‘राखी’ शीर्षकको स्रोत लघुकथाको उत्तर लघुकथा ‘दक्षिणा’
१. लघुकथा : राखी -तारा श्रेष्ठ
"रामु, घर र सानी मालिक्नीकाे राम्रो ख्याल गरेस् है" भन्दै राधा बाहिर निस्किन् । व्यापारकाे सिलसिलामा बाहिर गइराख्नु राधाकाे दिनचर्या थियाे । आफुभन्दा सानै भए नि रामु सानी मालिक्नीलाई आदर गर्दथ्याे भने निशा नाेकर भनेर हेला गरेर बाेल्थी ।
केही बेरपछि बाथरुममा केही गडबड आवाज आयाे । रामु कुदेर जाँदा निशा लडिरहेकाे देख्याे । सानी मालिक्नीलाई उठाएर काेठामा लग्याे कपडा फेराएर सुतायाे । रामुकाे दबाइ, पानी, स्याहारसुसार पछि निशा तङरिन् । रामु अरु काममा जुटिसकेकाे थियाे ।
"रामु दादा ! रामु दादा !" स्वर सुनेर रामु झस्कियाे । आजसम्म ऊ त्याे घरमा रामे मात्र थियाे । नीशाकाे शरिरमा छाेइएकाे कुराले ऊ डराइरहेकाे थियाे । जब स्वर निशाकाे भन्ने बुझ्याे तब ऊ धामी बनेर काम्न थाल्याे । रामेकाे व्यवहारले निशाकाे मनमा डेरा जमाएकाे बुझ्याे । ऊ डरले छेउ पर्न सकेन ।
मालिक्नी आएर थाहा पाउलिन् कि भन्ने डरले बाटाे तताउने सुरले झाेला टिपेर बिदा माग्न गयाे । यताउति निशालाई देखेन । निशा फुत्त आएर अप्ठ्यारो पार्ने हुन कि भनेर डराइरहेको थियो । उसकाे बाेली फुट्न सकेकाे थिएन ।
कसैले पछाडिबाट हातमा तानेकाे जस्ताे लाग्याे । पछाडि फर्कँदा निशा भन्दै थिइन्, "रामु दादा साेफामा बसिस्याे न म हजुरलाई राखी बाँधी दिन्छु ।"
बिराटनगर- ६ मिति -२०७९/०४/२६
+++
२. उत्तरकथा– दक्षिणा
–नन्दलाल आचार्य
‘हजुरको हातबाट म राखी लगाउन सक्तिनँ ।’ ओठ कपाउँदै रामुले भन्यो ।
निशा निरीह भएर उभिइरही । आफूले गरेको हेलाहोचाका घटना एकपछि अर्को गरेर आए र तुरुन्तै गए । उसलाई रामुका सामु उभिइरहन पनि सकस भयो । घर छाडेर हिँड्न तयार पारेको झोला खोसेर भित्र राखी ।
हातमा राखी खेलाउँदै उसले उसले विनम्रता जाहेर गरी– ‘दादा, मबाट आज के अपराध भयो ? आइन्दा म भुल दाहो¥याउँदिनँ ।’
‘हजुरबाट त्यस्तो केही भुल भएको छैन । मबाट पो महाभुल भयो ।’
‘मैले गरेको विगतको सारा गन्दे हर्कत बिर्सनुस् । आइन्दा मलाई चेली मान्नुस् र राखी लगाउन तयार हुनुस् ।’
‘तर....!’ रामुले बोली टुङ्ग्याउन नपाउँदै निशाले खबरदारी गरी; ‘म यस घरबाट ननिस्कुन्जेल तपाईंले यस घरलाई त्याग्न पाउनुहुन्न । मलाई यही वचन दक्षिणा चाहियो दादाबाट ।’
राधा पनि आइपुगिन् । हरि मामा पनि आइपुगे । राधाले दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै राखी बाँधिदिइन् । निशाले समेत रामुलाई राखी बाँधी ।
‘रामु दादाको विशाल हृदयलाई मेरो संकुचित बुझाइले ठम्याउन सकेको रहेनछ । यस जन्ममा त यसरी नै हामी दाजुबहिनी भयौँ । अर्को जन्ममा मेरै आमाको कोखबाट हजुर फल्नुपर्छ ।’
निशाको यस्तो कथन सुनेर हर्षाश्रु खसाउँदै रामुले भन्यो; ‘असल नियतको कर्मले भाग्य चम्काउँदो रहेछ ।’
०००
२०८०.०५.१३ सिद्धार्थटोल, उदयपुर ।
No comments:
Post a Comment