श्रद्धेय डा. विदुर चालिसेज्यू,
निम्न लघुकथा हेरी कुनै १ लाई सर्वोत्कृष्ट घोषणा गरी सहयोग गर्न र निर्णायक संयोजकका लागि हस्ताक्षर पठाइदिन अनुरोध छ ।
उत्कृष्ट ११ मा पुग्न सफल सहिद सन्दर्भ प्रतियोगी लघुकथा वर्णानुक्रम अनुसार निम्न छन् ।
१. लघुकथा (प्र) - खोजी ✍️ पं .ज्यो.तोयनाथ सुवेदी
२. लघुकथा (प्र)- उत्तरकाे प्रश्न ✍️धिरज बराल
३. लघुकथा (प्र)- स्मृति ✍️नानि भारद्वज
४. लघुकथा (प्र)- शहीद ✍️पदमप्रसाद दाहाल
५. लघुकथा (प्र)- कराही, कसौँडी र कुर्सी ✍️प्रेम घिमिरे 'अग्निकवच’
६. लघुकथा (प्र)- सहिद एकता ✍️रामप्रसाद पन्थी
७. लघुकथा (प्र) - विमर्श -शारदा दहाल (भण्डारी )
८. लघुकथा (प्र)- नक्कली सहिद ✍️शुक्रराज कुँवर
९. लघुकथा (प्र)- सहिद ✍️रचना शर्मा
१०.लघुकथा (प्र)- अमर ✍️रुद्र अधिकारी ‘निर्दोषी’
११. लघुकथा (प्र)- सम्मान ✍️सविता भट्टराई
श्रद्धेय डा. विदुर चालिसेज्यू,
निम्न लघुकथा हेरी कुनै १ लाई सर्वोत्कृष्ट घोषणा गरी सहयोग गर्न र निर्णायक संयोजकका लागि हस्ताक्षर पठाइदिन अनुरोध छ ।
000
१. लघुकथा (प्र) - खोजी ✍️ पं .ज्यो.तोयनाथ सुवेदी
" नरोऊ,आँखाको आँसु पुछ्ने कोही छैन"आवाज आयो।
"पीडाका पहाडहरूलाई बाँधेर मनभित्र राख ;किनकि अरूका
अगाडि देखाएर केही हुँदैन ।यो स्वार्थी समाज हो,यहाँ निस्वार्थीले त मूकदर्शक भएर बस्नू बाहेक अरू केही छैन।"
उसले थप्यो।
"सिमारक्षा र राष्ट्रियताका विषयमा लड्नु पर्थ्यो,यहाँ त आफू
र आफ्ना लागि लड्ने पो सहिद भएका रहेछन् त?" कुरा थपियो।
"छोड्दिनुस् ,सत्यसेवा सुरक्षणम् लेखिएका देवालहरूमा अडेस
लागि गजबार भएर बस्ने पो देशभक्त रे त?" उनले थपिन्।
देशलाई छातीमा सजाउन खोजी, मेरो देशलाई आँखामा राखेर
काम गर्ने,सौदाबाजी नगर्ने देशभक्तलाई ल्याइदिने अठोटले ऊ
माथेमा.. थापा.. चन्द ..श्रेष्ठ भन्दै अलप भयो। समाप्त।।
२०८०/१०/१६
२. लघुकथा (प्र)- उत्तरकाे प्रश्न ✍️धिरज बराल 'सहिद काे परिभाषा लेख।' एउटा प्रश्न याेपनि साेधिएकाे थियाे परीक्षामा। उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा शिक्षक धर्मभक्तले यस प्रश्नमा परिक्षार्थीले भिन्नभिन्न उत्तर लेखेकाे पाए। ....."विभिन्न आन्दाेलनमा सुरक्षाकर्मीकाे गाेली लागेर मर्नेलाई सहिद भनिन्छ।" "आन्दाेलनकारीकाे आक्रमणबाट मर्ने सुरक्षाकर्मीलाई.....।" "दलहरुबीचकाे लुछाचुँडी र लडाइँमा ज्यान गुमाउनेलाई....।" "न्याय खाेज्दा खाेज्दा न्याय नपाएर मृत्युुवरण गर्न बाध्य सर्वसाधारणलाई....।" "टिपर (ट्रक) ले हानेर मारिनेलाई...।" "सडक र हवाई दुर्घटनामा ज्यान गुमाउनेलाई....।" आदि आदि। सबै परिक्षार्थीका उत्तर धर्मभक्तले गहिरिएर पढे र ती सबैलाई पाँचमा पाँच समान अंक दिए। परीक्षाफल प्रकाशित गर्ने क्रममा उनकाे परीक्षणमा ठूलाे प्रश्न उठ्याे। अपव्याख्या गरेर परीक्षण गरि अनुचित अंक दिएकाेमा उनलाई शिक्षा कार्यालय बाेलाइयाे र स्पष्टीकरण साेधियाे। उनले स्पष्टीकरण दिए। "महाेदय, प्रश्नले खाेजेकाे उत्तर अधिकांश परिक्षार्थीहरुबाट भिन्नभिन्न र नयाँनयाँ आउँछ भने मेराे विचारमा त्याे उत्तरमा हैन प्रश्नमै विचारविमर्श गरिनुपर्छ । त्यस परिस्थितिमा प्रश्न नै गलत छ या पाठ्यक्रम बाहिरकाे छ भन्ने मानेर परिक्षार्थीलाई पुरै अंक दिनु न्यायाेचित ठहर्छ। पच्चीस वर्षको मेराे अनुभवले मलाई यहि नै सिकाएकाे छ। मेराे कुराे याे, बाँकि त यहाँहरुकाे कुरा! धन्यवाद! धर्मभक्त।" धिरज बराल, काैशलटार, भक्तपुर
+++
३. लघुकथा (प्र)- स्मृति ✍️नानि भारद्वज
मोबाइलमा निकैबेर घण्टी बजेपछि फोन उठाएँ र सम्वाद यसरी भयो,
"हेलो !"
" हेलो, मलाई चिन्नु भो ?"
" चिनिन त मैले !"
" म क्या ,तपाईं सानो छँदा तपाईंको घरमा बुवालाई भेट्न आइरहन्थें नि !"
" ए , कमरेड पो बोल्नु भाको हो ?"
" हो त !"
" हजुर त अहिले मन्त्री पो हुनुभाछ रे हो !"
"हो !"
" ए बधाई दिन पनि मेलो पाइन, ढिलै भएपनि बधाई छ हजुरलाई।"
"धन्यवाद बाबू , तपाईंको बुवा क्रान्तिकारी विचार र ब्यवहारको अति नै धनी हुनुहुन्थ्यो ।"
" म त सानै थिएँ अलिक मेसो पाउँदिन हजुरलाई नै थाह होला, कति कामले पो फोन गर्नु भो ?"
" तपाईं भोलि यहाँ आउनुपर्यो ।"
" किन होला हजुर ?"
" हामीले शहीद परिवार सम्मान कार्यक्रमको आयोजना गरेका छौं।"
" आउन त गाह्राे छ हजुर !"
" जसरी पनि आउनु न ल !"
" भोलि नै आउन त असम्भव छ हजुर !"
" म मेरो गाडी पठाइदिन्छु आउनस् न ! "
" माफ गर्नुहोला हजुर, म यहाँ खाडीमा जान विमानस्थलको लाममा बसेको छु।"
बुधबार ३ माघ २०८०
विराटनगर , मोरङ्ग।
+++
४. लघुकथा (प्र)- शहीद ✍️पदमप्रसाद दाहाल
" ए साँल्दाइ ! सुन्नुभयो ? "
" मैले केही सुनेको छैन । राम्रो कुरा हो कि खराब ? " साँल्दाइले प्रतिप्रश्न गरे । " ल ! त्यो हामीसँग पढ्दाको साथी नरेश नि ! "
" के त खुलस्त पार न ! " साँल्दाइ हतारिए । "अँ ! शहीद दिवसको कार्यक्रम मनाउन जाँदै गर्दा बाटैमा गाडी दुर्घटनामा परेर सकिएछ । " " ला ! अनि ?"
" त्यसपछि त सारा गाउँलेहरू मिलेर आन्दोलन गरे । शहीदको कार्यक्रममा गएको मान्छेलाई सरकारले शहीद घोषणा गर्नैपर्छ नत्र यो बाटो खुल्न दिँदैनौं भनी सबै गाडी जाम गराए । सारा मानिसको जीवन सकसमा पर्यो ।सरकारले वाध्य भएर नरेशलाई शहीद घोषणा गर्यो । परिवारलाई दस लाख थमायो । " तर !!"
"तर के ?" साँल्दाइले चकित भएर सोधे । हर्कले लामो सुस्केरा फाल्दै भने,-" तर त्यो शहीद घोषणा गरिएको नरेशले स्वर्गको शहीद घरमा ठाउँ पाएनछ । उसको हंसले प्रत्येक आन्दोलनकारी र सरकारको कानमा भन्यो रे ! " स्वर्गमा शहीद हरूले हाम्रो अपमान गर्न आएको भनी खेदाए । मेरो आत्मा भड्किरहेको छ । हे ! मूर्ख सरकार ! दुर्घटनामा परेका , लुटपाटमा मारिएका जस्ता व्यक्तिलाई शहीद घोषणा नगर । शहीद हुनलाई त देश र जनताको भलाइका लागि काम गर्दै गर्दा मारिएका व्यक्ति पो हुनुपर्छ त ! "
२०८०/१०/८
+++
५. लघुकथा (प्र)- कराही, कसौँडी र कुर्सी ✍️प्रेम घिमिरे 'अग्निकवच’
आफू हेपिएको अनुभूति हुँदा जसको पनि मन कुँडिन्छ। ‘काम परून्जेल भाँडो काम सकिएपछि ठाँडो’ भने जसरी कुनामा घोप्ट्याइएका कराही र कसौँडी पनि मूल्यहीन बन्नुपरेको बिलौना गर्दै थिए।
कराहीले भन्यो- “ ढिँडो ओडाल्न,तरकारी पकाउन,दुध तताउन म नभै हुँदैनथ्यो। पहिले-पहिले त मलाई घोटीघोटी मस्काएर सफा पारेर प्रयोग गर्थे। हिजो आज त वास्तै गर्दैनन् बा!”
कसौँडीले भनी- “ हो त दाई! मलाई त झन् घरमुलीले खाने मिठो-मसिनो चामलको परिकारहरू, दाल, खिचडी पकाउन प्रयोग गर्थे। पिताम्बरीले मस्काएर पहेँली बनाएर चौकोमा सजाउँथे। हिजो-आज त यही कुनामा घोप्ट्याएर राखेको दशकौं बितिसक्यो। वर्षमा एकदिन सुम्सुम्याउन आउँछन् बस त्यति हो।”
“ हेर बहिनी! अझै हामी चुपचाप सहेर बस्ने हो भने त एकदिन पत्रु बनाउलान् जस्तो छ। त्यसैले अब सहेर नबसौँ ” भन्दै कराही कसियो। कसौँडीले पनि सहमति जनाई। दुबै अधिकार खोज्न कुर्सी कहाँ गए।
सबै कुरा सुनिसकेपछि कुर्सी मुस्कुराउदै बोल्यो - “ हिजो पिर्का र गुन्द्रीमा बस्नेहरू आज सोफा र घुम्ने कुर्सीमा बस्छन्। ढिँडो र गुन्द्रुक खानेहरू भुजा ज्युनार गर्छन्। हिजो तिमीहरूसँग मिलेर सिंहासनको बिरोध गर्नेहरू आज त्यही सिंहासनमा विराजमान भएकाछन्। मैले गुन्द्री र पिर्कालाई शहीद बनाएँ। कुकर र फ्राइप्यानहरूले पनि तिमीहरूलाई शहीद बनाए।”
कुर्सीको कुरा सुनिसकेपछि कराही र कसौँडीको घैँटोमा घाम लाग्यो। आफूलाई वर्षमा एकदिन सुम्सुम्याउन आउनुको कारण थाहा पाएपछि आ-आफ्नो कुनामा गएर शहीद दिवस पर्खँदै बस्न थाले।
-0-
८ माघ,२०८०
बर्दिबास, महोत्तरी।
+++
६. लघुकथा (प्र)- सहिद एकता ✍️रामप्रसाद पन्थी
स्वर्गमा नेपाली सहिदहरूकाे गाेष्ठी चलेकाे थियाे । गाेष्ठीकाे अध्यक्षता प्रथम सहिद लखन थापाले गरेका थिए । उक्त गाेष्ठीमा सहिद यज्ञबहादुर थापाले कार्यपत्र प्रस्तुत गरे -" अध्यक्ष महाेदय ! सहिदहरूकाे परिभाषा गर्नु चुनाैतिकाे विषय हाे । अनुसन्धान गर्दै जादा मैले दुई किसिमका सहिदहरू फेला पारें ती हुन -
१. आफू मर्छु भन्ने थाहा पाएरै देश र जनताका लागि जीवन बलिदान दिने ।
२. मर्छु भन्ने नलागी आन्दोलनमा लागेका तर अरूकाे लहलहैमा लागि आवेग वा उत्तेजनाबाट प्रेरित भई जीवन गुमाएका ।
यसबीचमा सहिद भीमदत्तले आफ्नाे विचार व्यक्त गरे - विशेष गरी नेपाल एकीकरण , अंग्रेजसँगकाे युद्द , निरङ्कुश राणाकाल ,प्रजातान्त्रिक आन्दाेलन हुँदै गणतन्त्रको लागि जीवन उत्सर्ग गर्नेहरू मुख्य रूपमा सहिद हुन् भन्ने मेरो बुझाइ हाे । "
दुर्गानन्द झालेले थपे - सहिद भीमदत्तले भन्नुभएकाे कुरा बिलकुल ठीक हाे । सरकारले जथाभावी सहिद घाेषणा गर्दा वास्तविक सहिदहरूकाे इतिहास नै ओझेल परिसक्याे ।"
पण्डित नारायण पाेखरेल जुरूक्क आसनबाट उठ्दै भने - साथीहरूले ठीक भन्नुभयाे । मेरै कुरा गर्नुपर्दा धार्मिक प्रवचन गरिरहेकाे बेला मलाई अज्ञात समूहले गाेली ठाेक्याे । पछि मलाई धार्मिक सहिद घाेषणा गरिएछ । मलाई याे पदवी भारी भइरहेकाे छ । "
टंक प्रसाद आचार्यलाई पनि अघिदेखि खसखस लागिरहेकाे थियाे । उनले भने - अध्यक्ष महाेदय ! मलाई पनि जिउँदै सहिद भन्ने गरिन्छ । यहाँहरूलाई थाहै छ । म त धर्मराज, शुक्रराज, दशरथचन्द र गंगालालजी सँगै मर्न चाहन्थें । तर मेराे भाग्यमा त्याे अवसर लेखेकाे रहेनछ ।आज सहिदलाई कित्ता कित्तामा विभाजन गरेकाे देख्दा चित्त दुःखेर आउँछ । "
सहिद रत्नकुमार बान्तबाले हात उठाउँदै आफ्ना कुरा राख्ने अनुमति मागे । उनले भने - " अरूले झुण्डाएका , आफै झुन्डिएका , ढुङ्गाले थिचेका , गाडीले मिचेका , गाेली लागेका र खाेलामा हाम फालेका सबै कसरी सहिद हुन सक्छन् ? "
अर्का एकजना सहिदले असहमति प्रकट गर्दै भने - " काे कसरी सहिद भयाे ? मुख्य विषय हाेइन । सरकारले घाेषणा गरेपछि सबै सहिद हुन् । सहिदहरूमाथि भेदभाव गर्न पाइदैन । भयाे भने यहाँ विद्राेह हुन्छ । "
कार्यक्रमकाे समापनमा गाेष्ठीकाे अध्यक्षता गरिरहेका लखन थापाले भने -" सबै साथीहरूका कुरा सुनियाे । उठेका विषयहरूका सम्बन्धमा गहिराे अनुसन्धानकाे आवश्यकता देखियाे । अहिले सहिद दिवसलाई भव्य रूपमा सफल पाराैं । यति भन्दै आजकाे गाेष्ठी यहीँ अन्त्य भएकाे घाेषणा गर्दछु । सहिद एकता जिन्दावाद । धन्यवाद ।"
२०८० । १०।०६
रेसुङ्गा नगरपालिका २, गुल्मी
+++
७. लघुकथा (प्र) - विमर्श -शारदा दहाल (भण्डारी )
"लासमाथि फूल राख्दैमा सहिदको सपना साकार हुन्न हजुर ! ...." सहिद सप्ताह चलिरहेको बेला विरहको सारङ्गी समेत बजाउँदै केही सालिकहरु गाउन थाले ।
"यस्तो विरह नगाऔं न !यति कमजोर होइनौं क्या हामी । उपलब्धि छ नि! एउटा बोल्यो।
"देख्यौ उपलब्धि ग्वाँठ हो ! सहिद दिवस भनेर सबैलाई बोध गराउन एकदिन सार्वजनिक विदा त दिएनन्।" दोस्रो आक्रोशित भयो।
"हो नि ,कुनै चाकडी गरेनन् क्यारे हाम्रा सन्तानले ! नत्र त सार्वजनिक विदा गरी सहिद सम्मान भनेर आइहाल्थ्यो नि राष्ट्रिय समाचारमा मात्रै नभएर मोफसलमा पनि ।"अर्कोले थप्यो।
"होइन साथी हो, हामी खुशी हुनुपर्छ नि! सुशासन र समानताको नारा घन्किएको छ। सार्वभौमिकता र स्वतन्त्रताको बिगुल बजेको छ। ब्यबस्था परिवर्तन भएको छ। यो प्राप्ति चाहिँ मामुली हो र?"शिरको सालिकले भन्यो।
वास्तविकता त यही हो भन्ने मनन गर्दै उनको कुरामा सबैले समर्थन गरे। र "देशले रगत मागे वलि मलाई चढाउनू .......!" भन्ने गीत एकैसाथ गाए।
२०८०/१०/१६
+++
८. लघुकथा (प्र)- नक्कली सहिद ✍️शुक्रराज कुँवर
सहिद गेटमा झोक्राएर बसिरहेका चार सहिदहरुलाई सिरानमा रहेका राजा त्रिभुवनले भने - " के भयो तिमीहरुलाई ? आज सहिद दिवस, सहिद सप्ताह मनाइरहेका छन् । तिमीहरु भने घोसे मुन्टो लाएर बसिरहेका छौ ।"
सहिद मध्ये एकले भने - " हाम्रो नूर गिरेको छ महाराज । हाम्रो अवमूल्यन भयो । एकपटक टुँडिखेल तिर नजर होस् ।"
टुँडिखेलमा लहरै लाशहरु राखिएका थिए । एउटा अमुक पार्टीको राजनीतिक स्वार्थमा भएको कथित आन्दोलनमा उनीहरु सरकारी पक्षबाट मारिएका थिए । अमुक पार्टिले उनीहरुलाई सहिद घोषणा गर्न सदन र सडक दुबै तताइरहेका थिए ।
टुँडिखेलमा राखिएका लाशहरु मध्ये एउटा लाशले अर्को लाशलाई भन्यो - "ओइ ? सुन् त ! हामीहरुलाई सहिद घोषणा गरे ?"
दोस्रो लाशले भन्यो - " घोषणा त भइहालेको छैन तर घोषणा हुने पक्कापक्की छ ।"
" अनि ? हाम्रो परिवारलाई दस लाख दिने भए त ? " पहिलो लाश झनै उत्सुक भयो ।
" त्यसको लागि पनि नेताहरुले ' बार्गेनिङ ' गरिराछन् ।" दोस्रो लाशले आश्वस्त पार्दै भन्यो ।
उनीहरुको वार्तालाप सुनिरहेको तेस्रो लाशले भन्यो -
" दस लाख नदिने भए 'सहिद' घोषणा नगरे पनि हुन्छ । भनिदिनु नेताहरुलाई ।"
२०८०/१०/०५
बलभद्र पथ धरान १०
+++
९. लघुकथा (प्र)- सहिद ✍️रचना शर्मा
"मेरो छोरोले केहीछिन अघि मृत्युवरण गर्यो, अब यसलाई सहिद घोषणा गर्दिनु पर्यो हजुर !" उसले आफ्नो पार्टीको अध्यक्षलाई सुनायो ।
"मानसिक स्थिति गुमेको अपांग, त्यसैमाथी छारे रोगले लखतरान ! हिँड्दा हिँड्दै बाटोमा पल्टिएर मरेको तिम्रो यस्तो छोरोलाई सहिद घोषणा गर्ने ? देशको लागि के गर्यो यसले? सहिद घोषणा गर्दा पत्याउलान् र जनताले ?" अध्यक्ष कड्केर बोले ।
"देशको लागि नगरेर के भो त, तपाईंको लागि त धेरै गरेको छ नि यसले !" उसले ढुक्क भएर भन्यो ।
"के गर्यो र त्यस्तो साहसी काम ?" अध्यक्षले जिज्ञासा राखे ।
उसले यताउती हेर्यो र बिस्तारै भन्यो, "ल.., बिर्सनु भो ? त्यत्रा किशोरीहरूको बलात्कार , अपहरण र हत्या गरेको तपाईंको छोरोलाई यसैले बचाएको होइन ?"
२०८०/१०/०५
++++
मोरङ।
+++
१०.लघुकथा (प्र)- अमर ✍️रुद्र अधिकारी ‘निर्दोषी’
“तिमी को हौं ? किन यती चाडैं आएको ?” चित्र गुप्ताले लखनलाललाई सोधे।
लखनलालले जवाफ दिए “म मेरो खुशीले कहॉं आएको हो र प्रभु ? अझै के के गरौंला भन्ने थियो ! कालले उमेर नै नपुगि टपक्क टिपेर ल्याए पछि, के सिप लाग्दो रहेछ र?”
“काललाई किन दोष लगाउँछौं ? गोलि चल्न सक्छ भन्ने जान्दा जान्दै किन आन्दोलनमा गएको त?” चित्र गुप्ताले प्रश्न सोधे ।
लखनलालले जवाफ दिए “म आन्दोलनमा कहॉं गएको थिए र ? पसलमा चिया पिउँदै गर्दा गोली लाग्यो ? पुलिसले आन्दोलनकारीलाई, आन्दोलनकारीले पुलिसलाई दोष लगाए । त्यस पछि आन्दोलन झन चर्कियो । मेरो लासको आडमा राजनीति भयो । आन्दोलनकारीले मलाई सहिद घोषणा गर्न लगाएर सरकारलाई घुँडा टेकाएरै छाडियो भने। मेरो परिवारलाई दुई चार हजार दिएछन । यसरी म सहिद भएर आएको प्रभू “
चित्र गुप्ताले लामो सुस्केरा हाल्दै चिन्ता ब्यक्त गरे “खै पृथ्वी लोकमा, निर्दोषको ज्यान लिने र सहिदको नाममा गरिने राजनीतिको अन्त्य कहिले होला?”
ईटहरी, सुनसरी (हालः लन्डन)
बिहिबार, माघ ४, २०८०
*******************
११. लघुकथा (प्र)- सम्मान ✍️सविता भट्टराई
"हाम्रा शहीद अमर रहुन।जिन्दाबाद ।जिन्दावाद।"सडकमा हिँडेको मानिसको हुल झ्यालबाट दस वर्षीय शुशिल हेरि रहेको थियो। ऊ दगुरेर आमानिर आयो र सोध्यो" आमा !शहीद भनेको के हो?
आमाले शुशिल लाई नजिकै ल्याएर भित्तामा झुन्ड्याएको शहिदहरुको फोटो देखाउँदै भन्नुभयो।"हेर बाबु!आफ्नो देशको हक हितको लागि दिन रात न भन्ने अन्त्यमा देशकै लागि आफ्नो ज्यान समेत बलिदान गर्ने सुपुत्रलाई नै शहीद भनिन्छ।"बुझ्यो?हामीले सहिदलाई सधै सम्मान गर्नु पर्छ।
केहीबेर पछि शुशिल आमा सँगै टुँडिखेल गयो।त्यहाँ शहीदको परिवारलाई सम्मान गरी केही नगद पुरस्कार सहयोग गर्ने कार्यक्रम थियो।
केहीबेर पछि शहीद सम्मान भनेर नरेको परिवार लाई सम्मान गर्ने घोषणा गरियो। नरे आफ्नो गाउँको सब भन्दा बडमाश कुलतमा लागेको ,गैरकानुनी गर्ने व्यक्ति प्रहरी लाई आन्दोलनको बेला ढुङ्गा हानेर भाग्दा प्रतिकारमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो। पछि शहीद घोषणा भएपछि मात्र उसको दाह संस्कार भएको थियो।
शुशिल छक्क पर्दै आमा तिर हेर्दै भन्छ।आमा यो पनि सहिद हो ?आमा निशब्द हुनुभयो।
+++
No comments:
Post a Comment