लघुकथा : बाको अन्तिम बोली
'सन्तोष, आफूभित्रको हिम्मतलाई उचाल्नुपर्छ । सहासले बिमारसँग जुध्नुपर्छ । हिम्मतका अघि सत्रु झुक्छ । सहास देखेर सत्रु चुक्छ ।'
भतिजोलाई ऊर्जा भरिदिने मनसायले मैले भनेको सुनेर जयप्रसाद दाजुले भनेका थिए; 'केको सन्तोष, सन्तोष अब असन्तोषी भयो । यसको दायाँबायाँ दुईटै खप्पर खोलेको चार दिन भयो । तहिलेदेखि धुकधुकी छ तर मान्छे छैन ।'
म निरुत्तर थिएँ । मनमा थरीथरीका सुनामी तँछाडमछाड गरेर दगुर्दै थिए । खोपको नाममा यो सबै काण्ड भइरहेको थियो । म स्वयम् खोप लगाएपछिको ज्वरोले आफैँ तखतरान थिएँ ।
'बाबु, डाक्टरहरूले गर्ने गरे । अब हामी सबैको कामना र प्रार्थनाले सन्तोष फर्कन्छ भन्ने झिनो आश मात्रै छ । यही मेरो चाहानानुसार तपैँ र तपैँका मित्रलाई कामना र प्रार्थना गर्दिन भनिदिनुस् है ।'
भाउजूले आँसु खसाल्दै भनेका शब्दले मन भक्कानिएको थियो । बुहारी भतिजको सिटिस्क्यान गराउने क्रममा ढलेर अर्को बेड भरेकी रहिछन् । यी सबै भद्रगोल देखेर अब सहासले जुध्ने काम मेरो नै थियो ।
खोप लगाउनासाथ ज्वरो आएछ । पखाला चलेछ । यताउताको ओखतीमुलोले नछोएपछि उपचारार्थ विराटनगर जाने भएछन् । बुहारी भित्र कपडा लगाउन गइछन् । पोशाक लगाएर तयार भई बाहिरिएको भतिजोलाई एक्कासी उच्चरक्तचापले ढलेछ । ढल्दा अझ टाउकामै चोट थपिएछ ।
बाहिर निस्केर बुहारी चिच्याइछन्; 'आम्मै ! यो तपैँले के गर्नुभाको ? के गर्नुभाको ? हे भगवान् ! ---'
भतिजो त काटेको बोकोझैँ रगतको आहालमा छटपटाइरहेको पो रहेछ ।
भतिजाका दुबै छोराले एम्बुलेन्समा बसाएपछि भनेछन्- 'बा, उपचारबाट निको भएर हाँस्दै फर्कनुस् है । हामीलाई बचन दिनुस् ।'
त्यसबेला भतिजोले भनेको रहेछ; 'म फर्किहाल्छु । तिमेर्को मायाका सामु मेरो रोग, भोक र शोक कता भाग्छ, भाग्छ ! मलाई नै थाहा हुन्न । तसर्थ ढुक्क होओ ।'
-उदयपुर । रचनाकाल- २०७८/०५/२२
No comments:
Post a Comment