प्रस्तुत छ यही सन्दर्भकाे लघुकथा-
लघुकथा : बेताल
"आजका बालबालिका भाेलिकाे राष्ट्रकाे लगाम पक्रने सारथि हुन् । उनीहरूले आज सम्मानजनक ज्ञान आर्जन गर्न पाए मात्रै बाेली र व्यावहारमा एकरूपता हुन्छ ।"
मन्त्रीले भाषण गरिँरहँदा ताली बजाउने सबै बालबालिकाहरू नै थिए । उनीहरू भदौको चर्काे घाममा थाेरै बसेर र धेरै उठेर ताली बजाउँदा थिए । बजाउन अल्छी गर्नेलाई उनीहरूका शिक्षक बजाउन सङ्केत गर्दा थिए ।
कार्यक्रमको अन्तमा आयाेजककाे दयादृष्टि भएकाे थियाे- सबै जसाे बालबालिकाे हातमा कसैकोमा एउटा कसैकाेमा दुइटा चकलेट परेको थियाे । एउटा पनि चकलेट नपाउने केही बालबालिका वितरकको मुहार टुलुटुलु हेरिरहेका थिए ।
केही बुज्रुकहरू चकलेट पाइनँ भन्नेहरूलाई
खेतबारीमा पाकेका मकै खाला भनेर बाँदर लखेटेझै लखेटिरहेका देखिन्थे ।
मञ्चबाट उठेर आफ्नो सवारी साधनतिर लम्कँदै गर्दा मन्त्रीकाे बाेली सुनिएकाे थियोे; "ए फुच्चे, कार राम्रोसँग पुछपाछ त गरिस् नि ? टलक्क टल्किने बनाइस् नि ?"
बाेली भुइँमा खस्न नपाईकन १२ वर्षको धनमान "एस सर, तयार छ सर" भन्दै सामुन्नेमा हाजिर भएको थियोे ।
२०७८/०५/२९
बेलका- २, सिद्धार्थटाेल, उदयपुर ।
No comments:
Post a Comment