लघुकथा- बिचरी महिला
-लक्ष्मी रिजाल
मार्च ७ काे मध्याह्नमा गाेलपुर सडकमा एकाेहाेराे साना गाडी गुड्दा थिए । गाडीले उडाएको धुलाे, धुँवा र धाेद्रेस्वर पचाएर एक जाेडी दम्पती तिनै गाडीले ताकेकाे गन्तव्यतिर लम्कँदा थिए ।
"भाेकाे पेट हामी कता जाँदै छाैँ ?" पत्नीको सवाल थियोे ।
"त्यही भाेककाे ओखती लिन ।" पतिको सटीक जवाफ थियाे ।
"जे लिनुछ एक्लै लिँदा भइगाे नि !" पत्नीलाई वाक्क लागेकाे भाव सुनियो ।
"एक्लैले एउटा पेट मात्रै भरिन्छ । दाेक्लै भए एक पेटमाथि अर्को थपिन्छ । फेरि महङ्गो समयमा सित्तैमा मासुभात हसुर्ने अवसर कसले गुमाउँछ र !" पतिको कन्जुरी राेग छर्लङ्ग देखियो ।
"छाेराे भाेकायाे हाेला । पेटभरि दूध चुसाउन पनि पाइनँ । पाखुरामा समाएर तानेकाे तान्यै गर्नुभयाे । केके न हाेला भनेर सासूकाे काखमा छाेराे राखेर तपाईंको पछि लागेकी त यसैका लागि पाे रहेछ । म फर्कन्छु ।"
"फर्कन नै आएका हाैँ । क्षुधा मेटेर फर्कने ।" पति कथन निस्कँनासाथ विद्यालयकाे चाैरमा मान्छेकाे मेला देखियो । राजनीतिक दलको जिल्ला अधिवेशनकाे त्यस माहोलमा पकाउने, खाने, खुवाउने, बटुल्ने, भाेट माग्ने, सहयोग गर्ने र गराउने सबै आआफ्ना धुनमा थिए । शाकाहारी र सर्वाहारी दुबैकाे अलगअलग व्यवस्था थियोे ।
पतिको करचापले पत्नीले खाना खाइन् । खाना हेर्दै स्वादिलो र बासनादार थियोे । सबैले उत्तम मानेर खाए । तर पत्नीको लागि स्वाद र सुवास हराएको खाना लाग्याे ।
काखे र दूधे छाेराे सासूकाे काखमा राेइरहेको सम्झेर । सित्तैमा पाएकाे खाना इमानकाे नभई जनताको खुनपसिनाकाे ठानेर । बेइमानी राजनैतिक संस्कार आँखासामु झल्झली देखेर ।
२०७८/११/२४ गाेलपुर, सिरहा ।
‘शिक्षक÷गुरु’ विषयक लघुकथा मात्र नमस्ते लघुकथामा प्रेषित–
लघुकथा– बाङ्गो औँला
– लक्ष्मी रिजाल
‘सधैँ रातोदिन घोटिएर खट्ने र दिलोज्यानले डट्ने म्यामहरू बैशाख लाग्यो कि नुन खाएको कुखुराझैँ किन झोक्रिन्छन् हँ ?’
प्रश्नको उत्तर आफैँसँग थियो तापनि मनले मनैसँग सोधी टोपल्यो । अर्कातिर काम निजी स्कुलमा गरेर गुनासो सडकभरि ओछ्याउन पाइन्छ त ? मेरो मन अरू पनि भनिरहेको थियो–
–इमान्दार मान्छेले पैसासँग इमान साट्न हुन्न ।
–संस्थाको सदस्यका रूपमा जुटेपछि त्यसकै वृहत्तर हितमा तन, मन र कर्मले समर्पित रहनुपर्छ ।
–विद्यार्थी निर्दोष हुन्छन्; ज्ञानको भोकतिर्खाले आलसतालस हुन्छन् । आफूलाई जे होस् उनीहरूको भोकतिर्खा शान्त पार्नु शिक्षण पेशाको मूलधर्म हो ।
–हामीले नुन खाएका हुन्छौँ तर त्यसको सोझो गर्न यदाकदा भुल्छौँ ।
–निर्दोषलाई ठगेर पाप कमाउने काम नगरौँ ।
मनमा यस्तै भावनाहरू तँछाडमछाड गर्दै आइरहेका थिए । त्यो पनि एक निजी विद्यालयको संस्थापक÷प्रिन्सिपलको हैसियतले हैन विद्यार्थीको शिक्षकका हैसियतले ।
तीन घन्टी लाग्यो । जानुका म्याम अफिसतिर आउनुभयो । एकान्त मिल्नासाथ भनिहाले; ‘मैले बुझेको छु म्याम; नयाँ सेसन लागेपछि शिक्षकको गुनासो मसँग हुन्छ भनेर । म एकएक गरी बोलाएर चित्तबुझ्दो तलबसुबिधा बढाइदिन्छु । ढुक्कले विद्यार्थीलाई शिक्षा दिऔँ । कन्जुस्याइँ फिटिक्कै नगरौँ है ?’
मेरो मुखबाट तलब बढ्ने कुरा सुनेर जानुका म्यामको अनुहारमा अर्कै आभा देखिएको थियो । चौथो घन्टीमा उहाँ पढाइराख्नुभएको थियो । एक विद्यार्थीले सोध्यो; ‘म्याम, हजुर एकदमै जाति शिक्षक हुनुहुन्छ । सधैँ हिजोको जस्तो हैन; आजको जस्तो पढाउनुस् है ?’
मप्रति नै कटाक्ष गर्दै म्यामको मुखबाट ध्वनि निस्केको थियो; ‘के गर्नु महंगीले मारेको छ । पेटको सवाल छ । काम गर्ने ठाउँमा सोझो औँलाले घिउ आएन र पो त !’
२०७८–०६–२० कञ्चनरूप– १२, रूपनगर, सप्तरी ।
लघुकथा– शान्ति
–लक्ष्मी रिजाल
‘बोलीमै आगो बल्नुपर्छ । अनि मात्रै परिवर्तन सम्भव छ ।’ सानुमायाले टड्कारो आवाज निकाल्दा हर्की तर्सेर भनी; ‘आगोको साम्राज्य स्वीकार्न सक्तिनँ ।’
कायरहरूलाई समाजमा मुन्टो ठड्याउने अधिकार नभएको सानुमायाले जिकिर गरी । अरू सबै लाटा र आफू मात्रै बाठो सम्झेर आत्मरतिमा रमाउनेहरूसँग हात मिलाउन नसकिने तर्क अघि सारी हर्कीले । सानुमाया झट्टै परिवर्तन हुनुपर्छ भन्थी । हर्की भने जानिबुझी गरिएको परिवर्तन दीर्घकालीन हुन्छ भन्थी । तातै खाँदा जल्नुपर्छ; सेलाएर खाँदा पोषण मिल्छ भन्थी ।
दुबै समकालीन सखी थिए । दुबैको बोली बीच आकाशपातालको फरक थियो । कामकाजमा भने दुबै सँगै हुन्थे । कहिल्यै आपसमा छुट्टिँदैनथे । एकापसमा छुट्टिँदा दुबैलाई असजिलो अनुभूत हुन्थ्यो ।
एक दिन सानीमायाले भनी; ‘तँ पूर्व फर्के म पश्चिम फर्कन्छु । तापनि तँ मसँगै हुन्छेस् । म पनि तँसँगै हुन रमाउँछु । किन ?’
क्रान्ति र शान्तिलाई सन्तुलन पार्न सके मात्र जित हात पर्ने बताउँदै हर्कीले थपी; ‘किनभने तेरो मनको क्रान्तिको आगोलाई मेरो मनको शान्तिले मथ्थर पार्छ ।’
कञ्चनरुप नगरपालिका–१२, प्रगतिटोल, रुपनगर, सप्तरी ।
नमस्ते🙏आधुनिक लघुकथा मञ्चको वार्षिकोत्सबको दोस्रो दिन दोस्रो लघुकथाले शुभकामना भन्दै प्रस्तुत -
लघुकथा- समय
- लक्ष्मी रिजाल
"गहभरि आँसु, मनभरि आैडाहा र बेचैनी बोक्नुभएको छ ।" मैले यतिमात्र के भनेको थिएँ छिमेकी बाले आँसु चुहाइहाले ।
"बुढेसकालले छोएपछि तनझैं मन पनि कमजोर हुन्छ । मनलाई अग्राख पारे मात्रै परिस्थितिसँग जुध्न सकिन्छ ।" मैले नजिक हुन आदर्श ओकलेँ ।
उनी अझै गम्भीर नै थिए । मैले जति कारण खोतले पनि ढुङ्गो बोल्ला तर उनी बोलेनन् ।
"बच्चालाई लाग्ने पिन्चे रोग बुढेसकालमा दोहोरिन्छ भनेको सत्य रहेछ ।" उनको अन्तस्करण चिमट्दै मैले कुरा राखेँ ।
मेरो हात च्याप्प समाएर पर्तिर देखाउँदै उनले भने- त्यहाँ अशक्त बूढो भँगेरालाई त्यसका बचेराले दानापानी खुवाएर बचाएका थिए । व्याधाको चङ्गुलमा बचेरा परेछन् ।"
"चराका कुरामा मन दुखाउनु नादानी हो, बा ।" मैले बोली नटुङ्गयाउँदै उनले उत्तानो टाङ लगाएर लडिरहेको भँगेराको दृश्य देखाउँदै उनलेे भने- भोकतिर्खाले छट्पटिँदै भँगेरो मरेझैं हाम्रो हालत आउन के बेर ?"
२०८०/०३/०४ कञ्चनरूप-१२, रूपनगर, सप्तरी ।
आज नमस्ते आधुनिक लघुकथा मञ्चको पाँचौँ वार्षिकोत्सवको पहिलो दिनको अवसरमा सम्पूर्णमा शुभकामनासहित प्रेषित-
लघुकथा– कोटा
–लक्ष्मी रिजाल
‘केही पाउँछु भन्ने लोभले यत्रो वर्ष तपाईंको पछि लागेँ तर....।’ मुटु मिचेर बमबहादुर थापाले गुरुनेता सामु मुख खोल्यो ।
शिक्षकबाट अवकास भएपछि राजनीतिमा सक्रिय भएकाले गुरुदत्त गुरुनेता कहलिको थियो । उसको कुटनीति पक्ष बलियो थियो । आफ्नो गाउँबाट पार्टीको रथ कुसलतापूर्वक हाँकिरहेको थियो ।
ऊ गुनासो सम्बोधन गर्दै गयो–
–तँ राहत मास्टरमा लगाइदिनु भन्थिस् । आहत हुन्छ भनेर फेल पार्दिएको ।
–सरकारी अफिसमा पियन भए पनि लगाइदिनुसम्म भन्थिस् । हाकिम हुने योग्यता भएकालाई सानो जागिर सुहाउन्न भनेर पछि पारिदिएको ।
–स्थानीय निकायमा कुनै पदको टिकट दिनु भन्थिस् । हेर्दै ठूलो ओहोदाको लाग्ने मान्छेलाई स्थानीयमा अलमल्याउनुहुन्न भनेर लिस्टबाट तँलाई हटाएको ।
–तपाईंको झोला बोकेको ठ्याक्कै बीस वर्ष नाध्यो भन्छस् । यसपाला चाहिँ तँलाई झोला बोक्नेबाट प्रमोसन गर्दिएको छु । ढुक्क भएर चुनावमा होमिई ।
सुकेको अनुहारमा हरियाली ल्याउँदै बमबहादुरले सोध्यो- गुरु, अब मलाई के बनाइदिने ?
हत्तपत्त गुरुनेताले भन्यो- अहिले समानुपातिक सांसद बन्दै छस् । खट्दै जा । डट्दै जा । मौका मिले मन्त्री नै बनाइदिऊँला ।
"‘तर गुरु; हाम्रो पार्टीको भागमा बाहुनक्षेत्रीको कोटा परेको छैन त ।"
उसले बोली टुङ्ग्याउन नपाउँदै गुरुनेताले भनिहाले- बमबहादुर थापा पछि मगर जोड्ने गर् । हाम्रो भागमा परेको आदिवासी जनजाति कोटामा तँलाई नै पारौँला ।
२०८०–०३–०९ कञ्चनरूप–१२, प्रगतिटोल, रूपनगर, सप्तरी ।
भदौ ५ लघुकथा दिवसको अवसरमा शुभकामना स्वरुप प्रेषण-
लघुकथा- वर्तमान
-लक्ष्मी रिजाल
‘ध्यानिज्ञानी महात्मा ठानेर सर्वत्र उहाँलाई सम्मान गर्छन् । बिनाखोट आफ्नै गाउँमा उहाँलाई अपमान गर्न तम्से ।’ चन्द्रमोहनको प्रवचन सकिएर मानिसहरू लाखापाखा लागेपछि त्यहाँ उपस्थित मानिसहरूका बीच मोहनले गुनासो पोखे ।
मोहनका कुरा सुन्नासाथ रमाकान्तले प्याच्चै भने; ‘गधा धोएर गाई हुन्न, ढोंगी बाबाको चेला !’
‘जीवनमा काम, क्रोध, लोभ, मोहबाट मुक्त भई वैराग्यलाई अँगालेको मान्छेलाई कसैले चित्त कुँड्याउने काम गरेमा फरक के नै पर्ला ?’ आफ्नो अपमान गरेको सुनेर चन्द्रमोहनले पनि बाङ्गो कुरा गरे ।
‘हेर्, दारी बुढा, पाँच वर्ष अलप हुँदैमा कोही महात्मा हुन्न । तँ यहाँ गाउँ भाँड्न आएको होस् । टिकट काटिहाल् । नत्र नाङ्गेझार बनाएर लखेट्नु नपरोस् ।’ विष्णुले रिस पोख्यो ।
‘आफ्नो परिवारलाई लात मार्ने यस्ता नाथेसँग बात मारेर मुख किन दुखाउँछौ केटाहरू हो !’
रमाकान्तले अर्को वाण चलाए । मोहन बाहेक अरूले नकारात्मक कुरा गर्दै गए ।
‘लौ, जाँडका भकारी बाबा, हामी अहिले हिँड्यौँ । भोलिको सूर्योदय पूर्व नै यस शिव मन्दिरबाट पनि अलप भइहाल् ।’ आक्रोश पोख्दै रमाकान्त उठे ।
‘घर भत्काउने, बालीनाली क्षति गर्ने जङ्गली हात्ती लखेट्न ठिक पारेका पुल्ठाहरू छँदै छन् । यसका लागि तिनैको उपयोग गर्नुपर्छ ।’ यस्तै नकारात्मक कुरा थपथाप पार्दै विष्णु पनि बाटो लाग्यो ।
चन्द्रमोहन समुद्रझैँ शान्त थिए । मोहन मात्रै त्यहाँ मौजुद रह्यो । चन्द्रमोहनले सोधे; ‘तिमीसँग मलाई दिने कुनै कालोमैलो दुर्गन्ध छैन, मोहन नाति ?’
जवाफमा प्रतिप्रश्न गर्दै मोहनले भन्यो; ‘तपाईंभित्रको विद्वता लिन मैले के गर्नुपर्छ, बाबा !’
जवाफमा चन्द्रमोहनले भने; ‘विगतले वर्तमानलाई क्षतविक्षत पार्न छाड्नुपर्छ । वर्तमानलाई भविष्यका लागि हाँस्न दिनुपर्छ ।’
०००
२०८०.०५.०२ कञ्चनरुप १२, रुपनगर, सप्तरी ।
sahitya post weener प्रतियोगी लघुकथा
उपाय
-लक्ष्मी रिजाल
"आमा गइन् खेतमा बाबा गए मन्दिर
कर्म ठूलो या धर्म अहिले म भन्दिनँ ।"
लखनलालले गाएको धोद्रे स्वर सुनेर मैले आँखा खोल्नु परेको थियो । पहिले उनलाई पढेलेखेको युवाका रूपमा सम्मान गर्थे गाउँलेहरू । अहिले दिमागको एउटा नटबल्टु ढिला भएको ठिटो सम्झेर अपमान गर्न समेत पछि पर्दैनथे । उनी बोल्दा होस् कि खोक्दा कविता नै ओकल्न पाए हुन्थ्यो भन्ठान्थे ।
उनी सबैका कुरा बुझ्थे । अरूकै चिन्तामा डुबिरहन्थे । अरूको भलो सोचे पनि उनको भलो सोच्नेहरू बिरलै थिए । यस्तो विषम परिस्थितिलाई समेत उनले आफ्नो उपहार सम्झेका थिए ।
"आँखा चिम्ली बसेर हात बाँधी रहेर
पूरा हुन्न कर्तव्य गुफा बासी भएर ।"
म चुपचाप बसेको देखेर उनले भनेको कविताको प्रत्युत्तरमा मेरो मुख खुलेको थियो- "म अक्रिय ध्यानमा थिएँ । निर्विचार मनोदशामा पुग्नै लागेको थिएँ । हजुरको आवाजले पुनः विचारको तहमा फर्केँ । यो सब गुफा पस्न हैन तन र मन दुबैको अवस्था सपार्न हो ।"
केहीबेरमै मेरा बाबा मन्दिरबाट फर्कनुभयो । हामी दुबैलाई निधारमा टीका लगाइदिनुभयो । हातहातमा प्रसाद थम्याइदिनुभयो । र; भन्नुभयो: " श्रीकृष्णमा मन लगाएस् । उनैले कल्याण गर्छन् । पोल्टाभरि धर्म हात लाग्छ ।°
बाबाका कुरालाई लखनलालले नाकनिक गरेर हावामा उडाएका थिए । त्यसै बखत यामानको घाँसको भारी लिएर आमा आइपुग्नुभएको थियो । उनले आमाका गोडा ढोगेका थिए । पसिनाले लत्पतिएको शरीर चाँडै ओभाओस् भनी हाते पङ्खाले आमालाई हम्केका थिए । र; भट्याएका थिए-
"मेरा लागि यी आमा धर्मकी हुन् पुजारी
सलाम ठोक्छु सदा आफ्ना गोडा बजारी ।
कर्तव्य नै धर्म हो मन्दिर जानु होइन
आफू मात्रै हाँसेर पुण्यधाम पाइन्न ।"
लखनलालको मुखबाट धर्म आर्जनको उपाय सुनेर बाबाको निधार खुम्चेको थियो । आमाका फुस्रा ओठमा भने मन्द मुस्कान नाचिरहेको प्रष्ट देखिन्थ्यो ।
+++
रुख पूजा पाठकिय टिप्पणी नियाल्दा
लक्ष्मी लक्ष्मीप्रसाद पौडेल पाठकिय टिप्पणीले लक्ष्मी रिजालको लघुकथा "रुख पूजा " लाई न्याय मिलेको छ । कथाकारले छोटो लघुकथा भित्र आफ्नो भन्न खोजेको आशय कथा लेख्दा सम्पूर्ण कुरा समेट्न नसकेको हुन सक्छ । धेरै कुरा पाठकले लघुकथाको शीर्षकबाट पनि पाठकले यसो भन्न खोजिएको हो भनेर अनुमान गर्दछन् । छोटो मिठो लघुकथाले कुनै एक शीर्षक विषयमा केन्द्रित भएर लेखेको कथामा पाठक टिप्पणीबाट लघुकथा मात्र होइन लेखकको परिचय ,कथाको परिवेश शब्द कथा संरचनाको बारेमा मिठो सटिक टिप्पणी लेखी दिँदा लघुकथाकार र लघुकथा दुबैलाई धेरै न्याय मिलेको छ । यस पाठक टिप्पणीबाट कथाकारलाई पनि सन्तुष्टि मिल्न सक्छ ।
लघुकथा : रुख पूजा
अचम्म लाग्ने कौतुहलताको शिर्षक नभए पनि जब कथाको आशय बुझिन्छ तब शीर्षकको पनि महत्त्व झल्किन्छ । यहाँ धेरैलाई कथा सारले तान्न नसके पनि जो यस कथा परिबेसमा आफ्नो जीवन जोडिएको छ तिनीहरूको लागी यो कथा मुटु चुँडिने हुन सक्छ । आमाको मुख हेर्ने दिन आफ्नो आमाको अनुभूति गरेर रुख पुजा बाट आमाको स्नेह स्पर्श गरि रहेको हुन्छ । प्राकृतिक रुख पूजा मर्म स्पर्शी छ । सन्तानले आफ्नो आमा बाबु र जन्मदाताले आफ्नो सन्तान थाहा नहुने अनाथको जन्म घर झाडी भित्रको कथाले धेरैको मन मस्तिष्कमा कौतुहलता जगाएको छ ।
टिप्पणीमा कारले लघुकथाको बारेमा मिहिनताका साथ आफ्नो कलम चलाएको छ । मानवता हराएको हाम्रो समाज भित्रको कारुणिक कथा भित्र म पात्रले आफ्नो व्यथालाई राम्रो सँग उजागर गरेका छ । कथाकारको सकारात्मक सोच , यस लघुकथा पात्रले आफ्नो जन्मदाता प्रति रिस ,घृणा गरेको छैन । अनजान आमा प्रति श्रद्धाभाव ले रुख पूजा गरेको आमाको स्मरण बुबा अभिभावक प्राप्ति रुख झाडीले गर्दा आफ्नो जीवन पाएको अभिव्यक्ति दिएको छ । कथाकारको कथा लेखन प्रतिभा गजब छ । दुई साथीको संवाद भित्र एक साथीको पुरा जीवन लघुकथामा समेटिएको छ । कथा पढेर एक छिन घोरिनु पर्ने ! आफ्नो अधिकारबाट वञ्चित अनाथलाई आफ्नो जन्मदाता आफ्नो जिन्दगी प्रति गुनासो छैन । एक अनाथले आफ्नो दुख वेदना मात्र पोखेकी छैन एक प्रकृति रुखलाई आमा मानेकी छे । अनजान आमा बुबा प्रति आदर देखाएको , यो कथा सकारात्मक सोचमा कारुणिक कथा बिषय बस्तु समेटिएको छ ।
पाठकीय टिप्पणी :
लक्ष्मी रिजालको लघुकथा ' रुखपूजा' माथि एक नजर
लक्ष्मीप्रसाद पौडेल
प्रारम्भ : कथाकार लक्ष्मी रिजालको बसोबास कञ्चनरूप - १२ सप्तरीमा रहेको छ । उनी लामो समय शिक्षण पेशामा आवद्ध रहेर शिक्षाको ज्योति फैलाएको बताउँछिन् । अहिले साहित्यिक गतिविधि र लघुकथा लेख्नमा उनको कलम निरन्तर चलिरहेको छ । फेसबुक पेजहरुमा पोस्ट भएका उनका लघुकथा हेर्दा, पढ्दा उनले रचना गरेका लघुकथा गहिरा छन् । सोझो बाटो घुमाएर दौडिएका छन् , भन्नु पर्दा साहित्यिक छन् । 'अहिलेको लघुकथा लेखनको ज्वलन्त समस्या र प्रवृति छोटोकथालाई लघुकथा भनिदिनु हो । ' उनले आफ्ना लघुकथालाई छोटाकथा हुनबाट जोगाउन अथक प्रयास गरेको देखिन्छ ।
कथानक : आधुनिक नेपाली लघुकथा पेजमा ३० अप्रैलमा प्रेषित लघुकथा 'रुखपुजा ' दुई युवती साथी, ' म पात्र ' (लेखक स्वयं) र सरिता बीचको रहस्यमयी वार्तालाप हो । जसको अन्त्य धेरैको कल्पना बाहिरको छ तर यो हाम्रो समाजको कटु यथार्थ बनेको छ । सरिता आफ्नो बगैंचा वरपरका रुखहरूमा पानी लगाउने क्रमसँगै पूजा गरेको भाव प्रदर्शन गरिरहेकी छे । मन्त्र उच्चारण यसरी गर्छे , ‘मैले त्यसलाई चाखेँ । उसलाई छामेँ । सबै मतलबी पाएँ । बरू यसलाई पुज्न सके गाँस दिन्छ, बास दिन्छ, कपास दिन्छ, सास दिन्छ । हामीलाई यसभन्दा बढता अरू के चाहियो र ?’ अनि रुखको फेदलाई अंकमाल (दण्डवत् ) गर्छे । उक्त दिन आमाको मुख हेर्ने दिन परेको छ । सबैले आफ्नी आमाको सम्झना, सम्मान गरेर दिवस मनाइरहेका छन् । तर साथी सरिता यसरी बहुरंगिएको देख्दा 'म ' पात्रलाई उदेक लाग्छ । तात्पर्य बुझ्न खोज्छे । सरिताले ऊ पनि आमाकै सम्झना र गुणगान गाइरहेको अर्थ्याउदा कथानकले 'म' पात्र सँगै पाठकलाई गम्भीर उत्सुकतातर्फ धकेल्छ । यहाँ कथ्यको रहस्यमयी गाँठो कस्न कथाकार अब्बल देखिएका छन् । म पात्रको उत्सुकता मेट्दै सरिता अगाडि बढ्छे । ' ऊ एउटी बिना आमाकी छोरी हो ।' बिना बाबुको छोराछोरीको कथा त धेरै भेटिन्छन् । तर 'बिना आमाकी छोरी' पाठक थप कौतुहल हुन्छ । एउटा युवक जसलाई ऊ बाबु भन्छे , ले होटलमा दूध पुर्याएर फर्कँदा सालनालसहित उसलाई झाडीमा भेटाउँछ । घर ल्याउँछ । समयकालमा त्यो युवाले बिहे गर्छ । सन्तान नहुँदा दोस्रो बिहे गर्छ । स्वभावतः शुरुमा प्रेम पाउनु र पछि दुत्कारिनु यहाँ पनि देखिन्छ । दुईवटी आमाको कलहको बीउमा ऊ विरक्तिन्छे । म पात्र, स्तब्ध, उसका कथा सुनिरहेकी छे । ऊ उसको गोप्यता साथीले गोप्य नै राखिदिने विश्वास लिँदै कथाको रहस्य खोल्ने गरी बिट मार्छे , एउटी नारी झाडीमा आमा बनाइन्छे । झाडीहरुकै छेकवारमा मातृस्नेह मिल्क्याउछे । फालिएकी ऊ एउटा पुरुषलाई भेटिन्छे , भेट्ने पुरुषले आमाको स्नेह र न्यानो माया दिन्छ । हुर्काउँछ, बढाउँछ , पाल्छ । बाबुको कर्तव्य पूरा गर्छ । बाबुको चिनाउने आमा हुन्छिन् । झाडीको रुखले उसलाई आश्रय दियो । उसको बाबु दियो । त्यसैले ऊ रुखलाई आमा मान्छे र मातृदिवसको दिन रुखको पूजा अर्चना गर्दछे ।
लघुकथाले यहीँनेर विश्राम लिन्छ ।
लघुकथाको परिवेश र कथ्य : कथाकारले एउटा नारी पात्रको जन्म र जीवन भोगाईलाई संवादको माध्यमबाट छोटो परिवेशमा कलात्मक कथा कथेका छन् । कथाका दुई पात्र सानो समयको बसाइँमा एउटी नारीले भोग्न विवस प्रजनन कर्म र त्यसबाट उत्पन्न अर्की नारीको भोगाइ वार्तालाप सुन्छन् सुनाउँछन् । र एउटा कहिल्यै नमेटिने कालो दाग, कहिल्यै नपुरिने अपराधवोधको खाडल पाठकलाई जिम्मा लगाएर लघुकथा टुंगिन्छ ।
पात्र चयन : यहाँ दुई पात्र छन् । सरिता प्रथम पुरुष जो घटनाको मुख्य पात्र हो र व्याख्याता पनि , र दोस्रो लेखक स्वयं 'म' पात्र द्वितीय पुरुष जो कथ्यलाई उत्सुकता तर्फ लैजान्छ । कथानकलाई तन्काउन , कलात्मक बनाउन सहयोगी रहन्छ । सहायक पात्रको रूपमा बगैंचामा रहेका रूख बिरुवालाई लिन सकिन्छ । जुन बिना कथा अधुरो हुन्छ । यो कथ्यलाई प्राण भर्न आवश्यक पात्र छनौटमा कथाकार अब्बल देखिएकी छन् ।
भाषा शैली : लघुकथा रूखपुजामा भाषा सरल हुँदाहुँदै पनि भाष्य अलि जटिल छ । कथ्य वक्ररेखामा दौडेको छ । प्रस्तुतिमा लेखकको निजत्व झल्किन्छ । पाठकलाई कथानक बुझ्न घोत्लिनु पर्छ । कथाकारले कथ्यलाई आकर्षक बनाउन भरमग्दुर मेहनत गरेकी छन् । कलात्मक पाराले द्वन्द्व सिर्जना गरेर पाठकलाई अन्त्यसम्म डोर्याउन सफल छिन् । दुईसय शब्द सीमाको परिधिभित्र रहेर तागतिला अक्षरहरू सम्याएर गम्भीर भाव सहज रूपमा उतार्न सफल छिन् भन्दा फरक पर्दैन । लघुकथा चुस्त छ , कौतुहलपूर्ण छ । समयलाई गजबको चड्कन दिन सफल छ ।
समापन: यहाँ पनि भन्दैछु, लघुकथाको समापनबाट पाठक उद्देलित हुनुपर्दछ । रन्थानिनु पर्दछ । बगेर आइरहेको कथ्य धार फरक्क मोडिनु पर्दछ । यहाँ यस्तै यस्तै भएको छ । तर अन्तिम अनुच्छेदभन्दा पहिले नै व्यक्त कथ्य ' म बिनाआमाकी छोरी हुँ । मेरा यी बाबुले होटलमा दूध पु-याएर फर्कँदा सालनालसहित मलाई झाडीमा भेटेर घर ल्याएका रे !" भन्ने हरफ पछिल्लो अनुच्छेदमा जोड्न पाएको भए कथ्यमा पछिसम्म द्वन्द्वात्मक कौतुहल सृजना गर्न सकिन्थ्यो । त्यहाँनेर नै कथा थोरै खोलखाल हुँदा समापन आंकलन गर्न सहज बनेको छ । कथाले एउटी नारीको पीडा , आमाको महत्व , बाबुको कर्तव्य र आत्मघुलनको परिवेश एकैसाथ प्रस्तुत गरेको छ । लक्ष्मी रिजालको 'रुखपूजा' लघुकथाले मानवकृत ( नारी पुरुष दुवै उत्तिकै जिम्मेवार छन् ) कर्ममाथि तिखो प्रहार गरेको छ । यौन सामाजिक विकृतिबाट उत्पन्न परिस्थितिलाई उदाङ्गो पारेको छ ।
अन्त्यमा : लघुकथाको शीर्षक 'रुखपूजा' कथ्यको भाव र निष्कर्षसंग मिल्ने खालको छ । रुखलाई नै आमा स्वीकार गरेपछि मातृदिवसको दिन आमारूपी रुखको सम्भार गर्नु , मलजल गर्नु पूजा गर्नुले शीर्षक ' रुखपुजा ' को सान्दर्भिकता पुष्टि हुन्छ । लघुकथामा भाष्य रूप मैले भेट्टाएसम्म शुद्ध छ । लघुकथाको शुरुआत आकर्षक छ , मध्य उत्कर्षमा छ र समापन पाठक रन्थानिने छ । लघुकथा सशक्त बनेको छ भन्दा हुन्छ ।
रुखपूजा मा खुल्ला समापन भए पनि केही रहस्यहरु यथावत् छन् । झाडीमा आमा बन्नु परेकी नारीको दोषी को हो ? उनी स्वयं कति जिम्मेवार छिन् वा कुनै पुरुष प्रवृतिको शिकार हुन् ? सरिता आफ्नो यो नियति थाहा पाएर पनि चुप छे । उसमा कुनै विद्रोही भावना छैन यो कुरुप समाजप्रति । लेखकले यस अर्थमा यथास्थितिलाई अगालेको बुझ्न सकिन्छ । कथाको शुरू मै " मैले त्यसलाई चाखे, उसलाई छामे" भन्ने कथ्यले के सरिता पनि उस्तै घटनाको पीडित बनिसकेकी हो ? धेरै प्रश्नहरू अनुत्तरित छन्। यसरी लघुकथालाई खुल्ला छोड्नु पनि एउटा कला हो । तसर्थ पाठक अनेक कोणबाट सोच्न स्वतन्त्र छ ।
लघुकथा रुखपूजा पठनीय छ । दुई तीन मिनेट खर्चे खेर जाँदैन ।
कथाकार लक्ष्मी रिजाल साहित्यमा कत्तिको कलम चलाउदै आएकी छन् , मैले अध्ययन गर्न पाएको छैन । तर यो लघुकथा लेखाइको स्तर र शब्द प्रस्तुतिको शैलीले उनमा प्रसस्त साहित्यिक ओज छ । साहित्यिक भविष्य उज्ज्वल छ । तेजिलो छ । उनको थोरै शब्दमा अधिक भाव व्यक्त गर्न सक्ने खुबी , पृथक शैली र लघुकथामा कलात्मक द्वन्द्व सिर्जना पठनीय छ ।
म , उहाँको उच्च साहित्यिक यात्राको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धनगढी, कैलाली
२०७९/०३/१६
लघुकथा– परीक्षा
–लक्ष्मी रिजाल
‘यसरी नै टुलुटुलु हेरिरहनू ।’ अत्याचारले उम्लेको तातो पानी टाउकाबाट घोप्ट्याउँदा समेत धैयपूर्वक सहेकी दुलहीतिर हेर्दै ससुरो शंकरले भन्यो ।
छोरो चन्देश्वर पनि मुढो बनेर खडा भइरहेकोमा उत्साहित हुँदै उसले थप्यो; ‘यसरी नै दुलहीेले यस खान्दानको दुहुनो गाई बनिरहनू ।’
घटना भएको समयमा आँगनभरि मान्छे थिए । दुलहीको मूल्याङ्कनमा त्यहाँ मानव आत्मा भने थिएन । भएका आत्मामा पनि राक्षसी आत्मा मिसिएको भेटिन् ।
‘कुबेलामा चुप लागेरै जितिन्छ भन्ने बुझेकी रहिछ्यौ ।’ दुलहीको प्रशंशामा यसो भन्दै शंकर घरबाहिर निस्कियो ।
‘तपाईंले साथ दिए म यस सामाजिक दासप्रथाको जरो उखल्ने थिएँ ।’ पति चन्देश्वरतिर फर्केर दुलहीले मुख खोलिन् ।
‘साथ दिनकै लागि समाजसामु अग्निलाई साक्षी राखी बाजा बजाएर तिमीलाई भित्र्याएको हो ।’ चन्देश्वरले दुलहीको गम्भीरता कुल्चेर हँसिमजाक गर्न खोज्यो ।
रिसाउँदै दुलहीले थपिन्; ‘मेरो परीक्षा सकियो । तपाईंको परीक्षा सुरु भयो । मुकदर्शक बन्दा सुरुआतमै तपाईं पछारिनुभयो । अब एउटा मौका परीक्षा मात्रै बाँकी छ ।’
लुगाको पोको च्यापेर दुलही बाहिर निस्किन् । चन्देश्वरलाई पछि लाग्न भनिन् । उसले कारण खोतल्यो ।
उसको गलासम्म आउने गरी भनिन्; ‘दाइजोस्वरूप पाँच तोला सुन कम दिएको भन्दै तपाईंका बाबुले मेरै आँखासामु मेरा बाबुलाई लात र बातले सख्त घाइते बनाएको म कसरी पचाऊँ ?’
चन्देश्वर पुनः मुढो बन्यो । अघिदेखि तमासा हेरिरहेकी आमाले एउटा पोको थम्याउँदै र दुलही गएतिर धकेल्दै चन्देश्वरलाई भनिन्; ‘इमान र बहादुरी मिसिएको मेरो दूध चुसेको रहिछस् भने विषलाई लत्याएर झट्टै अमृतलाई अंकमाल गर् ।’
–कञ्चनरूप १२, प्रगतिटोल, सप्तरी ।
लघुकथा– परीक्षा
–लक्ष्मी रिजाल
‘यसरी नै टुलुटुलु हेरिरहनू ।’ अत्याचारले उम्लेको तातो पानी टाउकाबाट घोप्ट्याउँदा समेत धैयपूर्वक सहेकी दुलहीतिर हेर्दै ससुरो शंकरले भन्यो ।
छोरो चन्देश्वर पनि मुढो बनेर खडा भइरहेकोमा उत्साहित हुँदै उसले थप्यो; ‘यसरी नै दुलहीेले यस खान्दानको दुहुनो गाई बनिरहनू ।’
घटना भएको समयमा आँगनभरि मान्छे थिए । दुलहीको मूल्याङ्कनमा त्यहाँ मानव आत्मा भने थिएन । भएका आत्मामा पनि राक्षसी आत्मा मिसिएको भेटिन् ।
‘कुबेलामा चुप लागेरै जितिन्छ भन्ने बुझेकी रहिछ्यौ ।’ दुलहीको प्रशंशामा यसो भन्दै शंकर घरबाहिर निस्कियो ।
‘तपाईंले साथ दिए म यस सामाजिक दासप्रथाको जरो उखल्ने थिएँ ।’ पति चन्देश्वरतिर फर्केर दुलहीले मुख खोलिन् ।
‘साथ दिनकै लागि समाजसामु अग्निलाई साक्षी राखी बाजा बजाएर तिमीलाई भित्र्याएको हो ।’ चन्देश्वरले दुलहीको गम्भीरता कुल्चेर हँसिमजाक गर्न खोज्यो ।
रिसाउँदै दुलहीले थपिन्; ‘मेरो परीक्षा सकियो । तपाईंको परीक्षा सुरु भयो । मुकदर्शक बन्दा सुरुआतमै तपाईं पछारिनुभयो । अब एउटा मौका परीक्षा मात्रै बाँकी छ ।’
लुगाको पोको च्यापेर दुलही बाहिर निस्किन् । चन्देश्वरलाई पछि लाग्न भनिन् । उसले कारण खोतल्यो ।
उसको गलासम्म आउने गरी भनिन्; ‘दाइजोस्वरूप पाँच तोला सुन कम दिएको भन्दै तपाईंका बाबुले मेरै आँखासामु मेरा बाबुलाई लात र बातले सख्त घाइते बनाएको म कसरी पचाऊँ ?’
चन्देश्वर पुनः मुढो बन्यो । अघिदेखि तमासा हेरिरहेकी आमाले एउटा पोको थम्याउँदै र दुलही गएतिर धकेल्दै चन्देश्वरलाई भनिन्; ‘इमान र बहादुरी मिसिएको मेरो दूध चुसेको रहिछस् भने विषलाई लत्याएर झट्टै अमृतलाई अंकमाल गर् ।’
–कञ्चनरूप १२, प्रगतिटोल, सप्तरी ।
लघुकथा– हित
#लक्ष्मी_रिजाल
‘तिमी लोभी त थिइनौ । के सारो लालची बनेकी । आफैँले नै कमाउनु पर्याजस्तो ।’ पतिदेवको कुराले मेरो अन्तस्करणलाई च्वास्स घोच्यो ।
मैले पनि अन्धाधुन्ध घुँयत्रो हान्दै जवाफ फर्काएँ; ‘कहिले लोभको जातै नभाकी भन्ने ! कहिले भने लोभले पुरिएकी ठान्ने ?’
‘ए बाबा, मेरो तलब बढेको छ । भुईंतलाबाट माथिल्लो तलामा सरौँ न । खर्च बढ्दा आम्दानी पनि बढे त भइगयो नि ।’ अरू बेला पतिदेवको यस्तो भनाइ ठीकै लाग्थ्यो तर त्यस बेला मलाई पटक्कै मन परेन ।
अन्ततः हामी बीच अन्तरविरोध बढेर नाम्चेतिर लाग्यो । उनी आम्दानीका बलले मलाई झुकाउन चाहन्थे । म भने सुँगुरजस्तो शरीरलाई छरितो पार्न चाहन्थेँ । मनका सारा विकारलाई मिल्काउने डम्पिङसाइटको खोजीमा थिएँ । रोगरहित जीवनशैली बनाउन चाहन्थेँ । आफ्नो यस्तो मनोभावनामा कुठाराघात हुने आशयले ठसमस भइनँ ।
हामी छुट्टिने मनसायमा पुग्यौँ । उनी ठूली छोरी च्यापेर दरबार जत्रो भव्य महलमा बस्ने भए । म सानी छोरीलाई मनाएर फुलबारीको झुपडीमै मुण्टो लुकाउने भएँ ।
केही घण्टापछि उनी लुरुक्क परेर मछेउ आए र प्रेमपूर्ण स्वरमा भने– आखिर किन तिमीलाई यिनै अर्काका बोटबिरुवा र सस्तो झुपडी मन परेको ?
मुसुक्क मुस्कुराएर एउटा लेख दिँदै भनेँ; ‘कारण सप्पै यसमै छ ।’
लेखिएको थियो– रुखबिरुवाले हाम्रो नेगेटिभ इनर्जी लिन्छन् र सधैँ हामीलाई पोजेटिभ इनर्जी दिन्छन् । नाङ्गो पैतालाले भुईं स्पर्श मात्रैले पनि शरीरले अनगिन्ती फाइदा भेट्छ । अप्राकृतिक जीवनशैलीले मान्छे मोटाउँछ । मोटो शरीर रोगको घर हुन्छ । तसर्थ प्रकृतितिर फर्कनुमै सबैको कल्याण छ ।
२०७९–०५–०१ कञ्चनरुप–१२, रुपनगर, सप्तरी ।
सन्दर्भ- लुतो फाल्ने दिन
लघुकथा– रात्रीचर
#लक्ष्मी_रिजाल
‘प्रभु, मेरो ज्यान बक्सनुहओस् । म पाउ लाग्छु, प्रभु ।’ एउटा ठूलो भुँडी भएको मनुष्य मेरै नजिक तेर्सिएर माटोमा मुख जोत्दै बरबराइरह्यो ।
त्यस बखत म पृथ्वीलोक भर घुमीघुमी मनुष्य चर्तिकला हेरिरहेको थिएँ । माटोमा मुख जोत्ने मनुष्य मेरो सम्मुखमा प¥यो । मैले केही नभनीकन ऊ एक्लै बरबराइरहेको थियो ।
‘कागजमा मिलान गरी मैले हसुर्नसम्म हसुरेको सत्य हो । तर प्रभु, मैले जे गरे पनि मेरो पालिकामा एक पैसो बेरुजु छैन ।’ उसले बरबराउन छाडेको थिएन ।
म निःशब्द सुन्दै थिएँ । ऊ थप्दै थियो; ‘हजुरको कृपा ममाथि बर्सिरहोस् । निःसन्देह म खर्च गरेर बँचेको पचास प्रतिशत हजुरका पाउमा टक््रयाउने छु ।’
उता पल्लो गाउँमा मानिसहरू अगुल्टो फाल्दै भन्दै थिए; ‘उपियाँ जा, रुपियाँ आइजा, अनिकाल जा सकाल आइज।’
रातविरात हिँड्ने हुँदा मनुष्य मलाई कण्डारक वा रात्रिचर भनी पुकादै थिए । मेरो पूजा गर्दै थिए । हैजा, घाउ, खटिरो, लुतो लगिदेऊ भनेर मेरो प्रार्थना गर्दै थिए । ती निर्दोष मनुष्यको भक्तिभाव देखेर मेरो चित्त प्रसन्न भयो ।
मेरो मन बुझेर गाउँलेरु त्यस मान्छेतिर खनिएकै थिएनन् । लुतो, हैजा र खटिराजन्य अनिष्ट लिएर निवास फर्किनुपूर्व त्यसलाई जुल्फी पक्रेर उठाएँ र जोडसँग हुत्याउँदै चिच्याएर भनेँ; ‘तिमेरको नाममा सरकारी ढुकुटी रित्याउने र तिमीहरूलाई रछ्यानमा मिल्काउने यस्ता राक्षसलाई झरिलो अगुल्टो झोसेर गाउँ निकाल । सबै अनिष्ट स्वतः दुर हुन्छ ।’
कञ्चनरुप नपा १२, रुपनगर, सप्तरी । २०७९-०४-०१
(चौवालीसौँ हप्ताको प्रतियोगी लघुकथा)
लघुकथा- झट्केलो छोरो
- लक्ष्मी रिजाल
"दस वर्षपछि पनि कुच्चिएको अनुहार देखाउन रित्तो हात के आएको त ?" बखतबहादुरले पहिलेकै रवाफ दोहर्यायो तर यस पटक भने मतानेले गहभरि आँसु पारेन । बरु उसको मन बखतबहादुरको टिठलाग्दो अवस्था देखेर मुस्कुरायो ।
"निर्लज्ज भतुवा; अर्धनग्न शरीरमा गाग्रो फुटाएर भागिथिस् । त्यस्तै रूपमा फेरि के बिगार गर्न आइस् ?" बखतबहादुरले अर्को वाण चलाउँदा पनि मताने मूर्ति भइरह्यो ।
"नैनसिंह पुलामी संसारलाई खुशी तुल्याउने छोरो जन्माएँ भनेर नाक घोक्य्राउँथ्यो । ऊ त बेला नपुगीकनै मास छर्न गयो । तेरी आमालाई गृहलक्ष्मी बनाएथेँ । तैंले सुइकुच्चा ठोकेपछि तेरै नाम जप्दै पागल भएकी कता गएर मरी !" विगत सम्झँदै बखतबहादुरले इतिवृति बताउँदा भने मतानेका आँखा रसाए ।
"आमा नै नभएपछि कुन मुखले यस सिकुवामा टुसुक्क बस्छ ए भातका काल । जुन बाटो आएको थिइस्, त्यही बाटो मुन्टी !" बखतबहादुरले तल्लो स्तरमा उत्रेर शब्द छादेको सुनेर मताने रातोपिरो भयो ।
तत्कालै मताने शरीरका थोत्रा कपडा फुकालेर नाङ्गेझार भयो । थोत्रे बोराबाट नयाँ झोला निकाल्यो र सुटबुट लगायो । अब ऊ राजकुमारजस्तो देखियो । पच्चीस हजारको बिटो बखतबहादुरतिर हुइक्याइदियो र भन्यो- एक समय दुई गाँस खान दियौ । मेरी आमाको पोइ बन्यौ । आजदेखि हिसाब चुक्ता !"
मतानेले सिठी बजायो । चिल्लो कार देखा पर्यो । ऊ कारभित्र पस्यो ।
"छोरा, दबाई गरेर मलाई निको पारिस् । अब तेरो सौतेनी बाउसँग पुनर्मिलन गराइदे । तँलाई धर्म हुने छ बाबू ।" आमाको आँखामा छचल्किएका आँसुले मतानेको क्रोधाग्नि शान्त हुँदै गयो ।
२०८०-०४-०५
कञ्चनरूप १२, रूपनगर, सप्तरी ।
तेह्रौं लघुकथा दिवसको शुभकामना सहित-
लघुकथा- साहित्यमा धन्दा
- लक्ष्मी रिजाल
"यस उल्कापात साहित्य प्रतिष्ठानका अध्यक्ष माधवजीलाई सभाध्यक्षकाे आशन ग्रहणका लागि हार्दिक अनुरोध छ ।"
उद्घोषकले बोली टुङ्ग्याउन नपाउँदै पररर् ताली बजेको थियो । माधव पनि मदन पुरस्कार विजेताझैँ गजक्क परेर मन्द मुस्कानका साथ मञ्च उक्लेका थिए ।
पहिले प्रतिष्ठानमा कार्य समितिकाे सदस्य पद दिँदा अध्यक्ष नै चाहियो भनेर अडान राखेेका थिए । कसैले कान ठाडो नपारेपछि उच्च ओहोदाका राजनीतिज्ञमार्फत् दबाब दिलाएका थिए । विधानअनुसार दुई वर्षको कार्यकालका लागि अध्यक्षमा मनोनित गरिएको थियो ।
अहिलेसम्म सात वर्ष वितिसक्याे । अडिट गराउने, संस्थाको नवीकरण गराउने, साधारण सभा बोलाउने, साहित्यिक गतिविधि गर्ने जस्ता काम नगरीकन बसेका थिए । विधान मिचेर काम नगर्न दिएकाे सल्लाहलाई उनी विरोधीकाे विरोधखेती भन्ने गर्थे ।
यतिबेला भने एक्कासी साहित्यिक विचारविमर्श र रचना वाचनकाे कार्यक्रम आयोजना गरिएको थियोे । भव्य उत्सवझैँ गरी स्थानीय र राष्ट्रिय सञ्चार माध्यमहरूले अडियो र भिडियो छायाङ्कन गरिरहेका थिए । कतिपयले प्रत्यक्ष प्रशारण समेत गरिरहेका थिए । यद्यपि पहिलेकाे मेरो बुझाइ भने त्यतिबेला पानी खान जाँदै थियो ।
कार्यक्रम सकेर अरूहरू लाखापाखा लागे । माधव र खटेर ताली बजाउनेहरू चाहिँ बेग्लै कोठामा खासखुस गरिरहेका थिए ।
बन्द झ्यालनेर कान थापेर सुन्दा माधव भन्दै थिए; "साहित्यकाे विकास गरेकोे भनेर दातृनिकायलाई अाभाष भइसकेको छ । त्यहाँबाट अहिलेसम्म थाेरै मात्रै रकम आएको छ । अरू आएपछि थपाैँला । अहिले यत्तिमै चित्त बुझाउनू ।"
जवाफमा काेही भन्दै थियोे, "ए, हाम्रै तालीका बलले तपैँ लाखौँ कमाउने ! कमजोरी लुकाएर पानी माथिकाे ओभानो हुने ! अहिले हामीलाई चैँ थाङ्नामा सुताउने ?"
म सुन्नै नसकेर त्यहाँबाट हिँड्नै लाग्दा कानमा अर्को आवाज ठाेक्किन पुगेकाे थियाे, "एक हजार दिन्छु भनेर ताली बजाउन लगाएर एक सयमै मुखमा बुझो लगाउन खाेज्दा मानिँदै मानिन्न।"
+++ सप्तरी, रुपनगर
२०७८-०५-०५
भदौ ५ लघुकथा दिवसको अवसरमा शुभकामना स्वरुप प्रेषण-
लघुकथा- वर्तमान
-लक्ष्मी रिजाल
‘ध्यानिज्ञानी महात्मा ठानेर सर्वत्र उहाँलाई सम्मान गर्छन् । बिनाखोट आफ्नै गाउँमा उहाँलाई अपमान गर्न तम्से ।’ चन्द्रमोहनको प्रवचन सकिएर मानिसहरू लाखापाखा लागेपछि त्यहाँ उपस्थित मानिसहरूका बीच मोहनले गुनासो पोखे ।
मोहनका कुरा सुन्नासाथ रमाकान्तले प्याच्चै भने; ‘गधा धोएर गाई हुन्न, ढोंगी बाबाको चेला !’
‘जीवनमा काम, क्रोध, लोभ, मोहबाट मुक्त भई वैराग्यलाई अँगालेको मान्छेलाई कसैले चित्त कुँड्याउने काम गरेमा फरक के नै पर्ला ?’ आफ्नो अपमान गरेको सुनेर चन्द्रमोहनले पनि बाङ्गो कुरा गरे ।
‘हेर्, दारी बुढा, पाँच वर्ष अलप हुँदैमा कोही महात्मा हुन्न । तँ यहाँ गाउँ भाँड्न आएको होस् । टिकट काटिहाल् । नत्र नाङ्गेझार बनाएर लखेट्नु नपरोस् ।’ विष्णुले रिस पोख्यो ।
‘आफ्नो परिवारलाई लात मार्ने यस्ता नाथेसँग बात मारेर मुख किन दुखाउँछौ केटाहरू हो !’
रमाकान्तले अर्को वाण चलाए । मोहन बाहेक अरूले नकारात्मक कुरा गर्दै गए ।
‘लौ, जाँडका भकारी बाबा, हामी अहिले हिँड्यौँ । भोलिको सूर्योदय पूर्व नै यस शिव मन्दिरबाट पनि अलप भइहाल् ।’ आक्रोश पोख्दै रमाकान्त उठे ।
‘घर भत्काउने, बालीनाली क्षति गर्ने जङ्गली हात्ती लखेट्न ठिक पारेका पुल्ठाहरू छँदै छन् । यसका लागि तिनैको उपयोग गर्नुपर्छ ।’ यस्तै नकारात्मक कुरा थपथाप पार्दै विष्णु पनि बाटो लाग्यो ।
चन्द्रमोहन समुद्रझैँ शान्त थिए । मोहन मात्रै त्यहाँ मौजुद रह्यो । चन्द्रमोहनले सोधे; ‘तिमीसँग मलाई दिने कुनै कालोमैलो दुर्गन्ध छैन, मोहन नाति ?’
जवाफमा प्रतिप्रश्न गर्दै मोहनले भन्यो; ‘तपाईंभित्रको विद्वता लिन मैले के गर्नुपर्छ, बाबा !’
जवाफमा चन्द्रमोहनले भने; ‘विगतले वर्तमानलाई क्षतविक्षत पार्न छाड्नुपर्छ । वर्तमानलाई भविष्यका लागि हाँस्न दिनुपर्छ ।’
०००
२०८०.०५.०२ कञ्चनरुप १२, रुपनगर, सप्तरी ।
लघुकथा– शान्ति
–लक्ष्मी रिजाल
‘बोलीमै आगो बल्नुपर्छ । अनि मात्रै परिवर्तन सम्भव छ ।’ सानुमायाले टड्कारो आवाज निकाल्दा हर्की तर्सेर भनी; ‘आगोको साम्राज्य स्वीकार्न सक्तिनँ ।’
कायरहरूलाई समाजमा मुन्टो ठड्याउने अधिकार नभएको सानुमायाले जिकिर गरी । अरू सबै लाटा र आफू मात्रै बाठो सम्झेर आत्मरतिमा रमाउनेहरूसँग हात मिलाउन नसकिने तर्क अघि सारी हर्कीले । सानुमाया झट्टै परिवर्तन हुनुपर्छ भन्थी । हर्की भने जानिबुझी गरिएको परिवर्तन दीर्घकालीन हुन्छ भन्थी । तातै खाँदा जल्नुपर्छ; सेलाएर खाँदा पोषण मिल्छ भन्थी ।
दुबै समकालीन सखी थिए । दुबैको बोली बीच आकाशपातालको फरक थियो । कामकाजमा भने दुबै सँगै हुन्थे । कहिल्यै आपसमा छुट्टिँदैनथे । एकापसमा छुट्टिँदा दुबैलाई असजिलो अनुभूत हुन्थ्यो ।
एक दिन सानीमायाले भनी; ‘तँ पूर्व फर्के म पश्चिम फर्कन्छु । तापनि तँ मसँगै हुन्छेस् । म पनि तँसँगै हुन रमाउँछु । किन ?’
क्रान्ति र शान्तिलाई सन्तुलन पार्न सके मात्र जित हात पर्ने बताउँदै हर्कीले थपी; ‘किनभने तेरो मनको क्रान्तिको आगोलाई मेरो मनको शान्तिले मथ्थर पार्छ ।’
कञ्चनरुप नगरपालिका–१२, प्रगतिटोल, रुपनगर, सप्तरी ।
लघुकथा– बाँदरको जित
–लक्ष्मी रिजाल
–यो जित कसको ?
–बाँदरको ।
–हामीलाई बाँदर !
–चाहिन्छ, चाहिन्छ !
–बाँदरविना गाउँठाउँको विकास !
–हुँदै, भएन ।
अगाडिपछाडि कार्यकर्ताहरू एकोहोरो नारा लगाइरहेका थिए । बाटो उकालोओरालो थियो । झल्लुराम मरन्च्याँसे घोडामा बसेको थियो ।
निकै हिँडेपछि एउटा कार्यकर्ताले भन्यो; ‘झल्लुराम नेताजी, नारा लाउँदा र उकालोओरालो गर्दा घाँटी पनि सुक्यो, पेट पनि खुम्च्यो । उपायको भोटे कुकुर अहिलेसम्म खै फुक्यो ?’
‘जोर माउ बुढी बाख्री बेचेको पैसो छउँन्जेल खाओ । अमृतपानी पिउन चाहिँ पुग्दैन । कुरा बुझ । जितिएछ भने चैँ बुढीसँग मागूँला अनि पेटभरि दानापानी खाउला ।’ झल्लुरामले कार्यकर्तालाई आश्वस्त पा¥यो ।
अन्ततः चुनाव सकियो । मत गणनामा पार्टीका उम्मेद्वार, गठबन्धन उम्मेद्वार र बागी उम्मेद्वार बीच घमासन भिडन्त हुँदै थियो । उचाल्ने, पछार्ने र थेचार्ने काम हुँदाहुँदै परिणाम नपत्याउने खोलाले स्वाट्टै हात पार्यो ।
यसरी खाउची गाउँपालिका अध्यक्ष पद झल्लुरामको पोल्टामा प¥यो । गाउँकै केटो काम गर्ने नजिकैको सहरबाट निस्कने पत्रिकामा छापिएको खबरको शीर्षक थियो– खाउची गाउँपालिकामा बाँदरको जित ।
२०७९–०१–२५ कञ्चनरुप–१२, प्रगतिटोल, रुपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल ।
लक्ष्मीप्रसाद पौडेल
लघुकथा- जिन्दावाद र मुर्दावाद
-लक्ष्मी रिजाल
जहाजै डुब्ला भन्ठान्दै एक जाेडी दम्पती ताकेकाे गन्तव्यतिर लम्कँदा थिए ।
"भाेकाे पेट हामी कता जाँदै छाैँ ?" पत्नीको मलीन सवाल थियोे ।
"त्यही भाेककाे ओखती लिन ।" पतिको सटीक जवाफ फर्कियाे ।
"जे लिनुछ एक्लै लिँदा भइगाे नि !" पत्नीलाई वाक्क लागेकाे भाव सुनियो ।
"एक्लैले एउटा पेट मात्रै भरिन्छ । दाेक्लै भए एक पेटमाथि अर्को थपिन्छ । फेरि महङ्गो समयमा सित्तैमा मासुभात हसुर्ने अवसर कसले गुमाउँछ र !" पतिको कन्जुरी राेग छर्लङ्ग देखियो ।
"छाेराे भाेकायाे हाेला । पेटभरि दूध चुसाउन पनि पाइनँ । पाखुरामा समाएर तानेकाे तान्यै गर्नुभयाे । केके न हाेला भनेर सासूकाे काखमा छाेराे राखेर तपाईंको पछि लागेकी त यसैका लागि पाे रहेछ । म फर्कन्छु ।" पत्नीकाे असन्तुष्टि सुनियो ।
"फर्कन नै आएका हाैँ । क्षुधा मेटेर फर्कने ।" पति कथन निस्कियाे । पतिको करचापले पत्नीले खाना खाइन् । खाना हेर्दै स्वादिलो र बासनादार थियोे । सबैले उत्तम मानेर खाए । तर पत्नीको लागि स्वाद र सुवास हराएको खाना लाग्याे ।
खाएपछि विजय र्याली शुरुआत भयो । जिन्दावाद र मुर्दावादका नारा मासुभात सरह हाप र झाप गर्दै निस्कन थाले ।
काखे र दूधे भाेकाे छाेराे सम्झेर अघि खाएको मासुभात छादेर हिँडिदिऊँ जस्तो लाग्यो पत्नीलाई भने ।
२०७९/०१/३० रूपनगर, सप्तरी । ·
(स्वैरकल्पनामा आधारित)
लघुकथा- प्राण प्रतिष्ठा
- स्वस्तिका सिम्खडा
"पहिले लुगा धुने मान्छेले पिट्थ्यो; अहिले तँ कोतर्छस् ।" पीडाले आक्रोशित आवाज निकाल्यो कालेले ।
छिनेले उसलाई पुलुक्क हेर्यो र काममै जोतियो ।
उता अविरल अश्रुधारा बर्साइरह्यो कालेले । पहिले ऊ यामानको थियोे । खोला किनारमा लमतन्न सुत्थ्यो । भोकतिर्खाको कहिल्यै महसुुस गर्नुपरेन । खोलामा बगेको पानी पिएर तिर्खा मेट्थ्यो । आफ्नो छातीमा स्वच्छतापूर्वक रमेका जीवजन्तु हेरेर र बटुवाहरूले खाजा खाएको देखेर ऊ तृप्त हुन्थ्यो ।
अहिले उसलाई सहर ल्याइयो । खोप्ताखोप्ता, ताछ्दाताछ्दा पिलन्धरे बनाइयो । पीडा सुन्नुपर्ने छिनेले समेत खिसिटियुरीको नजरले हेर्दा उसले मन राख्ने ठाउँ नै भेटेन ।
"जीवनभर दुःख झेलिस्; अब चयनका दिन आए तेरा ।" छिनेको यस्तो कोमल बोलीले समेत यसबेला बिझायो मात्रै ।
मानिसहरू आएर तँछाडमछाड गर्दै उसलाई नियाल्न थाले । क्या राम्रा भगवान् बने भन्न थाले । त्यसले पनि उसलाई पीडा नै थप्यो ।
"माफ गर् यार । अब मेरो काम सिद्धियो । म खिया राज्यमा पुनः थन्किन वाध्य छु ।" छिनेले गहको बाँध भत्काउँदै भन्यो ।
कालेले पुलुक्क हेर्यो- छिने खिइएर कमलपित्ते भएको, आफू भने सुन्दर नवयुवकमा बदलिएको । पहिले झेलेका पीडाका क्षणहरू एकाएक आनन्दमा परिणत भए ।
बिदा हुँदै गर्दा छिनेले रहस्य खोल्यो; "प्राण प्रतिष्ठा हुन दे, लोक तेरा पाउको गुलाम बन्छन् । किनभने पीडा पचाएकै कारण तँ शिलाबाट भगवान् बनिसकिस् ।"
२०७८-११-०५ बेलका-२, बानडाँडा, उदयपुर, नेपाल ।
(पुनश्च: स्वस्तिका सिम्खडा दिवंगत भइसकेकी छिन् । लघुकथा क्षेत्रको उनको योगदानको स्मरणार्थ "स्वस्तिका सिम्खडा लघुकथा सम्मान" नामको पुरस्कार स्थापना गरिएको छ । उनको पुराना डायरीकाे हस्तलिखित पानाबाट साभार गरिएको यो लघुकथा स्वैरकल्पनामा आधारित ठानी यहाँ प्रेषण गरिएको हो । उनका फुटकर लघुकथा संकलन गरी 'प्राण प्रतिष्ठा' शीर्षकको लघुकथा संग्रह निकाल्ने तयारीमा छु । प्रकाशन गरिदिने संस्थाको खोजीमा छु । धन्यवाद ।- लक्ष्मी रिजाल ।)
(अप्रतियोगी)
पर्या–लघुकथा– खोला
–स्वस्तिका सिम्खडा
‘तिमीहरूलाई चाहिँ मूलबाटो चाहियो । मेरो चाहिँ आफ्नै घर उजाडियो । ’ धाराखोलामा के पाइलो राखेकी थिएँ मेरो अन्तस्करणको घण्टी बजेर यस्तो आवाज सुनियोे ।
म खोला किनारैकिनार हिँड्दै थिएँ । धाराखोला पनि मसँगसँगै अघिपछि गर्दै थियो । मेरो बाटालाई खोलाले कब्जा गरेको थियो । गहिरो ठाउँमा खुट्टा टेक्न पुग्दा मलाई नै बटारेर पछार्ने कोशिस गथ्र्याे ।
‘म सारसौँदीलाई तँ परलोक यात्रा गराउन नखोज् है ?’ मैले एकलापीय पाराले भन्नासाथ म अगाडि बगिरहेको पानी फनक्क बटारियो । र, आक्रोशको आवाज आयो– यो त जसको जौँ खानु उसकै जुँगा मोल्नु भयो । मेरो रस्तिवस्तीमा तिमीहरू फिरङ्गी आएर कब्जा गर्ने अनि मलाई हिँड्ने बाटै नदिने ?
ठाउँ छोड्न लागेको आफनो मुटुलाई थुम्थुम्याउँदै तत्कालै मैले विनयतापूर्वक भनेँ– धाराखोला माई, रिसानी माफ होस् । अब हामीले के गर्नुप¥र्यो प्रभु ?’
उताबाट चेतावनी मिश्रित आवाज आयो– मेरो प्राकृतिक बाटो छोडिदेओ । सिमाना मिच्ने र मलाई थुन्ने मूर्खता नदोहो¥याओ । नत्र तिमीहरूको घरघर पसेर रजाइँ गरी तिमीहरूलाई उठिबास लगाउन नपरोस् ।
२०७८.०७.०७ बानडाँडा, बेलका २, उदयपुर ।
०००
(बि.एड. प्रथम वर्षमा अध्ययनरत् स्वस्तिका सिम्खडाको पुरानो डाइरीमा सिमित यो लघुकथालाई पहिलो पटक यहाँ सार्वजनिक गरेकी हुँ । स्वस्तिकाको २०८०.०४.२० गते दुःखद निधन भयो । उहाँको जन्म २०६१.०१.१६ गते भएको हो । उहाँ लघुकथा वाचन र लेखनका अतिरिक्त कविता, संस्मरण र निबन्ध लेख्न रुचाउनुहुन्थ्यो । उहाँका दुई दर्जन अधिक लघुकथा प्रकाशित र प्रसारित छन् । संकलक– लक्ष्मी रिजाल)
लघुकथा– योग
–स्वस्तिका सिम्खडा
‘धत्, कत्ति खान सकेको ?’ भए भरको खानेकुरा कोचकाच पारेर सकेपछि आमाले निमललाई हकारिन् ।
निलमले भनी; ‘मम्मी, हजुरले नै भन्नुभएको हैन । जति खाए पनि १ घण्टा खटे हजम हुन्छ भनेर ।’
आमाले हो भन्नका लागि टाउको हल्लाइन् ।
त्यही ताकमा निलमले भनी, ‘आज शुक्रबार, जेठ १ गतेदेखि शनिबार र आइतबार २ दिन सार्वजनिक विदा । मज्जाले योग गरेर सारा अपच हजम गरिहाल्छु नि । टेन्सन नलिनुस् मम्मी ।’
२०७९ बैशाख २१, बानडाँडा, बेलका २, उदयपुर ।
लघुकथा– तक्विर
–लक्ष्मी रिजाल
‘अल्लाहु अक्बर, अल्लाहु अक्बर, लाईलाह इल्लल्लाहु वल्लाहु अक्बर अल्लाहु अक्बर वलिल्लाहिल् हम्द ।’ अचेल हरेक गल्ली, बजार एवं बाटो र सडकहरूमा बरोबर यही नारा लगाइन्थ्यो । लाटाले पापा हेरेजस्तो हामीहरू हेरिरहन्थ्यौँ ।
त्यस्तो नारा भन्नेहरू मुस्लिम समुदायका हुन्थे । सुकिलामुकिला कपडामा नमाज पढ्न निस्कन्थे । मस्जिदमा पुगेर नमाज पढी फर्कंदा अर्कै बाटो प्रयोग गर्थे ।
मेरी साथी रविया खातुनको घरबाट पनि मानिसहरू निस्कन्थे । निकै दिन यस खाले गतिविधि देखेपछि मैले उसलाई सोध्ने निर्णय गरेँ । छिमेकी आन्टीले ‘नजाने गाउँको बाटै सोध्नू’ भनेर मलाई निरास बनाउने काम गरिन् । मेरो मनले मानेन ।
रवियासँग भेट भएको बेला मैले मन खोलेँ । उसले खुशीसाथ सहजै भनी; ‘
नमाजमा गएको बाटो छाडी अर्को बाटोबाट घरतर्फ फर्किन राम्रो मानिन्छ । यसो गर्नुको अभिप्राय बस्तीको कुनै स्थान अल्लाहको स्तुतिबाट खाली नहोस्, जताततै अल्लाहको प्रशंसा गान पुगोस् भन्ने हो ।’
‘अनि त्यो नाराको अर्थ के हो ?’ हत्तपत्त मैले सोधिहालेँ । ऊ अलिक झर्की । रिसाएजस्तो नजर लगाई । मैले भुल भए माफी देऊ भने ।
सहज हुँदै उसले भनी; ‘अल्लाह सबैभन्दा महान् छन् । अल्लाह सबैभन्दा महान् छन् । उनका अतिरिक्त पूज्य कोही छैन । अल्लाह सबैभन्दा महान् छन् । अल्लाह सबैभन्दा महान् छन् । सबै प्रशंसा अल्लाहकै लागि हुन् ।’
म छक्क परिरहेको बेला उसले स्पष्ट पार्दै भनी; ‘तैँले नारा भनेको कुराको अर्थ त्यही हो । अनि यसलाई नारा हैन तक्विर भन्छन् जसलाई नेपालीमा जप भनिन्छ ।’
२०७९।०१।२० सप्तरी, कंचनरुप नगरपालिका ।
लघुकथा– श्रमिक
–लक्ष्मी रिजाल
‘आज चाहिँ सास फेर्न पाइयो है ।’ चोक्टाकाजीले लामो सास फेर्दै भने ।
नाम त उनको काजी थियो । अझै पनि उनका बाबुआमाले ‘काजी’ भनेर नै बोलाउँछन् । श्रीरामकहाँ हली बस्न थालेदेखि उनलाई ‘पाजी’ भनेर बोलाउन थाले । बहुदलकालसम्म उनी मन खुम्च्याएर बसेका थिए । गणतन्त्र भित्रेपछि भने असन्तोषी मन देखाइदिए । उनलाई ‘पाजी’ भन्न छाडियो । धनीका दिन सकिए र गरिबका दिन आए भनियो ।
गाह्रो लागे पनि नबोलाई नहुनेले उनलाई ‘काजी’ भनेर बोलाउन थाले । दरिद्रनायकलाई ‘काजी’ भन्न प¥यो भन्न थाले ।
एक दिन खै के घटना भयो । श्रीरामका दलानमा पञ्चायती बस्यो । छोराले लगाएको सुनको टप काजीले नै चोरेको आरोप लगाए । परिबन्दमा पारेर आरोप सत्यमा परिणत गर्न खोजियो । त्यस घटनापछि उनलाई ‘चोरकाजी’ भन्न थालियो । पछिपछि अपभ्रंस गरेर ‘चोक्टाकाजी’ भन्न थालियो ।
उनी जस्तै गाउँठाउँका मजदुरहरूले गोष्ठी गरे । ८÷८ घण्टा काम, मनोरञ्जन र आरामको सिद्धान्त बारे भोगाइहरू सुने र सुनाए । मालिकहरू मजदुर एकताबाट डराए । फलतः अन्तर्राष्ट्रिय मजदुर कानुन लागू गरे र गराए । आज मे १ का दिन सबै मजदुरले छुट्टी पाए ।
अचेल उनलाई ‘काजी’ शब्दसँग हैन ‘श्रमिक’ शब्दसँग प्रेम परेको छ । त्यसैले चोक्टाकाजी भन्ने गर्छन्; ‘गरेर खान पाए पुग्यो । दुनियाँको खुनपसिना चुसेर पापको भारी बोक्न नपरोस् ।’
२०७९–०१–१८ कञ्चनरूप–१२, सप्तरी ।
लघुकथा– रुखपूजा
–लक्ष्मी रिजाल
मेरी सँगिनी सरिता वरपरका रुखहरूमा पानी पटाउने मात्रै नभई पूजा समेत गरिरहेकी थिई ।’
‘मैले त्यसलाई चाखेँ । उसलाई छामेँ । सबै मतलबी पाएँ । बरू यसलाई पुज्न सके गाँस दिन्छ, बास दिन्छ, कपास दिन्छ, सास दिन्छ । हामीलाई यसभन्दा बढता अरू के चाहियो र ?’ रुखको फेदलाई अंकमाल गर्दै ऊ बरबराएको सुन्दा म छक्क परेँ ।
‘एई आज आमाको मुख हेर्ने दिन हो । आमाका कुरा गर् न । केको चुनावी कुरा गर्छेस् ?’ मैले दिक्क मान्दै प्रश्न थुपारेँ ।
‘म पनि आमाकै गुणगान गाउँदै छु । तैँले नबुझेको मात्रै हो ।’ उसको कथनले मेरो छातीमै मुक्का बज्रियो ।
‘लु त पुष्टि गर् त ?’ मैले चुनौती तेर्साएँ ।
उसले प्रष्ट्याउँदै भट्याई; ‘तँलाईं मेरो गोप्य रहस्य खोल्छु । म बिनाआमाकी छोरी हुँ । मेरा यी बाबुले होटलमा दूध पु¥याएर फर्कँदा सालनालसहित मलाई झाडीमा भेटेर घर ल्याएका रे । पछि बाबुले बिहे गरे । सन्तान भएनन् । कान्छी आमा ल्याए । मनको चाह पूरा भएन । नयाँ छउँजेल दुबै आमाले मलाई माया गरे । पुरानी हुँदै गएपछि मलाई कालो बिच्छी सम्झन थाले ।’
म छक्क परिरहेँ । ऊ थप्दी थिई; ‘तँ मेरी आँतकी साथी होस् । कसैलाई नभन नि !’
मैले टाउको हल्लाउना साथ मेरो बुद्धिको बिक्रो फुत्त खुल्ने गरी भनी; ‘हेर, मलाई त्यस रुख (झाडी)ले बाउ दियो, आमाको स्नेह र न्यानो दियो । अहिलेसम्म हर आवश्यकता पूरा गरिरहेको छ । त्यसैले आजदेखि मैले बुझेँ रुख नै मेरी आमा हो ।’
२०७९–०१–१७ कञ्चनरुप, सप्तरी ।
लघुकथा- भुस्कुल आइमाई
-लक्ष्मी रिजाल
"म सधैँ गर्छु ।" मेरो अवचेतन मन पटकपटक विस्फोट भयो । मेरो बोली सुनेर सँगै रहेका पतिले मौका पाइहाले । उनले भने; "आखिरमा तैँले के चाहिँ गर्छेस् ? मुखले भन्दैमा हुने होइन ।"
म लाजले भुतुक्कै भएँ । चुप लागेँ । म लज्जावती बनेकोमा व्यङ्ग्यको घोचो मतिर तेर्सिहाल्यो ।
"यस्ता नाथेले बोलेको के पूरा हुन्थ्यो ?" पति कटाक्षको प्रत्युत्तरमा म पड्कन थालेँ; "आइन्दा म एक पटकमा एक काम मात्र गर्छु । असल विचारमा मात्र फोकस गर्छु ।असल बुझाइ लिपिबद्ध गर्छु । अरूलाई सिकाउँछु । शारीरिक कसरत गर्छु । पढेबुझेका कुरा दोहर्याउँछु । पानी पर्याप्त पिउँछु ।मस्तले निदाउँछु ।"
"किन ?" पतिको प्रश्नले मेरो मस्तिष्कलाई झड्का दियो ।
भनेँ; "आइन्दा म भुस्कोल हुन्न । मेरो मस्तिष्कमा पच्चिस लाख जीबीभन्दा ज्यादा स्टोरेज क्षमता छ । म संसारको ज्ञानविज्ञान आफ्नो मस्तिष्कमा भण्डारण गर्न चाहन्छु । खासमा म तपाईँको मुखको 'भुस्कुल आइमाई'को उपाधि'बाट सदाको लागि मुक्त हुन चाहन्छु ।"
रुपनगर, सप्तरी 2079/01/15
लघुकथा- अघिपछि
-लक्ष्मी रिजाल
आमाले नेता छोरालाई सम्झाइन्- आज तँ टिकट नपाएर रुँदैछस् । टिकट पाउने गमक्क छन् । म मतदाता वाल्ल परेर जोखाना हेर्दै छु । मत खसेपछि मत नपाउने रुन्छन् । पहिले टिकट नपाउने गमक्क पर्छन् । त्यसपछि पाँच वर्षे रुने ठेक्का म मत दिनेको भागमा पर्छ । कसैको अघि कसैको पछि मात्रै हो ।
आमाका कुराले नेता छोरो खुशी भयो ।
2079-01-13 [रमाइलो रुपनगर चौतारी ] [सप्तरी]
लघुकथा- शिष्टता
-लक्ष्मी रिजाल
आधा चैत्र मास वित्नु मेरो लागि खास समय हो । यस मासले" मलाई धरती स्पर्शको याद दिलाउँछ । मलाई धरतीको सदस्य भएको सौभाग्य दिलाउँछ । सम्झँदै म उत्साहले पुलकित हुन्छु । केहीबेरमै जीवनरेखा छोटिएर मृत्युरेखा लम्बिएकोमा भने आहात हुन्छ ।
आज मैले भालेको डाकोसँगै ओछ्यान छाडेँ । शारीरिक नित्यकर्म समयमै सिद्ध्याएँ । बेलुका थाँती रहेको सुसेधन्दा सल्टाएँ । अझै सूर्यदेव वेपत्ता थिए । छोराको बोली सुनेँ । उसको बोलावटलाई तिरस्कार गरे छिमेकीलाई नै जुरुक्क उठाउला कि भन्ने लाग्यो । उसले खानेकुरा दिएँ । खाँदाखाँदै ऊ लुटुक्क निदायो ।
सन्तोषको स्वास फेर्दै उठ्न लाग्नासाथ जेठी उठी । उसले आँखा मिच्दै भनी; "ह्याप्पी बर्थ डे मामू !"
म छक्क परेँ । कुनै प्रतिक्रिया नजनाई बाहिरिन आँट्दा उसैले खबरदारी गरी; "सानाले शुभकामना दिए पनि आभार व्यक्त गर्नु शिष्टता हो ।"
एकाबिहानै मैले लज्जित हुनुपर्यो भन्ने सोच्दै थिएँ । अर्को आवाज थपियो; "आई विकेम फस्ट । जन्म दिनको शुभकामना मामू ।"
कान्छी छोरीको यस आवाजलाई दबाउँदै जेठी कुर्ली; "आधा घण्टा अघि नै मैले भनिसकेँ । सो यु आर लास्ट ।"
यसै विषयको विवादले सगरमाथा निर्माण भयो । त्यसलाई पर्गेल्न अर्का जोडी आर्मस्ट्रङ र तेन्जिङ चाहिन्थे । मूत्युलोक पुगेकाहरू फर्कन सम्भव हुने कुरै आएन ।
तसर्थ मैले भने: "बोथ अफ यु आर फस्ट बट आई एम वास्ट । प्लिज बि क्वाइट ।"
उनीहरू टुलुटुलु मेरो अनुहार हेर्न थाले । मेले थपिदिएँ; "हजुरहरू दुबैको आपसी विवेकपूर्ण समझदारीका लागि हार्दिक आभारसहित मेरो जन्मदिवसको शुभकामना प्रकट गर्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।"
मेरो वनावटी शिष्टतापूर्ण स्वर सुनेर दुबै लज्जावती झार बनेँ ।
2078/12/15 (आज मेरो जन्मदिन) बेलका नगरपालिका 2, उदयपुर ।
लघुकथा– हिस्स बुढी हरिया दाँत
–लक्ष्मी रिजाल
‘नामकुमारीजी ! हजुरलाई बधाई छ ।’
भरखरै सपथ लिएका नवनियुक्त प्रधानमन्त्री गुट निकटस्थ नेताको मुखबाट बधाईका शब्द निस्कँदा पहिले त उनी उमङ्गले उम्लिइन् । कुरा हुँदै जाँदा राजनीतिमा बगाएको पसिनाको उच्च मूल्याङ्कन गर्दै महिला तथा बालबालिका मन्त्री बनाउन लागेको थाहा पाइन् । मोबाइलमा सुनेको त्यस ध्वनिलाई आकार दिएर शिरदेखि पाउसम्म चुम्बन गर्ने मन भयो उनलाई । कल्पनामा डुब्दाडुब्दै आफैँले बोलिरहेको मोबाइल पटकपटक चुम्न पुगेकी थिइन् ।
‘नामकुमारीजी ! बढता खुशी नहुनुस् । आधिकारिक पत्र हातमा नपरुन्जेल चुपचाप नै रहनुहोला नि ! मिडियाबाजी बन्दै नगर्नुहोला । प्रधानमन्त्रीको निजी सचिवालयबाट पत्र र फोनमार्फत् सूचना आएअनुसार सपथ समारोहमा पाल्नुहोला । मैले अन्त पनि कुरा गर्नुछ !’
प्रतिक्रिया नसुनी नेताले मोबाइल राखेपछि भने उनी झसङ्ग भएकी थिइन् । चार घण्टा वितेपछि मनको बेचैनी शान्त पार्न निजी सचिवालयमा फोन गरिन् । खुलस्त जवाफ आएन ।
प्रधानमन्त्रीलाई सोझै सोध्छु भनेर मन बलियो बनाएर फोन लाइन् ।
‘नामकुमारी ! तिमीलाई चाँडै खबर गर्छु । त्यो महिला मन्त्रालय महिलाले नै समाल्नुपर्छ भन्ने हाम्रो ठहर रही आएको छ ।’ अभिभावकीय भूमिका निर्वाह गर्दै प्रधानमन्त्रीले बोलेको प्रेमपूर्ण स्वरले आफू मन्त्री बन्ने निश्चिन्त भएको बुझिन् उनले ।
सपथ समारोहको मिति तय भएको खबर सञ्ंचार माध्यमबाट सुनिन् । घडीको सुई नै निदाउन लागेझैँ लागिरह्यो । घडीतिर समय हेर्दाहेर्र्दै दिन वित्यो । रात छर्लङ्गै भयो । उनी निकटका पत्रकारले स्थानीय अखबार र अनलाइनमा समाचार लेख्न समेत भ्याए । बधाईको ओइरो लाग्यो तर प्रधानमन्त्रीबाट खबर आएन ।
राष्ट्रिय अखबारमा छापिएको मन्त्रीको सपथ लिने सूची हात पर्यो । सिरानदेखि पुछारसम्म आफ्नो नाम कतै भेटिनन् । महिला मन्त्रीको ठाउँमा नाम थियो– हामकुमार !
२०७८–०३–३० रुपनगर, सप्तरी ।
लघुकथा ः देवतालाई नास्ता
–लक्ष्मी रिजाल
‘हैन, तपैँहरूको ड्युटी हो कि क्या हो ? सधैँ राजमार्गदेखि साउनपुरको ढिम्की मन्दिर धाउने ?’
विहान सात बजे पूजा गर्न आएका पूजारीले सोधेको प्रश्नको जवाफ फर्काउनु उचित ठानिनथेँ मैले । उनले गहिरो नजर गाडेर मलाई हेरेथे ।
‘पति लङ्गडा भए, सडकतिर लकडाउनले गर्दा हिँड्न दिँदैनन् पुलिसले । ४ बजे नै उहाँलाई लिएर उकालो लाग्छुु । १ घण्टामा यस पञ्चकन्या मन्दिर आइपुग्छु । उहाँलाई यहीँ ७ बजेसम्म योग–प्राणायाम गराउँछु ।’ मैले पतिलाई देखाउँदै बेलिविस्तार लगाएथेँ ।
उनी मुन्टो हल्लाउँदै मन्दिर सफा गर्न थालेका थिए । आफ्नै सुरमा मन्त्रादि गुनगुनाउन थालेका थिए ।
त्यही मौकामा मैले पनि सोधेथेँ, ‘तपैँ चै किन आउनुहुन्छ यहाँ ?’
‘नास्ता खुवाउन’
‘कसलाई ?’
‘देखिनौ, देवीदेउतालाई ।’
०००
–२०७७ बैशाख ११, रूपनगर, सप्तरी ।
लघुकथा : पालो
- लक्ष्मी रिजाल
मेरा दुईवटी छोरीमध्ये जेठी सुझबुझ भएकी छे । कान्छी त्यत्ति बुझ्दिन तर दिदी वाणीलाई देववाणी सम्झेर हठ गर्छे । उसको झेलमा हामी लाचार हुन्छौँ । भनौँ न हामी फेल हुन्छौँ । जीत उसकै हुन्छ ।
उसको कुरा पुग्छ । ऊ मख्ख पर्छे र दिदीलाई थ्याङ यु भन्छे ।
सन्दर्भ हो- ऊ मेरी मम्मीलाई मम्मी भन्छे । मलाई मामू भन्छे । मम्मीले उनीहरूका लागि हर्लिक्स किनिदिनु भयो । बाबाका तर्फबाट मौरीको ताजा मह आयो ।
एक दिन मह हालेर अर्को दिन हर्लिक्स हालेर एकएक गिलास दूध दिने गरेको थिएँ । मह मन पराउँदैनथे । जब हर्लिक्सको पालो आयो ऊ खुशी हुन्थी । महसँग दूध खानू भनेको एक गिलास नीमपत्तीको झोल पाउनु सरह सम्झन्थी ।
महको पालोमा क्यालेन्डर हेर्दै एक गतेबाट गन्न सुरू गर्थी- एक गते मह; दुई गते हर्लिक्स; तीन गते मह-------आज हर्लिक्सको पालो; हेहेहे !!!!
समाप्तम् !!!!
सप्तरीबाट ।
लघुकथा- प्रौढखेल
लेखक- लक्ष्मी रिजाल
- हजुरबा ! हजुरलाई एउटा प्रश्न गरूँ ?
- किन अनुमति मागेकी प्यारी नातिनी !
- म प्रतिपक्ष हो । हजुर अहिले सत्तापक्ष हो त्यसैले ।
- ए । कसले भनेको ?
- कलमले सत्तालाई खबरदारी गर्नेगर्छ । कलम जहिले पनि प्रतिपक्षको कित्तामा उभिन्छ । म सत्तापट्टी हैन कलमपट्टीकी मान्छे हुँ त्यसैले ।
-ए । ( उहाँ बडबडाउँदै हुनुहुन्थ्यो । मैले बुझिनँ । सायद भन्दै हुनुहुन्थ्यो- नुन खाने मेरो गुन गाउने प्रतिपक्षको ?)
- अनुमति लिएपछि त अरूलाई जस्तो मलाई नहकार्नुस् है हजुरबा ?
- ए बाबा ! त्यो दिन रिसाको प्रश्नले हैन । सत्ता नपाएको झोकले हो ।
-उसो भा, हजुरको केस सेतो र बोली अबुझ किन भाको ?
- यो सब राजनीति शक्ति र सत्ताले नै हो ।
- शक्ति र सत्तामा बल्ल पुग्नुभो । अब के गर्नुहुन्छ ?
- राजनीतिलाई सोझो बाटोमा हिँडाउँछु र देशलाई उँघो जानबाट जोगाई उँभो लग्छु ।
- अनि थरीथरीका काण्ड मच्चाएर जनताको नजरमा घिनाएका र कानुनले दण्डनीय ठानेका मान्छेलाई किन आफ्नो मेरुदण्ड ठान्नुहुन्छ ?
(फेरि एक पटक उहाँ रिसाएको स्पष्ट झलक देखियो । शुरुमा त शक्ति र सत्ताको संरक्षणमा नबोली नबोली जित्ने प्रयासमा लाग्नुभयो । केहीबेर पछि म नजिक आएर खुसुक्क भन्नुभयो । र; मेरै मुख खुलेको खुल्यै पार्नुभयो ।)
- सप्पै कुरा खेल हो । तिमी बुझ्दिनौ नानी । जे बोल्यो त्यही गर्ने बालखेल हैन । एक थरी बोलेर अर्को थरी गर्ने प्रौढखेल हो यो ।
+++
-रूपनगर; सप्तरी ।
2078/04/04/02
लघुकथा : नयाँ सदस्य
-लक्ष्मी रिजाल
के के लेख्थेँ । फेसबुकमा राख्थेँ । कसैले के भन्थे । कसैले के ठान्थे ।
एक साथीले भन्यो; "जोडिनुपर्छ । लेखिनुपर्छ । भ्याएसम्म राख्नुपर्छ । तब त सगरमाथा साहित्य परिषद्मा नाम आउँछ ।"
सोचमा परेँ । तिवारी दाइलाई अनुरोध गरेँ ।
"हुन्छ भन्ने सङ्केत भेटेँ ।"
रहर पूरा गरेँ ।
अन्तत: आजैको मितिबाट म पनि लघुकथा कुनोको नयाँ सदस्य बनेँ ।
धन्यवाद !!!
सप्तरी ।
पर्यालघुकथा– सम्राट
–लक्ष्मी रिजाल
‘गाली गर्दा ताली फर्काउँछेस् । कस्ती भ्यालुलेस ?’ मैले त्यसलाई आफ्नो कालो मन देखाएँ । ऊ मुसुक्क मुस्कुराई मात्र ।
‘तँसँग रिस छैन, ईर्ष्या छैन । मात्र मुस्कान छ । प्रशन्नता छ ।’ ऊ उदार भएकोमा रोष थपेँ । ऊ अझै अव्यक्तरुपमा प्रशन्न चित्तवृत्तमा थिई ।
‘सर्पसँग विष हुन्नथ्यो भने त्यो खेलौना हुन्थ्यो । बाघसँग दाह्रानङ्ग्रा र जिउदो क्रोध रहन्नथ्यो भने केटाकेटीको सवारी साधन बन्थ्यो । तिनीहरुसँग मौलिक सम्पदा भएकोले मानव समाज थर्कमान छ । तँसँग के छ त ?’ मैले प्रश्न तेर्स्याइरहेँ ।
‘म खाना दिन्छु, प्राण दिन्छु, मान र सम्मान दिन्छु ।’ उसको तर्फबाट पुरानै जवाफ दोहरिएको अनुभव भयो मलाई ।
मैले त्यसको अन्तस्करण चिमट्ने गरी भनेँ– म तँलाई कोपर्छु । भुत्याउँछु । तेरो फल लिन्छु । जलले प्यास मेट्छु । आफ्नो भोकलाई नाश गर्छु । दिनदहाडै तँलाई नङ्ग्याउँछु । आँखालाई आनन्द दिन्छु । भेटे तँलाई नै ओछ्यान बनाएर रात कटाउँछु ।
ऊ क्रोधले पूरै जली । त्यत्तिबेलै बेगले हावा चल्यो । धूलोले मेरा आँखा पुरिए । होस गुम भयो । आफ्नो जीवन आफूसँग नरहेझैँ भयो ।
हायलकायल भएर उसको सामु हात जोड्दै भनेँ– बुद्धि बन्द हुँदा आफैँ सम्राट थिएँ । अहिले खोल्दा हजुरलाई पो सम्राट देखेँ ।
२०८०–०४–१२ कञ्चनरुप १२, रुपनगर, सप्तरी ।
+++
लघुकथा- वर्तमान
-लक्ष्मी रिजाल
‘ध्यानिज्ञानी महात्मा ठानेर सर्वत्र उहाँलाई सम्मान गर्छन् । बिनाखोट आफ्नै गाउँमा उहाँलाई अपमान गर्न तम्से ।’ चन्द्रमोहनको प्रवचन सकिएर मानिसहरू लाखापाखा लागेपछि त्यहाँ उपस्थित मानिसहरूका बीच मोहनले गुनासो पोखे ।
मोहनका कुरा सुन्नासाथ रमाकान्तले प्याच्चै भने; ‘गधा धोएर गाई हुन्न, ढोंगी बाबाको चेला !’
‘जीवनमा काम, क्रोध, लोभ, मोहबाट मुक्त भई वैराग्यलाई अँगालेको मान्छेलाई कसैले चित्त कुँड्याउने काम गरेमा फरक के नै पर्ला ?’ आफ्नो अपमान गरेको सुनेर चन्द्रमोहनले पनि बाङ्गो कुरा गरे ।
‘हेर्, दारी बुढा, पाँच वर्ष अलप हुँदैमा कोही महात्मा हुन्न । तँ यहाँ गाउँ भाँड्न आएको होस् । टिकट काटिहाल् । नत्र नाङ्गेझार बनाएर लखेट्नु नपरोस् ।’ विष्णुले रिस पोख्यो ।
‘आफ्नो परिवारलाई लात मार्ने यस्ता नाथेसँग बात मारेर मुख किन दुखाउँछौ केटाहरू हो !’
रमाकान्तले अर्को वाण चलाए । मोहन बाहेक अरूले नकारात्मक कुरा गर्दै गए ।
‘लौ, जाँडका भकारी बाबा, हामी अहिले हिँड्यौँ । भोलिको सूर्योदय पूर्व नै यस शिव मन्दिरबाट पनि अलप भइहाल् ।’ आक्रोश पोख्दै रमाकान्त उठे ।
‘घर भत्काउने, बालीनाली क्षति गर्ने जङ्गली हात्ती लखेट्न ठिक पारेका पुल्ठाहरू छँदै छन् । यसका लागि तिनैको उपयोग गर्नुपर्छ ।’ यस्तै नकारात्मक कुरा थपथाप पार्दै विष्णु पनि बाटो लाग्यो ।
चन्द्रमोहन समुद्रझैँ शान्त थिए । मोहन मात्रै त्यहाँ मौजुद रह्यो । चन्द्रमोहनले सोधे; ‘तिमीसँग मलाई दिने कुनै कालोमैलो दुर्गन्ध छैन, मोहन नाति ?’
जवाफमा प्रतिप्रश्न गर्दै मोहनले भन्यो; ‘तपाईंभित्रको विद्वता लिन मैले के गर्नुपर्छ, बाबा !’
जवाफमा चन्द्रमोहनले भने; ‘विगतले वर्तमानलाई क्षतविक्षत पार्न छाड्नुपर्छ । वर्तमानलाई भविष्यका लागि हाँस्न दिनुपर्छ ।’
०००
लघुकथा – खुसी
लघुकथा
स्वस्तिका सिम्खडा
श्रावण २६, शुक्रवार १७:२८
210
SHARES
Share
Tweet
Subscribe
“तँ अचेल अँध्यारो मुख लगाएर किन कुनामा थुप्रिन्छे हँ ?“ माहिला हजुरबुबाले आज पनि पुरानै प्रश्न दोहोर्याउनुभयो । उहाँलाई देख्नासाथ हरदम यही एउटा प्रश्न घोचो बनेर मेरा सामु तेर्सिन्थ्यो ।
“म मनकी राजा हुँ । आफ्नो मनसँग बात मारेर सुख आर्जन गर्न चाहन्छु ।“ यसो भनेर जवाफ फर्काउन चाहेँ । मेरो बोलीले उहाँलाई बिझाउला कि भनी तत्कालै मुखमा भोटे ताला लगाई हालेँ । उहाँ आदर्शका कुरा फलाक्दै स्कुल जानुभयो ।
धेरै पहिलेदेखि मलाई समय चहर्याउँथ्यो । वातावरणमा उकुसमुकुस छाउँथ्यो । म प्राकृतिक वातावरणमा हराउन चाहन्थेँ । प्रकृतिको वास्तविक रूपमा हेलिन चाहन्थेँ । समग्रमा म फकिर बन्न चाहन्थेँ ।
आफ्नो मनोभावना अनुरूप बाँच्न समाजले छुट दिँदैनथ्यो । म निर्धारित समयभन्दा एकाध घण्टा ढिलो निवास पुगेँ भने अभिभावकलाई त यथार्थ कुरा बताएर विश्वस्त पार्न सक्थेँ ।
समाजले तिखा नङ्ग्राका साथ भन्न सक्थ्यो– नेपाली नारीको गन्तव्य र सीमा समाजले तोक्छ । त्यस लक्ष्मण रेखा नाघ्न सीतालाई त छुट भएन । मामुली नारीलाई झन् हुन्न ।
यसरी मलाई आफ्नो हैन डरको घरमा बसिरहेको भान हुन्थ्यो । यस्तै अनुभव मनमा खेलाइरहेको बेला माहिला हजुरबुबा टिफिन खान स्कुलबाट आएको भान हुनासाथ अनुहारको प्राकृतिकपन ढाकछोप गरिहालेँ । बदलामा कृतिमपन निम्त्याई हालेँ । हाँसेर नास्ता पस्किएँ ।
खाँदाखाँदै उहाँले थप्नुभयो– आज हाम्री ठुली नातिनीको मुहारमा छचल्किएको हाँसो अलिकति चोर्न मन लाग्यो ।
+++
२०७९/०१/१६ बेलका–२, उदयपुर ।
(लघुकथाकारको पुरानो डायरीबाट साभार । उहाँको निधन २०८०/०४/२० गते भयो । जन्म २०६१ वैशाख १६ गते भएको थियो । उहाँका लघुकथा डायरीमा छरिएका छन् । – सङ्कलक– लक्ष्मी रिजाल )
लेखकका अन्य सिर्जनाहरू पढ्न यहाँ क्लिक गर्नुहोस्...
माया
यस कुराले मेरो अबुझ अहङ्कारलाई प्याट्ट हान्यो । म झसङ्ग भएँ । त्यही मौकामा त्यसले सोध्यो- आखिर तँ के चाहन्छेस् ? मैले भनेँ- माया ।
image लक्ष्मी रिजाल लक्ष्मी रिजाल
facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing buttonsharethis sharing buttonlinkedin sharing button
Nepal Telecom ad
image
स्वस्तिका सिम्खडा :
‘भोकाले भोजन माग्छ; अघाएर पनि म चाहिँ भोजन नै माग्ने अनौठी भिक्षुणी हँु ।’ मैले आफ्नै अर्को मनसँग भनेँ ।
तत्कालै त्यस मनले भन्यो; ‘तेरो मनलाई बुभ्mन हजार शिर भएका शेष नागको पनि पाइन छैन । तसर्थ अल्पज्ञ संसारसँग मिल्ने कुरा गर्; बाझ्ने कुरा नगर् ।’
‘यार, अरूले के भन्छन् भन्दैनन् ? तँ त कुरो बुझिदे ।’ मेरो गुनासो सुन्नासाथ उसले भनिहाल्यो; ‘तँ चेतन छस् । सोचीबिचारी तौलेर बोल्छस् । विवेकले विवेकी बाटो पक्रन्छ । म तेरै अन्धो मन हुँ । मसँग विवेक शून्य छ । मेरो धर्म तेरो अतृप्त चाहनालाई विस्फोट गर्नु हो ।’
म छक्क परेकै बेला त्यसले थप्यो; ‘रमाइला र उन्नतशील विचार र व्यवहार प्रदर्शन गर् । तेरो अतृप्त इच्छा पूरा गर्ने ठेक्का म लिन्छु ।’
यस कुराले मेरो अबुझ अहङ्कारलाई प्याट्ट हान्यो । म झसङ्ग भएँ । त्यही मौकामा त्यसले सोध्यो- आखिर तँ के चाहन्छेस् ?
मैले भनेँ- माया ।
त्यसले भन्यो- लाटी, मागेर पाइन्छ ? गरेर पो पाइन्छ । संसारलाई माया गर्; दोब्बर भएर फिर्ता पाउँछेस् ।’
०००
२०७९.०४.२० बेलका नगरपालिका- २, उदयपुर ।
(यस लघुकथाकी लेखिका स्वस्तिका सिम्खडाकाे निधन २०८०.०४.२० गते भयो । यो सिर्जना उहाँकै पुरानो डायरीबाट साभार गरिएको हो । – लक्ष्मी रिजाल ।)
(सन्दर्भ~ राष्ट्रिय जेष्ठ नागरिक दिवस)
लघुकथा~ पचपन्न ✍️अक्षान्त
"अब उपरखुट्टी लगाएर खाने बेलामा तपाईंको बुद्धि किन उल्टो भएको बा ?" मैले प्रश्नको बलियो घोचो ठड्याएँ ।
"पहिले तँ भइस्,अहिले म हुँदै छु ।" उहाँको स्वर सुनेँ ।
मैले आँखा ठूला पारेँ । कान चनाखो बनाएँ । मस्तिष्क तिखारेँ । मनमा जाँगर भित्र्याएँ । होस् मिसिएको जोसले मनमुटु बलियो बनाएँ ।
उहाँले मेरो भोको मनलाई तृप्त पार्न भन्नुभयो, "तैँले ज्ञानार्जनका लागि बचपनमा घर छाडिस्, म पुण्यार्जनका लागि पचपन्नमा घर त्याग्दै छु ।"
२०८०-०९-११ उदयपुर ।लघुकथा– भरोसा
–स्वस्तिका सिम्खडा
‘कुनै काम थाल्दा पहिले दिमाग चलाउने गर् ।’ मैले बरोबर काम बिगार्दा हजुरबुबाले भन्ने शब्द आज एकाबिहानै सम्झिएँ ।
उहाँ संसारबाट बिदा हुनुपूर्व अनेक कुरा भन्नुहुन्थ्यो । म वास्था गर्दिनथेँ । आज रातभरि चिन्ताले ओछ्यानमै मडारिरहेँ । संकटको घडीमा विगत सम्झिन पुग्नुलाई स्वभाविक ठानेँ ।
उहाँ भन्नुहुन्थ्यो; ‘अहिले तिमरुमा जवानी मडारिरहेको छ । हामी जस्ता बुढापाकाका कुरा गनगन मात्रै लाग्छन् । धोका पाएपछि अमृत लाग्न थाल्छन् ।’
म उहाँका हरेक कुरा फिस्स हाँसेर हावामा उडाइदिन्थेँ । आज एकाविहानै मलाई हजुरबुबा जीवनभरिकै महान् गुरु भएको अनुभूति भयो । उहाँका ती कुरालाई गम्भीरतापूर्वक लिएको भए मेरो भरोसा यसरी जीवनभरका लागि तुहने थिएन ।
‘तँ फुच्चीले मैले भरेको जाँच्ने ?’ फारम भर्दा सरले यही कुरा भनेका थिए । मैले आँखा चिम्लेर सरको कुरा खाएँ ।
भरेभन्दा एसइईको प्रमाणपत्रमा मेरो नाम ‘स्वस्तिका’ को सट्टामा ‘सोस्तिका’ बनेर आएको थियो ।
०००
(प्रौढअर्तिलाई ओखति सम्झेको भए जीवनभरका लागि आफ्नो नाम बिग्रदैनथ्यो भन्ने आभास ‘म’ पात्रलाई भएको यस लघुकथालाई मैले बुढ्यौली लघुकथाको श्रेणीमा राखेकी छु । यसलाई सन्दर्भ ७ मा समेट्न लायक ठानेकी छु । लेखक दिवंगत भइसक्नुभएको छ । उहाँको नाममा ‘स्वस्तिका सिम्खडा स्मृति लघुकथा सम्मान’ पुरस्कार स्थापना भएको छ । उहाँको जन्मोत्सवको अवसरमा हरेक वर्ष बैशाख १६ गते उक्त पुरस्कार कुनै एक नवोदित नारी लघुकारलाई प्रदान गर्ने कुरा लघुकथा प्रतिष्ठान, नेपालले यस अघि नै सार्वजनिक गरेको अवगत गराउन चाहन्छु । –संकलक– लक्ष्मी रिजाल)
लघुकथा- मोल
- स्वस्तिका सिम्खडा
एकाविहानै मैलै ६,७ जनाले मुर्दा मसानघाट लग्दै गरेको देखेँ । उनीहरू प्रहरी बिट सामुबाट आएका थिए । सबै मलामी हतासमा थिए ।
बोकिएको मुर्दा कात्रोमा लपेटिएको थियोे । मलामीले शङ्ख बोकेका थिए तर बजाएका थिएनन् । घाटमा लास बिसाइयो । हत्तपत्त नाऊ आइपुग्यो । सेतो कपडामा लटपटिएको मुर्दा जुरुक्क उठ्यो । कात्रो मिल्कायो । नाऊमा चढ्यो र किनारमा उभिएकालाई बाईबाई गर्दै अलप भयो । म हेरेकी हेर्यै भएँ ।
भैंसी चराउँदै सबै दृश्य हेरिरहेका काकाले भने; "ती मुर्दा बनेका नेताको टाउकाको मोल ५० हजार मात्रै तोकिएको छ ।"
२०७८-१०-१३ बानडाँडा, उदयपुर ।
लघुकथा- टाइलेट
स्वस्तिका सिम्खडा
एक पटक एक गम्भिर विषयमा छलफल हुँदा नियमित दर्शक/स्रोताका रूपमा चिनिएका हरिबाजेले भने- "टाइलेटको कमाल हो ।"
शब्द दिमागभरि रिङ्न थाल्यो । त्यसबेला हामी लघुकथा वाचन गर्न सिक्तै थियौँ । हरेक दिन बेग्लाबेग्लै व्यक्तिले बाचन गर्थ्यौँ । सबैमा मेल थियो । बेमेल मुद्दा त्यत्तिकै ओझलमा थियो ।
समय खजमजियो । वाचकमा मानसिक विकार आयो । कारण पत्ता लागेन । छानबिन गर्न कुनै वकिल/न्यायाधिस तोकिएन । म पनि लघुकथाको एक शुभेच्छु थिएँ । म पनि यदाकदा वाचक भइटोपलेकी थिएँ । चिन्ता र चासो थियो ।
हरिबाजेको शब्दले अर्थ पाउँदै गयो । बाचकहरूले वाचन छाड्नुको कारण उनीहरू ट्यालेन्ट हुँदै गएछन् । नि:शुल्क डटेर खट्न मन भएनछ । शुल्क तिर्ने सामर्थ सञ्चालकमा रहेनछ ।
बल्ल बुझियो- हरिबाजेले शब्द उच्चारणमा बुढ्यौलीपन घुसाएका रहेछन् ।
बानडाँडा, उदयपुर । हाल- सिरहा । 2079/01/09 एसईई सुरुआत मिति ।
लघुकथा~ सल्लाह ~ स्वस्तिका सिम्खडा
"खै, लसुन लेऊ नातिनी; बानी पर्नुपर्यो।" अस्पतालबाट फर्केपछि एकाबिहानै हजुरबुबाले मलाई भन्नुभयो । उहाँको कुराले म छक्क परेँ ।
"दमको अजातशत्रु चुरोट हो । छुँदै नछुनू ।" म सधैं हजुरबुबालाई यसो भन्थेँ ।
उहाँ डेढ अक्कल लगाउनुहुन्थ्यो । बिहान काँचो लसुन चबाउनुस् भन्दा मानेजस्तो गर्नुहुन्थ्यो । आँखा पछाडि चुरोटगाँजा सबै तान्ने र लठ्ठिने गर्नुहुन्थ्यो ।
"आज चाहिँ किन चुरोटको साटो लसुन माग्नुभएको हजुरबुबा ?"
मेरो यस प्रश्नको जवाफमा डाक्टरले दिएको सल्लाह भन्ने जवाफ पाएँ ।
"मैले उहिल्यै आदरका साथ भनेको लागेन तपाईंलाई ।" मैले गुनासो गरेको देखेपछि उहाँले थप्नुभयो; "तँलाई थाहा छैन; बच्चावृद्ध एउटै ड्याङका मुला हुन् भनेर ?"
२०७८-०७-०९ बेलका-२, उदयपुर ।
लघुकथा- पुत्लादहन
- स्वस्तिका सिम्खडा
गाेलबजारमा आन्दोलनकारीले प्रधानमन्त्रीकाे पुत्ला दहन गर्ने भए । सबै सामग्री तयारी भएपछि प्रहरीले बरामद गर्याे । लाठीचार्ज र अश्रुग्यासले गर्दा आन्दोलनकारी तितरबितर भए ।
प्रहरीले पुत्ला नष्ट गर्नुपर्ने भयो । उरन्ठेउला ठिटा प्रहरीले बाेकेर अन्यत्र लान अल्छी माने । पुत्लादहन हेर्न जनसमुदायकाे बाक्लाे उपस्थित थियाे ।
प्रहरीले सबैलाई पाँच मिनेट सहिद स्मरणमा माैनधारण गर्न लगाए । सबैले आँखा चिम्लेर टाउको झुकाएकाे बेला पुत्लामा पेट्रोल खन्याएर आगाे लगाइदिए ।
जनसमुदायले आँखा खाेल्दा पुत्ला खरानीकाे थुप्रोमा परिणत थियोे । प्रहरी भने मुस्कुराइरहेकाे थियोे ।
उता दुईदुईवटा राष्ट्रिय मिडियाले प्रहरीले पुत्ला दहन गरेको दृश्य प्रत्यक्ष प्रशारण गरेको त्यहाँ उपस्थित कसैले पत्तै पाएन ।
+++
२०७८-०९-१२ कक्षा- १२
श्री जनता प्राविधिक मावि गाेलबजार-४, सिरहा ।
++++++++++++++++
लघुकथा– पौरख
–स्वस्तिका सिम्खडा
‘एकैछिन सास फेर्न पायो भने सकिनसकी हर्दम एउटै बोली फलाकिरहनु राम्रो होइन ।’ उमेरको ख्यालै जगरी मैले मनभित्रको कुरो बाहिर ल्याइहालेँ ।
हजुरआमा शान्त देखिनुभयो । मलाई उहाँ रिसाउनुभयो कि भन्ने डर भयो । उहाँलाई मन परेकी जेठी नातिनीको नाकमा झिँगा बसेछ भन्ने लागेछ ।
मेरो एक वाक्यले उहाँको बोली बन्द भएपछि म पग्लन थालेँ । हजुरबा वितेपछि माया, आदर जे गरे पनि जिवित देवी एउटै हजुरआमा हुनुहुन्थ्यो । म उहाँलाई सम्मानस्वरूप आमा भनेर बोलाउँथेँ ।
उहाँको रिसाएको मनलाई खुशी बनाउन भनेँ– आमा, मेरो दोष मात्रै किन कोट्याउनुभएको ?
उहाँको अनुहारमा भिन्नै तेज देखियो । भन्नुभयो– हाम्रो युग गयो । तिमीहरूको आयो । म बोदेको कारण तँ बेलैदेखि पौरखी बन्छेस् कि भनेर हो ।
२०७९.०५.०७ बानडाँडा, बेलका २, उदयपुर ।
०००
No comments:
Post a Comment