लघुकथा– तिजैतिज
– नन्दलाल आचार्य
‘तिज र आमा समानार्थी नभए पनि उस्तै शब्द हुन् । आमाबिना तिजमा माइत जानुको अर्थ थकाइ मात्रै हो ।’
उहाँको भनाइ विपरीत उभिँदै मैले प्रतिकारका शब्द ओकलेकी थिएँ; ‘आमालाई पाउन माइत जानुप¥यो । घराँ बसेर आमा कहाँ पाइन्छ त ?’
उहाँ चुप हुनुहुन्थ्यो । त्यही मौकामा थपेकी थिएँ; ‘आमाको प्रतिनिधि भएर भाइ मलाई लिन आउँछ रे । उसैसँग माइत जान तयार होऊँ त ?’
‘पर्दै पर्दैन । लिन आमा आए जानू नत्र तिज घरमै मनाउँनू । भन्द्या छु । अरू आर हुँदै हुँदैन ।’
अफिसतिर प्रस्थान गर्दै थप्नुभएको थियो; ‘साधन नभए बोलेरो पठाम्छु । तर आमा नै आउनुपर्छ ।’
सधैँ मेरो बोली भुँइमा खस्न नपाउँदै ‘एस’ भन्नुहुन्थ्यो । यसपाली चाहिँ किन सानो कुरामा अहम् देखाउनुभएको होला ? बूढो हुँदै गएपछि मान्छे निहुँ खोज्छ भनेको ठीकै हो कि क्या हो ।
मनोविनोदमा ब्यस्त भएकै बखत मोबाइलको रिङटोनले तन्द्रा भङ्ग गरिदियो ।
‘हजुर आमा, ज्वाइँकै मोबाइलमा फोन गर्नु रे ।’
आमाको स्वर सुन्नासाथ औपचारिकता पनि पूरा नगरी हत्त न पत्त भनिहालेँछु ।
फोन काट्न कानबाट मोबाइल हटाउँदा हटाउँदै आमाको थोतेबोली सुनिएको थियो; ‘हैन, यो प्रतिमा कस्तरी मात्तिएकी । पैली तिजाँ बोलाम्नु, आइहाल्छु भन्थी । ऐले ज्वाइँको नाम जप्छे ।’
मलाई सबै जनासँग रिस उठेको थियो । बसेको सोफा पनि बिझाउन थालेको थियो । ओछ्यानमा पल्टँदा ओछ्यान नै पाछ्न थाल्थ्यो । छोराछोरीको बोली पनि कर्कश कागेबोली लाग्न थालेको थियो ।
उहाँले अफिसबाट फर्कंदा थरीथरीका सामान ल्याउनुभएको थियो । मलाई फकाउन त होला नि भन्दै म ठुस्किएर परपरै हुन्थेँ । उहाँ ककसलाई फोन डाइल गरिरहनुहुन्थ्यो । मैले बुझ्ने जमर्को नै गरिनँ ।
भोलिपल्ट ठीक ११ बजे आमा चढेको बोलेरो गेटभित्र छि¥यो । मेरा मिल्ने सहेलीहरू पनि एकएक गर्दै भित्रिए । खानेकुरा बनाउनेहरू समेत भाडावर्तन र औजारसाथ त्यसैबेला हाजिर भए । म तीन छक्क परेकी थिएँ ।
सबैले आमाको सत्कार ग¥यौँ । नाचगान सुरुआत भयो । खुब नाचियो, गाइयो र खाइयो । यसखाले सरप्राइजका लागि मैले उहाँलाई ‘धन्यवाद’ भन्दा उहाँले भन्नुभएको थियो; ‘जहाँ आमा त्यहाँ तिजैतिज ।’
२०७८–०६–०३ सातौँ संविधान दिवस
No comments:
Post a Comment