खेमराज पोखरेलको स्रोतकथा ‘हराएको कथा’को उत्तरकथा ‘खानी’
१. स्रोत-लघुकथा- हराएको कथा
-खेमराज पोखरेल
रातको ११ः५९ ।
किन नक्कली देख्छु त्यो ऐना ?
काँसघारी पो छ त मेरो टाउको । अमिनको नक्सा पो छ त मेरो अनुहार । कोटेरोको गुँड बनायो मेरो छाला । दन्तले द्वार बढायो । आँखामा पावर देखायो ।
लेख्दालेख्दैको मेरो आफ्नै कथा सकिएन । की बोर्डबाट औँला झिकेँ ।
शरीरको ऐया आथो । मनको भाँडभैलो । रित्तो छु । सोचमग्न भएको छु ।
बिनापैसा अर्ती सुरु भो ।
जेठो भाइ दिमागले भन्यो ‘कथाको कुरा छोड्, जिन्दगीका बारेमा सोच् । जिउ बाँचे मात्र घिउ खान पाइन्छ ।’
माइलो भाइ हृदयले भन्यो ‘कथाको कुरा छोड, परिवारमा प्रेम पन्पा, प्रेमबिनाको के जीवन ?’ ।
साइँलो भाइ पेटले भन्यो ‘कथा छोड् । पहिले पचाउन प्रयत्न गर् । पचेन भने तैँ पच्लास् ।’
कान्छो भाइ पेटमुनिले भन्यो ‘कथा छोड्, वास्तविकतामा आइज । उमेर सञ्चित हुन्न । कुण्ठै भए पनि कुम्ल्या ।
यसरी सबैले रिँगाए । थेचारे । सतोसत मेरो कथा हरायो ।
‘होइन हौ ! म के गरूँ ? मेरो आफ्नै कथा हरायो ।’ मेरो प्रश्न तपाईँलाई ।
‘केको कथा लेख्छस् अब ? दिमाग कि हृदय ?, पेट कि पेटमुनि ?, आफ्नो कि परायाको ? दायित्वकोे कि प्रेमको ? देश कि परदेशको ? पृथ्वी कि अन्तरिक्षको ?’ तपाईँको कडा प्रतिप्रश्न ।
‘था‘छैन । सायद सबै ।’ मेरो लोभ ।
‘कथा लेखेर कहाँ पुग्छु भनेझैँ लाग्छ तँलाई ?’ जटिल प्रश्न मलाई ।
‘था‘छैन । सायद धेरै माथि ।’ मेरो लालसा ।
‘कति माथि ?’
‘था‘छैन । सायद असीमित ।’ म अन्योलमा ।
रातको १२ः०० ।
२०८० सालको भदौ ३ गते ।
एउटा छायाँ बन्द झ्यालबाट पस्यो र भन्यो ‘खेम ! ६७ औँ जन्मोत्सवको शुभकामना । तेरो आफ्नो कथा मात्र तेरो हो । अरू मिथ्या हुन् । अधुरो नछोड् । लेख्न थालिहाल् । स्वाँठ ! शुभ कामलाई केले छेक्छ र ?’
+++
२. उत्तर–लघुकथा– खानी
–नन्दलाल आचार्य
‘अठ्सठियौँ जन्मोत्सवको शुभकामना पाएर पनि चुपचाप किन बस्छस् खेम भाइ । मजस्तो जुध्न संसार दौडाहामा निस्किन ।’ मौनव्रत लिएको देखेर छायाले मलाई माया देखायो ।
मैले आफ्नै कपाल नियालेँ; गाला मुसारेँ; छाला सुम्सुम्याएँ । सर्बत्र बुढ्यौलीका तरङ्ग तँछाडमछाड गर्दै बुर्कुसी मारिरहेको भेट्टाएँ ।
‘तँ यत्ति सानो, कलिलो अस्पृश्य भएर म जस्तो कथाकारलाई भाइसाइ भन्दै होच्याउने !’ मनको घौलामैला बारिएको बाँध मैले एक्कासी फोडिदिएँ ।
‘यार, यसरी रिस नाकको टुप्पामै बसेको थाहा पाएको भए म उच्चतम आदरार्थीको प्रयोग गरिहाल्थेँ नि ।’ उसले स्पष्टीकरण दिने प्रयास ग¥यो ।
यत्ति जवाफले म सन्तुष्ट भएँ । मुखमा ताला झुन्ड्याउँदै म मेरै हराएको कथा खोज्न थालेँ ।
ऊ भन्दै गयो–
–दुनियाँलाई छाडेर हृदयको कथा लेख्नुस् ।
–मुनिबाहिर हैन पेटभित्रको कथा लेख्नुस् ।
–कसैको हैन आफूभित्रको जीवको लेख्नुस् ।
–हिजोआजका कथा अरुले लेखे तपाईं भोलिका कथा आजै लेख्नुस् ।
ऊ भनेको भन्यै थियो । म सुनेको सुन्यै थिएँ । मन प्रफुल्लतामा नाच्दै थियो । म विदेशी भूमिबाट देख्दै थिएँ मेरो चोमोलुङ्मा मुस्कुराउँदै आऊ, आऊ भन्दै थियो । मेरो चन्द्रसूर्य ध्वजा मलाई खरो भयो होला भनी हम्कँदै थियो ।
म प्रशव वेदनाले छटपटाउँदै थिएँ । तत्क्षण हात लम्काएर हिमालले काखमा लिएको भेटेँ । ध्वजाले मेरो लाज ढाकेको पाएँ । मेरो छाया, माया आदिले शरीर मुसार्ने, सुम्सुम्याइदिने, चिल्लो घसिदिने गरेको भेट्टाएँ । सबैको चाहना र शुभकामनाले मैले कथा मात्रै हैन कथाको खानी नै जन्माएँ ।
मेरा मायाहरू त्यही खानीबाट कथाहरू झिकेर कुपुकुपु खाइरहेछन् । जतिजति खानीबाट कथाहरू हराउँदै जान्छन् उत्तिउत्ति म जवानीमा फर्कंदै जान्छु ।
०००
२०८०.०५.०२ सिद्धार्थटोल, उदयपुर ।
हाल– सिर्जनाकुटी, सिरहा ।
No comments:
Post a Comment