लघुकथा : भर्याङ कमरेड
- लक्ष्मी रिजाल
"नानी तँ मन खोलेर पढ है ! अहिले सिक्ने समयमा मन लुकाइस् भने जीवनभर लुकाएर बाँच्नुपर्छ ।"
बुबाले यसो भन्दा के भनेको होला भन्थेँ म । शिक्षण पेशामा आबद्ध हुँदै गर्दा उहाँ भित्रभित्रै राजनीतिमा सक्रिय हुनुहुँदो रहेछ ।
मण्डलेहरूको झोसपोलले उहाँ प्रहरीको आँखी हुनुभएको थियो । त्यही कारणले उहाँले जागिरबाट हात धुनु परेको थियो ।
पूर्णकालीन कार्यकर्ता भएपछि उहाँ परिवारबाट बेखबर हुनुहुन्थ्यो । उहाँको भूमिगतले हाम्रो जीवन कष्टकर भएको थियो ।
यदाकदा आधारातमा उहाँ आउनुहुन्थ्यो । र; गुनासो गर्नुहुन्थ्यो; "गाउँमा सामन्तीहरूको एकक्षत्र राज भयो । त्यसलाई ध्वस्त पारेर जनताको घरमा हाँसो फर्काउन राजनीतिमा लागेँ । आफ्नै हाँसो गुम्यो । र; पनि जनताको चै फर्कला भन्थेँ । केको फर्कन्थ्यो ? टाठाबाठाको मात्रै पो दिन फर्कने रहेछ ।"
उहाँ मलाई पढेर मात्रै हैन परेर पनि सिक्न भन्नुहुँदो रहेछ । ज्ञान लिन कोढीका पाउ मोल्न पनि पछि नहट्नु भन्नुहुँदो रहेछ । आफ्नो समूहमा आफैँ बढता बुझ्ने हैसियतमा रहन सके मात्र कसैले दबाउन नसक्ने ठोकुवा गर्नुहुँदो रहेछ ।
उहाँ अहिले आफ्नै साथीहरूले व्यवस्था गरेको वृद्धभत्ता लिन जाँदा भन्ने गर्नुहुन्छ; " यी फटाहाहरूलाई काँध थापेर उसबेला भर्याङ चढाइयो । रितो शरीरका साथ फुक्लो जीवन राजनीतिबाट सन्यास लिँदा गाउँलेहरू 'भर्याङ कमरेड' भनी खुब गिल्ला गर्थे उत्तिबेला । यतिबेला मर्ने बेलामा दुईचार पैसो गोजीमा हाल्देर निकै काम गरेका छन् ।"
कञ्चनरूप- रूपनगर, प्रगतिटोल, सप्तरी
No comments:
Post a Comment