४४. लघुकथा~रहस्य ✍️ गंगा खड्का
" नानी ! चियामा त चिनीको सट्टामा टन्न नुन पो हालिछ्यौ ।" मलाई पहिलोपटक केटी हेर्न आउँदा हजुरबुबाले सबैका अगाडि भन्नुभयो ।
" अनि चियामा नुन नहालेर बेसार हाल्ने त ?" मैले सबैका सामु हजुरबुबालाई ओठे जवाफ लगाएँ । सबैले मुखामुख गरे ,म किंकर्तव्यविमुढ भएर उभिरहेँ ।
" चिया त बिगारिहाल्यौ , जाऊ अब फलफूल ल्याऊ ।" हजुरबुबाले सन्दर्भ बदल्दै भन्नुभयो । म बिस्कुट लिएर गएँ ।
" लौ , फलफूल लिन गएकी मान्छे विस्कुट पो लिएर आइछ ।" बुबाले मुख फोर्नुभयो ।
" अर्काको घरमा आएर कहाँ भनेजस्तो खानेकुरा खान पाइन्छ र ? उहाँहरु मलाई हेर्न आउनुभएको कि टन्न खान ?"
मेरो अनौठो गतिविधिले बुबा लज्जित हुनुभएको आभास मैले पाएँ तर पनि मैले पारा छोडिनँ ।
" हेर , त्यति राम्रो घरबाट कुरा आएको थियो , बिगारिस् होइन पागलपन देखाएर ?" बेलुकी आमा मसँग जाइलाग्नुभयो ।
" जानीजानी परिवारको इज्जत फाल्नेसँग नि के कुरा गर्छेस् ?" बुबा रिसले आगो हुनुभयो ।
म के गरूँ कसो गरूँको भावमा कुर्थाको फेर समाएर उभिरहेँ ।
" तँ त्यस्ती मान्छे त होइनस् , तर तँलाई त्यस्तो उट्पट्याङ काम गर्न कसले सिकायो हँ ?" दाइ पनि पहिलोपटक मसँग जङ्गिनुभयो ।
" मैले " अचानक हजुरबुबा बोल्नुभयो ।
" तर तपाईं बूढो मान्छे भएर नि आफ्नी नातिनीको कुरा बिगार्नुको कारण ?"बुबाले स्पष्टीकरण माग्नुभयो ।
हजुरबुबाले किन यस्तो सिकाउनुभयो भनेर अनविज्ञ भएकीले म पनि उत्तरको पर्खाइमा थिएँ ।
" मैले नातिनीको कुरा बिगारेको होइन कान्छा , कुरा मिलाएको चाहिँ हुँ । अर्काको धन हेरेर भर्खरै ११ कक्षा पढ्न लागेकी नातिनीको पखेटा काटिदिनुको सट्टामा पढाइ सकिएपछि आफ्नो खुट्टामा उभ्याएर अन्माउनु जाती होइन र ?"
बूढानीलकण्ठ ,काठमाडौँ
२०८०-९-११
~~~~~~~~~~~~~~~~~~~
६४. लघुकथा~ सेवा ✍️निर्मला बराल
मंसिरकाे लगनमा माइतबाट अन्मिएर श्रीमानकाे घर गइन् निर्मला। जाने बेलामा पक्षघातले पीडित आमाकाे चिन्ता मनमा लिँदै गइन् उनी। निर्मला गएपछि सासुकाे सम्पूर्ण स्याहारसुसार र घरधन्दा भाउजूकाे काँधमा आइलाग्याे। त्यसैले, नन्दकाे विवाह नहाेस भन्ने चाहान्थिन उनी।
हप्ता दिनपछि सम्धिनी भेटघाटकाे कार्यक्रम तय भयाे। माइतीका सबै छोरीको घरमा भेटकाेलागि पुगे। स्वागत तथा अभिवादनकाे क्रम चल्न थाल्याे । त्यही क्रममा ससुराबालाई ह्विलचियरमा राखेर गुडाउदै निर्मला पनि आइपुगिन् ।
भाउजूले नन्दलाई व्यङ्ग्य गर्दै भनिन्, "मैया, भर्खरै बिहे भएको छ। अब यसाे घुम्न जान परेन के नव दम्पतीले? घरमै सडेर हुँदैन, कसाे?"
निर्मलाले भाउजूसँग आँखा मिलाउँदै मलिन स्वरमा भनिन्। "के काे हतार भाउजु ! घुम्न जाबाे त जीवनभरी छँदै छ नि! लामाे समय वृद्ध आमाकाे सेवा गर्ने अवसर पाएकि मलाई, यहाँ वृद्ध बुबाकाे सेवा गर्ने माैका मिलेकाे छ। भाउजू, मलाई लाग्छ ईश्वरकाे सेवा गर्ने अवसर सबैलाई मिल्दैन।"
भक्तपुर
२०८०|९|११ गते बुधबार प्रेसित।
~~~~~~~~~~~~~~~~~~~
१. लघुकथा~ स्पर्श ✍️लता के सी
`` ऊ बेला त म पनि कहाँ यस्तो थिएँ त ? आकासको तारा झार्थे नि ! बाबु ! ´´ भिडियो कलमा बाउले निकै फुर्ति लगाए ।
छोरा फिस्स हाँस्यो र भन्यो ,`` उहिलेका कुरा खुइलिए बा ! अब त एक्लै बस्न गाह्रो भएन र ? ´´
खुइय .. गर्दै `` के गर्नु र गाह्रो साह्रो जे भए नि ! तँ जस्ता छोराछोरी सबै विदेश नपसी हाम्रा मुखमा माड लाग्ने होइन ? ´´
`` काम गर्ने मान्छे राख्ने त ? ´´ उसले सोध्यो ।
`` उसले नै केही गर्ला कि ? भन्ने पीर बोक्दिनँ , बाबु । हात खुट्टा चल्दैछन् । भो , बुढा बाउको पीर नगर् । ´´
छोराले सम्झायो , `` आमा भएको भए माटालाई ढुङगाको भर , ढुङगालाई माटाको भएझैँ हुन्थ्यो कि राम्रो बृद्धाश्रमतिर सरौँ बा ?´´
उनले हकारे , `` भो ,घर छाडने कुरा नगर् बा ! ´´
उसले हाँस्दै सोध्यो , `` किन र बा , यो उमेरमा त्यो झुपडीको चै यति बिध्न माया लागेको नि ? ´´
उज्यालो अनुहार लाउँदै बा´ले भने , `` घरका कोठा चोटामा तेरी आमाको स्पर्श छ नि त , बाबु ! ´´
तीनकुने , काठमाडौँ
~~~~~~~~~~~~~~~~~~~
३९. लघुकथा - चिन्ता ✍️विद्या ढकाल
माहिला बालाई तुलसी मठमा सारियो । उनको वाक्य बन्द भएको पनि दुई दिन भइसकेको थियो । घर परिवारले यो चिसोमा पनि उनलाई न्यानो कपडा ओडाउने मेसो पाइरहेका थिएनन् ।
माहिला बाले छोरालाई हातको इसारा गरे । उनी आफ्नो कम्मरमा बाँधिएको पटुका तर्फ सङ्केत गर्दै थिए । छोराले जिज्ञासु बन्दै पटुका खोले । पटुकाबाट पट्याइएको अवस्थामा सानो कागजको टुक्रा फुत्त भुइँमा खस्यो । छोराले अनुहार अमिलो बनाउँदै सो कागजको टुक्रा फोहोरको थुप्रोमा फाले । बिरामी रुङ्न आएको कोही बोल्यो - "त्यसरी नफाल । खोलेर हेरौँ न के रहेछ ?"
छोराले जाँगर नलाग्दो पारामा कागजको टुक्रा उठाए । कर्के नजर लाउँदै तिनै मानिसको हातमा थमाए । ती मानिसले कागज खोले । अनि कागजमा लेखिएको कुरा सबैले सुन्ने गरी पढ्न सुरु गरे - 'आँफूले आधा पेट खाएर पनि भोलिका दिनमा मेरा सन्ततिहरूलाई सजिलो होस् भनी मूल ओछ्यानमा जमिन मुनी केही गाडेर राखिदिएको छु ।'
तनहुँ ।
~~~~~~~~~~~~~~~~~
३५. लघुकथा~ भर ✍️ सविता भट्टराई
"बुढा!हजुरको तलब कैले आउँछ?बाबुको विद्यालयको परीक्षा पनिआइसक्यो।शुल्क बुझाउनु पर्ने। "रचना गनगन गर्दै राकेश लाई सोध्छे।
"खै!खुइय्या गर्दै राकेश भन्छ "आठ मैना भै सक्यो तलब न आएको।हामी शिक्षक हरु लाई सारै गारो परी सक्यो।अब त
साथी भाई ले पनि पत्याउन छाडी सके।"
दुईदिन पछि छोरा खुशी हुँदै आमालाई भन्छ ' आमा!यी लिनुस्।शुल्क तिरेको रसीद अनि मेरो प्रवेश पत्र।छक्क पर्दै रचना भन्छे ' कस्ले तिरी दियो तिम्रो शुल्क?
"मैले ।आमा भित्र बाट बाहिर निस्कँदै भन्नु हुन्छ।मेरो नातिलाई दुःख भएको म हेर्न सक्दिन नि।
" अनि आमा एती धेरै पैसा हजुरले कहाँबाट ल्याउनु भयो '?राकेशले सोध्छ।
"बाबुको विद्यालय नजिक एउटा सामाजिक संस्थाले हाम्रो हिन्दू धर्ममा लोप हुन लागेको काम लाग्ने डपरी,बत्ती,र जनै जस्ता सामग्री को तालिम सञ्चालन गरेको रहेछ।यसमानयाँ पुस्ता लाई हामी पाका नागरिक द्वारा उनी हरुलाई सिकाउँछौं।त्यहीँबाट आएको पैसाले काम चलाई दिए। "
"आमा! हजुर ले यो के गर्नु भएको ?बुहारी रचनाले आमा तिर हेर्दै भन्छिन। "
" हेर!हामी बा आमा सन्तानको लागि भार होइन।भर हौं। आमाले मुसुक्क हाँस्दै भन्नु भयो।
जनकपुरधाम,धनुषा
रचना मिति/२०८०/९/१० गते मंगलबार
~~~~~~~~~~~~~~~~~~
४७. लघुकथा- चिन्ता ✍️ उमानाथ दाहाल
" बाबू ! सत्तरी वर्ष पुगेपछि त हातगोडा सबै लुला भए थरथर काम छुट्छ, तिमीहरू छिटै आए हुन्थ्यो । बाबा म भन्दा पनि कमजोर हुनुभयो " आमाले फोनबाट विदेशमा भएको छोरासंग दुखेसो गरिन् ।
" अहिले त आउन मिल्दैन है आमा! , दुःखसुख गर्दै गर्नु " छोराले जवाफ फर्कायो ।
" यो खेतबारी सम्हाल्ने मान्छे छैन ।
हामीलाई पनि सहयोगी चाहिन्छ , आओ नानी! आओ अब " आमाले आग्रह गरिन्
" भनें त अहिले आउन मिल्दैन भनेर , कति एउटै कुरा दोहोर्याउनु भएको? " छोरो झर्केर बोल्यो । फेरि उसैले थप्यो " नानीहरूको पढाई लेखाई चौपट हुन्छ उनीहरूको भविष्य हेर्नु पर्दैन ?" एकछिन् पछि फेरि उही बोल्यो " त्यहाँ शून्य भयो भने कि राम्रो वृद्धाश्रम हेरौँ त ?"
स्तब्ध बनेकी आमाले " खै " भन्दै फोन राखिन् र
पतितर्फ फर्केर भनिन् " मिल्दैन भन्छ, नानीहरूको भविष्यको कुराछ भन्छ "
" हामीले उस्को भविष्य हेर्दा हेर्दा यो गति हुदैछ पछि उस्को पनि यस्तै त होला ! " पतिले पर क्षितिज तर्फ हेर्दै भने
" कि वृध्दाश्रम बुझौँ त पनि भन्दै थियो" आमाले निराश आवाजमा भनिन् ।
पतिले लामो सास तानेर भने " मेरो सम्पत्ति र मेरा छोरा भनेर घमण्ड गर्नु पनि बेकार रहेछ यो संसारमा "
झापा
~~~~~~~~~~~~~~~~~~
१८. लघुकथा~ स्वप्नभङ्ग ✍️लक्ष्मण ज्ञवाली
प्रोफेसर टि एन थकित अवस्थामा घरमा पुगे । कार्यबोझ ले पस्त उनि आफ्नो वातानुकूलित शयनकक्षमा प्रवेश गरे र बिस्तरामा पल्टे।
उनी, पाहुना प्रोफेसर तथा बरीष्ठ कानुन विज्ञ भएकाले आज दिनभर युनिभर्सिटीको क्लास, बहस ,परामर्शका कामले थकित थिए ।
उनी ८०वर्ष पार भैसकेका एकल व्यक्तित्व हुन् ।उनका एक छोरा र दुई छोरी सबै उच्च शिक्षा हासिल गरेका सन्ततीहरू युरोप अमेरिका तिर व्यवस्थित भइ बसेका छन् ।
श्रीमती साधना छँदै झण्डै २ वर्ष जति विदेश भ्रमणको अनुभव पनि बटुलेका हुन् उनले । तर, श्रीमतीको देहावसान पछि भने बिदेश जाने रूचि देखाएनन् ।अहिले उनी स्वदेशमै एकल जीवनको उत्तरार्धका कष्टपूर्ण दिनहरू व्यतित गरीरहेका छन् ।
मस्त निद्रामा परेपछि उनलेआफ्नो किशोर वय देखिको अनुभूति निन्द्रामै देखे ।
"कलेज दोस्रो वर्षको विद्यार्थी म र भर्खर एस एल सि दिएर बसेकी साधनाका विच बिहेको कुराकानी चल्यो ।
आफन्तहरूबाट परस्पर देखाउने काम भयो ।
दुबैका आँखा जुधे । त्यो पहिलो नजरको गहिराई र उचाई यति व्यापक थियो जसको मापन फिताले संभव थिएन केवल अन्तरमनले गर्न सकियो होला ।
हामी विवाह बन्धनमा बाँधियौं ।"
दुबैजना पढ्दै पढाउदै बिहे गर्यौं ।उनको विगतको रिल घुमिरहेको थियो ।उनी भनी रहेका थिए-
वच्चा जन्मायौं ,हुर्कायौं ,पढायौं , लेखायौं ,बिहे दानपछि आ-आफ्नो भविष्यकालागि भन्दै बचेराहरू गूँढ छाडेर टाढा टाढा भए ।
निद्रामै आएर साधनाले सोधिन् -"हजुरले आज खाना नखाई सुत्नु भएको ? "
"हैन हैन खाएको हुँ "प्रोफेसरले जवाफ फर्काए।
"खै त भान्सामा केही पाकेको देख्दिन त ! हजुरले ढाँट्नु भा को ? "साधनाले प्रश्न गरिन् ।
"तिमी आउन बेर गर्छ्यौ भनेर क्यान्टिनमै खाएर आएको नि !" उनले जवाफ दिए ।
"हेर हेर यो दाह्री ,कपाल ! म गएदेखि त हजुरले दाह्री ,कपाल काट्न पनि छोड्नु भएछ । न त खानको ठेगान ,न त हिंड्नु -सुत्नुको ठेगान ।यसरी पनि जीवन चल्छ ?" साधनाले चिन्ताभाव प्रकट गरिन् ।
"सबै काम तिमी आएपछि गरौंला भन्दै थाती राखेको थें ।"
तिमी आउन ढिला गर्यौ नि त ।उनले आशाभाव प्रकट गरे ।
प्रोफेसर टि एनले साधनालाई अंगालोमा बेरे ,आ -आफ्ना जीर्ण क्लान्त शरीरका ढुक ढुक गर्ने मनमुटुहरूलाई सुने ।
प्रोफेसर टि एनले साधनालाई सिरकको घुम्टोमा लुकाएर मनका कुरा सुनाउन चाहन्थे ।साधनाको शीर सुमसुमाउँदै उनी भन्दै थिए "साधना तिमी छ्यौ र त म छु । तिमी बिना मेरो पल पल अधुरो छ, अपाङ्ग छ । तिम्रो साथ छुटेपछिको मेरो यात्रा दुरूह छ, तिमी मलाई छोडेर कतै नजाउ है ।" उनले अलिक जोड लगाएर सिरक तान्दा पलङको नजिकै राखेको पानीको जग पल्टिएर आएको छन्द्रङ्ग आवाजले उनको निद्रासँगै मिठो सपना पनि भङ्ग भयो ।
तिलोत्तमा १ नीलगिरि पथ , शंकरनगर रूपन्देही २०८०/ ९/८
~~~~~~~~~~~~~~~~....
४३. लघुकथा~ डाँडामाथिको घाम ✍️ प्रेम घिमिरे 'अग्निकवच’
“एक जुवा माथि घाम आइसक्यो यी केटाहरू अझै उठेका छैनन्। तिमीहरूले गरी खाँदैनौँ।” - हजुरबाले सँधै झैँ आज पनि फलाक्नुभयो। म हत्तपत्त उठेर झ्यालको पर्दा उघारेँ। घामको किरण आँखामा परेपछि ऊ पनि चरपटायो। मैले “ उठ!” भने। उसले “ ह्याsss दादा सुत्न दिनुन भन्यो। “ पानी छेप्देन सुतुवालाई।” हजुरबा वैठक कोठाबाटै कड्किनु भयो। शुभम जुरुक्क उठ्यो।
नित्य कर्म सकेर बिहानको खाजा खानु र गृहकार्य सकेर हजुरबासँगै बसेर खाना खानु अनि स्कुल जानु बिहानको दैनिक कार्यतालिका थियो। चाँडै सुत्नू, चाँडै उठ्नू, तात्तातै खाना खानू, बेलामा पढ्नू र बेलैमा विद्यालय जानू जस्ता आदेश नमान्ने हो भने हजुरबालाई हिटलर बन्न समय लाग्दैन थियो।
शुभमलाई हजुरबाको कचकच मन पर्दैनथ्यो। कहिलेकाँही त रिसाएर भोक हड्ताल गर्थ्यो। कान्छो नाती रिसाए पछि फकाउने काम पनि हजुरबा नै गर्नुहुन्थ्यो। कहिलेकाँही त सुटुक्क दश रूपैयाँको नोट दिएर फकाउनु हुन्थ्यो।
“हेर! बुढापाकाले कराउँदैमा गाली गरेको नठान्नू। अर्ती दिएको हो। अर्ती भनेको जसले दिएपनि लिनुपर्छ। बुढापाका मान्छे भनेका डुब्न लागेको घाम जस्तै हुन्। परार तिमीहरूको हजुरआमा अस्ताईन्। अब पालो मेरै छ।” हजुरबाको कुराले मेरो मन छुन थाल्यो। शुभमलाई भने यी कुराले खासै छोएको थिएन।
बाह्र पास गरेपछि म अष्ट्रेलिया गएँ। त्यहाँ पुगेपछि मैले समयको महत्व र हजुरबाको अर्ती एकैचोटी बुझेँ। दुई वर्षपछि विदामा घर आएँ। हजुरबा बिरामी हुनुहुन्थ्यो। मलाई अगाडि देखेपछि चमत्कार जस्तै गरि हजुरबा निको हुनुभयो।
एकदिन म साथीहरूलाई भेटेर घर आउँदै थिएँ। शुभम डाको छोडेर रुएको आवाज परैबाट सुनेँ। के भएछ भनेर दौडिदै घर पुगेँ। शुभम रुँदै भन्न थाल्यो - “ हेर्नुन दादा हजुरबा रिसाएर मसँग बोलिसिन्न।” मैले हजुरबालाई झक्झक्याए। बोल्नु भएन। पछि धेरै मान्छेहरू जम्मा भएपछि थाहा पाएँ। डाडामाथिको घाम अस्ताईसकेको रहेछ।
~~~~~~~~~~~~~~~~~~~
५. लघुकथा बुढेसकाल ✍️कल्पना भण्डारी
एकाबिहानै मनमाया गाैरीकाे घरमा गएर भनिन् "बैनी! मलाई के भयाे के,बुढेसकाल लागेर हाे कि धेरै दिन भयाे खान नि रुच्दैन, कताकता दुखेर मात्रै आउँछ, म त मर्ने भएँ के गर्ने हाेला ? छाेराछाेरीलाई भन्नु भएन त । आआफ्नो पीडा आफूसँगै छ । कसैले फाेन गर्दैनन् । म त फोन गर्न पनि जान्दिनँ।"
मनमायाको कुरा सुनेर गाैरी चिन्तित भइन् र "माेबाइल दिनू त म कल गर्दिन्छुु," भनिन्। पहिला छाेरालाई कल गरेकाे उठेन पछि छाेरीलाई गरेकाे व्यस्त छु भन्दै फाेन राखिन्। गाैरीले भनिन् "तपाईंको छाेरी व्यस्त रे छाेराकाे फाेन उठेन।"
मनमाया डाँकाे छाेडेर रुन लागिन्। "याे बुढेसकालमा संसारमा कसैले साथ नदिने रहेछ। बुढा त बच्चाबच्ची साना हुँदै मलाई छाेडेर याे धर्तीबाट बिदा भएर जानुभयाे, दु:ख गरेर छाेराछाेरी हुर्काइ बढाएँ र विवाहदान गरिदिएँ । अहिले मेराे वास्ता कसैलाई छैन । मेराे अहिले साथी भनेकाे छायाँ र ऐना छ । छाया म जता जान्छु त्यतै जान्छ । ऐना हेर्दै रुन्छु ऊ पनि म सँगसँगै रुन्छ ।" यति नभन्दै मनमाया भक्कनिइन्।
गाैरीलाई पनि धेरै नराम्रो लाग्याे । "आमा नरुनुहाेस्। हिँड्नू , म हजुरलाई हस्पिटल लान्छु।" उनले ट्याक्सी चडाएर हस्पिटल पुराएर जाँच गर्दागर्दै मनमायाले आँखा तानिन् । गाैरी पनि "बिचरा! जिन्दगी भन्दै डाँकाे छाेडेर रुन थालिन्। मनमायाकाे माेबाइलमा फाेन आयाे । गाैरीले डराएर फाेन उठाइन् । उनको छाेराकाे फाेन आएकाे रहेछ । गाैरीले आमाको माेबाइलबाट कल गरेकाे नउठेकाे भएर मैले हस्पिटल लगेर बचाउन नसकेको कुरा सुनाइन् ।
छाेराले "पैसा पठाइदिन्छु, दाहसंस्कार गरिदिनुहोला" भन्दै गाैरीलाई अनुरोध गर्यो।
सिन्धुपाल्चोक हाल काठमाडौ
~~~~~~~~~~~~~~~~~~~
४६. लघुकथा~ बुढा बा ✍️मन्दिरा चापागाईं
" जेष्ठ नागरिक भनेका जिवित ईतिहाँस हुन् । ज्ञान, वुद्धि ,विवेक , अनुभव र सीपका खानी हुन् । सजीव ईतिहासको मान मर्दन गरेर हामी कँहि पुग्न सक्दैनौं ।"
दर्शक र स्रोताले खचाखच भएको हल तालीको गड्गडाहटले गुजायमान भयो ।
आजभोलि बृद्ध बा आमालाई हेयको नजरले हेरिन्छ ।बरु कुकुर बिरालो जस्ता जनावर हरुसँग दिन बिताउँने संँगै सुताउँने संस्कार बढ्दैछ ।
मेरो त हेर्नुहोस् नाती बाजेको दोस्ती जमेको छ । मन्चको एउटा कुनोतिर संकेत गर्दै उनले भनिन् । नभन्दै उनको करिव छ बर्षको छोराले ससुराको सिंगान पुछिदिदैं थियोे ।
उपस्थित बृद्धबृद्धले उनी जस्तै बुहारी र तीनका छोरा जस्तै नातीको मनमनै कल्पना गरे ।
कार्यक्रम सकियो । सबैले उनको प्रशंसा र तारिफ गरे ।
घर आईपुगे सबैजना ।
"बाबुलाई तातोपानीले नुहाईधुवाई गरेर सफा लुगा लगाएर भित्र ल्याउँनु , अनि यो बुढाको ओछ्यान पनि साबिकमै सारिदे । " एकैसासमा नोकरलाई आदेश दिईन् उनले । अब देखि हजुरबाको नजिक नजानु है मेरो बाबु , खानेकुरा ख्वाउँने , हजुरबाले दिएको खाने नगर्नु । हेर हेर ! नङ्ग भित्र सम्म सफा गरिदिएकि छु, फोहोरी बुढालाई अंगालो हालेर बुढाकै वास आईरहेको छ ....।
को हुनुहुन्छ घरमा ? हेल्लो सुन्नुस न ।
फेरि को मुन्टिएछ्न्?
उनको पारो तात्तियो । हाम्रो संस्थाले जेष्ठ नागरिकप्रतिको हजुरको लगाव देखेर हजुरलाई पुरस्कृत गर्ने भएको छ । समाज बदल्ने भनेकै हजुर जस्तै ठूलो मन भएकाले त हो नि। आफ्नो परिचय पत्र देखाउँदै गर्दा बुढा बा को बिस्तारा कुकुरसँगै कुनामा देखेर मुखामुख गरे उनिहरुले । उनी हड्बडाईन् ।
"जाडो निक्कै बढेको छ । यो कुकुर बिरामी पनि छ । यसलाई तातो गरुँ भनेर यसको स्याहार गर्न मात्र यहाँ बिस्तारा लाएको हुँ" बुढा बा ले भने ।
मेरो हेरचाह गर्ने त यति ज्ञानी बुहारी नाती छदैछन् नि । आखिर पशुको पनि शरीर हो नि होइन र ? बुढा बा बोले !
सभापोखरी -१, संखुवासभा ।
~~~~~~~~~~~~~~~~~~~
१०. लघुकथा~ निर्णय ✍️अवतार ढकाल
बेलुकीको खाना पछि छोरा बुहारी दुबैजना सङगै मेरो कोठाभित्र पसे । सानो नाति एक्लै बोल्दै खेलाउना गाडी खेलाइरहेको थियो । "पक्कै पनि केही सल्लाह गर्न आएका हुनुपर्छ ।" मेरो मनले भन्यो ।
उनीहरु दुबैजना चुपचाप बसे केहि समय । बुहारीले नातीले खेलेको हेरिन । छोराले भित्तामा राखिएका उसका बुबा , हजुरबुबा र हजुरआमाका तस्वीर नियाल्यो । दुबै गम्भीर देखिन्थे ।
मौनताभरी मेरा आँखा घरी छोराबुहारीतिर , घरी नातीतिर र घरी तस्वीरहरुतिर ओहोर दोहोर गरिरहे ।
"मुमा हजुरसँग एउटा सल्लाह गरौं भनेर ।" बुहारीले मौनता भङ्ग गरिन ।
"भन न ....।" मैले जिज्ञासा राखें ।
" अब त बाबुलाई स्कुल हाल्ने बेला भयो । डे बोडस हाल्नु पर्ला । अँ.........।" उनी रोकिइन ।
" अब यो पोक्चुपनि स्कुल गएपछि घर कति शून्य हुने होला ? पढाउनु परिगो ।" आवाजसँगै सुस्केरा निस्कियो मेरो मुखबाट ।
"त्यहि भनेर ........।" मतिर नहेरी छोरो बोल्यो ।
" हामी दुबै बिहानैदेखि काममा हुन्छौं । घरै बसौं न त भन्दा गुजारा चलाउनै गाह्रो ।" उनले भनिन ।
" उबेला हामीले खासै पढन पाएनम । घरधन्दामै जीवन बिताइयो । तिमीहरु पढेका छौ । हामीजस्तै बसेर के हुन्थ्यो नि ।" मैले सम्झाएँ ।
" कोहि यसो काम सघाउने केटी पाए पनि हुन्थ्यो गाउँतिरकी । मुमालाई मुखबोलाउ साथी पनि हुन्थ्यो । तर खै .......? " छोराले भन्यो ।
"हुन त अहिले प्राइभेट आश्रमहरु पनि खुलेका छन । राम्रो सुबिधा दिंदा रहेछन । " उनले भनिन ।
" मुमाले जे भन्नु हुन्छ । अर्को महिनादेखि हो बाबुलाई स्कुल हाल्ने । घरमा एक्लै बस्न गाह्रो होला भनेर मात्र हो .......काम गर्ने पाए....।" भुइँतिर हेर्दै छोराले भन्यो ।
"चिन्ता नगर म सबैलाई सजिलो हुने निर्णय गरौंला।" उनीहरुलाई मैले नै सहज बनाइदिएँ ।
"भ्रु.... भ्रु...... भ्रु .... भ्वाँभ्वाँ ... ।" नाती मस्तले खेलिरहेकै थियो ।
श्रीमानको तस्वीरमा आँखा पुगे । परलोक जानुभन्दा अगाडि दुबै हात समाएर रुँदै भन्नुहुन्थ्यो," म मरेपछि कसरी बस्दिहोस फगत एक्लै ।"
तस्वीरमा हेर्दाहेर्दै लाग्यो उहाँ त्यही कुरा भनिरहनु भएको थियो ।
मैले मनमनै निर्णय गरिसकेकी थिएँ ।
~~~~~~~~~~~~~~~~~~
No comments:
Post a Comment