लघुकथा- बाको रिन असुल
"तेरा बा बिनारथ कतै चटपटाउनुहुन्नथ्यो उत्तिबेला ! यत्तिबेला तँ पनि शौखिन हुन खोज्छस् ?"
पुरानो बेचेर नयाँ मोडेलको मोटरसाइकल किन्न अनुमति माग्दा आमाले भन्नुभएको कुराले मनमा झड्का हानेको थियो ।
बाको शौखको बारेमा त्यत्ति थाहा थिएन । म सानै छँदा उहाँले परमधाम सुधार्नुभएको थियो ।
उहाँ सुनैसुनले बेरिएको लौरो टेक्नुहुन्थ्यो । चाँदीका बर्तन बाहेक अरूमा पानी समेत पिउनुहुन्नध्यो । कुच्चिएका र दुला परेका चाँदीका भाँडाकुँडा बोराभरि कोचेर राखेको हुन्थ्यो । मैले यत्ति चाहिँ देखेको थिएँ ।
"बुलबुल बाबु ! सप्तकोसी हमरा घरसर सबटा बगादेलके । हम आ हमर बालबच्चा सभ भुकसँ मरैअ ।"
सप्तकोसीले घरबारबिहिन पारेको भन्दै आफ्ना अघि हात जोड्नेलाई उहाँ भन्नुहुन्थ्यो; "अच्छा, तुँ हमरा सँ कथि चाहैछी ?"
मबाट के चाहन्छौ भन्ने उहाँको उदार प्रश्नको जबाफमा उनीहरू बसोबासका लागि आफ्नो नाममा घरेडी पास गरिदिन र ६ महिना खाने अन्न माग्थे । पछि कमाएर त्यो रिन चुक्ता गर्ने बचन दिन्थे ।
"मान्छे आँसु खसाल्न हैन; हाँसो बाड्न जन्मेको हो । सहासी सधैँ मुस्कुराउँछ । कायरले मात्र आँसुलाई प्रसाद ठान्छ ।"
बाका कुरा सुनेर रोदन गर्न बन्द गर्थे मानिसहरू । त्यही मौकामा बाको कथन पुन: सुनिन्थ्यो; "पाँच कठ्ठाका दरले घरेडी पास गरिदिउँला । चार बोरा धान र गहुँ दिन मुन्सीलाई चिठी लेखिदिउँला । अब त खुशी हुन्छौ नि !"
त्यसपछि बुलबुल बाबुले जग्गा र अन्न बिनाधितो सापटी दिँदै छ भनेर गाउँभरि हल्ला फिँजिएछ । हाम्रो घरमा मालपोत कार्यालयको जस्तै भीड लागेको थियो ।
त्यस भिडलाई देखेर उहाँले एक कठ्ठा घरेडी र एक मन अन्न मात्रै सापटी दिने कुरा गरेपछि २०% मानिस थोरै त लिन्न भनेर खाली हात घुरेका थिए । बाँकी मानिसहरू चाहिँ हातहातमा मुन्सीलाई सम्बोधित चिठी पक्रेर बाहिरेका थिए ।
घरेडी पास गराउन बाहेक अरू बेला कहिल्यै ती मान्छे फर्केर आएनन् । बुबा बितेको ३० वर्षपछि घुम्दैफिर्दै म त्यहाँ पुगेँछु ।
'बुलबुल मालिके बेटा' भन्दै सबै बुढापाका नरनारी जम्मा भएर मलाई घेर्दै भनेका थिएँ, "मालिकको छोरो मालिक नै हो । हामीलाई रिनमुक्त गराइदिनुस् । रिन बोकेर मयौँ भने माथि अल्लाहले हामीलाई माफ दिँदैनन् ।"
उनीहरूको मन राख्न सबैको हातबाट केही न केही खाएर रिनमुक्त गरिदिनु पर्यो । मेराे अगाडि थुप्राे लागेको थियोे- खाजा, लड्डू, पेडा, चिया, चकलेट, सुन्तला, नरिवल------- आदिकाे !!!
बेलका २; सिद्धार्थटाेल, गल्फडिया, उदयपुर ।
nandalalacharya@gmail.com
No comments:
Post a Comment