(रक्षा बन्धन तथा राखी पर्वको सुखद अवसरमा अतिवादको नष्ट होओस् र आपसी भाइचाराको पुनरावृत्ति रहोस् भन्ने कामनाका साथ शुभकामना स्वरूप प्रस्तुत–)
लघुकथा– राखी
–नन्दलाल आचार्य
‘तेरो बोली त के अनुहार पनि हेर्न चाहन्न ।’ खप्पिसराजले क्रोध जतायो । उसका मतियारहरूले थपडी बजाएर समर्थन गरे ।
क्रिमराजले प्याच्चै भन्यो; ‘मलाई झन तेरो छायादेखि नै घृणा जाग्छ ।’ उसका समर्थक पनि चार हात उफ्रिए ।
केही समयदेखि उनीहरू बीच पानी बाराबार थियो । एउटै छानामुनि बसेर दुबै टाउका माथिको छानो कोतर्थे । जतिजति छानो घाइते हुन्थ्यो उतिउति उनीहरू रमाउँथे । यस्ता क्रियाकलापले घर धराप भएर गए । घनघोर वर्षाले छानो चुहेर उनीहरू दुबै घरको न घाटको भएका थिए ।
यद्यपि बाझाबाझमा उत्रिरहे । पाखुरा सुर्कासुर्की चलिरह्यो । मल्लयुद्धको शंख बजाउन आदेश हुनै लाग्यो । चारैतिर प्रलयको धुँवा मडारिँदै गयो । खोलामा पानीको साटो रगतका फाल्सा बग्ने सम्भावना जिउँदो हुँदै आयो । पाखुरीमा शक्ति र मनमा अशङ्कार हुनेहरू होली र दशैँ एकै पटक आउँछ भन्दै थिए । तिनै अतिवादको नेतृत्व खप्पिसराज र क्रिमराजले समाल्दै थिए ।
त्यत्तिबेलै नोबेल विजेता रवीन्द्र नाथ टैगोर सेता दारी टुप्लुक्क देखा परे । एकाएक खप्पिसराज र क्रिमराज फ्रिज भए । चारैतिरको संकटको तुवालो हट्दै आयो । मन्दमन्द सुवाससहितको शितल हावाले पुष्पवृष्टि गराउन थाल्यो । अहङ्कारी शिर लत्रिए । निर्दोष चेहरा उज्यालिए ।
टैगोर बोले; ‘बंगाल विभाजनको क्रममा हिन्दु–मुस्लिमको बिचमा भाइचाराको मोहनी मैले नै लगाएको थिएँ ।’
अतिवादी नाइकेले आशले शिर उठाए; ‘दिगो हितका लागि तिमीहरूले रक्षा बन्धनको सूत्रमा उनिनुपर्छ ।’
उनले ठूलो गर्जनका साथ थपे; ‘शान्तिको बिजारोपणका लागि हिन्दु र मुस्लिम एक अर्कामा राखी बाँध्ने चलन मैले बसाले । यसको जनक म हुँ ।’
आशावादी भएर नाइकेहरूले शिर खडा गरे । टैगोरको एक इशारामा दुबै समूह अङ्कमालका साथ राखी बाँधाबाँधको कार्यक्रम चल्यो ।
टैगोरले भनेँ; ‘स्वर्णिम इतिहास जन्माउन आपसी त्याग र क्षमाको विजारोपण हुनुपर्छ ।’
२०८०–०५–०५ सिद्धार्थटोल, उदयपुर । हाल– सिर्जनाकुटी, सिरहा ।
०००
लघुकथा– माया
–नन्दलाल आचार्य
‘मेरो उचाइसँग तपाईंलाई के मतलब ?’ कक्षा दसको विद्यार्थीले प्रधानाध्यापकसामु मलाई संकेत गर्दै भन्यो ।
‘तपाईं केके भनेर विद्यार्थी चिढ्याउनुहुन्छ ?’ प्रअ समेत ममाथि नै खनिए ।
त्यो विद्यार्थी भएकै कक्षामा म खटिएको थिएँ । परीक्षा निरीक्षकको भूमिका राम्रै ढङ्गले निर्वाह गरेको थिएँ । त्यस विद्यार्थीसँग पनि जम्काभेट नभएको होइन तर अप्रिय त्यस्तो केही भएको सम्झिनँ ।
‘तपाईंको काम विद्यार्थी पढाउने हो कि उचाइ नाप्दै जाने हो ?’ विद्यार्थीले नै अर्को प्रश्न राख्यो ।
म अलमलमा थिएँ । मसँगै प्रअ समेत द्विविधामा अल्झिए । मौकामा हिरा फोर्नुपर्छ भन्दै विद्यार्थीले नै मलाई ताकेर भालाले घोच्यो; ‘उचाइ नाप्ने त्यत्रो सौख भए शिक्षण पेशा छाडेर मेरो बुबाकहाँ टेलरमा काम गर्न आउनू ।’
यसो भन्दै विद्यार्थीले आँखाबाट आँसु चुहायो । उसको रातोपिरो अनुहारसँगै ¥यालसिँगान भएको देखेर मैले रिस मनभित्रै गुम्स्याई राखेँ ।
नखाएको विषले म गल्दै थिएँ । सबैका सामु मेरो अस्तित्व खुइलिइसकेको थियो । मेरो तीस वर्षे शिक्षण अनुभवले लोप्पा खाइसकेको थियो ।
‘तँ विद्यार्थीको हैसियतबाट राष्ट्रपतिमा उक्लिस् । अब तेरो सुनुवाई यस कोर्टमा हुन्न ।’ प्रअले कित्ता फेरे । एकाएक विद्यार्थी नुन खाएको कुखुरो बन्यो ।
‘तँ हामीलाई जागिर दिने दाता रहिछस् र टेलर मास्टरको अफर दिइस् ।’ प्रअले थपे । न्याय पाउँला भन्ने उत्साह लिएर आएको विद्यार्थी मुन्टो लत्र्याएर निस्कँन लाग्दा रोकेर मैले सोधेँ; ‘मबाट त्यस्तो के भुल भयो र तिमी रिसाएका ?’
‘मलाई सानो देखेर तपाईंले तँ पाँच कक्षामा पढ्ने मान्छे, दसमा किन आएको भन्नुभयो । यो सुनेर अरू सबै हाँसे । मेरो मन फाट्यो ।’ उसले आँखामा टिलपिल आँसु बनाएर भन्यो ।
‘सबभन्दा सानालाई माया जताउने मेरो पुरानो बानी छ ।’ मैले मुख खोलेँ ।
उसले असन्तुष्टि अनुहारभरि दौडायो । यो देखेर फिस्स हाँस्दै मैले थपेँ; ‘मेरो तिमीप्रति विशेष सहानुभूति छ ।’
२०८०.०५.१३ सिद्धार्थटोल, उदयपुर ।
हाल– सिर्जनाकुटी, सिरहा ।
००००
No comments:
Post a Comment