नानि भारद्वजको ‘स्मृति’ लघुकथा सर्वोत्कृष्ट घोषणा
लघुकथा प्रतिष्ठान नेपालद्वारा सहिद दिवस २०८० को सन्दर्भ पारेर
आयोजित लघुकथा अभियानमा नानि भारद्वजको ‘स्मृति’ लघुकथा सर्वोत्कृष्ट घोषणा भएको छ ।
उक्त अभियानमा प्रतियोगी र सहभागी गरी पाँच दर्जन अधिक लघुकथा प्रेषित थिए । डा. विदुर चालिसेको निर्णायक संयोजकत्वमा अन्य चार सदस्यीय समिति सक्रिय थियोे । पूर्व सञ्चालित अभियानमा सर्वोत्कृष्ट हुने पीपी कोइराला, बासुदेव तिमल्सिना, गङ्गा खड्का साथै यस अभियानका संयोजक समेत रहेका निरज कोइराला निर्णायक सदस्य थिए । यस अघि शान्ता तिमल्सिनाको लघुकथा सर्वोत्कृष्ट भएको थियो ।
भाषाको प्रस्तुती गहनता, निर्देशन कथन, संवाद अभिव्यक्ति, शीर्षक र निष्कर्ष बिचको रहस्योद्घाटन, घटना कथन पद्दती र अनुच्छेद संरचनाको आधारमा ‘स्मृति’ लघुकथाले सबैलाई उछिनेको कथन निर्णायक संयोजक डा. विदुर चालिसेको छ ।
यस सहिद विषयक अभियानमा उत्कृष्ट एघारमा पर्न सफल अन्य लघुकथा र लेखकहरूको वर्णानुक्रम यस्तो छ–
खोजी शीर्षकको लघुकथाका लेखक पं .ज्यो.तोयनाथ सुवेदी, उत्तरको प्रश्न शीर्षकको लघुकथाका लेखक धिरज बराल, स्मृति शीर्षकको लघुकथाका लेखक नानि भारद्वज, शहीद शीर्षकको लघुकथाका लेखक पदमप्रसाद दाहाल, कराही, कसौँडी र कुर्सी शीर्षकको लघुकथाका लेखक प्रेम घिमिरे ’अग्निकवच’, सहिद एकता शीर्षकको लघुकथाका लेखक रामप्रसाद पन्थी, विमर्श शीर्षकको लघुकथाका लेखक शारदा दहाल (भण्डारी), नक्कली सहिद शीर्षकको लघुकथाका लेखक शुक्रराज कुँवर, सहिद शीर्षकको लघुकथाका लेखक रचना शर्मा, अमर शीर्षकको लघुकथाका लेखक रुद्र अधिकारी ‘निर्दोषी’ र सम्मान शीर्षकको लघुकथाका लेखक सविता भट्टराई अभियानी उत्कृष्ट लघुकथाकार घोषणा भएका हुन् ।
तीनै उत्कृष्ट एघार मध्ये ‘स्मृति’ शीर्षकको लघुकथा सर्वोत्कृष्ट भएको हो ।
नेपाली साहित्यमा ‘मलन’ समूह अर्थात् मनोहर पोखरेल, लक्ष्मी रिजाल र नन्दलाल आचार्यद्वारा सञ्चालित लघुकथा प्रतिष्ठान नेपालले स्थापनाकाल २०७८ कार्तिक ३ गतेदेखि नै नियमित लघुकथा विमर्शको काम गर्दै आएको छ । साथै यसकै मुखपत्रका रुपमा नन्दलाल आचार्यको प्रधान सम्पादकत्वमा ‘सन्दर्भ’ लघुकथा प्रधान पत्रिका समेत प्रकाशन हुँदै आएको छ ।
प्रस्तुत छ सर्वोत्कृष्ट हुन पुगेको नानि भारद्वजको ‘स्मृति’ लघुकथा–
लघुकथा– स्मृति ✍नानि भारद्वज
मोबाइलमा निकैबेर घण्टी बजेपछि फोन उठाएँ र सम्वाद यसरी भयो,
“हेलो !”
“ हेलो, मलाई चिन्नु भो ?”
“ चिनिन त मैले !”
“म क्या, तपाईं सानो छँदा तपाईंको घरमा बुवालाई भेट्न आइरहन्थेँ नि !”
“ए, कमरेड पो बोल्नु भाको हो ?”
“हो त !”
“हजुर त अहिले मन्त्री पो हुनुभाछ रे हो !”
“हो !”
“ए बधाई दिन पनि मेलो पाइनँ, ढिलै भएपनि बधाई छ हजुरलाई । ”
“धन्यवाद बाबू, तपाईंको बुवा क्रान्तिकारी विचार र ब्यवहारको अति नै धनी हुनुहुन्थ्यो ।”
“म त सानै थिएँ; अलिक मेसो पाउँदिन हजुरलाई नै थाहा होला, कति कामले पो फोन गर्नु भो ?”
“तपाईं भोलि यहाँ आउनुप¥यो ।”
“किन होला हजुर ?”
“हामीले शहीद परिवार सम्मान कार्यक्रमको आयोजना गरेका छौं ।”
“आउन त गाह्रो छ हजुर !”
“जसरी पनि आउनु न ल !”
“भोलि नै आउन त असम्भव छ हजुर !”
“म मेरो गाडी पठाइदिन्छु आउनुस् न !”
“माफ गर्नुहोला हजुर, म यहाँ खाडीमा जान विमानस्थलको लाममा बसेको छु ।”
बुधबार ३ माघ २०८०
विराटनगर, मोरङ्ग
No comments:
Post a Comment