Thursday, August 31, 2023

स्रोत लघुकथा ‘राखी’ तारा श्रेष्ठ र उत्तर लघुकथा ‘दक्षिणा’ नन्दलाल आचार्य

‘राखी’ शीर्षकको स्रोत लघुकथाको उत्तर लघुकथा ‘दक्षिणा’



१. लघुकथा  : राखी  -तारा श्रेष्ठ
  
"रामु, घर र सानी मालिक्नीकाे  राम्रो ख्याल गरेस् है" भन्दै राधा बाहिर निस्किन् । व्यापारकाे सिलसिलामा  बाहिर गइराख्नु राधाकाे दिनचर्या थियाे । आफुभन्दा सानै भए नि  रामु सानी मालिक्नीलाई आदर गर्दथ्याे भने निशा नाेकर भनेर हेला गरेर बाेल्थी ।

केही बेरपछि बाथरुममा केही गडबड आवाज आयाे । रामु कुदेर जाँदा निशा लडिरहेकाे देख्याे । सानी मालिक्नीलाई उठाएर काेठामा लग्याे कपडा फेराएर सुतायाे । रामुकाे दबाइ, पानी, स्याहारसुसार पछि निशा तङरिन् । रामु अरु काममा जुटिसकेकाे थियाे । 

"रामु दादा ! रामु दादा !" स्वर सुनेर रामु झस्कियाे । आजसम्म ऊ त्याे घरमा रामे मात्र थियाे । नीशाकाे शरिरमा छाेइएकाे कुराले ऊ डराइरहेकाे थियाे । जब स्वर निशाकाे भन्ने बुझ्याे तब ऊ धामी बनेर काम्न थाल्याे । रामेकाे व्यवहारले निशाकाे मनमा  डेरा जमाएकाे  बुझ्याे । ऊ डरले छेउ पर्न सकेन ।  

मालिक्नी आएर थाहा पाउलिन्  कि भन्ने डरले बाटाे तताउने सुरले झाेला टिपेर बिदा माग्न गयाे । यताउति निशालाई देखेन । निशा फुत्त आएर अप्ठ्यारो पार्ने हुन कि भनेर डराइरहेको थियो । उसकाे बाेली फुट्न सकेकाे थिएन ।  

कसैले पछाडिबाट हातमा तानेकाे जस्ताे लाग्याे । पछाडि फर्कँदा निशा भन्दै थिइन्, "रामु दादा साेफामा बसिस्याे न म हजुरलाई राखी बाँधी दिन्छु ।"

बिराटनगर- ६   मिति -२०७९/०४/२६
+++

२. उत्तरकथा– दक्षिणा
–नन्दलाल आचार्य

‘हजुरको हातबाट म राखी लगाउन सक्तिनँ ।’ ओठ कपाउँदै रामुले भन्यो ।
निशा निरीह भएर उभिइरही । आफूले गरेको हेलाहोचाका घटना एकपछि अर्को गरेर आए र तुरुन्तै गए । उसलाई रामुका सामु उभिइरहन पनि सकस भयो । घर छाडेर हिँड्न तयार पारेको झोला खोसेर भित्र राखी ।

हातमा राखी खेलाउँदै उसले उसले विनम्रता जाहेर गरी– ‘दादा, मबाट आज के अपराध भयो ? आइन्दा म भुल दाहो¥याउँदिनँ ।’

‘हजुरबाट त्यस्तो केही भुल भएको छैन । मबाट पो महाभुल भयो ।’

‘मैले गरेको विगतको सारा गन्दे हर्कत बिर्सनुस् । आइन्दा मलाई चेली मान्नुस् र राखी लगाउन तयार हुनुस् ।’

‘तर....!’ रामुले बोली टुङ्ग्याउन नपाउँदै निशाले खबरदारी गरी; ‘म यस घरबाट ननिस्कुन्जेल तपाईंले यस घरलाई त्याग्न पाउनुहुन्न । मलाई यही वचन दक्षिणा चाहियो दादाबाट ।’

राधा पनि आइपुगिन् । हरि मामा पनि आइपुगे । राधाले दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै राखी बाँधिदिइन् । निशाले समेत रामुलाई राखी बाँधी । 

‘रामु दादाको विशाल हृदयलाई मेरो संकुचित बुझाइले ठम्याउन सकेको रहेनछ । यस जन्ममा त यसरी नै हामी दाजुबहिनी भयौँ । अर्को जन्ममा मेरै आमाको कोखबाट हजुर फल्नुपर्छ ।’

निशाको यस्तो कथन सुनेर हर्षाश्रु खसाउँदै रामुले भन्यो; ‘असल नियतको कर्मले भाग्य चम्काउँदो रहेछ ।’

०००
२०८०.०५.१३ सिद्धार्थटोल, उदयपुर ।

Wednesday, August 30, 2023

लघुकथा– राखी –नन्दलाल आचार्य


(रक्षा बन्धन तथा राखी पर्वको सुखद अवसरमा अतिवादको नष्ट होओस् र आपसी भाइचाराको पुनरावृत्ति रहोस् भन्ने कामनाका साथ शुभकामना स्वरूप प्रस्तुत–)
लघुकथा– राखी 
–नन्दलाल आचार्य   
‘तेरो बोली त के अनुहार पनि हेर्न चाहन्न ।’ खप्पिसराजले क्रोध जतायो । उसका मतियारहरूले थपडी बजाएर समर्थन गरे ।
क्रिमराजले प्याच्चै भन्यो; ‘मलाई झन तेरो छायादेखि नै घृणा जाग्छ ।’ उसका समर्थक पनि चार हात उफ्रिए ।
केही समयदेखि उनीहरू बीच पानी बाराबार थियो । एउटै छानामुनि बसेर दुबै टाउका माथिको छानो कोतर्थे । जतिजति छानो घाइते हुन्थ्यो उतिउति उनीहरू रमाउँथे । यस्ता क्रियाकलापले घर धराप भएर गए । घनघोर वर्षाले छानो चुहेर उनीहरू दुबै घरको न घाटको भएका थिए । 
यद्यपि बाझाबाझमा उत्रिरहे । पाखुरा सुर्कासुर्की चलिरह्यो । मल्लयुद्धको शंख बजाउन आदेश हुनै लाग्यो । चारैतिर प्रलयको धुँवा मडारिँदै गयो । खोलामा पानीको साटो रगतका फाल्सा बग्ने सम्भावना जिउँदो हुँदै आयो । पाखुरीमा शक्ति र मनमा अशङ्कार हुनेहरू होली र दशैँ एकै पटक आउँछ भन्दै थिए । तिनै अतिवादको नेतृत्व खप्पिसराज र क्रिमराजले समाल्दै थिए ।
त्यत्तिबेलै नोबेल विजेता रवीन्द्र नाथ टैगोर सेता दारी टुप्लुक्क देखा परे । एकाएक खप्पिसराज र क्रिमराज फ्रिज भए । चारैतिरको संकटको तुवालो हट्दै आयो । मन्दमन्द सुवाससहितको शितल हावाले पुष्पवृष्टि गराउन थाल्यो । अहङ्कारी शिर लत्रिए । निर्दोष चेहरा उज्यालिए ।
टैगोर बोले; ‘बंगाल विभाजनको क्रममा हिन्दु–मुस्लिमको बिचमा भाइचाराको मोहनी मैले नै लगाएको थिएँ ।’
अतिवादी नाइकेले आशले शिर उठाए; ‘दिगो हितका लागि तिमीहरूले रक्षा बन्धनको सूत्रमा उनिनुपर्छ ।’
उनले ठूलो गर्जनका साथ थपे; ‘शान्तिको बिजारोपणका लागि हिन्दु र मुस्लिम एक अर्कामा राखी बाँध्ने चलन मैले बसाले । यसको जनक म हुँ ।’
आशावादी भएर नाइकेहरूले शिर खडा गरे । टैगोरको एक इशारामा दुबै समूह अङ्कमालका साथ राखी बाँधाबाँधको कार्यक्रम चल्यो ।
टैगोरले भनेँ; ‘स्वर्णिम इतिहास जन्माउन आपसी त्याग र क्षमाको विजारोपण हुनुपर्छ ।’

२०८०–०५–०५ सिद्धार्थटोल, उदयपुर ।  हाल– सिर्जनाकुटी, सिरहा ।
०००

लघुकथा– माया
–नन्दलाल आचार्य
‘मेरो उचाइसँग तपाईंलाई के मतलब ?’ कक्षा दसको विद्यार्थीले प्रधानाध्यापकसामु मलाई संकेत गर्दै भन्यो ।
‘तपाईं केके भनेर विद्यार्थी चिढ्याउनुहुन्छ ?’ प्रअ समेत ममाथि नै खनिए  ।
त्यो विद्यार्थी भएकै कक्षामा म खटिएको थिएँ । परीक्षा निरीक्षकको भूमिका राम्रै ढङ्गले निर्वाह गरेको थिएँ । त्यस विद्यार्थीसँग पनि जम्काभेट नभएको होइन तर अप्रिय त्यस्तो केही भएको सम्झिनँ ।
‘तपाईंको काम विद्यार्थी पढाउने हो कि उचाइ नाप्दै जाने हो ?’ विद्यार्थीले नै अर्को प्रश्न राख्यो ।
म अलमलमा थिएँ । मसँगै प्रअ समेत द्विविधामा अल्झिए । मौकामा हिरा फोर्नुपर्छ भन्दै विद्यार्थीले नै मलाई ताकेर भालाले घोच्यो; ‘उचाइ नाप्ने त्यत्रो सौख भए शिक्षण पेशा छाडेर मेरो बुबाकहाँ टेलरमा काम गर्न आउनू ।’
यसो भन्दै विद्यार्थीले आँखाबाट आँसु चुहायो ।  उसको रातोपिरो अनुहारसँगै ¥यालसिँगान भएको देखेर मैले रिस मनभित्रै गुम्स्याई राखेँ । 
नखाएको विषले म गल्दै थिएँ । सबैका सामु मेरो अस्तित्व खुइलिइसकेको थियो । मेरो तीस वर्षे शिक्षण अनुभवले लोप्पा खाइसकेको थियो ।
‘तँ विद्यार्थीको हैसियतबाट राष्ट्रपतिमा उक्लिस् । अब तेरो सुनुवाई यस कोर्टमा हुन्न ।’ प्रअले कित्ता फेरे । एकाएक विद्यार्थी नुन खाएको कुखुरो बन्यो ।
‘तँ हामीलाई जागिर दिने दाता रहिछस् र टेलर मास्टरको अफर दिइस् ।’ प्रअले थपे । न्याय पाउँला भन्ने उत्साह लिएर आएको विद्यार्थी मुन्टो लत्र्याएर निस्कँन लाग्दा रोकेर मैले सोधेँ; ‘मबाट त्यस्तो के भुल भयो र तिमी रिसाएका ?’
‘मलाई सानो देखेर तपाईंले तँ पाँच कक्षामा पढ्ने मान्छे, दसमा किन आएको भन्नुभयो । यो सुनेर अरू सबै हाँसे । मेरो मन फाट्यो ।’ उसले आँखामा टिलपिल आँसु बनाएर भन्यो ।
‘सबभन्दा सानालाई माया जताउने मेरो पुरानो बानी छ ।’ मैले मुख खोलेँ ।
उसले असन्तुष्टि अनुहारभरि दौडायो । यो देखेर फिस्स हाँस्दै मैले थपेँ; ‘मेरो तिमीप्रति विशेष सहानुभूति छ ।’ 
२०८०.०५.१३  सिद्धार्थटोल, उदयपुर  ।
हाल– सिर्जनाकुटी, सिरहा ।
००००

Sunday, August 20, 2023

सोमबारे लघुकथा प्रशिक्षण कार्यक्रममा मनोहर पोखरेल जन्मोत्सव विशेष- ६७१ डा. पुष्करराज भट्ट र सुनिता निरौला

सोमबारे लघुकथा प्रशिक्षण कार्यक्रममा मनोहर पोखरेल जन्मोत्सव विशेष


सोमबारे लघुकथा प्रशिक्षण कार्यक्रममा मनोहर पोखरेल जन्मोत्सव विशेष सोमबार- प्रशिक्षक/प्रस्तोता- डा. पुष्करराज भट्ट र सुनिता निरौला । (लघुकथा प्रशिक्षण कार्यक्रम) समय- ७:३०-८:३० बेलुका । मिति २०८०.०५.०४, ११, १८ र २५) (श्रृङखला- ६७१, ६७८, ६८५ र ६९२) +++ लघुकथाकार : मनोहर पोखरेल राजविराज–६, सप्तरीमा पिता निर्वाणकुमार पोखरेल आमा मेनकादेवी पोखरेलका सुपुत्रका रूपमा भदौ ४ गते मनोहर पोखरेलको जन्म भएको हो । कानुनमा स्नातक गर्नुभएका पोखरेलको पेसा पत्रकार, अधिकारकर्मी, सामाजिक कार्यकर्ता, साहित्यकार रहेको छ । २०७८ भदौ ४ गते लेखिएको पहिलो लघुकथा पञ्च परमेश्वर शीर्षकमा रहेको छ । लघुकथाका क्षेत्रमा योगदान दिँदै आउनु भएका पोखरेल लघुकथा प्रतिष्ठानका संस्थापक व्यवस्थापक हुनुहुन्छ । राजविराज जेसीजको सन् २०१३ का सफल अध्यक्ष हुनुहुन्छ । उहाँ हाल पनि विभिन्न संस्थामा आबध्द रहेर सक्रिय हुनुहुन्छ । 👍️ सगरमाथा साहित्य परिषद्को अध्यक्ष । २०७१ असोज ११ देखि हालसम्म 👍️ प्रगतिशील लेखक संघ, सप्तरी सदस्य । 👍️प्रधान सम्पादक, सगरमाथा आवाज साप्ताहिक । २०४७ देखि हालसम्म 👍️कार्यकारी सम्पादक, आजको वातावरण दैनिक । २०५१ देखि हालसम्म 👍️अन्नपूर्ण पोस्ट् दैनिकमा सम्वाददाता २०१४ सेप्टेम्बर ६ देखि हालसम्म 👍️इन्सेक सप्तरी प्रतिनिधि २०६९ भदौ २८ देखि हालसम्म । 👍️सप्तरी जिल्ला अदालतको सामाजिक कार्यकर्ता २०७३ सालदेखि हालसम्म 👍️जिल्ला बाल न्याय समितिको सदस्य २०७८ भदौ १८ गतेदेखि हालसम्म 👍️राजविराज नगरपालिकाद्वारा गठित लैङ्गिक हिंसा निवारण कोषको सञ्चालक सदस्य २०७८ साउन २४ गतेदेखि हालसम्म 👍️लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालको अध्यक्षमा २०७२ असार १९ देखि २०७५ माघ १३ गतेसम्म रहनुभएका उहाँ हाल सदस्य हुनुहुन्छ । 👍️नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधि २०६१ देखि २०७५ सम्म रहनुभयो । 👍️नेपाल पत्रकार महासंघ सप्तरीको २०७८ वैशाख ६ गतेदेखि हालसम्म सल्लाहकार 👍️नेपाल जेसीज २०२० सल्लाहकार 👍️सामुदायिक सेवा केन्द्रमा २०७५ मङ्सिर १४ गतेदेखि हालसम्म सल्लाहकार 👍️मेची महाकाली बुहारी संयुक्त आवाज सल्लाहकार 👍️महिला मानव अधिकार रक्षक सञ्जालको सल्लाहकार २०७८ वैशाख ११ गतेदेखि हालसम्म 👍️वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोष सदस्य २०७३ साउनदेखि हालसम्म उहाँबाट सम्पादन 👤सप्तरी उद्योग वाणिज्य संघद्वारा २०७० पुस २७ गते प्रकाशित स्मारिका २०७० को सम्पादक 👤जनमत प्रकाशन बनेपा–७ काभ्रेद्वारा असोज २०७६ मा प्रकाशित जनमत साहित्यिक मासिक अङ्क २६४ को अतिथि सम्पादक रहनुभएको छ । साहित्यतर्फ पुरस्कार तथा सम्मान स् 🙏१२खरी मिडियाद्वारा उत्कृष्ठ कथा २०७८ बाट पुरस्कृत 🙏अनलाइन खुल्ला निबन्ध प्रतियोगितामा सबल नेपालद्वारा २०७५ मा नगदसहित प्रथम पुरस्कार । 🙏आधारभूत तहका जनताको अधिकारका पक्षमा कलम चलाए र वकालत गरेवापत बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषद्वारा २०७६ मा नगदसहित मानवअधिकार पुरस्कार । 🙏साहित्य पोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको तेइसौँ अङ्कमा विजयी । 🙏मानवअधिकार प्रलेखनवापत नगदसहित इन्सेकद्वारा २०७० देखि हालसम्म चार पटा सर्वोत्कृष्ट र उत्कृष्ट पुरस्कार । ।🙏लघुकथा समाज नेपाल प्रदेश १ बाट २०७९ भदौ १० गते नगदसहित सम्मान पत्र 🙏आधुनिक नेपाली लघुकथा फेसबुक पेजले सञ्चालन गरेको प्रतियोगितामा चौथो साता विजयी हुनुभएको छ । 🙏लघुकथा समाज कोशी प्रदेशको प्रतियोगितामा उत्कृष्ठ लघुकथाबाट पुरस्कृत 🙏लघुकथालोक (भारत) पेजले सञ्चालन गरेको लघुकथा समारोह १४४ मा सर्वोत्कृष्ट लघुकथा सृजनाका लागि लघुकथा रत्न सम्मान (२०२३ अप्रिल १) मनोहर पोखरेलको विभिन्न पत्रिकामा कथा, लघुकथा, कविता, लेख, निबन्ध, समालोचना प्रकाशित भएका छन् । साहित्यका अलावा विभिन्न क्षेत्रमा क्रियाशील पोखरेल दर्जनौ संघसंस्थाबाट सम्मानित हुनहुन्छ । हार्दिक धन्यवाद । +++ साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको तेइसाैँ अङ्कमा विजयी लघुकथा १. लघुकथा– माताको दर्शन –मनोहर पोखरेल अचानक चक्कर लागेर पार्वती ड्याम्मै लडिन् । ओठ र खुट्टा कापिरहेका थिए । तलमाथि केही भयो भने, कल्पना मात्रले पनि म भयभित थिएँ । ‘बूढो ज्यान म एक्लै के गरूँ !’ शहरमा जागिर गर्ने छोराबुहारीलाई खबर गर्दै लाचारी व्यक्त गरेको थिएँ । घर आउनुको सट्टा छोराले उल्टै धैर्यले काम लिनुपर्छ भनेर सम्झाएको थियो । पहिले पनि चक्कर लागेको र ठिक भएको स्मरण गराएको थियो । रक्तचापको औषधी नियमित खुवाउन र आराम गराउन सुझाव दिएर फोन काटेको थियो । कुरा सकिएकै थिएन । आफैँ फोन काटिएको जस्तो लाग्यो । पुनः फोन डायल गर्दै सोधेको थिएँ, ‘चाँडो घर आउन समय मिल्दैन, बाबु ?’ असमर्थता जनाउँदै उसले भनेको थियो, ‘मनकामना मन्दिर जाँदैछौँ । गाडी र केबुलकारको टिकट बुक भइसकेको छ । दुई/चार दिन भित्रै घरै आइपुग्छौँ ।’ उसको बोली टुङ्गिनासाथ फोन कटेको थियो । पार्वतीको मुटुको धडकन बेलाबेलामा रोकिएजस्तो हुन्थ्यो । खुट्टाहरू सुन्निएका थिए । ओठ, जिब्रो र औँलाका टुप्पाहरू निला हुँदै गएका थिए । निकै आतेस भएर फेरि फोन लगाएँ । ‘फूल र नैवेद्य बोकेर लामबद्ध उभिएका छौँ । माताको दर्शन गरी आमाको लागि आशीर्वाद माग्नेछौँ । बरोबर फोन गर्नुको साटो उहाँको हेरचाह गरे बेस हुन्थ्यो ।’ मैले यत्ति सुन्नासाथ फेरि फोन काटियो । तत्कालै आफ्नो घरबाट छोरी आई । आमाको अवस्था नियाली र थप उपचार गराउन सहर लगी । त्यहाँको उपचारले आमाको प्राणवायु फर्कियो । दिनानुदिन विसेक भयो । डाक्टरहरूले भोलिपल्ट डिस्चार्ज गर्ने भएका थिए । अघिल्लो दिन छोराबुहारी आएर आमाको खुट्टा मुसार्दै भनेका थिए, ‘साँचो मनबाट गरेको हाम्रो प्रार्थना देवी माताले सुन्नुभएछ ।’ २०७८ असोज १० गते राजविराज +++ २. आधुनिक नेपाली लघुकथा प्रतियोगितामा चौथो हप्ताको विजयी लघुकथा लघुकथा : अग्ली आमा मनोहर पोखरेल आज एकाविहानै अचानक घरमा आमा आउँदा मेरो मनमा लाग्यो, ‘दाजुको घरमा केही समस्या पो पर्यो कि आमालाई ।' श्रीमतीले कानेखुशी गरिन्, ‘फेरि के माग्न आइन्, छैन भन्नु है ।’ ‘आमाले मुखै खोलेर मागेपछि छैन कसरी भन्नू ?’ मनमनै कुरा खेलिरहेको थियो । चुपचाप रहँदा श्रीमतीले जवाफ फर्काउलिन् र रडाको मच्चिएला भन्ने डर थियो मलाई । आमाले श्रीमतीे अगाडि रहुञ्जेल केही नबोले हुन्थ्यो भनेर मनमनै प्रार्थना गरिरहेको थिएँ । उता श्रीमती नेत्रसङ्केतमा भन्दै थिइन्, ‘आमाले पैसा माग्लिन् र दानी भएर देउलाऊ नि ।’ ‘उता के हेर्छस्, यता सुन् ।’ आमाको आदेशात्मक स्वरले ध्यान खिचियो । आमासँग आँखा जुध्यो, सास पनि रोकियो एकछिन मेरो । ‘आमा के कसरी बसेकी छे तैँले सोधखोज पनि गरिनस् । ६ महिनासम्म भेट्न आइनस् ।’ आमाको गुनासोले म नाजवाफ भएँ । आमाले थप के भन्लिन् भनेर एकटक लगाएर सुनिरहेको थिएँ । सामाजिक सुरक्षा भत्तावापत एक वर्षको एकमुष्ठ पैसा निकालेको जानकारी दिँदै आमाले भनिन्, ‘लु पाँच हजार राख्, तेरो हातमा पैसा भएको भए तँ पक्कै भेट्न आउथिस् मकहाँ ।' राजविराज ६, सप्तरी मिति ०७९ असोज १७ गते +++ ३.लघुकथा समाज कोशी प्रदेशको प्रतियोगितामा उत्कृष्ठ लघुकथा लघुकथा : हाकिम -मनोहर पोखरेल साना कुरामा समेत निहुँ खोज्ने श्रीराम आज सल्लाह गर्दै थिए, “सरकारी अधिकृत हो रे, नातागोतामा कसैको पनि हाकिम ज्वाइँ छैन्, हाम्रो त इज्जत नै आकासिन्छ ।” फरक मत राख्न श्रीमती डराउँथिन् । माइत जान वा सम्बन्ध तोड्न धम्की दिइ हाल्ने स्वभावले उनी चुपचाप निहुरिन बाध्य हुन्थिन् । यत्तिकैमा हिम्मत जुटाउँदै छोरीले भनिन् “नाइँ गर्दिनँ अहिले बिहे । अझै पढ्न मन छ ।” “भलो चिताएरै भन्दै छु छोरी । समयमै बिहे गर्नुपर्छ । उमेर ढल्के पछि जति पढे पनि केटा पाउन गाह्रो हुन्छ ।” “जीवन साथी पाइयो भन्दैमा आफ्नो जीवन स्थगित गर्न त भएन नि बुवा ।” छोरीलाई मनाउँदै श्रीरामले भने–“तिम्रो इच्छा जानेरै उता कुरा गरेको छु । नयाँ सोचका रहेछन् । पढने, नोकरी गर्ने अनुमति दिने भनेका छन् ।” “पढन पनि उनीहरुको अनुमति लिनुपर्छ र !” बिहेको लागि मरिहत्ते गर्दै श्रीरामले सम्झाउँदै थिए– “राम्रो ज्वाइँ पाइएको छ, हाम्रो रवाफै छुट्टै हुन्छ । तिम्रो जिन्दगी सप्रिन्छ । हाकिम्नी साहिबा पो हुन्छ्यौ त ।” आमालाई पुलुक्क हेरिन र भनिन् – “बुवा मलाई आफ्नै पहिचान बनाउनु छ, हाकिम्नी साहिबा होइन, हाकिम बन्नु छ ।” राजविराज-६ सप्तरी २०७९ चैत २७ गते +++ ४. लघुकथा : चुक्ली मनोहर पोखरेल “सबैको जागिर पाँच बजे सकिन्छ, तिम्रो भने जहिल्यै रात पर्छ ।” तीन बिस नाघेकी रमा चिढिँदै बोलिन् । बुहारी घर आउन ढिला भएकाले उनी छटपटिएकी थिइन् । हस्याङफस्याङ गर्दै घर आएकी बुहारी सोझै भान्साभित्र पसिन् । “खोई, हाम्री भाउजूको ओभरटाइम भएर होला नि ।” माइत आएकी सानुले छेड हानिन् । भान्साबाटै बुहारीले सोधिन् “आज के पकाऊँ आमा ?” धेरै दिनपछि छोरी माइत आएकी थिइन् । छोरीलाई चौपट्टै मनपर्ने परिकार पकाउन निर्देश दिँदै रमाले भनिन्, “तरुवा, फूलौरा जे जे पकाए पनि सिन्की र तामा पकाउन भने नछाड्नू है ।” बुहारीले बजारबाट पनीर ल्याएकी थिइन् । उनी रनभुल्लमा परिन् । माइतमा आमालाई फोन लगाइन् । फोन गरेको थाहा पाएर सानुले रमालाई पोल लगाइन्- “हामीसँग एक शब्द बोलिनन् भाउजू, उता भान्सामा पसेर माइतमा हाम्रो भए नभएको कुरा लगाउँदै छिन् ।” रिसाउँदै भान्सा पुगेर रमाले सोधिन्, “के हो चाला, कसलाई के कुरा लगाउँदै हो महारानी ।” हत्तपत्त फोन लुकाउँदै बुहारीले स्पष्ट पार्न खोजिन्- “केही होइन, आमासँग कुरा गरेको हो ।” “त्यही भएर सोधेकी, चुक्ली पो केके लगायौ ?” रमा जङ्गिइन् । निकै केरकार गरेपछि अप्ठ्यारो मान्दै बुहारीले भएको कुरा बताइन्- “सिन्की र तामा पकाउन नजानेकीले आमालाई सोध्दै थिएँ ।” राजविराज ६, सप्तरी ०७९ फागुन ९ गते +++

Saturday, August 19, 2023

खेमराज पोखरेलको स्रोतकथा ‘हराएको कथा’को उत्तरकथा ‘खानी’ –नन्दलाल आचार्य

खेमराज पोखरेलको स्रोतकथा ‘हराएको कथा’को उत्तरकथा खानी’
–नन्दलाल आचार्य


१. स्रोत-लघुकथा- हराएको कथा 
-खेमराज पोखरेल

रातको ११ः५९ । 

किन नक्कली देख्छु त्यो ऐना ? 

काँसघारी पो छ त मेरो टाउको । अमिनको नक्सा पो छ त मेरो अनुहार । कोटेरोको गुँड बनायो मेरो छाला । दन्तले द्वार बढायो । आँखामा पावर देखायो । 

लेख्दालेख्दैको मेरो आफ्नै कथा सकिएन । की बोर्डबाट औँला झिकेँ । 
शरीरको ऐया आथो । मनको भाँडभैलो । रित्तो छु । सोचमग्न भएको छु । 

बिनापैसा अर्ती सुरु भो । 

जेठो भाइ दिमागले भन्यो ‘कथाको कुरा छोड्, जिन्दगीका बारेमा सोच् । जिउ बाँचे मात्र घिउ खान पाइन्छ ।’ 

माइलो भाइ हृदयले भन्यो ‘कथाको कुरा छोड, परिवारमा प्रेम पन्पा, प्रेमबिनाको के जीवन ?’ । 

साइँलो भाइ पेटले भन्यो ‘कथा छोड् । पहिले पचाउन प्रयत्न गर् । पचेन भने तैँ पच्लास् ।’  

कान्छो भाइ पेटमुनिले भन्यो ‘कथा छोड्, वास्तविकतामा आइज । उमेर सञ्चित हुन्न । कुण्ठै भए पनि कुम्ल्या । 

यसरी सबैले रिँगाए । थेचारे । सतोसत मेरो कथा हरायो ।  

‘होइन हौ ! म के गरूँ ? मेरो आफ्नै कथा हरायो ।’ मेरो प्रश्न तपाईँलाई । 

‘केको कथा लेख्छस् अब ? दिमाग कि हृदय ?, पेट कि पेटमुनि ?, आफ्नो कि परायाको ? दायित्वकोे कि प्रेमको ? देश कि परदेशको ? पृथ्वी कि अन्तरिक्षको ?’ तपाईँको कडा प्रतिप्रश्न । 

‘था‘छैन । सायद सबै ।’ मेरो लोभ । 

‘कथा लेखेर कहाँ पुग्छु भनेझैँ लाग्छ तँलाई ?’ जटिल प्रश्न मलाई ।

‘था‘छैन । सायद धेरै माथि ।’ मेरो लालसा । 

‘कति माथि ?’  

‘था‘छैन । सायद असीमित ।’ म अन्योलमा । 

रातको १२ः०० । 

२०८० सालको भदौ ३ गते । 

एउटा छायाँ बन्द झ्यालबाट पस्यो र भन्यो ‘खेम ! ६७ औँ जन्मोत्सवको शुभकामना । तेरो आफ्नो कथा मात्र तेरो हो । अरू मिथ्या हुन् । अधुरो नछोड् । लेख्न थालिहाल् । स्वाँठ ! शुभ कामलाई केले छेक्छ र ?’
+++

२. उत्तर–लघुकथा– खानी
–नन्दलाल आचार्य

‘अठ्सठियौँ जन्मोत्सवको शुभकामना पाएर पनि चुपचाप किन बस्छस् खेम भाइ । मजस्तो जुध्न संसार दौडाहामा निस्किन ।’ मौनव्रत लिएको देखेर छायाले मलाई माया देखायो ।

मैले आफ्नै कपाल नियालेँ; गाला मुसारेँ; छाला सुम्सुम्याएँ । सर्बत्र बुढ्यौलीका तरङ्ग तँछाडमछाड गर्दै बुर्कुसी मारिरहेको भेट्टाएँ ।

‘तँ यत्ति सानो, कलिलो अस्पृश्य भएर म जस्तो कथाकारलाई भाइसाइ भन्दै होच्याउने !’ मनको घौलामैला बारिएको बाँध मैले एक्कासी फोडिदिएँ । 

‘यार, यसरी रिस नाकको टुप्पामै बसेको थाहा पाएको भए म उच्चतम आदरार्थीको प्रयोग गरिहाल्थेँ नि ।’ उसले स्पष्टीकरण दिने प्रयास ग¥यो ।

यत्ति जवाफले म सन्तुष्ट भएँ । मुखमा ताला झुन्ड्याउँदै म मेरै हराएको कथा खोज्न थालेँ ।

ऊ भन्दै गयो–
–दुनियाँलाई छाडेर हृदयको कथा लेख्नुस् ।
–मुनिबाहिर हैन पेटभित्रको कथा लेख्नुस् ।
–कसैको हैन आफूभित्रको जीवको लेख्नुस् ।
–हिजोआजका कथा अरुले लेखे तपाईं भोलिका कथा आजै लेख्नुस् ।

ऊ भनेको भन्यै थियो । म सुनेको सुन्यै थिएँ । मन प्रफुल्लतामा नाच्दै थियो । म विदेशी भूमिबाट देख्दै थिएँ मेरो चोमोलुङ्मा मुस्कुराउँदै आऊ, आऊ भन्दै थियो । मेरो चन्द्रसूर्य ध्वजा मलाई खरो भयो होला भनी हम्कँदै थियो ।

म प्रशव वेदनाले छटपटाउँदै थिएँ । तत्क्षण हात लम्काएर हिमालले काखमा लिएको भेटेँ । ध्वजाले मेरो लाज ढाकेको पाएँ । मेरो छाया, माया आदिले शरीर मुसार्ने, सुम्सुम्याइदिने,  चिल्लो घसिदिने गरेको भेट्टाएँ । सबैको चाहना र शुभकामनाले मैले कथा मात्रै हैन कथाको खानी नै जन्माएँ । 

मेरा मायाहरू त्यही खानीबाट कथाहरू झिकेर कुपुकुपु खाइरहेछन् । जतिजति खानीबाट कथाहरू हराउँदै जान्छन् उत्तिउत्ति म जवानीमा फर्कंदै जान्छु । 
०००
२०८०.०५.०२  सिद्धार्थटोल, उदयपुर  ।
हाल– सिर्जनाकुटी, सिरहा ।

Friday, August 18, 2023

शिवकुमारको स्रोतकथाले जन्माएको लक्ष्मीको उत्तरकथा –लक्ष्मी रिजाल

शिवकुमारको स्रोतकथाले जन्माएको लक्ष्मीको उत्तरकथा
–लक्ष्मी रिजाल


 १. स्रोत-लघुकथा- ढोंगी बाबा -शिवकुमार रेग्मी

"मोहन ! ए मोहन !" विष्णुले चिच्याउदै बोलायो ।

"को हो हँ ?" घोक्रो सुक्ने गरि चिच्याउने बाहिर निस्कदै मोहनले भन्यो । ए विष्णु तिमी,भित्र नआएर किन घोक्रो सुक्ने गरि चिच्याएको ? मोहनले थप्यो।

मोहन तिमीले थाहा पाएका छैनौं,गाउँको शिव मन्दिरमा एउटा महात्मा बाबा आएका छन् रे ! स-संकित स्वरमा विष्णुले भन्यो।

के भन्छ हँ यसले? हो र साच्चै?मोहनले भन्यो।

शिव मन्दिरमा भिडभाड ज्यादै बढ्न थाल्यो।सबैले महात्मा बाबा आएका छन् भन्न थाले।एक कान दुई कान मैदान ! महात्मा बाबाको चर्चा हावाको गति भन्दा छिटो फैलियो। 

गाउँको बुढा-पाका मध्येका रमाकान्त पनि दृश्य देख्न पुगेका थिए। उनले महात्मा बाबालाई छर्लङ्ग चिने। उनी उसै गाउँका चन्द्रमोहन रहेछन् । चन्द्र मोहन पाँच वर्ष पहिला जाँडको नशामा परिवारसँग लडाइ-झगडा गरेर गोल भएका थिए । अहिले उनी दारी-जुँगा र कपाल पालेर ढोगीं बाबाको रूपमा देखा परेका थिए ।

पोखराथोक,पाल्पा
+++

२. उत्तर लघुकथा– वर्तमान –लक्ष्मी रिजाल

‘ध्यानिज्ञानी महात्मा ठानेर सर्वत्र उहाँलाई सम्मान गर्छन् । बिनाखोट आफ्नै गाउँमा उहाँलाई अपमान गर्न तम्से ।’ चन्द्रमोहनको प्रवचन सकिएर मानिसहरु लाखापाखा लागेपछि त्यहाँ उपस्थित मानिसहरुका बीच मोहनले गुनासो पोखे ।
 मोहनका कुरा सुन्नासाथ रमाकान्तले प्याच्चै भने; ‘गधा धोएर गाई हुन्न, ढोंगी बाबाको चेला !’

‘जीवनमा काम, क्रोध, लोभ, मोहबाट मुक्त भई वैराग्यलाई अंगालेको मान्छेलाई कसैले चित्त कुड्याउने काम गरेमा फरक के नै पर्ला ?’ आफ्नो अपमान गरेको सुनेर चन्द्रमोहनले पनि बाङ्गो कुरा गरे ।

‘हेर्, दारी बुढा, पाँच वर्ष अलप हुँदैमा कोही महात्मा हुन्न । तँ यहाँ गाउँ भाड्न आएको होस् । टिकट काटिहाल् । नत्र नाङ्गेझार बनाएर लखेट्नु नपरोस् ।’ विष्णुले रिस पोख्यो ।

‘आफ्नो परिवारलाई लात मार्ने यस्ता नाथेसँग बात मारेर मुख किन दुखाउँछौ केटाहरू हो!’

रमाकान्तले अर्को वाण चलाए । मोहन बाहेक अरूले नकारात्मक कुरा गर्दै गए ।
‘लौ, जाँडका भकारी बाबा, हामी अहिले हिँड्यौँ । भोलिको सूर्योदय पूर्व नै यस शिव मन्दिरबाट पनि अलप भइहाल् ।’ आक्रोश पोख्दै रमाकान्त उठे ।
‘घर भत्काउने, बालीनाली क्षति गर्ने जङ्गली हात्ती लखेट्न ठिक पारेका पुल्ठाहरू छँदै छन् । यसका लागि तिनैको उपयोग गर्नुपर्छ ।’ यस्तै नकारात्मक कुरा थपथाप पार्दै विष्णु पनि बाटो लाग्यो । 

चन्द्रमोहन समुद्रझैँ शान्त थिए । मोहन मात्रै त्यहाँ मौजुद रह्यो । चन्द्रमोहनले सोधे; ‘तिमीसँग मलाई दिने कुनै कालोमैलो दुर्गन्ध छैन, मोहन नाति ?’  
जवाफमा प्रतिप्रश्न गर्दै मोहनले भन्यो; ‘तपाईंभित्रको विद्वता लिन मैले के गर्नुपर्छ, बाबा !’

जवाफमा चन्द्रमोहनले भने; ‘विगतले वर्तमानलाई क्षतविक्षत पार्न छाड्नुपर्छ । वर्तमानलाई भविष्यका लागि हाँस्न दिनुपर्छ ।’

२०८०.०५.०२ कञ्चनरुप १२, रुपनगर, सप्तरी ।
+++

Thursday, August 17, 2023

शुक्रबारे लघुकथा प्रशिक्षण-६६८ शारदा दहाल+खेमराज पोखरेल+नन्दलाल आचार्य+अन्जु +स्वस्तिका सिम्खडा

शुक्रबारे लघुकथा प्रशिक्षण-६६८ शारदा दहाल+खेमराज पोखरेल+नन्दलाल आचार्य+अन्जु शर्मा+स्वस्तिका सिम्खडा
संयोजक तथा प्रस्तोता– शारदा दहाल 

अतिथि विश्लेषक - खेमराज पोखरेल (मिति–२०८० भदौ १ गते शुक्रबार  श्रृङ्खला–६६८) समय– ६.३०–७.३० बेलुकी । 
वाचन गरिने लघुकथाहरु-
+++
१.लघुकथा-  माध्यम  -नन्दलाल आचार्य 
२. ढिंडो  (लघुकथा)  अन्जु शर्मा 
३.लघुकथा– पौरख  –स्वस्तिका सिम्खडा
+++
१.लघुकथा-  माध्यम  -नन्दलाल आचार्य 

"तपाईंको अनुहार देख्नासाथ पश्चातापका रेखा तितरबितर भएको भेट्छु ।" खान जान भनेको ठाउँमा म नगएकोमा दया देखाउँदै उहाँले भन्नुभयो ।

"कसैका दयालु शब्द ग्रहण गर्ने लोभी मन उहिल्यै मरिसक्यो ।" मैले पनि अररा शब्दहरू जोडजाड पारेँ ।

उहाँले मलाई गलाउने कोशिसका साथ भन्नुभयो-
# त्यहाँ थरीथरीका पक्वान्न थिए ।
# हेर्दै जिब्राले पानी छाड्ने मिठाईहरू थिए ।
# खान मात्र हैन घर ल्याउने सुविधा पनि थियोे       ।
# एकएकवटा हात्ती भएको द्रव्यदान समेत मिल्थ्योे ।

यसरी लोभी राज्य स्थापनार्थ उहाँले अनेकानेक तथ्यहरूको फेहरिस्त सुनाउनुभयो ।
"उसो भए सीताकुमारी मर्दा तपाईंको दिल खुशी भयो, हैन ?" मेरो सवालको जवाफमा उहाँको मुन्टो लत्रियो ।

अघिदेखि कुरा सुनिरहेका रामबिलासले मौकामा चौका हान्दै भने; "पर्दा मान्छेलाई सहयोग गर्नुपर्छ । मान्छे मर्दा गलगिद्ध हसुरेर डकार्नुहुन्न ।"

उहाँले कान ठाडा पार्नुभयो तर मौन धारण गर्नुभयो ।

रामविलासले नै थपे; "मृतभोज ग्रहणले मरेकाहरूलाई स्वर्ग उक्लिन सघाउँछ वा सघाउँदैन तर बाँचेकाहरूलाई नरक ओर्लन अवश्य सघाउँछ ।"
२०८०-०४-३०     सिद्धार्थटोल, उदयपुर ।
हाल-  सिर्जनाकुटी, सप्तरी ।

२.कालजयी (मातृपितृ दिवस विशेष )
ढिंडो  (लघुकथा) अन्जु शर्मा 

     किक्लिक्क पारेर आमाले नुन र खोर्सानी संग ढिंडो निल्नु भयो ।ढिंडो निल्दै गर्दा आमाका आँखाभरी आँसु टिल्पिलाए।
" आमा किन रूनुभएको?"
" बाबु !धेरै पढ्नु ,धेरै पैसा कमाउनु ढिंडो चाहिँ कहिले नखानु है"।
बाको थालबाट अलिकति दुधभात खाएर म स्कुल गएं।आमाका कुरा खास बुझिन पनि र  ध्यान पनि दिइन।
   आज म धेरै धनी भाछु।म संग गाडी ,घोडा ,बंगला सबै थोक छ।म जति पनि मीठो मसिनो खान सक्छु ।तर डाक्टरले मलाई ढिंडो खाने सल्लाह दिनुभयो ।श्रीमतीले मेरो स्वास्थ्यको ध्यान राख्दै ढिंडो पस्केर ल्याइन।थालमा ढिंडो देखेर आमाको अर्ती याद आयो ।हातमा राखेको ढिंडो मुखमा लग्न सकिन ।आमालाई मिष्ठान्न खुवाउन नसकेकोमा निकै भावुक भएं।मेरा आँखाबाट आँसु झर्दै थिए ।परबाटै छोरीले आज आमाको मुख हेर्ने दिनमा हजुरलाई पनि यो रसबरी।मुखमा रसबरी कोचिदिइन ।आमा प्रति कुनै ठोस कर्तव्य गर्न सकें सकिन थाहा छैन ।तर रसबरीको गुलियो स्वादले भने आमाको सपना पूरा गरेको अनुभव गरें।

रातोपुल
2080/04/31

३.मातापिता दिवसको अवसरमा प्रेषित कालजयी 
लघुकथा– पौरख  –स्वस्तिका सिम्खडा

‘एकैछिन सास फेर्न पायो भने सकिनसकी हर्दम एउटै बोली फलाकिरहनु राम्रो होइन ।’ उमेरको ख्यालै  गरी मैले मनभित्रको कुरो बाहिर ल्याइहालेँ ।

हजुरआमा शान्त देखिनुभयो । मलाई उहाँ रिसाउनुभयो कि भन्ने डर भयो । उहाँलाई मन परेकी जेठी नातिनीको नाकमा झिँगा बसेछ भन्ने लागेछ ।

मेरो एक वाक्यले उहाँको बोली बन्द भएपछि म पग्लन थालेँ । हजुरबा वितेपछि माया, आदर जे गरे पनि जिवित देवी एउटै हजुरआमा हुनुहुन्थ्यो । म उहाँलाई सम्मानस्वरूप आमा भनेर बोलाउँथेँ ।
उहाँको रिसाएको मनलाई खुशी बनाउन भनेँ– आमा, मेरो दोष मात्रै किन कोट्याउनुभएको ? 

उहाँको अनुहारमा भिन्नै तेज देखियो । भन्नुभयो– हाम्रो युग गयो । तिमीहरूको आयो । म बोलेको कारण तँ बेलैदेखि पौरखी बन्छेस् कि भनेर हो ।

२०७९.०५.०७  बानडाँडा, बेलका २, उदयपुर ।
०००
(बि.एड. प्रथम वर्षमा अध्ययनरत् स्वस्तिका सिम्खडाको पुरानो डाइरीमा सिमित यो लघुकथालाई पहिलो पटक यहाँ सार्वजनिक गरेकी हुँ । स्वस्तिकाको २०८०.०४.२० गते दुःखद निधन भयो । उहाँको जन्म २०६१.०१.१६ गते भएको हो । उहाँ लघुकथा वाचन र लेखनका अतिरिक्त कविता, संस्मरण र निबन्ध लेख्न रुचाउनुहुन्थ्यो । उहाँका दुई दर्जन अधिक लघुकथा प्रकाशित र प्रसारित छन् । संकलक– लक्ष्मी रिजाल)
Laxmi Rijal 

कालजयी लघुकथाको खोजी

---- सिक्ने_र_सिकाउने_भरपर्दो_थलो_लघुकथा_प्रतिष्ठानको_आग्रह --- 
# कालजयी लघुकथाको खोजी अभियानमा जुनसुकै विषयमा लघुकथा लेखी पोस्ट गरौँ ।
 
मातापिता सम्मान दिवस २०८० को पुनित अवसरमा स्वघोषित कालजयी लघुकथा आह्वान गरिए बमोजिम हालसम्म लघुकथा प्रतिष्ठानमा पोस्ट भएका लघुकथा सूची संयोजकको आज्ञाले सार्वजनिक गरिएको छ । पोस्ट भएर पनि छुटेका सर्जकले लिंकसहित सूचित गर्न र पोस्ट नगर्नुभएकाहरुले पोस्ट गरी यसै पोस्टको कमेन्टमा लिंक राखिदिनुभए आभारी हुनेछौँ । 

लघुकथा सूची-
१. लघुकथा- आमाको मन -अल्पविराम पोखरेली
२. लघुकथा- आमाकाे खुसी -गाेविन्दबहादुर कुँवर
३. लघुकथा- वारिस -गाेपीराम भण्डारी 
४. लघुकथा- कुसे आउँसी -सुरेशकुमार पाण्डे
५. लघुकथा : निर्माण  -लता के सी 
६. लघुकथा- मान्छे   -लक्ष्मी रिजाल 
७. लघुकथा- स्वावलम्बी -नन्दलाल आचार्य 
८. लघुकथा- आमा -राजकुमार कार्की 
९. लघुकथा- सञ्चय  -गरिमा आचार्य 
१०. लघुकथा : उदय -तुलसी पण्डित 
११. लघुकथा- साली  -कामना आचार्य
१२. लघुकथा- नयाँ वर्ष  -अक्षान्त
१३. लघुकथा- शोक र भोक -डा. गणेशप्रसाद भट्टराई
१४. लघुकथाः मातातिर्थ औंशी -रुद्र अधिकारी 
१५. लघुकथा- पितृ -राेशन पराजुली
१६. लघुकथा- ब्यवस्थापन  -हिरनमयी आचार्य शर्मा
१७. लघुकथा-   भाग्यमानी -गङ्गा आचार्य सापकोटा 
१८. लघुकथा- मातृप्रेम  -पं. ज्यो. तोयनाथ सुवेदी 
१९. लघुकथा: अन्तिम प्रतीक्षा  -उमेश कार्की
२०. लघुकथा- एक्लोपन -रमेश सुबेदी
२१. लघुकथा - सातोपुत्लो   -डा. अमर कार्की
२२. लघुकथा- दायित्व -चिरञ्जीवी दाहाल
२३. लघुकथा- महालक्ष्मी  पुजा -रञ्जुश्री पराजुली
२४. लघुकथा- चिठी  —श्रीप्रसाद पोखरेल
२५. लघुकथा--सुतिकाे सारी  -टीकाराम पुरी
२६. लघुकथा- आमाको चिट्ठी -कमला भट्टराई
२७. लघुकथा- जस -सीता रेग्मी
२८. लघुकथा- सतप्रतिशत -निरज काेइराला
२९. लघुकथा- आमा -शेषमणि आचार्य 
३०. लघुकथा- विश्वास   -गजल आचार्य
३१. लघुकथा- आमाको माया -अम्बिका धिताल
३२. लघुकथा- आमा -रमेन्द्र कोइराला 
३३. लघुकथा- विद्रोह -रञ्जना रिजाल 
३४. लघुकथा- समय -बाबुकाजी सुवाल 'विकेश निराशी'
३५. लघुकथा- एउटा छोरा -ललिता ‘दोषी’ 
३६. लघुकथा- प्रस्ताव -कुञ्जदेवी उपाध्याय
३७. लघुकथा- उपहार -अन्जु शर्मा 
३८. लघुकथा: चैते खहरे -टङ्कबहादुर अालेमगर 
३९. लघुकथा : कर्तव्य -तिलक तारामी "रेशाली" 
४०. लघुकथा -  सम्मान -सुनिता निरौला पौडेल 
४१. लघुकथा- पौरख -स्वस्तिका सिम्खडा


+++
१. लघुकथा- आमाको मन -अल्पविराम पोखरेली

ओई बुढी ! छोराले तीर्थ घुमाउने वहानामा हामीलाई बितरामा पारे जस्तो छ । तीन दिन भयो , अहिले भर्खरै आउॅछु तपाईहरू यहाँ बस्तै गर्नुस् है भनेर गएको छोरो फर्केरै आएन । बूढाले आॅखाबाट आँसुको भल बगाउँदै बुढिसॅग बिलौना गर्यो ।
बुढीले पनि आॅसु झार्दै भनिन् ** त्यसो नभन बुढा ! हाम्रो छोरा त्यस्तो छैन ,केही काम परेर भुल्यो होला आई त हाल्छ नि ।
देवघाट जाने बाटोको चौतारीमा दुई जना ज्येष्ठ नागरिक अलपत्र अवस्थामा बसिरहेका एउटा बटुवाले देख्यो र कुरा पनि सुन्यो । उसले सोच्यो बुढाबुढी भएका बाआमालाई पाल्न झ्याउ लागेर यहाँ ल्याएर छोडेछ , स्वार्थी बदमासले, देवघाट नजिकै छ त्यहीको बृद्धाश्रममा पुर्याउन पर्यो भनेर ती ज्येष्ठ नागरिकलाई प्रस्ताव राखे । तीन दिन देखिको भोक प्यासले आकुल ब्याकुल तिनीहरू बृध्दाश्रम जान तयार भए । प्रहरी जस्तै देखिने ती बटुवाले सोधे ** घर कता पर्यो होला, बाआमाको ?
बूढाले घरको ठेगाना भन्नै आॅटेका थिए बुढीले बुढाको मुख च्याप्प थुन्दै कानमा भन्यो छोरालाई गाह्रो पर्छ नि बुढा, नबोल ।

२०८०\१\८
+++
२. लघुकथा- आमाकाे खुसी -गाेविन्दबहादुर कुँवर
हजुर आमा -´मेराे माहिलाे नातिकाे हात खुट्टाका रुम लामा छन् । जीउमा लामा रुम हुनेलाई गाई भैंसी अग्घाेर फाप्छ ।`
बुवा -´गौरीशंकरले जस्ताे भैँसीकाे स्याहार कसैले गर्दैन याे घरमा !`
हजुर  आमा र बुवाकाे कुरा सुनेर, म फुरुक्क पर्थेँ । तर आमा अँध्याराे हुनुहुन्थ्याे । 
उतिखेर केही नभने पनि हामी आमा छाेरा एक्लै हुँदा भन्नुहुन्थ्याे, ´ऐले फुरुक्क परेकाे छस् , पछि कुकुरले नपाउँने दु:ख पाउँदा थाहा पाउलास् !` आमाले मायालु पाराले पनि संझाउनु हुन्थ्याे ।
मैले पढ्न छाेडेकाेमा उहाँ धेरै दु:खी हुनुहन्थ्याे । तर मेराे मन एकाेहाेरिएकाे थियाे ।
म भरसक आमासित एक्लै पर्दैनथेँ ।
दाइ एक दिनकाे बाटाेमा डेरा गरेर उतै छ साता कक्षामा पढ्नुहुन्थ्याे हाेला । भाइ बहिनी सानै थिए । गाेठालाे जानसक्ने घरमा म नै थिएँ ।
हाम्राे परिवार ठूलाे थियाे । गरेर खान पुग्ने खेत पाखाे बाहेक अरु आयश्राेत थिएन । बुवाकाे जागिर थिएन । हजुरबाले नेपाली सेनामा भएर पनि राम्रै आय आर्जन गर्नुभएकाे रहेछ । त्यसैले हाम्राे परिवार हिङ नभए पनि हिङ बाँधेकाे टालाेमा गनिन्थ्याे ।
त्यतिखेर नगद आमदानीकाे लागि गच्छे अनुसार हिउँदमा दुई चार ओटा  थारा भैँसी किन्ने र वर्षामा तिनीहरु बाली गएर ब्याए पछि बेचेर नगद पारिन्थ्याे । 
अनि त्याे पैसाले नून तेल, बाली सेर्मा र ओडापैरीकाे समस्या हल हुन्थ्याे ।
मैले गाेठालाे गरेकाे तेश्राे वर्ष ठूलाे भान्दाइ दशैँमा टीका लाउन आउनुभयाे । राति केके कुा भए, थाहा पाइन । विहान घर जाने वेलामा मलाई भन्नुभयाे , ´ल , हिँड् माहिला तलाई म पढाउँछु !  अब तैँले पढ्नुपर्छ ।`
हजुर आमा र बुवाले टीका लाएर विदा गर्नु भयाे । म रमाउँदै भान्दाइकाे अघि लागेँ ।
आमा घाँस काट्न  कुन भीरपाखा पुग्नुभएकाे थियाे, त्यस बेलासम्म पनि घरमा आउनुभएकाे थिएन ।
तर मलाई के थाहा थियाे भने आज आमाकाे सबैभन्दा बढी खुसीकाे दिन हुनेछ ।
०००
२०८०/०४/२८
भाेटेओडार, लमजुङ
+++
३. लघुकथा- वारिस -गाेपीराम भण्डारी 

        सडक किनारमा मान्छेको ठुलै भिड थियोे । मजदुरीको लागि सडकमा निक्लिएकाे जयन्ते पनि भिडमा मिसियाे ।भिडकाे बीचमा एउटा मृत मानिस लडिरहेको देख्यो । मृतकको  छेउँमै बसेर दुईजना प्रहरीले मुचुल्का लेखिरहेका थिए । उचिएकाे प्रहरीले वाक्कीट्वाकीमा भन्दै थियो–“सर वेवारिसे अन्दाजी दस,एघार  वर्षको पुरूष ।"  
        जयन्तेले उभिएकाहरूसँग जिज्ञासा राख्याे "के भएछ ?” उभिएका मध्येको एउटा मान्छेले भन्यो–“के हुनु नि ओभरडोज भयो अनि गयाे । अलिअलि पैसा भयो कि डाेज दिइहाल्छन् ।" जयन्तेले नियालेर हेर्याे । मृतक दश एघार बर्षे केटो थियो । मुकुन्देले भन्याे "ऐ त्यो बच्चाे हिजो बेलुका मलाई होटलसम्म जाने हो दाइ भनेर बाटामा साेध्ने फुच्चे पाे रहेछ !" पुलिसले  जयन्तेकाे मुख तिर पुलुक्क हेर्यो । पुलिसको छेवैँमा होटलवालाले बयानमा भन्दैथियो–“मैले चिन्दिन तर एक वर्षदेखि मेरो हाेटलमा ग्राहक ल्याउँथ्यो । मैले प्रत्येक ग्राहकको  पचास रूपैँया दिन्थेँ । त्यो भन्दा अरू मलाई थाहा छैन । त्याे बेवारिसे नै हाे।"
    जयन्ते रिसाउँदै भन्याे ,"हिजोसम्मकाे तिम्रो कर्मचारी आज वेवारिसे बन्याे? । थुक्क ! मानवता हिन मुन्छे ! हुनत, समाजनै आफै बेवारिसे बनिरहेकाे छ ! तमी हामी खाेष्टा मुन्छेका के कुरा !" 
    प्रहरीले जयन्तेकाे मुखमा हेर्दै प्रश्न गर्याे,"तपाईं यसलाई चिन्नुहुन्छ? मुकुन्देले भन्याे,"हाे म चिन्दछु याे मुन्छेकाे बच्चा हाे । याे समाजकाे कुलतले मारेकाे बच्चा । सहरले बेवारिसे बनाएको बच्चा ।" प्रहरीले भन्यो,"के हाे तपाईं  उल्टा सिधा कुरा गर्ने "?उसले शालिन भएर भन्यो,"समाज उल्टाे दिशामा हिँडेको देख्नुभएन ! म बाेलेकाे सुन्नुभयाे हैन ? छाडिदिनुस कुरा  , मिल्छभने मलाई जिम्मा दिनुस । म वारिस वन्छु मृतककाे"। प्रहरीले भन्याे,"प्रक्रिया पुराएर लैजानुहाेस ।" 
 मुकुन्देले भन्याे ,"गाउँमा त यस्तो हुँदैन थ्याे? कस्ताे प्राण भर्ने प्रकृया, मृत समाजकाे?" 
       प्रहरीले नवाेलेर कागज लेखिरह्याे । मृत प्रकृयाले प्रकृयाकाे मृत प्रकृति खाेज्दै थियाे जहाँ मानवता कात्राेमा लुकाईएकाे थियो ।
लेखन मिति-२०८०/०४/२८
गाेपीराम भण्डारी 'बटुवा' 
ठेगाना-टाेखा ३ काठमाडौं
+++
४. लघुकथा- कुसे आउँसी -सुरेशकुमार पाण्डे

आँमा हामीले हजूरलाई लिन आएका हौं! " मानसिहँ र प्रमिलाले बृद्धाश्रममा पुगेर कुसे आओंसीको बिहानै आँमा राधासँग भने।"
भैगो बाबु अब मलाई कतैजानुछैन।कान्छोले घुम्न लान्छु भनेर याँहा पुरायो,अब तिमिहरूले कतापुराउँछौ?यतैबाट मुर्दा घरजानु पर्ला बरू अब म कतै जाँदैन " राधा मलिन हुँदै भनिन्।
आँमा मलाई पछि थाहा भयो भाई रामेले गलती गरेछ,हजूरलाई झुक्काएर बृद्धाश्रम पुराएको रैछ।हिँड्नुस् आँमा हाम्रो घरमा हजूर उतै बस्नुहोला! मानसिहँ र प्रमिलाले अलिबेर बिन्ति बिसाउँछन्।
आँमाको मन त हो त्यो पग्लियो उनि खुसिले गदगद भइन मानसिहँ र प्रमिला सँग घर फर्किन तैयार भईन।
तिनौँजना बृद्धाश्रम बाट घर पुगे,खानपिना भयो! "राधाले पनि सबै बितेका दिन भुलेर मनमनै भनि सबैछोरा एकैनासे हुँनेरैनछन्।"
यही अचानक भित्र बाट आवाज आयो।
अब त्यो नानिको रेखदेख गर्न राखेकी आयालाई भुली बाट छुट्टि दिनुपर्ला।अब आँमाले नानिको रेखदेख गरिहाल्नुहुन्छ नी!प्रमिलाले मान सिहँलाई प्याच भनी।होस् !मानसिहँ ले समर्थन गर्यो"
उता त्यो कुरा राधाको कानमा परिहाल्यो।
घोराही उप महानगर पालिका १८दाङ
१४-०४-२०२३,
+++
 
५. लघुकथा : निर्माण  -लता के सी 
 तीनकुने , काठमाडौं ।
`` बाबा , म यो अराजक घरमा बस्दिँन , विदेश जान्छु । ´´ छोराले असन्तुष्टि पोख्यो ।
 बाबाले सम्झाउँदै भन्नु भयो , आफ्नो घर अराजक भयो भने पलायन हुनु त कुन बहादुरी भयो र , बाबु ? बरू हामी मिलेर  आफ्नो  घरको संस्कार र अस्मिता  जोगाउनेतिर लागौँ न हुन्न ? ´´
``पहिला निर्माण हुँदा यो घर कत्ति सशक्त थियो रे ! राणा अङ्कल र पञ्चायत अङ्कलले खै के के गरे ?  हजुरबाले भन्दै हुनुहुन्थ्यो । ´´
  `` उनीहरूलाई मात्र दोष थुपार्नु हुँदेेन बाबु  ! समय र अवस्थाको माग अनुसार  उनीहरूको  विवेकले जे देख्यो ,  त्यही गरे । बरू तेरा प्रजातन्त्र र गणतन्त्र मामाहरूलाई पनि भन् । ´´
 `` के भन्नु ?´´ छोराको जिज्ञासा ।
``  अब म डाँडापारिको जून भैसकेँ । उनीहरूसंगै हातेमालो गरेर यो घरमा शान्तिको बास गराउने , स्वर्ग बनाउने भनेर ! ´´
 आशङ्का प्रकट गर्दै छोराले भन्यो  `` अनि मामाहरूले तँ फुच्चेको यत्रो हैसियत ? भनेर मलाई गलहत्याए भने के गर्नु ? ´´
बाबाले शान दिएर भन्नु भयो , `` तँ  मेरो सपूत होस् बाबु ! लाछी कुरा गर्नेलाई त खै म के भनुँ ? तर अरूले बनाइदिएको घरमा रङरोगन गरेर बस्न पनि जान्नु पर्दछ ´´ भनेर बुझेस् है !
+++

६. लघुकथा- मान्छे   -लक्ष्मी रिजाल 
"नानी, सरकारी जागिरे हुनुपर्छ । राम्रोसँग पढ् है ।" मामूले भन्नुभयो ।
"तैंले डाक्टर हुनैपर्छ ।" बाबाले थप्नुभयो ।
मेरा आँखा किताबमा थिए । मन भने क्रोधमा पाक्दै थियोे ।
"छोरी अवश्य हाकिम बन्छे ।" मामूले खुशीसाथ दोहर्याउनुभयो ।
"डाक्टर बनेर छोरीले मेरो नाक राख्छे ।" बाको जिद्दी पनि दोहोरियो ।
कचकचले कान खायो र भनेँ; "कसैको अधुरो सपनालाई पूरा गर्ने ठेक्का मैले लिएकी छैन ।"
"उसो भए के बन्छेस् त ?" दुबैको एउटै कुरा थियोे ।
जवाफमा मैले भनेँ; "मान्छे !"
२०८०/०१/०१ कञ्चनरूप १२, प्रगतिटोल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल ।
++++++

७. लघुकथा- स्वावलम्बी -नन्दलाल आचार्य 
"तँलाई मैले धेरै थोक गरेँ ।" एसएलसीको उत्तीर्ण गरेपछि आमाले भन्नुभयो । उहाँले मलाई घर त्याग भन्नुभयो । बाटो खर्च दिने वचन दिनुभयो । त्यो पनि फर्काउने सर्त राखेर ।
"काखको छोरो खाते बन्न नपठा ।" बाले संसय नेत्र पारेर भन्नुभयो । आमा धपाउने तर बा राख्ने । बाआमाको यस्तो रस्साकस्सी निकैबेर चल्यो  । कालान्तरमा निर्णयको अभिभारा मलाई सुम्पनुभयो ।
म अनिर्णयको बन्दी बनेर रोएँ । एसएलसी गरेर महत्वाकांक्षी बनेको ठहर्‍याएँ । मूकदर्शक बनेर आँखाभरि आँसु बनाएँ । आमाको आँखामा सहानुभूतिपूर्ण भाव पढिरहेँ । बाकोमा भने अन्धो अनुराग भेटिरहेँ ।
घर छाड्ने आँखा थिएनन् मसँग । हिम्मत जुटाउने सहास जन्मेको थिएन । जीवन आफ्नो भएकाले आफैंले बनाउनुपर्छ । संसार तमासा हेर्छ कसैलाई सघाउँदैन । यस्तै विचारले मैले मुठ्ठी कसेँ ।
"कमजोर पाखुराले धरतीसँग कसरी जुध्छ ?" बाले ममता मिश्रित पानी पियाउनुभयो । आमाले  दानापानी बन्दको घाेषणा गर्नुभयो । जवाफमा ममता बाहिर धपाएर भन्नुभयो; "हतियार बनाउन फलाम तातोरातो बन्नैपर्छ ।"
२०८०/०१/०१ सिर्जनाकुटी, सिरहा ।
+++
८. लघुकथा- आमा -राजकुमार कार्की 

कटारी-१ उदयपुर 
"आज पनि रित्तो हात आयौ हैन ।कति दिन भयो एउटा हार बनाई देऊ भनेको?" 
घरमा दिनेश पस्नसाथ गरिमाले आक्रोश पोखी।दिनेश केही नबोली आफ्नो कोठामा पसेर कपडा बदल्न लाग्यो।गरिमा भने अझै लट्टे पट्के झैँ पट्की रहेकी थिई।
"बाबु! मेरो चस्माको सिसा आज पनि फेरिनस् है।"भन्दै  बुवा पनि गुनासाका पोकाहरू खोतल्न लाग्नुभयो। 
दिनेश घरायसी टन्टा र अफिसको कार्यबोझले थकित हुँदै ओछ्यानमा पल्टिन्छ ।अनि सोच्छ ;कति मतलबी हुन्छन् मानिसहरू? थाकेको छु ;भोकाएको छु कोही सोध्दैनन् भोकाइस् होला भनेर।उल्टो गुनासाहरू तेर्साएर सताउँछन्। 
यस्तै धेरै सोच्दै लोलाउन के आँटेको हुन्छ ।उसलाई कसैको प्यारो स्पर्श भए जस्तो  लाग्छ।गरिमाको चेपारे माया हो भन्ठानेर अझ दाह्रा किट्छ र कोल्टे फर्किन्छ।। 
छोराको निदारको पसिना पुछ्दै दिनेशकी आमा भन्दै थिईन्,"बाबु उठ भोकायौ होला यी तिम्रो लागि मैले चाम्रे बनाएको छु।" 
समाप्त २०८०/१/१/
+++
९. लघुकथा- सञ्चय  -गरिमा आचार्य 
"दिनेशजी, सुन्नुस् त !" एक्कासी सुनेको स्वरले दिनेशले चौका खायो ।
 ऊ सधैं बकबक गरिहन्थ्यो तर त्यसको साथी रुख भने मौन थियोे । कारण बुझ्न नसकेर दिनेश ह‌ैरान थियोे ।
दिनेश विगत सम्झन्थ्यो- अरू मान्छे आउँथे । सुस्ताउँथे । शरीरमा ताजापन भर्थे । त्यही शक्तिले साथीका हाँगाबिँगा काटकुट पार्थे  । लिएर घर जान्थे । दोहोरो कुरा गर्न नपाएर ऊ निराश हुन्थ्यो । 
यतिबेला भने उसको साथी भन्दै थियोे, "तिमीहरू बढता बाेलेर शक्तिहिन छौ । म मौन रहेर तिमीहरूको अत्याचार सहने शक्ति बटुल्छु ।" 
बिउँझदा त दिनेश रुखमुनि थियोे । रुखका पातले हम्केर वरपर शीतल वातावरण बनाइरहेका थिए ।
२०८०/०१/०१ बेलका २, उदयपुर । हाल- गोलबजार ४, सिरहा,  मधेस प्रदेश, नेपाल ।
+++++

+++
१०. लघुकथा : उदय -तुलसी पण्डित 
 कति निस्वार्थ भावना । उसैको लागि आत्मा । आफ्नो आधा पेट । उसैलाई राम्रो बनाउन पाउँदा आत्मा सन्तुष्टि । मुख बार्ने देखि मीठो खान प्रतिबन्ध । हो आमाको त्यागले छोरो साने हुर्कियो । उसमा उमङ्ग फैलियो । जोशजागर आयो । कल्तुहलता बढ्यो । उसले सोच्यो । ममा यो तरङ्ग ल्याउने आमा हुन् । उहाँको देनले मैले सबै कुरा पाएँ । बरु उहाँलाई कसले साथ दिएको छ । उहाँले मलाई कसरी हुर्काउनु भयो । उहाँ त मेरो रेखदेखमा घर मात्र हुनुहुन्छ । कतै गएको देख्दिन । मलाई खुवाउने पढाउने साथै कपडा कसरी आयो । विरामी हुदा औषधी मूलो कसरी गर्नु भयो । उसले सबै कारण खोज्यो । पत्ता लगाउन सकेन । उसले आमालाई भन्यो । "आमा तपाईले मेरो जीवन बनाउन ठूलो त्याग गर्नु भयो । जसले म सक्षम युवक भएँ । बरु हजुरले मलाई आवश्यक सबै कुरा कसरी पुर्याउनु भयो । काम गर्न गएको देख्दिन ?" "ल हेर तँ पेटमा छदा तेरै लागि बाबा विदेश जानु भएको थियो । अैले सम्म घर आउनु भएको छैन ।" ऊ अन्कनायो । " छोराछोरी बयस्क बनाउन बाबुआमाको त्याग शक्ति ठूलै हुने रहेछ । एकको अभावमा बच्चाको उदयको कल्पना गर्नै न सकिने ।"
+++
११. लघुकथा- साली  -कामना आचार्य

"तिम्रो गाम कहाँ हो, नानी ?" प्रहरीले सोध्यो  ।
भर्खरै एसइईको हलबाट निस्कँदै गर्दा सुनेको प्रश्नको जवाफ नदिने विचारमा थिएँ । फेरि प्रश्न दाेहोरियो ।
"उदयपुर !" छोटो उत्तर दिएर उम्कन खोज्दै थिएँ ।
उसले नातो लगाउँदै भन्यो;"उसो भए साली परेछ्यौ तिमी त !"
"हो, हो उदयपुर घर भएका सारा केटीहरू पुलिसकै साली हुन् नि !" मेरो आक्रोश सुनेर उसले अनुहार रातोपिरो बनायो ।
छुट्टिँदाछुट्टिँदै उसले भन्यो; "मेरो ससुराली गाउँ  उदयपुर नै हो ।"
२०८०/०१/०१ बेलका २, उदयपुर । हाल- गोलबजार ४, सिरहा,  मधेस प्रदेश, नेपाल ।
+++++

१२. लघुकथा- नयाँ वर्ष  -अक्षान्त

"सधैं किचलो झिकेर गिदी खानुहुन्छ ।" वीरेको आनीबानीले कटाक्ष भेट्यो  विमलाबाट । पहिले तिलको पहाड बनाउँथ्यो वीरे । अहिले भने विल्कुल‌ै शान्त थियोे । एकाएक परिवर्तन आएकोमा  सन्नाटा छायो ।
संसारका सामु मिलेका जोईपोइ थिए । आन्तरिक रूपमा रहस्यमय जोडी थिए । आँखा सामु एकले अर्कोलाई गन्दैनथ्यो । ओझलमा रानो हराएको मौरी हुन्थे । उनीहरू आपसमा नचिनिई जीवन घिसार्थे ।
एक्कासी विमलालाई उखपात हुन थाल्यो । उनी पतिलाई कोट्याईकोट्याई बोलाउन थालिन्- "एकाएक मान्छेले विल्कुलै परिवर्तन हुनुहुन्न ।" पतिको मौनताले  कष्टकर अवस्था आयो ।  सधैंको बकबके बानी विमलामा सर्यो ।
वीरेको मन भने मुस्कुराइरहेको थियोे । विमलाको चाहिँ भतभती पोलिरहेको थियोे । वीरे अथाह आनन्दमा पौडदै थियोे । बाहिर अनेक भित्र एक थिए । केहीबेरमै विमलाका आँखाले बाँध फुटायो ।
आँसुले वीरेको शान्ति भङ्ग गर्यो । विमलाको नाजुक हालत असह्य भयो । उनलाई आफूतिर  तानेर पाखुरी सुम्सुम्यायो । अनि गाला पुछ्दै वीरेले थप्यो; "नयाँ वर्षदेखि नयाँ काम थालेको ।"
२०८०/०१/०१ सिर्जनाकुटी, सिरहा ।
+++

१३. लघुकथा- शोक र भोक -डा. गणेशप्रसाद भट्टराई

“दाजु π आमा बिरामी पर्नुभयो । ठुलेलाई बोलाइदे भन्नुहुन्छ । गारो हुन्छ कि क्या हो  दाजुभाउजू नै मिलाएर घर आउनुपर्ने भो दाजु ।” रञ्जनले अत्तालिँदै अस्ट्रेलियामा रहेका दाजुलाई फोन गर्यो ।
“हैन यति राती किन फोन गरेको ? बिहान गरे हुन्न ? निद्रा नै बिग्रियो ।” दाजुको आवाज रञ्जनको कानमा मात्र पर्यो । अरु उत्तरको प्रतीक्षामा थिए । कुनामा लडिरहेकी आमामा पनि आशाचेत चलमलायो ।
अलिक राम्रो सुनिएन भन्दै रञ्जन बाहिर निस्कियो तर फोन बाहिर पनि मधुरो आवाज चाहिँ सुनिँदै थियो ।
“आमा बिरामी भएकाले मैले त समय पनि ख्याल गरिनछु । सरी दाजु । तर आमा निकै सारो हुनुहुन्छ । डाक्टरले पनि अब आफ्नो धर्मकर्म गर्नु भनेका छन् । गोरु र भैँसी बेचेर यतिसम्म त खर्च टारियो । अब त मलाई पनि ....।”
“अनि के गर्ने त ? म सधैँ पैसा पठाउन सक्छु र ? अस्तिको दश हजार के गरिस् ? मेरो छुट्टी मिल्दैन अहिले । फेरि छुट्टीमा तस्मानियाँ घुम्न जाने भनेकी छन् भाउजूले । आ ... केही हुन्न आमालाई । बुढेसकालको रोग हो, दुईचार दिनमा ठिक हुन्छ । तँ छँदै छस् नि त्यहाँ । राख् अहिले फोन ।”
“हस् ।”
रञ्जन भित्र पस्यो । दाजुले के भन्यो भन्ने प्रश्नमा उसले आमाले समेत सुन्ने गरी भन्यो, “आमा दाजुभाउजू भोलि नै हिँड्ने रे । तपाईँलाई सहर लगेर राम्रो डाक्टरलाई देखाउन डाक्टरसँग कुरा गर्नुभएको छ रे । मआजै पैसा पठाइदिन्छु, हवाईजहाजको टिकट काटिराख्नू भन्नुभएको छ ।”
आमाले अस्पष्ट स्वरमा “मेरो छोरो π” भन्नुभयो । क्यान्सरको पीडा सहेकी उहाँले आज अलिकति दालको झोल पनि खानुभयो ।
आमालाई सारो हुँदै गयो । रञ्जनले पनि दिनहुँ झैँ फोन गरिरह्यो । दाजुका उत्तरमा सहानुभूतिको कठोरपन थपिँदै गयो ।
एक दिन सबै गाउँले भेला भएर आमाको अवस्था गम्भीर भएको ठानी आँगनमा निकाले । धार्मिक संस्कार सुरु भयो । आमा चलमलाउन छाड्नुभयो । यति नै बेला ठुले टुप्लुक्क देखियो । जेठो छोरो आइपुगेकामा खैलाबैला भयो । राम्रा नराम्रा कुरा गानगुन भए ।
ठुले आमाका छेउतिर लाग्दै थियो, आमाले आँखा उघारिन् र ठुलेतिर हेरिन् । उनले लरबरिएको स्वरमा भनिन्, “यो परदेशमा रमायो, कमायो र भोकायो पनि होला । मिठो नभए पहिले पेट भरेर आइज बाबु । यसलाई केही देओ ।”
आमाले पुनः आँखा चिम्लिन् र कहिल्यै उघारिनन् । रञ्जनले आमाको हात समाएर डाँको छाड्यो । (२०८० । ०१। ०१)
कन्याम, इलाम
९८४१३७१६६५
gpbkanyam@ yahoo.com
+++
१४. लघुकथाः मातातिर्थ औंशी -रुद्र अधिकारी 

“आमा ! ढोग गरे ! सन्चै छ हजुरहरुलाई?” बिदेशबाट छोरोले फोनमा सोध्यो।
“ए कान्छो पो ! भग्यमानी भएस-बाबु , के हुनु ? अस्ताउन आटेको जुन” आमाले जबाफ दिईन । 
के भन्नु भएको आमाले? ६३ बर्ष त पुग्नु भयो ! यहॅा ६५ बर्षकी बुढी म संगै काम गर्छे ।
“खै ! आफूले न बिदेश देखेको छ, न बिदेशका मान्छे ! “
“अब देख्नुहुन्छ आमा । म भिसाको चाजो-पाजो मिलाउदै छु । यसपालीको मातातिर्थ औंशीमा जसरी पनि अमेरीका आउनुपर्छ। हामीलाई पनि नेपाल आउन मन नभएको कहा हो र? खर्च धेरै लाग्छ । हाम्रो काममा, केटा-केटीको स्कुलमा- छुट्टी मिलाउन गर्हो छ। बरु हजुरहरुको त्यहा बित्दो पनि केहि छैन, यता आएपछि सबैसंग भेट-घाट पनि भईहाल्छ, बिदेश पनि घुमिन्छ“
छोरोको कुराले आमाको चित्त बुझेन छ । आमाले झोक्किदै भनिन-“आमाको मुख हेर्ने दिन- मातातिर्थ औंशीमा छोरा-छोरीले आउनु पर्ने हो की आमा-बाबुले आफै मुख देखाउन जानु पर्ने हो? आमा सम्झेर आउछस भने आईज, अमेरीका न समेरीका हामी चै मुख देखाउन खोजि-खोजि जादैनौं ।
रुद्र अधिकारी   ईटहरी, सुनसरी     हालः लन्डन-बेलायत
+++

१५. लघुकथा- पितृ -राेशन पराजुली

 अतिथि देवाे भव:!
 झिसमिसेमै घरकाे आँगनमा दुइ छाँया उभिएका थिए।
 बाहिर बत्तिकाे प्रकास पाेलवाट रुद्राक्षेकाे हाँगा हुँदै  छाँया देखिए! दुई आकृतिले दैलाे चियाइरहेका थिए।
 रातभरिकाे निदलाई आनन्द दिएर म आँखा चिम्लिदै शरिरकाे विकार विसर्जनमा हताराे थिए।
 आग्लाे निकालेर ढाेका घर्याक्क गर्दै बाहिरि निस्कए।
 अन्यासै निन्याउराे आँखा छाँयामा पर्याे।
  भित्रैबाट दुई आकृति देखेर मेरा हंशले ठाउँ छाड्दा तुरुक्क तुर्कियाे।
शुरुवाल सवै भिजे ।
 डर पनि अनौठाे लाग्याे थर्रर्र शरीर कम्पायन भएर आयाे र दिदिलाई डाके !
   "कान्छि"!
  हेर त,"कस्ताे डरलाग्दाे छायाँ"रुखतिर ओैला तेर्साए!
 खै! 
 केही छैन् ,"नचाहिने कुरा गर्छ विहान विहानै"!
  "म चाहिँ घुम्न हिडे",भन्दै दिदी त्यहि छाँया हुँदै गेट खाेलेर बाहिर निस्केर गई।
 म अझै मुक भएर हेर्या हेर्यै थिए।
 अनायसै कानमा आवाज गुन्जियाे। 
   "बाबू आज ओैषि","हामी तिमिहरुलाई सम्झाउन आएका हौ।"
   ०२/०१/२०८०, बरगाछी,धरान।
+++
१६. लघुकथा- ब्यवस्थापन  -हिरनमयी आचार्य शर्मा

गुवाहाटी , असम।
" बढिपिता,आरमै हुनु हुन्छ । " भन्दै फोनमा सोध्यो उसले  । बढिपिता उसको बुबाको साथी हुन् ।  बुबाले आफ्नो साथी उमेरमा ठुलो हुनाले "बढिपिता" भनेर सम्बोधन गर्नु भन्नु भएको थियो  । हजुरआमा बिरामी भएर बितेको वर्ष दिन पछि कलिलै उमेरमा बाध्यतामा परेर बुबाले बिहे गर्नु पर्यो !
          " आहा कति समय पछि सम्झना आएछ त । साह्रै खुशी लाग्यो । भन के छ खबर बाबु ? " बढिपिताले पनि सोध्नु भयो । " ठिकै छ हाम्रो । दुबैजना ब्यस्त छौँ । फुर्सद पनि हुँदैन । अर्को वर्ष छोरा र छोरी बिदेश जाने रे पढन्  । " उसले भन्यो ।
"कति छिटो बिदेश पठाउँन आँटेऊ त !!          "कहिले आउने होऊ  यता र ? बुबाले पनि न्यास्रो मान्नु भएको छ । " हो हो , के गर्ने भनेको बेलामा फुत्किन पनि सकिनदैन । आउन त मन थियो । यही विषयमा हजुरसँग सल्लाह गरौँ भनेर फोन गरेको । " उसले भन्यो । " भन न कस्तो सल्लाह होला । " बढिपिताले सोध्नु भयो । "  घुम्नको निम्ति बुबा आउँन खोज्नु हुन्छ तर फेरी पन्द्रह दिन नपुग्दै  गाउँ पुराई देऊ भन्न थाल्नुहुन्छ , समयमा बिदा मिलाउन साह्रै हुन्छ मलाई बढिपिता !!  बुबालाई त्यतै व्यबस्थित गर्नु पर्यो । " उसले भन्यो ।  कस्तो व्यवस्था  गर्ने त ? " "  कोहि असहाय , विदुवा बिहे गर्न इच्छुक छन् भने , बुबालाई बिहे गर्नु भनेर भन्नु होस् , हजुरले बढिपिता, बिन्ति गरेँ !!
+++

१७. लघुकथा-   भाग्यमानी -गङ्गा आचार्य सापकोटा 

 काम सिध्याइसकेपछि घर जाने बेलामा कमलीले मालिक्नीतर्फ हेर्दै भनी।`` दुई दिन छुट्टी दिनुहोस् न है ।भोलि  आमाको मुख हेर्ने दिन हो।बुढा भएका  आमाबा छन्। भेट्न नगए चित्त दुखाउँलान्, रोलान् ।´´
     सानैमा टुहुरी भएकी मालिक्नीको हृदय  आमाबा भन्ने शब्द सुन्ने  बित्तिकै रसायो।  उनले  कमलीको मुहारमा एकटकले हेरिन् ।खै के सोचिन् अनि खल्तीबाट केही पैसा झिकेर उसको हातमा थमाउँदै भनिन् ।`` जाऊ जाऊ,मेरो तर्फबाट पनि आमाबालाई अलिकति फलफूल लगिदिनू ल।´´
    कमलीको मुहार एकाएक उज्यालो भयो। ऊ फुरुङ्ग पर्दै आफ्नो घरतर्फ लागी ।मालिक्नीले उसलाई देखुन्जेल परसम्म हेरिन् र झिनो स्वरमा भनिन् । 
``कमली तँ संसारकै भाग्यमानी रहिछस्।´´
बागलुङ 
हाल- काठमाडौं
+++
१८. लघुकथा- मातृप्रेम  -पं. ज्यो. तोयनाथ सुवेदी 

ओखल्ढुङ्गा  हाल:हेटौंडा-८,कमाने,मकवानपुर ।
  भक्ति सानो छँदा बहिनी लिंदै आमाले आफूलाई छोडेर हिडिन्। कहाँ गइन् पत्ता भएन।ऊ माइलाबा र ठूलोबा कहाँ
दु:खजेलो गरेर हुर्कियो।
  ऊ बिस्तारै विद्यालय जानथाल्यो।पढ्दै जाँदा विद्यालयइय
शिक्षा हाँसिल गर्‍यो ।विदेशिएका  बुवा पछि आइपुग्नु भयो।
छोराले बुवाको प्रत्यक्ष विवाह हेर्ने अवसर पायो।
   समय बित्दै जाँदा ऊ घर छोडेर पढ्नका लागि शहर गयो।
शहरमा बस्दै गर्दा आफूलाई जन्मदिने आमा हेटौंडा  आएकी 
छन् भन्ने थाहा भयो।खोज्दै जाने क्रममा बसबाट ऊ बसपार्कमा
ओर्लियो।सम्पूर्ण पसल चहार्दै सोध्दै  गर्दा  चियापसल छ भन्ने
कुरा पत्ता लगायो। 
   एक्कासी देखादेख  हुँदा उनले आफ्नो छोरालाई चिने पनि 
नचिने जस्तो गरिन्  ।उसले भन्यो ' तपाईं मेरी आमा हुनुहुन्छ।जन्मदिने आमा! खै दण्डवत्  गरौ।'महिलालेभनिन्,"तिमी को हौ?" 'म तपाइँको छोरो भक्ति क्या '  । अहँ मेरा त छोरा छोरी 
 नै भएका छैनन्  ? बिहा गरेको त एक वर्ष भयो। कहाँ
तिमी मलाई के के ... भन्छौ? तपाईंले मलाई नचिने पनि म त
तपाईंलाई राम्ररी चिन्छु नि...। मातृवात्सल्य मेटिन्न आमा टाढा
भए पनि ..भन्दै ऊ अलप भयो।। समाप्त।।
                                        २०८०/०१/०४रोज ०२
+++
१९. लघुकथा: अन्तिम प्रतीक्षा  -उमेश कार्की

मान्छेको जस्तो आकृति मात्रै तर मान्छे होइन।   निर्जन- निरब- निशा प्रिय ऊ,भाग्दै- लुक्दै- छेलिदै चौबाटोमा पुगेर रोकियो जहाँ समयले दिशा निर्देश गरेको थियो।
" को हौ? कहाँ जाने? र किन?" समयले प्रश्न तेर्स्यायो।
"म... म लाज! दुनियाँको सर्वश्रेष्ठ  सभ्यता छोडेर अन्त कतै जान लागेको, लाजले भन्यो ।"
  " लाज लाजले भागेको .....? हा.. हा.. हा" समयको अट्टहाँसले  ऊ झस्कियो। एकछिन पछि बिस्तारै बोल्यो-" अनि म के गरूँ? मान्छेमा म अट्ने ठाउँ नै छैन।"
उसले समयको आँखामा जवाफ खोज्यो तर आँखा रित्ता थिए।
" म सृष्टिको सुरुवात देखि नै यहीँ छु। धेरै चिजहरु आए- गए।इच्छा ,चाहाना, ज्ञान बुद्दी, शक्ति ,सामर्थ्य लोभ, मोह, घमण्ड सबै....  सबै आए। जानेहरु नि गइरहेका छन् । भर्खरै सभ्यता,शिष्टता,नैतिकता ,मानवता यहीँबाट गए।अब तिम्रो पालो। जाऊ जाऊ..। म पो कुर्दै- कुराउदैँ एक्लै....!"
  संसारमा सबैभन्दा आफू बेचैन महसुस गरेको लाजले आफुभन्दा नि समय बेचैन देखेर  समयको काँधमा थप्थपाउदै ऊ बोल्यो- " प्रकृतिको सुन्दर र उर्वर आयामलाई मान्छेले कुरुप र जर्जर बनायो।यसर्थ कथित श्रेष्ठ  सभ्यताको सर्वनास सन्निकट छ अर्थात अर्को चक्र शुभारम्भ।जसले तिमीलाई र तिमीले  उसलाई गरेको अन्तिम प्रतीक्षा हो । त्यसपछी तिमी पनि सायद।......."
"  मेरो  अन्तिम  प्रतीक्षा तिमी हामी  अट्न सक्ने समुन्नत सभ्यता हो, सर्वनास होइन।भागेर के समस्याको समाधान हुन्छ र?
समाप्त
खाँदबारी ७ संखुवासभा 
+++
२०. लघुकथा- एक्लोपन -रमेश सुबेदी

ललितपुर - वार्ड नं.१३, कुसुन्ती । 
जवानीमा कमाउ र सन्चित गर, सन्तान सुख खोज, आफुले भन्दा पहिले परिवारको खुशी खोज्दै तिन बिस काटियो । दैबको लेखा नभोगी सुख छैन, बुढिले छोडे पछि छोरा बुहारीको खटन सहनै परेको छ ।  
सासुले गर्दै आएको सम्पुर्ण काम बुहारीको काँधमा आए पछि, छोरा भन्दै छ, ससुरा सामु दैनिक धोती लगाएर काम गर्न अफ्टेरो भो रे ! बुढो मान्छेले खोकेरै हैरान, फोहोर त्यतिकै छ । अब देखि हजुर तल ग्यारेजमा सर्नु पर्यो । 
उनिहरुकै सुखको लागि चुपचाप एकल जिवनको स्वाद चाख्दै जिन्दगीलाई नजिक बाट नियाली रहेको छु । दुई तिन हप्ता बिते, खासै वास्ता गरेनन्, आफैं रमाउन ब्यस्त भए । बाह्र/पन्ध्र दिन घुमेर आउँछौं भन्दै काम गर्नेको भरमा छोडेर हिँडे । मन रोयो, आत्माले भन्यो केहि त गरे हुन्छ नि ! यत्रो श्रीसम्पती कस्को लागि जोडेको ? आखिरी अबस्थामा काम लाग्ला कि नलाग्ला, आफ्नै दैनिकीलाई सोध !! झोक चल्यो...!!!
घरको मुल ढोका बाहिर भुसतिघ्रे गार्डले भित्र पस्न नदिए पछि अचम्म मान्यो । बाउको फोनमा सम्पर्क हुन सकेन भन्ने सुन्यो । त्यो देखेर गार्डले आफ्नु फोन बाट बाउसङ्ग कुरा गरायो, र प्रतिक्षा गर्यो । 
सरर कारमा आएको बाबुले घर बिक्रि गरेर आफु अर्कै घर किनेर गएको, उस्को लागि एपार्टमेण्टमा एक बर्षको भाडा तिरि दिएको भन्दै साँचो बुझाएर आफ्नु गन्तब्य लागेको छोरोले हेरि रह्यो...।
२०८०-१-४
+++
२१. लघुकथा - सातोपुत्लो   -डा. अमर कार्की

फ्लोरिडा 
हिजो अचानक छिमेकी साहिँली दिदी भेट भयो बजारमा। गहणाले छपक्कै भएर आएकी उनीलाई देखेर मेरी श्रीमतीले सोधी हालिन्, "हैन दिदी यति धेरै गहणा लगाएर बजार आउनु भएछ त!" 
दिदीले मुसुक्क मुस्कुराउँदै भन्नु भो, "एउटा बिहेमा गएर आएको। अनि घर जाँदा अलिकती किनमेल गरौं भनेर यता बजारमा पसेको बहिनी।" 
त्यति नै बेला म जान्ने भएर अर्ति दिन लागे, "अनि यत्रो सुन कहाँ राख्नु हुन्छ त भाउजु? चोरिने डर हुन्न?" 
उहाँले पनि सहजै जबाफ दिनु भो, "भित्र आफै सुत्ने कोठामा सेफ छ नि। फेरि घरमा त कोही न कोही त भैहाल्छन। के को डर? " 
मेरी श्रीमती बाठी, हतपत कुरो मिलाउँदै भनिन्, "हामीले चाहिँ बैँकको सुरक्षित लकरमा राख्ने गरेका छौँ, त्यसैले सोध्नु भाको होला उहाँले!"  
ए हो भन्दै दिदी किनमेल तिर लाग्नु भो। हामी घरतिर लाग्यौं। बाटोमा बुढीले सातो झारिन्, "हजुरलाई जान्ने भएर किन सोध्नु पर्या अर्काको गहणा कहाँ राख्छन् भनेर? अब केही गरी गहणा चोरी भो भने पर्छौ बुढा जेलमा! " मैले नसुने झैँ गरे।  
नभन्दै आज बिहानै मन्दिर गएकी बुढी आत्तिदै र फलाक्दै घर पसिन्, "ए बुढा लौ मार्यो साहिँली दिदीको घरमा हिजो राती चोरी भएछ! " म नराम्रो सँग झस्किएं। हिजो गाउँमा स्याल कराउनु आजै कुखुरा हराउनु जस्तै पो भो त!  श्रीमती  ठुलो ठुलो स्वरले घरै उचाल्दै थिइन्। म भने चुप थिएँ। 
त्यति नै बेला ढोकामा ढक ढक गरेको आवाज आयो। "ल मार्यो पुलिस आयो कि क्या हो? " श्रीमती झनै अत्तालिइन्।
"ह्य नकराउ तिमी, न बिराउनु न डराउनु!" भन्दै म ढोकातिर लम्के। भन्न त भनेँ तर ढोका मात्र के खोलेथेँ मेरो त सातो पुत्लो उड्यो। त्यहाँ साहिँली दिदी दुई जना प्रहरीका साथमा आउनु भएको थियो।
दिदीले भन्नु भो, "राम भाइ, हिजो राती मेरो घरमा चोरी भयो नि। हामी सबै बैठक कोठामा टिभी हेरि राखेको थियौँ। चोर झ्यालबाट पसेर सेफ नै बोकेर भागेछ।" 
यतिन्जेल सम्म मेरो मस्तिस्कमा भने प्रहरीले मलाई हतकडी लगाएर चौकीतिर लादै गरेको दृश्य आइसकेको थियो।
म चुप थिएँ। फेरि पनि दिदी नै बोल्नु भो, "धन्न हेर्नु राम भाइ, तपाईले हिजो सल्लाह दिए अनुसार हिजै सबै गहणा र पैसा बैँकको लकरमा लगेर राखेको हुनाले बच्यो नि। तपाईंलाई धेरै धेरै धन्यवाद भन्न आएको हामी त। ल गए है।"
 मिती: बैसाख ४, २०८०
+++
२२. लघुकथा- दायित्व -चिरञ्जीवी दाहाल

चितवन ।       
“जा त बाबु पसलबाट एक पोका नुन लिएर आइज  ।"  बाह्र बर्ष उमेर पुगिसकेको जेठो छोराले आमाले भनेको नसुनेझैं गर्यो । उनले  तैपनि अलिकति नुन छ कि भनेर भाँडोमा हेरिन्,  एक चिम्टी पनि थिएन । आफैं गएर पसलबाट नुन लिएर आएपछि दिक्क मान्दै भनिन्  “ यिनीहरूले गरि खादैनन्  । कथंकदाचित हामी रहेनौँ भने के गरि खान्छन् होला ! अह्राएको त फिटिक्कै टेर्दैनन् ।"
जेठो छोरो परार देखि नै विद्यालय जाने गरेको थियो ।  सानो छोरोलाई ८ बर्ष पुगेपछि यसपालि श्रीपञ्चमी देखि विद्यालय पठाउन थालियो ।  सानी छोरी ६ वर्ष पुग्दा पनि पठाउने सुर थिएन।
 यसैबिच अचानक एकदिन  आएको भुइँचालोले उनीहरूको कच्ची घर भत्कियो । घरले च्यापेर बुढाबुढीको निधन भयो । केटाकेटी सामान्य घाइते भएपनि केही दिन पछि निकोभए । 
 अचेल जेठोले भाइ बैनीलाई विद्यालय पठाउँछ । विदाको दिन बाहेक एकदिन पनि घरमा बस्न दिदैन । ऊ साहुकोमा बाख्रा चराउन जान्छ  । भाइ बैनी जस्तै  आफू चाहिँ किन पढ्न नगएको भनेर कसैले सोध्यो भने मुसुक्क हाँसेर जवाफ दिन्छ 
 “ म जेठो बाठो मान्छे, भाइ बैनीलाई सुखसँग हुर्काउने र पढाउने दायित्व अब मेरो काँधमा आएको छ । जिउँदो छउन्जेल मातापिताको सेवा गर्न नसके पनि यिनैलाई पढाएर मातापिता प्रति सम्मान गर्दैछु ।”
+++
२३. लघुकथा- महालक्ष्मी  पुजा -रञ्जुश्री पराजुली

 टोल छीमेकमा उहाँलाई सबै  संन्तोषी आमा भनेर चिन्दथेब। उनले महालक्ष्मीको ब्रतपुजा धरमा लगाउँने गरेको धेरै बर्ष बैसकेको थियो । बिहागरेर भित्रीदा नै सासुआमाले त्यो पुजा गर्ने गरेकोले दसै अगाडि बर्सेनि त्यो पुजा त्यहाँ नयममित चल्दै आएको थियो । घर परिवार मात्र नभै वल्लाघर पल्लाघर र केही नातेदारहरु पनि त्यस्मा सहभागी  हुँन्थे ।
महालक्ष्मी  पुजाको साङ्घेको दिन  घरकी मुली संन्तोषी आमा बिरामी भएकीले  पुजामा नित्य सहभागी हुन सकिनन् ।उनलाई डाक्टरले समयमा खाना खाने ,कुनै दवाई खाना भन्दा पहिले ,कुनै खाना सङ्गै खान पर्ने दिएको थियो ।
 खालि पेटमा खाने त उनले बिहानै खाएकी थिइन् ।ब्रत पुजाकोको दिन भएकोले घरमा नैबेद्ध्य पुरी ,सेल, मालपुवा, र चोखो तरकारी पकाउँने जिम्मा एउटी पाकी बज्यैलाई दिइएको थियो । आमाको खाना खाएर औसधी खाने बेला भै सकेको थियो । घरमा त्यत्रो पुजा भैरहेकोछ आफू एक छाक औषधि  नखाए के होलार भन्ने सोचेर उनी चुप लागि रहीन् । तर फेरि डाक्टरको "बेलामा खाना खाएर औसधि  खान नबिर्सनु होला" भन्ने वाक्य संझिइन् ।अनि छोरालाई  बोलाएर " बाबू घरमा पुजा छ हो तर डाक्टर्ले मलाई बेलामा खानासङ्गै खाने औसधि  खानु भनेको छ ।यत्रो बर्ष मुखमा पानी नहालीकन पुजा संम्पन्न गर्दथे ।यस्पाली त्रुटि हुने भयो।मलाई अलिकती केही चोखो खाने कुरा खान पर्यो कि हगि।" हो नि खानु होस् । स्वाथ्यको ख्याल गर्नु पर्छ । पुजा सकिन अझ तीन घन्टा  लाग्छ भनेको छ  ।भन्छामा गएर केही खानु भनेर छोरा आफ्नो काम तिर लाग्यो ।बज्यै भान्छामा गएर भन्छेसङ्ग " " नैवेध्य चुट्ट्याएर  अलिकता खिर र नुनिलो तरकारी देउ त । मलाई खाना   सङ्गै औसधि  खानु पर्छ । " आमाले  त्यसो मात्रै   के भनेकी थिइन् पछाडीबाट ब्रतालु एउटीले " यत्रो महालक्ष्मीको पुजा घरमा भै रहेको छ तपाईं घर मुली आमा भएर  नियम बिगारेर यस्तो नचाहिए काम गर्ने । कम सेकम  लक्ष्मी आमाको त मर्यादा राख्नुस ।अनि पो घरमा धन वर्षा  हुन्छ ।छोरा नातिको भविष्य उज्यालो हुन्छ  भनेको उनले सुनीन् । "....
हो  त नि हगि " भन्दै उनी डङ्ररङ्ग  पछारिइन्।
रञ्जुश्री पराजुली
+++
२४. लघुकथा- चिठी  —श्रीप्रसाद पोखरेल
 
 “आमा आराम छु, सोही चाहन्छु । तिम्रो खवर पाएर घर आउन नपाए पनि म खुशिनै छु ।” श्रीधर दाजुको चिठी पढेर आमालाई सुनाउँदै छ ।
 “अगाडी पढ न,” आशाले भनिन् ।
आमा, न बुबाले न तिमीले कहिल्यै आँगभरि लुगा लगाउन पाएनौ । बुबालाई घिउभात ख्वाउने सपना पनि अधुरै रह्यो । आमा भनन, बुबालाई घाट लैजादा नयाँ लुगा त फेरायौ नि ? बुबा कत्ति खुशि हुनुभयो होला !..............
आमा, बुबालाई दाउरैदाउरा माथि राखेर सबै मिलेर जलाए हैन ? कि दाउरा थिएन र ढोडले जलाए ? बुबाले खाना पकाउन बटुलेर ल्याएका झिरिमिटी आँटीमा अझै छन् हगि ?....... 
आमा मजेत्रोले रसाएका आँखा र नाक पुच्छिन् ।....... श्रीधरको गला अवरुद्ध हुन्छ । अवरुद्ध गलाले फेरी अगाडी पढ्छ । 
आमा, पहिलेपहिले कुहिनो सम्म चुहिने गरि घिउभात खाएको कुरा बुबाले बित्ने बेलामा गरे कि गरेनन् ? घिउभात खान नपाए पनि जलाउँदा त जिउभरी घिउ दलिदियौ नि हैन ? .............. अँ भन त त्यसदिन घरमा पाहुना पनि धेरै आएहोला हैन ? हामी गरिवका घरमा पनि पाहुना आउने दिन आउँदो रहेछ । 
“ताप नमान आमा । बुबालाई किनीदिएको लुगा, दाउरा, घिउ र पाहुनालाई ख्वाउन गरेको खर्च सबै तिर्न मैले कारखानामा विदा मिलाई सकेँ । म यही औंसीमा घर आईपुग्छु ।”
चिठी पढिनसक्दै बाहिर हल्लखल्ल सुनेर आशा र श्रीधर पिँढीमा निस्किए । आँगनमा रातो बाकस थियो । 
इटहरी, सुनसरी 
२०७९ साल कार्तिक २३ गते
+++
२५. लघुकथा--सुतिकाे सारी  -टीकाराम पुरी

"हेर!आमालाई नत आवस्यक्ता छ,नत रहर छ। तिमी किन यस्ताे ब्यवहार गर्छ्याै?"-  पत्नी सरलाले भाेलि मातातीर्थ औंसीमा आमाहरुकाे मुख हेर्न जाँदा लाने सामानहरु देखाउदै गर्दा रमेशले अमिल्चाे भावमा असन्तुष्टि पाेख्याे।
   छुट्याइएका सामानहरुमा दुईथान सुति सारी पनि थिए। एउटामा मूल्य सात सय र अर्काेमा पन्द्र सय टाँसिएको थियाे। 
   " हामीले लगिदिएकाे सारी हजुरकी आमाले कहिले लगाउनु पनि हुन्न। फेरि  दाइहरुले पनि सारी ल्याउनुनै हुन्छ।"-- भन्दै सात सयकाे सारी देखाएकी थि।
  " प्रश्न लगाउने नलगाउने भन्दा पनि याे भावना र संमानकाे विषय हाे।"-- रमेशले संझाउदै भन्याे।
 " छाेराछाेरीहरुले के ल्याई दिन्छन् भन्दा पनि सम्भव भए सम्म आज आफ्ना सन्तानलाई प्रत्यक्ष देख्न र छुन पाउछु भन्ने माेह मातापितामा हुन्छ। हामी गाईलाई त आमा मानेर पुजा गर्छाै। राेटी पिठाे खुवाएर खुसी पार्छाैं। भाेलि तिमी पनि सासू बन्नेछाै।। जे राेप्याे त्यहीँ फल्छ।"
      छ वर्षकाे छाेराे राजु अलिक पर स्कुलको गृहकार्य गर्न ब्यस्त थियाे। एकाएक रमाउदै उफ्रियाे।-- " मैलाे बुझे! हजुरहरुकाे कुरा मैले बुझे!"
    उसले के बुझ्याे तर सरला र रमेश भने दुबै मुखामुख गर्छन् ।

दमक, झापा

+++
२६. लघुकथा- आमाको चिट्ठी -कमला भट्टराई

 साब ! हजुरको आमाले विष सेवन गरेर अस्पताल लगेको रहेछ चाँडै जानुपर्यो । यी यो  चिट्ठी आएको छ । चिट्ठी खोलेर हेर्नासाथ आमा ! आमा ! भन्दै ऊ दगुर्दै गयो । तर, धेरै ढिला भइसकेको थियो । आमाले त्यतिबेलासम्ममा त यो संसारिक मोहबाट विदा लिइसकेकि थिइन्, आमासँग पश्चताप गर्ने मौका पनि पाएन उसले । अब लाख कोशिस गरे पनि आमा यो जुनीमा फर्केर आउदिनन् । ऊ जमिनमा निधार बजारी–बजारी रुन थाल्यो ।
 आफ्नी आमालाई भन्दा पनि बढी माया गर्ने श्रीमानको यस्तो हाल देखेर श्रीमतीले उसको हातमा भएको चिट्ठी तानेर पढिन्– “स्याबास !! छोरा । तिम्रो बाबाले तिमी गर्भ मै छँदा मलाई एक्लै छोडेर विदेश गएका थिए । पैसा कमाएर सुखले जीवन विताउने कत्रो आश थिया । तर, गएको तीन वर्ष नपुग्दै उनी त बाकसमा बन्द भएर फर्के ! गर्भावस्थादेखि आजसम्म के कति दुःखकष्ट झेलेर तिमीलाई यो अवस्थामा ल्याए त्यो मलाई मात्र थाहा छ । 
 श्रीमानले छोडेर गए पनि उहाँको प्रतिनिधि पात्र छोराले उहाँले गर्न नभ्याएको कर्तव्य सबै पूरा गर्ने छ, भन्ने मलाई कत्रो आशा थियो । तर, बुहारी ल्याएपछि तिमीमा धेरै परिवर्तन आएछ । म विरामी परेर ओछ्यानमा थलिदाँ तिमीहरुलाई मेरो श्वास गन्हाएछ है ! मैले टुहुरो तिमीलाई बाबाको कमी महशुस कहिल्यै हुन दिइन, तिम्रो मलमुत्र, सिगान, खकार पनि मलाई प्रिय थियो, कहिल्यै गन्हाएन र घिन पनि लागेन । स्याबास ! आजबाट तिमीहरुलाई मेरो श्वास कहिल्यै गन्हाउँने छैन । म माथीबाट हेरिरहने छु, तिमीहरुलाई दुःख कहिल्यै नपरोस् । आमालाई अन्तिम पटक हेर्ने चाहना भए भेटन अस्पतालमा आउँ  है !” 
सुन्दरहरैँचा नगरपालिका– ९, विराटचौक (मोरङ),  
मितिः २०८० वैशाख ६ गते बुधबार ।
+++
२७. लघुकथा- जस -सीता रेग्मी

"कति नमिठो गरी पकाएको यो साग! म त खान्न!" 
बेलुकाको लागि साग तयार गर्दैगर्दा सारदाको दिमागमा विहान  श्रीमान् ले भनेको कुरा झ्वाट्ट आयो। 
उनलाई त्यो साग पकाउनै मन लागेन। यताउती हेरिन ।बिकल्पमा कुनै  तरकारि भेटिनन्। त्यही भएको सागलाई मन लगाएर पकाईन्। 
खाना खाँदै गर्दा श्रीमान् ले भने,"ओ हो! यो साग त मिठो छ त पहाडकै परेछ कि क्या हो?"
+++
२८. लघुकथा- सतप्रतिशत -निरज काेइराला

       रमिलाले महेशकाे टेबलमा मासिक कार्ययोजना लेखेकाे कागज नियालेर हेरिन् र भनिन् , "बाआमालाई भनेर पन्ध्र प्रतिशत छुट्याउनुभएछ त ? याे के पारा हाे ?" महेशले जवाफ फर्काए, "कानुनले आफ्नाे आम्दानीको पन्ध्र प्रतिशत दिनै पर्छ भनेर ताेकेकाे छ । याे त छुट्याउनै पर्छ ।"
       "कानुनले भन्याे भनेर पन्ध्र प्रतिशत छुट्याउने त ?" रमिलाले कुराे बढाइन् । महेश अक्क न बक्क भए तथापि बिस्तारै कुरा बढाए, "  बाआमालाई पन्ध्र प्रतिशतले त औषधी किन्न नै पुग्दैन । पुरानाे आम्दानी जायजेथा बाले सबै हाम्रै छाेराछाेरीकाे लागि नै खर्च गर्नुहुन्छ । बाकाे सम्पत्ति भविष्यमा हाम्राे त हाे नि " 
       रमिलाले एकछिन पछि जवाफ दिइन्,"त्यही भएर त  पन्ध्र प्रतिशत दिनु हुँदैन  भनेकाे । हाम्राे हातले खर्च गर्दा भविष्यकाे जाेहाे नै हुँदैन । चाहिएकाे बेला बाआमासँग मागाैँला अहिले सतप्रतिशत बाआमालाई बुझाऊँ न ।" २०७९/०१/०५ इटहरी
+++
२९. लघुकथा- आमा -शेषमणि आचार्य 

आमा थोतो मुहारमा मुसु्क्क हाँस्दै मुस्कुराउनु भयो।छोरीहरूले बिहानैदेखि फोनमा घण्टी ठोकेको टिन टिन आवाज आइरह्यो।आमाले फोन उठाउन पनि पाउनु भएन।नातिनीले "हजुल आमा ,फुन आ'छ!"-भन्दै हजुर आमालाई मोबाइल ओसारी रहिन्।
"या कति फुन आको हजुल आमाको त,आज!! हिँजो अस्ति त आएन,आज किन यति धेलै!"--नातिनीको प्रतिक्रिया।
"दिउँसो त झन् लमाइलो हुन्छ,फुपूहलु आउनुन्छ। मलाई किन आज इक्कुल जान पल्या होला।बाबा!बाबा !मिसलाई भन्दिनु न,आज इक्कुल बिदा हो कि हैन!"-- नानीले कर गरिन् बाबालाई! 
"नानु इस्कुल छुट्टी छैन,नाना लगाऊ गाडी आम्छ,अब।"--बाबाले भने।नानीको अनुहार अँधेरो भयो। एकछिन पछि नानीले बाबासित सोधिन्।"बाबा!आज किन हजुल आमालाई यति धेलै मुबाइल आको!हजुल आमाको त मुबाइल छैन।म इक्कुल गएसि कल्ले मुबाइल ल्याइदिन्छ?आज के हो ल,यति धेलै मुबाइल आको!"
बाबाले ध्यान दिएनन्।नानीले जिद्दी छोडिनन्।बाबाको हात झटारिन्।बाबा झ्याउ मान्दै थिए,
"किन हो भन्नु न बाबा!"-नानीले सोधिन्।
बाबाले भने :"आज आमाको मुख हेर्ने दिन हो र,यत्रा फुन आका!"आमा औँसी हो।"
फुनमा बोलेर मुख देखिन्छ त!मुख हेलेल हजुल आमाको झरेका दाँत आउँछन् ल!हजुल आमाका गाला राम्ला हुन्चन् त!"--नातिनीले प्रश्न वर्षा गरिरहिन्।इस्कुल वस आउने बेला भो,बाबाले संझाउनुभो।नातिनीले  "बाबा बाबा आमा उम्सी जस्तै मेलो उम्सी कहिले आम्छ!मेलो नि फुन आम्छ, मलाई नि दिदीहलुले मिठाइ ल्याइदिनुन्छ।मेलो उम्सी कैले आम्छ!!"भनिन्।
नानीको हठ चल्दाचल्दै बस आइपुग्यो,बाबाले बस चढाइदिए। नातिनी भने "आमा,फुन कल्ले ल्याइदिन्छ,हजुललाई!भनिरहिन्।बस गुड्यो अगि अगि।
२०८०/०१/०६
सन्दर्भ:मातृ औँसी

+++
३०. लघुकथा- विश्वास   -गजल आचार्य

"मेरो आधा भाग खाएको अंशियार हो यो ।" लुसीलाई देखाउँदै मैले भनेँ ।
 मामूले सम्झदै थप्नुभयो- उसले आँखा खोल्दा दायाँबायाँ हामी मात्रै थियौं । त्यसलाई म‌ैले आफ्नै दूध दुहेर खुवाएँ । तँलाई भने चुस्न दिन्थेँ । तँ भाइ भन्थिस् त्यसलाई । तँ बढेर बोल्न थालिस् । त्यो बढेर भुक्न थाल्यो ।
मामूको बोलीपछि मैले भनेँ- "प्राकृतिक स्वभाव हटाउन खोज्दैमा कहाँ हट्ने रहृेछ र ।"
२०८०/०१/०१ बेलका २, उदयपुर । हाल- गोलबजार ४, सिरहा,  मधेस प्रदेश, नेपाल ।
++++

३१. लघुकथा- आमाको माया -अम्बिका धिताल

कमलविनायक भक्तपुर 
"आजभोलि कति चम्किलो देखिरहेको छु मैँले रमेशको मुहार बुहारी।"
सासु आमाको कुरा सुनेर रीताले गम्भीर हुँदै सोधिन्,"हो र आमा ! किन अघिपछि ऊ यति खुसी हुँदैन र?"
आमा टाउको कन्याउँदै बोल्नुभयो," अलि फरक छ  नानी । बोलाए मात्र बोल्छ, एकोहोरो सोचेर मात्र बस्छ ।"
हत्त न पत्त रीताले सोधिन्,"पढ्न त मान्छ नि होइन आमा ?" 
लामो श्वास लिदै आमाले भन्नुभयो,"खै नानी के भनौँ। रातको एघारबाह्र बजेसम्म किताब हेर्छ। आफूलाई कालो अक्षर भैँसी बराबर छ । पढेकै त होला नि ।"
"चिन्ता नगर्नु आमा।अब जसरी भएपनि रमेशलाई असल शिक्षा र संस्कार सिकाएर आफ्नै खुट्टामा उभ्याउनु पर्छ।"
रीताको मतमा मत मिलाउँदै  आमाले भन्नुभयो,"हाम्रो आशाको त्यान्द्रो नै त्यही त हो नि नानी।अघि पँधेरामा भेट्दा स्कुलको मिसले भन्दै हुनुहुन्थ्यो आजभोलि स्कुलमा उसको पढाइ पहिलाको भन्दा राम्रो छ रे।"
उज्यालो चेहरामा रीता बोलिन्," हाम्रो विश्वासलाई  उसले तुवाउँदैन आमा । ऊ मलाई भन्दै थियो यसपालिको जाँच राम्रो गरेको छु भनेर।"
"हजुरआमा! आमा खै? हेर्नु त मैँले पुरस्कार पाएँ । म जाँचमा दोस्रो भएँ ।" दौडँदै आएर रमेशले पुरस्कार पाएको कापी देखायो । 
"कति राम्रो कुरा सुनायौ बाबु । हाम्रो आशीर्वाद छ तिमीलाई । सधैँ राम्रो काम गर है?"रीताले धाप मार्दै भनिन् ।
"आमा ! तपाईं हजुरआमालाई र मलाई छोडेर काम गर्न सहरतिर नजानु ल? तपाईं साथमा हुनुभयो भने म सबै काममा राम्रो गर्न सक्छु।"
"अनि पैसा कसले कमाउँछ त साने?"रीताले गहभरि आँशु पारेर छोरालाई अँगाल्दै भनिन्।
"गाउँमा नै खेती गरेर पेट पालौ न हुन्न आमा? पैसा त म पढेर कमाहाल्छु नि ! अहिले बुढीहजुरआमालाई हजुरको साथ र मलाई माया चाहिएको छ ।"
२०८०/०१/०७
+++
३२. लघुकथा- आमा -रमेन्द्र कोइराला 

इनरुवा -९ बबिया, सुनसरी    
         काखको बच्चाले अन्डा हुत्याइदियो अनि चिच्याइ चिच्याइ रुन थाल्यो । आमाको अनेक उपायले पनि बच्चा चुप लागेन ।  बसमा सिट नपाएर ऊनी जेब्रा झोलामा अडेस लाएर तल बसेकी थिइन् । बच्चा तन्की तन्की रुँदा र बाटोको गल्ट्याङ गुल्टुङले उनको  सन्तुलन बिग्रीरहन्थ्यो । तरपनि बच्चालाई सम्भालेर राखेकी थिइन् ।  हेर्दा उनको अवस्था साह्रै  मायालाग्दो थियो।
      " लिनुस् यो कुरकुरे दिनुस् त । " मैले करुणावश दिएं। तर बच्चाले त्यो पनि पर हुत्याइदियो । 
        ऊ अर्कै कुरा माग्दैथियो।
      " के माग्दैछ यो ?"मैले नबुझेर सोधें। 
       "हेर्नुस् न केरा माग्दैछ  । निमोनिया भएको छ कसरी दिनु ?"
         मैले फेरि भट्मास दिएँ । त्यो पनि फ्याली दियो । मकै,डट,टोपी आदि  कुनैले फुलिएन । आमा हैरान भइन् ।   
       त्यतिखेरै एक महिलाले बिस्कुट दिइन् । 
       बल्ल बच्चा चुप भएर बिस्कुट खान थाल्यो । आमाको अनुहारमा पनि बल्ल शान्ति छायो । उनको आँखामा अपार वात्सल्य झल्किरहको थियो । लाग्थ्यो उनले संसारै पाएकी छिन् । खुसीले आँसु तर्र तल झर्यो ।
        मैले सोचें -" आफ्ना सबै सुख त्यागेर सन्तान हुर्काउने आमा साँच्चै नै महान  हुन् ।"
+++
३३. लघुकथा- विद्रोह -रञ्जना रिजाल 
 
"हामी तेरो हित बाहेक अर्को सोच्दैनौँ ।" बाले भन्नुभयो ।
"छोरी भएपछि बाबुआमाको वचन भुईंमा खस्नासाथ पूरा गर्नुपर्छ ।" आमाले थप्नुभयो ।
"जिन्दगी तेरो हो तर हामीले रोजेको बाटो  हिँड्नुपर्छ तैंले !" बाको गनगन रोकिएन ।
उहाँहरूको अडान सुनेर मैले दारा किटेँ । उहाँहरू आफ्नै धुनमा मनको अतृप्ति छादिरहनुभएको थियोे । म भोको बिरालाले मासुभात खाइरहेको मान्छेलाई हेरेझैँ हेरिरहेकी थिएँ ।
"नबोल्नु भनेको मौन स्वीकृति हो ।" आमाको भेडो ढिपी रोकिएन ।
आड पाएर बाले सोध्नुभयो; "उसो भए छोरी, हामीले तय गरेको ठाउँमा बिहे गर्न तयार छेस् हैन ?" 
"सल्लाह दिनुस् तर जिद्दी नथोपर्नुस् । जीवन मेरो हो भने जिउने कला पनि मेरै हुनुपर्छ ।"
अकस्मात् निस्केको मेरो बोलीले उहाँहरू फ्रिज हुनुभयो । 
२०८०/०१/०१ काठमाडौं, नेपाल ।
हाल- अमेरिका

+++
३४. लघुकथा- समय -बाबुकाजी सुवाल 'विकेश निराशी'

"बाबू, बाहिर मान्छेहरू हल्लीखल्ली गरेर किन कराएका ?" हजुरआमाले नातिसँग सोधिन् ।
"बाहिर जुलुस आएको हजुरआमा ।" नातिले भन्यो ।
"केको लागि जुलुस आएका रहेछन् त, बाबू ?" हजुरआमाले फेरि सोधिन् ।
"चोर, डाँकाहरू जुलुस आएका नि, हजुरआमा । उनीहरूको हक छिन्न पाइँदैन रे । उनीहरूले चाइएजति चोर्न र डकैती गर्न पाउनुपर्छ रे । पुलिसले उनीहरूलाई पक्रिन पाइँदैन रे ।" नातिले हजुरआमालाई बुझाउने प्रयत्न गर्यो ।
"हँ ! कस्तो कुरा यो ? बाँचिरहन मात्रै सक्नुपर्छ । यो संसारमा के के मात्रै देख्न पाइने होला ?" हजुरआमा एक्लै फत्फताउन थालिन् ।

ने.सं. ११४३ बछलाथ्व दुतिया
वि.सं. २०८० बैशाख ९ गते शनिबार ।
चाँगुनारायण नपा-२, हनुमानटार, झौखेल, भक्तपुर ।
+++
३५. लघुकथा- एउटा छोरा -ललिता ‘दोषी’ 

     मोबाइलतिर हेरेर विवशले भने “बाउले पनि चाट्नु दिमाग चाटिसके । सताउनुको पनि हद हुन्छ नि यार ! अस्तिन पनि म मर्न लागेँ भनेर नेपाल डाके । म गएको भोलिपल्टदेखि मैले पनि भेट्टाउन नसक्ने गरेर ठमठम हिँड्न र मैले भन्दा बढी खान थाले । छोरालाई के, कसो छ पटक्कै बुझ्नु छैन । बेला न कुबेला फोन हानेको छ ।”
     आठ वर्षका लन्डनमै हुर्किएका थोरै नेपाली बोल्न जान्ने प्रतीकले बाबुको हातबाट मोबाइल लिएर हजुरबालाई मोबाइल लगाउँदै भने— “ल छितो कुला गल्नुहोच् ।”
 अलि ठाडो स्वरमा विवश   — “ल ढोग गरेँ । ल भन्नुहोस् फेरि के भयो ?”
  नवराज खोक्दै बोले — “भाग्यमानी भएस् बाबू ! खोइ के भन्नु बुढेसकालमा जन्मेको त नै एक मात्र सहारा होस् । तेरी आमा ज्वरोले इन्तु न चिन्तु भएकी छे । बाथले मेरो खुट्टा पटक्कै चल्दैन । आएर बरु वृद्ध आश्रमतिर राखिदे बाबू ! बेलामा दुई गाँस त खान पाउँछौँ । अस्तिदेखि हामी भोक्कै छौँ । सबैले गाउँ छोडिसके । भएका पनि टाढा छन् । कसले के खुवाओस् बाबू ?”
  मोबाइल राख्दै विवश फतफताए —“पैसा नै ओढ्ने, पैसा नै ओछ्याउने गरी पैसा पठाउँदा पनि कहिले शान्ति छैन । बाबुआमालाई मान्छेहरूले किन आश्रममा राख्छन् भनेको त यस्तै कारणले पो रहेछ । ल भन अपेक्षा ! अब म के गरौँ ? गएर राम्रो आश्रममा राखिदिऊँ है ? लन्डन छोड्ने कुरै भएन । यहाँ कसरी लेराउनू ?” 
     अपेक्षााले उत्तर दिन नपाउँदै प्रतीकले भने— “थिक छ, हदुलबा–हदुलआमालाई आच्लम् लाख्ने भए म पनि हदुलहरूलाई पछि आच्लम् नै लाखिदिन्चु । हदुल पनि एउता छोला, म पनि एउता छोला... ।”   
बुद्धनगर काठमाडौँ
मिति ः २०८०।१।१५

+++
३६. लघुकथा- प्रस्ताव -कुञ्जदेवी उपाध्याय

         असम,भारत
बुबा आज एउटा प्रस्ताव राख्दछौँ,ना भन्न पाउनु हुन्न।
भर्खरै हाईस्कूल सकेर कलेज पुगेको छोरो अनि बि. ए.पढ्दै गरेकी छोरी आफ्ना साठि कटेका पिता सामु खडा हुन्छन्
के भन्ने बिचार हो तिमीहरूको !
पहिले सहमति दिनुहोस् अनि भन्ने।
टाउको कन्याउँदै तिमीहरूलाई कहिले ना गर्या छु।भनेर त हेर।
हामीलाई आमा चाहिन्छ बुबा।
अब स्वर्ग पुगेकी आमा कताबाट ल्याउने !त्यो सम्भव छैन हठ नगर।म यथासम्भव साथ दिन्छु।
होइन बुबा हामीले खोजी सक्या छौँ हाम्रो आमा।हामी होस्टल गएपछि हजुरको एक्लोपना असहनीय हुनेछ।
हाम्रो खुशी चाहनुहुन्छ भने झट्टै तैयार हुनुहोस् दोस्रो बिबाहको लागि।

२४ अप्रैल २०२३
+++

३७. लघुकथा- उपहार -अन्जु शर्मा 

रातोपुल(2080/01/09)
   " बिहे गर्ने उमेर भएर होला केटाको कुरा गर्ने बित्तिकै मसक्क मस्किन्छे।हामी जोरै भएर पनि यो छोरीको बिहे गर्न सकेको छैन ।लौन;कानमा तेल हालेर बस्न त भएननि!"फूलमाया ओच्छ्यानबाटै बर्बराइन।उनी धेरै दिन देखि क्यान्सर पिडित छन्।
  " कोशिश नगरेको कहाँ हो र?हराएको भए पो खोज्नु ।चिन्ता गरेर हुन्छ ?लगन आएपछि भैहाल्छ।तिमी आफ्नो चिन्ता गर छोरीको जिम्मा मलाई छोडिदेउ"।नरेनले संझाए।
 " यी महिला को हुन अघि देखि चुप लागेर बसेकी छन ?"
" अब को हुनु भन्नू?यिनी तिम्रै बैनी भने हुन्छ ।तिम्रो यो अवस्था सेवा गर्ने मान्छे पनि चाहियो ।अनि आज मातातिर्थ अौंशी छोरीलाई आमाको न्यास्रो कहिले नहोस् भनेर उपहार यिनैलाई लिएर आएं।मेरो वृद्धाअवस्थामा कसैले पत्याउन्नन्,त्यसैले एक्लो जीवन गाह्रो हुन्छ भनेर आजै पो  लिएर आएं।छोरीको त उमेर छदैछ नि!"नरेन मुसुक्क मुस्काए।
   श्रीमानको कुरा सुन्दै गर्दा फूलमायालाई हृदयाघात भयो ।आमाको मुखहेर्नेदिन आमाको मृत्यु ।सानीले आमालाई अंगालो हाल्दै " बा!तपाईंको उपहार मलाई चाहिन्न ,मेरी आमा फिर्ता दिनुस्"।डाको छोडेर रून्छिन्।

+++
३८. लघुकथा: चैते खहरे -टङ्कबहादुर अालेमगर 

'अामाै ! यति राम्री भइछस् त । हन तलाई पनि 'मदर्स डे लाग्याे केहाे ?'
'हजुर मेरा पनि त एउटी मायालु छाेरी र दुइभाइ छाेरा छन् ।'
'हन तँ बुडी कन्या । कता र अाए छाेराछाेरी । बेसाैटे त हाेइनन् ?
'छि: छि: के भन्नु भा' मुखिनी पनि । बाटाेमा भेटेकाे हजुर ।'
' के गर्छन् छाेरा छाेरी ।'
'जेठाे पत्रकारिता गर्छ । बेला बेला देश 'विदेशमा बस्ने महान मनकारीसँग माग्छ ।'
'हन पत्रकार पनि भिखारी ?'
'हाे त्यसरी मागेरै त मलाई पालिराख्या छ ।कान्छाे के गर्छ थाहा छैन । तर बेला बेला अामा भन्दै पैसा दिएर जान्छ ।'
'छाेरी नि ?'
'धेरै माया गर्ने उही छाेरी त छे । दमले कहिले मरिसक्थेँ । उसैले अस्पताल लगेर बचाकी । दुइटा तान्ने र दुइटा बिहान बेलुका खाने चक्की उसैले ल्याइदिन्छे । नर्स काम गर्ने हुनाले बिमार बताउने साथ के गर्ने भनेर बाटाे देखाइहाल्छे । चिसाे, धुवा, धुलाेले चाप्छ सडकमा बसेर माग्ने नगर्नु भन्छे । तर बानी परेकाे । साँझ बिहान धर्मस्थल तिर मागि हिँड्छु ।कहिले तपाईंहरू जस्ता दयालु दहिलाेहरूमा हात पसार्नु अाइपुग्छु ।'
'छाेरा छाेरी त्यस्ता रहेछन् के मागि हिँडेकी त माेरी ।' भन्दै छाेरीलाई खै गरिन् मुखिनीले 'छाेरी माग्ने अान्टीलाई एकपसर पुवा र एउटा सेल ल्याइदेउत ।'
छाेरी थाल भरि खाने सर्दाम लिएर घरकाे प्यासेज बाट बाहिर अाउदै गर्दा, उतै हेरेर भिखारिनले खुशी हुँदै भनि 'मुखिनी मेरी छाेरी उही  त हाे । छाेराहरू नअाए पनि प्रत्येक माताअाउँसीमा उसैले मेराे मुख हेर्छे । मीठाेमसिनाे खाने कुराे, राम्रा फरिया चाेली ल्याइदिन्छे ।जाडाे र ताताेका लुगा ल्याइदिने उही त छे । तपाईं भनेकाे, छाेरीलाई तँ भन्न पर्छ भनेर  लाजै मर्न पारेकी छे मुखिनी ।'
मुखिनी मनमनै फत्फतिन्छिन् 'ए ! छाेरीकाे नर्सकाे जागीर बग्ने खाेलाे यता रै छ, र पाे सधैँ चैते खहरे देखाउदाे रहेछ ।'
#
त्रियुगा नगरपालिका -११, उदयपुर
+++
३९. लघुकथा : कर्तव्य -तिलक तारामी "रेशाली" 

"ए, जानकी ! तिम्रा सामानहरू प्याक गरिहाल त ! " बिरामी सासु आमाको लागि जाउलो पकाउँदै गरेकी जानकीको कानमा जलबिरेको आवाज ठोक्कियो। 
"किन ? "जानकीले छोटो प्रश्न गरी। 
"अब तिमी पनि मसँगै शहर जाने हो। म तिमीलाई लिन आएको हुँ।" जलबिरे चर्को स्वरमा बोल्यो। 
मातातीर्थ औंसीमा गाउँ आएको जलबिरे शहर फर्किने बेला भएको थियो। उनीहरूको बिहेपछि जानकी भने गाउँमै बसेकी थिई। लोग्नेको कुराले ऊ अचम्मित भई।
"के भन्नु भाको?  यहाँ आमालाई कल्ले हेर्छ ? बाले पनि काम गर्न सक्नुहुन्न। दुइदुइवटा लैनो भैंसी छ। घर त सबै लथालिङ्ग हुन्छ नि ! " जानकीले विवशता दर्साई। 
"भो, भो ! तिमी धेरै जान्ने नहोउ। खुरुक्क तयारी गर।" जलबिरेले आदेश दियो।
"बा-आमा भनेका त साक्षात भगवान् पो हुन् त !  म सानैमा टुहुरी भएँ। हजुर पनि टुहुरो हुनु परेको भएको भए बल्ल बा-आमाको महत्व बुझ्नुहुन्थ्यो होला ? " जानकीले सम्झाउन खोजी।
"बा-आमालाई हेर्ने त भाइ छदैंछ नि ! सँगै बाँच्ने र सँगै मर्ने वाचा भूल्यौ र ?" जलबिरेले प्रतिप्रश्न         गर्‍यो।
"दृष्टिविहीन देवर बाबूले कसरी बा-आमाको सेवा गर्नुहुन्छ ? किन यस्तो कुरा गर्नुहुन्छ, हजुर? " जानकीले प्रतिवाद गरी।
"बा-आमाले मलाई भन्दा भाइलाई धेरै माया गर्छन्। उसैले पालोस्।" जलबिरेले आफ्नो रोष प्रकट गर्‍यो।
जानकीले बल्ल लोग्नेको आसय बुझी। उसले सोंचमग्न हुँदै बोली, "हजुरले पनि त जूलीलाई भन्दा त्यो असक्त पिङ्कीलाई नै धेरै माया गर्नुहुन्छ नि ! आखिर दुबै कुकुर नै त हुन् , हैन र ...? "  
बुटवल-११, रुपन्देही 
२४ बैशाख, २०८० 
+++

४०. लघुकथा -  सम्मान -सुनिता निरौला पौडेल 
 "बाबा आज हजुरको मुख हेर्ने विशेष दिन, हजुर सधैं हाम्रो साथमा हुनुहुन्छ।" उनको अनुहार मलिन भयो ,आँखा रसिलो बनाईन् ।
रोशनीले फलफूल मिठाइ सबै आफ्नो बाबाको फोटो अगाडि राखेर सफा कपडाले उहाँको धुलो भएको फोटोलाई पुछ्दै भनिन् ;
 "सबै सामानहरू अर्पण गरेकी छु ,स्वीकार गर्नुहोला ।" उनले  भन्दै गर्दा  भाइले छक्क परेर हेरिरह्यो । र भन्यो ;
" दिदी यसरी बाबाको फोटो अगाडि  यी राखिएका फलफूल र सबै  सामग्रीहरु उहाँले  स्विकार्नुहुन्छ होला त ?"
"किन नहुनु भाइ !  हामी छोराछोरीको छहारी भनेको बाबा हो। उहाँ सधै हाम्रो अन्तरआत्मामा बस्नुभएको छ।"
केही समय पछि जब  बुझ्ने भयो ऊ । दिदीलाई  आफ्नो मनमा लागेको कुरा राख्यो ।
 बाबाको मुख हेर्ने दिन औंशी आयो । सदाको झैँ सबै सामग्री तयार पार्यो उसले। दिदीलाई लिएर ऊ घरबाट बाहिर गयो । उनी पनि अचम्म मान्दै भाइको पछि लागिन् । अलिक पर एउटा आश्रम तीर दिदीलाई लग्यो । 
त्यहाँ भएका वृद्ध बाबाहरुलाई अगाडी राखी आफूले ल्याएको फलफूल मिठाई खान दिए । उहाँहरुलाई  नयाँ बस्त्र लगाईदिए । यसरी आफु सम्मानित हुँदा हर्षका आँसु झरेका थिए बाबाहरूको। 
" दिदी  यी जिउँदा बाहरुलाई बाबाको सम्झना यी खानेकुरा सबै कुरा अर्पण गरे पो फोटामा भएका बाको आत्माले आशिर्वाद दिनुहुन्छ।"
भक्तपुर  - राधे राधे ,निकोशेरा ।
२०८० - ०१ - २० गते ।
+++
४१. लघुकथा– पौरख  –स्वस्तिका सिम्खडा
‘एकैछिन सास फेर्न पायो भने सकिनसकी हर्दम एउटै बोली फलाकिरहनु राम्रो होइन ।’ उमेरको ख्यालै जगरी मैले मनभित्रको कुरो बाहिर ल्याइहालेँ ।
हजुरआमा शान्त देखिनुभयो । मलाई उहाँ रिसाउनुभयो कि भन्ने डर भयो । उहाँलाई मन परेकी जेठी नातिनीको नाकमा झिँगा बसेछ भन्ने लागेछ ।
मेरो एक वाक्यले उहाँको बोली बन्द भएपछि म पग्लन थालेँ । हजुरबा वितेपछि माया, आदर जे गरे पनि जिवित देवी एउटै हजुरआमा हुनुहुन्थ्यो । म उहाँलाई सम्मानस्वरूप आमा भनेर बोलाउँथेँ ।
उहाँको रिसाएको मनलाई खुशी बनाउन भनेँ– आमा, मेरो दोष मात्रै किन कोट्याउनुभएको ? 
उहाँको अनुहारमा भिन्नै तेज देखियो । भन्नुभयो– हाम्रो युग गयो । तिमीहरूको आयो । म बोदेको कारण तँ बेलैदेखि पौरखी बन्छेस् कि भनेर हो ।

२०७९.०५.०७  बानडाँडा, बेलका २, उदयपुर ।
०००
(बि.एड. प्रथम वर्षमा अध्ययनरत् स्वस्तिका सिम्खडाको पुरानो डाइरीमा सिमित यो लघुकथालाई पहिलो पटक यहाँ सार्वजनिक गरेकी हुँ । स्वस्तिकाको २०८०.०४.२० गते दुःखद निधन भयो । उहाँको जन्म २०६१.०१.१६ गते भएको हो । उहाँ लघुकथा वाचन र लेखनका अतिरिक्त कविता, संस्मरण र निबन्ध लेख्न रुचाउनुहुन्थ्यो । उहाँका दुई दर्जन अधिक लघुकथा प्रकाशित र प्रसारित छन् । संकलक– लक्ष्मी रिजाल)

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...