–नन्दलाल आचार्य
भगवान् भेटे एउटा प्रश्न नसोधी छाड्दिनँ भनेर चारैतिर भनिहिँड्थ्यो दुःखीराम । सुन्दासुन्दा गाउँलेहरू वाक्कब्याक्क थिए । एक पटक गाउँलेहरूले आपसमा सल्लाह गरेर एक जनाले भगवान्को भूमिका खेल्ने भए ।
एक दिन एकान्तमा दुःखीरामलाई भगवान्ले दर्शन दिए । दुःखीरामले हत्त न पत्त प्रश्नको घोचो ठड्याइहाल्यो, ‘भगवान्, संसारमा सारा खुशी छन् । म मात्र किन दुःखी ?’
भगवान् मौन थिए । मुसुमुसु हाँसिरहेका थिए । त्यसलाई दुःखीरामले आफूलाई जिस्क्याएको अनुभव गरिरह्यो ।
‘अरूको भागमा सुखैसुख मेरा भागमा दुःखैदुःख ? तपैँको लागि उनीहरू देवता भए । म मात्रै राक्षस भएँ ? उनेर्को भागमा अमृत, मेरो भागमा विषैविष ? किन यस्तो भेदभाव, प्रभु ?’ उसको असन्तोष सडकभरि छ्याल्लव्याल्ल भयो ।
भगवान्ले मुस्कानसाथ भने, ‘प्यारे, हामीले सुखदुःख बाड्ने गरेका छैनौँ । त्यो त मनुष्य स्वयम्को हातमा छ । असल कर्म गर्ने सुखी हुन्छन् । कमसल कर्मले मनुष्यलाई दुःखी बनाउँछ । एक पटक आफ्नै विगतको कर्म सम्झ त !’
दुःखीराम सोचमा डुब्यो– बाआमाले ‘पढ् बाबु’ भन्दा गुच्छा खेलेर दिन बिताएको । पानी दर्केको बेला अरूहरू ओडा ओडेर खेतमा काम गरेको । उसले भने हिलो भनेर सिकसिको मानेको । अरू बेला पनि धुलोमैलोमा मरिहत्ते गर्ने हैन भनेर तर्कीतर्की हिँडेको । बरु एक छाक खाइन्छ, कामकाम भन्दै ज्यान सुकाइन्न भन्ने सिद्धान्त लिएकोे । अरूले देख्दा बरु दुःखीराम नै भइन्छ तर सुखीराम बनेर जिइन्छ भन्ने ठोकुवा गरेको झल्झली सम्झ्यो ।
यसरी आफूभित्र नियाल्दा कमजोरीको चाङ भेट्यो । गुनासो फिर्ता लिन टाउको उठाउँदा भगवान् त उहिल्यै अन्तध्र्यान भइसकेछन् । त्यसै दिनदेखि उसको दुःख आगोमा सेकेको बरफझैँ बिलायो ।
२०७८–०६–१५
No comments:
Post a Comment