Sunday, September 19, 2021

लघुकथा– उत्तरकथा –नन्दलाल आचार्य

‘बेलाबेलामा साहित्यमा विविध प्रयोगहरू हुन्छन् । साहित्यको लागि समाज कच्चा पदार्थ भण्डारण गर्ने भरपर्दो थलो हो ।’ मैले बोल्दाबोल्दै उसले बीचमै बोल्न सुरु गर्दै भनेको थियो; ‘सबै कुराको प्रयोग गर्ने ठाउँ नै समाज भएको छ । अहिलेको समाजले कलुषित पक्ष खल्तीमा राख्ने र अमृतमय चिज लत्याउने गरेको छ । के यही हो प्रयोग ?’ ऊ साहित्यमा बामे सर्दै थियो । म भने अलिक अघि थिएँ । ऊ कानुनको विद्यार्थी भईकन साहित्यको रसिक पाठक थियो । अब लेखक पनि हुँदै थियो । म भाषासाहित्यको विद्यार्थी भईकन पनि उत्ति साह्रो लम्कन सकिरहेको थिइनँ । ऊ मेरा हरेक शब्द र वाक्य अनि भावलाई प्रश्नसूचक नेत्रले हेथ्र्यो । उसको मनमा जान्ने इच्छा प्रवल थियो । प्रश्नोत्तरबाट सिकिन्छ भन्ने ठान्थ्यो । ‘हरेक कुराका अँध्यारा र उज्याला पाटा हुन्छन् । उज्यालो पाटो छाडेर अँध्यारो पक्रे गन्तव्यमा पुगिन्न । नकार धारमा खडा मान्छे कहलिन सकिन्छ ।’ मेरो कुरा सुनेर ऊ हायलकायल भएको थियो । त्यही मौकामा मैले भनेको थिएँ; ‘अग्रजका कुरा पढेर त्यसपछिका कुरा आफ्नो समाजसापेक्ष अभिव्यक्त गर्ने कला कस्तो लाग्छ ?’ “समाजमा अनगिन्ती विषयवस्तु छन् । एउटालाई सर्लक्क टिपेर अक्षरमा रूपान्तरण गरे भइगयो नि ! किन लेखिसकेका र मृत घोषित प्रसङ्गलाई कोट्याएर बिउँझाउन खोज्नु ?“ उसको प्रश्नमा मेरो जवाफ थियो; ‘हो, बाँचेकालाई दीर्घ जीवन दिनु हाम्रो काम हो । मरिसकेकालाई पुनर्जीवित पार्नु महाकाम हो । कामले मात्रै नाम, दाम र इनाम कमाइन्न । त्यसका लागि महाकाम पनि गर्नुपर्छ ।’ मेरो कुरामा सहमत हुँदै उसले सोधेको थियो; ‘त्यो महाकामको नाम चाहिँ के हो ?’ जबाफमा मैले भनेको थिएँ; ‘आख्यान विधामा यसको प्रयोग हुन्छ । मरिसकेको कथावस्तु, पात्र, परिवेशलाई ज्यान भरेर जीवित पार्ने त्यस कामको नाम हो– उत्तरकथा ।’ २०७८–०६–०४ उदयपुर । Laxmi Rijal

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...