लघुकथा– विचार र अनुभूति
एक पटक यस सृष्टिको कल्याणका खातिर भन्दै दुई शत्रु बीच आमनेसामने भएर अन्तरक्रिया भएको थियो ।
‘एई, तँ मान्छेलाई अलमल्याउन माहिर छस् । वर्तमानलाई ओल्टाईपल्टाई गरेर पनि जीवन चल्छ र ?’
शत्रु–१ को विचार सुनेर शत्रु–२ को अनुभूति केहीबेर अलमलमा प¥यो । उसले शत्रु–१ का कुरामा निकैबेर गम खायो । केहीबेरमै उसलाई दिव्यज्ञान प्राप्त भएझैँ लाग्यो । आफूले आफ्नै स्वभाव कुल्चेको ठहर भयो र तुरुन्तै सतर्क बन्यो ।
‘मेरो प्रश्नको जवाफ दिन नसके मसँग नै लम्पसार परेर क्षमा माग्दा भइगयो नि ! किन आलटाल गरिराख्नु प¥यो ?’
शत्रु–१ कोे व्यङ्गयात्मक विचार र कटु कुरा सुनेर शत्रु–२ को अनुभूतिलाई खपिनसक्नु भयो । भित्री मनदेखि नै रिस उम्लेर आयो ।
रिसाउनु र रिस प्रकट गर्नु शत्रु–१ को काम हो; आफ्नो हुँदै होइन भन्ने सोचेर शत्रु–२ ले सहजभावमा भन्यो; ‘सरी, अहिले केहीबेरलाई छुट छ भन्दैमा मख्ख नपर । म र तिमी बीच आकाश–जमीनको सम्बन्ध छ । म भए ठाउँमा तिम्रो प्रवेश निषेध छ । तिमीकहाँ म आफ्नो स्वभाव लिएर जाने कुरै आउन्न ।’
शत्रु–१ सोचमा डुबेकै बखत शत्रु–२ को अर्को स्वर थपिएको थियो; ‘तिमी मनुष्यलाई दास बनाउँछौ अर्थात् कैद गर्छौ । म मनुष्यलाई सम्पूर्ण रूपले दासत्वबाट मुक्ति दिलाउँछु ।’
अन्ततः दुबैको अन्तरक्रियाबाट मनुष्यलाई बाहिरी जगत् शत्रु–१ ले विचरण गराउने कुरा भयो । भित्री जगत् भने शत्रु–२ ले घुमाउने निचोड निस्कियो । यसै कुरामा ल्याप्चे लगाएर उनीहरू दुबै आआफ्नो स्थानमा रवाना भए ।
ती दुई थिए– शत्रु–१ को भूमिकामा मनुष्यको ‘विचार’ र शत्रु–२ चाहिँ मनुष्यको ‘अनुभूति’ ।
२०७८–०६–१५
No comments:
Post a Comment