Friday, October 1, 2021

४७. लघुकथा– साहित्य –नन्दलाल आचार्य

४७. लघुकथा–  साहित्य
–नन्दलाल आचार्य


‘खुरुक्क कलम रोकेर खाना खान आउनुस् त । म पर्खिबस्न सक्तिनँ ।’
उनको झर्कोफर्कोलाई महत्त्व नदिईकन म कलम घोट्ने काममा जोतिँदो थिएँ । मेरो कथा जटिल मोड भएर गुज्रँदो थियो । बल्लतल्ल उत्कर्षताको सिँढी फेला परेको थियो । उनको अर्को बोली सुनेर भने कलम एकाएक घ्याच्चै रुक्यो ।
‘मसँग तपैँले बिहे गर्नाले कथाकार भैटोपल्नु भको हो । के फुटानी लगाउनुहुन्छ ?’
म चुपचाप उनलाई नै हेरिरहेको थिएँ । उनको निर्दोष बोली आंशिक सत्य रहेको ठम्याइरहेको थिएँ । उनको साथ नभेटेको भए विषयवस्तुको अभाव खट्कने अडकल गरिरहेको थिएँ ।
‘सप्पै कामकुरामा मेरो आपत्ति छैन । मात्र केही कुरामा मेरो मन रुष्ट छ र रुष्ट भइरहन्छ ।’
उनी रुक्नासाथ मैले हत्तपत्त प्रश्न सोधिहालेँछु; ‘के कुरामा ?’
‘केमा हुनु नि ! जे देख्यो त्यही लेख्यो । यही बानी फिटिक्कै मन पर्दैन । दुनियाका सामु लाजको पसारो !’
उनका कुरा सुनेर म मन्द मुस्कुराहटका साथ बोलेको थिएँ;  ‘जीवन बाहिरका कुरा लेख्न जानेकै छैन । आँखाले देखेपछि मनले गुन्ने हो । त्यसैमा रङरोगन गर्दै अक्षरमा रूपान्तरण गर्ने हो । कस्तो साहित्य भयो या भएन, त्यो छुट्याउने काम पाठक र विज्ञविश्लेषकको हो ।’
मौन हुने पालो उनको थियो । उनी आफ्नो धर्म पालना गरिरहेकी थिइन् । ज्यान नभएका शब्दसँग जीवन साट्न मन हुन्नथ्यो । फेरि जीवनलाई उधारोमा बिक्री गर्न पनि सकिन्नथ्यो ।
‘आफैँलाई साहित्यमा मुछ्नुपर्छ भन्ने छैन नि ? आफूबाहेक पनि साहित्य हुँदो हो नि ?’
अन्ततः उनको सवालले जवाफ भेट्ने गरी मैले थपेको थिएँ; ‘तिमी मान नमान । विचार लिन र राख्न स्वतन्त्र छ्यौ । मेरो साहित्यमा जीवनको सौन्दर्य रहन्छ । जीवन्त सौन्दर्यबिनाको लेखन मध्यरातको मुर्दाघाट समान बिरसिलो लाग्छ मलाई त ।’
२०७८–०६–१६


४८. लघुकथा–  प्रत्यागमन
–नन्दलाल आचार्य

अन्ततः म सदाको लागि जन्मथलो मधेसमै फर्किएँ ।
               +++
मधेसमा जन्मेँ । कालो वर्णको भएँ । कलुवा कहलाएँ । पहाड चढेँ । काले भएँ । पहाडमै बढेँ । उत्तै पढेँ । सÞंस्कार र विचार उत्तैको पाएँ ।
त्यतै प्रभाव जमाएँ । प्रतिभा देखाएँ । सबैलाई छक्क पारेँ । भोकानाङ्गाको कल्याण गर्ने मन भयो । राजनीतिमा लागेँ । गर्दागर्दै बन्दुक समाएँ । अनकौँ जङ्घार तरेँ ।
भोक खाएँ । तिर्खा पिएँ । अभाव लाएँ । अस्थिर बाटो हिँडेँ । डर मिचेँ । त्रास कुल्चेँ । बम र बन्दुकका छर्रा शरीरभरि बोकेँ । अद्यापि केही बोकेकै छु ।
एक हिसाबले पहाडलाई अङ्कमाल गरेर म्वाइ खाँदै बाँचे ।
अनिल साह नामको थिएँ । कमला गौतमसँग बिहे गरेँ । जात मिच्दा पनि ठूलो विरोध पाइनँ । फियुजन र फिरोज नामका दुई छोरा जन्माएँ । मुखले नै सही पहाडमै मैले मनग्यै सम्मान कमाएँ ।
समय शान्त भयो । चुनाव आयो । खुनपसिना बगाएको ठाउँमा उम्मेद्वार हुन चाहेँ । पार्टीले टिकटै दिएन । कारण पनि खुलाएन । मधेसबाट लड्न भन्यो । म अनिच्छुक भएँ ।
फलतः बागी भएँ । सबैले ज्वाइँलाई नै भोट दिन्छौँ भनेँ । मैले जित्ने करिव निश्चित भयो ।
चुनाव भयो । परिणाम फुकियो, ‘अनिल साहले जम्मा पाँच मत पाएका छन् ।’
गम खाँदै जाँदा भोट दिने मान्छे पत्ता लाग्यो– म, कमला, सासू, ससुरा र सालो ।
२०७८–०६–१६


४९. लघुकथा–  निर्दयी मदारी
–नन्दलाल आचार्य
अन्ततः मदारीले गलगिद्ध मासुभात घिच्यो । मलाई डोहोर्याउँदै र डमरु बजाउँदै सधैँझैँ फलाक्तै गाउँ पस्यो, ‘बलकवा चौक आइए; दशहराके उपलक्ष्यमे देखिए अद्भूत बन्दर डान्स । भरपुर आनन्द लिजिए ।’ 
+++
मेरो लगाम मदारीको हातमा हुन्थ्यो । ऊ मलाई गाउँगाउँ डुलाउँथ्यो । उफ्रन लाउँथ्यो । नाच्न लाउँथ्यो । हाँस्न लाउँथ्यो । मदारीले भनेको अक्षरशः पालना गरेमा चकलेट पाउँथेँ । बोली भुइँमा खस्न नपाई तामेल नगरे पिँडुलाका मासु खस्ने गरी रामधुलाई भेट्थेँ ।
सिर्फ म एक्लो थिएँ । मेरो संसार मसँग थिएन । मसँग म स्वयम् थिइनँ । मसँग केवल मेरो प्राण थियो ।
जे भए पनि नढाँटी भन्नुपर्छ । एक दिन मदारीको घरमा मरन्च्यासे बोको ल्याइयो । ऊ हामी दुबैलाई ठोसीठोसी खाना खुवाउँथ्यो । हामी दुबै बलिया भयौँ ।
स्वजाति सुन्दरी देख्ता मेरो मन मातिन्थ्यो । बोको पनि बाख्री भेट्दा मलाई बिर्सने भएको थियो । 
एक दिन मदारी भन्दै थियो; ‘बोकालाई मात चढेछ । खसी हुन जुरेछ ।’
नभन्दै एक दिन बेलुका मेरो साथी झोक्राएर बसेको पाएँ । कुरा बुझ्दै जाँदा उसले पुरानो चोला त्यागेर नयाँ धारण गरेको रहेछ ।
अब उसलाई ‘बोको’ नभनेर ‘खसी’ भनेको पाएँ । मेरो पनि त्यही हालत पार्ला कि भन्ने भयले केही दिनसम्म गला दाबिरह्यो । परन्तु म जस्तो थिएँ उस्तै रहेँ ।
मदारीले हामीलाई उसरी नै स्याहार्यो । मभन्दा साथी धेरै मोटायो । आफ्ना सन्ततिलाई झैँ दुःखबिराम हे¥यो ।
दशैँ आयो । मदारीले मेरो साथीलाई च्वाट्टै काट्यो । मलाई चाहिँ बाँकी छाड्यो ।
२०७८–०६–१६
Laxmi Rijal

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...