ – “मधेस आन्दोलन शुरु भएपछि म एक दिन राजविराजको हाटमा तरकारी किन्न गएका बेला एउटी तरकारी बेच्ने कुजर्नी बूढीले के भनिन् भने ‘बौवा, आब त तोरा सबके राज चल गेलौ । आब हम सब राज करबौँ ।’ (अब तिमीहरु पहाडेको राज गयो । अब हामी राज गर्दछौँ ।) म एकछिन त छक्क परेर ती बूढीको मुखमा हेरेको हे¥यै भएँ ।” यसबाट मधेसका जनतामा जनजागरण आएको देखिन्छ । मेरो पनि माटो छ र पहिचान छ भनेर स्वामित्ववोध भएको देखिन्छ । यद्यपि त्यत्ति नै अरूको अस्तित्व अस्विकार गर्न उग्रचिन्तन हाबी भएको भेटिन्छ । यस खाले चिन्तनलाई सुधार र परिमार्जन गर्न गराउन स्थानीय बौद्धिकवर्गले कसरत गर्न नितान्त आवश्यक छ । पुस्तकमा अर्को ठाउँमा छ– “एक्कासि पछाडिबाट एक व्यक्तिले मेरो कमिज समातेर तान्दै ‘तु पहाडिया छि कि मधेसी ?’ भनेर सोध्यो । म त अक्क न बक्क परें । उसको मुखबाट रक्सीको गन्ध आइरहेकोले म कुनै पनि जवाफ नदिई कमिजको फेर फुत्त तानेर हिँडेँ । म अगाडि गएर सोच्न थालेँ– ‘सायद यो सचेतनाको बिल्कुलै अर्को नयाँ मापदण्ड हुनुपर्छ ।’ अब बाटामा भेटिने हरेक बटुवालाई ‘तँ मधेसी होस् कि होइनस् ?’ भनेर सोधिने भयो ।” यो पनि सचेतपनको आवाज हो । आफू हुनुको आत्मबोध हो तर यसमा पनि उग्रपन जिउँदो छ । कृष्णराजजस्ता बयोवृद्ध रैथानेलाई त प्रयोग गरिने शब्दचेत निम्न स्तरको छ भने बाँकी सर्वसाधरणलाई कस्तो थियो होला ! कल्पना गरे नै काफी हुन्छ । उनको मेरो सिङ्गो युवावस्था यी मधेसी जनता माझ वितेको भनाइ छ । दुई नम्बर प्रदेशका पाँच जिल्ला र सिन्धुलीको कमला नदीको खोँच तथा उदयपुरको त्रियुगा नदीको खोँचसम्मका जनताको सेवा गरेरै जीवन विताएको भनाइ छ । त्यस हिसावले कृष्णराज वर्मा भनेकै जनताका मान्छे हुन् र उनका आफन्त भनेकै नेपाली जनता हुन् । त्यसमा पनि दुई नम्बर क्षेत्रका पाँच जिल्लाका साथै कमला र त्रियुगाको खोँच त उनी रमाउने आफ्नै घर हो । अरू भूभाग चाहिँ उनी दौडधूप गर्ने स्थान हो । उनले सोही पुस्तकको एक ठाउँमा यस्तो दुःखद प्रसङ्ग लेखेका छन् । पढ्दै र सुन्दैमा आङ सिरिङ्ग हुन्छ– ‘त्यस घटनाको वर्ष दिन नबित्दै २०६५ साल वैशाख १८ गते राति आठ बजेतिर कसैले मेरो कोठाको ढोकाको पर्दा यसो हटाएर मलाई पुलुक्क हे¥यो । उसले टाउको मात्र देखाएको थियो । मैले के भो भनेर सोधेँ । उसले त्यसको जवाफ दिनुको साटो एक्कासी मतिर पेस्तोल सोझ्याएर ड्याम्म गोली हान्यो । म सोझै उसलाई समात्न दौडेँ । मलाई गोली लागेको छ भन्ने थाहा नै भएन ।’ उनलाई छातीभरि रगत देखेपछि मात्र गोली लागेको थाहा भएछ । छ घण्टापछि धरान अस्पतालमा एमआरआई गरेपछि मात्र छातीमा गोली लागेको ठहर भएछ । अलिकति माथि लागेको भए मुटु नै छियाछिया हुने रहेछ । त्यसैबेला उनले मधेस आन्दोलनमा यस्ता विकृति आउन सक्ने सम्भावना बढेको देखेका रहेछन् । अझै उनको मनमा गोली हान्नेले केका लागि उनलाई सजाय दिन चाहन्थ्यो भन्ने खुल्दुली रहेछ । मधेश आन्दोलन ताका उनी मुटुको रोगी भएकाले राजनीतिमा त्यति सक्रिय रहेनछन् । अरूले गोली हान्नुपर्ने र आफूले अपराधको फल पाउन गोली नै खानुपर्ने त्यस्तो कुनै कारण उनले अझै देखेका छैनन् । मधेसीका शुभचिन्तक र जानकार एवं नेतृत्व वर्गले निहत्था कसैको ज्यान नै लिने नियत राखी कार्वाही गर्नु अधिकारवादी आन्दोलनलाई रसातलमा भसाउनु हो भन्ने बुझ्नु जरुरी छ । यस्ता उग्रव्यवहारलाई समयमै लगाम नलगाए लोकतन्त्रका उपलब्धी अनिष्टको घानमा भुटिने निश्चित छ भन्दा अतिशयोक्ति नठहर्ला । र, अन्त्यमा कृष्णराज वर्मा कुनै एक समुदाय र वर्गका व्यक्ति होइनन् । मधेसी जनताका लागि त एक संस्था हुन् । उनी त तीन कोटी नेपालीका ढुकढुकी हुन् । जनसङ्घर्ष उनले रोजेको प्रिय बाटो हो । शताब्दी नजिक उमेर पुगेर पनि उनी देश र जनताकै खातिरमा तन, मन, विचार र कर्मले अग्रसर छन् । उनी सप्तरीले जन्माएका खाट्टी जनयोद्धा हुन् । पहिले पनि र अहिले पनि उत्तिकै खटिरहने र डटिरहने सदाबहार जनयोद्धा कृष्णराज वर्माको स्तुत्य बाटोलाई हार्दिक सलाम !!! २०७८–०६–०३ संविधान दिवस मो.नं. ९८४२८२९२०६ श्री जनता मावि, गोलबजार–४, सिरहा, प्रदेश नं. २, नेपाल । लबलमबबिबिअजबचथब२नmबष्।िअयm Laxmi Rijal

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...