Friday, February 23, 2024

लेख– गम्भीरबहादुरका छेटुको सानो कहानी – लेखबहादुर कार्की

लेख–
गम्भीरबहादुरका छेटुको सानो कहानी
– लेखबहादुर कार्की
उहाँको जन्मभूमि उदयपुरको नामेटारको स्थित चित्रेथाम हो । चित्रेथामको पनि भालेबासमा उहाँले पहिलो पटक आँखा खोल्नुभएको हो । त्यो ठाउँ भयङ्कर दुर्गम थियो तर स्वर्गकै अनुपम टुक्रा थियो । बेथितिको गन्ध थिएन; चारैतिर थितिको सुवास फैलिएको थियो । त्यस्तो धराधामको भुईँलाई प्रथम पटक उहाँले स्पर्श गर्नुभएको थियो ।
अहिले चित्रेथाम उदयपुरको प्रमुख पर्यटकीय स्थल बनेको छ । यसका बारेमा दर्जनौं कविकलाकारले कविता र गीतहरू लेखेका छन् । गाएका छन् । यसकै गीतसंगीतमा कम्मर मर्काएका छन् । यस धर्तीको अनुपम सौन्दर्य छटाले भरिएको भनी स्तुतिगान गाएर थाकेका छैनन् ।
सानैदेखि उहाँ तेज मनस्थितिको हुनुहुन्थ्यो र अहिले आएर तेजिलै काम गर्नुभयो । उहाँले दुःखसुखको मूल जरो छिमल्नुभएको थियो । पहिले दुःखले उहाँलाई नराम्ररी गाँज्यो । त्यही दुःखलाई भगाएर सुखलाई डाक्न आफ्नो थातथलोलाई चटक्कै छाडेर उहाँ भारत भासिनुभयो । कैयौँ काल बिताउनुभयो । भनौं न उतै बिलाउनुभयो । फलतः उहाँ शिक्षादीक्षा प्राप्त गरी समाजको ज्योति बन्न सक्नुभयो । उदयपुरका एक रत्नका रूपमा स्मरणीय उहाँ हुनुहुन्छ– तेजनारायण शेर्पा । 
उहाँले २०२७ सालदेखि निःशुल्क बालबालिकालाई शिक्षा दिनुभयो ।  २०५६ सालमा अवकाश लिनुभयो । २०१८ सालदेखि कविता लेख्न थाल्नुभयो । उहाँका कविता र अन्य विधाका गरी आधा दर्जनभन्दा बढी पुस्तक सार्वजनिक भएका छन् ।
२०३६ सालमा जडिबुटी क्षेत्रमा लागेर रोगमुक्तिको महाअभियान शुरु गर्नुभयो । उहाँको हातबाट बनेका ओखती विश्व बजारमा समेत पुगिसकेका छन् । हजारौंले सेवा लिएर सन्तुष्टि मिलेको बताएका छन् ।
खेर गइरहेको जडिबुटीबाट ओखती निर्माता, तन्त्रमन्त्र विज्ञानका सफल प्रयोक्ता, उदयपुरका सफल कवि, उद्यमी, समाजसेवी आदि दर्जनौँ बिशेषण भिराइदिए पनि कम हुन्न । आठ दशक उमेर पचाएर अस्ताउँदो घाम भए पनि उहाँले कहिल्यै सास फेरेको देखिन्न । हर्दम कुनै न कुनै काममा जोतिएको पाइन्छ ।
उहाँ जनक्रान्तिका योद्धा तथा जनकवि गम्भीरबहादुर थापाको आसपासमा हुर्किनुभएको कुरा स्वयम् गम्भीरबहादुर बताउनुहुन्थ्यो । उहाँको शिक्षादीक्षाको नाम तेजनारायण भए पनि उहाँ सानो भएकाले गम्भीरबहादुर थापाले ‘छेटु’ नाम राखेर बोलाउने गर्नु भएको हो । जीवनचर्यालाई व्यवस्थित बनाउने क्रममा उहाँ उदयपुरकै मुर्कुचीमा झर्नुभयो । अद्यापि उहाँ लेखनका अतिरिक्त व्यवसाय सञ्चालन गरेर बस्नुभएको छ । स्वस्थ समाज निर्माण अभियानमा सक्रिय रहनुभएको छ । आफ्नो मातृभाषा शेर्पाको उन्नयन र बौद्ध दर्शनको प्रचारमा दिलोज्यानले खट्नुभएको छ । उहाँको यस्तो सक्रिय जीवन सदाबहार रहोस्; यही चाहनाका साथ शुभकामना भन्न चाहन्छु ।
त्रियुगा–१२, कौवाई, उदयपुर ।

––

Thursday, February 15, 2024

सरस्वती पूजा र प्रेम दिवस सेरोफेरोका विशेष सन्दर्भ लघुकथाहरु प्रस्तुतीकरण कार्यक्रम

विशेष सन्दर्भ लघुकथाहरु प्रस्तुतीकरण कार्यक्रम


(सरस्वती पूजा र प्रेम दिवस सेरोफेरोका)
१. लघुकथा- प्रसाद ✍️राेशन पराजुली
२. लघुकथा- घडी ✍️नन्दलाल आचार्य
३. लघुकथा- माग ✍️प्रेम पुन मगर
४. लघुकथा- सुन्दरी ✍️सुनिता निरौला पौडेल
५. लघुकथा- उपहार प्रेम दिवसकाे✍️रामप्रसाद पन्थी
६. लघुकथा- प्रेम दिवस ✍️मधुसूदनप्रसाद धिमिरे
७. लघुकथा- मेरो भ्यालेन्टाइन✍श्रीप्रसाद पोखरेल
८. लघुकथा- अतृप्त वासना ✍️पं ज्यो. तोयनाथ सुवेदी
९. लघुकथा: सरस्वती पूजा ✍️बाेधराज प्याकुरेल
१०. लघुकथाः प्रणय उपहार ✍️मनीषकुमार शर्मा ‘समित’
११. लघुकथा– बुद्धिप्रेम ✍️नन्दलाल आचार्य
१२. लघुकथा– स्वरप्रेम ✍️नन्दलाल आचार्य
१३. लघुकथा : महायाेजन ✍️डा. विदुर चालिसे
१४. लघुकथा- आरम्भ ✍️किशोर पहाडी
१५. लघुकथा- चङ्गा चेट ✍️धीरकुमार श्रेष्ठ
१६. लघुकथा : भाखा ✍️नारायण तिवारी
१. लघुकथा- प्रसाद ✍️राेशन पराजुली
२. लघुकथा- घडी ✍️नन्दलाल आचार्य
३. लघुकथा- माग ✍️प्रेम पुन मगर
४. लघुकथा- सुन्दरी ✍️सुनिता निरौला पौडेल
५. लघुकथा- उपहार प्रेम दिवसकाे✍️रामप्रसाद पन्थी
६. लघुकथा- प्रेम दिवस ✍️मधुसूदनप्रसाद धिमिरे
७. लघुकथा- मेरो भ्यालेन्टाइन✍श्रीप्रसाद पोखरेल
८. लघुकथा- अतृप्त वासना ✍️पं ज्यों. तोयनाथ सुवेदी
९. लघुकथा: सरस्वती पूजा ✍️बाेधराज प्याकुरेल
१०. लघुकथाः प्रणय उपहार ✍️मनीषकुमार शर्मा ‘समित’
११. लघुकथा– बुद्धिप्रेम ✍️नन्दलाल आचार्य
१२. लघुकथा– स्वरप्रेम ✍️नन्दलाल आचार्य
१३. लघुकथा : महायाेजन -डा. विदुर चालिसे
१४. लघुकथा- विरुपित -किशोर पहाडी
१५. लघुकथा- चङ्गा चेट -धीरकुमार श्रेष्ठ
१६. लघुकथा : भाखा -नारायण तिवारी
✍️✍️✍️✍️✍️✍️✍️
१. लघुकथा- प्रसाद ✍️राेशन पराजुली
(वसन्त पञ्चमी विशेष)
"उठ अबेर भै सक्याे"!
आङ्ग तान्दै सानेले आवाज नसुने झै गरि दिदी तर्फ हेर्याे।
मनु मुसुँक्क मुस्कुराउँदै मायाका भावमा केही भन्दै थिइ।
उस्ले निमेसभरमै गालामा चवाप्प म्वाई खायाे।उनले पनि निधारमा चुमिन्।
"नानीहरु उठेनन् रमा"?छाेरा छाेरीका माया देखेर उनका आँखा रसाएका थिए।
प्रतिउत्तरमा उनी श्रीमान् तर्फ फर्कदै,
ग्वाम्म अङ्गालाेमा वेरिदै हिक्हिकाइन्!
कस्ताे केटाकेटी झै भएकि तिमी पनि?
किन नहुनु?
उता हेर्नुस त,
"सरस्वति देवीवाट प्राप्त हाम्रा गुरु दक्षिणा"!
०२/११/२०८०,बरगाछी,धरान्।
+++
२. लघुकथा- घडी ✍️नन्दलाल आचार्य
(प्रणय दिवस विशेष)
"पछुतोको भारी बोकेर तिमीलाई खोजिरहेछु ।" निर्जन स्थानमा कमलेस आँखा चिम्लेर बाेलिरहेका थिए ।
म चाल मारेर नजिकै खडा थिएँ । उनी अझै थप्दै थिए; "अझै पनि एकाध खुडकिलो उक्लने समय छ प्रिय । मलाई साथ देऊ । मेरो माया तौली हेर । थोरै पनि सत्य फेला पार्यौ कृपया मलाई माया देऊ ।"
मलाई लाग्यो- उनी घायल प्रेमी हुन् । प्राप्त गर्न नसकेको माया पाउन याचना गरिरहेका छन् ।
"प्रिय, एक पटक मलाई साथ देऊ म संसार उल्टाई दिन्छु ।" उसको पछिल्लो कथनले म निश्चिन्त भएँ ।
"हैन, मास्टर साहेब । तपाई कस्तो मन्त्र पाठ गर्दै हुनुहुन्थ्यो ?" मेराे आवाज सुनेर उनी लज्जावती झारझैँ भएँ र हत्तपत्त केही वस्तु लुकाए ।
"समयमा होस् आएन र मुर्दा हुन बाँकी छँदै यसैसँग प्रेम प्रस्ताव राखेको हुँ ।" यसाे भन्दै उनले लुकाएको घडी देखाए ।
+++
३. लघुकथा- माग ✍️प्रेम पुन मगर
सधै नास्तिक व्यवहार गर्ने रामबहादुरलाई देखेर राममायाले आश्चार्य मान्दै सोधिन्। " आज सरस्वती देवीको सामु नतमस्तक देख्छु त ! तपाईंलाई के भयो हं ..?"
"मलाई केही भएको छैन छोरी रिनाको लागि हो।" उनले भने।
" ए ! हाम्री छोरीले राम्रोसँग विद्या आर्जन गरुन् भनेर माग्नुभएको हो?" राममायाले खुशी हुदै सोधिन् ।
"होइन। त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा मागेँ।" उनको उत्तर आयो।
राममायाले अड्कल काटिन्। " त्यसोभए राम्रो दुलहा पाउन् भनेर माग गर्नुभएको होला ?"
"त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा मागेको छु।" उनको जवाफ सुनेपछि राममायाके अझै सोधिन् । " त्यो के कुरा हो?"
"अरु बोलिरहेको समयमा बिचमै बोल्ने यीनको बानी सुध्रियोस् प्रमेश्वरी! भनेर मागेँ नि।" उनले आफ्नो कुराको बिट मारे।
२/११/२०८०
+++
४. लघुकथा- सुन्दरी ✍️सुनिता निरौला पौडेल
(प्रणय दिवस विषयक लघुकथा२०८० फागुन -२ गते )
"आमा ! तौलिया ,साबुन बिर्सिएँछु ,खै दिनुन "
"महिनामा एकदिन नुहाउनु छ , त्यै पनि बिर्सने के ! आँफुले नुहाउने भनेपछि सबै लिएर जानु नि ! जति भने पनि यसलाई नलाग्ने " आमाले रिसाउँदै भन्नुभयो ।
" लौ.. सेम्पो पनि सकिएको रहेछ आमा "
"अब त्यसै नुहाउ है छोरा "
बगैँचाबाट फुल टिपी आमालाई ल्याएर दियो । खुशी हुँदै उहाँले
"धन्यवाद छोरा ! पूजाको लागि फूल टीप्न जान लागेको ,ल्याईदिस् "
" म तपाईंलाई धेरै माया गर्छु "
" के भन्छ हौ ,यो केटाले ? "
"आज "प्रणय दिवस "को दिन सुन्दरीलाई शुभकामना दिन रियल्सल गर्या के ।" छोराले हाँस्दै भन्यो ।
" जुँगाको रेखी पनि राम्रोसँग बस्या छैन प्रणय दिवस "के भन्या हो छोरा ,माया त सँधैभरी पो हुन्छ ,बर्षमा एकदिन गरेर हुन्छ र !
" आज सरस्वती पूजा " बिद्याकी देवीको आराधना गरन " आमाको कुरै नसुनि बगैँचातिर लाग्यो ।
त्यहाँ एउटा फूल टीप्यो अनि सुन्दरीलाई भेट्न गयो ।
" सुन्दरी ,प्रणय दिवसको शुभकामना "भन्दै फूल उनलाई दियो ।
"आहा!! साना ,कति राम्रो फूल ,अझै २-४ वटा फूलहरु ल्याउन "
" किन र सुन्दरी ??? "अचम्म मान्दै भन्यो उसले ।
" घरबाट ८-१० वटा फूलहरु ल्याएको थिएँ ,सबै सकियो "
भक्तपुर - राधे राधे ,निकोशेरा ।
२०८० - ११ -०२ गते ।
+++
५. लघुकथा- उपहार प्रेम दिवसकाे✍️रामप्रसाद पन्थी
प्रणय दिवस विषयक
मलेसियामा रहेका मदनले मुनालाई म्यासेज पठाए "- मुना ! आज त विशेष दिन हाे नि तिमीलाई थाहा ?"
मुनाले जवाफ फर्काइन -" खाेइ मलाई त थाहा भएन नि ? "
मदन - "कसरी भुल्न सक्याेै त्याे दिन ? प्रणय दिवस जुन दिन हामीले विवाह समेत गरेका थियौँ ।"
मुना -" हाे त है । "
मुनाले गुलाफकाे फूल पठाइन् र भनिन् - " हजुरलाई विवाह दिवसकाे समेत असिम शुभकामना ।"
मदन -" तिमीलाई पनि ।"
मुना - " याे विशेष अवसरमा खाेइ त उपहार ?
मदन - " मैले दुई लाख पठाएको छु । जे मन लाग्छ किनेर रमाऊ ।"
मुना - मात्रै दुई लाख ? पाँच लाख पठाइदिनुहाेस् है मेराे राजा !"
मदन - " भैहाल्छ नि मेरी रानी । भर्खरै पठाएँ है त ।"
मदनले मुनाकाे माग बमाेजिम पैसा पठायाे । मुनाले सन्देश पठाइन् - "धेरै धेरै धन्यवाद मेराे राजा !"
मदन -" एकपल्ट भिडियाे कलमा आऊ न काली । निराश लाग्याे । "
मुना - " हुँदैन क्या भिडियाे कल । उता काेठामा आमा हनुहुन्छ । सबै सुनिन्छ । "
मदन - "त्यसाे पाे । कति बाठी ! मेरी काली । "
यस्तैमा मदनकाे माेबाइलमा रिङ्ग टाेन बज्छ ।
मदन -" एकछिन है काली फाेन आयाे । "
आमाकाे फाेन रहेछ । मदनले फाेन उठायाे ।
आमा -" बाबु सञ्चै त छाै हाेला ? कहिले फर्कन्छाै ?
मदन -" म ठिक छु आमा । त्यताकाे हालखबर के छ ?
आमा - ठिकै छु बाबु । म त डाँडामाथिकाे जुन कहिले अस्ताउने हाे थाहा छैन । तर बाबुु ... । "
आमाकाे गला अबरुद्ध भयाे । अगाडि बाेल्न सकिनन् ।
मदनले भन्याे - " किन राेकिनुभयाे आमा ? के भन्न खाेज्नुभएकाे ?"
आमा -" बाबु ! आजै बिहान मुनाले झगडा गरी घरै छाेडेर हिडिन् । बाबुु जसरी हुन्छ फर्केर घर आऊ । "
आमाले याे भन्दा बढी केही भन्न सकिनन् । फाेन काटियाे ।आमाका कुरा सुन्नासाथ मदनले ताेरीका फूल देख्याे । बेहाेसीमा बर्बराउँदै भन्याे -" हे भगवान ! याे कस्ताे उपहार दियाै - प्रेम दिवसकाे ? "
२०८०फागुन २ , प्रेम दिवस ।
रेसुङ्गा न पा २ , गुल्मी
+++
६. लघुकथा- प्रेम दिवस ✍️मधुसूदनप्रसाद धिमिरे
कान्छु र जान्छु प्रेममा डूबेकाे निकै समय भै सक्याे।
काछु भन्छे -" अव विहे गराै। यसरी लुकेर संधै हाम्राे व्यवहार चल्दैन। " जान्छुकाे धर व्यवहार मिलि राखेकाे छैन।ऊ कान्छलाइ छाड्न पनि चाहदैन।
कान्छुकाे मनमा लाग्याे, यसलाइ नअत्याइ भएन। सधै याैन सम्पर्क लुकि लुकि गर्दा मेरा जिवन बरबाद हुने भाे।अव कान्छुले जुक्ति रचि।
जान्छु ले फाेन ग-याे र भन्याे - " कान्छु आज प्रेम दिवस पनि हाे। हामि नगरकाेट घुम्न जाउ उतै रात बिताउ तिम्रा धरमा कुरा मिलाएर आउ। " कान्छुले जवाफमा भनि-" तिमिसङ्ग धेरै बिश्वास गरे।धेरै समय बिताए। तिमिले मलाइ भाेग्ने काम ग-याै मेराे जिवनकाे पनि सुरछया चाहिने
हुन्छ। घरबाट केटाकाे कुरा गरेका छन् ।आजै मलाइ हेर्न आउने रे।अव म तिमिलाइ भेट्न आउन भ्याइन सरि " ।
प्रेम दिवस 2080/ फगुन 2
+++
७. लघुकथा- मेरो भ्यालेन्टाइन✍श्रीप्रसाद पोखरेल
(सन्दर्भ प्रणय दिवस फागुन २ गते)
" जन्मदिनको शुभकामना तिमीलाई " थरीथरीका फूलको एउटा गुच्छा दिँदै विजयाले भनिन् ।
मैले ङिच्च हाँसेर, मात्र धन्यवादले उनलाई स्वागत गरेँ ।
विवाह भएको सात वर्षमा मलाई छोडेकी सुष्मा आज आएर शुभकामना व्यक्त गर्दैछिन् जस्तो लाग्यो मलाई ।
मेरो जन्मदिन फेब्रुअरी चौधमा पर्दछ । पचास वर्षको उमेरमा पहिलो पटक जन्मदिनको कार्यक्रम चल्दै थियो त्यो पनि छोरीको आग्रहमा ।
सबैको विवाह वर्षगाँठ होस् वा जन्मदिन, दम्पती बसेको देखेको थिएँ तर मेरो जन्मदिवसमा छेउमा मेरी छोरी बसेकी थिइन् ।
मुसुक्क मुस्कुराउदै "कता हराउनुभएको ?" विजयाले मेरो ध्यान आकृष्ट गरिन् ।
अरू आमन्त्रित खानपानमा व्यस्त थिए । छेउमा बसेकी छोरीले उनलाई आफू बसेको कुर्सीमा बस्न अनुरोध गरिन् । छोरीले हामी दुईको केही पोज फोटोहरू खिचिन् ।
मेरा गाला राता भइसकेका थिए । म असजिलो भएर बसे पनि उनिभने सहज थिइन् ।
विधवा भए पनि हल्का पहेँलो सारीमा सामान्य सिँगारले धप्प बलेकी विजयाले "मेरो भ्यालेन्टाइन ! ह्याप्पी भ्यालेन्टाइन डे"भनेर कानमा खुसुक्क भनिन् ।
इटहरी-२, सुनसरी
२०८० साल माघ २ गते
+++
८. लघुकथा- अतृप्त वासना ✍️पं ज्यों. तोयनाथ सुवेदी
,हेटौंडा -८,कमाने,मकवानपुर।
'मानिस वा जीव किन वासना तर्फ ज्यादै आकृष्ट हुन्छ?'
शिष्याले प्रश्न तेर्स्याई ।
'वासनामा आनन्द छ,त्यो आनन्द भनेकै इन्द्रियजन्य र भावगत
हुन्छ।त्यसैले धर्म, अर्थ, काम र मोक्ष यी सवैभित्र यो समाहित छ।मानिस वा वस्तु पनि एउटा वासना हो,जसमा भावको रङ्ग
चढ्दा सौन्दर्य र सुगन्धमा परिणत हुन्छ,अनि प्रत्येक हृदय छुँदै
छचल्किन्छ,अल्पिन्छ र झल्किन्छ। सबै राम्रा-नराम्रा वस्तुहरू
मगजका वासनाहरू हुन् ,कुनै कसैलाई राम्रो लाग्छ भने कुनै
कसैलाई नराम्रो लाग्छ।' गुरुले स्पष्ट्याउनुभयो।
'म बाहिर निस्कन छटपटाइरहेछु,तर मेरो चाहनालाई हावा आदिले छेकिरहेको छ।त्यसैले यो शरीरको वासना प्रत्यक्ष-अप्रत्यक्ष रूपमा आफूलाई मन पर्ने प्रति आकृष्ट हुन
खोज्छ, के गरौँ त .......? 'शिष्याले प्रश्न्याई।
'त्यसो नभन मन पर्दा -पर्दै पनि अरुका लागि वा समाज र
प्रकृतिका लागि पनि सुदृष्टि भाव राख्नुपर्दछ नि।हुन त मलाई
थाहा छ मेरी मनकी ईशा पनि तिमी नै हौ,तर केवल ईशा भावले नै हेर्दा र रहँदा सुयोग्य होला।'गुरुले सम्झाउनुभयो।
'हुन त जात धर्म ,कर्म, अवस्थाले पनि मैले यसो भन्न सुहाउँदैनथ्यो। तपाईं मेरा प्रेम वासनाका पनि वासना हुनुहुन्छ,
म के जान्नू त...?????
।। समाप्त।।
+++
९. लघुकथा: सरस्वती पूजा ✍️बाेधराज प्याकुरेल
" म कसरी अनुत्तीर्ण भएँ ?" सूचना पाटीमा टाँसिएको नतिजामा अाफ्नाे नाम नदेखे पछि सन्देश मुर्मुरियाे ।
" वार्षिक परीक्षा अाउँदैछ,विद्याकी देवी सरस्वतीकाे राम्रोसँग पूजा,उपासना र अाराधना गर तिमीहरू सबै राम्रो अङ्क ल्याएर उत्तीर्ण हुनेछाै ।" केही दिनअघि नेपाली शिक्षकले कक्षामा भन्नु भएको थियो ।
पढाइमा खासै राम्रो नभएको सन्देशले यसपालि जसरी पनि उत्तीर्ण हुने र सहपाठी साथी प्रयासलाई जित्ने लक्ष्यका साथ भाेलिपल्टै बाट सरस्वतीकाे पूजा अाराधना सुरु गरेको थियोे । ऊ सधैं विद्यालय अाउँदा घरबाट चन्दन,अक्षता र फूलपाती ल्याएर विद्यालयमा रहेको सरस्वतीकाे मूर्तिमा चढाएर मात्रै कक्षा काेठामा जाने गर्थाे ।
अनुत्तीर्ण भएपछि ऊ रिसले फनफनिदैँ शिक्षक कहाँ गयो ।
" एकदिन पनि सरस्वतीकाे पूजा नगर्ने प्रयास भने उत्तीर्ण हुने एक महिनादेखि सधैं सरस्वतीकाे पूजा गर्ने म भने अनुत्तीर्ण हुने,मलाई याे नतिजा चित्त बुझेन गुरु !" सन्देशले रिसाउँदै भन्याे ।
"म पनि सधैं सरस्वतीकाे पूजा अाराधना गर्छु ।" उत्तीर्ण भएपछि गुरुलाई कृतज्ञता ज्ञापन गर्न पहिले नै त्यहाँ पुगेको प्रयासले भन्याे ।
"सरस्वती देवीले कसैलाई पक्षपात गर्नु हुन्न । तिम्रो पूजामा कुनै कमी रह्यो हाेला । पूजा विधि र सामाग्री पाे फरक पर्याे कि ? प्रयासलाई साेध, उसले कसरी पूजा गर्याे र उत्तीर्ण भयाे ।"
गुरुले शान्त भएर भन्नुभयो ।
" मिहिनेत,परिश्रम र लगनशीलता देवी सरस्वतीकाे पूजा सामाग्री हुन् भनेर गुरुले भन्नु भएको कुरा चाहिँ तिमिले बिर्स्याै सन्देश ?मैले त तिनै सामग्रीको प्रयोग गरेर सरस्वतीकाे पूजा गर्छु ।"
बाँके ।
+++
१०. लघुकथाः प्रणय उपहार मनीषकुमार शर्मा ‘समित’
(लघुकथा सङ्ग्रह हराएको सहरबाट)
आश्रमको परिसर टेक्ने बित्तिकै आश्रमको सञ्चालकले आमालाई उसको श्रीमतीले घरलगिसकेको कुरा सुनेर ऊ आश्चर्यचकित थियो । मनमा अनेक कुराहरू खेल्न थाल्यो ।
हत्तारिदैं घर छिर्यो । उसको सानो छोरा आफ्नो हजुरआमासँग लुटपुटिदै थियो । आमालाई ढोग गर्यो । केहीबेर आमासँगको भलाकुसारी पश्चात ऊ सरासर श्रीमतीको नजिक गयो र न्यानो अङ्गालोमा कस्यो केही बोल्न सकेन, अङ्गालोमा कसिरह्यो ।
“ह्याप्पी भेलेन्टाईन प्रिय” सुस्तरी श्रीमतीले मुस्कुराउँदै भनिन् ।
उसको आँखाबाट आँसु छचल्कियो । आँसु पुछ्दै भन्यो “प्रणय दिवसको दिनको तिम्रो यो अमुल्य उपहार म कहिल्यै भुल्ने छैन । ह्याप्पी भेलेन्टाईन प्रिय ।“
केही समय पश्चात उसले सूचना पायो - उसको सासुआमालाई छोराबुहारीले केही दिनअधि वृद्ध आश्रम छाडेर आए रे ।
मध्यपुर ठिमी, भक्तपुर
+++
११. लघुकथा– बुद्धिप्रेम ✍️नन्दलाल आचार्य
(सन्दर्भ– सरस्वती पूजा)
“म त आडम्बरलाई घृणा गर्छु; सरस्वतीलाई प्यार गर्छु ।” रामकृष्णले मनको मादल बेस्सरी ठोकेर सुनायो ।
प्रेम दिवसको समय परेकाले माया–घृणाको कुरो गरेको होला । मेरो मनले यसै भन्यो ।
“सरस्वतीलाई प्रेम नगर्ने मनुष्य संसारमा जन्मेकै छैन होला ।” राम्रो देखिएको कुरो प्रति सबैको झुकाव हुन्छ भन्ने मनोविज्ञानबाट प्रेरित भई मैले पनि भने ।
“राम्री देखिएकीले हैन । विद्या बाँड्दै हिँडेकीले म उनको भक्त बनेको हुँ ।” उसले अर्को सफेद झुट अघि सार्यो ।
“हो, तँ मान्छेको रूपलाई हैन; गुणलाई सम्मान गर्छस् ! तर कहिलेदेखि....?” मैले पनि उसको मर्मभेदी वाण ताकेरै हानेँ ।
उसले पनि लाजै पचाएर भन्यो; “जहिलेदेखि आठ कक्षामा लगातार ३ वर्ष फेल भएँ; म बुद्धिप्रेममा फँसे....।”
२०८०.११.०२ सिर्जनाकुटी, सिरहा ।
०००
१२. लघुकथा– स्वरप्रेम ✍️नन्दलाल आचार्य
(सन्दर्भ– प्रणय दिवस)
“मलाई त तिम्रो छेउमा हुन पाउनु पनि सौभाग्य लाग्छ ।” हिक्मतले हिम्मत गरेर हिर्सीलाई भन्यो । दुबै एउटै कलेजमा समान तहमा थिए । हिक्मत सोझो कुरा गथ्र्यो । हिर्सी उसलाई बाङ्गो खेद्थी । कुरा बुझेर पनि हिक्मत प्रतिकारको भाषा बोल्दैनथ्यो । चुपचाप सुनिरहन्थ्यो र धेरैभन्दा धेरै उही बोलोस् भन्ने चाहन्थ्यो ।
“तिमीहरूको भाषामा गाली गरे पनि आशीर्वाद जस्तो लाग्छ ।” हिक्मतले सोझो कुरा उप्कायो ।
“हाम्रो मैथिली भाषा नबुझ्दाको विवशता ओकल्दै छौ तिमी ।” हिर्सीले तल पार्न खोजी । ऊ मौन भयो । मौनतालाई च्यात्न कसैले सार्थक प्रयत्न गर्नु नै पथ्र्याे । पुनः हिर्सी नै सामुमा आई; “मैले जति होच्याए पनि तिमी किन आपत्ति जनाउँदैनौं ?”
“तिमीहरूको मातृभाषा मैथिलीका शब्द र लबज रवरजस्तै लचकदार छन् ।”
हिक्मतको बंग्याएर अन्तै लान खोजेको यस बोलीलाई तल पार्दै हिर्सीले थपी; “उसो भए मेरो रुखो वाणी किन तिमीलाई प्रिय भएको ?”
हिर्सीले सुन्न पाई; “किनभने म तिम्रो शब्दमा हैन स्वरको पागलप्रेमी हुँ ।”
२०८०.११.०२ सिर्जनाकुटी, सिरहा ।
०००
१३.
MAKING PLANS?
Add a chat to start coordinating.



प्रेमदिवस सन्दर्भ १३ लघुकथा🔴✍️गरिमा+गजल+गभर्नर✍️तारा+शारदा+टीकाराम+रचना+केशवराज+सुरेश.....
🔴लप्रनेको सन्दर्भ लघुकथा प्रस्तुतीकरणमा भेला पारिएका लघुकथाक्रम🔴(भाग २) 
(यी लघुकथाहरु ✍️गरिमा+गजल+गभर्नर बाट दिवासेवामा प्रशारित हुनेछन् । कार्यक्रम नियालेर उत्प्रेरणा दिनुहोला ।)

🔴"माया गर्ने मानिसहरुको निम्ति म राजी खुसीले मृत्यु दण्ड जस्तो वलिदान गर्दैछु तर माया / प्रेमलाई चैं जिउँदो राख्ने गुहार माग्दछु।"🔴 ✍️वेलेण्टाइन
🔴लप्रनेको प्रेमदिवस सन्दर्भ १३ लघुकथा प्रस्तुतीकरणमा लघुकथाक्रम (भाग-२)🔴
----------------
१७. लघुकथा- अन्धानुकरण ✍️तारा श्रेष्ठ 
१८. लघुकथा-  विपरीत  ✍️शारदा दहाल (भण्डारी )
१९. लघुकथा- प्रतीक्षा ✍️सविता भट्टराई
२०. लघुकथा-  प्रेम दिवस ✍️टीकाराम जाेशी
२१. लघुकथा- प्रेम दिवसको उपहार ✍️रचना शर्मा
२२. लघुकथा- भ्यालेन्टाइन डे ✍️केशवराज आमोदी
२३. लघुकथा- आमाको खाट ✍️सुरेशकुमार पाण्डे
२४. लघुकथा- नि:स्वार्थ प्रेम ✍️शुक्रराज कुँवर
२५. लघुकथा - प्रणय दिवस ✍️खगेन्द्र बस्याल 
२६. लघुकथा- पहिलो प्रेमिका ✍️अन्जु शर्मा 
२७. लघुकथा: भ्यालेन्टाइनको उपहार  ✍️दुर्गा वनवासी
२८. लघुकथा- दूर्भाग्य ✍️योगप्रसाद उपाध्यय चापागाईं
२९. लघुलेख के हो वेलेण्टाइन दिवश ? ✍️नारायण निरौला
-----------------------

१७. लघुकथा- अन्धानुकरण ✍️तारा श्रेष्ठ 

बिराटनगर -६
"ए शाैरभ, यहाँ आइज । याे फूल किन टिपिस् ? मैले दिनरात  मिहिनेत गरेर फुलाएकाे ।"   फूलकाे बाेटमुनिकाे झार उखेल्दा उखेल्दै सुनिता फत्फताइन् । 
छाेराे आएर भन्याे,"  मैँले किन टिप्थेँ आमा ? फूल टिप्नका लागि हाेइन, सुन्दरता र सुगन्धका लागि हाे । टिपेकाे फूल ओइल्याएर नष्ट हुन्छ भनेर,नटिप्ने  अभियान चलाइरहेकाे छु । हाम्राे कलेजमा याे भन्दा ठूलाे  फूलबारी लगाएका छाैँ ।  छाेराले जवाफ फर्कायो।
           आमा अलमल परेर पर्तिर हेर्दै थिइन् । छिमेकीका छाेरा सुदेश छेउमा आएर भने ,"आन्टी आज  प्रणय दिवस ! गुलावकाे फूल त बिहानै अन्कलले टिपेर आज मन परेकाे मान्छेलाई याे दिनुपर्छ भन्याे फेसबुकले भन्दै तल्ला गाउँतिर लाग्नुभयाे ।"
 २०७९/ ११ / ०१,बिराटनगर - ६ माेरङ
+++

१८. लघुकथा-  विपरीत  ✍️शारदा दहाल (भण्डारी )
मन्द मुस्कानका साथ मुस्कानले  "सरु भरे मेरो कोठामा आउनु है !" "भन्दै बोलाए।
"समय यकिन गरेर हस् !" भनेर फुर्किदै कुदी सरु। 
विद्यालयमा सरस्वती पुजा भब्यतापूर्वक सम्पन्न भयो।
साथीहरू बडो तमाशापूर्वक भ्यालेन्टाइन गिफ्ट भन्थे त कोही  मलाई मेरो साथीले फलानो ठाउँमा भेट्ने भनेको छ भन्दै हिड्न थाले ।
त्यो बेला सरु पनि  झस्किई । मलाई पनि मुस्कानले बोलाएको छ।भ्यालेन्टाइन नै मनाउन होला शायद !केही दिन्छ होला । मनमा  कौतुहल जागेर आयो। हतारमा घर पुगी। आफ्नो पहिरन ठुलो ऐनामा हेर्दै मुस्कुराई र खाना पनि नखाई मुस्कानको कोठामा गई। मुस्कान पनि सरुकै पर्खाइमा खाना नखाई बसेको रहेछ।
 म सरस्वतीको प्रसाद  टीका र माला लगाएर एउटा पोको दिदैं घरमै लगेर मात्रै खोल्ने शर्तमा राख्यो। उसलाई झन् काउकुती लागेर आयो। अनि अर्को सानो पोकोबाट बुनिया खाऊ भन्दै दियो र घर पठायो।
  घरमा गएर एकान्तमा बसी र पोकोलाई खोली। ठुलो सरस्वतीको फोटो र एउटा पुस्तक रहेछ । पुस्तकभित्र एउटा चिट्ठी पनि । पढ्न थाली। 
" प्यारी बुनु यो जीवनको अमूल्य समयलाई पलपल सदुपयोग गरेर सिर्जनशील कोपिलालाई ढकमक्क फुलाउनू मैले दिएको उपहारले  यही प्रेरणा दिओस् ! 
    तिमीलाई धेरै माया गर्ने दाजु
        मुस्कान ।" भनेर लेखेको रहेछ।

+++
१९. लघुकथा- प्रतीक्षा ✍️सविता भट्टराई

जनकपुरधाम।मिति २०८०/११/२
डाक्टर साप! म कहाँ छु। म किन मरीन?कसरी बाँचे?अस्पतालको बेडबाट चिच्याउँदै शर्मिला ले भनिन।
"तपाईँको दुवै मृगौला फेलको रिपोर्ट आए देखि तपाईंको बुढाले छोडेर जानु भयो।फर्केर पनि आउनुभएन lतर हाम्रो अस्पतालको सिक्युरिटी गार्ड जगते विक दाईले आफ्नो एउटा मृगौला दिएर तपाईंलाई बचाउनु भयो।"डाक्टर सापले भन्नु भयो।
मलाई किन बचाएको ?मलाई मेरो बुढाले पनि छोडी दिनु भयो।अब म कहाँ जाऊँ?शर्मिलाले बिलौना गरी।
"  हेर,सरु !! जातिय भेदभावका कारण तिमी र म छुट्टिएको आज तीस वर्ष भएछ।तर हाम्रो निश्चल मायाको शक्तिले आज हामी फेरि भेट भयौ।।प्रतीक्षा पति कैले काही यति सुखद हुँदो रहेछ " ।जगते दाई भित्र पस्दै भन्नु भयो।
आज प्रणय दिवसको दिन हजुरले आफ्नो अङ्ग मलाई दिएर
मलाई अर्धाङ्गिनी बनाउनु भयो।मायामा जात पात ठूलो हुढो रहेनछ। भन्दै शर्मिला भावविह्वल भइन्।
+++

२०. लघुकथा-  प्रेम दिवस ✍️टीकाराम जाेशी

टीकापुर।
मिति २०८० /१२/०२
 दर्शकहरुकाे घेराभित्र कैद भएकाे मेराे अस्तित्वलाइ उनिहरुले  नायक मान्नुपर्ने त्याे एउटा सँयाेग मात्र बन्न गएकाे थियो । त्यस्तो खासै कुराे त म मा  केही थिएन तर कालाे चष्मा पछाडिका उसका  अदृश्य आँखाले  केही भेटाएकाे थियो ।
उसले आफ्नाे सहायकलाई आफु नजिक बाेलाई कानमा  केही फुक्यो।त्याे सहायक राेबाेट झैँ हिँड्दै मेराे नजिक आयाे र मेराे पाखुरा समातेर मलाई बीचमा लगेर उभ्यायाे।
त्यति बेलानै त्यहाँ एक सजिएकि सुन्दरी मेराे छेवैमा आइ पुगिन्।बस्,  उसका आँखाकाे अनाैठाे आकर्षणले मेराे नजर चुम्बकले झैँ तानिएकाे पत्तै पाएँन।मेराे मुटुकाे धड्कन र श्वासले आफ्नाे नियमित चाल गुमायाे। 
"कट ,शाट आे के ।" निर्देशकले भन्याे।
 यत्तिकैमा त्यस सुन्दरीकाे अनुहारमा कसैले के खन्याएकाे थियो कुन्नि ,उनी जाेड्ले चिच्याईन् र अनुहार छाेप्दै भुईँमा लडिन्।
टुसाएकाे बिउँ पलाउन नपाउँदै आेइलायाे। 
 हातकाे बाेतल पर फाल्दै एक सुन्दर युवक  भीड बाट दगुर्दै आयाे र सुन्दरीलाई काखीमा च्याप्दै भन्याे " अब तिमीलाई अरुले माया गर्ने छैनन्।हेप्पी वेलेन्टाइन् डे।"

+++
२१. लघुकथा- प्रेम दिवसको उपहार ✍️रचना शर्मा

-"प्रिया! भ्यालेन्टाइन गिफ्ट के दिन्छ्यौ नि मलाई?" आजभन्दा केही बर्ष अगाडि मेरो श्रीमानले मसँग प्रेम दिवस सप्ताहका दिन मध्ये "प्रमिस डे" को दिनमा सोध्नुभएको थियो। 
भर्खर भर्खर प्रेम दिवसको हावाले छोएको बेला, मैले लजाउँदै उत्तर दिएकि थिए-" दिउँला नि, जे दिए पनि प्रेमपूर्वक। तर अहिले भन्दिन।अहिलेलाई सरप्राइज।"
दुई दिनपछि उक्त दिन अर्थात् प्रेम दिवसको दिन आइहाल्यो। आज कस्तो उपहार दिने होली भन्ने सोच्दै श्रीमान स्वप्निल सोचमा हराइरनुभएको थियो । एक्कासि   मलाई चिडचिड पसिना छुट्न थाल्यो। शरीर गल्न थाल्यो। हातखुट्टा बाउँडिन थाले। बसेको ठाउँबाट उठ्नै सकिन। मेरो दुर्दशा देखेर तुरुन्तै मलाई अस्पताल लगियो। एकैछिनमा मेरो होश हवास हरायो। 
३,४ घन्टापछि होशमा आउँदा प्रेम दिवसको उपहार मेरा श्रीमानले पाइसक्नु भएको रहेछ। च्याहाँ - च्याहाँ गर्दै सजिब उपहारले पनि आफ्नो बाबाको हातमा अर्को झोलिलो उपहार चुहाइरहेको थियो ।
+++

२२. लघुकथा- भ्यालेन्टाइन डे ✍️केशवराज आमोदी

कता पुगेर आउनु भयो गुरु ? अङ्ग्रेजीकी प्रोफेसर स्नेहलताले सोधिन् ।
विद्यार्थीहरूद्वारा आयोजित सरस्वतीको पूजाको कार्यक्रममा सहभागी भएर आउँदै छु , प्रोफेसर प्रणयराजले भने
दक्षिणा राम्रै भयो होला नि ?
दक्षिणाले हौसिएर होइन , आस्था र निष्ठाले तानिएर गएको हुँ ।
भो भन्न पर्दैन , बरु यो पनि मेरो साइड पेसा हो भने भै गयो नि ।
'वसन्त पञ्चमी भन या श्री पञ्चमी भन प्रकारान्तरले विद्याकी अधिष्ठात्री वाग्देवी सरस्वतीलाई सम्झने पावन दिन हो ।   हिन्दुस्तानभरि संस्कृतका गुरुकुलतिर शारदाको वन्दना गर्दै कविहरूले काव्यगोष्ठी गर्दछन् । आजकै दिनमा कतिपय अभिभावकहरूद्वारा आफ्ना बाबु-नानीहरूलाई 'क ख ग'आरम्भ गराउछन् ' नेपालीकी प्रोफेसर स्नेहलताले भनी ।
तपाई कता जान तम्सिया  नि फेरि ? 
'म त भ्यालेन्टायन डे' मनाउन ।
मलाई त यो नामै मन पर्दैन ।
किन नि
 किन नि ? लौ सुनी हेर ! उहिले उहिले जात्रा-मात्रातिर जाँदा रमाइलो मनाउँदै गर्दा खै कुन्नि कुन चाँहि अङ्ग्रेज पनि सँगै गएको रहेछ र उसले भनेको सुनेछ र कोठामा आएर आफ्नी सँगिनीलाई था' छ ? आज  "भाले चाइने दिन " भनेर अँगालो मारेर गहिरो माया जताएछ र यो क्रमलाई कहिले तोडेनछ । उसैको देखासिकी गरेर उसका अरू साथीले पनि यो 'डे' मनाउन थालेछन् ।
 हुँदाहुँदा संसारभरि यो दिनलाई 'भाले चाइने दिन' भनेर मनाउन थालिए पनि उच्चारण भेदका कारणले  'भ्यालेन्टाइन डे'को रूपमा रूपान्तर भएछ भनेर हाँसो गर्दै एकातिर ओझेल परेछन् ।
रत्ननगर चितवन
०२/११/०८०
+++
२३. लघुकथा- आमाको खाट ✍️सुरेशकुमार पाण्डे

चारैतिर बाट महिंलाहरूले घेरेकाछन्।उनिहरू आ-आफ्नै पारामा गन्गन् गर्छन्।
माझमा आमा बसेको खाट छ।
"आज के कार्यक्रम रहिछ? महिंलाहरूको मिटिङ् पो रहिछ की? , कतै वृद्ध पेन्सिन् मिल्दोहोला आज; की आमालाई बिसञ्चो त भएन ? "- जिज्ञासु मनैमन आफै सँग कयौँ प्रश्न गर्छ।
"होइन! होइन ! केहिपनि भएको छैन,तिमी चिन्ता नगर; हामी त तेत्तिकै भेटघाट आएका हौँ ।"-ति मध्य एकजना अर्धबैंसे महिँलाले जिज्ञासु तिर हेर्दै भनिन्।
जिज्ञासु अचम्मै पर्यो! मैले आफ्नो मनैमनमा भनेका कुरा यिनले कसरी सुन्न भ्याइन्।"-जिज्ञासुले उस्को उत्तर आएपछि फेरी आफ्नै मन सँग प्रश्न गर्यो।
"हिंजो रिडियो स्थापना दिवस थियो आज सरस्वती पुजा हो। हाम्रो आमा सँग धेरै शिक्षा लिनु छ। ति महिँलाले फेरी जिज्ञासु तिर हेर्दै भनिन्।
जिज्ञासु डरायो। यो महिंलाले मेरो मनको कुरा कसरी सुनिरहेकी छन्। यो त मेरै मनमा थियो तर म त बोलेकै छैन।जिज्ञासुले मनैमन सोंच्यो।
"आमा यिनी कोहुँन?कीन मेरो मनको कुरा सुनिरहेकी छन्।"-यस पाली जिज्ञासुले आफ्नी आमा सँग सोध्यो।
"ओहो! तँलाई थाहा छैन? सरस्वती हुँन्,विध्याकी खानी। यिनलाई सबै कुरा थाहा हुँन्छ।"- आमाको कुरा सुनेर जिज्ञासु झसिङ्गियो।
हाम्रो घरमा सरस्वती?"-ऊ जुरूक्कै उठ्यो र आमाको खाट तिर पिर्लुक्कै हेर्यो।अहिले खाट रित्तै थियो।तर सरस्वती पुजाको दिवस हो। 
"उफ! यस्तो पनि सपना ! "- ऊ अनाएसै बोल्यो।
दाङ घोराही १८
(१४-०२-२०२४) ०२फागुन२०८०,

+++

२४. लघुकथा- नि:स्वार्थ प्रेम ✍️शुक्रराज कुँवर
          " म तिमीाई कति मन पराउँछु ।" 
          " मन पराउँछु र माया गर्छु भन्नुमा फरक छ नि मैया ।" 
           " हैन ! माया पनि गर्छु ।"
          " फेरि कुरो बिग्रियो । ' माया पनि गर्छु ' र ' माया गर्छु ' भन्नुमा पनि त अन्तर छ ।" 
          रेश्मा र राजेश बिचको सम्वाद थियो यो । प्रणय दिवसको दिन उनीहरु रेष्टुराँमा कफि पिउँदै थिए । 
          राजेश परिपक्व स्वभावको थियो । उसले रेश्मालाई भन्यो " तिमीलाई मायाको अर्थ थाहा छैन । माया गर्छु भनेर हुँदैन । माया भित्री मन देखि आउनु पर्छ । " 
          " साँच्चै म तिमीलाई मनै देखि माया गर्छु , राजेश । मलाई विश्वास गर ।" रेश्माले भनी ।
          " तर तिम्रो मायामा स्वार्थ गाँसिएको छ । तिमी पहिले पनि कसैको प्रेम सम्वन्धमा थियो । माया नि:स्वार्थ हुनु पर्छ ।" 
         " त्यो मेरो पहिलो तथा अन्तिम भूल थियो । कस्तो नि:स्वार्थ प्रेमको कुरा गरेको राजेश ?"
          " उ त्यहाँ कुनामा आमा छोरा बसेको देख्यौ ? हो त्यस्तै आमाले आफ्ना बच्चाबच्चीलाई गर्ने जस्तो नि:स्वार्थ माया ।"
          " त्यस्तो त म पनि गर्न सक्छु ।" रेश्माले भनी ।
          त्यसै बेला भूकम्प गयो । भागदौड मच्चियो । रेश्मा पनि ज्यान बचाउन राजेशलाई छोडेर हत्त न पत्त भागी ।
          बाहिर आाए पछि राजेशले आफ्नो छोरालाई काखी च्यापीरहेकी आमलाई देखाउँदै भने - नि:स्वार्थ प्रेमको अर्थ बुझ्यौ होला नि । 
धरान १०
२०८०/११/०२
+++

२५. लघुकथा - प्रणय दिवस ✍️खगेन्द्र बस्याल 
"तपाईं जतिखेर पनि मोबाइलमैं देख्छु। अरुले आजको दिन के के गरेर प्रणय दिवस मनाइ सके ,अझै होस् छैन ! "पत्नीले भनिन् ।
"  ३६४ दिन घरमा झगडा गरेर हामी छिमेकीको निद हराम गर्नेले पनि त्यसो गरेका छन् ।हामीलाई त बर्षै दिन प्रणय दिवस भएकोले  आज छुट्टै नाटकको आवश्यकता महसुस  नै रहेेन।"पतिले सम्झाए।
 "त्यसो भनेर हुन्छ त।मलाई पनि गुलाफको फूल तपाईंबाट  लिन,कतै डेटिङ जान,बाहिर गएर खान,कतै गएर नाच्दै रमाइलो गर्ने इच्छा होला नि,खोइ बुझेको तपाईंले। "पत्नीले रिसाउदै बोलिन्।
"नयाँहरुले गर्ने हो  त्यो कुरा।हाम्रो माया अमर छ। बरु नयाँ तरिकाले प्रणय दिवस मनाउन है।"पतिले  उत्साह जगाउने प्रयास गरे।
 "वास्तवमा नयाँ ठङ्गले प्रणय दिवस मनाउने हजुरको काइलाले फाइदा हुने मलाई पनि   लाग्यो । हामीले पनि त्यो काइदा अरुले पनि देखुन र सिकुन् उद्देश्यले   त्यो खिचिएको त्यो फोटो अनुहार   पुस्तिकामा राखौ है।  अनि भन्नुस् त त्यो नयाँ तरिका के हो?" पत्नीले कौतुहलताका साथ सोधिन् ।
" पतिले मुस्काउँदै जवाफ दिए" आज हामीले  देखेका र सुनेका  कुरा विगतमा हामीले गरिसकेकोले त्यो  एलबमका पाना हेर्ने । अरु दिनमा  हामीलाई  यसरी एल्वममा डुवुल्की मार्ने फुर्सद नैं कहाँ हुन्छ र ,होइन त!"
* तिल‍ोत्तमा ९ सरस्वती पथ,रुपन्देही ।०८० फागुन २

++++

२६. लघुकथा- पहिलो प्रेमिका ✍️अन्जु शर्मा 
रातोपुल(2080/11/02)
   बगैंचाबाट भए मध्येको राम्रो रातो गुलाफको फूल टिपेर कसैले नदेख्ने गरि ब्यागमा राखें।स्कुल पुग्ने बित्तिकै जेनिसालाई प्रेम दिवसको उपहार दिनुछ।उनी धेरै खुशी हुनेछिन्।म फटाफट गेटतिर लागे ।बाहिर निस्कन बिस्तारै गेट खोले।
किचनबाट आमा-" बाबु !टिफीन लग्न भूल्यौ?खानपिनमा ध्यान दिनपर्छ।आज तिम्रो मनपर्ने खाजा बारा बनाइदिएकीछु।"
म झसङ्ग भए ।हो त नि !टिफीन लग्नै भूलेछु।म हतार गरेर किचन तिर बढे।अनि आमालाई अंकमाल गरेर अगि टिपेको रातोफूल शिरमा लगाइदिएं।
आमा -" बाबु !यो के गरेको ?गुलाफ त प्रेमिकालाई पो दिने हो  त!"
"आमा!हजुरको प्रेमले साह्रा घर मुस्कुराएको छ भने हजुरले रोपेको गुलाफको फूल लगाउने पहिलो प्रेमिका त हजुर नै हो रहेछ।"

+++

२७. लघुकथा: भ्यालेन्टाइनको उपहार  ✍️दुर्गा वनवासी

श्रीमतिलाई निक्कै माया गर्थे ज्ञानेन्द्र । अतुलनीय तिनको सौन्दर्य देख्दा उनलाई लाग्थ्यो-ईश्वरले निकै फूर्सदको समयमा खूब मेहनतसाथ बनाएको हुनुपर्छ । अक्सर सुन्दरताका धनीहरु विवेक र आचरणमा गरिव हुन्छन् तर जानकीमा सबै सम्पन्नता भरिभराउ लाग्थ्यो उनलाई । भौतिक र बौद्धिक सम्पन्नताको समायोजनयुक्त जीवनसाथी पाएर फुरुंग थिए उनी ।
आज भ्यालेन्टाइन डे रे ! आयातीत संस्कृति नै भए पनि आफ्नाहरुलाई न्यानो मायाको अनुभूति दिलाउने यो दिन उनलाई निकै मन पर्छ । बिहान त अफिस जान परिगो । अफिस सकेर केही उपहार किन्ने विचार गरे । बजेट ठूलो थिएन, त्यसैले एक जोर सुन्दर झुम्का किने । श्रीमतिलाई सरप्राइज दिन उत्सुक उनको मन मोटरसाइकलभन्दा छिटो उडिरहेको थियो ।
घर पुगेर कलबेल थिचे, श्रीमतिले ढोका खोलिन् । विशेष शृंगार र सजावटमा आज त झनै मोहिनी देखिएको थियो त्यो रुपसी सौन्दर्य । आँखाले चुपचाप पान गरिरहे, भित्र पस्नै बिर्सिएर । मृदु मुस्कानसँगै कोइली कण्ठ खोलिन् उनले- "पहिला भित्र त पाल्नुहोस् महाशय !"
लट्ठ परेर हराइरहेका उनी झसँग भए अनि जीवन-संगिनीको मुस्कानलाई साथ दिँदै मुस्कुराए ।
हातमुख धोएर वैठकमा आए । व्यग्र प्रतीक्षा थियो जीवन-सहचरीको । केही बेरमा चिया लिएर प्रवेश गरिन् उनले । दुवै कप टेबलमा राख्दै छेउमा आएर बसिन् । सर्प्राइजको तयारी गरिसकेका उनले सोफाको कुशनले छेलेर राखेको एक गुच्छा रातो गुलाब र झुम्काको सानो बट्टा अगाडि बढाए । अकस्मात टि भी हेर्दै गरेकी सानी छोरी दगुर्दै आएर बीचमै त्यो बट्टा समातिन् र खोलिन् ।
"ड्याडी, हजुर त कत्ति कन्जुस है ! हजुरको त गुलाब पनि एउटा मात्रै, गिफ्ट पनि यति जाबो ! अघि हजुरको अफिसको म्यानेजर अंकलले दिनुभएको गुलाब त कति धेरै अनि गिफ्ट पनि सुनको सिक्री पो ! ड्याडीकोभन्दा त अंकलकै गिफ्ट राम्रो है मामु ?"
                                                            बस् ।

+++
२८. लघुकथा- दूर्भाग्य ✍️योगप्रसाद उपाध्यय चापागाईं

रौसेहुनाले उनलाई रौसेबुढा भन्थिए । रौसेबुढाको एक्लो जिन्दगानी थियो र उनको स्वभाव एकलकाटे थियो । छर छिमेक कति रौसेबुढाको खिसिटिउरी गर्थिए र कति चाहीँ उनको रसिकता मन पराउथिए र वृद्ध अवस्थाको आदर गर्थिए । रौसेबुढालाई दिनदिनै होसले छोडदै जाँदै थियो । यतिकैमा एकदिन छिमेकनी शौचालय जानलाई ढोका खोल्दा रौसेबुढा चुकुल नलगाई शौचालयमा बसि रहेको भेटि र भनि- " शौचालय बस्दा चुकुल नलगाई बस्ने रौसेबुढा ॽ तिमीलाई माया गर्दा तिमी त छाडा पो हुने ॽ" छिमेकनीले सातो लिएर छाडेकी थि । 
अर्का एकदिन त्यस्तै भयो । रौसेबुढालाई शौच छिरि सकेको थियो । उनले शौचालयको चुकुल लाउन भुले । उनि शौचलागेको लुगा खोलेर पखाल्दै थिए । यतिनै बेला छिमेकनीकी बुहारीलाई पनि शौच लाग्यो । ढोका खोलेर भित्र पसेकी बुहारी आत्तिएर बाहिर निस्कि र रौसेबुढाले चुकुल नलगाई लुगाखोलेर शौचालयमा बसेको भटभटाउन थालि । भनि- "भलेनटिनमा के देख्नु पर्यो यस्तो ।" रौसेबुढाको फेरि दोहोरिएको विषय बुहारीबाट सुनेर छिमेकनी र छोरो दगुर्दै आएर रौसेबुढालाई लछारपछार गर्न लागे । रौसेबुढाले माफ मागे, गल्ति भयो भने । चुकुल लाउन भुलेछु भने । तर "लु माफ" भन्दै माफको सट्टा छोराले एकलात कस्यो । छिमेकनीले एक लबटा कसि । बूहारीले ठोकेको एक घुस्साले त रौसेबुढाको प्राणवायुनै उड्यो । 
गोठाटार काठमाण्डौं
८० फागुन २ गते ।
+++

२९. लघुलेख के हो वेलेण्टाइन दिवश ? ✍️नारायण निरौला
 
१४ फेब्रुअरी का दिन सबै युवायुवती देखि वृद्ध वृद्धा सम्मले यसलाई प्रेम दिवस, प्रणय दिवस, प्रेम प्रस्ताव दिवस आदि नामले मान्ने गरेको पाइन्छ। यसरी मनाइने यो पर्वका वारेमा जानकार भने विरलै होलान्। आखिर यो वेलेण्टाइन दिवस संग जोडिएको  गुत्थि कुरा के होला भनी चासोदिन चहानेहरुकालागि आज मैले यस सम्बन्धमा अध्ययन गरी एउटा सानो सामग्री पस्कने चेष्टा गरेको छु। 
वेलेण्टाइन  कुनै दिनको  नाम नभएर एकजना रोमन पादरीको नाम हो। सन् २६९ मा वेलेण्टाइन भएको देश रोममा  क्रुर तानशाही राजा क्लाउडियस (Claudius) को शासन थियो। उनी सैनिक शक्तिको बलमा आफ्नो साम्राज्य विस्तार गर्न चहान्थे। सैन्य शक्ति बढाउन सेनामा युवाहरुलाई भर्ति गर्नुपर्थ्यो तर स्वास्नी छोराछोरी, घरपरिवार भएका कोही पनि युवाहरु सेनामा जान मान्दैनथे। सेनामा जानुपर्छ भनेर कतिपय परिवारका किशोरहरुको छिटोछिटो विवाह गराइदिने पनि चलन चल्न थाल्यो । त्यसो भएपछि राजा क्लउडियसको सैन्यशक्ति बढाउने अभियान असफल भयो । यसरी आफ्नो उद्देश्य असफल भएपछि उनले देशमा अब उप्रान्त कसैले विवाह गर्न नपाउने भनी विवाह माथिनै प्रतिवन्ध लगाए। उनले लगाएको यो प्रतिवन्ध अत्यन्तै क्रुर र अमानवीय थियोे जसलाई कोहीपनि जनताले मनपराएका थिएनन्। तर राजाका अगि विरोध गर्न भने कोही सक्दैनथे। 
यस्तै प्रतिवन्ध लगाएको बेला एक जोडी युवा युवती विवाह गर्न भनेर पादरी वेलेण्टाइनको चर्चमा आइपुगे। पादरीलाई पनि राजाको यो निर्णय चित्त बुझेको थिएन। उनले त्यो जोडीको विवाह गोप्यरुपले सम्पन्न गराए। यो घटनाको सूचना राजाको कानमा पुग्यो। राजाले पादरीलाई चरम यातना सहित जेलको सजाय दिए। पादरीलाई जेलमा भेट्न धेरै मानिसहरु गुलाबको फूल हातमा लिएर आउँथे। जेलमा बोलेर ब्यक्त गर्न प्रतिबन्ध भएको हुनाले गुलाबको फूललाई मायाको चिनो वा  संकेतको रुपमा ब्यक्त गर्ने गर्दथे। केही समय पछि राजाले उनलाई १४ फेब्रुअरी २६९ का दिन मृत्युदण्ड दिए। 
वेलेण्टाइनले मारिनु भन्दा अगि एक पत्र लेखेका थिए, 
" माया  गर्ने मानिसहरुको निम्ति म राजी खुसीले मृत्यु दण्ड जस्तो वलिदान गर्दैछु तर माया / प्रेमलाई चैं जिउँदो राख्ने गुहार माग्दछु।"
यसरी एक पादरीले एक क्रुर शासकको हुकुम विरुद्ध धावा बोल्दा सहादत प्राप्त गरेको दिन आज १४ फेब्रुअरीलाई वेलेण्टाइन दिवशको रुपमा मनाउने गरिएको हो।
 यो दिवश युगल जोडीहरुले प्रेमको प्रण गर्ने दिन हो अर्थात यो विपरित लिंगी युवायुवतीहरुले एक अर्काप्रति आकर्षित भई नयाँ जीवन आरम्भ गर्ने सप्ताहको रुपमा पनि मनाइन्छ ।
सप्ताह रुपमा मनाइदा ती दिनहरुको छुट्टाछुट्टै महत्त्व छ जो यसप्रकार छन् :-
वेलेण्टाइन सप्ताहा ( Valentine  Week)
१) पहिलो  दिन (फेब्रुअरी ७ )
गुलाब दिवश Rose Day :- यस दिन गुलाबको फूल दिएर प्रेमको संकेत  दिइन्छ। गुलाबको रङ्ग अनुसार त्यस्को संकेत हुन्छ । जो यस प्रकार छन् :
   क) सेतो गुलाब ( White Rose) यसको अर्थ "मलाई माफ गर ! " अर्थात म तिमी संग प्रेम गर्दिन ( I am sorry)  भनिएको हो।
    ख) पहेंलो गुलाब ( Yellow Rose ):- यसको अर्थ तिमी मेरो असल मित्र वा साथी हौ। (You are my best friend)
     ग) गुलाबी गुलाब ( Pink Rose) यसको अर्थ "म तिमीलाई मन पराउँछु।"( I like you.) हुन्छ ।
     घ) रातो गुलाब ( Red Rose) यसको अर्थ "म तिमी संग प्रेम गर्छु" (I love you ) हुन्छ।
      २) दोश्रो दिन ( फेब्रुअरी ८) प्रस्ताब दिवश ( Propose Day) यसदिन मन पराउने युवा वा युवतीले प्रस्ताव गर्दछन्।
       ३) तेश्रो दिन (फेब्रुअरी ९) चकलेट दिवश (Chocolate Day) यसदिन आफ्नो प्रेमी वा प्रेमिकालाई चकलेट दिन्छन्।
       ४) चौथो  दिन ( फेब्रुअरी १०)  उपहार दिवश (Teddy Bear Day) यसदिन प्रेम गर्नेले एकअर्कालाई उपहार दिन्छन्।
        ५) पाचौं दिन ( फेब्रुअरी ११) कशम दिवश (Promise Day) यसदिन प्रेम गर्नेहरुले एक अर्काले विश्वासको कशम खान्छन् ।
        ६) छैटौं दिन ( फेब्रुअरी १२) चुम्बन दिवश (Kiss Day)
   यसदिन लामो समय सम्म बसेर एकले अर्कालाई चुम्बन गर्दछन्।
        ७)सातौं दिन (फेब्रुअरी १३) अंकमाल दिवश (Hug Day) यसदिन प्रेमी र प्रेमिका अंगालोमा बाँधिन्छन्।
        ८) आठौं दिन ( फेब्रुअरी १४) वेलेण्टाइन वा प्रणय दिवश (Valentine Day)  : यो अन्तिम दिन हो । यो दिन प्रेमगर्ने जोडी पूरा दिन संगै बिताउँछन् ।
       विराटनगर, मोरङ्ग।
नोट : पढेपछि सेयर गर्ने र टिप्पणी लेख्ने बानी बसालौं।

++++

३०. लघुकथा : जीवन र मृत्यु ✍️नानानि भारद्वज

"किन यस्तो दुस्साहस गरेकी माया ?"
"मलाई अैांसीका रातहरुले चिथोरे प्रिय !" 
"अैांसीका रातहरु भित्र पसेर चारैतिर हेर्दा अन्धकारै अन्धकार देखिन्छ त माया !"
"हो म तिनै अन्धकारहरुको लपेटामा परेर मेरो अस्मिता मात्र लुटिएन भौतिक शरीर पनि थिलथिलो भयो प्रिय !"
"तिमीमाथि भएको यत्रो अन्याय विरुद्ध आवाज उठाइनौ माया ?
"मैले भरिएको गह र पिल्सिएको बह लिएर कहाँ कहाँ गइन र प्यारा !"
"कहाँ कहाँ पुग्यौ माया ?"
"प्रहरी प्रशासन, अदालत र नेताहरु सबैको ढोका ढकढकाएँ प्रिय ! तर ....!"
"तर के माया ?"
"मैले कतै जुन भेटिन, भेटें त केवल अैांसी कै अन्धकार मात्र प्रिय !"
"यसरी हरेस खाएर अलप हुने विचार कसरी आयो प्यारी ?"
" म के गरौं त प्यारा ? मेरो ठाउँमा तिमी भए के गर्थ्यौ ?"
"चहकिलो जुन भेट्न त पूर्णिमा सम्म पर्खनै पर्छ माया !"
"कसरी सम्भव छ म जस्ती अभागिनीका निम्ति प्यारा ?"
 उसलाई पीडले पिल्साउन थाले गह छचल्किन थाले। 
" गहमा छचल्केको आँशु र भित्रभित्रै पिल्सिएको मासुले पीडाको सार्थक उजागर गर्न सक्दैन माया !" 

"म के गरौं त ! के गरौं " भन्दै ऊ पुन: भिर तर्फ लम्किन्छे।
जीवनले पाखुरामा समातेर तान्छ। जीवन पनि हतोत्साहित भै रुन थाल्छ।

  रुवाबासी सुनिरहेको समय टक्क अडिएर भन्छ,            "पीडाको सार्थक उजागर त जिउने कलाले गर्दछ नानी हो !"
दुवै समय तर्फ मुखारित हुँदै एउटै प्रश्न गर्छन," कसरी ?"
समयले हौसला दिदै भन्यो," गहको छचल्किएको आँशुलाई सागरको ज्वारभाटा बनाउन सक्नुपर्छ,आफै भित्र मात्र पिल्सिएको घाउलाई समाजलाई नै पिल्स्याएर पोल्ने ज्वालामुखी बनाउन सक्नुपर्छ, म तिमीहरुको साथ छु।"

विराटनगर, मोरङ।
+++

Saturday, February 3, 2024

नानि भारद्वजको ‘स्मृति’ लघुकथा सर्वोत्कृष्ट घोषणा

नानि भारद्वजको ‘स्मृति’ लघुकथा सर्वोत्कृष्ट घोषणा 


लघुकथा प्रतिष्ठान नेपालद्वारा सहिद दिवस २०८० को सन्दर्भ पारेर 
आयोजित लघुकथा अभियानमा नानि भारद्वजको ‘स्मृति’ लघुकथा सर्वोत्कृष्ट घोषणा भएको छ । 
उक्त  अभियानमा प्रतियोगी र सहभागी गरी पाँच दर्जन अधिक लघुकथा प्रेषित थिए । डा. विदुर चालिसेको निर्णायक संयोजकत्वमा अन्य चार सदस्यीय समिति सक्रिय थियोे । पूर्व सञ्चालित अभियानमा सर्वोत्कृष्ट हुने पीपी कोइराला, बासुदेव तिमल्सिना, गङ्गा खड्का साथै यस अभियानका संयोजक समेत रहेका निरज कोइराला निर्णायक सदस्य थिए । यस अघि शान्ता तिमल्सिनाको लघुकथा सर्वोत्कृष्ट भएको थियो । 
भाषाको प्रस्तुती गहनता, निर्देशन कथन, संवाद अभिव्यक्ति, शीर्षक र निष्कर्ष बिचको रहस्योद्घाटन, घटना कथन पद्दती र अनुच्छेद संरचनाको आधारमा ‘स्मृति’ लघुकथाले सबैलाई उछिनेको कथन निर्णायक संयोजक डा. विदुर चालिसेको छ । 
यस सहिद विषयक अभियानमा उत्कृष्ट एघारमा पर्न सफल अन्य लघुकथा र लेखकहरूको वर्णानुक्रम यस्तो छ–  
खोजी शीर्षकको लघुकथाका लेखक पं .ज्यो.तोयनाथ सुवेदी, उत्तरको प्रश्न शीर्षकको लघुकथाका लेखक धिरज बराल, स्मृति  शीर्षकको लघुकथाका लेखक नानि भारद्वज, शहीद शीर्षकको लघुकथाका लेखक पदमप्रसाद दाहाल, कराही, कसौँडी र कुर्सी शीर्षकको लघुकथाका लेखक प्रेम घिमिरे ’अग्निकवच’, सहिद एकता शीर्षकको लघुकथाका लेखक रामप्रसाद पन्थी, विमर्श शीर्षकको लघुकथाका लेखक शारदा दहाल (भण्डारी), नक्कली सहिद शीर्षकको लघुकथाका लेखक शुक्रराज कुँवर, सहिद शीर्षकको लघुकथाका लेखक रचना शर्मा, अमर  शीर्षकको लघुकथाका लेखक रुद्र अधिकारी ‘निर्दोषी’ र सम्मान शीर्षकको लघुकथाका लेखक सविता भट्टराई अभियानी उत्कृष्ट लघुकथाकार घोषणा भएका हुन् ।
तीनै उत्कृष्ट एघार मध्ये ‘स्मृति’ शीर्षकको लघुकथा सर्वोत्कृष्ट भएको हो ।
नेपाली साहित्यमा ‘मलन’ समूह अर्थात् मनोहर पोखरेल, लक्ष्मी रिजाल र नन्दलाल आचार्यद्वारा सञ्चालित लघुकथा प्रतिष्ठान नेपालले स्थापनाकाल २०७८ कार्तिक ३ गतेदेखि नै नियमित लघुकथा विमर्शको काम गर्दै आएको छ । साथै यसकै मुखपत्रका रुपमा नन्दलाल आचार्यको प्रधान सम्पादकत्वमा ‘सन्दर्भ’ लघुकथा प्रधान पत्रिका समेत प्रकाशन हुँदै आएको छ । 
प्रस्तुत छ सर्वोत्कृष्ट हुन पुगेको नानि भारद्वजको ‘स्मृति’ लघुकथा–
लघुकथा– स्मृति  ✍नानि भारद्वज 
 मोबाइलमा निकैबेर घण्टी बजेपछि फोन उठाएँ र सम्वाद यसरी भयो,
 “हेलो !”
“ हेलो, मलाई चिन्नु भो ?”
“ चिनिन त मैले !”
 “म क्या, तपाईं सानो छँदा तपाईंको घरमा बुवालाई भेट्न आइरहन्थेँ नि !”
“ए, कमरेड पो बोल्नु भाको हो ?”
 “हो त !”
 “हजुर त अहिले मन्त्री पो हुनुभाछ रे हो !”
 “हो !”
 “ए बधाई दिन पनि मेलो पाइनँ, ढिलै भएपनि बधाई छ हजुरलाई । ”
  “धन्यवाद बाबू, तपाईंको बुवा क्रान्तिकारी विचार र ब्यवहारको अति नै धनी हुनुहुन्थ्यो ।”
  “म त सानै थिएँ; अलिक मेसो पाउँदिन हजुरलाई नै थाहा होला, कति कामले पो फोन गर्नु भो ?”
 “तपाईं भोलि यहाँ आउनुप¥यो ।”
 “किन होला हजुर ?”
“हामीले शहीद परिवार सम्मान कार्यक्रमको आयोजना गरेका छौं ।”
“आउन त गाह्रो छ हजुर !”
 “जसरी पनि आउनु न ल !”
“भोलि नै आउन त असम्भव छ हजुर !”
“म मेरो गाडी पठाइदिन्छु आउनुस् न !”
“माफ गर्नुहोला हजुर, म यहाँ खाडीमा जान विमानस्थलको लाममा बसेको छु ।”
बुधबार ३ माघ २०८०
विराटनगर, मोरङ्ग

उत्कृष्ट ११ मा पुग्न सफल सहिद सन्दर्भ प्रतियोगी लघुकथा वर्णानुक्रम अनुसार

श्रद्धेय डा. विदुर चालिसेज्यू,
निम्न लघुकथा हेरी कुनै १ लाई सर्वोत्कृष्ट घोषणा गरी सहयोग गर्न र निर्णायक संयोजकका लागि हस्ताक्षर पठाइदिन अनुरोध छ । 

उत्कृष्ट ११ मा पुग्न सफल सहिद सन्दर्भ प्रतियोगी लघुकथा वर्णानुक्रम अनुसार निम्न छन् । 
१. लघुकथा (प्र) - खोजी ✍️ पं .ज्यो.तोयनाथ सुवेदी
२. लघुकथा (प्र)- उत्तरकाे प्रश्न ✍️धिरज बराल
३. लघुकथा (प्र)- स्मृति  ✍️नानि भारद्वज 
४. लघुकथा (प्र)- शहीद  ✍️पदमप्रसाद दाहाल 
५. लघुकथा (प्र)- कराही, कसौँडी र कुर्सी  ✍️प्रेम घिमिरे 'अग्निकवच’
६. लघुकथा (प्र)- सहिद एकता ✍️रामप्रसाद पन्थी
७. लघुकथा (प्र) - विमर्श  -शारदा दहाल (भण्डारी )
८. लघुकथा (प्र)- नक्कली सहिद ✍️शुक्रराज कुँवर
९. लघुकथा (प्र)- सहिद ✍️रचना शर्मा
१०.लघुकथा (प्र)- अमर  ✍️रुद्र अधिकारी ‘निर्दोषी’
११. लघुकथा (प्र)- सम्मान ✍️सविता भट्टराई

श्रद्धेय डा. विदुर चालिसेज्यू,
निम्न लघुकथा हेरी कुनै १ लाई सर्वोत्कृष्ट घोषणा गरी सहयोग गर्न र निर्णायक संयोजकका लागि हस्ताक्षर पठाइदिन अनुरोध छ । 

000


१. लघुकथा (प्र) - खोजी ✍️ पं .ज्यो.तोयनाथ सुवेदी
   " नरोऊ,आँखाको आँसु पुछ्ने कोही छैन"आवाज आयो।
"पीडाका पहाडहरूलाई बाँधेर मनभित्र राख ;किनकि  अरूका
अगाडि  देखाएर केही हुँदैन ।यो स्वार्थी समाज हो,यहाँ निस्वार्थीले त मूकदर्शक भएर बस्नू बाहेक अरू केही छैन।"
उसले थप्यो।
"सिमारक्षा र राष्ट्रियताका विषयमा लड्नु पर्थ्यो,यहाँ त आफू
र आफ्ना लागि लड्ने पो सहिद भएका रहेछन्  त?" कुरा थपियो।
"छोड्दिनुस् ,सत्यसेवा सुरक्षणम् लेखिएका देवालहरूमा अडेस
लागि  गजबार भएर बस्ने पो देशभक्त रे त?" उनले थपिन्।
देशलाई छातीमा सजाउन खोजी, मेरो देशलाई आँखामा राखेर 
काम गर्ने,सौदाबाजी नगर्ने देशभक्तलाई ल्याइदिने अठोटले ऊ
माथेमा.. थापा.. चन्द ..श्रेष्ठ  भन्दै अलप भयो। समाप्त।।
                                                     २०८०/१०/१६
२. लघुकथा (प्र)- उत्तरकाे प्रश्न ✍️धिरज बराल                                                                                                                'सहिद काे परिभाषा लेख।' एउटा प्रश्न याेपनि साेधिएकाे थियाे परीक्षामा।  उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा शिक्षक धर्मभक्तले यस प्रश्नमा परिक्षार्थीले भिन्नभिन्न उत्तर लेखेकाे पाए।                                                                                         ....."विभिन्न आन्दाेलनमा सुरक्षाकर्मीकाे गाेली लागेर मर्नेलाई सहिद भनिन्छ।"                                                            "आन्दाेलनकारीकाे आक्रमणबाट मर्ने सुरक्षाकर्मीलाई.....।"                           "दलहरुबीचकाे लुछाचुँडी र लडाइँमा ज्यान गुमाउनेलाई....।"                                             "न्याय खाेज्दा खाेज्दा न्याय नपाएर मृत्युुवरण गर्न बाध्य सर्वसाधारणलाई....।"                                                           "टिपर (ट्रक) ले हानेर मारिनेलाई...।"                                                                 "सडक र हवाई दुर्घटनामा ज्यान गुमाउनेलाई....।"  आदि आदि।                                  सबै परिक्षार्थीका उत्तर धर्मभक्तले गहिरिएर पढे र ती सबैलाई पाँचमा पाँच समान अंक दिए।                                                         परीक्षाफल प्रकाशित गर्ने क्रममा उनकाे परीक्षणमा ठूलाे प्रश्न उठ्याे।  अपव्याख्या गरेर परीक्षण गरि अनुचित अंक दिएकाेमा उनलाई शिक्षा कार्यालय बाेलाइयाे र स्पष्टीकरण साेधियाे।                                                उनले स्पष्टीकरण दिए।                                                       "महाेदय, प्रश्नले खाेजेकाे उत्तर अधिकांश  परिक्षार्थीहरुबाट भिन्नभिन्न र नयाँनयाँ आउँछ भने  मेराे विचारमा त्याे उत्तरमा हैन प्रश्नमै विचारविमर्श गरिनुपर्छ । त्यस परिस्थितिमा प्रश्न नै गलत छ या पाठ्यक्रम बाहिरकाे छ भन्ने मानेर परिक्षार्थीलाई पुरै अंक दिनु न्यायाेचित ठहर्छ। पच्चीस वर्षको मेराे अनुभवले मलाई यहि नै  सिकाएकाे छ। मेराे कुराे याे, बाँकि त यहाँहरुकाे कुरा! धन्यवाद! धर्मभक्त।"                                                                                   धिरज बराल, काैशलटार, भक्तपुर
+++

३. लघुकथा (प्र)- स्मृति  ✍️नानि भारद्वज 

  मोबाइलमा निकैबेर घण्टी बजेपछि फोन उठाएँ र सम्वाद यसरी भयो,
 "हेलो !"
" हेलो, मलाई चिन्नु भो ?"
" चिनिन त मैले !"
 " म क्या ,तपाईं सानो छँदा तपाईंको घरमा बुवालाई भेट्न  आइरहन्थें नि !"
" ए , कमरेड पो बोल्नु भाको हो ?"
 " हो त !"
  " हजुर त अहिले मन्त्री पो हुनुभाछ रे हो !"
  "हो !"
  " ए बधाई दिन पनि मेलो पाइन, ढिलै भएपनि बधाई छ हजुरलाई।"
     "धन्यवाद बाबू , तपाईंको बुवा क्रान्तिकारी विचार र  ब्यवहारको अति नै धनी हुनुहुन्थ्यो ।"
  " म त सानै थिएँ अलिक मेसो पाउँदिन हजुरलाई नै थाह होला, कति कामले पो फोन गर्नु भो ?"
 " तपाईं भोलि यहाँ आउनुपर्‍यो ।"
 " किन होला हजुर ?"
" हामीले शहीद परिवार सम्मान  कार्यक्रमको आयोजना गरेका छौं।"
" आउन त गाह्राे छ हजुर !"
 " जसरी पनि आउनु न ल !"
" भोलि नै आउन त असम्भव छ हजुर !"
" म मेरो गाडी पठाइदिन्छु आउनस् न ! "
" माफ गर्नुहोला हजुर, म यहाँ खाडीमा जान विमानस्थलको लाममा बसेको छु।"
बुधबार ३ माघ २०८०
विराटनगर , म‍ोरङ्ग।
+++

४. लघुकथा (प्र)- शहीद  ✍️पदमप्रसाद दाहाल 
         " ए  साँल्दाइ ! सुन्नुभयो ? "   
" मैले केही सुनेको छैन । राम्रो कुरा हो कि खराब ? " साँल्दाइले प्रतिप्रश्न गरे । " ल ! त्यो हामीसँग पढ्दाको साथी नरेश  नि ! " 
" के त खुलस्त पार न ! " साँल्दाइ हतारिए । "अँ ! शहीद  दिवसको कार्यक्रम मनाउन जाँदै गर्दा बाटैमा गाडी दुर्घटनामा परेर सकिएछ । "    " ला ! अनि ?" 
          " त्यसपछि त  सारा गाउँलेहरू मिलेर आन्दोलन गरे । शहीदको कार्यक्रममा गएको मान्छेलाई सरकारले शहीद घोषणा गर्नैपर्छ नत्र यो बाटो खुल्न दिँदैनौं भनी सबै गाडी जाम गराए । सारा मानिसको जीवन सकसमा पर्यो ।सरकारले वाध्य भएर नरेशलाई शहीद घोषणा गर्यो । परिवारलाई दस लाख थमायो ।  " तर !!"
          "तर के ?"  साँल्दाइले चकित भएर सोधे । हर्कले लामो सुस्केरा फाल्दै भने,-" तर त्यो शहीद घोषणा गरिएको नरेशले स्वर्गको शहीद घरमा ठाउँ पाएनछ । उसको हंसले प्रत्येक आन्दोलनकारी र सरकारको कानमा भन्यो रे ! " स्वर्गमा शहीद हरूले हाम्रो अपमान गर्न आएको भनी खेदाए । मेरो आत्मा भड्किरहेको छ । हे ! मूर्ख सरकार ! दुर्घटनामा परेका , लुटपाटमा मारिएका जस्ता व्यक्तिलाई शहीद घोषणा नगर । शहीद हुनलाई त देश र जनताको भलाइका लागि काम गर्दै गर्दा मारिएका व्यक्ति पो हुनुपर्छ त ! "
     २०८०/१०/८
+++

५. लघुकथा (प्र)- कराही, कसौँडी र कुर्सी  ✍️प्रेम घिमिरे 'अग्निकवच’

आफू हेपिएको अनुभूति हुँदा जसको पनि मन कुँडिन्छ। ‘काम परून्जेल भाँडो काम सकिएपछि ठाँडो’ भने जसरी कुनामा घोप्ट्याइएका कराही र कसौँडी पनि मूल्यहीन बन्नुपरेको बिलौना गर्दै थिए।
कराहीले भन्यो- “ ढिँडो ओडाल्न,तरकारी पकाउन,दुध तताउन म नभै हुँदैनथ्यो। पहिले-पहिले त मलाई  घोटीघोटी मस्काएर सफा पारेर प्रयोग गर्थे। हिजो आज त वास्तै गर्दैनन् बा!”
कसौँडीले भनी- “ हो त दाई! मलाई त झन् घरमुलीले खाने मिठो-मसिनो चामलको परिकारहरू, दाल, खिचडी पकाउन प्रयोग गर्थे। पिताम्बरीले  मस्काएर पहेँली बनाएर चौकोमा सजाउँथे। हिजो-आज त यही कुनामा घोप्ट्याएर राखेको दशकौं बितिसक्यो। वर्षमा एकदिन सुम्सुम्याउन आउँछन् बस त्यति हो।”
“ हेर बहिनी! अझै हामी चुपचाप सहेर बस्ने हो भने त एकदिन पत्रु बनाउलान् जस्तो छ। त्यसैले अब सहेर नबसौँ ” भन्दै कराही कसियो। कसौँडीले पनि सहमति जनाई। दुबै अधिकार खोज्न कुर्सी कहाँ गए।
सबै कुरा सुनिसकेपछि कुर्सी मुस्कुराउदै बोल्यो - “ हिजो पिर्का र गुन्द्रीमा बस्नेहरू आज सोफा र घुम्ने कुर्सीमा बस्छन्। ढिँडो र गुन्द्रुक खानेहरू भुजा ज्युनार गर्छन्। हिजो तिमीहरूसँग मिलेर सिंहासनको बिरोध गर्नेहरू आज त्यही सिंहासनमा विराजमान भएकाछन्। मैले गुन्द्री र पिर्कालाई शहीद बनाएँ। कुकर र फ्राइप्यानहरूले पनि तिमीहरूलाई शहीद बनाए।”
कुर्सीको कुरा सुनिसकेपछि कराही र कसौँडीको घैँटोमा घाम लाग्यो। आफूलाई वर्षमा एकदिन सुम्सुम्याउन आउनुको कारण थाहा पाएपछि आ-आफ्नो कुनामा गएर शहीद दिवस पर्खँदै बस्न थाले।
                            -0-
८ माघ,२०८०
बर्दिबास, महोत्तरी।
+++


६. लघुकथा (प्र)- सहिद एकता ✍️रामप्रसाद पन्थी
स्वर्गमा नेपाली सहिदहरूकाे गाेष्ठी चलेकाे थियाे । गाेष्ठीकाे अध्यक्षता प्रथम सहिद लखन थापाले गरेका थिए । उक्त गाेष्ठीमा सहिद यज्ञबहादुर थापाले कार्यपत्र प्रस्तुत गरे -" अध्यक्ष महाेदय ! सहिदहरूकाे परिभाषा गर्नु चुनाैतिकाे विषय हाे । अनुसन्धान गर्दै जादा मैले दुई किसिमका सहिदहरू फेला पारें ती हुन -
१. आफू मर्छु भन्ने थाहा पाएरै देश र जनताका लागि जीवन बलिदान दिने ।
२. मर्छु भन्ने नलागी आन्दोलनमा लागेका तर अरूकाे लहलहैमा लागि आवेग वा उत्तेजनाबाट प्रेरित भई जीवन गुमाएका ।
यसबीचमा सहिद भीमदत्तले आफ्नाे विचार व्यक्त गरे - विशेष गरी नेपाल एकीकरण , अंग्रेजसँगकाे युद्द , निरङ्कुश राणाकाल ,प्रजातान्त्रिक आन्दाेलन हुँदै गणतन्त्रको लागि जीवन उत्सर्ग गर्नेहरू मुख्य रूपमा सहिद हुन् भन्ने मेरो बुझाइ हाे । "
दुर्गानन्द झालेले थपे - सहिद भीमदत्तले भन्नुभएकाे कुरा बिलकुल ठीक हाे । सरकारले जथाभावी सहिद घाेषणा गर्दा वास्तविक सहिदहरूकाे इतिहास नै ओझेल परिसक्याे ।"
पण्डित नारायण पाेखरेल जुरूक्क आसनबाट उठ्दै भने - साथीहरूले ठीक भन्नुभयाे । मेरै कुरा गर्नुपर्दा धार्मिक प्रवचन गरिरहेकाे बेला मलाई अज्ञात समूहले गाेली ठाेक्याे । पछि मलाई धार्मिक सहिद घाेषणा गरिएछ । मलाई याे पदवी भारी भइरहेकाे छ । "
टंक प्रसाद आचार्यलाई पनि अघिदेखि खसखस लागिरहेकाे थियाे । उनले भने - अध्यक्ष महाेदय ! मलाई पनि जिउँदै सहिद भन्ने गरिन्छ । यहाँहरूलाई थाहै छ । म त धर्मराज, शुक्रराज, दशरथचन्द र गंगालालजी सँगै मर्न चाहन्थें । तर मेराे भाग्यमा त्याे अवसर लेखेकाे रहेनछ ।आज सहिदलाई कित्ता कित्तामा विभाजन गरेकाे देख्दा चित्त दुःखेर आउँछ । "
सहिद रत्नकुमार बान्तबाले हात उठाउँदै आफ्ना कुरा राख्ने अनुमति मागे । उनले भने - " अरूले झुण्डाएका , आफै झुन्डिएका , ढुङ्गाले थिचेका , गाडीले मिचेका , गाेली लागेका र खाेलामा हाम फालेका सबै कसरी सहिद हुन सक्छन् ? "
अर्का एकजना सहिदले असहमति प्रकट गर्दै भने - " काे कसरी सहिद भयाे ? मुख्य विषय हाेइन । सरकारले घाेषणा गरेपछि सबै सहिद हुन् । सहिदहरूमाथि भेदभाव गर्न पाइदैन । भयाे भने यहाँ विद्राेह हुन्छ । "
कार्यक्रमकाे समापनमा गाेष्ठीकाे अध्यक्षता गरिरहेका लखन थापाले भने -" सबै साथीहरूका कुरा सुनियाे । उठेका विषयहरूका सम्बन्धमा गहिराे अनुसन्धानकाे आवश्यकता देखियाे । अहिले सहिद दिवसलाई भव्य रूपमा सफल पाराैं । यति भन्दै आजकाे गाेष्ठी यहीँ अन्त्य भएकाे घाेषणा गर्दछु । सहिद एकता जिन्दावाद । धन्यवाद ।"
२०८० । १०।०६
रेसुङ्गा नगरपालिका २, गुल्मी
+++

७. लघुकथा (प्र) - विमर्श  -शारदा दहाल (भण्डारी )
"लासमाथि फूल राख्दैमा सहिदको सपना साकार हुन्न हजुर ! ...." सहिद सप्ताह चलिरहेको बेला विरहको सारङ्गी  समेत बजाउँदै  केही सालिकहरु गाउन थाले ।
"यस्तो विरह नगाऔं न !यति कमजोर होइनौं क्या हामी । उपलब्धि छ नि!  एउटा बोल्यो।
"देख्यौ उपलब्धि ग्वाँठ हो ! सहिद दिवस भनेर सबैलाई बोध गराउन  एकदिन सार्वजनिक विदा त दिएनन्।" दोस्रो  आक्रोशित भयो।
"हो नि ,कुनै चाकडी गरेनन् क्यारे हाम्रा सन्तानले ! नत्र त सार्वजनिक विदा गरी सहिद सम्मान भनेर आइहाल्थ्यो नि राष्ट्रिय समाचारमा मात्रै नभएर मोफसलमा पनि ।"अर्कोले थप्यो।
"होइन साथी हो, हामी खुशी हुनुपर्छ नि! सुशासन र समानताको नारा घन्किएको छ। सार्वभौमिकता र स्वतन्त्रताको बिगुल बजेको छ।   ब्यबस्था परिवर्तन भएको छ। यो प्राप्ति  चाहिँ  मामुली हो र?"शिरको सालिकले भन्यो।
वास्तविकता त यही हो भन्ने मनन गर्दै  उनको कुरामा  सबैले समर्थन गरे। र  "देशले रगत मागे वलि मलाई चढाउनू .......!"  भन्ने गीत एकैसाथ  गाए।
                           २०८०/१०/१६ 


+++
८. लघुकथा (प्र)- नक्कली सहिद ✍️शुक्रराज कुँवर
          सहिद गेटमा झोक्राएर बसिरहेका चार सहिदहरुलाई सिरानमा रहेका राजा त्रिभुवनले भने - " के भयो तिमीहरुलाई ? आज सहिद दिवस, सहिद सप्ताह मनाइरहेका छन् । तिमीहरु भने घोसे मुन्टो लाएर बसिरहेका छौ ।"
          सहिद मध्ये एकले भने - " हाम्रो नूर गिरेको छ महाराज । हाम्रो अवमूल्यन भयो । एकपटक टुँडिखेल तिर नजर होस् ।"
          टुँडिखेलमा लहरै लाशहरु राखिएका थिए । एउटा अमुक पार्टीको राजनीतिक स्वार्थमा भएको कथित आन्दोलनमा उनीहरु सरकारी पक्षबाट मारिएका थिए । अमुक पार्टिले उनीहरुलाई सहिद घोषणा गर्न सदन र सडक दुबै तताइरहेका थिए ।
          टुँडिखेलमा राखिएका लाशहरु मध्ये एउटा लाशले अर्को लाशलाई भन्यो - "ओइ ? सुन् त ! हामीहरुलाई सहिद घोषणा गरे ?"
          दोस्रो लाशले भन्यो - " घोषणा त भइहालेको छैन तर घोषणा हुने पक्कापक्की छ ।"
          " अनि ? हाम्रो परिवारलाई दस लाख दिने भए त ? " पहिलो लाश झनै उत्सुक भयो ।
         " त्यसको लागि पनि नेताहरुले ' बार्गेनिङ ' गरिराछन् ।" दोस्रो लाशले आश्वस्त पार्दै भन्यो ।
          उनीहरुको वार्तालाप सुनिरहेको तेस्रो लाशले भन्यो - 
" दस लाख नदिने भए 'सहिद' घोषणा नगरे पनि हुन्छ । भनिदिनु नेताहरुलाई ।"
२०८०/१०/०५
बलभद्र पथ धरान १०
+++

९. लघुकथा (प्र)- सहिद ✍️रचना शर्मा
"मेरो छोरोले केहीछिन अघि मृत्युवरण गर्‍यो, अब यसलाई सहिद घोषणा गर्दिनु पर्‍यो हजुर !" उसले आफ्नो पार्टीको अध्यक्षलाई सुनायो ।
"मानसिक स्थिति गुमेको अपांग, त्यसैमाथी छारे रोगले लखतरान ! हिँड्दा हिँड्दै बाटोमा पल्टिएर मरेको तिम्रो यस्तो छोरोलाई सहिद घोषणा गर्ने ? देशको लागि के गर्‍यो यसले? सहिद घोषणा गर्दा पत्याउलान् र जनताले ?" अध्यक्ष कड्केर बोले ।
"देशको लागि नगरेर के भो त, तपाईंको लागि त धेरै गरेको छ नि यसले !" उसले ढुक्क भएर भन्यो ।
"के गर्‍यो र त्यस्तो साहसी काम ?" अध्यक्षले जिज्ञासा राखे ।
उसले यताउती हेर्‍यो र बिस्तारै भन्यो, "ल.., बिर्सनु भो ? त्यत्रा किशोरीहरूको बलात्कार , अपहरण र हत्या गरेको तपाईंको छोरोलाई यसैले बचाएको होइन ?"
२०८०/१०/०५
++++
                             मोरङ।
+++
१०.लघुकथा (प्र)- अमर  ✍️रुद्र अधिकारी ‘निर्दोषी’
“तिमी को हौं ? किन यती चाडैं आएको ?” चित्र गुप्ताले लखनलाललाई सोधे।
लखनलालले जवाफ दिए “म मेरो खुशीले कहॉं आएको हो र प्रभु ? अझै के के गरौंला भन्ने थियो ! कालले उमेर नै नपुगि टपक्क टिपेर ल्याए पछि, के सिप लाग्दो रहेछ र?”
“काललाई किन दोष लगाउँछौं ? गोलि चल्न सक्छ भन्ने जान्दा जान्दै किन आन्दोलनमा गएको त?” चित्र गुप्ताले प्रश्न सोधे ।
लखनलालले जवाफ दिए “म आन्दोलनमा कहॉं गएको थिए र ? पसलमा चिया पिउँदै गर्दा गोली लाग्यो ? पुलिसले आन्दोलनकारीलाई, आन्दोलनकारीले पुलिसलाई दोष लगाए । त्यस पछि आन्दोलन झन चर्कियो । मेरो लासको आडमा राजनीति भयो । आन्दोलनकारीले मलाई सहिद घोषणा गर्न लगाएर सरकारलाई घुँडा टेकाएरै छाडियो भने। मेरो परिवारलाई दुई चार हजार दिएछन । यसरी म सहिद भएर आएको प्रभू “
चित्र गुप्ताले लामो सुस्केरा हाल्दै चिन्ता ब्यक्त गरे “खै पृथ्वी लोकमा, निर्दोषको ज्यान लिने र सहिदको नाममा गरिने राजनीतिको अन्त्य कहिले होला?”
ईटहरी, सुनसरी (हालः लन्डन)
बिहिबार, माघ ४, २०८०
*******************
११. लघुकथा (प्र)- सम्मान ✍️सविता भट्टराई
"हाम्रा शहीद अमर रहुन।जिन्दाबाद ।जिन्दावाद।"सडकमा हिँडेको मानिसको हुल झ्यालबाट दस वर्षीय शुशिल हेरि रहेको थियो। ऊ दगुरेर आमानिर आयो र सोध्यो" आमा !शहीद भनेको के हो?
  आमाले शुशिल लाई नजिकै ल्याएर भित्तामा झुन्ड्याएको शहिदहरुको फोटो देखाउँदै भन्नुभयो।"हेर बाबु!आफ्नो देशको हक हितको लागि दिन रात न भन्ने अन्त्यमा देशकै लागि आफ्नो ज्यान समेत बलिदान गर्ने सुपुत्रलाई नै शहीद भनिन्छ।"बुझ्यो?हामीले सहिदलाई सधै सम्मान गर्नु पर्छ।
 केहीबेर पछि शुशिल आमा सँगै टुँडिखेल गयो।त्यहाँ शहीदको परिवारलाई सम्मान गरी केही नगद पुरस्कार सहयोग गर्ने कार्यक्रम थियो।
 केहीबेर पछि शहीद सम्मान भनेर नरेको परिवार लाई सम्मान गर्ने घोषणा गरियो। नरे आफ्नो गाउँको सब भन्दा बडमाश कुलतमा लागेको ,गैरकानुनी गर्ने व्यक्ति प्रहरी लाई आन्दोलनको बेला ढुङ्गा हानेर भाग्दा प्रतिकारमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो। पछि शहीद घोषणा भएपछि मात्र उसको दाह संस्कार भएको थियो।
शुशिल छक्क पर्दै आमा तिर हेर्दै भन्छ।आमा यो पनि सहिद हो ?आमा निशब्द हुनुभयो।
+++

Thursday, February 1, 2024

All for new story लघुकथा– निसराउ ✍️नन्दलाल आचार्य

लघुकथा– निसराउ
✍️नन्दलाल आचार्य
‘यस पाला त मनग्यै निसराउ कुम्ल्याइस् होला नि !’ पार्वतीले सखी सरस्वतीलाई घोची ।
पहिले सरस्वती उज्याली थिई तर त्यसबेला अनुहारमा फुलेको गुलाफ भने मुर्झाएको थियो ।
‘दाल, चामल, पैसा त पर्याप्त थिएन मेरा बाबुसँग । भएको सबैलाई छुने कुरा आएन । नगन्यलाई छुँदा नगन्य मात्रै हात प¥यो ।’ पार्वतीले नै आफ्ना बारेमा फलाकी ।
सरस्वतीले सम्झी– सरसमान ठीक पारेर पोक्याई बाबु माघी नुहाउन गएको । आफूले घरमा भएको दाल, चामल, पैसा, चाँदी, सुन सबै त्यही पोकामा हालेको । बाबु आई पोको छोए्र आफूलाई दक्षिणास्वरुप निसराउ दिएको । साँझमा खाना पकाउन खोज्दा आमाले सबै षडयन्त्र थाहा पाएको । संकोचले आफ्नो अनुहार कालोनीलो भएको ।
माघी पर्व मान्न माइत गएर निसराउ लिएर फर्केका थिए ती दुबै सखीहरू । पार्वतीको जिद्दी सामु सरस्वती हायलकायल हुँदै आफ्नो आन्द्राभुँडी सबै देखाइदिई ।
‘अनि तेरा बाबु रिसाएनन् त ?’ पार्वतीले जिज्ञासाको भारी बिसाई ।
जवाफमा सरस्वतीले मुख खोली– बाबाले मायालु पाराले खबरदारी गर्दै सिर्फ यत्ति भन्नुभयो; ‘आइन्दा संस्कृतिमा लोभ पसाएर विकृति निम्त्याउनुहुन्न नि छोरी ।
२०८०.१०.०१ (माघे संक्रान्तिको सबैलाई शुभकामना)
०००
लघुकथा- लायक 
~नन्दलाल आचार्य 
  दस वर्ष पुरानै परीधानमा रामचा आज फर्केको  देखेर निराश भए उसका बाबु ।  
 बाबुका आँखामा उहीँ तस्बिर घुमिरह्यो । लेखपढमा बन्दै ध्यान नदिएको र कामकाज गर्न भनेपछि दाँतबाट पसिना छुटाएको कारण रामचा बहिष्कृत भएको थियोे बाबुको संविधानबाट । 
"मान्छे भएसी कि गरेर खानुपर्छ कि मरेर जानुपर्छ ।" घरबाट गलहत्याउने बेला यसै भनेका थिए बाबुले । 
रामचाले पनि आँखामा बारिएको दहको डिल भत्काएर दह आधा पारेको थियोे । आधा भने आँखाभित्रै पचाएर निस्केको थियोे । 
 आमाबाबुको काख छाडेपछि र घरको छहारी नभेटेपछि रामचाले आफ्नो बानीमा पनि रूपान्तरण गरेको थियो । दृढ सङ्कल्पलाई साथी तुल्याएको थियो ।  मन जाँच्न सुरक्षित राखेको कपडा पहिरेर  बाबुको सामु खडा भएको थियोे ।
"अझै हामी श्वासप्रश्वास गर्दै छौं । उस्तै हालतमा के खान फर्केको ?" मुटुको किलो बलियो गरी ठोक्दै बाबुले भने । 
आफूलाई नचिनेकोमा रामचा झन खुशी भयो । छोराको दिमाग खुस्केछ भनी बाबु अत्तालिए ।
 "उहिलेको रामचा मरिसक्यो; म त अहिलेको रामचा हुँ बुबा ।" रामचाको बोली सिद्धिन नपाउँदै  आठ जना भरियाले दलानमा भारी बिसाइसकेका थिए ।
 २०८०-०९-१८

(सन्दर्भ– विवाह पञ्चमी)
लघुकथा– घरज्वाइँ
–नन्दलाल आचार्य
‘समयमै आएर काममा सघा है नरे माइला !’ छिमेकीले बिहेको निम्तो दिँदै आग्रह गर्यो ।
भन्ने बेलामा भइहाल्छ भनेँ । छिमेकी आँखाबाट ओझल पर्नासाथ सम्झेँ– छोराछोरी भएनन् भनेर उसले सधैं हामीलाई भनेको । धर्म पुत्रपुत्री बनाई पाल्छु भन्दै अरूका सन्तान ल्याएको । दुईचार दिन बस्नासाथ खुच्चिङ भन्दै हिँडेकोे । 
बेलाबेलामा उसकी पत्नी समेत हामीकहाँ आएर गुनासाको धोक्रो ठड्याउँदै पिलपिल आँसु झार्थी । मुख खोल्न नसकेर मात्रै हो नत्र मलाई नै धर्म पुत्रका रूपमा पाल्छु भन्थी ।
उसको घरमा बजेको पञ्चेबाजाले मन अडिन सकेन । उतै काम सघाउँछु, उतै खान्छु भन्दै गएँ । कामधाम सकेँ । घरभरि पाहुना थिए । न बेहुली थिई न बेहुलो । स्वादिष्ट भोजन पचाउन बेहुलाबेहुलीलाई दक्षिणा दिनुपर्छ भन्दै खोजिहेरेँ । अहँ भेउ पाइनँ ।
‘ए काका; खै त बेहुलाबेहुली ?’ मेरो कुरा सुनेर छिमेकी मुसुक्क हाँस्यो र भन्यो; ‘उत्तिखेर संसारसँग छोराछोरी मागेँ; पाइनँ । हारेपछि आफ्नै मनसँग मागेँ ।’
उनको बाङ्गो कुरा सुनेर मैले टाउको समाएँ ।
उनले तुरुन्तै आफ्नै घरको छतमा बनाएको सीताराम मन्दिरतिर देखाउँदैै भन्यो– ‘आफ्नै मनले मलाई छोरी मात्रै दिएन; घरज्वाइँ नै दियो ।’
२०८०–०९–०१ (विवाह पञ्चमी) सिर्जनाकुटी, सिरहा ।
लघुकथा– लीला
–नन्दलाल आचार्य
‘तेरो लीला अपरम्पार छ प्रभु !’ मन्दिर परिसरबाट नारी स्वर सुनियो ।
म मन्दिर गेटमै टक्क उभिएँ । हातमा बैँक चेक बोकेको थिएँ । तिहार मुखमा थियो । बैँक पुग्न हतारिएको थिएँ । मन्दिरमा साधुहरू मात्रै देखेको थिएँ ।
भित्र पसेँ । ती नारी भन्दै थिइन्– ‘तँलाई पाउन कत्रो तपस्या गरेँ । मेरो तपस्याबाट प्रसन्न भएर मैले तँलाई पाएँ । शुरुमा त मेरो बढ्यो । पछिपछि तेरो खुशी बढ्न थाल्यो । मेरो घट्न पो पुग्यो । तँ महल चढिस् । म सडकमा ओर्लिएँ । नियम र नियति यस्तै रहेछ केवल मेरा लागि ।’
‘आमै, प्रभुको घर त बलियो हुन्छ । हामी त कफलोमा पनि रात कटाउन सक्छौँ ।’ मैले सम्झाउने नियतले भनेँ ।
उनले नजाने गाउँको बाटो नसोध भनेर मेरो मुखमा ठेडी कोचिन् ।
प्रभु भनेर कुनै भगवान्को फोटासँग बह बिसाउँदै छिन् भन्ठानेको थिएँ मैले । आमैको सामुमा उनकै पुत्रको ठूलो तस्विर ठड्याइएको थियो । उनकै एक मात्र पुत्रको नाम पो लीला रहेछ जसले उनलाई सडकमा फालेको रहेछ ।
२०८०.०७.०३ सिर्जनाकुटी, सिरहा ।

(सन्दर्भ– संविधान दिवस)
लघुकथा– विधान
–नन्दलाल आचार्य
‘पायौँ, पायौँ । हामीले सर्वस्व पायौँ ।’
सत्ताधारी रातो कमिलाले उफ्रँदै खुशी मनायो ।
‘के पाइस् तैँले ? दशैँ नै पल्टेजस्तो छ नि ?’ नेपथ्य पात्रले प्रश्नको घोचो उठायो ।
– पाएँ, पाउँछु र पाउने छु ।
– गुमाएको फर्काउने छु ।
– पाउने ढोका खोल्ने छु ।
– अरुलाई दिन्छु र दिलाउँछु ।
– सुशासन र सुव्यवस्था कायम गर्ने छु ।
रातो कमिलो आफ्नै बखान गरेर थाकेन । कुरैकुरामा कमिलाले आफ्नो जातै बिर्सेर अहङ्कार छाद्यो । सुन्न सक्नेले कान थापेर सुने । नसक्नेले कानमा रुई कोचे । नेपथ्य पात्र हरायो । वातावरणमा सन्नाटा छायो ।
तत्कालै सन्नाटा चिरेर कोलाहल मच्चियो । अश्रुग्यास र गोली सडकभर छरिए । वातावरण सन्त्रासमय भयो । चिच्याहट र क्रन्दनको राज्य आयो । सडक बल्न थाल्यो । धुँवाको मुस्लाले संकटको युद्ध छेड्यो । राता कमिलाहरूको मुहारबाट आभा हरायो ।
नेपथ्य आक्रोश सडकभर छरियो– तैँले विधान पेवा बनाइस् । ‘सं’ बिनाको ‘विधान’ ले हामीलाई समेट्न सक्तैन ।
२०८०–०६–०३ संविधान दिवस, सिद्धार्थटोल, उदयपुर ।

लघुकथा– सुपाडी
–नन्दलाल आचार्य
‘प्रभु, मेरी आमालाई भवसागरबाट उतार्नुस् ।’ बजारबाट आएका दुई जना पसल मालिकले मेरा सामु हात जोडे ।
म मामुली ग्राहक थिएँ उनीहरूको । सामान किन्दा दश रुपियाँ पुगेन भने बाँकी राख्न खोज्दा उनीहरू मान्दैनथे । चारैतिर महंगी बढ्यो भन्दै पुरानो सामान पनि बढेको नयाँ भाउमा किन्न वाध्य पार्थे । तिनै मानिसहरू एकाबिहानै मेरो द्वारमा खडा भएर गिडगिडाइरहेका थिए ।
‘हजुरले एस मात्रै भनिदिनुस्; मेरी आमाले राहत भेट्नुहुन्छ ।’ सानो मालिकले जिद्दी ग¥यो ।
‘म शिक्षाशास्त्र पढेको र साहित्यमा एकाध कुरा जानेको मान्छे हुँ । मसँग कसैको च¥याइरहेको घाउमा मलहमपट्टी लगाउने ज्ञान फिटिक्कै छैन । किनभने म डाक्टर हैन ।’ मैले पन्छन हरसम्भव प्रयत्न गरेँ ।
उनीहरूका अनुसार–
–मैले ‘हुन्छ’ भन्दिनु प¥यो ।
–बोली पूरा गर्ने कसमस्वरूप सुपाडी लिनुप¥यो ।
–उनीहरूले भनेको बेला, भनेको ठाउँमा पुगेर साक्षी भई दिनु¥यो ।
अबदेखि सही मूल्यमा नै किराना सामान देलान् कि भनेर हुन्छ भनिदिए । सुपाडी थम्याएर उनीहरू अन्यत्र लागे । छोरीहरूले पसले अंकलले दिएको सुपाडी भन्दै बाँडीचुँडी टोक्न थालिहाले । म हेरेको हे¥यै थिएँ ।
‘श्राद्ध भोज ग्रहण गर्दिनँ, यो प्रथा हट्नुपर्छ भनेर तपाईंले बजाएको मादलको आवाज अहिलेसम्म सुनिँदै छ । मिठो पाउने भएपछि सुपाडी लिएरै निम्तो स्विकार्नुभयो हैन ?’ पत्नीको बोली सुनेर मेरो शरीरमा करेन्ट लाग्यो ।
म सुपाडीविहिन कागज च्यापेर पसलेहरू गएतिर दगुरेँ ।
२०८०–०५–२३ शनिबार, सिद्धार्थटोल, उदयपुर ।
०००

(सन्दर्भ– लुतो फाल्ने दिन)
लघुकथा– लुतो
–नन्दलाल आचार्य
‘यस्तरी मलखाडीमा के हुइक्याउनुभएको मामू ?’ प्रहरी हिरासतबाट छुटेर दलानमा टेक्तै गभर्नरले आमासँग प्रश्न राख्यो ।
‘तँ नामको गभर्नर छस् । धनमा सुधामा होस् । तर ब्यावहारमा सुधामाझैँ सज्जन भइदिएको भए मेरो मुटु किन दुई फ्याक हुन्थ्यो ?’
कुरकुरे बैँसमा भर्खरै उक्लेको गभर्नरले आमाको अमूर्त कुरा बुझ्न सकेन । त्यही कुरा मिठो मुखले भन्न आग्रह गर्यो । परिस्थिति अनुकूल देखाएको भए पो मुस्कुराउनू भनेर आमाले जवाफ फर्काइन् ।
‘उसो भए म जेलमै कुहुँदा तपाईंको अनुहारमा लालीगुराँस फुल्छ ? जीवन नै वसन्तमय हुन्छ ?’ क्रोधलाई दबाउँदा दबाउँदै पनि गभर्नरका मुखबाट यत्ति शब्दहरु भने बाहिर निस्की हाले ।
‘हरप्रश्नको जवाफ मेरो मुखबाट पाउन तँ मेरो कोखको सन्तानजस्तो हुनुपर्छ ।’ आफ्नो जन्म बारे आशंका राखेकोमा तोरीका फूल देख्यो गभर्नरले ।
‘तँलाई जन्माउँदैमा म तेरी आमा हुन्न ।’ आमाको आक्रोशले आशमान छुँदै थियो । गभर्नरले शब्द चुहाउनासाथ चट्याङ्गले लाग्ने अवस्था थियो ।
आफ्नो हात तल परेकोमा मनलाई थुम्थुम्याउँदै नरम बोलीमा गभर्नरले भन्यो; ‘लहैलहैमा लागू पदार्थ खान बानी परिहालेँ । सुरुआतमा खबरदारी गर्ने एउटा पनि चरोमुसो थिएन । अहिले संसार उल्टेको छ ।’
‘आफ्नै लागि मात्रै बाँच्ने स्वार्थीसँग मेरो गोरु बेचेको पनि साइनो छैन ।’ आमाको कठोर मन पोखियो ।
मनसँगै गन्थन गर्न गभर्नर व्यस्त भयो; ‘मलाई छुटाएको पनि हैन; मैरै नेताले फोन गर्देकाले खुला आकाशको छानो पाएँ । घरमा फेर्ने कपडा लगायत मेरो नामका अन्य सारा वस्तु छैनन् । मामूले अघिदेखि भुत्भुताउँदै फालेका चिजहरु के हुन् ?’
आमा दलानमा गजधम्म परेर बसिन् । गभर्नरका आँखा मलखाडीतिर हुत्तिए– आफ्ना लत्ताकपडा, जुत्ताझोला, ओड्नेओछ्याउने, नेतातेतृका फोटा र राजनैतिक दस्ताबेजहरु मलखाडीमा असरल्ल थिए !
आमातिर फर्कंदा सुन्न पायो– साँझमा लुतो फालूँला भनेको तेरो अनुहार देख्नासाथ दिउसै फाल्नुप¥यो ।
२०८०–०४–०१ साउने संक्रान्ति, सोमबारे औँसी, लुतो फाल्ने दिन ।
सिद्धार्थटोल, उदयपुर । अहिले– सिर्जनाकुटी, सिरहा ।

सन्दर्भ- भानु जयन्ती
लघुकथा– घाँसे
–नन्दलाल आचार्य
‘ए है, ए है । तपाईं त्यही अचार्ज बाजे हैन ?’ खड्ग ठाडा मगरले सामान्य तर एक्कासी प्रश्न तेस्र्याउँदा चिन्न नसकेर बाजे अल्मलिए ।
‘मेरा कुराबाट पाठ सिकेर यी बाजेले संसारलाई प्रभावित पारे । कवितामार्फत नेपाली साहित्य आकाश चम्काए । सगरमाथा जत्रो नाम कमाए । अहिले आएर म नाथेलाई चटक्कै बिर्से ।’ खड्गले आफ्नै मनसँग गथासो पोखे । झिनो स्वर ओठबाट निक्लिहाल्यो । ध्वनिका रुपमा शब्दहरु बाजेका कानमा ठोक्किए ।
बाजेले बल्ल चिने र विगत सम्झँदै भने, ‘ए खड्ग दाइ पो । तपाईंको प्रेरणा म जन्मजन्मान्तरसम्म पनि भुल्न सक्तिनँ । तपाईंको उच्च मूल्यांकन गर्दै मैले कविता लेखेको छु । मेरा कविताको भगवान् नै तपाईंलाई ठानेको र मानेको छु ।’
‘मलाई त्यत्रो उचाइ दिनुभएकै हो त ?’ अविश्वासले खड्गले प्रश्न ठड्याए ।
खड्गको सवालको जवाफ फर्काउनुको साटो बाजेले आफ्नै मनोगन्थन ओकले; ‘म साक्षरले निरक्षरबाट महान् पाठ पढ्न सक्छु भने अचेलका मान्छे चाहिँ के गर्दा रहेछन् भनेर पृथ्वीलोक घुम्न निस्केको !’
यकिन हुन खड्ग र बाजे दुबैले बस्तीतिर कान थापे । चारैतिर आफ्नै कविता गुन्जिरहेको सुनेर आपसमा मुखामुख गर्न थाले–
भर् जन्म घाँसतिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति ।


सन्दर्भ- मेरो जन्मोत्सव (असार २८)
लघुकथा- आभार
#नन्दलाल_आचार्य
आज एकाबिहानै मेरो मुहार हेर्दै उनी मुस्कुराइन् । उनको मुखबाट निस्कने बोली सुन्न मेरा कर्णविवर आतुर थिए । उनलेे बोलेपछि आभार स्वरूप 'धन्यवाद' भनूँला भनेर म मुखमा ताला झुन्ड्याएर प्रतिक्षारत् थिएँ ।
उनले यताउति गरेर समय फालिन् । मलाई मुख बन्द गरिरहन सकस पर्न थाल्यो । मनले आफ्नै मनसँग बातचितमा भन्यो; "शुभभावना व्यक्त गर्न पनि किन आइतबार पर्खेको होला मेरी अर्धाङ्गिनीले ?"
चुपचापै प्लेटमा स्याउ, अङ्गुर, फुलाएको ओखर र बदाम तयार पारिदिइन् । मुख रसायो; धैर्य गुम्यो । पोशाक लगाउँदै चवाउन व्यस्त भएँ । बिमारले गर्दा दाहिने हातले काम गर्न असमर्थ थिएँ । उनको सहयोगबिना वरको सिन्को पर पनि सार्न सक्तैनथेँ । त्यसैले उनले मलाई सर्टको देब्रे हातको टाँक र पेन्टको बेल्ट लगाउन सघाइन् ।
त्यसैबेला सिमसिम पानी पर्न थाल्योे । म हिँड्न लागेको बेला छाता मेरो देब्रे हातमा थम्याउँदै लाडेस्वरमा उनले भनिन्; "ह्यापी बर्थ डे माई डियर !"
मैले उनका कुरा एक कानले सुनेर अर्को कानले उडाएँ । हडबड गर्दै स्कुलका लागि बाहिरिँदै गर्दा मेरा कानमा उनको अर्को आवाज ठोक्किन पुग्यो- दुनियाँका छोराछोरीलाई उन्नत ज्ञान र संस्कार सिकाई राष्ट्रको सुयोग्य नागरिक बनाउने पेशा अपनाएर पनि आफ्नो मान्छेलाई आभार प्रकट गर्न किन नजानेको होला ?"
२०८०-०३-२८ सिद्धार्थटोल, उदयपुर ।
हाल- सिर्जनाकुटी, सिरहा ।
+++
लघुकथा– अन्तिम भजन
–नन्दलाल आचार्य
‘तँ लेख्छस् तर आफैँ असन्तोषी छस् ।’ मेरा क्रियाकलापलाई नियालेर नवीनले आफ्नो मनमा भएको गथासो छादिदिए ।
‘आफ्नो नाम कमाउन म लेख्दिनँ । अर्काको मन राख्न लेख्छु ।’ मैले पनि उनका सामु आफ्नो मन बगाइदिएँ ।
उनी आफ्नै जिद्दीमा थिए । म आफ्नै अडानमा अडिग भएँ । उनले मलाई शक्तिको पुच्छर सम्झे । मैले शक्तिको अनुयायी स्विकारेँ । उनले मलाई शक्तिले बनाएको फोहोर सफा गर्ने मजदुर सम्झे । मैले सबैले सफा हुनु र बन्नुपर्ने अडान राखेँ । उनले मलाई शक्तिको चम्चा भनी दर्जा दिए । मैले डाडुपैँन्यु समेत हुँ भनिदिएँ ।
‘तिम्रो हातगोडा तिम्रो साथमा छैन ।’ उनले कडा स्वरमा कराए ।
मैले भनेँ; ‘वैयक्तिक स्वार्थसिद्धका निम्ति मसँग ‘म’ नै छैन ।’
तत्पश्चात् उनी मत्थर भए । शब्दयुद्धमा जीत हात प¥यो भन्दै म मात्तिएँ । उनले खुइय गरे र लामो श्वास लिँदै भनेँ; ‘शक्तिको भजन गाउँदा गाउँदै अनुहार चाउरिएछ तिम्रो । अब भने यसैलाई अन्तिम बनाऊ ।’
२०८०.०२.२१ सिर्जनाकुटी, सिरहा ।

लघुकथा– मालामाल
–नन्दलाल आचार्य
‘आजै र अहिल्यै निर्णय गरौँ ।’ विद्यालयको टिफिनको समयमा शिक्षक रामनाथले भने ।
‘जाबो डेढदुई लाखमा बच्चाहरूको जीवन साट्न सकिन्न ।’ अभित चौधरीले पनि घुमाउरो भाषामा रामनाथकै कुरामा ल्याप्चे लगाए ।
‘बच्चाहरू त तातोचिसो खान माहिर छन् । हामी चाहिँ पाकेर प्यात्त हुन आँट्यौँ ।’ रामनाथले आफ्नो स्वार्थको पोको असरल्ल पारे ।
कुरा सुनिरहेका प्रधानाध्यापकले बीचमै भने; ‘हामी आफ्नो कि बच्चाको स्वार्थको कुरा गर्दै छौँ ?’
‘यसमा सबैको स्वार्थ मिसिएको छ ।’ रामनाथले नै प्वाक्कै मुख खोले ।
‘तपाईंहरू कक्षामा पस्नुहुन्छ र लाभ हात पार्नुहुन्छ । म बाहिरफेरो नजर लगाउँछु, मलाई खै लाभ ?’ यस पटक भने प्रधानाध्यापकले ठूलै मुख बाए ।
‘निर्णय मात्रै गर्नुस्; तपाईं अझै मालामालमा पर्नु भएन भने दुबै कान काटेर पातमा राखिदिन्छु ।’ उनै रामनाथले कुरा झिके ।
प्रधानाध्यापकको अनुहारबाट कुटिल मुस्कान छरियो किनभने हिजै मात्र इलेट्रिकल पसलको प्रोपराइटरले भनेको सम्झिए– हेडसर, स्कुलको लागि गर्मी भगाउने सामान खरिद गर्नुस् । २५ प्रतिशन कमिशनले तपाईंको पकेट पुक्क बनाइदिन्छु ।
२०८०–०२–१७ सिद्धार्थटोल, उदयपुर ।


लघुकथा- झगडा
#नन्दलाल_आचार्य
"तैंले दुलहीसँग किन झगडा गरेको ?" बुबाको सवालको जवाफमा मैले प्याच्चै भनिदिएँ; " म जे गर्न सक्थेँ, त्यही गरें ।"
"बाहिरीया रिस घरभित्र पोखेर हुन्छ त !" उहाँले पुनः प्रश्न तेर्साउनुभयो तर म बोलिनँ ।
"नबोल्नु नै प्रश्नको जवाफ हो ?" उहाँको अर्को कटाक्षको घुयेँत्रो आयो । गन्तव्यमा नपुगेर निष्क्रिय भइरह्यो ।
"झगडाको सम्राट पनि बन्ने र नबोली जित पनि हात पार्ने ?" यसो भन्दै उहाँले थप्नुभयो; "मैले हक्की छोरो पाएको थिएँ; कायर होइन ।"
मैले स्पष्टीकरणमा भनेँ; "सक्ने ठाउँमा झगडा हुन्छ; नसक्ने ठाउँमा करङ सोझ्याउन को जान्छ र ?"
बुबाले अनविज्ञ नजर मतिर तेर्साउनुभयो । मैले प्रष्ट्याउन थपेँ; "दुलहीमाथि रिस फेरेको किनभने यस पालाको बजेट भाषणमा सरकारले मजस्ता जागिरेले खाईपाई आएको भत्ता काटेछ ।"
२०८०/०२/१५ सिद्धार्थटोल, उदयपुर ।

(सन्दर्भ– गणतन्त्र दिवस २०८०)
लघुकथा– भगवान्
#नन्दलाल_आचार्य
तालुकराम एकाविहानै बैठक कोठामा पसेर पटकपटक एउटै वाक्य भट्याइरहेको थियो– ‘परमेश्वर र परमेश्वरी ! मप्रति सर्वदा कृपा वर्षाई बक्सियोस् ।’
‘जनतामाराले के भगवान्को नाम लिएको होला ?’ भैँसी दुहेर बजार पु¥याउने क्रममा सुनेर हर्कमानले मनमनै भने ।
‘अब हाम्रा नेता नम्र भए; धर्मकर्ममा लागे ।’ तालुकरामका अन्धसमर्थकहरूले प्रसंसाको गीत गुनगुनाए ।
एकाएक तालुकरामको फेरिएको जीवनशैली नजिकैबाट नियाल्न अढाई दर्जन सोझा गाउँले झिनो आशाका साथ आँगनमा खडा भए । तिनमा केही नेताकै चम्चे थिए । धेरैजसो नेताको दोहनमा परेका कंगालपति थिए । तिनीहरु जम्ला हातमा खडा थिए ।
लामो समय बैठक कोठामा विताएर मन्दमुस्कानका साथ तालुकराम बाहिरियो ।
‘अरूका भगवान् राम, कृष्ण, शिव, अल्लाह, दुर्गा, यशु केके नामका छन् । हाम्रो गाउँका भगवान् हजुर मात्रै हुनुहुन्छ । न्याय पाऊँ प्रभु !’ पीडित समूहले जम्ला हात गरी बिन्ती बिसायो ।
‘आफू त महादेव कसले देला वर ! म पनि रित्तो छु । मेरो सर्वस्व गुम्दै छ । खरबौँको बिगोदाबीका साथ अख्तियारले मेरो घाँटी दाब्दै छ । अब मुक्ति एकै ठाउँमा छ । हिँड सबैले एकसाथ प्रार्थना गरौँ ।’ यसो भन्दै तालुकरामले सबैलाई बैठक कोठामा पसायो ।
त्यहाँ पूजापाठ गर्ने सामग्री छँदै थिएनन् । देवीदेवताका मूर्ति वा फोटा कतै थिएनन् । थिए त केवल सत्तासिनहरूका ठूल्ठूला फ्रेमवाला तस्विर झुण्डिएका थिए । नजिकै अखबारको हेडलाइन असरल्ल अवस्था जिस्क्याइरहेको थियो– गणतन्त्र दिवसको अवसरमा खरबौँ घोटला गर्नेलाई आममाफी !
२०८०-०२-१५ सिद्धार्थटोल, उदयपुर ।



सन्दर्भ- मजदुर दिवस----
लघुकथा – मजदुर
–नन्दलाल आचार्य
‘चर्को घाममा बूढो मान्छे कता ?’ उमेशको प्रश्नले अधबैंसेलाई विस्मितमा जाक्यो । ऊ आफ्नो अनुहार छाम्न थाल्यो । तत्क्षण हातखुट्टामा कैफियत खोज्न थाल्यो । गह्रौं झोला बिसाई ठिङ्ग उभियो ।
‘तपाईंलाई चिन्दिनँ, तपाईंको बुढ्यौली चिन्दछु ।’ सहज हुँदै उमेशले नै थप्यो । अधबैंसेको मनमा शब्द गाँठो पर्यो । अगलबगलबाट प्रतिक्रिया आउनेमा ढुक्क थियो । कुरा काट्न कोही सामुमा आएन ।
‘नियालेर मात्र मान्छेले मान्छेलाई चिन्नुपर्छ ।’ यसपटक भने अधबैंसेको गुम्साहट बाहिरियो । ‘बाहिरीले नभ्याए भित्री आँखाले नियाल्नुपर्छ ।’ मुखमा ताला लागिरहँदा अधबैंसेले थप्यो । दयाका शब्दले ननिकोमा पार्यो उमेशलाई ।
अधबैंसेका सामु लज्जित भयो उमेश ।  अनुहारमा देखिएका रेखाले बाध्य भएछ । फुलेको केसदारीले सहानुभूति शब्द चुहाएछ । आफ्नो पल्ला हलुको भएको ठान्यो । वास्तविक बोधले सत्य बाहिरिने ठान्यो ।
‘तपाईंका अङ्गप्रत्यङ्गमा जवानी रित्तिएको देखेँ ।’ श्रमिक ठानेर उमेशले हेलैसित भन्यो । कर्ममुखी मनुष्यको गर्वबोधले अधबैंसे फुर्कियो । पाखुरी बजार्ने मजदुरको हैसियतले भन्यो; ‘तिम्रो आँखामा पो बुढ्यौली पसेछ !’
मे १, २०२३ सिर्जनाकुटी, सिरहा । २०८०.०१.१८


लघुकथा- पोको 
- अक्षान्त
"मेरो पानी समेत चल्दैन तर याे पोको मात्रै किन चलेको मालिक ?" आफ्नो पोको समाल्दै बुथर्नीले सोधी ।
"चल्ने नचल्ने समाजलाई थाहा छ । तेरो पोको  स्वादिलो छ । स्वादिलो कुरो भगवानलाई त चल्छ ।" मालिकले मुख खोल्यो । 
एकान्त स्थलको त्यो वातावरणमा उसले  बुथर्नीलाई फकायो, फुल्यायो । उसको पोको मज्जाले खोल्यो र गलगिद्ध खायो । डकार्दै उठ्यो ।
छरपस्ट पोको बटुल्दै र पेटतिर हात लगाउँदै बुथर्नीले भनी; "तर मालिक -----?"
"तरसर जान्दिनँ । पोको रित्तिएको छैन । फेरि भरिन्छ ।" मालिकले छोटो जवाफ फर्कायो ।
बुथर्नीका ओठतालु सुके । अनुहारको आभा उडेर गयो । भविष्य सम्झेर हातगोडा थरथरी काँपे ।
मालिकले उपायस्वरुप चेतावनी मिश्रित स्वर निकाल्यो; "मुखमा ताला लगाए तेरो  थैली गरम हुनेछ । जथाभावी ताला खोले तेरो शरीरले बगर ओगट्नेछ ।"
२०७९/१२/०७

लघुकथा- बेलगाम
#नन्दलाल_आचार्य 
"उहिले समयले तेरो साथ दियो किनभने काम गर्दा तँ होस् राख्थिस् ।" मेरो सकसलाई नियालेर उहाँले भन्नुभयो ।
तत्कालै मेरो निधारमा चिट्चिट् पसिना देखा पर्यो । म रातोपिरो भएँ । आँखा रसिला पारेँ ।
"हिजो चुप लाग्ने मान्छे आज उग्र हुनुको कारण झट्टै पत्ता लगा ।" उहाँले मलाई थुम्थुम्याउँदै चेतावनी दिनुभयो ।
मैले गुनासाकाे धाेक्राे खाेलेँ; "मैले काम गर्दा लगाम लगाएको निकै भयो तैपनि मृत्युले डाक्ने बेला नेलजेल भाेग्नुपर्याे ।"
"सधैं समय सुल्टो कुद्दैन । उल्टो फर्कन  पनि  सक्छ । त्यही भएको हो ।" उहाँले मलाई नै दोषी ठहर्‍याउनुभयो ।
"मैले वैयक्तिक स्वार्थको काम गरेको छैन । दोष देखिने काम गरेको छैन । तर दोषी बन्नुपर्यो ।" म‌ैले गथासो अगाडि बढाएँ ।
मेरो मुखमा ताला लाग्ने गरी उहाँले थप्नुभयो; "तेरो बोली बेलगाम भयो नि !" 
२०७९/१२/०३    रूपनगर, कञ्चनरूप-१२, सप्तरी ।

लघुकथा- चेतना 
#नन्दलाल_आचार्य 
"पक्कै कतै गल्ती भएको हाे ।" कालोनीलो मुहार लगाउँदै चन्द्रबहादुर सरले मन खाेले ।
"मत र मतदाता सामुमा छन् । मत परिणाममा चित्त नबुझे मत पुनः गणना गर्न सकिन्छ ।" प्रधानाध्यापकले पनि सहज रूपमा चन्द्रबहादुरकाे मुख थुन्ने काम गरे । 
दुई शिक्षकका यस्ता कुरा सुनेर विद्यार्थीहरू कानेखुसी गर्न थाले । 
"हामी मन खाेलाखाेलकाे अवस्थामा छाैँ । खुलेर आफ्ना कुरा राख्न मिल्छ ।" प्रअका यस्ता कुराले कक्षाकाे पहिलो विद्यार्थीले उत्साहित हुँदै भन्यो; "पचास मतमा दस मत 
चन्द्रबहादुर सरकाे पक्षमा गयो । अल्पमतकाे पनि सम्मान गर्ने संस्कार बस्नुपर्छ ।"
"हरेक खालका अभिमतकाे सम्मान गर्दै कक्षा चल्नुपर्छ तर उत्तम मत मात्रै व्यावहारमा लागू हुनुपर्छ ।" प्रअको स्वर सुनियो ।
चन्द्रबहादुर सर कक्षामा पढ्थे; जाेडताेडले पढाउँथे । आफू बाेल्थे र बाेलिरहन्थे ।  विद्यार्थीकाे मनाेभावना बुझ्दैनथे । सुन्ने सुनाउने कार्यकलापले मलजल पाएकाे थिएन । अर्का विज्ञान शिक्षक  व्याख्या कम गर्थे । विद्यार्थीका कुरा बढी सुन्थे र सम्बाेधन गर्थे । यी दुई मत कुन प्रिय भनी कक्षाभित्र गाेप्य मतदान भएको थियोे ।
"शिक्षणमा भाषणको जमाना सकियो । प्रयोग गरी सिद्ध गर्नुपर्ने युग आयो ।" प्रअको निष्कर्ष तर्क सुनियो ।
"बहुमत सामु घुँडा टेक्न तत्पर भएँ ।"  
चन्द्रबहादुर सरले यसाे भनेपछि विवाद किनारा लाग्यो ।
+++
२०७९-१०-२९       ११ फरबरी । सिद्धार्थटाेल, उदयपुर
 हाल- सिर्जनाकुटी, सिरहा ।


लघुकथा– वातावरण
#नन्दलाल_आचार्य
‘यत्ति मीठो र धेरै फल्ने सुठुनीको बिउ–लहरा कहाँबाट ल्यायौ हँ, साना काका ?’ मेरो प्रश्नको जवाफमा समकक्षी काकाले भने; ‘बारीबाट !’
‘लौ न, यस्तो बिरुवा मलाई पनि देऊ, देऊ !’ झुत्ताका झुत्ता सुठुनी फलेको देखेर राल चुहाउँदै मैले थपेँ ।
उनले आफ्नै आङ हेर्न भने । म आफ्नो शरीर नियाल्न थालेँ । आफ्नो शरीरको सुगन्धित बिनाको भेउ नपाएर भौतारिने मृग नबन्न उनले मलाई चेताए । 
म भने उल्टै रिसाउँदै थप्न पुगेँ; ‘तिमी मात्र राम्रो बिउ ल्याऊ । बारीभरि रोप र धेरै फलाऊ । हामीलाई किनेर खान लोभ्याऊ । दाम कमाउन पल्केपछि रहस्य किन खोल्थ्यौ त !’
जवाफमा उनले मेरै बारीतिर चोर औँलाले देखाउँदै भने; ‘मैले तेरै बारीबाट बिउ-लहरा ल्याएर रोपेको हो ।’
नतमस्तक हुँदै उनको बारीतिर हेरेँ– उचित मलजल पाएका बोटबिरुवा घमाइलो वातावरणमा हलक्क बढेर मुस्कुराइराइरहेका थिए । आफ्नो बारीतिर टाउको घुमाएँ– ठुल्ठूला रुखको सेपमा परेर उचित मलजल र वातावरण नपाएका बोटबिरुवा कक्रक्क परेर प्राण मात्रै धानिरहेका थिए ।
 सिद्धार्थटोल, उदयपुर । २०७९–१०–२८

लघुकथा– माेह
#नन्दलाल_आचार्य
"स्वादिलो दाल खान नभेटे पनि धेरै दिनपछि संसारभरका समाचार सुन्न पाइयो !" खाना खाँदाखाँद‌ै पल्लो काेठामा बजिरहेको रेडियो सुनेर बुबाले भन्नुभयो ।
उहाँले  छिमेकीकै घरमा रेडियो बजेको ठान्नुभयाे । छिमेकी धनी हुँदा अर्को छिमेकीले पनि फाइदा लुट्ने कुरा बताउनुभयो । 
"आज पनि दाल राम्रोसँग पाकेकाे रहेनछ । पैसा दिएकाे हप्ता  दिन भयो । अझै दाल पकाउने कुकर किनेको छैन ?" बुबाकाे मनको अावाज बाहिरियाे ।
आमाले जवाफ दिनुको साटो अर्को काेठामा गएर रेडियोकाे भाेल्युम बढाइदिनुभयो । रेडियोमा लाेकगीत बज्न थाल्यो । आफूलाई मनपर्ने गीत सुनेर मख्ख पर्दै बुबाले खाना खाएर सक्नुभयाे । 
उठेर रेडियो भएको काेठामा आउनुभयो । रेडियो आफ्नै घरमा देखेर चकित हुनुभयो । कुकर किन्ने प‌ैसो रेडियोमा रूपान्तरण भएकोमा आगो बन्नुकाे साटो विस्तारै भन्नुभयो; "समाचार सुन्नबुझ्न नपाएर बेचैनी भएको थियोे ।"
२०७९-११-०३   सिर्जनाकुटी, सिरहा ।

प्रणय दिवस विशेष---
लघुकथा- घडी
-नन्दलाल आचार्य
"पछुतोको भारी बोकेर तिमीलाई खोजिरहेछु ।" निर्जन स्थानमा कमलेस आँखा चिम्लेर बाेलिरहेका थिए ।
म चाल मारेर नजिकै खडा थिएँ । उनी अझै थप्दै थिए; "अझै पनि एकाध खुडकिलो उक्लने समय छ प्रिय । मलाई साथ देऊ । मेरो माया तौली हेर । थोरै पनि सत्य फेला पार्यौ कृपया मलाई माया देऊ ।"
मलाई लाग्यो- उनी घायल प्रेमी हुन् । प्राप्त गर्न नसकेको माया पाउन याचना गरिरहेका छन् ।
"प्रिय, एक पटक मलाई साथ देऊ म संसार उल्टाई दिन्छु ।" उसको पछिल्लो कथनले म निश्चिन्त भएँ ।
"हैन, मास्टर साहेब । तपाई कस्तो मन्त्र पाठ गर्दै हुनुहुन्थ्यो ?" मेराे आवाज सुनेर उनी  लज्जावती झारझैँ भएँ र हत्तपत्त केही वस्तु लुकाए ।
 "समयमा होस् आएन र मुर्दा हुन बाँकी छँदै यसैसँग प्रेम प्रस्ताव राखेको हुँ ।" यसाे भन्दै उनले लुकाएको घडी देखाए ।
2079/11/02 गोलबजार, सिरहा ।

लघुकथा- हल्ला बजार 
#नन्दलाल_आचार्य 
"तपाईं यहाँ हुनु र नहुनुमा केही फरक छैन ।" पढाइरहेका शिक्षकलाई 'क' विद्यार्थीले भन्यो ।
 बाँकी विद्यार्थी भयभीत भए । शिक्षक टक्क राेकिए । केहीबेर कक्षा नै निर्जनमा परिणत भयो ।
"अकारण म कसैलाई दाेष लगाउँदिनँ । विद्यार्थी साथीहरूले मनमा भय नपाल्दा हुन्छ । उहीँ विद्यार्थीकाे सिंह गर्जन पुनः सुनियो ।
लाजै पचाएर शिक्षकले चार पैसाका दाँत देखाए । सहज पाराले पढाए र समय सकेर  कक्षाबाट बाहिरिए ।
'ख' विद्यार्थीले शिक्षकलाई पछ्याउँदै एकान्त भेटेर रिस नउठ्नुकाे कारण साेध्याे । 
"सबैले अाअाफ्नाे कमिजोरीलाई आँखा खाेलेर हृेर्नुपर्छ । 'क' ले मेरो आँखा मात्रै खाेलेन चुलबुले ओठ पनि बन्द गरिदियो ।"
यत्रो खुलासा गर्दा पनि 'ख' काे मन बुझेन । उसकै भाेक मेटाउन उनले थपे; "मेरो सर्टिफिकेट डुब्लिकेट ठहर भयो भन्ने हल्लाकाे पछि लागेकाे हाे त्यो ।"
"अनि तपाईंले मुस्कुराउनुकाे कारण ?"
जवाफमा शिक्षकले अहिले नै कसैलाई नभन्नु भन्दै सुटुक्क भने; "उसले आफूले बुझेको  अल्पबुझाइलाई नै अन्तिम सत्य ठानेको देखेर !"
+++
२०७९-१०-२३        सिर्जनाकुटी, सिरहा ।


लघुकथा- मित्र 
#नन्दलाल_आचार्य 
पाहुना लाग्न गएको नरेन्द्रलाई अनेक खानेकुरा खान दिँदा उसले भन्यो; "मैले मान्छेले खाने चीनबिज मात्रै खाने गरेकाे छु ।"
माछामासु, फास्ट फुड र जङ्क फुडका परिकारहरू हटाइदिँदै दीपकले भन्यो; "अब मान्छेका लागि प्राकृतिक खाना मात्रै बाँकी रह्यो ।"
फलफूल, सलाद रित्यायाे अनि थाेरै भात र धेरै तरकारी खाएर नरेन्द्र हँसिलो मुद्रामा उठ्यो ।
अतिथिलाई उचित सत्कार गर्न पाएकाेमा हाैसिँद‌ै दीपकले  थप्याे; "तपाईंको बदलिएको रूपरंग र अानिबानीले मजस्तै बन्नुभएछ भनेरै सबै चाँजोपाँजो मिलाएको थिएँ ।"
नरेन्द्रले मन्दमुस्कान छर्दै हाेमा हाे मिलाएर थप्यो; "मित्र भएपछि  मनको ताल्चालाई विचारकाे चाबी मिलाउनु नै पर्छ ।"
२०७९/१०/२२ गाेलबजार, सिरहा ।

सन्दर्भ- सहिद दिवस)
लघुकथा– छ सहिद
लेखक : नन्दलाल आचार्य
गहिरो रातमा नेपथ्यमा  स्याल हुइयाले आतंक मच्चाए पनि चारैतिर सुनसान छ । गाडीहरूको आवाज पनि बन्द भइसकेको छ ।  गहिरिँदो रातमा समेत लेखक लेख्नमै मस्त छ । बिजुली छैन । पङ्खा मरेको छ ।
 इन्भटरको उज्यालोमा ऊ शब्द चुहाइरहेको छ । पसिनाले निथ्रुक्क भिजेको छ । लेख्ने धुनमा पसिना पुछ्ने फुर्सद पनि छैन । लेखिरहेको कापी पनि भिजिरहेको छ ।
त्यस कोठामा हावा पस्न मनाही छ । हावासँगै मच्छड पनि छिर्ने भएकाले ढोका नउघार्न चेतावनी दिएर श्रीमती रात्री विश्राममा छे ।
ऊ गाउँकी नारी हो, सहर पसेकी छे । मच्छडबाट तर्सेकी छे । तर्संदै निदाउन प्रयत्न गर्छे । नभन्दै ऊ घुरेको आवाज लेखकको कानसम्म पुग्छ तर त्यसको हेक्का राख्दैन ।
 पहिले नै कोठाभित्र छिरिसकेका कीराफट्ङ्ग्रा इन्भटरको त्यस उज्यालोमा झुम्मिन्छन् । त्यसको पनि उसलाई वास्ता छैन । एकोहोरो जोतिँदो छ । कलम रुक्न नमाने झैं भएको देखिन्छ ।
 ऊ घरिघरि शरीर चलमलाउँछ । टाउको हल्लाउँछ । तर, कापीबाट हात उठाउन मान्दैन ।
गर्मीले छट्पटिँदै श्रीमती उठ्छे । देख्छे, एकोहोरो मस्त भावमा डुबेको पतिदेवलाई । नजिकै जान्छे, पति पत्तो पाउँदैन । शरीर पसिनाले लत्पतिएको पाउँछे । अझ नियालेर हेर्छे । ऊ हैरानमा पर्छे । तुरुन्तै हात उठाउँछे र पतिदेवको पाखुरीमा कस्सेर हान्छे । लेखकको तन्द्रा भङ्ग हुन्छ ।
ऊ क्रोधित नजरले श्रीमतीतर्फ हेर्छ । छ टा सहिद भेलै एकै ठाम । (छ जना सहिद भए एकै ठाम ।) आवाज सुनेर लेखक हतप्रद हुन्छ ।
“सहिद ! कस्तो सहिद ! को सहिद ! के सपना त देखिनौ !” लेखक भयभित हुँदै बाेली निकाल्छ । 
 “अब फेरि राज्यकोष रित्तिने पर्यो । १० लाखका दरले ६ जनाको ६० लाख जाने पर्यो ।” ऊ एकै श्वासमा मनको कुरा ओकल्छ ।
पत्नी मुस्कुराउँछे । तल हेर्न संकेत गर्छे । लेखक आँखा गाडेर हेर्छ । केही देख्दैन । 
“ई देखु त ! एक टा सहिद ! दुई टा सहिद ! तीन टा सहिद…..!” (यी हेर्नुस् त ! एक जना सहिद ! दुई जना सहिद ! तीन जना सहिद…..!) श्रीमती गन्दै जान्छे ।
नियालेर हेर्दा त पाखुरामा छ वटा मच्छड पो थिलिपितिली भएका रहेछन्  ।
२०६८ माघ १६
तपेश्वरी–१, गल्फडिया, उदयपुर
+++
(सहिद सन्दर्भ )
लघुकथा-  हाेडबाजी 
-नन्दलाल आचार्य 
पार्टी जुट्दा पेट अनेक भए पनि घाँटी एक थियोे उनीहरूकाे ।
अधिकारवादी आन्दोलनकाे दाैडानमा तीमध्ये कुमारकाे प्रहरी झडपमा मृत्यु  भयो ।
पार्टीले भन्यो; "कुमारलाई अविलम्ब  सहिद घाेषणा गरी  परिवारलाई भरणपोषण दिला सरकार !"
माग पूरा भएको वर्ष दिन नपुग्दै पार्टी दुई चिरा भयाे र पानी बाराबारकाे अवस्था आयो ।
आफ्नो नहुने भएपछि सहिद फिर्ताको आन्दोलनमा दुबै पार्टीको हाेडबाजी सुरु भयो ।
२०७९/१०/०८ सिर्जनाकुटी, सिरहा ।
लघुकथा- अडान 
#नन्दलाल_आचार्य 
कसैले साेच्दै नसाेचेकाे अडान बलजफ्ती घुस्याे दरबारमा । उसलाई देख्नासाथ राजा र प्रधानमन्त्री समेत डराए ।
"तँ कसकाे आदेशले दरबारमा हाजिर भइस् ?" प्रधानमन्त्रीले प्रश्न गरे ।
अडान शान्त मुद्रामा खडा थियोे । उत्तर दिनुको साटो ऊ मन्द मुस्काइरहेकाे थियो ।
मनमा जे भए पनि बाेलीले अहङ्कार छाद्दै राजाले भने; "तेरो यस्तो हर्कतलाई मरिकाट्टे माफी दिन सकिन्न ।"
राजाको बाेली भुईंमा छरिन नपाउँदै अडानकाे पाता कसियाे । काेर्रा लगाउन ठिक पारियो । अडान भने खित्का छाडेर हाँस्न थाल्यो ।
प्रधानमन्त्रीले आश्चर्य सूचक आँखाले हेर्दै भने; "मर्नु अघि तँलाई आफ्ना कुरा भन्न समय दिन्छाैँ ।"
"परिचय नै नसाेधी र आउनुको कारण नै नबुझी हत्या गर्न ताउरमाउर गरिँदाे रहेछ यहाँ । इमानकाे लासमाथि बेइमानी राज चल्दाे रहेछ ।" अडानकाे आवाज नसिद्धिँदै उसको घाँटीमाथि कालो कपडाले घ्वाम्लाङ्गै छाेपियाे र क्षणभरम‌ै निष्प्राण बनाइयो ।
प्राण जाने बेलामा त्यसले जाेडसँग कराएकाे आवाज सर्वत्र सुनियो; "नाम अनुसार काम पनि भीमसेन नै हाेला भन्ठानेथेँ तर काँतरसेन पाे रहेछाै प्रधानमन्त्री !"
सुन्ने सबै रणभुल्लमा थिए । अडानकाे लासकाे  गाेजी छामछुम गर्दा अमरसिंहकाे हस्ताक्षर भएको कागज भेटियाे । लेखिएको थियोे- सुगाैली सन्धिमा मेरो समर्थन पाउन यस अडानकाे चित्त बुझाउनू । नसके दरबारको लागि अमरे मर्याे भन्ठान्नू !"
२०७९/०९/२१   सिद्धार्थटाेल, उदयपुर । हाल- सिर्जनाकुटी, सिरहा ।


लघुकथा- नयाँ वर्ष 
#नन्दलाल_आचार्य
आज बिहानैदेखि राकेशकाे सक्रियता देखेर आमा द्विविधाकाे दलदलमा भासिन पुग्नुभयाे । 
# आज रमेश चारै बजे जुरुक्कै उठ्यो ।
# नित्याकर्मादि सकेर सस्वर पठनपाठनमा व्यस्त बन्याे ।
# थाेरै बाेल्ने र धेरै काम गर्ने गर्न थाल्यो ।
# पुराना पतनमुखी बानी छाडी  अग्रमुखी नयाँ बानी धारण गर्याे ।
"आँखा खुल्दा नखुल्दै बिस्कुटचिया आेछ्यानमा टक्र्याउनुपर्थ्याे । आज त सूर्य पश्चिमबाट उदाएजस्ताे छ ।" आमाले मनको आश्चर्य ध्वनिका माध्यमले मुखबाट बाहिर निकाल्नुभयो ।
"सूर्यनारायण पूर्वबाटै उदाउँदो अवस्थामा हुनुहुन्छ । आजबाट मैले मात्रै पुरानो बानी त्यागेकाे ! आजबाट ज्यान नभएको वस्तु हैन ज्यान भएका फलफूल आदि वस्तु मुखमा पार्ने कसम खान्छु ।" सत्र वर्षको उमेरमा एकाएक छाेराकाे मति सप्रेकाे अनुभूत गर्दा आमाका आँखामा खुशी छचल्कियाे ।
यस चमत्कारकाे रहस्य बुझ्न आमाले मन गर्नुभयो । राकेशले मनको पर्दा हटाउँदै थप्याे; "आज नयाँ वर्षमा नयाँ कामकाे सुरुअात गर्ने प्रण गरेकाे मामू ! "
-२०७९/०९/१७  आइतबार      २०२३ जनवरी १, सिर्जनाकुटी, सिरहा ।

लघुकथा-  हात
#नन्दलाल_आचार्य
"गुरु, यहीँ बल्झने कि अघि बढ्ने ?" कक्षा ११ काे विद्यार्थी दिनेशले प्रश्न तेर्स्याउँदा पढाउँदै गरेका ताेयनाथ गुरु क्राेधले आगाे बने । त्यतिबेला भने मुख भने खाेलेनन् ।
"हावा जता बहन्छ उतै लाग्दा जित हात पार्ने अवस्था रहन्छ । विपरीत दिशा ताके भन्न सकिन्न गुरु !" दीपकले पनि दिनेशकै कुरालाई मलजल गरे ।
यस पटक भने गुरुले सहन गर्न सकेनन्; "म तालिमको सिलसिलामा आएको भए पनि शिक्षक हुँ । म रुक्ने वा अघि बढ्ने कुरामा मेरै हात छ; अरूमा हाेइन ।"
विद्यार्थीहरू शान्त रहे । त्यसलाई आफ्नो विजय ठाने गुरुले । उनलेे चुनाैती दिए; "अहिले तालिममा आएको छु । तिमीहरू जस्ता धेरैलाई तह लगाएको छु । मैले क्राेधी खेलाडी बन्न नपराेस् ।"
गुरुले छाती फुलाउँदै सिंह गर्जन गरेकाे देख्दा सबै विद्यार्थी डराए । यद्यपि हिम्मत गरेर दीपकले गुरुका कानमा फुस्फुसायाे ।
एकाएक गुरु ओइलिएकाे साग बने । अघि शिर झुकाइरहेका विद्यार्थीहरूले एकाएक शिर ठाडो पारे । कान चनाखा बनाए । मानमा जे भए पनि हाँसीहाँसी पढाएर गुरु कक्षाबाट निस्के ।
प्रश्नको थुप्रोसहित साथीहरूले दीपकलाई घेरे । गुरुका कानमा भनेको कुरा सुनाउँदै दीपककाे स्वर सुनियो; "सिकाएको कुरा हामीले भन्न सके शिक्षक पास नसके फेल हुने सिस्टम छ यहाँ ।"
२०७९-०९-१३  सिद्धार्थटाेल, उदयपुर ।  हाल- सिर्जनाकुटी, सिरहा ।


लघुकथा- राजनीति 
#नन्दलाल_आचार्य 
"उता हेर त धर्तीकै घाेर आश्चर्य !" बाङचुकले चाेर आैंलाले देखाउँदै भन्यो ।
हत्तपत्त सङ्केततिर मैले नजर दाैडाएँ । म स्वयं भुतुक्कै भएँ- सर्पको डढेल्नामा भ्यागुतो सयर गरिरहेको थियोे । सर्प असिनपसिन थियोे । भ्यागुताे मुस्कुराइरहेकाे थियो ।
आत्मसुरक्षाका साथ हामी दाैडेर नजिक पुग्यौं । सर्पले भाग्दाभाग्दै भाग्ने ठाउँ न‌ै पाएन । चारैतिरबाट हामीले घेरा हालिसकेका थियौँ । सर्पले फुत्त्त जिब्रो निकाल्यो र अघिसम्म प्रेमले सयर गराइरहेको भ्यागुतोलाई खान खाेज्याे ।
बाङचुकले राेक्तै भन्यो; "अघिसम्मको अभिन्न मित्र अहिले कसरी शत्रु भयो, नागराज ?"
सर्पले भन्यो; "मेरो भाेजनकाे व्यवस्थापनकाे जिम्मेवारी यसको हाे । याे असमर्थ भयो । म भाेकले शक्तिहीन भएँ । यसलाई निले म समस्यासँग जुध्ने शक्ति आर्जन गर्थें ।"
"तिम्रो समस्या हामी हाैँ । हामी बाटो खाेल्दिन्छाैँ । पहिलेझैँ अहिले पनि मिल्छाै  त ?" मैले प्रश्न तेर्स्याएँ ।
नेपालकाे राजनीतिझैँ  दुबै जन्मजात शत्रुहरू मुस्कुराउँदै अघि बढे ।
+++
२०७९-०९-१३  हाल-  सिर्जनाकुटी, सिरहा ।


लघुकथा- शिक्षक
-नन्दलाल आचार्य 
"बरु नयाँ कुराे नसिक् तर गल्ती नगर् भनेको तेरो घैंटाेमा घाम लागेन हैन ?" पटकपटक तर फरकफरक गल्ती गरेको भेटेर बाबुले रमेशलाई भने ।
कुराे सुनिरहेका छिमेकी चन्द्रमान अघि सरे; "गल्ती गर्नु महानता हाे । उहीँ गल्ती दाेहर्याउनु चाहिँ मूर्खता हाे ।"
रमेश मात्रै टुलुटुलु  हेरिरहेको थियोे । बाबुको प्रश्नको जवाफ मनमा थियोे । मनको कुराे
ध्वनिमा  रुपान्तरण गर्ने शब्दकाे खाेजीमा घाेत्लन थाल्योे ।
"नयाँ कुराे सिक्ने काेसिस गर्दा गल्ती भयो ।" रमेशकाे यस कथनलाई बाबुले पचाउन सकेनन् । उनी सिकारुले गल्ती गर्नै नहुने ढुङ्गाे अडानमा थिए ।
"तपाईं आफ्नो छाेरालाई सिकेर ठूलो मान्छे बनेको हेर्न चाहनुहुन्छ कि नसिकेकाे स्वाँठ बनाउन खाेज्नुहुन्छ ?" बीचमै चन्दमानले प्रश्नको झटाराे हानिहाले ।
बाबु अक्क न बक्क परे । उनी रमेशलाई जीवनकाे कुशलयाेद्धा बनाउन चाहन्थे ।
बाबुको मनाेभाव पढेर चन्द्रमानले थपे; "गल्ती नै रमेशकाे लागि सिकाइ मैदानकाे शिक्षक हाे । गल्ती गरेरै ऊ अनगिन्ती कुरा सिकिरहेछ ।"
+++
२०७९-०९-०८        सिर्जनाकुटी, सिरहा ।
#नन्दलाल_आचार्य


लघुकथा- कुरुवा छाेरो
नन्दलाल आचार्य
सधैं सामान्य अवस्थामा हुने कुरुवा छाेराे एकाएक खिन्न भयोे ।
"आजको सबै ओखती परिसक्याे  । आमा अति खुशी हुनुहुन्छ । डिस्चार्ज भएर घर हिँड् भन्दै हुनुहुन्छ । बिहानै जाने भनेको छु ।" रेखदेख गर्न आएकी नर्सकाे बाटो छेक्दै उसले झुटकाे खेती गर्याे ।
नर्स पनि विना जिद्दी फर्केपछि ऊ निश्चिन्त भयो । रात छिपिँदै थियोे । म आफ‌ैं बिरामीको रूपमा उसको छेउकै बेडमा लम्पसार थिएँ । 
"विरामी आमालाई  पातलाे ओड्ने ओडाएर आफूले न्यानो सिरक लिनुभएछ ।" जाडो बढ्दै गएको देखेर बिरामी जाँच्दै आएका डाक्टरले बेड तल पल्टिएको छाेरासँग गुनासो गरे ।
हत्तपत्त उठ्दै उसले अर्को झुट फलाक्याे; "उहाँकै इच्छालाई सम्बाेधन गरेको हुँ । उहाँ अहिले गहिरो निद्रामा हुनुहुन्छ । केही पर्याे भने म भनिहाल्छु नि ।"
उसो भए आमैकाे हाेस आएछ भन्दै डाक्टर  अरू बिरामीहरू जाँच्न थाले । छाेराे भने सिरकले मुख छाेपेर सुकसुकाउन थाल्यो । रात झन्झन्  कहालीलाग्दो बन्दै गयो ।
बिहानी पख छाेरो एक्कासी डाकाे छाेडेर रुँदै भन्दै थियोे ; "मलाई माफ गर आमा !"
वरपरका मानिसहरूकाे ध्यानाकर्षण भयो । आमाको गाेडा छुँदै ऊ भने आफ्नै सुरमा गथासो सुनाउन व्यस्त भयोे ; "हाेस छउन्जेल मेरै चिन्ता गरेऊ । तिम्रो सास गएको थाहा पाएर पनि मैले बुझपचाएँ । मध्यरातमा आफ्नो बिजाेग हुने भयले दुनियाँकाे आँखामा छारो हाल्दै रात विताएँ ।"
२०७९-०९-०५         सिर्जनाकुटी, सिरहा ।

लघुकथा- सजाय 
-नन्दलाल आचार्य 
सबै जना कालानीला भएर उभिरहेको बेला हितनारायण भने मुस्कुराइरहेकाे थियोे ।
"हामी तिम्रै चिन्ताले जलेका छाैं । तिमी भने ओलम्पिक जितेको अनुभव गरिरहेका छाै । कसरी मन्द मुस्कान देखाउन सकेका ?" रामनाथकाे प्रश्न तेर्सियाे ।
यता अझै आगाे पुत्पुताइरहेकाे थियाे । उता भाइले अस्पतालमा बिल उठाइरहेको थियोे । खानलाई अन्नको दानो थिएन । लगाउनलाई वस्त्रकाे धराे  रहेन ।  खाकको  थुप्रो ठडिएको आँगनमा उभिएर वस्तुस्थिति नियाल्ने गाउँलेहरू थपिँदा थिए ।
"हितनारायणलाई सबै मिली उकास्नुपर्छ ।   भवितव्यकाे बाेध स्थानीय सरकारलाई गराउनुपर्छ ।" वडा सदस्य धनमायाले भनिन् ।
"मलाई त शंका लाग्छ ।" रामनाथले मन खुम्च्याए ।
"मेरो घर जल्याे  । मेरो अपाङ्ग भाइकाे दाहिने खुट्टाे डढ्यो । म  घरमा थिइनँ । आँखा सामुकाे सत्यमा शंका कहाँ छ ?" यस पटक भने हितनारायणले राेष निकाल्यो ।
"अनि  तिम्रो अनुहारमा मुस्कान किन नाचेकाे त ?" रामनाथले प्रश्न पुनरावृत्ति गरे ।
हितनारायणकाे जवाफमा सुनियो; "दु:खमनाउ गरेर गुमेको सर्वस्व फर्कँदैन । बरू मन बुझाएर खुशी रहे आउँदो सङ्कट टार्न मद्दत  पुग्छ भन्ने मलाई राम्ररी बाेध छ त्यसैले ।"
धनमायाले अरू थपिन्; "अर्कातिर डाहा गर्नेहरूलाई हितनारायणकाे धैर्य मिश्रित मुस्कानले ठूलो सजाय दिएकाे छ ।"
२०७९-०९-०७   सिर्जनाकुटी, सिरहा ।
#नन्दलाल_आचार्य
लघुकथा- एकान्त
#नन्दलाल_आचार्य
"म अधर्मी हुँ आमा ! स्वार्थी र निकृष्ट हुँ ।" पाइखाना भित्रबाट आवाज आइरहेको थियोे । म पालो पर्खेर उभिइरहेको थिएँ ।
"मर्नेको पछि लाग्ने हैन बाँच्नेले आनन्दले बाँच्न पाउनुपर्छ भन्थ्याै । मैले त्यही गरेँ आमा !" रुँदै बाेलेकाे आवाज सुनियो ।
निकैबेरसम्म ननिस्केपछि म दुबै खुट्टाले चेपेर सकसले मडारिँदै खडा थिएँ । छिर्ने कुरा छिरिहालेकाे थिएन तर तरखरमा भने थियोे ।
एककाेहाेराे गथासो भट्याइरहेको आवाजलाई बाधा पुग्ने गरी ढाेका ढकढक्याएँ । सरी भन्दै र आँसु पुच्दै ठिटो बाहिरियो ।
कामकुराे फत्ते गरी म आफ्नो बेडतिर जाँदा बाटैकाे बेडकी बिरामी आमैलाई ओड्नेले ढाकछोप गर्दै नर्ससँग उही ठिटो भन्दै थियोे; "आज पर्नुपर्ने सारा आेखती परिसक्याे । मेरी आमा अहिले गहिरो निद्रामा हुनुहुन्छ । कृपया बाधा नगर्नुहोस् ।"
अचम्म हुँदै म आफ्नो बेडमा पल्टिएँ । विहान रमरम उज्यालो हुँदा उहीँ ठिटो छाती पिटिपिटी भन्दै थियोे; "मध्यरातमा आफ्नो बिचल्ली हुने भयले दुनियाँकाे आँखामा छारो हालेँ । आमा, बेलुकै तिम्रो प्राणपखेरु उडेको कसैलाई भनिनँ । रातभर मनको आँधी बगाउन एकान्तकाे सहरा लिएँ ।"
२०७९-०९-०५         सिर्जनाकुटी, सिरहा ।

लघुकथा- घाउ
#अक्षान्त
"तिमी थाकिसक्याै, पिठ्युँकाे बाेझ मलाई बाेक्न देऊ ।" पालो पाउन निकैबेर लाग्ने देखेर पालेले बालकलाई भन्यो । किनभने आफन्तकाे लास विसर्जन गर्नेहरूको लाम लामै थियोे ।
नेपथ्यमा बमगोला-बारुदको धिमा आवाज आइरहेको थियोे । त्यसैबेला दश वर्षे बालक समाधिस्थलकाे पंक्तिमा लामबद्ध थियो । 
उसले पिठ्युँमा पाँच वर्षको भाइ बाेकेकाे थियोे । निष्प्राण भाइको शिर भुईंतिर लत्रेकाे थियोे । राेक्ने र आफैंभित्रै सीमित पार्ने चाहना हुँदाहुँदै पनि आँखाले धर्म छाडेर अश्रुवर्षा गराइरहेका थिए । क्रन्दन बाहिर फुत्किन नदिई भित्रै दबाउन उसका ओठहरू सक्षम थिए । ओठ टोक्दा निस्केको रगत राेक्न भने ऊ विल्कुलै अक्षम थियोे ।
"मैले आफ्नो भाइरूपमा फूलपाती बाेकिरहेकाे छु र लाइन छाेट्टिँदै जाँदा बाेक्न नपाउने भएँ भन्ने चिन्ताले गलाउँदै छ ।"  बालकको यस्तो चट्टानी कथन सुनेर द्वितीय विश्वयुद्धमा  ज्यान गुमाएका जापानी आफन्तजनले आलाे घाउमा मलहम  दलिएको अनुभव गरे । 
"सास नभए पछि जो पनि बाेझ बन्छ र त्यसलाई धर्तीमै बिसाउनुपर्छ ।" पालेले जीवनको दैलो खोल्दै थप्यो ।
"अरूकाे नजरले फाेहर ठानेको फूलपाती भक्तकाे लागि धर्म पूरा गर्ने आधार बन्छ; बाेझ हाेइन ।" बालकको आवाज सुनियो ।
"चोखोनितो गरी फूलपाती विसर्जन गर्ने हतारो भक्तलाई पनि हुन्छ । आफू एक्लैले नसके अरूलाई बोकाउनु पनि पर्छ ।"
पालेको यस्तो कथन सुन्नासाथ बालकले भन्यो; "अरूको हातबाट फूलपाती बिसर्जन गर्ने चाहना भक्तलाई हुन्न । आफैं डट्ने र खट्ने अभीष्ट हुन्छ ।"
पालेका परेला भिजेको देखेर बालकले थप्याे; "यस नाबालकले कसको पिँडालुबारी फाँडेकाे थियोे र ? मलाई लागेको घाउ संसारलाई देखाउन चाहन्छु ।"
पालेले सुस्तरी थप्याे; "याे शक्तिकाे अहङ्कारले बनाएको घाउ हाे; निकाे हुन युगाैं लाग्छ ।"
२०७९-०८-२३ सिद्धार्थटाेल, उदयपुर । अहिले- राजविराज, सप्तरी ।


सन्दर्भ- विश्व अपाङ्ग दिवस सप्ताह ।
लघुकथा- सूत्र  
#अक्षान्त
विद्यालय पढेर आउनासाथ झाेला फ्यात्त फ्याकेर फनफनिँदै रमेश भित्र पस्यो । 
"म त्यसलाई गतिलो पाठ नपढाईकन छाड्दिनँ ।"
एक्कासी रमेशकाे क्राेध आकासिँदा आमाको मुटु ढुकढुक भयाे ।
"काेसँग महाभारत मच्चाएर आइस् ?" छाेराले कसैकाे बिगार गरेको महसुसले मनमा डर पसे पनि स्वरमा भने क्राेध देखाउनुभयाे आमाले ।
"भकुन्डाे खेल्न नसक्ने खाेरन्डे भन्यो श्यामेले ।" आफ्नो एउटा छाेटाे खुट्टो हेर्दै बाेल्याे रमेश ।
"रिसले गरे स्वीकार ठहरिन्छ; रिस भगाए अस्वीकार मानिन्छ । चित्त दुखाउने हैन; बुझाउने गरे फाइदा मिल्छ ।" आमाले मन शान्त बनाई आदर्श मिसाएकाे यथार्थ अोकल्दै थप्नुभयो; "जसले जे देख्याे त्यही बाेल्याे ।"
"प्रष्ट कारणबिना म कसरी शान्त हाेऊँ ?"
रमेशकाे सवालकाे जवाफमा आमाको स्वर सुनियो; "बदला लिए सानाे हाेइन्छ; आफू बदलिए ठूलाे बनिन्छ ।"
२०७९-०८-१९  सिद्धार्थटाेल, उदयपुर ।
सन्दर्भ- महिला तथा अपांग सामाजिक हिंसा
लघुकथा- विषालु साेच
-नन्दलाल आचार्य 
"तँ पशुका लागि म पशु नै बन्छु । अब तँ पनि धर्तीमा  रहँदैनस् ।" निष्पट्ट अँध्यारामा आक्राेश भरिएको स्वर सुनिँदै थियोे ।
सर्वत्र निर्जनता छाएको थियोे । निकै पर स्याल राेइरहेका थिए । ठीक विपरीत दिशामा जाेगी नली खुट्टाे बजाएर भूत भगाइरहेका थिए ।
एउटा हातमा पानीको लाेहाेटा र अर्को हातमा सन्ठीकाे राँकाे बाेकेर डरलाई काखीमुनि दबाउँदै पाइखाना गर्न म खाेला किनार पुग्नै लाग्दा अर्को स्वर पनि सुनियो; "छिटो मार्नू । म मर्न लायकको पशु हुँ ।"
हत्तपत्त कामबाट निवृत्त भएर म त्यहाँ पुगेँ । राँकाेकाे उज्यालोमा हातमा खुकुरी उज्याएर अमृतेकाे गर्दन दबाइरहेकाे हबल्दार दाइ देखिए । अमृते भने छुटकाराकाे प्रयासै नगरी आँखा चिम्लेर काटिन तयार थियोे ।
आफ्नो मुटुलाई शान्तवना दिँदै मैले दाइको हातबाट खुकुरी खाेसेँ । सामान्य बलमै उनले दिए र राेइरहे । म कारण साेध्ने दाउमा थिए ।
उनलेे अगाडिको अँध्याराेतिर देखाउँदै भने; "यस पशुले मेरी बहिनीलाई जड बनाएछ ।"
प्रतिमा बगरकाे ढुङ्गाे लडेझैं लडेकी थिइन् । मलाई मनकाे आँधीले बगाइरहेकाे थियोे ।
अमृते भन्दै थियोे; "हाम्रो भावनात्मक प्रेमले हिजो एक दशक पार गर्याे । बिबाहमा परिणत गराैं भन्दा म लाटीकाे जीवन हुन्न भनिन् ।"
अमृते भक्कानियाे । मैले  उसको पिठ्युँ थुमथुम्याएँ । उसले थप्याे; "हामीले नश्वर धर्तीबाट बिदा लिने निर्णय गर्याैं । उनको विष सक्कली तर मेरो भने नक्कली परेछ ।"
२०७९-०८-१७  सिर्जनाकुटी, सिरहा 
लघुकथा- प्रतिनिधि 
#नन्दलाल_आचार्य 
केके न भेटिने पर्याे भनेर मत खसाल्दा उत्साहित देखिएका थिए कछुवा बाजे । धमाधम मत परिणाम आउन थालेपछि गजधम्म पर्न थालेका थिए ।
परिस्थिति विपरीत देखेर काेइलीले साेधी; "बाजे, आफूले भाेट दिएकै उम्मेदवारले भारी मतले विजयी हुँदा पनि तपाईंको मनमा किन आैंसी नै रहेको ?"
'मनको बह कसैलाई नकह' भन्ठान्दै कछुवाले कुरा बङ्ग्याएर अन्यत्र लगे । काेइलीले पनि कुराे साेझ्याउँदै थपी; "उत्तिखेर स्यालजस्तो ऊर्जावान् युवा अर्को छैन भनेर उसैलाई भाेट दिन हामीलाई समेत उक्साउनुभयो । अहिले उसैले जितेपछि पनि मन खुम्च्याएर हुन्छ त बाजे ?"
"ढाडे बिरालो भ्रष्टाचारी हाे । कुकुर दुराचारी हाे । काग जनअपेक्षालाई सम्बाेधन गर्नै नसक्ने  प्राणी  हाे । अनि वाध्य भएर मैले स्याललाई नै राेजाैं भनेको हाे । कुरा बुझ न नानी !" आफ्नो निर्णयलाई सही सावित गर्दै कछुवाले मनको गथासो सुनाए ।
 मुख खाेल्न काेइलीले आँ मात्रै के गरेकी थिई
 कछुवालेे नै थपे; "अरुलाई भाेट दिँदा जनतालाई प्रत्यक्ष धाेका हुन्थ्यो । स्याललाई भाेट दिएर राष्ट्रलाई नै पराेक्ष धाेका भयो ।"
"कसरी ?"
काेइलीकाे झटपटे सवालकाे जवाफमा उनले काेइलीको कानमा फुसफुसाए; "संसदमा विदेशी एजेन्टकाे सङ्ख्या घना भयो । अब देशमा विदेशी चलखेल तीव्रतर रूपमा बढ्ने भयो ।"
२०७९-०८-०७  सिद्धार्थटाेल, उदयपुर । हाल- सि

लघुकथा- रिस 
#नन्दलाल_आचार्य
"यही पाराले तँ काल पर्खन सक्तिनस् ।" सीतेकाे बानी नियालेर मैले मन खाेलेँ ।
सीतेले मेरो मुखैमा जवाफ फर्काई; "तँजस्ताे डुँडे र खाेरण्डे म बन्दै बन्दिनँ ।"
म निरुत्तर भएँ । ऊ अझ उत्साहित भई । परिस्थितिले वातावरण सन्नाटामय बनायो । वास्तवमा उसले भनेजस्तै म थिएँ । त्यसैले सुन्नासाथ पहिले मनमा बिझ्याे । बिस्तारै सत्य अनुभूत गरेँ । मनको क्राेध भगाउन सफल भएँ ।
एक समय खतराबाट बँचेकाे थिएँ । खतरा पुनरावृत्ति हुनबाट बच्न सीतेले दिव्य ज्ञान दिएको सम्झेँ । अचेल ऊ अचाक्ली फन्कन थालेकी थिई । उसलाई नै सम्झाउन मैले कालकाे प्रसङ्ग झिकेको थिएँ । 
सत्यलाई पचाउन म लामाे श्वासप्रश्वासमा व्यस्त भएँ । त्यसैबेला उसले भनी; "मेरा कुरा मन नपरे माफ गर् ह‌ै ।"
"मलाई झन्डै खायो तर तँलाई नखाओस् भनेर  सम्झाएको ।" मेरा कुरा सुन्नासाथ उसले प्रश्न तेर्साई; "कसले ?"
मेरो उत्तर थियो; "रिसले ।"
२०७९-०६-२२ हाल- रुपनगर, सप्तरी ।

लघुकथा- थाेक बिक्रेता
#नन्दलाल_आचार्य
"जे कुरामा पनि छैन/हैन, केमा चाहिँ हाे/छ भन्नुहुन्छ ?"
गफैगफमा मैले साेधेकाे सवालले लक्ष्मीकान्त शब्दहीन भएका थिए । मेराे एकाेहाेराे जिद्दीपन थियोे- "हामीले पक्रेको पेसाभित्र डुब्नुपर्छ । पाखापाखा उत्रने अधिकार कसैलाई छैन ।"
"जीविकोपार्जनका लागि पेसा अठ्याउने हाे । आफूले राेजेकाे काममा भने डुबुल्की लगाउने हाे ।" लक्ष्मीकान्तकाे यस्तो अडान थियोे ।
उनी र म शिक्षण पेसामा आवद्ध थियौं । म लेख्थें पनि । उनी भने पढ्थे मात्रै । म आफ्नै बलबुताकाे सिर्जनाले विद्यार्थीकाे ध्यानाकर्षण गर्थें । उनी भने अरूका सिर्जना सापटी लिन्थे र काम चलाउँथे । लेख्ने कुरा मेरा लागि रुचिकाे विषय थियोे, उनका लागि झमेलाकाे ।
सिर्जनात्मक विधाकाे सिद्धान्त बुझेकाे मान्छे भन्ने सम्झेर मैले भनेँ;  "आफूले उपयोग गर्ने कुरा सापटी लिनु साहुले आसामीसँग उल्टै ऋण माग्नु बराबर हाे ।"
"भए जति सबै जना नेता भए जनता काे हुने ?" 
उनको कटाक्ष सुनेर मैले पनि फ्याट्टै भनेँ; "भाषासाहित्यकाे थाेकविक्रेताकाे लाइसेन्स लिएपछि त्यसकाे बढावा नगरेर ढाकछोप गरे कमजोरी कसकाे ?"
२०७९-०७-१० सिद्धार्थटाेल, उदयपुर । अहिले- सुन्दरहरैचा, प्रतिभा मार्ग, खाेर्साने, माेरङ ।


सन्दर्भ– छठपर्व
लघुकथा– सवाल
#नन्दलाल_आचार्य
‘भाष्करजी, खुशी हुनुहुन्छ नि ?’
मेरो प्रश्न सुन्नासाथ उनले मुस्कुराउँदै भने; ‘शिक्षक भएको नाताले तिमी गुणकारी विद्यार्थीलाई मन पराउँछौ; पराउँदैनौ ?’
निश्चय नै जिज्ञासु फेला परे म आनन्दको महासागरमा डुबुल्की लगाउँछु । उनको प्रतिप्रश्नले उनी हामी भक्तजनको भक्तिभावबाट सन्तुष्ट छन् भन्ने बुझेँ ।
‘तर म हजुरबाट थोरै रिसाएको छु ।’ मैले डराउँदै हिम्मतले गुनासो पोखेँ ।
‘यत्रो ब्रह्माण्डको भरणपोषण गर्छु । चराचरको प्राण बनेर रहेको छु । मेरो अनुकूल हिँडे म अमृत हुँ । प्रतिकूल गए विष हुँ । आधा शताब्दी उमेर खाएर पनि त्यत्ति ज्ञान छैन ?’ उनले मेरो सातो लिए । म भयले थरथरी काँप्न थालेँ ।
‘भन, मन खोलेर भन ।’ केही बेरपछि उनले नै नम्र भएर भने ।
‘प्रभु, पोहर साल खाएको प्रसादले पखाला लागेर झण्डै सिद्धिएँ ।’
मेरो गुनासो सुन्नासाथ उनले कारण सोधिहाले । मैले हिच्किचाउँदै थपेँ; ‘उदाउँदो हजुरलाई फलफूल मात्र चढाउने/देखाउने र अस्ताउँदो हजुरलाई पकाएको ताजा प्रसाद मात्रै चढाउने/देखाउने गरी नियम संशोधन गर्न मिल्दैन, प्रभु ?’
२०७९–०७–१३ सिद्धार्थटोल, उदयपुर । हाल– रूपनगर, सप्तरी ।

लघुकथा- चोरज्वाइँ    
#नन्दलाल_आचार्य 
'लौन वित्यास भयो हजुर । मेरो त सर्वस्व गुम्यो ।' काकी छाती पिटीपिटी रुन थालिन् । हारगुहारको याचना गरिरहिन् ।
अर्को छिमेकी पनि उसै गरी रुनकराउन थाल्यो । पल्लाघरे पनि कहालिँदै आइपुगिन् ।
'मेरो छोरो गायव भयो । कहाँ गयो ? कसले फकाएर लग्यो ?' मेनका समेत कराउँदै आइन् ।
तुरुन्तै मानिसहरु भेला भए । कुरा नबुझ्नेहरूले पनि रुवावासी देखेर आँखा रसिला पारे । नाना तर्कवितर्क चले । भारतबाट बच्चाचोर नेपालमा फैलिएको खबर सुनेसुनाए । अन्त्यमा त्यस गाउँका सात बच्चा भारतका ठूला अस्पतालमा पुर्याएको  अनुमान गरियो र खोजीमा केही मानिसहरू नाकातिर दगुरे ।
माहोल दर्दनाक भइरहेको बेला एकाएक बच्चाहरू आइपुगे । उनीहरू अमलाको खोजीमा वन गएका रहेछन् । तीमध्ये मेनका पुत्र आइपुगेन । फेरि आशङ्का जिउँदो भएर आयो ।
रुवावासी र आशङ्का घना हुँदै जाँदा बाइकको आवाज आयो । भीड नजिक रोकियो । चालकसँगै अमलाको पोकोसहित मेनकापुत्र पनि उत्रियो । मेनका खुशीले पागल भई ।    
'बच्चाचोरको हातबाट मेरो छोरो फुत्कियो ।' मेनकाको आवाज सुन्नासाथ भीड आगन्तुकमाथि खनियो ।   
'म बच्चाचोर होइन । म पाहुना हुँ ।' आगन्तुकले प्रतिरक्षात्मक स्थितिमा पुकारा गर्यो । भीडले सुनेन । उसलाई मरणासन्न पारियो ।   
उसको कोटसर्ट च्यातचुत पारियो । वीरवहादुरको हातमा समेत एक टुक्रा पर्यो । उसले नियाल्यो र मनमनै भन्यो- यो कपडा त मैले नै विदेशबाट मगाएको हुँ ।
आँशु पुछ्नका लागि आगन्तुकले शिरबाट हेलमेट हटायो । आक्रोसित भीड एकाएक फ्रिज भयो । वीरवहादुर चिच्याउन पुग्यो- 'हरे शिव ! महिना दिन अघि गोडा धोएर छोरी दिएको ज्वाइँको हुर्मत लिइएछ  ।  
 2079-05-28 सिरहा ।

लघुकथा- भोजखर्च
#नन्दलाल_आचार्य
"यो इन्द्रेले पूरै बसबिट्टी समुदायको इज्जत माटोमा मिलायो ।" धनवन्तरी काकाले मनको कालो सडकमा छरे ।
काकाका कुरामा तबैतारे गर्दै महिनारायणले थपे; "यो इन्द्रे नेता भयो । युवानेताले क्रान्तिकारी काम गरेको रे ।" 
इन्द्रेले गाउँ भाँडेको, आफूले आजसम्म मरौटी भोज गलगिद्ध घिचेर अरूलाई पैँचो फर्काउने बेलामा बन्द अभियान चलाएको, समग्रमा मतदाताको मतको अपमान गरेको भनेर उसविरुद्ध अभियान नै चल्यो । जताततै इन्द्रे विरोधी माहोल बन्यो । फलत: बसबिट्टी गाउँमा मरौटी भोज पूर्णत: बन्द भयो  ।
वडाध्यक्षको नाताले नभई गाउँलेको नाताले इन्द्रेले एक भेलाको आयोजना गर्यो । रिसाएकाहरू कोही आएनन् । सोझासीधाहरू मात्र भएको भेलामा इन्द्रेले आफ्ना हजुरबाआमाको हातबाट बसबिट्टी गाउँलाई दुइटा एम्बुलेन्स हस्तातरण गरायो । त्यसलगतै लुकेर कुरा सुनिरहेका सबै जना सम्मुखमा आए ।
आफ्नो सम्बोधनमा इन्द्रेले भन्यो; "बाँच्दै आफ्नो हातले दान गरे समाजले पाउँछ भनेर हजुरबाआमाले बसबिट्टी समाजले स्मरण गर्छ भन्दै एम्बुलेन्स उपहार दिनुभएको हो । अब हरेक घरबाट मरौटी भोजखर्चलाई समाज रूपान्तरणमा परिणत गरौँ ।"
परिवर्तन आफैँबाट शुरु गर्नुपर्छ भन्ने सिद्धान्त व्यवहारमा लागू गरेको ठाने गाउँलेले । इन्द्रेको समर्थनमा सबैले ताली बजाए ।
2079-05-20 सिर्जनाकुटी, सिरहा ।


लघुकथा- कात्रो
#नन्दलाल_आचार्य
'भो, अब मलाई केही चाहिन्न ?' आफ्नो अगाडि थुपारेका अनेक थरीका कपडा नियालेर नब्बे हिउँद पचाएका बाले छोरालाई स्पष्टताका साथ भने ।
यत्रो भाडा पिटाएर बा भेट्न विदेशबाट आएको साठी कटेको छोराको दम्भ चकनाचुर भयो ।
'यत्रा सामानमा आफ्नो मनले खाएको लिनैपर्छ ।' बुहारीको अटल विचार सुनियो ।
अनुभूतिले मात्रै पनि बा असिनपसिन हुँदै आफ्नो खस्कँदो शारीरिक अवस्था नियाल्न थाले ।
 एक्लोपनको अनुभूति गर्दै बाले वास्तविकताको खुलासा गरे; 'सास छउँजेलका कपडा मसँग नै पर्याप्त  छन् तर सकिएपछिको लागि एउटा पनि छैनन् ।'
2079-04-22  सिद्धार्थटोल, उदयपुर । हाल- सिर्जनाकुटी, सिरहा ।

लघुकथा- दृश्य-अदृश्य
#नन्दलाल_आचार्य
हिजो स्कूलबाट घर फर्कँदा  देखेको दृश्यले म हैरानीमा परेँ  ।
एक बाँदर आफ्नो मृत र कुहुन लागेको बच्चो टुलुटुलु हेर्दै थियो । त्यसलाई झिँगाले कुटुकुटु खाँदै थियो । झिँगालाई खान भ्यागुतो लम्किँदै थियो । सर्पले भ्यागुतोलाई निल्ने प्रयासमा थियो । न्याउरी मुसो समेत सर्पलाई आहारा बनाउने दाउमा थियो । 
त्यसबेला आकासमा चिल फनफनी घुमिरहेको थियो । ऊ धरतीमा आँखा गाडिरहेको थियो ।
 हेर्दाहेर्दै मासु खाएर झिँगो अघायो । उड्न लाग्दा भ्यागुतोले कप्लक्कै पार्यो । तत्कालै भ्यागुतालाई सर्पले सुलुत्तै निल्यो । फर्किन लाग्दा न्याउरी मुसाले सर्पलाई आफ्नो आहारा बनायो । तत्क्षण  चिलले झम्ट्यो र न्याउरी मुसालाई पञ्जाले च्यापेर उड्यो । हेर्दाहेदै चिल अदृश्य भयो ।
2079-03-22  सिद्धार्थटोल, उदयपुर । हा


लघुकथा- चिर्कटो
 #नन्दलाल_आचार्य 
"अनुशासन मानव मात्रमा नभई नहुने नितान्त आवश्यक गुण हो ।" चिर्कटोको सिरानमा यस्तो लेखेको थियो ।
प्रहरीहरू भीड नियन्त्रण गरिरहेका थिए । मानवसागर ओइरिएको थियो । ससानो झुन्ड बनाएर मानिसहरू नानाथरीका आशङ्का गरिरहेका थिए ।
म भने चिर्कटोमै ध्यान दिइरहेको थिएँ । लेखिएको थियो- म पनि बोर्डिङकै भए पनि टिचर थिएँ । कुन ठीक र कुन बेठीक छुट्याउन सक्थेँ । वाध्यतामा मैले निर्णय लिएँ । यत्तिखेर मलाई यही काम गर्नु सही लाग्यो ।
"तँ चिर्कटोमा किन हराको ? वास्तविक संसारमा आइज न । चोरले कहिल्यै आफूलाई चोर ठान्दैन ।" काकाले मतिर हेर्दै भने ।
म अरू माहोललाई वेवास्ता गर्दै चिर्कटोमै ध्यान दिन थालेँ- घरीघरीको घरेलु टोकसो र विदेसिएको पतिको घृणित व्यवहारले मलाई तीन वर्षे छोरालाई माया मार्न सक्षम बनायो । म सही पात्र थिएँ । कुपात्रसँग हात मिलाउन चाहिनँ । म दोष कसैलाई दिन्न । अविवेकको राज्यमा अविवेकले युद्ध गर्न चाहिनँ । यस काण्डमा आफ्नैलाई मुछेर मलाई राहत हुन्न । तसर्थ यो स्वविवेकको खेती हो ।
चिर्कटो पढी सिद्धयाएर मुन्टो उठाएर हेरेँ- अझै शान्ता म्यामको शरीर आफ्नै सयनकक्षमा आफ्नै सारीको बलमा तुर्लुङ्ग झुन्डिरहेको थियो ।
2079/03/21  उदयपुर । हाल- सिरहा ।

लघुकथा- मच्छडको टीको
#नन्दलाल_आचार्य
उहाँको प्रवेश हुनासाथ विद्यार्थीहरू गलल हाँसे । गम्भीर मुद्रामा सिकुटे विद्यार्थीले चाहिँ भन्यो; "मान्छे टीका लगाउँछन् राम्रो हुन । तपाई भने तमासा देखाउन लगाउनु हुँदो रहेछ ।" 
पढाउन गएका उनी वाल्ल परे । एक शब्द पनि नबोलीकन उनले कटाक्षपूर्ण वाणी सुन्नुपर्यो । उनी टेक्निकल समूहका कक्षा नौका नयाँ विद्यार्थीलाई पढाउन गएका थिए । चारै दिशाका थरीथरीको परिवेशका विद्यार्थी जम्मा भएका थिए । विद्यार्थीहरूको आनीबानी, विचार र भावनाबाट उनी विल्कुलै अपरिचित थिए ।
उनले सोचेका थिए- नयाँ विद्यार्थी सामु उभिएर आफ्नो पुरानो अनुभव फलाकूँला । उनीहरूको नवीन सोच सुनूँला । पुरानो रथमा नयाँ यात्रु चढाएर सिकाइको यात्रा रमाइलोसाथ गरौँला ।
तर पहिलो पाइलामै उनका पाइतालामा सियोले बेस्कन घोच्न पुग्यो । वाक्कदिक्क लागेको मुडमा अपरिचित विद्यार्थीको त्यस्तो बोलीले उनको रिसको पारो ह्वात्तै बढ्यो । ती विद्यार्थीलाई नचपाई स्वात्तै निलूँ जस्तो लाग्यो ।
एक्कै क्षणमा उनले मनलाई थुम्थुम्याए । आफ्नो कुनै कमजोरी भयो कि भनी घोरिए । उनले कुनै कामै गरेका थिएनन् तसर्थ कुनै कमजोरी पत्ता लगाउनै सकेनन् ।
"माफ गर्नुस् । हजुरहरू हाँस्नु र मलाई तमासा देखाउने व्यक्ति भन्नुको आशय बुझिन ।" उनी एकाएक पग्लिएर तरल बने ।
"कृपया आफ्नो अनुहार झ्यालको शिशामा राम्ररी नियाल्नुस् ।" उनै सिकुटे विद्यार्थीले नम्र बोली निकाले ।
उनको दाहिने हात थियो तर चल्दैनथ्यो । मच्छड देब्रे हातमा बसेछ । त्यसलाई मार्न निधारको प्रयोग गर्दा मरेर निधारमै पो टाँसिएको रहेछ ।
2079-03-19   उदयपुर । हाल- सिरहा ।

लघुकथा- खुट्टा
#नन्दलाल_आचार्य
"हमर स्कूलके अहाँ हेडमास्टर छियै । दु महिनसे अहाँ स्कूल नई जाक तलबभत्ता पचारहल छियै । ई अहाँके ठिक लगैय ?" आठ/ दस जनाको समूहले हेडमास्टरको घरआँगनमा पुगेर मैथिली भाषामा यसो भने ।
उनीहरू दुई महिनादेखि स्कुल नटेकीकन घरमै बसीबसी तलबभताता खाएको आरोप लगाए हेडमास्टरलाई । हेडमास्टरको घर सहरमा थियो । उनलाई भेटेर रोष प्रकट गर्न नै गाउँलेहरू सहर पसेका थिए ।
गाउँलेहरूले मनमा लागेका सारा कुरा छादे । भ्रष्टाचार गरेर सहरमा महल ठड्याउँदा पनि आफूहरू केही नबोलेको बताए । तर स्कूलै जान छाडेपछि वाध्य भएर घर घेर्न आएको विवशता पोखे ।
गाउँलेहरूले उखपात मच्चाएपछि हेडमास्टर आफ्ना खुट्टा नियाल्दै घरबाहिर आए । चुपचाप उनले चारैतिर नजर दौडाए । सोझा गाउँलेहरू हिउँले सूर्य भेटेझैँ हुँदै गए । तर उनीहरूले हेडमास्टरले घरीघरी आफ्ना खुट्टा नियालेको पत्तै पाएनन् ।
हेडमास्टरले जबाफ नदिई नहुने भयो ।
स्कूल टेके खुट्टा काट्ने कुरा  गाउँलेहरूले  सुनाएको सम्झना आयो हेडमास्टरलाई । जानीजानी लङ्गडो बन्ने मन भएन उनलाई ।
 उनले विनम्रतापूर्वक यिनै कुरा समेट्दै मातृभाषा मैथिलीमा भने; "सभ घरगौवा मिलक हमर टाङ तकाटैके घोषणा कर्ने छै । तब हम जाइनजाइनक कथिला नेङ्रा बनैला स्कुल जियै त ?"
2079/03/16  राजविराज नगरपालिका सप्तरी

लघुकथा- कसिङ्गर
-नन्दलाल आचार्य
'सबै अँटाए तर म मात्र अँटाइनँ । मैले त्यस्तो के भूल गरेँ, प्रिय ?' सर्मिला बस्नेतको प्रश्नसूचक म्यासेज देखेर अजय बिराजी भुतुक्क भयो ।
तुरुन्तै अर्को म्यासेज पढेर अजयको अनुहारमा चिटचिट पसिना आयो । लेखिएको थियो- तिम्रो किताबको ओजन नै म हुँ । मेरै बलले तिम्रो कलम कुदेको हो । महादेवबिनाको दक्षप्रजापतिको यज्ञ बिसफल भएजस्तै मबिनाको तिम्रो साहित्यिक महायज्ञ पनि बिफल हुन्छ । यत्ति जान्दाजान्दै पनि किन मूर्खता प्रकट गर्यो, प्रिय ?'
आफ्नो संस्मरण कृतिमा सबै कुरा लेखेर पनि सर्मिलाको 'स' लेख्न छाडेकोमा पछुताउँदा पछुताउँदै म्यासेजको घण्टी टिङ्ग बज्यो- अजय, तिमी मधेसबाट र म पहाडबाट राजनीतिको प्रचारयुद्धमा थियौँ । रहँदाबस्दा मन मिल्यो । हामी आफूखुशी एक भयौ ? तिम्रै एक इशारामा म नाच्दै तिम्रो काखमा बस्नपुगेँ । छावाजस्ता दुई पुत्ररत्न मैले तिम्रो जिम्मामा छाडेर म रित्तो हात अलप भएँ । मैले तिम्रो जीवनसँग टाँसिन छाडिदिएँ । मन फाटेकाले जोड्न सकिनँ । कारणको मुख थुन्न छाडी तिमी आफ्नो विगतबाट मलाई नै मेट्न खोज्छौ  ?
दुई सन्तान हुँदा पनि समाजले पहाडबाट  ---- खोज्न तराई झरेकी भनेर सर्मिलालाई कटुलाञ्छना लगाइरह्यो । अजयलाई मोज गरिहालिस्, लात मारिदे भनिरह्यो ।  सुरुमा प्रतिकार गरे पनि पछिपछि अजयले स्विकार गर्न थाल्यो । 
फलत: साराको कसिङ्गर हुन मन्जुर भयो सर्मिलालाई तर अजयको भएन ।
2079-03-14  सिद्धार्थटोल, उदयपुर ।  हाल- सिर्जनाकुटी, सिरहा ।

लघुकथा - बुबु
#नन्दलाल_आचार्य  
'मामूका त दुईटा, त्यसका त कति हो कति !' दूध चुसिरहेको छोराले रुकेर मुखबाट आवाज निकाल्यो । आमा चाहिँ छक्क परिन् । चारैतिर नजर घुमाइन् । एउटी सुगुर्नी र उसका बच्चा बाहेक अर्थोक केही जीवित प्राणी देखिनन् ।
दूध चुस्न छाडेर छोरो खेल्न दौडियो । तुरुन्तै फर्केर आयो र भन्न थाल्यो; 'मामूका आठ वटा बुबु हुनुपर्ने । मलाई दुईटा मात्रै दिनुहुन्छ । अरू खोई ?'
.
आमा निरुत्तर मुस्कुराइरहिन् । उसले थप्दै जिद्दी गरिरह्यो; 'हाम्रो घर छेउछाउ आउने पीआईजी पिगका चारटा छोरा छन् । सबैले मिलेर बुबु खान्छन् । म भने एक्लै छु । अरु बुबु र धेरै छोरा ल्याउनुस् मामू मेरा लागि । कहाँ लुकाउनुभएको छ ?'
छोराको अबोध प्रश्नसँगै उसको उग्ररूप देखेर उनी निशब्द भइरहिन् ।
2079-03-13   अक्षरयात्रा प्रकाशन उदयपुर

सन्दर्भ- असार सात गते पर्ने सातौँ अन्तर्राष्ट्रिय योग दिवस 2079
______
लघुकथा- योग
 #नन्दलाल_आचार्य
उसले आफ्नो स्वभाव विल्कुलै परिवर्तन गर्यो ।
परिवार र आफन्त छक्क परे ।
-विहान आठ बजे उठ्ने चार घण्टा पहिले नै उठ्न थाल्यो ।
-जतिखेर पायो त्यत्तिखेर जे पायो त्यही खाने मान्छे सूर्योदयभित्र मात्र सिमित खान थाल्यो ।
-जोसँग पनि विवादमा अग्रसर हुने मान्छे सिमित कुरा गरी विवाद स्वत: निर्मूल गर्न थाल्यो ।
-मासुजन्य परिकारमा सति जाने मान्छे कट्टर शाकाहारी भयो ।
-उपवास बस्नुलाई वाइयात ठान्ने मान्छे हप्ताको दुई दिन उपवास बसे गडेको रोग भाग्ने बताउन थाल्यो ।
कुरो बुझ्दै जाँदा पत्ता लाग्यो- ऊ विहानबेलुका  दुईदुई घण्टाका दरसे योग गर्दो रहेछ ।
2079/03/06  हाल- सिर्जनाकुटी, सिरहा ।


लघुकथा- खुशी 
 -नन्दलाल आचार्य
'अब त खुशी छ्यौ होला नि नानी ?' भएको काम देखाउँदै मैले छोरी सामु प्रश्न राखेँ । 
'कोठामा किताब र समानहरू व्यवस्थित रूपमा राखेको चाहिँ राम्रो । त्यत्ति गह्रौँ खाट उचालेर उता लगी थेचारेको चाहिँ विल्कुलै नराम्रो ।' उनको मिश्रित जवाफले म हैरानीमा परेँ ।
खाट राखेर व्यवस्थित गर्दा अझ राम्रो देखिएको थियो । कुरुपताका सारा दृष्य लोप थिए । यी सब काम उनकै अनुसार भएको थियो । उनको अनुपस्थितमा भएको राम्रो कामबाट समेत उनमा सकारात्मक प्रभाव नपर्दा म दोधारमा परिरहेँ ।
'यत्रो खाट बोक्न र सामान मिलाउन मामूलाई जोत्नुभयो अनि म कसरी खुशी हुन सक्छु त !' यस पटक भने उनले असन्तोषको कारण स्पष्ट पारिन् ।
'हैन नानी, अरुले नै सारा काम गरे । म त कम्मरमा हात राखेर टुलुटुलु हेरिरहेँ मात्रै ।' उनकी मामूको यत्ति बोली सुन्नासाथ छोरीको अनुहारमा खुशी छचल्किन थाल्यो ।
2079-03-03  बेलका- 2, सिद्धार्थटोल, उदयपुर


लघुकथा– उपवास
#नन्दलाल_आचार्य 
‘ए नानी, तिम्री महतारीलाई एउटा कुरा भनिदेऊ त !’ नरबहादुरको बोली सुनेर छोरीले प्याच्चै भनिदिई; ‘जे सुनाउनुछ, आफ्नी प्यारीलाई सुनाउनु क्या ! मलाई माध्यम किन बनाउन खोजेको ?
आफूले जन्माएकी र उम्रेर दुई पात मात्रै भएकी छोरीको कठोर बोलीले नरेको मनमा च्वास्स घोच्यो । गम खाँदाखाँदै ऊ रिसले धुँवा भयो । छोरीको मुख च्यातिदिने र गालामा स्पष्ट पञ्जा छाप बनाइदिने मन भयो । तर आफूले भर्खरै गरेको प्रतिज्ञा सम्झेर ऊ टक्क अडियो ।
‘कुरा त सुन । त्यसपछि जे गछ्यौ गर ।’ उसले अनुहारमा कृत्रिम हाँसो ल्याउँदै यत्ति भन्यो ।
‘महाभारत र रामायणका तानाबुना नबुनी एकोहोरो सुनाउनुस् । प्रश्न नसोध्नुस् । चुपचाप आफ्नो थान्कामा थन्किनुस् । किनभने मैले हमवर्क गर्नुृछ । नत्र भोलि स्कुलमा हेन बन्नुपर्छ ।’ छोरीले सर्तसहितको फेहरिस्त प्रस्तुत गरिन् ।
‘मैले २०७९ असार महिनामा नौ दिन २४ घण्टे उपवास र आंशिक मौनधारण गर्ने निर्णय लिएको छु । हरेक शुक्रबार र मंगलबार मेरा लागि खाना नपकाउनू । सम्झी राख, असार ३, ५, १०, १२, १७, १९, २४, २६ र ३१ गते ।’ उस्तै फेहरिस्त सुनाएर नरे काममा लाग्यो ।’
बेलुका पत्नीको बोली सुनेर नरेको मुख बन्द भएको अझै खुलेको छैन । बोली थियो; ‘महंगीमा खर्च घटा भन्थ्यौ । मैले नसके पछि लोभले आफ्नै शरीर सुकाउन थाल्यौ हैन । अहिले त त्यागीले हार्ने र भोगी जित्ने समय हो । खै, कुरा बुझेको ?’
२०७९÷०३÷०२ सिर्जनाकुटी, सिरहा । nandalalacharya@gmail.com


लघुकथा- मरौटी भोज
 #नन्दलाल_आचार्य
बडो प्रसन्न चित्तमा दस जनाको समूह आएर भन्यो; "सर, भोरसे भुकले छियै । हमसभ छुट्टी मागैला आएल छी ।"
दुई बजेसम्म सबै जना भोकै रहेको कुराले सुनेर हामी शिक्षकको मगज हल्लन थाल्यो ।
"तिमेर्को गाउँमा भोक हडताल छ र ?" प्रअले सहज रुपमा सोधे । सबै जसोले मुन्टो हल्लाएर 'छैन' भन्ने सङ्केत दिए । प्रअ सोचमा डुब्न थाले । दसै जना भोकै छन् वा ढाँटेका हुन् भनेर स्टाप नर्स म्यामलाई जाँच गर्न लगाए । उनको मौखिक रिपोर्ट अनुसार विद्यार्थीले विहानदेखि पानी बाहेक अन्न नखाएको पुष्टि भयो ।
विद्यार्थीहरू कारण खोलिरहेका थिएनन् । हामी शिक्षकहरूले रहस्य नबुझेर नाना थरीका आशङ्का मात्रै गरिरहेका थियौँ ।
त्यतिकैमा विद्यार्थीकै गाउँमा घर भएका नरेश सर आएर सबैलाई चकित तुल्याउने रहस्यको ढोका खोले । भने- यी केटाहरूको गाउँको मडर महाजन मरेको छ । त्यसकै विशाल भोज छ । मैले पनि सघाउन नपुगी भएको छैन ।"  
2079/03/02   अक्षरयात्रा प्रकाशन उदयपुर अचेल- सिर्जनाकुटी, सिरहा ।

लघुकथा- बेखुशी 
 #नन्दलाल_आचार्य
"म खुशी भए जगतै खुशी हुन्छ । मेरो मनमा ध्वाँसो लागे सर्वत्र आँधिबेहरी आउँछ ।" पल्लो कोठामा गृहमन्त्रीजीको मौखिक वाणी गुन्जिरहेको थियो । झ्यालको चेपबाट चियाउँदा गृहमन्त्रीको सामुमा जेठी छोरी टुलुटुलु हेरिरहेकी थिइन् ।
म उच्च रक्तचाप, मुटु र डाइबिटिजको रोगी थिएँ । खानेकुरामा हेक्का राख्ने गर्थेँ । विहानबेलुकै सबेरै खाना खान्थेँ । आफ्नो स्वास्थ्यको हेक्का राखेर काम गर्थेँ । त्यसमा मलाई  गृहमन्त्रीजीले नै हरतरहले सघाइरहेकी थिइन् ।
केही दिनदेखि उनीसँग मनमैलो भएको थियो । नबोलीनबोली उनी अल्पअल्प सघाउँदै थिइन् । उनको बोलीले मेरो मन हल्लाइरहेको थियो ।
समयमा खाना खान बोलाइएन । आफैँ भान्सामा पसेँ । सदाको जस्तो थिएन खाना । चर्को, पिरो र चिल्लो तरकारी थियो । प्राण बचाउन चार गाँस टिपेर उठेँ ।
उनको कोठातिर हेरेँ । उनी अलप थिइन् । उनले छादेको आँधी मात्र यत्रतत्र सल्बलाइरहेको थियो ।
2079/02/30 सोमबार, सिर्जनाकुटी, सिरहा ।

लघुकथा- इमान
#नन्दलाल_आचार्य
"एक, दुई, तीन ------चालीस !" स्वाँस्वाँ र फ्याँफ्याँ गर्दै गजल नानी गन्दै थिइन् । किन गनेकी होलिन् भनेको त उठबस पो गरेकी रहिछन् ।
उनको अनुहारमा विस्मातका रेखाहरू एउटै थिएनन् । बदलामा निर्दोषको रङ भने चहकिलो थियो । उनलाई उठबस गराउने वा गर्न वाध्य पार्ने त्यहाँ कोही पनि मौजुद थिएन । 
"मामू, अब ढुक्क भएँ । अब कुनै टेन्सन छैन । इज्जत अफ्नै गोजीमा रहन्छ । सबैका सामु चौरीमा छर्न पर्दैन ।" उनले मनको खुशी मुखबाट ध्वनिका साथ बाहिर निकालिन् ।
"तिमीले उठबस गरेर के तमासा गरेकी ?" मेरो प्रश्न भुईँमा बिलाउनासाथ उनको आवाज सुनियो; "इमान्दारी देखाएकी ।"
कुरो कोट्याउँदै जाँदा बुझियो- स्कूलमा ढिलो जाँदा सरमिसले उठबस गराउँदा रहेछन् । सबैको सामु गर्दा इज्जत जाने हुँदा एकान्तमै उठबस गरेकी रहिछन् । उनी बोलेको गर्ने र गरेको बोल्ने विद्यार्थी भनी चिनिदिरहिछन् ।
किनभने त्यस दिन उनलाई स्कुल जान ढिलो भइसकेको थियो ।
2079/02/23     सिर्जनाकुटी, सिरहा ।
(अनुभव- भोगेको र अनुभूत गरेको कुरा लेख्दाको मज्जा अर्कै हुँदो रहेछ ।)

लघुकथा- इख
- नन्दलाल आचार्य
कथी भेलै, कथी भेलै भन्दै बुथरको आँगनमा मानिसहरू भेला हुँदा थिए । आँगनको बीच भागमा बुथरको रक्तमुच्छेल लास ढलिरहेको थियो । नजिकै रगतले लतमतिएको बञ्चरो तेर्सिरहेको थियो ।
"हमर पोतापोतीके पठा दे लेकिन तु नई या । तुँ एबही त हमर गौवाँसभ नई एतै ।" ससुरा बुथरले शान्तिदेवीलाई ठाडै भने । 
बुथरले कान्छो छोराको विवाह विराटनगरमा गर्ने भएका थिए । विवाहको सम्पूर्ण चाँजोपाँजो मिलाइसकेको थियो । उनीहरूले छोराछोरीलाई बिहेमा पठाउन तर आफू भने नआउन भनिरहेका थिए शान्तिदेवीलाई । बेइज्जतको भारी बोकेको कारण शान्तिदेवी आउँदा  गाउँलेहरू नआउने बताइरहेका थिए ।
बुथर दम्पतीले थोरै अंश दिएर छुट्याइदिएका थिए रामेश्वर र शान्तिदेवीलाई । उनीहरूले विवाहमा पाएको दाइजो पनि सासूससुराले नै लिएका थिए । यसबाट चित्त दुखेको थियो 
रामेश्वर र शान्तिदेवीको ।
यी दुबै पक्ष एकापसका विरोधी बनेका थिए । एकले अर्काको खुट्टा तानातानको खेल खेलिरहेका थिए ।
रामेश्वर धन आर्जनमा मलेसिया पुगेका थिए । यता शान्तिदेवी सासूससुरालाई शोषकको उपमा भिराउँथिन् । उता सासूससुरा भने दिनदिनै सुत्ने लोग्ने फेर्ने आइमाईले भन्थे शान्तिदेवीलाई । कुलको इज्जत लिलाम गर्ने भई भन्थे उनीहरू । 
फत्तुरको दोषारोपणले  शान्तिदेवी भित्रभित्रै जलिरहेकी थिइन् । गुहुमुत गरेर हुर्काएको  देवर बेहुलो भएको हेर्ने मन थियो । जन्ती गएपछि मन खोलेर रत्यौली खेल्ने मन थियो । नयाँ देउरानीको निर्दोष र लज्जालु मुहार हेर्दै जिस्क्याउने मन थियो ।
 "यी सबैबाट बन्चित हुनुपर्दाको रोष ससुरामाथि बज्रिएको हो कि ?" मानिसहरू आशङ्का व्यक्त गरिरहेका थिए ।
2079/02/20       सिर्जना कुटी, सिरहा ।


लघुकथा- सन्तुलन
-नन्दलाल आचार्य
पहिलो पटक रमेन्द्र ससुराल पुग्यो । पत्नीबाहेक अरू सबै अपरिचित थिए । स्वाभावैले ऊ लज्जालु थियो । परिचितसँग पनि बोलेरभन्दा सङ्केत गरेर व्यवहार गर्न रुचाउँथ्यो । सासू पनि ज्वाइँकै स्वभावकी थिइन् ।
सासूले बेलुकाको खानामा मन परेको चीज खानू भनेर अन्य कुराको अतिरिक्त दही, मोही र दूध तीनै चीज दिइन् । रमेन्द्रले दूध पियो । दही-मही छोएन । विहानको खानासँग अन्य कुराको अतिरिक्त दही, मोही र दूध नै दिइन् । उसले दही लियो मोही-दूध अलग्गै पन्छायो । 
दिउसोको खाजामा समेत सासूले तीनै चीज दोहोर्याइन् । रमेन्द्रले मोही मात्र लियो । अर्को दिन पनि उसै गर्यो । अब सासूले दिने खानामा थप यी कुरा अर्थात् विहान दही, दिउसो मोही र राती दूध दिन थालिन् ।
ससुरालबाट घर फिरेपछि पत्नी चाहिँले कारण सोधिन् । जबाफमा रमेन्द्रले भन्यो, " त्रिदोष (
बात, पित्त र कफ) लाई सन्तुलनमा राख्न ।
2078/02/18        सिर्जना कुटी, सिरहा ।
लघुकथा- दिगो सिकाइ 
-नन्दलाल आचार्य
तालिमबाट फर्केपछि अमृत सरले कक्षामा पढाउनै छाड्नुभयो । अरू बेला पूरै घन्टी व्याख्यान दिने सर विद्याथीलाई नै पढ्न र पढाउन अनि सिक्न र सिकाउन लगाउन थाल्नुभयो । हामी अलमलिएका ठाउँमा बाटो खोल्दिनुहुन्थ्यो । नत्र मूकदर्शक बनी हाम्रै क्रियाकलापमा नजर गाड्नुहुन्थ्यो ।
एकदिन सरको परिवर्तित स्वभाबबाट वाक्कदिक्क लागेर मैले मुख खोलेँ; "सरको कुरा सुनेर हामी मन्त्रमुग्ध हुन्थ्यौँ । अहिले त हाम्रा काँचाकचिला कुरा सुनेर हजुर नै मख्ख पर्न थाल्नुभयो ।"
"सिक्ने विद्यार्थीले हो शिक्षकले होइन । आफ्नो सिकाइ विद्यार्थीले अभिव्यक्त गर्नुपर्छ शिक्षकले होइन ।" सरले भन्नुभयो ।
कुरा नबुझेर हामी निराश हुन लागेका थियौँ । विवसता बुझेर सरले हाम्रो मन बुझ्ने गरी भन्नुभयो; "तालिमले मलाई दिगो सिकाइको बाटो देखायो । सिकेको कुरा अरूलाई सिकाउँदा नब्बे प्रतिशत स्मरण हुने रहेछ । नवीन आइडिया फुर्ने रहेछ । त्यसैले मैले थोरै समय खर्चेर विद्यार्थीलाई नै धेरै समय दिएको हुँ ।"
2079/02/16  सिर्जनाकुटी, सिरहा ।

लघुकथा- सङ्कल्प
- नन्दलाल आचार्य
"म सृष्टिको शक्तिशाली मान्छे हुँ ।
म हर क्षणमा सुखी र खुशी रहन्छु ।
म सर्वदा शान्त र स्थिर हुन्छु ।
मेरो साथमा पूरै संसार छ ।
म हरपल स्वस्थ र तन्दुरस्त छु ।
मेरो घरपरिवार स्वर्ग तुल्य छ ।" 
यस्तो आवाज सुन्नासाथ म ठिङ्ग उभिएँ ।  म मर्निङ वाकमा थिएँ । आवाज आइरहेको झ्यालतिर हेरेँ । अर्को आवाज सुन्न पाएँ; "चराचर जगत् र परिस्थितिप्रति हराभरा विहानीका लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।"
अरू रोकिए अनेक कुरा सुन्नुपर्ला भन्ठानेर कसैले देख्ला कि भन्दै छलिँदै कुलेलम ठोकेँ । घुमफिर गरेर फर्कंदा तिनै सन्तरामसँग जम्काभेट भयो ।
उनले भने; "अघि रोकिनुभयो । एक शब्द बोल्नुभएन । त्यत्तिकै हिँडदिनुभयो ।"
मनमा जे भए म चुप रहेँ । मलाई अझ चुप गराउन उनले नै थपे; "मैले भट्याएको त्यो, अवचेतन मन उठाउने मन्त्र हो । बेलुका सुत्नु अघि र विहान उठे लगतै जप्नुपर्छ । निष्कृय मन जाग्छ र अनेक लाभ दिलाउँछ ।"
2079/02/11 सिर

लघुकथा- रक्तमुच्छेल व्यहोरा
- नन्दलाल आचार्य
"अरूको रगत, ----जिन्दावाद !" 
"तिमीहरूको सरसफाइ, ----मुर्दावाद !"
"हामी हेरिरहन, -----सक्तैनाैँ !"
"वातावरण स्वच्छ राख्न --- पाउँदैनौ ।"
चारैतिरबाट एकाेहाेराे नारा लागिरहँदा मेरो एकाग्रता भङ्ग भयो ।
हेर्दाहेर्दै भाषण सुरु भयो । एउटा लामखुट्टेको कथन थियो- बालेन हुन् वा हर्क जो आए पनि फरक छैन तर हाम्रो भोक सम्बोधन हुनुपर्यो ।
तत्कालै अर्को छोटखुट्टे कुर्लिँयो- हामीलाई हेप्न पाइन्न । मान्छे नामका प्राणीले सरसफाइमा ध्यान दिनाले हामी सुकुम्बासी भयौँ । तुरुन्त फोहर गर्न प्रोत्साहन दिन पर्यो ।"
अर्की मोटखुट्टीको बोली थियो; "अबको स्थानीय सरकारको सपथ ग्रहणको व्यहोरामा यो कुरो समाविष्ट हुनुपर्यो- म नेपाली जनताको नाममा सपथ लिन्छु- आइन्दा मच्छड साम्राज्यमा कुनै दखल पुग्ने काम गर्ने छैन ।---"
त्यसको भाषण सिद्धिन नपाउँदै मेरो पिठ्युमा सुइरो भासिछ । पत्नीले प्याट हान्दा पो झल्याँस्स भए । उसको हात भने रक्तमुच्छेल थियो । नजिकै सातवटा अधिकारवादी मच्छडहरू उत्नानो टाङ लगाएर आकाश हेदै थिए ।
२०७9/02/10   सिर्जना कुटी, सिरहा  ।


लघुकथा- वैष्णव
#नन्दलाल_आचार्य 
“कि कहै छी तूँ ! तोरा लग पानिनों नही पिवैत छी ।” (के भन्छस् तँ ! तँकहाँ म पानी पनि पिउदिनँ ।) गोरगाम्मा गाउँमा बस्ने शिवकुमारले फोनमै जवाफ फर्कायो ।
मसँगै १० वर्ष उठबस गरेको मान्छे २ वर्ष पछि नै किन यस्तो उट्पट्याङ्ग कुरा गर्दै छ । मेरो मनमा खुल्दुली मच्चियो । ऊ गाउँकै मान्छे भए पनि मेरो वारेमा मसँगै यस्ता बदनाम हुने कुरा नभन्नुपर्ने हो । म सोचमा डुबेँ ।
सफासुग्घरमा उसभन्दा एक कदम अघि छु । जागिर छ । समाजमा उसको भन्दा बढी सम्मान छ । म वैज्ञानिक चिन्तनले युक्त मान्छे, ऊ पनि एस.एल.सी.सम्म त विज्ञान पढेकै मान्छे हो । उसले जागिर पाएन त के भो ! घरपरिवार समालेर बसेको छ । दुई वर्ष अघिसम्म धर्मकर्मका कुरा मसँग नै सिक्ने गथ्र्यो ।
ती कुरा सम्झिँदा म बिलखबन्दमा परेँ ।
फोन डायल गरेँ । उसैलाई घर बोलाएँ । ऊ आयो तर खाटमा बस्न समेत मानेन । दलान बाहिरै मुढामा बस्यो । मैले जति अनुरोध गर्दा पनि मेरो कोठाभित्र पनि पसेन । पहिले त्यही कोठामा ऊ बस्थ्यो, खान्थ्यो, सुत्थ्यो । आज अपवित्र ठाउँजस्तो ठान्छ । पहिले बोल्न हिच्किचाउँथ्यो । अहिले बोली रहन्छ । अरूलाई बोल्नै दिँदैन । म चुपचाप उसलाई नियाल्दो भएँ ।
“तूँ सभ मासू–माँछ खाइछी । हम कण्ठी लेने छी ।” (तिमीहरू मासु–माछा खान्छौ । मैले कण्ठी लिएको छु ।) घाँटीको कण्ठी देखाउँदै उसले मेरो मनको द्विविधा निर्मूल पारिदियो ।
अझ एक कदम अघि सरेर भन्न थाल्यो, “तोरा सभक वर्तनवासन अपवित्र छै । आओर, मासू–माँछ सेवनके कारण तोंहू अपवित्र छी ।” (तिमीहरूका भाँडाबर्तन अपवित्र छन् । र, मासु–माछा सेवनका कारण तँ पनि अपवित्र छस् ।) मलाई उसका कुरा पचाउन गाह्रो प¥यो ।
म पनि के कम ! मैले पनि ती सब स्वेच्छाका कुरा भएको वताउँदै गाई–भैंसीको दूध, दही, घ्यू खाने मान्छेले पनि परोक्ष रूपमा अपवित्र नै भएको पुष्टि गर्न खोजेँ । हलो जोतेर, राँगा–खसी बेचेर कण्ठीधारीहरूले पनि हाम्रैजस्तै काम गरेको बखान गरेँ । ऊ केही क्रोधित भयो ।
“देखिही ! हम वैष्णव छी । जिद नही कर । तूँ अपन काज कर मुदा हमरा संग मुँह नही लाग ।” (हेर ! म वैष्णव हुँ । जिद्दी नगर । तँ आफ्नो काम गर तर मसँग मुख नलाग ।)
त्यही शिवकुमार पहिले मलाई भेट्दा घरबार समेत भुलेर मसँगै रहन रुचाउँथ्या । मैले नै उसकी आमा रिसाउलिन् भनेर उसलाई पठाउनु पथ्र्यो । वैष्णव हुनासाथ हित्तचित्त मिलेको साथी यस तरहले तर्किएको देख्दा म टोहलाई रहेँ ।


लघुकथा- फेसबुके साहित्य
-नन्दलाल आचार्य
"तपाईँजस्तो अनुभवी मान्छेले लेख्न छाडे हामी भोकै रहन्छौँ । पाठकको भोकतिर्खा मेट्ने ठेक्का लेखक र प्रकाशकको हो । तपाईँले आफ्नो ठेक्का समाल्न खुट्टा कपाउनु भएन ।"
मैले मनभरि भएको गुनासाको भारी बिसाएँ । उनले त्यस्तो केही होइन/छैन भनिरहे । अझ पहिलेझैँ अहिले पनि लेखिरहेको कुरा गरे । सबै फेसबुक पेज र समूहमा  पोस्ट मात्रै नगरेको बताए ।
"प्रकाशनको दु:ख छैन । पहिलेझैँ अहिले पनि सामाजिक सञ्जालबाट सार्बजनिक गरे भइगयो । आलाकाँचा र बुढापाका सबै खाले पाठक नपाउने कुरै छैन  ।" मैले मन खोलेँ ।
"जति लामो डोरी बाटे पनि गाँठो एकै हो । म अर्के संस्थाको व्यवस्थापनसँग गाँसिएको छु । तसर्थ अन्यत्र रचना छर्न पाइन्न । आफ्नैमा सिमित रहनुपर्छ ।" उनले भित्री कुरा खोले ।
"उसो भा बेतनधारी हुनुभएछ । बधाई छ ।" मैले हतारमा शुभेच्छा प्रकट गरेँ ।
"यार केको बधाई ! कम्तिमा रहर पुरा गरिँदै छ । फेसबुके साहित्यमा काम गरेर कसले पो तलव पाएको होला र ! एडमिन नियमभित्र बाँधिए संस्थाको उन्नति हुन्छ रे नि त ।" उनी अलिक खुले ।
"साहित्य लेखनको रहरलाई मार्छ भने व्यवस्थापन नियम सुधार्नुपर्छ ।" मैले कुरा राखेँ ।
आफ्नो मनलाई बुझाउन हो कि मेरो मुखमा बुझो लगाउन हो उनले भनेका थिए, "त्यत्ति घना स्रष्टा जमघट भएको पेजको एडमिन हुन पाउनु पनि फेसबुके साहित्यमा क्रान्तिकारी उपलब्धी हो ।"
2079/01/24  सिर्जनाकुटी, गोलबजा

लघुकथा- साइकल
-नन्दलाल आचार्य
"म यहीँ छु तपाईंहरूसँग । कसैले फाल्तु वस्तु नसोधी लगेको हो । त्यसलाई म चोरी भन्दिनँ ।" अनुहार खुम्च्याउँदै महात्माले भने ।
प्रवचन दिन महात्मा आसनमा चढ्दाचढ्दै स्रोतागणले भन्यो; "महात्माजीको साइकल चोरिएछ । यत्रा मेयरका उम्मेद्वार खडा छन् । कसैलाई किन्न लगाउनुपर्छ ।"
महात्माको साइकलले दुई दशक पचाएको थियो । उनी त्यसैमा चढेर आउँथे र वायुपङ्खी विमान चढेउत्रेको बखान सुनाउँथे । अवचेतन मनलाई उठाउन सके जीवनमा कायापलट हुने कुरा गर्थे । बालबोली देववाणी भएको जिकिर गरिरहेका थिए ।
त्यसबखत भने साइकल प्रसङ्गले उनको मन उत्ताउलो भएको थियो । उनी इज्जत गुन्द्रुकको झोलमा फाल्न नहुने तर्क गरिरहेका थिए । भोट नोटमा साट्न नहुने जिकिर गरिरहेका थिए ।
अन्तिममा एक स्रोताले चार जना मेयरका उम्मेद्वारले दश हजारका दरले चालीस हजार रुपिया दिने कुरो बताउँदै भनेँ; "हजुरले बैक खाता नं दिनुपर्यो ।"
महात्मा मुस्कुराउँदै खाता नं कागजमा टिप्तै थिए । त्यसैबेला उनीसँगै आएकी सात वर्षे नातिनीले  भनेका कुराले सबैजना हल न चल भए । उनले भनेकी थिइन्; "हजुरबा, झुटो बोल्नु पाप हो भन्नुभा हैन ? टाढा गाउँको हलीदाइलाई तलबको साटो साइकल भिराएर किन चोरी भो भन्नुभएको ?"
हाल- सिर्जना कुटी, सिरहा । 2079/01/23


लघुकथा- विध्वंसात्मा
-नन्दलाल आचार्य 
"म महात्मा व्यक्ति अपराध कमाउनु मेराे काम हैन । म शारीरिक र सांसारिक माेहजाल बाहिर छु ।" महात्मा याेगाचार्यले याेग गराउँदा गराउँदै फलाक्न भ्याए ।
विहान चार बजेको समय थियोे । त्यस बखत हामी ५० जना याेगसिकारु थियौँ । बसाइँ व्यवस्थापन गतिलो भए पनि मच्छडले उपद्रव मच्चाउन छाडेको थिएन । हामी याेग गर्दागर्दै मच्छड मार्ने अभियानमा पनि सरिक थियौँ ।
"अर्काकाे ज्यान लिएर पाप कमाउन यहाँ बसाएकाे हैन । तिमीहरूआफू बचेर आफ्नो काम गर । अरू प्राणीलाई उनीहरूको काम गर्न देओ ।" याेगाचार्यकाे मुखारविन्दबाट  महात्मा वाणी निस्केर हावामा  बिलायाे ।
याेगाचार्य पाइखाना गएको बेला हामी उनकाे अासन वरपर नियाल्न पुग्यौं । त्यहाँ ८/१० वटा मच्छडहरू अपाङ्ग अवस्थामा छटपटाइरहेका थिए ।
२०७९-०१-२१     सिर्जना कुटी, सिरहा ।


(सन्दर्भ - मजदुर दिवस)
लघुकथा- मजदुर दिवसकाे शुभकामना 
-नन्दलाल आचार्य 
"मल्काइन, काजमे जाइला बेर भेलै । हम  चैल जाइछी ।" बुधनाले आफ्नी मालिक्नीलाई काममा जान बेर भएकाे कुरा बतायो ।
त्यसबेला खेतमा मकै र चैते धान गाेड्ने बेला भएकाे थियाे । काम गर्न  खेतमा पसिसकेकाे बुधनालाई राधाले घर बाेलाएकी थिइन् ।
उसको पाइलाे आँगनमा पर्नासाथ राधाले हातगोडा धाेएर बैठक काेठामा आउन अह्राएकी थिइन् । बुधनाले पनि उनको कुरा शिराेधार्य गरेको थियोे । बैठक काेठामा टिभीमा उसलाई मनपर्ने पुरानो फिल्म चलिरहेको थियो । केही बेर त सारा कुरा भुलेर फिल्म हेर्न थाल्यो । मालिक्नीले साेफामा बस्न भन्दा ऊ अत्तालियाे । चारैतिर हेर्याे । मालिकको उपस्थिति देखेन । उनीहरू दुई र चराेमुसाे बाहेक त्यस भव्य भवनमा अरू काेही थिएन ।
अझ मीठारसिला खानेकुरा टेबलमा सजाउँदै मायालु लवजमा मालिक्नीले खान आग्रह गर्दा उसकाे हाेस् नै हरायो । मालिक्नीकाे बदलिएको व्यवहारले उसको मनमा ढ्याङ्गाे बज्न बज्न थाल्यो । ऊ अनेक निउ पारेर भाग्न चाहन्थ्याे तर पाएकाे थिएन ।
करचापमा परी ऊ खानेकुरा खाँदै फिल्म हेरिरहेकाे थियोे ।  एक्कासी मालिक काेठामा पसे । ऊ लगलग काम्दै साेफाबाट उठ्यो । मालिकले बसाए । रमाइला कुरा गरे । दुबैले सँगै खाइपिई गरे । क्षणभरमै दुबै मालिक भए । नाेकर मानसिकता कुलेलम ठाेक्याे ।
साँझमा खानेकुरा, अन्नपात र खर्चबर्चसहित बुधनालाई बिदा गर्दा मालिकमालिक्नीले एकै स्वरमा भने-  "मजदुर दिवसकाे शुभकामना, बुधना !" 
बुधनाले केही बुझेन । मात्रै आजको जस्तो खानपिन र बाेली व्यवहार सधैं हाेस् भन्ने कामना गरिरह्याे ।  घर पुगेर बक्सिस पाएका   सामान पत्नीलाई देखाउने हतारमा फटाफट पाइला अघि बढाउँदै गयोे ।
१८ वैशाख, २०७९, आइतबार, May 01, 2022, प्रतिपदा - मजदूर दिवस/ल.पु. रक्तमत्स्येन्द्रनाथ रथारोहण, 
सिद्धार्थटाेल, उदयपुर । हाल- सिर्जना कुटी, सिरहा ।


(सन्दर्भ- मातृदिवस)
लघुकथा- पाेखरीकी आमा
-नन्दलाल आचार्य 
 एकाविहानै चाेखाेनिताे गरेर उसले मनपर्ने खानेकुरा बनायो र लिएर सरासर पाेखरीतिर गयो ।
घरका मान्छेले कतै मेलापात गएको हाेला भन्ठानेँ । तर ऊ भने यसाे भन्दै भट्याउँदै थियोे; "मातृदेवो भव । पितृदेवो भव ।। आचार्यदेवो भव ।।।"
बराेबर एउटै कुरा भन्दै पाेखरीकाे डिलमा बस्याे । थाेरैथाेरै गरेर खानेकुरा पानीमा फ्याक्न थाल्याे । जलचर जीवहरू हाप र झाप गर्दै खान थाले । तिनीहरूको चर्तिकला अघाउँजी हेर्याे ।
घर फर्कँदा बाटामा पनि  बरबरायाे; ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ / ‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति ।’
घर पुगेर डायरीमा लेख्याे; "आमा, मैले आज हजुरले सपनामा भनेजस्तै गरेँ । हजुरलाई अर्पण गर्ने खानेकुरा जीवजन्तुमार्फत पठाएको छु । कृपा गरी सन्ततिकाे सन्देश सम्झी ग्रहण गर्नुहाेला । वैशाख कृष्ण औंसीमा मात्रै हैन अरूबेला पनि म आम्दानीको एक अंश अन्य प्राणीका लागि खर्च गर्ने प्रतिज्ञा गर्छु ।"
++++++++++++++++++++++++++++
१७ वैशाख, २०७९, शनिबार, Apr 30, 2022, औंसी - मातृ सम्मान दिवस / मातातीर्थ  औँसी,   सिद्धार्थटाेल, उदयपुर । हाल- सिर्जना कुटी, सिरहा ।

(सन्दर्भ– लोकतन्त्र दिवस)
लघुकथा– लोकतन्त्र
–नन्दलाल आचार्य
‘हामीकहाँ आज बैशाख ११ गते लोकतन्त्र दिवस मनाइन्छ, हैन, बाबा ?’ छोरी गरिमाले यत्ति मात्रै भनिन् । मैले टाउको हल्लाएर सहमति जनाएँ । उनले जिज्ञासाको ओइरो खन्याउन थालिन् ।
‘यसमा जनताले दिएको मतले छानिएका प्रतिनिधिले शासन गर्ने काम गरिन्छ, हैन त बाबा ?ं यो लोकतन्त्रमा त अँध्यारामा वाण हान्ने काम पो हुँदो रहेछ ।’ यस पटक भने गरिमाले वितृष्णा छादिन् ।
‘त्यसो नभन । लोकतन्त्र बहुसङ्ख्यक जनताद्वारा छानिएका प्रतिनिधिहरूको सम्मतिमा कुनै देशको शासनव्यवस्था चल्ने र नीतिनिर्धारण आदि हुने शासनप्रणाली हो, नानी । लोकतन्त्रलाई ठोकतन्त्र नठान न ।’ मैले बुढ्यौली पाराको भाषण सुनाएँ ।
उनले बहुमतको कदरले मात्र प्रजातन्त्र नबाँच्ने कुरा गरिन् । साँचो लोकतन्त्र घरदैलोमा पु¥याउन अल्पमतको सही कदर गर्नुपर्ने अडान राखिन् । मतले हैन बुद्धिले शासन चल्नुपर्ने कुरा अघि सारिन् ।
‘कहिलेकाहीँ जनता भेडो बन्छन् । प्रलोभन र प्रभावमा परेर गलत मान्छेलाई भोट दिन्छन् । यसरी लोकतन्त्र भेडोतन्त्र बन्न पुग्छ ।’ उनी भन्दै थिइन् । म सुन्दै थिएँ ।
म नबोलेको देखेर उनले मेरो मनलाई शून्य पार्ने कथन अघि सार्दै भनिन्; ‘अब लोकतन्त्रको परिभाषा फेरिनुपर्छ । अब भेडोमतले हैन बौद्धिक मतले देश चल्ने व्यवस्था आउनुपर्छ । म त बहुमतलाई मक्किएको परिभाषा ठान्छु । बौद्धिक मतलाई लोकतन्त्रको नूतन परिभाषा मान्छु ।’
२०७९–०१–११ लोकतन्त्र दिवस, सिद्धार्थटोल, उदयपुर । हाल– सिरहा ।

लघुकथा- पागलप्रेमी  
- नन्दलाल आचार्य
दाजुबहिनी मिलेर लास खाेलामा फ्यालेछन् । दाजु पनि स्वर्गमा भेट गर्न आतुर भएछ । बहिनीले गलत कदममाथि अर्को कदम थप्न अवरुद्ध गरिछे ।
+++
"ए बुइनी, एउटा कुराे भन्छु मान्छेस् ?" विकासले सर्मिलासँग सानो स्वरमा भन्यो ।
"भन्छस् भने ठूलो स्वरले भन् । भन्दैनस् भने टेन्सन नथप् । एसइई सकेपछि केके भन्छस् ? सुनुँला ।" सर्मिलाले अनेक कुरा सुनेर दिमाग गिजाेल्न नचाहेको कुरा अघि सारी ।
विकास पनि चुप लाग्यो । मनलाई थुम्थुम्यायाे । सर्मिला एकाबिहानै साथीहरूसँग काेचिङ कक्षा जान्थी । विकास भने लुकीछिपी हेर्थ्याे । तीमध्ये उसकाे मनले करिस्मालाई राेजिसकेकाे थियाे । उसैसँग गाँसेर अनेकन सपनाहरू सजाउँथ्याे । हाकाहाकी करिस्मा सामु मन खन्याउन सङ्काेच मान्थ्याे । सामाजिक रीतिरिवाज बमोजिम अघि बढ्न समाज नै बाधक थियो । किनभने ऊ आफू क्षेत्रीको छाेराे थियोे । करिस्मा दलित जातमा पर्थिन् । अर्कातिर कम उमेरका कारण कानुन समेत विकासको विपक्षमा खडा थियाे । 
मनमा कुरा गाठो पारेर बसिरहेको ३ दिनपछि  विकासले सर्मिलाकाे आवाज सुन्न पायाे; "ए दाजु , के  भन्न खाेजेकाे ?  छिटोभन्दा छिटो भनी हाल् त । एसइई सकेर सुन्ने धैर्य नै रहेन ।"
अब भने विकासले मनको उकुसमुकुस छाद्ने अवसर भेट्याे । उसले मनकाे बाँध भत्काइदियाे सर्मिलाकाे सामु । 
"एई त्यस अछुतलाई म कसरी भाउजू भन्न सक्छु । फेरि ऊ डाक्टर बन्न कम्मर कसेर लागेकी छ । तँतिर हेर्ने साेच्ली, खाेज्ली र ?"
"भन्छेस भने भन् नत्र म पागल हुन्छु । ऊ मेरी हाे । कसै गरे पनि मनबाट मेटिन्न ।" विकासले विवसता ओकल्याे ।
सर्मिलाले करिस्मा सामु विकासकाे मन पाेखिदिई । विवाहबन्धनमा बाँधिने करिस्माकाे
योजना बाहिरको कुरा थियोे ।
फलतः मनको आैडाहाले विकासलाई छाेपेछ । जबर्जस्त मनाउन खाेजेछ । करिस्माले यस जुनीमा असम्भव छ भनिछ । विकासले शिशा र ढुङ्गा प्रहार गर्दै भनेछ; "उसाे भए याे जीवन यहीँ फालदेऊ । अर्को जुनीमा हामी बिहे गरौँला ।"
२०७८-१२-२४        सिरहा ।

लघुकथा- अप्रिल गाली
-नन्दलाल आचार्य 
"तिमी मान्छे असाध्यै नजाती रहेछाै । स्वार्थको  डल्लो रहेछाै । तिम्री जोई हुनुभन्दा त सडकको माग्ने बन्नु धेरै गुना जाती हाे ।"
पत्नीले एक भकारी गाली छाद्दा पनि पति केही बाेलेका थिएनन् । पत्नीकाे आक्राेस कति ठीक  र कति बेठीक पतिले छुट्याउन सकेका थिएनन् । खासगरी उनले आफ्नो कमजोरी देख्न सकेका थिएनन् ।
पत्नी शब्दवाण प्रहार गर्दिथिइन्; "जागा छउन्जेल तिम्रो सेवामा डटेर लाग्नुपर्छ । निद्रामा समेत तिम्रै बारेमा साेचेर बरबराउनुपर्छ । आँखा खाेल्दा तिमीलाई नभेटेपछि आत्तिएर आैडाहामा जल्नुपर्छ ।"
"अरे यार, मेरो कमजोरी के हाे ?" सहन नसकेर पतिले प्रश्न राखे ।
"के चैँ हाेइन भन न ।" पत्नी आक्राेस चुलियाे ।
"तिमीहरूकै लागि जागिरे भा'काे छु । आफू मानसिक राेगी भएकाले छुटकारा पाउन बिहान सबेरै डुल्दै याेगशिविर धाउँछु । अल्छीलाई वनवास पठाएको छु । सधैं ऊर्ध्वगामी विचारलाई मनमा सजाउने गरेको छु । अझ म नै कसरी दाेषी ?"
"हाे, त्यसैले तिमीले टेन्सनकाे भारी लादेका छाै ।" मलाई नतमस्तक पार्ने गरी उनले पड्कँदै थपेकी थिइन्; "तिम्रा सबै कुरा ठीक छन् । याे ठाउँका लागि हामी पराई हाैँ । २ बजे रातिदेखि डुल्न हिँड्दा चाेरडाकु ठानेर कसैले तिम्रा करङ साेझ्यायाे कि भन्ने त्रास हुन्छ मलाई ।"
पत्नीप्रेमको रहस्य खुलेपछि पतिले भने; "ब्यारे, अप्रिल फुल मनाएको भन भन प्यारी ।"
२०७८-१२-१८  अप्रिल १, २०२२    सिरहा ।

लघुकथा- काँडाे
-नन्दलाल आचार्य
दस वर्ष पहिले भेटेको अरुण आज भेटियो । ऊ स्वरले चिनिने र मुहारले नचिनिने भएछ । कारण, यस अवधिमा बेलाबेलामा म र ऊ बीच फाेन वार्ता हुनेगर्थ्याे ।
पहिले सारसाैँदाे थियोे । अहिले खँजाहा भएछ । म पनि त्यस्तै थिएँ  । खुट्टा घिसार्ने र हात कुप्राे पार्ने प्रतिस्पर्धामा म नै उछिन्थेँ  भन्ने लागेकाे थियोे । तर उसको हालत प्रत्यक्ष देख्दा मलाई  पनि ऊ जित्ने निस्केको देखियाे ।
मैले कारण साेधेँ । उसले वनेलु काँडाे बिझेकाे जवाफ दियो । र, मलाई कारण साेध्याे । म‌ेले पनि घरेलु काँडाे बिझेकाे बताएँ ।
दुबैकाे पीडा एकै थियोे । प्रकृति मात्रै फरक थियाे । दुबै मुस्किलले हाँसो ओठमा च्यापेर आँखाभित्रै आँसु लुकाउन वाध्य थियौँ ।
कुरैकुरामा दुबैकाे रहस्य खुल्याे- उसले द्वन्द्व मैदानमा गाेली खाएको रहेछ । अवशेषका रूपमा केही छर्रा शरीरको अप्ठ्यारो भागमा अझै बाेकेकाे रहेछ । मैले भने जबर्जस्त पारिवारिक तनावकाे धाेक्राे बाेकेकाे थिएँ  । र, आफ्नै शरीरलाई अष्टाबक्र पारेकाे थिएँ ।
सम्पन्न !!!!!
२०७८/१२/१३      उदयपुर ।
लघुकथा- इगाेशैली 
-नन्दलाल आचार्य 
"मलाई अराउने तपाईं काे ?"
शिक्षकले प्रधानाध्यापकलाई प्रश्न गर्दा प्रअको अहङ्कार अझ कडाइसाथ खडा भयो । प्रअको कुराले शिक्षककाे कन्सिरी रन्कियाे । 
उनलेे थपे; "हेडमास्टर भएँ भन्दैमा यसाे गर्नुस् र त्यसाे भन्नुस् भनेर अह्राउनुहुन्छ ? तपाईं मेराे मालिक हाे र ?"
"हेडसरले नअह्राए कसले अह्राउने त ?" प्रअको प्रश्न भुईंमा खस्नै नपाई शिक्षकको राेष सुनियो; "मलाई दिएको जिम्मेवारीकाे काम गरेकै छु । त्यसमा कमजाेरी भएमा प्रश्नको थुप्रो लगाउनुस् । स्पष्टीकरणकाे चाङ लगाउनुस् । म नुन खाएको कुखुराे बन्न तयार छु ।"
"कसलाई कहाँ खटाउने र कसलाई कहाँ अराउने भन्ने अधिकार प्रअलाई स्वतः हुन्छ नि !" प्रअको मलिन स्वर गुन्जियाे ।
"व्यक्तिगत काममा शिक्षकलाई पठाउने र उसको पिरियडमा मलाई दलाउने काम मलाई रत्तिभर सह्य छैन ।" शिक्षक अझ पाखुराकाे बाहुला माथि सुर्किँदै कुर्लिँदै थिए; "तपाईं पनि फस्ट क्लास, म पनि फस्ट क्लासकाे शिक्षक ।  ममाथि हुकुम चलाउने के म तपाईंकाे नाेकर हुँ र ?"
यसरी समान तह र श्रेणीका प्रअ र शिक्षक बीच माैखिक युद्धले राेकिने नाम लिइरहेको थिएन । पठाउन छाडेर सबै शिक्षक बाझाबाझ भएको ठाउँ नजिक खडा थिए ।
त्यतिबेला वयोवृद्ध गाैरी सिंह सरकाे आवाज सुनेर सबै चुप भए; "यहाँ ईख र विष छादिएकाे मात्रै हाे । इगाे प्रबलममा हामी नफँसाैँ । मनाेकुण्ठा मनमै सिमित राखाैँ । सतहमा ल्याउने नसाेचाैँ ।"
सम्पन्न !!!
२०७८/११/१६  सिरहा, गाेलबजार ।
लघुकथा- नेपाल र नेपालीको हत्या
- नन्दलाल आचार्य
'त्यस केटीलाई भुल्छस् तँ कुलमा फर्कन्छस् । भुल्दैनस् त बिनापहिचानको बन्छस् । निर्णय तेरो कोर्टमा छ । दुई मध्ये एक कित्ता उभिहाल् ।' बाबाले आफ्नो अकाट्य वाणी ओकल्नुभयो ।
आमा भने बडो सकसमा पर्नुभएको थियो । मलिन मुहार लगाएर ढुटोझैँ अविचल खडा हुनुहुन्थ्यो । उहाँ बोल्न सक्नुभएको थिएन । मेरो पक्षमा बोले पतिदेवको इच्छाको हत्या हुने र पतिदेवको साथमा उभिए एक मात्र पुत्ररत्नको सपनाको घाँटी रेटिने |
अन्तत: उहाँले मुख खोल्नुभयो; 'नयाँ र पुरानो पुस्ता बिचको अहंकारी खेलमा मैले भकुण्डो बन्नु परेको छ । अहंकारको खेल छिटो निष्कर्षमा पुगोस् ।'
उहाँको तटस्थ मनस्थिति बुझेर बाबाले आफ्नो पल्ला भारी भएको अनुभव गर्न थाल्नुभयो । म भने परिवर्तनको खुटकिलो बनाउन खोजेर ठूलो काम गरेको आत्मरतिमा रमाउन थालेँ |
'मैले भुल्ने हैन सम्झने काम गरेको छु । नेपाल र नेपाली भन्नमा मात्रै हैन हुनमा पनि गर्ववोध हुनुपर्छ भन्ने आभाष समाजलाई दिलाएको छु । मैले कुलको नाक फाल्ने हैन घोक्रो नाक पार्ने काम गरेको छु । तसर्थ हाम्रो सम्बन्धलाई जीवन्त बन्न दिनुस् । आफ्नो मनको घैलामैला फालेर हजुर पनि कञ्चन सप्तकोसी बन्दिनुस् ।'
मेरो कथन टुङ्गँदा नटुङ्गँदै उहाँले मसँग सम्बन्धित सारा सामान आँगनमा फालिदिँदै आँखाबाट सदाको लागि ओझल पर्न निर्देशन जारी गर्नुभयो । आलटाल गर्दा सामानमै आगो लगाउन तयार हुनुभयो ।
म आयुष नेपाल र उनी आश्मा नेपाली बीचको बैबाहिक सम्बन्ध बाबालाई बिल्कुलै पचेन । उहाँले म मरिसकेको भनेर मृत्युदर्ता गराउनुभयो । आश्माका मातापितालाई समेत सोही कार्य गर्न बाध्य पार्नुभयो |
फलत: हामीले पनि दुई जोडी नयाँ बाआमा लिजमा लियौँ । नागरिकता बनायौँ । बिहे दर्ता भयो । हाम्रो नयाँ नाम एक समान भयो ।
आयुष मानव र आश्मा मानव ।
2078/11/05 गोलबजार, सिरहा ।

लघुकथा- जाेइल
-नन्दलाल आचार्य 
"घरभित्र यसकाे यस्तो हाल छ । घर बाहिर भने त्यत्रो नाम छ । खुशीले छाेराे हुनु त मेराे जस्तो भनूँ कि ! तेरो पनि मेराे जस्तै छाेराे हाेआेस्  भनेर सराप दिऊँ ।" एकाबिहानैदेखि आमा गनगन गरिरहनुभएकाे थियोे ।
घरको कौशीमा बसेर अर्धाङ्गिनी थाप्लो ठाेक्दै आँसु पुच्छै थिइन् । सात वर्ष मुनिका ससाना छाेराछाेरी गृहकार्य गर्न छाडेर गृहकलहका रमिते बनेका थिए । म भने पानीमाथिकाे ओभानो बन्ने प्रयत्नस्वरूप सफेद झुटकाे माच बनाइरहेको थिएँ ।
"धराेधर्म आमा अबदेखि म  त्यो छुँदैछुन्न । दुलहीलाई सम्झाइदिनु  न । ऊ रिसाइराखी भने मेरा वरपर शत्रु मात्रै जम्मा हुन्छन् ।" धरमरिएकाे स्वरमा मैले आमासँग प्रार्थना गरेँ । उहाँ अचल र अटल पहाड बन्नुभयाे ।
छाेराछाेरीतिर फर्केँ । म गाेमन बनेर र फडा उठाएर उनीहरू नै डस्न खाेजिरहेकाे छु जस्तो  गरिरहेका थिए । मैले पटकपटक विश्वास दिलाउन खाेजेँ । निर्थक सावित भयो  । कसैले मलाई सम्झाएन । वातावरणमा मुर्दाशान्तिकाे राज्य कायम भयाे ।
मैले पनि हारेेकाे सिपाही बनी मुन्टाे लतारिरहेँ  । केहीबेर पछि आमा आउनुभयो र भन्नुभयाे; "तँ खान्न भन्छस् । खानेबेला हाेस् राख्दैनस् । यही बानीले बुहारी सम्बन्धविच्छेद गर्ने तरखरमा छे ।"
मलाई हजार भाेल्टकाे करेन्ट लाग्यो । मुढाे बनेँ । आमाले सम्झाउनुभयाे । छाेराछाेरीले मनाए । म अचल पत्थर बनेँ । खाना पनि खाइनँ ।
अर्धाङ्गिनीकाे बाेली फुट्याे; "मैले त्यागेपछि अब तिमी के गर्छ्याै ?"
"मसँगै मन मिल्दो वर्गीय मित्र खाेज्छु; राेज्छु र उसैसँग जाेइल जान्छु ।" मेरा यस्ता कुरा सुनेर अर्धाङ्गिनीकाे अडान फेरियो ।
२०७८/१०/१० गाेलबजार, सिरहा ।


फागुन ७ प्रजातन्त्र दिवस विशेष-----
लघुकथा- साँढे गधा
-नन्दलाल आचार्य
उहिल्यै निपाने वस्तीमा गधाहरू नुनको सोझो गरेर बसेका थिए । मालिक रिझिएका थिए । सर्वत्र आनन्द थियो ।
एकपटक गधाहरू बीच विश्वास जित्ने खेल प्रतियोगिता भयो । सोझा गधाहरू अविश्वासको भुमरीमा घुमिरहन पुगे । मुठ्ठीभरका गधाहरूले मालिकको विश्वास हातमा लिन सफल भए । त्यस सफलतामा उनीहरूको हतियारले साथ दिएको थियो- साम, दाम, दण्ड र भेद ।
कालान्तरमा तिनै साँढे गधा कहलाए । तिनले मालिकको आँखामा छारो हाले । थाङ्नामा सुताए । आफू स्वामीभक्त भएझैँ गरे । मालिकको मुखाराबिन्दबाट गुह्य कुरा फुतुफुत खसाए । अन्तत: मालिकलाई नै उच्च सिंहासनबाट गलहत्याए । भुईँको सानो सिंहासनमा थपना राखी पूरै निवासको मनमौजी मालिक बने । सोझा गधाहरूले खाईपाई आएको कटौती गरी आफ्नै भोगविलासमा खर्च गरे ।
सोझा र साँढे गधाहरू बीच सङ्घर्षको समय आयो । धनजनको क्षतिको हिसाब भएन । थोरै पनि अमनचयन बाँकी बचेन । लामो तर कडा द्वन्द्वले सोझाको ओठमा मुस्कान छर्यो । साँढे  गधाहरू पूर्ववत् आकारमा फर्किए । यसरी सोझा र साँढे गधा बीचको लामो कथा छोटकरीमा यही समाप्त हुन्छ । जय प्रजातन्त्र !!!
2078/11/05  गोलबजार, सिरहा, मधेस प्रदेश, नेपाल ।


लघुकथा-  पिता
-नन्दलाल आचार्य 
'ताली छ । गाली छ । आँसु छ । हाँसो छ । रोग, भोक र शोक सबै छ । तापनि जीवन भने अझैँ छ । जीवन चिहाउने प्रयत्न जारी छ । अचेल म हर्दम भीड बीच एक्लो छु ।'
उनको बोली त्यतिमै अवरुद्ध भयो र पनि दर्शकदीर्धाबाट ताली आयो । प्रौढवक्ता गहभरि आँसु पार्दै आफ्नो स्थान आएर बसे ।
अरू वक्ता आए । आआफ्ना कुरा राखे । मेरो ध्यान भने उनै प्रौढ वक्ताको शारीरिक अवस्था र मानसिकवृतिमा गएर अल्झिरह्यो ।
उनी सेतै फुलेका थिए । अनुहारभरि सत्र ठाउँ मुझा परेका थिए । सबैभन्दा बढता त उनका आँखा ओभाएका थिएनन् ।
उनी एक प्रखर तर प्रौढशैली लघुकथाकार थिए । अन्य वक्ता साथीहरूले भनेका थिए; 'उनको परिवार नै साहित्यका लागि जन्मेको हो । साहित्यको स्वर्ण मन्दिर निर्माणमा परिवारले सुनौलो योगदान दिएको छ ।'
लेखकीय जगतबाट जोडिएका उनका शुभेच्छुक धेरै भए । रगतसँग तादाम्य राख्ने थोरै होलान् तर हृदयसँग जोडिएका नातेदार धेरै थिए । उनको प्रौढ आँखालाई रुझाउने तागत सबैको वाणीमा देखियो तर रिझाउने कला कसैमा भेटिएन । कार्यक्रममा तीन श्रष्टा सम्मानित भएका थिए । यस सुखद् क्षणमा सबैको मुहारमा हाँसो नाचिरहेको थियो । 
विरोधाभास परिस्थिति पैदा भइरहेको अवस्थामा म प्रौढ वक्ताको आँखामा नजर गाडिरहेको थिएँ । कार्यक्रम सकिएर सबै लाखापाखा लागे । मेरो जिज्ञासा भने अशान्त नै रह्यो ।
अन्तत: पत्ता लाग्यो- प्रौढवक्ताको एक मात्र सन्तानको अल्पायुमा भएको निधनको स्मृतिमा पुरस्कार स्थापना गरिएको रहेछ । सोही पुरस्कार हस्तान्तरण कार्यक्रमका अघिल्ला र पछिल्ला वक्ताले आफ्नो सन्तानको नाम र साहित्यमा योगदानको स्मरण गर्दा उनी भावुक भएका रहेछन् ।
2078/08/03  आरोहण गुरुकुल, विराटनगर


लघुकथा-  रङ
-नन्दलाल आचार्य 
एक पटक रानीवनका अनेक रङका ढुङ्गाहरू बीचमा भनाभन भयाे । आपसी शक्ति बाँडफाँड र अधिकार लेनदेनमा मतभेद चुलिँदै गयो  । मनमुटावले बासको टुप्पो छुनै लाग्दा कडा स्वर सुनिन थाल्यो ।
"तपैँहेरूले आफ्नै वर्गलाई मात्रै पाेषण गरेकाे चित्त बुझेन । हामी तमाम भाेकानाङ्गा, ख्याउटे पत्थरहरू असन्तुष्टिकाे उद्घाेष गर्दै स्वतन्त्रता, समतामूलक समानता र लाेकतन्त्रका निम्ति घर छाड्छाैँ ।" अनेक रङका ढुङ्गाहरूकाे कुरालाई पहेँलो ढुङ्गाले कुनै मूल्य दिएन ।
"हेरम् तिमीहरूको सङ्घर्ष ! कति उचाइमा पुगेर खस्दा रहेछाै ! खसेर धरातलमै भासिन्छाै अनि चेत्छाै ।"  पहेँलो ढुङ्गाले थप्दै भन्यो; "असाध्यै भुक्ने कुकुरले टाेक्तैन । असाध्यै उचालिने पत्थर आपसमै ठाेकिन्छ र टुक्राटुक्रा हुन्छ । तसर्थ कुरा बुझ । जुन अधिकार पाएका छाै, त्यसैमा चित्त बुझाआे ।"
अन्ततः वार्ता निष्कर्षविहीन भयो । ढुङ्गाहरू घर बस्ने र छाड्ने दुईतिर बाँडिए । घर छाडेका ढुङ्गाहरू राताे रङमा परिणत भए । घरमै राज गरेको पहेँलो ढुङ्गा बीच दशक लामाे द्वन्द्वकाे सुरुङ बन्यो । अनेक लाेभका गुच्छाहरू फ्याकिए । अनेक पापका कुण्डहरू भरिए । अनेक जागरणका गीतहरू सुसेलिए । अनेक मुर्दाहरू चिहानबाट उठे । अनेकले खाेपिल्टाे भरे ।
अन्तमा कसले हाे कुन्नि माेहनी जाल फ्याक्याे । सारा राता ढुङ्गाहरू त्यही जालमा परे । केही समय उकुसमुकुस भयो । पछि रत्तिए र ती सेता रङका भए । पहेँलासँग मर्ज हुन गए र काला रङमा परिणत भए ।
अन्य रङका ढुङ्गाहरू भने फुस्राकाे फुस्रै देखिए । अहिले रानीवनतिर कालाम्य ढुङ्गाहरूकै जगजगी  छ ।  
२०७८/१०/२९ माघ मसान्त  गाेलबजार, सिरहा ।


लघुकथा- जुडशीतल
#नन्दलाल_आचार्य 
"अझै आँखा देख्नु भएन बज्यै ?" शरीरमा पानी परेपछि दिवसले भन्यो । बज्यैले आशीर्वाद भन्दै टाउको मुसारिदिनुभयो । एकाविहानै चिसो हातले छोइदिँदा रिसायो; "वाइयात, जागा मान्छेलाई पानी छ्याप्ने ?"
"साना मान्छेले ठूलासँग गनगन गर्दैनन् ।" चश्मा मिलाउँदै बज्यैको वाक्य फुट्यो । दिवसले शास्त्रमा देखाउन चुनौती दियो ।
 ठूलाको ज्यादती सहन नसकिने भन्यो ।   बज्यैको दिमाग बिग्रेको कुरा थप्यो ।
"हामीले हाम्रो संस्कृतिको सम्मान गर्नुपर्छ ।" उहाँले विशेष नम्रता जाहेर गर्नुभयो । हेर्दाहेर्दै  घरआँगनमा पानी छताछुल्ल भयो । तिर्खाएका बोटबिरुवाले पानी पिउन भेटे । आमा परिकार  पकाउन व्यस्त हुनुहुन्थ्यो ।
"दुनियाँलाई पानी छ्यापेर अघाउनुभएन बाजे ?" गाउँघर डुलेर फर्केका बाजेलाई सोधियो । बुढाखाडाले आशीर्वाद दिनैपर्ने बताउनुभयो बाजेले । उहाँलेे बज्यैका थाप्लोमा हात राख्नुभयो । पर्वलाई सबैले सम्मान गर्नपर्छ भन्नुभयो ।
दिवसको अबुझपनलाई बुझाउन बज्यैले सम्झाउनुभयो; "सबै कुरा शास्त्रमा अँट्ने ठान्नुहुन्न ।" "व्यवहारिक लाभ हेरे पर्याप्त हुन्छ ।" वैज्ञानिक चश्माले हेर्न भन्नुभयो बाजेले । जुडशीतल बुझेपछि अनुहार उज्यालियो दिवसको । 
२०८०/०१/०१ सिर्जनाकुटी, सिरहा ।
+++

लघुकथा- नयाँ वर्ष  
-नन्दलाल आचार्य 
"सधैं किचलो झिकेर गिदी खानुहुन्छ ।" वीरेको आनीबानीले कटाक्ष भेट्यो  विमलाबाट । पहिले तिलको पहाड बनाउँथ्यो वीरे । अहिले भने विल्कुल‌ै शान्त थियोे । एकाएक परिवर्तन आएकोमा  सन्नाटा छायो ।
संसारका सामु मिलेका जोईपोइ थिए । आन्तरिक रूपमा रहस्यमय जोडी थिए । आँखा सामु एकले अर्कोलाई गन्दैनथ्यो । ओझलमा रानो हराएको मौरी हुन्थे । उनीहरू आपसमा नचिनिई जीवन घिसार्थे ।
एक्कासी विमलालाई उखपात हुन थाल्यो । उनी पतिलाई कोट्याईकोट्याई बोलाउन थालिन्- "एकाएक मान्छेले विल्कुलै परिवर्तन हुनुहुन्न ।" पतिको मौनताले  कष्टकर अवस्था आयो ।  सधैंको बकबके बानी विमलामा सर्यो ।
वीरेको मन भने मुस्कुराइरहेको थियोे । विमलाको चाहिँ भतभती पोलिरहेको थियोे । वीरे अथाह आनन्दमा पौडदै थियोे । बाहिर अनेक भित्र एक थिए । केहीबेरमै विमलाका आँखाले बाँध फुटायो ।
आँसुले वीरेको शान्ति भङ्ग गर्यो । विमलाको नाजुक हालत असह्य भयो । उनलाई आफूतिर  तानेर पाखुरी सुम्सुम्यायो । अनि गाला पुछ्दै वीरेले थप्यो; "नयाँ वर्षदेखि नयाँ काम थालेको ।"
२०८०/०१/०१ सिर्जनाकुटी, सिरहा ।

लघुकथा- दोस्रो चोर 
#नन्दलाल_आचार्य 
"म गोरे तँ काले होस् ।" अनायास दीपकले ठूलो मुख बायो ।
 मेरो मनमा ढ्याङ्ग्रो बज्न थाल्यो । आफ्नोतर्फबाट हुने त्रुटिपूर्ण काम सम्झिएँ । दीपकसँग गरिएको सहकार्य खोटरहित पाएँ ।
"लेख्ने हात तेरो कुरा मेरो !" उसको अल्प वाक्यले मगज रन्थनायो ।
"प्रष्ट भन्; मेरो मन नगिजोल् ।" मैले पनि मनको ऊहापोह घोप्ट्याएँ ।
यस पटक भने खुलस्त पार्यो; "म समाजबाट साहित्यको कखरा चाेर्छु । तँ मेरो लेखनीको रानो चोर्छस् ।"
+++++
२०७९/१२/२९  सिर्जनाकुटी, सिरहा ।


लघुकथा-  फल
-नन्दलाल आचार्य
आफूलाई गन्दै नगन्नेहरूले एकाएक आत्मीय व्यवहार गरेपछि बिर्खबहादुरले प्रश्न गरे; "मलाई किन यत्रो मानदान गरेको ?"
जवाफ कसैबाट नआउँदा बिर्खबहादुरले नै थपे; "मत माग्न प्रयोग हुने बोली र व्यवहार  यसैबेला प्रयोग भएकोमा छक्क परेको छु ।"
सरकारी तलवभत्ता खानेपचाउने धेरै मानिसहरू कुरा सुनिरहेका थिए र टाउको निहुर्याएर खुट्टाले जमिन कोर्नमा समय विताइरहेका थिए ।
बिर्खबहादुरले नै मनोगथासो बाहिर्याए; "छानामा पुर्‍याएर भुईंमा फ्यात्त फ्याल्ने रणनीति त होइन ?"
भिडका कानमा नपर्ने गरी कार्यालय सहयोगीले बिर्खबहादुरको कानैमा मुख लगेर भन्यो; "अनर्गल खर्चको फेहरिस्तलाई शुद्धीकरण गर्न विपक्षीको हस्ताक्षर चाहिएकाले गुलियो वचन सुनिएको हो सर !"
२०७९/१२/२६ सिर्जनाकुटी, सिरहा ।


"पैसाको बोट"लघुकथा-  तानाबाना 
#नन्दलाल_आचार्य 
"भाेलिको रात तिमीलाई बक्सिस भयाे । जसरी उपयोग गर्छ्याै, स्वीकार्य छ ।" अस्मीकाे सुन्दरतामा अन्धाे भएको सेठले पूरै अधिकार दियो ।
सहरकै महङ्गो हाेटल बुक भयो । अनेकौं चखिला र रसिला पेयसहितकाे परिकारकाे सूची तयार भयो । मान्छे दुई, परिकारकाे ढेडी । काेठा चाहिएको एक, बुक भएको अनेक ।
खानेपिउने, राैसरङ, अनेक तडकभडक भए ।   कसले कहाँ कति बिल उठायाे सेठ बेखबर रहे ।  भयङ्कर बिल तिरेर सेठ फुर्सदिला भए ।
त्यसको साता नवित्दै सेठकाे हातमा एउटा खामबन्दी पत्र पर्याे । त्यसमा तस्बिर पनि थियोे । लेखिएको थियोे- अर्धनग्न अवस्थाका तिमी सेठले मलाई के गर्याै, सम्झ ?
पत्रकाे अर्कोतिर बैंक खाता सहित उल्लेख गरिएकाे थियाे-  इज्जत गाेजीमा राख्ने भए, सडकमा नछर्ने भए र जेलकाे अँध्यारो नहेर्ने मासिक एक लाखका दरले पाँच वर्षसम्म खातामा हालिदिनू ।


लघुकथा- प्रतिराेध
#नन्दलाल_आचार्य
"प्रगतिशील मुद्दा बाेकेछन् भनेर मुखिया बा र उनको समूहलाई जिताइयाे ! तर अहिले माछाे, माछाे भ्यागुतो बनाए ।" बारीको पाखामा छुट्टै भाेजस्थल स्थल ताेकिदिएपछि वीरबहादुरले पहिलोपटक गुनासो पाेख्याे ।
"यी पुराना मान्छे मक्किएका र पाेचिएका हुन्छन् । यिनीहरूबाट नयाँ साेचसमझ पाउनु दुर्लभ हुन्छ ।" कपडा सिलाउने मेसिन राेक्तै मसिनेले मसिनो स्वर निकाल्यो ।
आरनमा बस्दा लागेको कालो र धुलाे टकटक्याउँदै मानेले भन्यो; "भाेजकाे आशामा विहानदेखि मुखमा पानी सिवाय केही हालेको छैन । साइत नजुराईकन खान जाआैँ त !"
"अब पनि विभेद पचाएर बस्यौं भने मान्छे आकृतिका पशु मात्रै कहलिन्छाैँ हामी ।" यस पटक आगाे बन्यो वीरबहादुर ।
"गफले पेट भरिन्न यार । काममा नफर्किए मुखमा माम आइपुग्दैन ।" मानेले थप्याे; "मान गरेर बाेलाएकाे ठाउँमा नगए मुखिया बा मात्रै रिसाउँदैनन् । त्यो पाकेको अन्नले पनि सराप्छ ।"
"आगामी पुस्ताका लागि जिउँदा पुर्खा बन्ने कि मरेकै हुने ?" वीरबहादुरकाे प्रश्नले मानेकाे मुन्टाे लत्रियाे ।
"व्यवहारमा देखिने परिवर्तनका लागि सीमान्तकृत समूहको शरीर बेग्लाबेग्लै तर मन एकै हुनुपर्छ । नदीलाई राेक्ने तागत कसैको रहन्न । ससानाे कुलो भइरहने हाे भने त्यसलाई ढलनल जसले पनि बनाउँछ ।" मसिनेले यसपाला कडा आवाज निकाल्यो ।
फलतः सबैकाे सल्लाहले वीरबहादुरले मुखियालाई चिठी लेख्याे- त्यतिबेला हाम्रो भाेट अनमाेल भयो तपाईंलाई । यतिबेला  ब्यवहार तीतो कुरा मात्रै  गुलियाे  हामीलाई । अरूलाई सँगसँगै दलानमा र हामीलाई बारीको पाखामा ? विजयाेत्सवकाे भाेज खुवाउने ताैरतरिकामा असन्तुष्टि पाेख्छाैँ । 
मसिनेले थप्न लगायाे- कुकुरबाट मान्छेकाे श्रेणीमा उकाल्ने वचनले हाम्रो मन लुट्नुभयो त्यतिबेला । राजनीतिकाे भर्याङ उक्लेपछि एकै घानमा हामी र हाम्रो आवाजलाई भुट्नुभयाे यतिबेला । 
अन्तमा माने समेत सहमत भयो र वीरबहादुरलाई थप्न लगायाे- समाजमा विभेदकाे खाडल गहिरो पार्ने यस्तो भाेज बहिष्कार गर्छौं । 
२०७९–०७–१९ शनिबार, सिद्धार्थटोल, उदयपुर । हाल– सिर्जनाकुटी, सिरहा ।
हुनुपर्ने- (भरतताल, सर्लाही )
विवेक दुलाल क्षेत्रीकाे 'भाेज' लघुकथाको उत्तर कथा-















सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...