शुक्रबारे लघुकथा प्रशिक्षण-६६८ शारदा दहाल+खेमराज पोखरेल+नन्दलाल आचार्य+अन्जु शर्मा+स्वस्तिका सिम्खडा
अतिथि विश्लेषक - खेमराज पोखरेल (मिति–२०८० भदौ १ गते शुक्रबार श्रृङ्खला–६६८) समय– ६.३०–७.३० बेलुकी ।
वाचन गरिने लघुकथाहरु-
+++
१.लघुकथा- माध्यम -नन्दलाल आचार्य
२. ढिंडो (लघुकथा) अन्जु शर्मा
३.लघुकथा– पौरख –स्वस्तिका सिम्खडा
+++
१.लघुकथा- माध्यम -नन्दलाल आचार्य
"तपाईंको अनुहार देख्नासाथ पश्चातापका रेखा तितरबितर भएको भेट्छु ।" खान जान भनेको ठाउँमा म नगएकोमा दया देखाउँदै उहाँले भन्नुभयो ।
"कसैका दयालु शब्द ग्रहण गर्ने लोभी मन उहिल्यै मरिसक्यो ।" मैले पनि अररा शब्दहरू जोडजाड पारेँ ।
उहाँले मलाई गलाउने कोशिसका साथ भन्नुभयो-
# त्यहाँ थरीथरीका पक्वान्न थिए ।
# हेर्दै जिब्राले पानी छाड्ने मिठाईहरू थिए ।
# खान मात्र हैन घर ल्याउने सुविधा पनि थियोे ।
# एकएकवटा हात्ती भएको द्रव्यदान समेत मिल्थ्योे ।
यसरी लोभी राज्य स्थापनार्थ उहाँले अनेकानेक तथ्यहरूको फेहरिस्त सुनाउनुभयो ।
"उसो भए सीताकुमारी मर्दा तपाईंको दिल खुशी भयो, हैन ?" मेरो सवालको जवाफमा उहाँको मुन्टो लत्रियो ।
अघिदेखि कुरा सुनिरहेका रामबिलासले मौकामा चौका हान्दै भने; "पर्दा मान्छेलाई सहयोग गर्नुपर्छ । मान्छे मर्दा गलगिद्ध हसुरेर डकार्नुहुन्न ।"
उहाँले कान ठाडा पार्नुभयो तर मौन धारण गर्नुभयो ।
रामविलासले नै थपे; "मृतभोज ग्रहणले मरेकाहरूलाई स्वर्ग उक्लिन सघाउँछ वा सघाउँदैन तर बाँचेकाहरूलाई नरक ओर्लन अवश्य सघाउँछ ।"
२०८०-०४-३० सिद्धार्थटोल, उदयपुर ।
हाल- सिर्जनाकुटी, सप्तरी ।
२.कालजयी (मातृपितृ दिवस विशेष )
ढिंडो (लघुकथा) अन्जु शर्मा
किक्लिक्क पारेर आमाले नुन र खोर्सानी संग ढिंडो निल्नु भयो ।ढिंडो निल्दै गर्दा आमाका आँखाभरी आँसु टिल्पिलाए।
" आमा किन रूनुभएको?"
" बाबु !धेरै पढ्नु ,धेरै पैसा कमाउनु ढिंडो चाहिँ कहिले नखानु है"।
बाको थालबाट अलिकति दुधभात खाएर म स्कुल गएं।आमाका कुरा खास बुझिन पनि र ध्यान पनि दिइन।
आज म धेरै धनी भाछु।म संग गाडी ,घोडा ,बंगला सबै थोक छ।म जति पनि मीठो मसिनो खान सक्छु ।तर डाक्टरले मलाई ढिंडो खाने सल्लाह दिनुभयो ।श्रीमतीले मेरो स्वास्थ्यको ध्यान राख्दै ढिंडो पस्केर ल्याइन।थालमा ढिंडो देखेर आमाको अर्ती याद आयो ।हातमा राखेको ढिंडो मुखमा लग्न सकिन ।आमालाई मिष्ठान्न खुवाउन नसकेकोमा निकै भावुक भएं।मेरा आँखाबाट आँसु झर्दै थिए ।परबाटै छोरीले आज आमाको मुख हेर्ने दिनमा हजुरलाई पनि यो रसबरी।मुखमा रसबरी कोचिदिइन ।आमा प्रति कुनै ठोस कर्तव्य गर्न सकें सकिन थाहा छैन ।तर रसबरीको गुलियो स्वादले भने आमाको सपना पूरा गरेको अनुभव गरें।
रातोपुल
2080/04/31
३.मातापिता दिवसको अवसरमा प्रेषित कालजयी
लघुकथा– पौरख –स्वस्तिका सिम्खडा
‘एकैछिन सास फेर्न पायो भने सकिनसकी हर्दम एउटै बोली फलाकिरहनु राम्रो होइन ।’ उमेरको ख्यालै नगरी मैले मनभित्रको कुरो बाहिर ल्याइहालेँ ।
हजुरआमा शान्त देखिनुभयो । मलाई उहाँ रिसाउनुभयो कि भन्ने डर भयो । उहाँलाई मन परेकी जेठी नातिनीको नाकमा झिँगा बसेछ भन्ने लागेछ ।
मेरो एक वाक्यले उहाँको बोली बन्द भएपछि म पग्लन थालेँ । हजुरबा वितेपछि माया, आदर जे गरे पनि जिवित देवी एउटै हजुरआमा हुनुहुन्थ्यो । म उहाँलाई सम्मानस्वरूप आमा भनेर बोलाउँथेँ ।
उहाँको रिसाएको मनलाई खुशी बनाउन भनेँ– आमा, मेरो दोष मात्रै किन कोट्याउनुभएको ?
उहाँको अनुहारमा भिन्नै तेज देखियो । भन्नुभयो– हाम्रो युग गयो । तिमीहरूको आयो । म बोलेको कारण तँ बेलैदेखि पौरखी बन्छेस् कि भनेर हो ।
२०७९.०५.०७ बानडाँडा, बेलका २, उदयपुर ।
०००
(बि.एड. प्रथम वर्षमा अध्ययनरत् स्वस्तिका सिम्खडाको पुरानो डाइरीमा सिमित यो लघुकथालाई पहिलो पटक यहाँ सार्वजनिक गरेकी हुँ । स्वस्तिकाको २०८०.०४.२० गते दुःखद निधन भयो । उहाँको जन्म २०६१.०१.१६ गते भएको हो । उहाँ लघुकथा वाचन र लेखनका अतिरिक्त कविता, संस्मरण र निबन्ध लेख्न रुचाउनुहुन्थ्यो । उहाँका दुई दर्जन अधिक लघुकथा प्रकाशित र प्रसारित छन् । संकलक– लक्ष्मी रिजाल)
Laxmi Rijal
No comments:
Post a Comment