लघुकथा : मातृचाह
- लक्ष्मी रिजाल
सधैंझैँ साडी लाउने रहर थियाे तिजमा
काेराेनाले डिस्टब गर्याे बीचबीचमा ।
पाेहर साल नाचियाे राताे सारी लतारी
यसपालीको तिजमा सारै भाे भारी ।
तिजगीत बज्दै थियोे । आमा सम्धीगाउँ नभनी धित मरुन्जेल नाच्नुभएको थियो । त्यसबेला उहाँले आफूलाई सोह्र वर्षे षोडशी नै सम्झनुभएको थियो ।
"चाडबाडाँ नाच्दा लजाउन हुन्न । यो समय र स्थान मन खोल्ने रङ्गमञ्च हो । यहाँ मन लुकाउने पछुताउँछ । मन खोलेर देखाउनेले जीवनको अपूर्व आनन्द लिन्छ ।"
आफू नाचेर थाकेपछि स्वाँस्वाँ हुँदै अरूलाई उकास्न उहाँले भन्नुभएको थियो । उहाँको ऊर्जाशील अभिव्यक्ति सुनेर सबैजसो रमितेले जानिनजानी कम्मर मर्काएका थिए । रमितेमध्येका एक मेरा ससुरा बा समेत एक कुनामा उभिएर मुख आँ गरेर आमाको नृत्य हेरिरहनुभएको थियो ।
"हजुरले खाटमै बसेर हेर्नु र सुन्नुभएको भए हुन्थ्यो । यहाँ उभिँदा दु:ख भो होला !"
मेरो भनाइको प्रत्युत्तरमा आएको आवाज सुनेर मस्वयम् नतमस्तक भएकी थिएँ; "मभन्दा सात बर्ख जेठी सम्धिनीको मयुरझैँ नृत्य कुनै अप्सरा नृत्यभन्दा कम छैन । उहाँलाई यहाँ बोलाएछाै । जमघट देखेर मेरो शरीरको बिमार काँडो झिकेजस्तो भो, दुलही !"
"अचेलका केटाकेटीलाई चाहिँ खायोपियो सामाजिक सञ्जालमा झुम्मिन पाए पुग्यो । वास्तविक चाडबाडको मज्जा त पुरानै पुस्ताले लिन जानेका हुन् ।"
म मनोवादमा मस्त रहेको बेला आमाले मलाई झक्झकाउँदै भन्नुभएको थियो; "माइत जान्छु लिन आउनुस् भनेर मलाई बोलाइस् । म आएँ । फेरि दाजुभाउजूलाई तीज सकेर आमा लिएर आउँछु भनिस् । तिनले नाइँनास्ती गरेनन् । तेरा बाले धर्ती छाडेदेखि त्यो घर मेरो लागि बिरानो देश भाको छ । मेरो अर्को छोरो तैँ होस् । अबदेखि मलाई पनि यतै राख्छेस् कि ?"
आमाका कुरा सुनेर मेरा अङ्गप्रत्यङ्ग उमङ्गले फुरुङ्ग भएका थिए ।
२०७८/०५/२५
स्थाई बसाेबास- सिद्धार्थटाेल, उदयपुर
अस्थायी - इटहरी, सुनसरी ।
No comments:
Post a Comment