सर नम्स्कार । पाका नागरिक बारेका यी छानिएका लघुकथा मध्ये टप ११ लघुकथा छानिदिन र हजुरको हस्ताक्षर पठाइदिन सविनय अनुरोध छ ।
७६ .लघुकथा~ युवा ✍️ निरज काेइराला
"अब देश बन्छ भने युवालाई दिनुपर्छ ।" बिक्रमले याैटा पसलमा भने । सबैले हाे मा हाे मिलाए । "चुप लाग । उता टिभीमा समाचार आयाे ।" सिह्रानघरे काकाले थपे।
टिभीमा समाचार आयाे, "पेडा दाई हाई हाई!!! आलु चाेर बाई बाई" फेरि अर्काे समाचार आयाे, "आलु दाई हाई हाई !!!! पेडा चाेर बाई बाई"
"देख्नुभयाे, युवा जाेस ! कसरी नारा लगाउँदैछन् ?" बिक्रमले खुसी हुँदै काकालाई नमज्जाले चिमटे ।
काकाले भने, "देखेँ तेराे बुद्धि पनि ! बारीका डल्लामा पसिना पाेखेर सुन फलाउने बल बैँस, यता चाेर डाका उता हाई हाई गर्दै बुढालाई कन्याएर सडकमा, उमेर ढल्कन लागेपछि खाडीमा पाेख्दै यिनैलाई सरापेर देश बन्ला ?" २०८०/०६/२६
इटहरी
~~~~~~~~~~~~~~~~~~~
~~~~~~~~~~~~~~~~~~~
७१. लघुकथा~ वृद्धको भक्ति ✍️पं.ज्यो. तोयनाथ सुवेदी
"ऐय्याsss.. ऐय्या sss.." गर्दै वृद्ध अचेत अवस्थामा कराइरहेका थिए ।पाँचै भाइ छोराहरू जम्मा भए।बुबालाई
अस्पताल लैजाने कि पण्डित बोलाउने विषयमा छलफल चल्यो।सबैले बुबालाई अस्पताल लगेर पैसा खर्च गर्नुभन्दा
बरू पण्डित बोलाएर पाठ गर्ने,गराउने निर्णय गरे।
पण्डित जि आए। भागवत,गीता पाठ गर्दै समय समयमा
"नारायण "… "नारायण"… भन्दै तुलसी जल खुवाउन थाले।
विरामी चलमल गर्न थाल्यो।
केही क्षणमा पण्डितले कोट्याउँदै भने,"बुवा! मनमा कुनै विचार
भए परिवारलाई भन्नोस् ।"
वरिपरि हेर्दै वृद्धले भने,"ए! छोराहरू हो! तिमीहरू कहाँ छौ?"
पाँचै जना छोराहरूले भने, "हामी यहीँ छौं त बुवा!"
च्याठ्ठिएको आवाजमा वृद्धले भने," ओहो!तिमीहरू यहाँ बसेर
तिमीहरूका घरमा चै को बस्छ त?" " जाओ तिमीहरू जहाँ बस्नू पर्ने हो त्यहीँ बस नभए मलाई चिन्ता बड्छ..............।"
।। समाप्त ।। २०८०/०९/११/रोज ४ राती:९:२५ बजे
६९. लघुकथा~ धारणा ✍️रचना शर्मा
"बुवाले यस्तो चिसोमा पनि के सुन्तला खाइर'नु भा'होला ! ऐले खोकी ला'यो भन्देखुन् मैलाई हो आपत हुने ।" उसले सुन्तला खाँदै गरेका वृद्ध उमेरका बुवातर्फ हेरेर भन्यो ।
"नातिले कर गरेर खान दियो, खाएँ ।" उसको छोरोतिर हेर्दै बुवाले जवाफ दिए ।
"यो बच्चाको लहैलहैमा लागेर यस्ताले दियो भन्दैमा खाने हो त ? आफ्नो स्वास्थ्यको ख्याल गर्न पर्दैन?" ऊ अलि ठूलो स्वरमा बोल्यो ।
"हजुरबुवालाई त अहिले खोकी लागेकै छैन नि ड्याडी ! खोकी लाग्दा त खान दिए पनि खानुहुन्न ! नत्र सिजनको फल पाएसम्म सबैले खानुपर्छ अरे !"
नातिको जवाफ सुनेर हजुरबुवाले मुस्कुराउँदै भन्नुभयो, बरु यही छ यो घरमा पाको ।"
~~~~~~~~~~~~~~~~~~~
~~~~~~~~~~~~~~~~~~~
६४. लघुकथा~ सेवा ✍️निर्मला बराल
मंसिरकाे लगनमा माइतबाट अन्मिएर श्रीमानकाे घर गइन् निर्मला। जाने बेलामा पक्षघातले पीडित आमाकाे चिन्ता मनमा लिँदै गइन् उनी। निर्मला गएपछि सासुकाे सम्पूर्ण स्याहारसुसार र घरधन्दा भाउजूकाे काँधमा आइलाग्याे। त्यसैले, नन्दकाे विवाह नहाेस भन्ने चाहान्थिन उनी।
हप्ता दिनपछि सम्धिनी भेटघाटकाे कार्यक्रम तय भयाे। माइतीका सबै छोरीको घरमा भेटकाेलागि पुगे। स्वागत तथा अभिवादनकाे क्रम चल्न थाल्याे । त्यही क्रममा ससुराबालाई ह्विलचियरमा राखेर गुडाउदै निर्मला पनि आइपुगिन् ।
भाउजूले नन्दलाई व्यङ्ग्य गर्दै भनिन्, "मैया, भर्खरै बिहे भएको छ। अब यसाे घुम्न जान परेन के नव दम्पतीले? घरमै सडेर हुँदैन, कसाे?"
निर्मलाले भाउजूसँग आँखा मिलाउँदै मलिन स्वरमा भनिन्। "के काे हतार भाउजु ! घुम्न जाबाे त जीवनभरी छँदै छ नि! लामाे समय वृद्ध आमाकाे सेवा गर्ने अवसर पाएकि मलाई, यहाँ वृद्ध बुबाकाे सेवा गर्ने माैका मिलेकाे छ। भाउजू, मलाई लाग्छ ईश्वरकाे सेवा गर्ने अवसर सबैलाई मिल्दैन।"
भक्तपुर
२०८०|९|११ गते बुधबार प्रेसित।
~~~~~~~~~~~~~~~~~~~
~~~~~~~~~~~~~~~~~~~
५५. लघुकथा~ संस्कार ✍️दुर्गा वनवासी
"तिम्रा बुबालाई राम्रो सम्झाऊ है बुढा ! एकाबहानै चिसामा हिँडेको छ, घरको गेट पनि खुल्लै हुन्छ । रातभर खोक्यो, राम्रोसँग सुत्न पनि पाइँदैन कहिल्यै ।"
आमाले बुबासँग गरेको गनगन पल्लो कोठामा पढिरहेको अमूल्यका कानसम्म ठोकिन्छ ।
"खै कति पो सम्झाउनु हौ ? किन हिँड्न पर्या हो बुढालाई बिहानबिहानै ! चुपचाप घरमा बसे त भइगो नि !" बाबुचाहिँको स्वर ।
गेट खुलेको आवाज सुनिन्छ । मर्निङ वाकबाट फर्किएका बा भर्याङ उक्लेर विस्तारै आफ्ना कोठातिर लाग्छन् ।
"हजुरलाई कतिपल्ट सम्झाउनु बुबा ? यसरी बिहानबिहानै गेट खुल्ला छोडेर नहिँड्नु भनेको होइन ?" खस्रो स्वर सुनिन्छ ।
"त्यही त भनेको नि ! घरमा चोर पस्न बेर छैन । बाटोमा लडियो भने अ्को लफडा । अस्पतालको खर्च, दबाई, पानी, स्याहार । रातभरि खोकेर सुत्न दिनु छैन ।"
"बाबामामु, किन कराउनु हुन्छ हजुरबालाई ? बिहान हिँड्नु त राम्रो कुरा हो नि ! हजुरबा मर्निङ वाकमा जानु भएपछि सधैँ गेट बन्द गरेर पढ्न बस्छु म । हजुरबाले गर्दा त छिटो उठ्छु म पनि । फेरि हातखुट्टा चलुन्जेल त हो नि हिँड्डुल गर्ने भनेको ।"
"चुप लाग् पाजी, ठूलाबडाको बीचमा बाठो हुनपर्ने ! बाउआमाको बीचमा बोल्न कसले सिकायो तँलाई ? तँलाई हामीले दिएको संस्कार यही हो ?" कड्किन्छन् बाबु ।
हजुरबा, हजुरआमाले हजुरलाई दिएको संस्कार पनि त यो होइन होला नि त बाबा ! जन्मदाता वृद्ध हुँदै गएपछि सेवा र सम्मान गर्नुसाटो बोझ ठान्ने र अनावश्यक कुरामा निहुँ खोजेर अपमान गर्ने चाहिँ कस्तो संस्कार हो बाबा ? असल संस्कारको सुरुवात त आफैँबाट गर्नु पर्दैन र ?" बस् ।
झापा २०८०/०९/१० मंगलवार अपरान्ह ०४• ०५
~~~~~~~~~~~~~~~~~~~
५०. लघुकथा~ नाती✍️एन्जल निलु, मिना साह
(पाका नागरिक बिषयक प्रतियोगी लघुकथा)
ए काका ! यहाँ निर उमानारायणको घर थियो 'अहिले यो वृद्धा आश्रम देखिरहेछु । त्यो मान्छे कता जानुभयो अह: ? बाह्र वर्षपछि कमल नारायण अमेरिकाबाट आफ्ना जहान समेत घर फर्केका थिए।
यो वृद्धा आश्रम उहाँकै हो बाबु। उहाँ भित्र हुनुहुन्छ होला भनेर ती वृद्ध मान्छेले भने।
कमल नारायण भित्र पस्नेबित्तिकै, तिमी को हो बाबु यता कसलाई खोज्न आएको आश्रमका एक वृद्धले सोध्यो ।
यिनीहरूको आवाज सुनेर ,को हो र दाजु ,कोसँग कुरा गर्नुभएको भित्रबाट भन्दै रमाकान्त बाहिर निस्किनुभयो।
छोरालाई देखेर एक टक्क भयो।
न खुसी न दु:खी कुनै प्रतिक्रिया मुहारमा थिएन। दर्शन बुवा ! भन्दै छोराले नै बुवाको ध्यान आकर्षण गराइयो।।
खुसी रहुन् भन्दै सानो जवाफ फर्काइयो।
उमानारायण कुर्सीतिर इशारा गर्दै बस्न भन्यो । चिया खाँदै बाउछोराको गफगाफ सुरु भयो।
यो घरबारी बेचेर हजुरलाई पनि अमेरिका लाने सोचमा थिए ।केहीबेरका भलाकुसारेपछि कमल नारायणले आफ्ना मनका कुरा ओक्लियो।
तिमी भन्न के खोज्या !! यतिका वर्षसम्म मेरो याद आएन । तिम्री आमा छोराछोरा भन्दै परलोक सुधारिन्। तिमी हाम्रा कुनै मेसो राखेन्न । आज एक्कासी मेरो मायाले होइन ...,यो सम्पत्तिको लोभले तँलाई नेपाल ल्यायो। तर यति याद राख्नु , यो सम्पत्ति बाँचुन्जेल मेरो र मेरो अवकाश पछि जसले रेखदेख गर्छ उसको नाममा गर्दिन्छु। दूध पोखे झैँ उमानारायण आफ्नो रिस पोख्यो।
एकछिनको वातावरण शिशिर झै भयो। त्यसोभए हामी यहाँ किन बस्ने। जाउँ हिँड आफ्ना मौन तोड्दै कमल नारायणले छोरा र स्वास्नीलाई अह्राए।
गेटसम्म पुगिसकेका उमानारायणका नाती दौड्दै आयो। अँगालो मार्दै भन्यो ।अब म हजुरसँगै बस्छु है ..…...!!!!
(जोरपाटी काठमाडौं)
~~~~~~~~~~~~~~~~~~~
४९. लघुकथा~ स्याहार ✍️ सुनिता निरौला पौडेल
"ऐया !! कान्छी ......। " बिहानै झिसमिसेमा आमा लड्नुभयो ।
" आमा ... आमा के भयो ?? लौन अब के गर्ने ? " उनले उहाँलाई उठाउन खोजिन् तर सकिनन् । बल्ल तल्ल बसाईन् ।
" हेलो ! हजुर कतिबेला आउने ? आमा यहाँ भर्खरै नराम्रोसँग लड्नुभयो । आउन मिल्छ भने छिटोभन्दा छिटो आउनु न ।" ।"फोनबाट आफ्नो बुडालाई भनिन् ।
"म अहिले आउन मिल्दैन कान्छी ,अलि समय लाग्छ ।बरु ,छिटो अस्पतालमा पुर्याउने व्यवस्था गर ।" उनका पतिले फोन काटे ।
घरमा सबै कामको साथसाथै आमाको स्याहारसुसार नि थपिएको थियो उनलाई ।
काम विशेषले घर बाहिर जानुपर्ने भएकोले छोरालाई आमाको "हेरचाह गर्नु है बाबु" भनी अह्राएकी थिइन् उनलेे ।
"नाति ,आज तेरो मम्मी पनि घरमा छैन । मलाई पिसाब लागिरहेको छ ।त्यो कोपरा यतातिर राखिदेउ न ।" उसलाई घिन लाग्छ भन्ने डरले सानो स्वरले भन्नुभयो ;
"हुन्छ , हजुरआमा "भनेर उ मोबाइलमा व्यस्त भयो ।
"नाति खोइ देउन कोपरा ! पिसाबले अत्यायो ।" कतिपटक भन्दा नि उसले सुनेको नसुने गर्यो ।
" के गर्नु ? ढिलो भयो ।" भनेर हतारिँदै बुहारी कोठामा पस्दा त आमाले धेरै पिसाब च्यापेर ओछ्यानमा छोड्नुभएको रहेछ ।
" छोरा भनाउँदो यस्तो छ ,भनेको केही नटेर्ने । जता पनि आँफै पुग्नुपर्ने । " सफा गर्दै उनी उसँग रिसाउँदै थिईन्।
आमालाई न्यानो बनाएर तातोपानी र खाजा खान दिइन् ।
"आमा कति गार्हो भयो होला" भन्दै गर्दा उहाँले भन्नुभयो ;
" केटाकेटी नै छ बरा ! घिन लाग्यो होला ।"
" तिमीहरूले मलाई जसरी माया ,स्नेह दिएका छौ ,त्यो सबै घरपरिवारको आमाबाबाले पाउन् ।अलिक बर्ष बाँच्छु कि ? जे भए नि तिमीहरु मेरो साथमा त छौ । " यति भन्दै बुहारीलाई अँगालो हाल्नुभयो आमाले ,ऊनी भावुक मुद्रामा थिइन् ।
भक्तपुर : राधे ,राधे निकोशेरा ।
हाल : अस्ट्रेलिया ,क्यानवेरा सिटी ।
२०८० - ९ - ११ गते ।
~~~~~~~~~~~~~~~~~~~
४७. लघुकथा- चिन्ता ✍️ उमानाथ दाहाल
" बाबू ! सत्तरी वर्ष पुगेपछि त हातगोडा सबै लुला भए थरथर काम छुट्छ, तिमीहरू छिटै आए हुन्थ्यो । बाबा म भन्दा पनि कमजोर हुनुभयो " आमाले फोनबाट विदेशमा भएको छोरासंग दुखेसो गरिन् ।
" अहिले त आउन मिल्दैन है आमा! , दुःखसुख गर्दै गर्नु " छोराले जवाफ फर्कायो ।
" यो खेतबारी सम्हाल्ने मान्छे छैन ।
हामीलाई पनि सहयोगी चाहिन्छ , आओ नानी! आओ अब " आमाले आग्रह गरिन्
" भनें त अहिले आउन मिल्दैन भनेर , कति एउटै कुरा दोहोर्याउनु भएको? " छोरो झर्केर बोल्यो । फेरि उसैले थप्यो " नानीहरूको पढाई लेखाई चौपट हुन्छ उनीहरूको भविष्य हेर्नु पर्दैन ?" एकछिन् पछि फेरि उही बोल्यो " त्यहाँ शून्य भयो भने कि राम्रो वृद्धाश्रम हेरौँ त ?"
स्तब्ध बनेकी आमाले " खै " भन्दै फोन राखिन् र
पतितर्फ फर्केर भनिन् " मिल्दैन भन्छ, नानीहरूको भविष्यको कुराछ भन्छ "
" हामीले उस्को भविष्य हेर्दा हेर्दा यो गति हुदैछ पछि उस्को पनि यस्तै त होला ! " पतिले पर क्षितिज तर्फ हेर्दै भने
" कि वृध्दाश्रम बुझौँ त पनि भन्दै थियो" आमाले निराश आवाजमा भनिन् ।
पतिले लामो सास तानेर भने " मेरो सम्पत्ति र मेरा छोरा भनेर घमण्ड गर्नु पनि बेकार रहेछ यो संसारमा "
झापा
~~~~~~~~~~~~~~~~~~
....
४६. लघुकथा~ बुढा बा ✍️मन्दिरा चापागाईं
" जेष्ठ नागरिक भनेका जिवित ईतिहाँस हुन् । ज्ञान, वुद्धि ,विवेक , अनुभव र सीपका खानी हुन् । सजीव ईतिहासको मान मर्दन गरेर हामी कँहि पुग्न सक्दैनौं ।"
दर्शक र स्रोताले खचाखच भएको हल तालीको गड्गडाहटले गुजायमान भयो ।
आजभोलि बृद्ध बा आमालाई हेयको नजरले हेरिन्छ ।बरु कुकुर बिरालो जस्ता जनावर हरुसँग दिन बिताउँने संँगै सुताउँने संस्कार बढ्दैछ ।
मेरो त हेर्नुहोस् नाती बाजेको दोस्ती जमेको छ । मन्चको एउटा कुनोतिर संकेत गर्दै उनले भनिन् । नभन्दै उनको करिव छ बर्षको छोराले ससुराको सिंगान पुछिदिदैं थियोे ।
उपस्थित बृद्धबृद्धले उनी जस्तै बुहारी र तीनका छोरा जस्तै नातीको मनमनै कल्पना गरे ।
कार्यक्रम सकियो । सबैले उनको प्रशंसा र तारिफ गरे ।
घर आईपुगे सबैजना ।
"बाबुलाई तातोपानीले नुहाईधुवाई गरेर सफा लुगा लगाएर भित्र ल्याउँनु , अनि यो बुढाको ओछ्यान पनि साबिकमै सारिदे । " एकैसासमा नोकरलाई आदेश दिईन् उनले । अब देखि हजुरबाको नजिक नजानु है मेरो बाबु , खानेकुरा ख्वाउँने , हजुरबाले दिएको खाने नगर्नु । हेर हेर ! नङ्ग भित्र सम्म सफा गरिदिएकि छु, फोहोरी बुढालाई अंगालो हालेर बुढाकै वास आईरहेको छ ....।
को हुनुहुन्छ घरमा ? हेल्लो सुन्नुस न ।
फेरि को मुन्टिएछ्न्?
उनको पारो तात्तियो । हाम्रो संस्थाले जेष्ठ नागरिकप्रतिको हजुरको लगाव देखेर हजुरलाई पुरस्कृत गर्ने भएको छ । समाज बदल्ने भनेकै हजुर जस्तै ठूलो मन भएकाले त हो नि। आफ्नो परिचय पत्र देखाउँदै गर्दा बुढा बा को बिस्तारा कुकुरसँगै कुनामा देखेर मुखामुख गरे उनिहरुले । उनी हड्बडाईन् ।
"जाडो निक्कै बढेको छ । यो कुकुर बिरामी पनि छ । यसलाई तातो गरुँ भनेर यसको स्याहार गर्न मात्र यहाँ बिस्तारा लाएको हुँ" बुढा बा ले भने ।
मेरो हेरचाह गर्ने त यति ज्ञानी बुहारी नाती छदैछन् नि । आखिर पशुको पनि शरीर हो नि होइन र ? बुढा बा बोले !
सभापोखरी -१, संखुवासभा ।
~~~~~~~~~~~~~~~~~~~
४४. लघुकथा~रहस्य ✍️ गंगा खड्का
" नानी ! चियामा त चिनीको सट्टामा टन्न नुन पो हालिछ्यौ ।" मलाई पहिलोपटक केटी हेर्न आउँदा हजुरबुबाले सबैका अगाडि भन्नुभयो ।
" अनि चियामा नुन नहालेर बेसार हाल्ने त ?" मैले सबैका सामु हजुरबुबालाई ओठे जवाफ लगाएँ । सबैले मुखामुख गरे ,म किंकर्तव्यविमुढ भएर उभिरहेँ ।
" चिया त बिगारिहाल्यौ , जाऊ अब फलफूल ल्याऊ ।" हजुरबुबाले सन्दर्भ बदल्दै भन्नुभयो । म बिस्कुट लिएर गएँ ।
" लौ , फलफूल लिन गएकी मान्छे विस्कुट पो लिएर आइछ ।" बुबाले मुख फोर्नुभयो ।
" अर्काको घरमा आएर कहाँ भनेजस्तो खानेकुरा खान पाइन्छ र ? उहाँहरु मलाई हेर्न आउनुभएको कि टन्न खान ?"
मेरो अनौठो गतिविधिले बुबा लज्जित हुनुभएको आभास मैले पाएँ तर पनि मैले पारा छोडिनँ ।
" हेर , त्यति राम्रो घरबाट कुरा आएको थियो , बिगारिस् होइन पागलपन देखाएर ?" बेलुकी आमा मसँग जाइलाग्नुभयो ।
" जानीजानी परिवारको इज्जत फाल्नेसँग नि के कुरा गर्छेस् ?" बुबा रिसले आगो हुनुभयो ।
म के गरूँ कसो गरूँको भावमा कुर्थाको फेर समाएर उभिरहेँ ।
" तँ त्यस्ती मान्छे त होइनस् , तर तँलाई त्यस्तो उट्पट्याङ काम गर्न कसले सिकायो हँ ?" दाइ पनि पहिलोपटक मसँग जङ्गिनुभयो ।
" मैले " अचानक हजुरबुबा बोल्नुभयो ।
" तर तपाईं बूढो मान्छे भएर नि आफ्नी नातिनीको कुरा बिगार्नुको कारण ?"बुबाले स्पष्टीकरण माग्नुभयो ।
हजुरबुबाले किन यस्तो सिकाउनुभयो भनेर अनविज्ञ भएकीले म पनि उत्तरको पर्खाइमा थिएँ ।
" मैले नातिनीको कुरा बिगारेको होइन कान्छा , कुरा मिलाएको चाहिँ हुँ । अर्काको धन हेरेर भर्खरै ११ कक्षा पढ्न लागेकी नातिनीको पखेटा काटिदिनुको सट्टामा पढाइ सकिएपछि आफ्नो खुट्टामा उभ्याएर अन्माउनु जाती होइन र ?"
बूढानीलकण्ठ ,काठमाडौँ
२०८०-९-११
~~~~~~~~~~~~~~~~~~~
४३. लघुकथा~ डाँडामाथिको घाम ✍️ प्रेम घिमिरे 'अग्निकवच’
“एक जुवा माथि घाम आइसक्यो यी केटाहरू अझै उठेका छैनन्। तिमीहरूले गरी खाँदैनौँ।” - हजुरबाले सँधै झैँ आज पनि फलाक्नुभयो। म हत्तपत्त उठेर झ्यालको पर्दा उघारेँ। घामको किरण आँखामा परेपछि ऊ पनि चरपटायो। मैले “ उठ!” भने। उसले “ ह्याsss दादा सुत्न दिनुन भन्यो। “ पानी छेप्देन सुतुवालाई।” हजुरबा वैठक कोठाबाटै कड्किनु भयो। शुभम जुरुक्क उठ्यो।
नित्य कर्म सकेर बिहानको खाजा खानु र गृहकार्य सकेर हजुरबासँगै बसेर खाना खानु अनि स्कुल जानु बिहानको दैनिक कार्यतालिका थियो। चाँडै सुत्नू, चाँडै उठ्नू, तात्तातै खाना खानू, बेलामा पढ्नू र बेलैमा विद्यालय जानू जस्ता आदेश नमान्ने हो भने हजुरबालाई हिटलर बन्न समय लाग्दैन थियो।
शुभमलाई हजुरबाको कचकच मन पर्दैनथ्यो। कहिलेकाँही त रिसाएर भोक हड्ताल गर्थ्यो। कान्छो नाती रिसाए पछि फकाउने काम पनि हजुरबा नै गर्नुहुन्थ्यो। कहिलेकाँही त सुटुक्क दश रूपैयाँको नोट दिएर फकाउनु हुन्थ्यो।
“हेर! बुढापाकाले कराउँदैमा गाली गरेको नठान्नू। अर्ती दिएको हो। अर्ती भनेको जसले दिएपनि लिनुपर्छ। बुढापाका मान्छे भनेका डुब्न लागेको घाम जस्तै हुन्। परार तिमीहरूको हजुरआमा अस्ताईन्। अब पालो मेरै छ।” हजुरबाको कुराले मेरो मन छुन थाल्यो। शुभमलाई भने यी कुराले खासै छोएको थिएन।
बाह्र पास गरेपछि म अष्ट्रेलिया गएँ। त्यहाँ पुगेपछि मैले समयको महत्व र हजुरबाको अर्ती एकैचोटी बुझेँ। दुई वर्षपछि विदामा घर आएँ। हजुरबा बिरामी हुनुहुन्थ्यो। मलाई अगाडि देखेपछि चमत्कार जस्तै गरि हजुरबा निको हुनुभयो।
एकदिन म साथीहरूलाई भेटेर घर आउँदै थिएँ। शुभम डाको छोडेर रुएको आवाज परैबाट सुनेँ। के भएछ भनेर दौडिदै घर पुगेँ। शुभम रुँदै भन्न थाल्यो - “ हेर्नुन दादा हजुरबा रिसाएर मसँग बोलिसिन्न।” मैले हजुरबालाई झक्झक्याए। बोल्नु भएन। पछि धेरै मान्छेहरू जम्मा भएपछि थाहा पाएँ। डाडामाथिको घाम अस्ताईसकेको रहेछ।
~~~~~~~~~~~~~~~~~~~
~~~~~~~~~~~~~~~~~~~
४१. लघुकथा~ बृद्ध भत्ता ✍️ धनसिंह बिश्व
"अर्जुन! आज ५ तारिक, अब त तिम्रो तलब पनि पस्यो होला। हेरन बाबु! हिजोआज चश्माको पावर कम भएर होला ठ्याक्कै आँखा देख्न छाडी सकेँ। यस पालि त चस्माको शिशा फेरौं कि भनेथेँ"। मैले हातमा चश्मा बोकेर आग्रह गर्दै भनेँ।
अफिस हिँड्नै लागेको छोराले रिसाउँदै मलाई भन्छन् " बुवा! मैंले हजुरलाई बार बार भन्दैछु नानीहरुको स्कूल फि हजुरको दवाई र घरको फिजुल खर्च गरेर पैसा कहाँ बाँच्छ र। हजुरको म मात्रै छोरो होईन। कति कुरा त दाजु सन्देशलाई पनि भन्नुपर्यो नी। आखिर उ पनि त छोरो नै हो। ऐले ढिला भैसक्यो भरे बाद गरौं"। हतार अफिस हिँड्यो।
मैले गलत समयमा भने कि भन्ने सोचेँ अनि ठुलो छोरोलाई फोन गरेर भनें "सन्देश! तिमी, बुहारी, नानीहरु ठिकै होलाऊ नि।
"हजुर! बुबा ठिकै छौं। आज अचानक बुवा? फेरी के भयो"? सन्देश अतालिन्दै भन्छ।
"पैसा मागङ्लान् हैं, छैन भन"। सन्देश बुहारीले कानेखुसी गरेको सबै सुनेँ।
कुरा तर्काउदै भनेँ होईन नानी धेरै दिन भयो याद आएर फोन गरेको।
चस्माको कुरा निकाल्नै सकिनँ।
हत्केलाले आँखा माड्दै चश्मा लगाएँ अनि आफुले सत्तरी बसन्तहरु बिताएको सम्झिएँ। दुई छोराहरूलाई कुनै कुराको अभाव हुन नदिई जवान बनाएँ। जीवन भरी कमाएको सम्पती आफुलाई नराखी बराबर बाँडी दिए तर आज जाबो दुई चार पैसाको लागि हात फैलाउँदै भिख माग्नु पर्दैछ।
बेलुकी साँझमा छोरो घरभित्र पस्यो। बुहारीले के भनिन् कोनि केहि बेर पछि अर्जुन आएर मलाई भन्यो "बुवालाई सन्देश दाईंले के भने? भोलि बैंक जानुपर्छ।
"किन बाबु"? अचम्म मान्दै सोधेँ?
"तपाईंको बृद्ध भत्ता कति जम्मा भए, निकाल्नुपर्छ"।
**** **** ****
गेजिङ प० सिक्किम।
~~~~~~~~~~~~~~~~~~~
~~~~~~~~~~~~~~~~~~~
३९. लघुकथा - चिन्ता ✍️विद्या ढकाल
माहिला बालाई तुलसी मठमा सारियो । उनको वाक्य बन्द भएको पनि दुई दिन भइसकेको थियो । घर परिवारले यो चिसोमा पनि उनलाई न्यानो कपडा ओडाउने मेसो पाइरहेका थिएनन् ।
माहिला बाले छोरालाई हातको इसारा गरे । उनी आफ्नो कम्मरमा बाँधिएको पटुका तर्फ सङ्केत गर्दै थिए । छोराले जिज्ञासु बन्दै पटुका खोले । पटुकाबाट पट्याइएको अवस्थामा सानो कागजको टुक्रा फुत्त भुइँमा खस्यो । छोराले अनुहार अमिलो बनाउँदै सो कागजको टुक्रा फोहोरको थुप्रोमा फाले । बिरामी रुङ्न आएको कोही बोल्यो - "त्यसरी नफाल । खोलेर हेरौँ न के रहेछ ?"
छोराले जाँगर नलाग्दो पारामा कागजको टुक्रा उठाए । कर्के नजर लाउँदै तिनै मानिसको हातमा थमाए । ती मानिसले कागज खोले । अनि कागजमा लेखिएको कुरा सबैले सुन्ने गरी पढ्न सुरु गरे - 'आँफूले आधा पेट खाएर पनि भोलिका दिनमा मेरा सन्ततिहरूलाई सजिलो होस् भनी मूल ओछ्यानमा जमिन मुनी केही गाडेर राखिदिएको छु ।'
तनहुँ ।
~~~~~~~~~~~~~~~~~
३६. लघुकथा१~ बोझ ✍️ कुञ्जदेवी उपाध्याय
धेरै दिन भयो दोकान सम्म नपुगेको। कसलाई भन्नु कोही सुन्दैनन्!
जानु पर्यो् आज लौरो टेक्दै। आखिरी यो लौरै त रैछ अन्तिम सहारा!
लौरोको खट खट शब्द सुनेर झ्यालबाट चिहाएर हेर्दै बुहारी नदेखेझै गर्छिन्।
नरबहादुर आफ्नो शरीरलाई जसै तसै हिँडाउने प्रयास गर्छन। मुक्त हावाको चिसो आएर उनको मन चङ्गा गराउँछ ।ऊ अतितमा रुमलिन पुग्छन्।
यही बाटोमा एकदिन गजराज हिँडे झैँ हिँड्दा उनलाई सबैले सलाम ठोक्ने गर्थे।
तलब लिएर आउँदा छोरा बुहारी सबै चाहापानी दिन तत्पर हुन्थे।
आज उनको बल छैन,ताकत छैन त्यसैले साथ छोडे सबैले ।बोझ भए उनी!
ट्याक्क लौरो उभ्याएर उभिएको थिए पछिबाट ट्याक्सीले पछारेर गयो ।
चुपचाप साक्षी भएर हेरी रह्यो लौरो।
भित्तामा टाँगिएका उनका साहित्यिक सर्टिफिकेट हरू देखाउँदै आफ्नो दुनो सोझ्याउने चक्कर काट्छन् छोरा बुहारी ।
असम ,भारत
~~~~~~~~~~~~~~~~~~
३५. लघुकथा~ भर ✍️ सविता भट्टराई
"बुढा!हजुरको तलब कैले आउँछ?बाबुको विद्यालयको परीक्षा पनिआइसक्यो।शुल्क बुझाउनु पर्ने। "रचना गनगन गर्दै राकेश लाई सोध्छे।
"खै!खुइय्या गर्दै राकेश भन्छ "आठ मैना भै सक्यो तलब न आएको।हामी शिक्षक हरु लाई सारै गारो परी सक्यो।अब त
साथी भाई ले पनि पत्याउन छाडी सके।"
दुईदिन पछि छोरा खुशी हुँदै आमालाई भन्छ ' आमा!यी लिनुस्।शुल्क तिरेको रसीद अनि मेरो प्रवेश पत्र।छक्क पर्दै रचना भन्छे ' कस्ले तिरी दियो तिम्रो शुल्क?
"मैले ।आमा भित्र बाट बाहिर निस्कँदै भन्नु हुन्छ।मेरो नातिलाई दुःख भएको म हेर्न सक्दिन नि।
" अनि आमा एती धेरै पैसा हजुरले कहाँबाट ल्याउनु भयो '?राकेशले सोध्छ।
"बाबुको विद्यालय नजिक एउटा सामाजिक संस्थाले हाम्रो हिन्दू धर्ममा लोप हुन लागेको काम लाग्ने डपरी,बत्ती,र जनै जस्ता सामग्री को तालिम सञ्चालन गरेको रहेछ।यसमानयाँ पुस्ता लाई हामी पाका नागरिक द्वारा उनी हरुलाई सिकाउँछौं।त्यहीँबाट आएको पैसाले काम चलाई दिए। "
"आमा! हजुर ले यो के गर्नु भएको ?बुहारी रचनाले आमा तिर हेर्दै भन्छिन। "
" हेर!हामी बा आमा सन्तानको लागि भार होइन।भर हौं। आमाले मुसुक्क हाँस्दै भन्नु भयो।
जनकपुरधाम,धनुषा
रचना मिति/२०८०/९/१० गते मंगलबार
~~~~~~~~~~~~~~~~~~
३४. लघुकथा~ बेसहारा ✍️अङकुर चन्द
आमा लडनु भएछ ! साहारा दिएर उठाउदै एक आगन्तुकले भन्यो ।
अघि शौच जादा लडेकेा उठन नसकेर उठाउने कोहि नभएर त्यहि लडिराथे आमाले भनिन ।
किन कोहि हुनुहुन्न र घरमा ?
श्रीमान हुनुहुन्छ , भएर के गर्नु । बिरामि भएर थला पर्नुभएको छ ।
छोराछोरि सपरिवार बिदेशतिर छन ।यता बारि खन्ने मान्छे नपाएर यि खेत हरु बाझो रहेको पनि धेरै भए ।
चेाट लाग्यो होला है आमा ? आगन्तुकले सोध्यो ।
श्रीमान थला परेपछि, छोराछोरि बिदेशिएपछि यसरि त कति लडियेा लडियेा । यसले त के चेाट लग्थ्यो र !
लामो सुस्केरामा उफ.....
चेाट त त्यो सम्झिदा लाग्छ, म जस्ता धेरै बृद्धबृद्धा यसरि नै बेसहारा भएका छन । यहा मेरो देश नै बेसहारा भएको छ ।
हेर त यो गाउ पुरै बृद्धाश्रममा परिणत भएको छ ।
बेदकेाट ४ कन्चनपुर
~~~~~~~~~~~~~~~~~~~
३३. लघुकथा~ ढोका खुलेन ✍️ मित्र 'उराठी' गौतम
उनको आँखाबाट तुरुक्कै आँशु चुहियो।
पत्नीका आँखामा पनि छचल्कियो आँशु।
जेसुकै भए पनि विदाइ गर्नु नै थियो।
"शुभयात्रा ! राम्ररी जानु।" भन्दै हात हल्लाएर विदा गरे पत्नीलाई।
छोरी अष्ट्रेलिया र छोरो अमेरीका थिए।अमेरीकामा नाति जन्मिएकोले बुबाआमालाई उतै झिकाएका थिए।
दुबै बुढाबुढीले पासपोर्ट बनाए।नाति जन्मिएको खुसीयाली,अमेरीका घुम्न पाउने अवसर, बुढाबुढी प्रफुल्लित थिए।तर अन्तिममा आएर दाँतमा ढुङ्गा लाग्यो।दुतावासले पत्नीलाई मात्र भिसा दियो।
रक्तचापको विरामी, बुढ्यौली उमेर।अमेरीका जाने आकाङ्क्षामा तुषारापात भयो।पत्नी पठाएर आफू एक्लै बस्नु पर्ने वाध्यताले निराश थिए। गलेका थिए उनी।
पत्नीलाई विदाइ गरेपछि टेक्सी चढेर घरमा फर्किए।
घर शून्य लाग्यो।साँझको खाना पकाउने जाँगर पनि चलेन।
अलिकति पानी तताएर औषधी खाइ सुते।
निद्रा के आउँथ्यो ? विविध तर्कना मात्र आइरहे मनमा।
आमा सकुशल अमेरीका आइपुगेको जानकारी गराउन मेसेन्जर डायल गरे गणेशले।निरन्तर घण्टी बज्यो तर फोन उठेन।
अलि आत्तिएर फोन नम्बर नै डायल गरे।तर फोन उठेन।
घरको छिमेकी शोभाकान्तलाई फोन गरे गणेशले।
शोभाकान्तले घरमा गएर हेरे।ढोका भित्रबाट बन्द थियो।
ढोका ढक्ढकाए।आवाज दिएर बोलाए।
तर ढोका खुलेन।
तिलोत्तमा न पा-२,रुपन्देही
२०८०।९।१०
--------------------------
--------------------------
२८. लघुकथा- सपना ✍️नारायण कोइराला
छेपारोलाई नियालेर हेरेँ।लम्पसार थियो।मलाई जिस्क्याउन मन लाग्यो।सानो ढुङ्गाले हानेँ।
उठ्दै उठेन।अझै नियालेर हेरेँ।कतै मरेको त होइन।
नजिकै गएँ। श्वास चलेको थियो।पेट डम्म फुलिएको ।छेपारो अलि बुढो नै रहेछ।अनि आरामको मुडमा पनि।
सोचेँ,बुढो छेपारोलाई के जिस्काई रहनु।अगाडि बढेँ।
छेपारो बुढो भएर आराम गरेको रहेछ।आँखामा देशका बुढा नेताको तस्बिर आयो।
मनमा परिबर्तनसील सपना। बुढो छेपारोले झैँ हाम्रा बुढा नेताले पनि कुर्सी छोडेर आराम गर्ने कहिले?
तानसेन,पाल्पा
-------------------------
~~~~~~~~~~~~~~~~
२०. लघुकथा~ संस्कार ✍️सोम कुमार सुब्बा
बिरधोज धार्मिक स्वभावको व्यक्ति थिए।उनि बिहानै उठथे,पूजापाठ गर्थे।दिउँसो केही न केही काममा आफूलाई व्यस्त राख्थे।औ साँझपख सिकुवामा बसेर रामायण पाठ गर्थे।यो उनको दैनिक क्रम थियो।
केहीदिनदेखि उनि ओछ्यानमा थला परे।छोरो मनोजले उनलाई अस्पताल लैजाने आग्रह गरे।उनले प्रतिवाद जताउदै भने -
"सत्तरी वर्षको उमेर पुग्यो,अहिलेसम्म अस्पतालमा खुट्टा टेक्या छुइन,अब यो मर्ने बेलामा जान्न!"
मनोजले जिद्दी गर्यो,उनले नमान्दै भने -
"छोरा,बरु सक्छ्स भने बिहानबेलुकी यसो धर्मशास्त्रको कथाहरु पढेर सुना न,मेरो त आँखाले अक्षरहरू ठ्म्याउन छाड्यो।"
त्यसदिनदेखि मनोजले बालाई धर्मशास्त्रहरू पढेर सुनाउन थाले।
एक साँझपख।मनोज पढ्नलाई तयार भए,तर पुस्तक भेटेनन।यथासम्भव खोजे,अँह भेटेनन।अन्त्यमा छेवैमा पढदै गरेको उनको सात वर्षिय छोरोलाई सोधे -
"बाबू, तिमीले हजुरबालाई सुनाउने पुस्तक देख्यौ?"
"अँ, मैले राख्या छु।"
"किन राखेको!"
"अन्त,तपाँईंले जम्मै पढनु भो भने,पछि तपाँई बुडो हुँदा म के सुनाउनु?"
२०८०/०८/०८
लिङ्दोक,पूर्व सिक्किम।
~~~~~~~~~~~~~~~~
~~~~~~~~~~~~~~~~
१८. लघुकथा~ स्वप्नभङ्ग ✍️लक्ष्मण ज्ञवाली
प्रोफेसर टि एन थकित अवस्थामा घरमा पुगे । कार्यबोझ ले पस्त उनि आफ्नो वातानुकूलित शयनकक्षमा प्रवेश गरे र बिस्तरामा पल्टे।
उनी, पाहुना प्रोफेसर तथा बरीष्ठ कानुन विज्ञ भएकाले आज दिनभर युनिभर्सिटीको क्लास, बहस ,परामर्शका कामले थकित थिए ।
उनी ८०वर्ष पार भैसकेका एकल व्यक्तित्व हुन् ।उनका एक छोरा र दुई छोरी सबै उच्च शिक्षा हासिल गरेका सन्ततीहरू युरोप अमेरिका तिर व्यवस्थित भइ बसेका छन् ।
श्रीमती साधना छँदै झण्डै २ वर्ष जति विदेश भ्रमणको अनुभव पनि बटुलेका हुन् उनले । तर, श्रीमतीको देहावसान पछि भने बिदेश जाने रूचि देखाएनन् ।अहिले उनी स्वदेशमै एकल जीवनको उत्तरार्धका कष्टपूर्ण दिनहरू व्यतित गरीरहेका छन् ।
मस्त निद्रामा परेपछि उनलेआफ्नो किशोर वय देखिको अनुभूति निन्द्रामै देखे ।
"कलेज दोस्रो वर्षको विद्यार्थी म र भर्खर एस एल सि दिएर बसेकी साधनाका विच बिहेको कुराकानी चल्यो ।
आफन्तहरूबाट परस्पर देखाउने काम भयो ।
दुबैका आँखा जुधे । त्यो पहिलो नजरको गहिराई र उचाई यति व्यापक थियो जसको मापन फिताले संभव थिएन केवल अन्तरमनले गर्न सकियो होला ।
हामी विवाह बन्धनमा बाँधियौं ।"
दुबैजना पढ्दै पढाउदै बिहे गर्यौं ।उनको विगतको रिल घुमिरहेको थियो ।उनी भनी रहेका थिए-
वच्चा जन्मायौं ,हुर्कायौं ,पढायौं , लेखायौं ,बिहे दानपछि आ-आफ्नो भविष्यकालागि भन्दै बचेराहरू गूँढ छाडेर टाढा टाढा भए ।
निद्रामै आएर साधनाले सोधिन् -"हजुरले आज खाना नखाई सुत्नु भएको ? "
"हैन हैन खाएको हुँ "प्रोफेसरले जवाफ फर्काए।
"खै त भान्सामा केही पाकेको देख्दिन त ! हजुरले ढाँट्नु भा को ? "साधनाले प्रश्न गरिन् ।
"तिमी आउन बेर गर्छ्यौ भनेर क्यान्टिनमै खाएर आएको नि !" उनले जवाफ दिए ।
"हेर हेर यो दाह्री ,कपाल ! म गएदेखि त हजुरले दाह्री ,कपाल काट्न पनि छोड्नु भएछ । न त खानको ठेगान ,न त हिंड्नु -सुत्नुको ठेगान ।यसरी पनि जीवन चल्छ ?" साधनाले चिन्ताभाव प्रकट गरिन् ।
"सबै काम तिमी आएपछि गरौंला भन्दै थाती राखेको थें ।"
तिमी आउन ढिला गर्यौ नि त ।उनले आशाभाव प्रकट गरे ।
प्रोफेसर टि एनले साधनालाई अंगालोमा बेरे ,आ -आफ्ना जीर्ण क्लान्त शरीरका ढुक ढुक गर्ने मनमुटुहरूलाई सुने ।
प्रोफेसर टि एनले साधनालाई सिरकको घुम्टोमा लुकाएर मनका कुरा सुनाउन चाहन्थे ।साधनाको शीर सुमसुमाउँदै उनी भन्दै थिए "साधना तिमी छ्यौ र त म छु । तिमी बिना मेरो पल पल अधुरो छ, अपाङ्ग छ । तिम्रो साथ छुटेपछिको मेरो यात्रा दुरूह छ, तिमी मलाई छोडेर कतै नजाउ है ।" उनले अलिक जोड लगाएर सिरक तान्दा पलङको नजिकै राखेको पानीको जग पल्टिएर आएको छन्द्रङ्ग आवाजले उनको निद्रासँगै मिठो सपना पनि भङ्ग भयो ।
तिलोत्तमा १ नीलगिरि पथ , शंकरनगर रूपन्देही २०८०/ ९/८
~~~~~~~~~~~~~~~~
~~~~~~~~~~~~~~~~
१६. लघुकथा~ वृद्धा बा ✍️सुरेशकुमार पाण्डे
कसैले बोलाए झैं लाग्यो; र म घरको गेटमा दौडेर गएं।त्यहाँ एकजना करिब पचहत्तर वर्षिय बुढा उभिएका थिए।
देख्दा राम्रै देखिन्थे लुगापनि मैला त थिए तर फाटेका थिएनन्।
उनि कतैबाट पनि भिखारी जस्ता लाग्दैन थिए।
हजूरले बोलाउँनु भएको हो?-मैले सोधें।
केही खानेकुरा छ भने दिनोहोस् न बाबु ।-उन्ले म तिर दुबै हात जोडे र याचना गरे।
"घरमा कोहीपनि थिएनन् म दौडेर किचनमा बेलुकीका दुइव़टा मात्र बासी रोटी थिए।मैले सोचें बिचरा वृद्धा बा लाई बासी रोटी भन्दा बिस्कुट नै ठिकहोला।"
मैले एउटा दश रूपियाँ पर्ने पार्लेजी बच्चाहरू फुलाउन राखेको उठाएर पुनः गेटमा पुगें।
बाबा लिनुहोस् ।- मैले बिस्कुटको पाकिट उन्को हातमा थमाउँन खोजे।
रोटी छैन बाबु ? मैले अंस्ती देखी रोटी खानपाएको छैन्-उन्ले भने।
घरमा त बेलुकीका दुइव़टा रोटी त छन् .।
"हो! बरू अचार छ भने दुइटा रोटी भए पुग्छ।-उन्ले मेरोकुरा बिचैमा काटेर भने।
म पुनः भित्र गएं दुबै रोटी तताएं र आंपको अचार राखेर दिएं।उनि खुसी भए। बङ्गारा नभएपनि गमागम खाए।
त्यो देखेर मलाई पुरानो एउटा आमाले सोधेको प्रश्न झलझली याद आयो।अहिले त्यो प्रश्नको उत्तर मिलेकै थियो।
भोक मिठो की भोजन् ?
दाङ घोराहि १८ २४-१२-२०२३,
~~~~~~~~~~~~~~~~
११. लघुकथा- उत्तरार्ध ✍️ नानि भारद्वज
" आमा ! नमस्कार ।"
" नमस्कार बाबू ! मैले त चिनिन ।"
" म माझघरे अन्तरेको कान्छो छोरो हुँ आमा !"
" ए ! कान्छा ,कहाँ छस् अहिले ?"
" म मधेस तिर छु आमा !"
आफ्नोे पुरानो गाउँ घुम्दै गएका कान्छाले ऊ बेलाकी छिमेकी आमासंग भेटगरी केही भलाकुसारी गरे।
"अनि आमा कहाँ छन् त दाजु दिदीहरु ?"
" आ ! बाबू प्युसाप्युसी के बस्थे र गुँडमा पखेटा लागेपछि उडिहाले नि !"
" हेर त यस्तो बेलामा झन संगै हुनुपर्ने !"
" जाउन उनीहरु गरिखाउन्, उनीहरुलाई शुभ्यफाब्य होस्, म त अस्ताउन आँटेकीलाई किन कुर्नु र काञ्छा!"
" अलिक गाह्राे भो होला नि त आमालाई , बा पनि उहिल्यै बित्नु भएछ । "
" यस्तै हो जाने चोला हो, अजम्बरी को छ र कान्छा !"
" हेर त ऊ बेलामा बीस पाथी धान बेसीबाट बोकेर आउने आमाको हालत !"
"अरु त त्यस्तै हो अहिले सम्म त दुःखसुख अगेनो ताद्दै छ तर चिसो भाको दिन पो गाह्राे होला त काञ्छा !"
८ पौष २०८० विराटनगर, मोरङ्ग।
~~~~~~~~~~~~~~~~~~
१०. लघुकथा~ निर्णय ✍️अवतार ढकाल
बेलुकीको खाना पछि छोरा बुहारी दुबैजना सङगै मेरो कोठाभित्र पसे । सानो नाति एक्लै बोल्दै खेलाउना गाडी खेलाइरहेको थियो । "पक्कै पनि केही सल्लाह गर्न आएका हुनुपर्छ ।" मेरो मनले भन्यो ।
उनीहरु दुबैजना चुपचाप बसे केहि समय । बुहारीले नातीले खेलेको हेरिन । छोराले भित्तामा राखिएका उसका बुबा , हजुरबुबा र हजुरआमाका तस्वीर नियाल्यो । दुबै गम्भीर देखिन्थे ।
मौनताभरी मेरा आँखा घरी छोराबुहारीतिर , घरी नातीतिर र घरी तस्वीरहरुतिर ओहोर दोहोर गरिरहे ।
"मुमा हजुरसँग एउटा सल्लाह गरौं भनेर ।" बुहारीले मौनता भङ्ग गरिन ।
"भन न ....।" मैले जिज्ञासा राखें ।
" अब त बाबुलाई स्कुल हाल्ने बेला भयो । डे बोडस हाल्नु पर्ला । अँ.........।" उनी रोकिइन ।
" अब यो पोक्चुपनि स्कुल गएपछि घर कति शून्य हुने होला ? पढाउनु परिगो ।" आवाजसँगै सुस्केरा निस्कियो मेरो मुखबाट ।
"त्यहि भनेर ........।" मतिर नहेरी छोरो बोल्यो ।
" हामी दुबै बिहानैदेखि काममा हुन्छौं । घरै बसौं न त भन्दा गुजारा चलाउनै गाह्रो ।" उनले भनिन ।
" उबेला हामीले खासै पढन पाएनम । घरधन्दामै जीवन बिताइयो । तिमीहरु पढेका छौ । हामीजस्तै बसेर के हुन्थ्यो नि ।" मैले सम्झाएँ ।
" कोहि यसो काम सघाउने केटी पाए पनि हुन्थ्यो गाउँतिरकी । मुमालाई मुखबोलाउ साथी पनि हुन्थ्यो । तर खै .......? " छोराले भन्यो ।
"हुन त अहिले प्राइभेट आश्रमहरु पनि खुलेका छन । राम्रो सुबिधा दिंदा रहेछन । " उनले भनिन ।
" मुमाले जे भन्नु हुन्छ । अर्को महिनादेखि हो बाबुलाई स्कुल हाल्ने । घरमा एक्लै बस्न गाह्रो होला भनेर मात्र हो .......काम गर्ने पाए....।" भुइँतिर हेर्दै छोराले भन्यो ।
"चिन्ता नगर म सबैलाई सजिलो हुने निर्णय गरौंला।" उनीहरुलाई मैले नै सहज बनाइदिएँ ।
"भ्रु.... भ्रु...... भ्रु .... भ्वाँभ्वाँ ... ।" नाती मस्तले खेलिरहेकै थियो ।
श्रीमानको तस्वीरमा आँखा पुगे । परलोक जानुभन्दा अगाडि दुबै हात समाएर रुँदै भन्नुहुन्थ्यो," म मरेपछि कसरी बस्दिहोस फगत एक्लै ।"
तस्वीरमा हेर्दाहेर्दै लाग्यो उहाँ त्यही कुरा भनिरहनु भएको थियो ।
मैले मनमनै निर्णय गरिसकेकी थिएँ ।
~~~~~~~~~~~~~~~~~~
~~~~~~~~~~~~~~~~~~
८. लघुकथा- पाका नागरिक ✍️बालकृष्ण गजुरेल
आफू प्रधानमन्त्री कार्यालयको मुख्य सचिव भएर के गर्नु ? गरि खाने वातावरण छैन । बाबू, बिदेश जा । " छोरालाई अमेरिका पठाउन मुख्य सचिव बोले ।
समयले महंगी थोपर्यो कि प्रणालीले ? देश झनै गरिव भयो । दोस कसको ? कसैले जवाफ दिएनन् । जवाफ भएका शाषक थिएनन् ।
"हेड अफ द नेसन बिदेशले फेर्यो । जाबो अदालत र सरकारको चावी फेर्न कति समय लाग्छ र ! " एक प्रोफेसरले दिक्षान्त समारोहमा गुनासो गरे ।
माहोल आफ्नो पक्षमा पार्दै प्रधानमन्त्री चिच्याए, " यति धेरैलाई दिक्षान्त गरि हामी ईतिहास रच्दै छौँ । "
मुख्य सचिवले हालको अवस्था स्पष्ट पार्दै दुखेसो पोखे, " देशको लागि अनावस्यक भेडा उत्पादन गरेर के गर्नु ? आवस्यक अर्थशास्त्री, शिक्षक, विशिष्ट कर्मचारी तथा नीति बनाउने थिंक ट्याङ्क आज सम्म एउटै उत्पादन भएन । सन्तान जति बिदेश । पाका नागरिकले आफ्ना दक्षता सिकाउने बेलामा बरु मलामी नपाउने पो हो कि ! "
- हेलम्बु-६, सिन्धुपाल्चोक
~~~~~~~~~~~~~~
७. लघुकथा-लठ्ठी ✍️पी पी कोइराला
"आमा !यी लिनु"भन्दै उसले वेतको लठ्ठी आमाको हातमा दियो।आमाले खुशीले गदगद हुँदै भनिन्,"मेरो बाबू! कति जाती हुनुहुन्छ।बाबू धन्यवाद!"
आमाले आँखाभरि खुशीका आँशु छचल्क्याउँदै उ तिर हेरिन् र हातले टाउकोमा थपथपाउँदै आशिर्वाद दिइन्।
"मलाई वरपर हिँड्न पनि कस्तो गाह्रो भइरहेको थियो।जीवन बाबुले धन्न बुझ्नु हुँदो रहेछ ।"भन्दै लठ्ठी टेक्दै घर भित्र छिरिन्।
"कसले दियो लठ्ठी ,हँ?"सात्तो जाने गरि छोरोले धोद्रोआवाजमा करायो।
" दिए होलान नी तिनै जाती हुन खोज्नेहरुले"बुहारीको आवाज पनि झर्किलो नै थियो।
" जसले लठ्ठी दियो उसैले पाल्छ।जानु उतै।हामीले केही गर्न नसकेको देखाउने,मगन्ते !"
छोरो फेरि रड्कियो।
"त्यसो नभन् न छोरा।मलाई मात्र कहाँ हो र?उ यो टोलका सबै बुढाबुढीहरुप्रति दयामाया राख्छ।म हिजो पसलबाट नुन किनेर आउँदा घरै अगाडिको बाटोमा ठेस लागेर लडेको थिएँ।उसैले देखेर उठाई दिएको थियो।दया लागेर ल्याईदेको होला।"
बुहारीले आमाको हातबाट खोसेर त्यो लठ्ठी आँगनतिर हुत्याईदिँदै हकारिन," जोरिपारी को अगाडि बेइज्जत गर्ने हाम्रो।भोलि म नै किनेर ल्याइदिउँला!"
खुशी हुँदै आमाले भनिन्,"सुईटर पनि ल्याई दे है बुहारी! पोहोरको जाडोदेखि सुनाको।"
लघुकथा :बुढ्याइ(प्रतियाेगी लघुकथा)
गोपाल सङ्ग्रौला ,झापा
" पिताजी लाई अब यो घरमा राख्न सकिँदैन ।भोलि नै कतै लगेर बैता लगाउनू नि!"सुभद्राले सुर्यका मुखमा तीर जस्ता तीखा अाँखाले हेर्दै भनी।
"किन के छाँटा चलेर अकस्मात एस्तो तुच्छ वचन बोल्यौ प्रिया ? "सूर्यले सहजै जिज्ञासा राख्यो। " बुढाबुढी घरका घाँडा मात्र हुन।तिनिहरुको केही काम छैन ।" पतिको मुख ताकेर उसले फेरि आक्रोश व्यक्त गरी ।
सुर्य पत्नी लाई यसरी सम्झाउन थाल्यो -
बुढाबुढी हाम्रा धरोहर हुन। हामी उनिहरुका सिर्जना हाैँ।उनिहरु अनुभव र सीपका खानी हुन।उनिहरूको आचार विचार हामीले अनुकरण गर्नु पर्छ ।बुढेस्कालमा सबैको अवस्थ दयनीय हुन्छ ।लौराको सहारामा बाच्नु पर्दछ ।उनिहरुको अवस्था कहलीलग्दो हुन्छ ।हाम्रो अविवेकी सरकारले उनिहरुको लागि कुनै रचनात्मक काम गरेको छैन ।प्राय:बुहारीहरू तिमी जस्तै ढुङ्गाको हृदयका हुन्छन।"
सुभाद्रा अग्निशर्मा बनेर गर्जीई-"मलाई तपाईका भाषण को खाँचो छैन । भोलि बृद्धाश्रम पुर्याउनु भएन भने मलाई माया मार्नु पर्छ ।"बाबा आमाको अनिष्टकारी वार्ता सुनिरहेको कक्षा सतमा पढ्ने छोराले भन्यो - "बूढो भए पछि घरम बस्ने अधिकार छैन भने चार वर्ष पछि बाबा आमालाई पनि बैता लगाइने छ ।"
~~~~~~~~~~~~~~
~~~~
५. लघुकथा बुढेसकाल ✍️कल्पना भण्डारी
एकाबिहानै मनमाया गाैरीकाे घरमा गएर भनिन् "बैनी! मलाई के भयाे के,बुढेसकाल लागेर हाे कि धेरै दिन भयाे खान नि रुच्दैन, कताकता दुखेर मात्रै आउँछ, म त मर्ने भएँ के गर्ने हाेला ? छाेराछाेरीलाई भन्नु भएन त । आआफ्नो पीडा आफूसँगै छ । कसैले फाेन गर्दैनन् । म त फोन गर्न पनि जान्दिनँ।"
मनमायाको कुरा सुनेर गाैरी चिन्तित भइन् र "माेबाइल दिनू त म कल गर्दिन्छुु," भनिन्। पहिला छाेरालाई कल गरेकाे उठेन पछि छाेरीलाई गरेकाे व्यस्त छु भन्दै फाेन राखिन्। गाैरीले भनिन् "तपाईंको छाेरी व्यस्त रे छाेराकाे फाेन उठेन।"
मनमाया डाँकाे छाेडेर रुन लागिन्। "याे बुढेसकालमा संसारमा कसैले साथ नदिने रहेछ। बुढा त बच्चाबच्ची साना हुँदै मलाई छाेडेर याे धर्तीबाट बिदा भएर जानुभयाे, दु:ख गरेर छाेराछाेरी हुर्काइ बढाएँ र विवाहदान गरिदिएँ । अहिले मेराे वास्ता कसैलाई छैन । मेराे अहिले साथी भनेकाे छायाँ र ऐना छ । छाया म जता जान्छु त्यतै जान्छ । ऐना हेर्दै रुन्छु ऊ पनि म सँगसँगै रुन्छ ।" यति नभन्दै मनमाया भक्कनिइन्।
गाैरीलाई पनि धेरै नराम्रो लाग्याे । "आमा नरुनुहाेस्। हिँड्नू , म हजुरलाई हस्पिटल लान्छु।" उनले ट्याक्सी चडाएर हस्पिटल पुराएर जाँच गर्दागर्दै मनमायाले आँखा तानिन् । गाैरी पनि "बिचरा! जिन्दगी भन्दै डाँकाे छाेडेर रुन थालिन्। मनमायाकाे माेबाइलमा फाेन आयाे । गाैरीले डराएर फाेन उठाइन् । उनको छाेराकाे फाेन आएकाे रहेछ । गाैरीले आमाको माेबाइलबाट कल गरेकाे नउठेकाे भएर मैले हस्पिटल लगेर बचाउन नसकेको कुरा सुनाइन् ।
छाेराले "पैसा पठाइदिन्छु, दाहसंस्कार गरिदिनुहोला" भन्दै गाैरीलाई अनुरोध गर्यो।
सिन्धुपाल्चोक हाल काठमाडौ
~~~~~~~~~~~~~~~~~~~
~~~~~~~~~~~~~~~~~~~
३. लघुकथा~ आमाको हिसाब ✍️बासुदेव तिमल्सिना
“म अब हजुरकी आँमासँग एकछिन पनि सँगै बस्न सक्तिन । सँधैको गनगन । दबाई ख्वा, नुहाइदे, कपडा फेरिदे, ट्वाइलेट लैजा । यसो गर्दागर्दै म त मर्ने भएँ । हजुर अफिस गइसिन्छ । मलाई मात्र पिरलो । हामी अलग बसौं । बरु उहाँलाई जति चाहिन्छ त्यति सम्पत्ति दिउँ । हजुरको लालनपालन, पढाइ खर्च सबैको हिसाब गरेर ब्याज समेत लगाएर दिउँन । मानिहाल्नु हुन्छ नि ।”, सबिताले आफ्नो पति सुदेशसँग आफ्नो पीडा सुनाइन् ।
भोलिपल्ट सुदेशले आमालाई भन्यो, “आमा ! हजुरसँग बुहारी सँगै बस्न मान्दिन । त्यसैले हजुरले मेरो लालनपालनमा अहिलेसम्म कति खर्च गर्नुभयो, पढाइलेखाइमा कति खर्च गर्नुभयो अनि हजुरको अंश कति हुन्छ त्यसको सबै हिसाब गरेर बरु दोव्वर लिनोस् हामी चाहीं अलग होऔं । हजुर पनि खुसी, हामी पनि खुसी ।”
आमाले हिसाब गर्न केही दिन लाग्ने बताइन् । छोरा बुहारी खुसी भए ।
एक रात आँमा लोहोटामा पानी बोकेर छोराको बेडमा गइन् । छोरो मस्त निद्रामा थियो । उनले छोराको बेडमा पानी हाल्न थालिन् । छोरो चिसो भएर यता र उता छट्पटाउन थाल्यो । आँमाले पानी हालि नै रहिन् । अन्तमा, छोरो बिउँझियो र चिच्याउँदै सोध्यो, “आमा ! यो के हर्कत हो ?” आँमाले भनिन्, “तैंले पूरा जिन्दगीको हिसाब निकाल्न भनेको थिइस् । मैले हिसाब गर्दै थिएँ । तैंले पिसाब गरेको ओछ्यानमा मैले कति रात जागेरै बिताएँ भनेर । यो त पहिलो रात हो । तँ पहिलो रातमै अत्तालिइस् त ? यस्ता रात त अझै तैंले कति झेल्नु पर्नेछ । तैंले सक्लास् त मेरो हिसााब तिर्न ?”
लालबन्दी, सर्लाही
रचना मिति ः २०८०।०९।०७
~~~~~~~~~~~~~~~~~~~
२. लघुकथा~ पाका मान्छे ✍️तुलसी पण्डित
नातिनीको प्रश्नले हजुरबाबा झस्कनु भयो । नातिनी म यो प्रश्नको जवाफ दिन असमर्थ छु। यसको उत्तर तिमी आफै खोज ।
उ वल्लो घर पल्लो घर सबै ठाउँमा पुगि । तर उसले आफ्नो प्रश्नको जवाफ कतैबाट पाउन सकिन ।
उ बाटोमा धुरु धुरु रोएर बसेकी थिई । पल्लो गाउँको हजुरआमाले भन्नुभयो ।
"नानु तिमी किन रोएर बसेकी हौ ?" उसले हजुरआमालाई आफ्नो समस्या बताइ । "ऊ त्यो घर जाउ । त्यहाँ तिम्रो प्रश्नको उत्तर पाउने छौ । "
उ खुशी हुदै त्यो घर गइ । उसले त्यहाँ बुझि । त्यहाँ पनि समस्या समाधानको बाटो देखिन । उसले जसलाई भेट्न खोजेकी थिइन् । ऊ त दुई महिना घर बसेर विदेश गएछन् । त्यो घरमा बुढाबुढी र केटाकेटी मात्रै रहेछन । उ पिर मान्दै घर फर्की ।
उसले सुनेकी थिइ । यस पृथ्वीमा कतिपय जीव चित्रमा मात्र सिमित छन् । उसले उपाय न देखेपछि धमाधम चित्र बनाएर भित्तामा टाँसी ।
यता हजुरबाबाले सोच्नु भयो । नातिनी प्रश्नको उत्तर नपाएर पिर मानेकी होलि । सरले भोलि कक्षामा सोध्नुभयो भने उसले के भन्लि । " गाउँमा भएका पाका मान्छे र उनीहरुको परिचय । " यो प्रश्न अहिलेको रोजगार विहिन अवस्थामा आफैमा जटिल छ ।
हजुरबुवाले कोठामा पस्दै सोध्नु भयो ।
"नातिनी बिहान सोधेको प्रश्नको उत्तर हात लाग्यो ?" उसले भित्तातिर देखाउदै भनि ।
" हजुरबुबा ऊ त्यहाँ हेर्नु न ।"
जहाँ लेखिएको थियो ।
"यो देशको लागि इतिहासमा सिमित ।"
तल केही चित्र कोरिएको थियो । हजुरबुबाको अनुहार एक्कासी उज्यालो भयो ।
"पाका मान्छेहरुको चित्र। कैयन वर्ष भो युवायुवती विदेश जान थालेको । "
~~~~~~~~~~~~~~~~~~
१. लघुकथा~ स्पर्श ✍️लता के सी
`` ऊ बेला त म पनि कहाँ यस्तो थिएँ त ? आकासको तारा झार्थे नि ! बाबु ! ´´ भिडियो कलमा बाउले निकै फुर्ति लगाए ।
छोरा फिस्स हाँस्यो र भन्यो ,`` उहिलेका कुरा खुइलिए बा ! अब त एक्लै बस्न गाह्रो भएन र ? ´´
खुइय .. गर्दै `` के गर्नु र गाह्रो साह्रो जे भए नि ! तँ जस्ता छोराछोरी सबै विदेश नपसी हाम्रा मुखमा माड लाग्ने होइन ? ´´
`` काम गर्ने मान्छे राख्ने त ? ´´ उसले सोध्यो ।
`` उसले नै केही गर्ला कि ? भन्ने पीर बोक्दिनँ , बाबु । हात खुट्टा चल्दैछन् । भो , बुढा बाउको पीर नगर् । ´´
छोराले सम्झायो , `` आमा भएको भए माटालाई ढुङगाको भर , ढुङगालाई माटाको भएझैँ हुन्थ्यो कि राम्रो बृद्धाश्रमतिर सरौँ बा ?´´
उनले हकारे , `` भो ,घर छाडने कुरा नगर् बा ! ´´
उसले हाँस्दै सोध्यो , `` किन र बा , यो उमेरमा त्यो झुपडीको चै यति बिध्न माया लागेको नि ? ´´
उज्यालो अनुहार लाउँदै बा´ले भने , `` घरका कोठा चोटामा तेरी आमाको स्पर्श छ नि त , बाबु ! ´´
तीनकुने , काठमाडौँ
~~~~~~~~~~~~~~~~~~~
No comments:
Post a Comment