७१. लघुकथा~ वृद्धको भक्ति ✍️
"ऐय्याsss.. ऐय्या sss.." गर्दै वृद्ध अचेत अवस्थामा कराइरहेका थिए ।पाँचै भाइ छोराहरू जम्मा भए।बुबालाई
अस्पताल लैजाने कि पण्डित बोलाउने विषयमा छलफल चल्यो।सबैले बुबालाई अस्पताल लगेर पैसा खर्च गर्नुभन्दा
बरू पण्डित बोलाएर पाठ गर्ने,गराउने निर्णय गरे।
पण्डित जि आए। भागवत,गीता पाठ गर्दै समय समयमा
"नारायण "… "नारायण"… भन्दै तुलसी जल खुवाउन थाले।
विरामी चलमल गर्न थाल्यो।
केही क्षणमा पण्डितले कोट्याउँदै भने,"बुवा! मनमा कुनै विचार
भए परिवारलाई भन्नोस् ।"
वरिपरि हेर्दै वृद्धले भने,"ए! छोराहरू हो! तिमीहरू कहाँ छौ?"
पाँचै जना छोराहरूले भने, "हामी यहीँ छौं त बुवा!"
च्याठ्ठिएको आवाजमा वृद्धले भने," ओहो!तिमीहरू यहाँ बसेर
तिमीहरूका घरमा चै को बस्छ त?" " जाओ तिमीहरू जहाँ बस्नू पर्ने हो त्यहीँ बस नभए मलाई चिन्ता बड्छ..............।"
~~~~~~~~~~~~~~~~~~~
६९. लघुकथा~ धारणा ✍️
"बुवाले यस्तो चिसोमा पनि के सुन्तला खाइर'नु भा'होला ! ऐले खोकी ला'यो भन्देखुन् मैलाई हो आपत हुने ।" उसले सुन्तला खाँदै गरेका वृद्ध उमेरका बुवातर्फ हेरेर भन्यो ।
"नातिले कर गरेर खान दियो, खाएँ ।" उसको छोरोतिर हेर्दै बुवाले जवाफ दिए ।
"यो बच्चाको लहैलहैमा लागेर यस्ताले दियो भन्दैमा खाने हो त ? आफ्नो स्वास्थ्यको ख्याल गर्न पर्दैन?" ऊ अलि ठूलो स्वरमा बोल्यो ।
"हजुरबुवालाई त अहिले खोकी लागेकै छैन नि ड्याडी ! खोकी लाग्दा त खान दिए पनि खानुहुन्न ! नत्र सिजनको फल पाएसम्म सबैले खानुपर्छ अरे !"
नातिको जवाफ सुनेर हजुरबुवाले मुस्कुराउँदै भन्नुभयो, बरु यही छ यो घरमा पाको ।"
~~~~~~~~~~~~~~~~~~~
६८. लघुकथा~ सच्चा प्रेम
"हिँड् नाति ! अलिकती बोक्नपनि सघा । भूईमा टिपटाप पनि गर ।" हजुरबाले भन्नुभयो
म पछि पछिलागेँ ।
तल्लो बारिमा पुगेपछि हजुरबा पट्मीराका रूख चड्नुभो र डालेघाँस झार्नुभो । मेरोकाम बटुल्ने थियो बटुलेँ । ,
उमेरले पचहत्तर काटेपनि हजुरबाका लागि कुनै पनि बरबिरूवा नौला थिएनन् ।
कति त हजुरबा सानै हुँदा भएकै रूख हुन्। कति त हजुरबाले आफैले हुर्काएका भन्नुहुन्थ्यो ।
हजुरबा सजिलै रूख चड्नु हुन्थो र घाँस झार्नुहुन्थो ।
घाँस झारिसकेर भूईमा झर्नुभो दुबैजनाले घाँस बटुल्यौँ । भारी हाल्ने बेलामा नाम्लो रहेनछ । यता खोज्नुभो, उता खोज्नुभो, मैले पनि खोजेँ , घाँसले पुरियोकी भनेर पल्टाएर खोज्यौँ भेटेनौं ।
"कि मैले बोकेकै थिएन ? अघि मेरा हातमा थियोकी थिएन ? याद गरिस ?" हजुरबाले मलाई सोध्नुभयो ।
मैले पनि याद गरको थिएन ।
सायद घरमै छुटो होला ।
त्यतै हुँदोभेटिएको खरपातको जुइनु बनाएर हजुरबाले कस्ट साथ घाँस ल्याउनुभयो । मैले पनि अलिकति सकेको बोक्न सघाएँ ।
घरमा आएर फेरि नाम्लो खोज्यौँ । घरमा पनि भेटिएन । आँगन , कुँडार, भँडार, खाटमुनी , झ्यासझुस मुनि , बस्तुभाउका थलातिर । कहीँ कतै भेटिएन हामी हार खायौँ । रातपरो तर नाम्लो भेटिएन ।
हजुरबा चिन्तामा पर्नुभयो । हजुरबाले यस्तो चिन्तालिएको मैले अगाडि कहिल्यै देखेको थिएन । नाम्लो नभेटिएर हजुरबा चेत हराए जस्तै हुनुभयो ।
रातपरो खाना खायौँ तर हजुरबाले मनलगाएर खाना खानु भएन । फेरि बत्ति बालेर चोटा कोठा खोज्नुभयो तर भेटिएन । खोज्नका लागी म सग सहयोग माग्नुभयो तर भेटिएन ।
"बीस बर्ष देखि बोकेको नाम्लोहो ।" हजुरबाका मुखबाट आवाज फुत्कियो ।
डब्बल बिट भएको हातिबारका पाटबाट बनेको त्यो नाम्लो हजुरबाको अत्यधिक प्यारो थियो र निक्कै बलियो थियो । मेहनत गरि बुनेको त्यो नाम्लो हजुरबाले अरू कसैलाइ चलाउन कहील्यै दिनुभएन । त्यसको बरियो पनि हात्तिबारकै पाटको थियो । नाम्लो र बरियो दुइटै निक्कै मजबुत थिए । हजुरबाको अत्यधिक जतन थियो "नाति ! भोली तँ र म मिलेर खोज्नुपर्छ नाम्लो त भेट्नु पर्छ ।" भन्दै सुत्न जानुभयो । हजुरबाको मुहारमा आज चमक थिएन , मैलेपनि स्विकृतिमा " हस्" भनेँ ।
केही बेरपछि नाति भनेको आबाज आयो । हजुरबाकै आवाज जस्तो लाग्यो । केभो हजुरबा भन्दैपुगे । हजुरबा नाम्लो कम्मरबाट झीक्दै हुनुहुदो रहेछ । हेर् नाति नाम्लो ता कम्मरमा बाँधेछु अहीले सुत्दापो बिझायो । अनिपो थाहापाएँ । हेर ! तलाईपनि कति दुखभयो । अब त भेटियो नि भनेर अत्याधिक खुसी हुनुभयो । मैले हजुरबा त्यति धेरै खुसी हुनुभएको अहीले सम्म देखेको थिएन । हजुरबा पनि हाँस्नुभयो ,म पनि हाँसे ।
खुसी हुँदै नाम्लो सिरानीमा राख्नुभयो ।
मैलेभने : "हजुरबा , नाम्लो त भोलि अर्को किन्न पाइन्छ नि । अघि किन धेरै चिन्ता गर्नुभएको ?यो त खासै ठुलो कुरै हैन । "
हजुरबाले भन्नुभयो : "तेरि हजुर आमाले माईत बाट मेरै लागि भनेर ल्याईदेको यो नाम्लो हो । अब तेरी हजुरआमाको चिनो यही नाम्लो त बाँकी छ ।
~~~~~~~~~~~~~~~~~~~
६७. लघुकथा - खुशीराम ✍️
"दुःख लुकाउँदैमा सुख जन्मन्न बाजे ।"
सन्तेको यस कुराले भर्खरै वृद्धभत्ता खान थालेका बाजे झस्किए ।
बाजेको मन डराएको महसुुस गरी सन्तेले थपे-
* तपाईंको नाति एमबीबीएसमै डल्लियो । उसका साथीले एमडी सिद्धयाए ।
* तपाईं तनाबलाई जन्म दिनु नै हुन्न । तनाब मनभित्रै पकाउनुहुन्छ ।
*तपाईं विगतको बन्द दैलोतिर हेर्नुहुन्न । वर्तमानको खुलेको दैलोभित्र पस्नुहुन्छ ।
* तपाईं माफी माग्न र दिन दुबैमा सिद्धहस्त हुनुहुन्छ ।
यी सबै कारणले तपाईंलाई दुःखीराम बनाएको छ ।
बाजेले मुहार उज्यालो बनाए । सन्तेले मुहारमा सङ्कोच भित्र्याए ।
त्यही मौकामा बाजेले भने- "कतिपय कुरा सही भन्यौ । अन्तर्वस्तु भने उल्टो भयो ।"
सन्तेको मुहारबाट चन्द्रमा अस्ताउँदै गयो ।
बाजेले प्रौढ अनुभव थपथाप पारे; "तुलना गरे, विगतमा अल्झे, तनाबलाई मलजल गरे र माफी लेनदेन नगरे मात्र दु:खीराम भइन्छ भाइ ।"
~~~~~~~~~~~~~~~~~~~
६५. लघुकथा~ आरक्षण ✍️
'ओहो, के हो महिला सिटमा पनि पुरुष बस्न मिल्छ!' तिखो तर नमिठो महिला स्वर ले ध्यान तान्यो।
टाउको उठाएर हेरें लगभग चालीस बर्षकी आधुनिक महिला हामी तिरै घुरेर हेरिरहेकी रहिछन्। यो कटाक्ष त बुवा बस्नु भएको आरक्षित महिला सिटमा पो रहेछ। सहचालक भाई भन्दै थिए, " लौ लौ , महिला सिट छोडी दिनु पर्यो ,बाजे!" यसो पछाडि तिर हेरें , गाडी खचाखच थियो। माफी माग्दै म उठेर उनलाई बस्न अनुरोध गरें।
७५ बर्सिय बुवा सुगर र प्रेसरको पुरानो रोगी , काठमाडौं आएको बेला होलबडी चेकको लागि बिहानै अस्पताल जान बावु छोरी निस्किएकाथियौं। दशैं र तिहार बिचको समय प्रायः शैक्षिक संस्था बिदा भएका र अफिस समय न परेकोले सार्वजनिक गाडी मै जाने सल्लाह बमोजिम अगाडि को दुई सिट खाली पाएर बुवा छोरी बस्यौं।
' यो त महिला आरक्षित सीट हो नि, आउ छोरी बस' भन्दै उनले किशोरी छोरीलाई आफु नजिग राखेर बुवालाई उठ्न बाध्य पारिन्।
होचो कदको मेरो बुवा सकीनसकी छतको डन्डी समातेर भोको पेट उभिन बाध्य हुनु भयो। ' हाय आरक्षण ' सबै को ध्यान जेश्ठनागरिक सिट बाट आएको आवाज तिर तानिन्छ , बृद्ध आमा भन्दै हुनुहुन्थ्यो, ' शिक्षाले अधिकार मात्र सिकाएछ , कर्तव्य हरायो।'
~~~~~~~~~~~~~~~~~~~
६४. लघुकथा~ सेवा ✍️
मंसिरकाे लगनमा माइतबाट अन्मिएर श्रीमानकाे घर गइन् निर्मला। जाने बेलामा पक्षघातले पीडित आमाकाे चिन्ता मनमा लिँदै गइन् उनी। निर्मला गएपछि सासुकाे सम्पूर्ण स्याहारसुसार र घरधन्दा भाउजूकाे काँधमा आइलाग्याे। त्यसैले, नन्दकाे विवाह नहाेस भन्ने चाहान्थिन उनी।
हप्ता दिनपछि सम्धिनी भेटघाटकाे कार्यक्रम तय भयाे। माइतीका सबै छोरीको घरमा भेटकाेलागि पुगे। स्वागत तथा अभिवादनकाे क्रम चल्न थाल्याे । त्यही क्रममा ससुराबालाई ह्विलचियरमा राखेर गुडाउदै निर्मला पनि आइपुगिन् ।
भाउजूले नन्दलाई व्यङ्ग्य गर्दै भनिन्, "मैया, भर्खरै बिहे भएको छ। अब यसाे घुम्न जान परेन के नव दम्पतीले? घरमै सडेर हुँदैन, कसाे?"
निर्मलाले भाउजूसँग आँखा मिलाउँदै मलिन स्वरमा भनिन्। "के काे हतार भाउजु ! घुम्न जाबाे त जीवनभरी छँदै छ नि! लामाे समय वृद्ध आमाकाे सेवा गर्ने अवसर पाएकि मलाई, यहाँ वृद्ध बुबाकाे सेवा गर्ने माैका मिलेकाे छ। भाउजू, मलाई लाग्छ ईश्वरकाे सेवा गर्ने अवसर सबैलाई मिल्दैन।"
~~~~~~~~~~~~~~~~~~~
~~~~~~~~~~~~~~~~~~~
५९. लघुकथा~ भन्ने ठान्दै ✍️
“मलाई अमिलो पिरो खान मन लागेको छ, कान्छा । बुहारीलाई पचास चोटी माग्दा पनि दिइन । तैले त दिन्छस होला नी?”
आमाको गुनासो सहितको प्रश्नले कान्छालाई भावुक मात्र बनाएन, उसका आँखा आशुले भरिए । उसले आँशु झर्न नपाउदै , हत्केलाले मिलिक्कै पुछिहाल्यो । त्यसपछि केही नबोली छेउमा बसेर आमाका दुबै हात सुम्सुम्यायो ।
आमाले पनि चाउरी परेका र थर् थर् कापिरहेका हातले कान्छाको निधार हुदै कपाल मुसारिन र भनिन “उसबेला घर भित्र, बाहिर, आगनभरी दगुर्दा पनि पछ्याउँदै र फकाई फुल्याई गर्दै तिमीहरुलाई यिनै हातले मिठो मसिनु खुवाइयो, बुढेसकालमा सहार होलाउ भन्ने थियो । आज खान मन लागेको कुरा आफै खान्छु देउ न भन्दा तॅं पनि दिदैनस।”
यतिकैमा “ए हजुर ! मन तातो पारेर ल्याएकी छु । बिस्तारै आमालाई खुवाई दिनु त? “ बुहारीले कासको बोटुकामा सुप ल्याइन कान्ऱ्छालाई दिॅंदै भनिन ।
आमाले झर्केर भनिन “सधै यो भैंसीको खोले जस्तो! म खान्न ! न नुन, तेल न स्वाद ! यस्तो खानु भन्दा त बरु कालले लानु नी, मलाई”
कान्छाले “त्यस्तो के बोल्नु भएको आमा ?” भन्दै फु-फु गरेर फुक्दै सुप खुवाई दियो ।
र, आमाको मुखमा सुप परेके मौका छोपेर निर्धक्क भएर भन्यो “बुढेसकाल लागेपछि र अनेकन रोगले ग्रसित भएपछि गुलियो, अमिलो, पिरो, चिल्लो, मसलेदार खानेकुरा मन लाग्दैमा कहॉं खान पाईदोरहेछ र आमा? यो सुपलाई अमिलो, पिरो र जिब्रो पड्काउने गरी मिठो छ भन्ने ठान्दै खानुहोस् ।”
~~~~~~~~~~~~~~~~~~~
~~~~~~~~~~~~~~~~~~~
५७. लघुकथा~ साथी ✍️
“ए हुन्छ नी आउ न, त्यतिका लागि त साथी । तिमीलाई पर्दा मैले, मलाई पर्दा तिमीले नगरे हामी साथी–साथी हुनुको कुनै अर्थ नै रहेन नि, होइन र...!” यति बोलेपछि बाको फोन कट्यो ।
ससुराबाले फोनमा कोसँग बोल्नुभा होला, कसलाई के भएछ ? भन्दै बुहारीले आफ्नो श्रीमानलाई इसारा गरिन् ।
तुरुन्तै सोधिहाले छोराले– कस्को फोन बा ?
‘मेरो बचपनको साथी हो, उनलाई ऐले घरमा अलि समस्या परेको रहेछ, भाउजु बितिहाल्नुभयो । छोराबुहारीले चिप्ला कुरा गरेर जायजेथा हात पारिहालेछन् । धन्न बुढाको आठ दश लाखचाहीँ कसैले थाहा पाएका रहेनछन् । बरा कहाँ जाउन् त अब, दुखः पर्दा मलाई सम्झेछन् ।’
बाको कु्रा सकिनासाथ बुहारीले घिरौला जत्रो नाक बनाउँदै श्रीमानको कान फुक्न भ्याइहालिन्– ‘मैले अस्ति नै भनेकी होइन हजुरलाई ! यो घर र बाको नाममा भएको खेतवारी सबै आफ्नो नाममा सारौ, पछि अफ्टेरो पर्छ भनेर । यी अब थाहा पाउनुभयो....! बुढाले अब यो घरलाई त बृद्धाश्रम नै बनाउने भए नी । म सुसारे छदै छु ।’
बुहारीको ओठ चलाईबाटै कुराको लक काटिहाले बाले । केही कागज–पत्र कमिजको गोजीमा राख्दै बाहिर निस्के । बाहिर निस्कनासाथ साथी पनि टुप्लुक्क आइपुगिहाले ।
~~~~~~~~~~~~~~~~~~~
~~~~~~~~~~~~~~~~~~~
५५. लघुकथा~ संस्कार ✍️
"तिम्रा बुबालाई राम्रो सम्झाऊ है बुढा ! एकाबहानै चिसामा हिँडेको छ, घरको गेट पनि खुल्लै हुन्छ । रातभर खोक्यो, राम्रोसँग सुत्न पनि पाइँदैन कहिल्यै ।"
आमाले बुबासँग गरेको गनगन पल्लो कोठामा पढिरहेको अमूल्यका कानसम्म ठोकिन्छ ।
"खै कति पो सम्झाउनु हौ ? किन हिँड्न पर्या हो बुढालाई बिहानबिहानै ! चुपचाप घरमा बसे त भइगो नि !" बाबुचाहिँको स्वर ।
गेट खुलेको आवाज सुनिन्छ । मर्निङ वाकबाट फर्किएका बा भर्याङ उक्लेर विस्तारै आफ्ना कोठातिर लाग्छन् ।
"हजुरलाई कतिपल्ट सम्झाउनु बुबा ? यसरी बिहानबिहानै गेट खुल्ला छोडेर नहिँड्नु भनेको होइन ?" खस्रो स्वर सुनिन्छ ।
"त्यही त भनेको नि ! घरमा चोर पस्न बेर छैन । बाटोमा लडियो भने अ्को लफडा । अस्पतालको खर्च, दबाई, पानी, स्याहार । रातभरि खोकेर सुत्न दिनु छैन ।"
"बाबामामु, किन कराउनु हुन्छ हजुरबालाई ? बिहान हिँड्नु त राम्रो कुरा हो नि ! हजुरबा मर्निङ वाकमा जानु भएपछि सधैँ गेट बन्द गरेर पढ्न बस्छु म । हजुरबाले गर्दा त छिटो उठ्छु म पनि । फेरि हातखुट्टा चलुन्जेल त हो नि हिँड्डुल गर्ने भनेको ।"
"चुप लाग् पाजी, ठूलाबडाको बीचमा बाठो हुनपर्ने ! बाउआमाको बीचमा बोल्न कसले सिकायो तँलाई ? तँलाई हामीले दिएको संस्कार यही हो ?" कड्किन्छन् बाबु ।
हजुरबा, हजुरआमाले हजुरलाई दिएको संस्कार पनि त यो होइन होला नि त बाबा ! जन्मदाता वृद्ध हुँदै गएपछि सेवा र सम्मान गर्नुसाटो बोझ ठान्ने र अनावश्यक कुरामा निहुँ खोजेर अपमान गर्ने चाहिँ कस्तो संस्कार हो बाबा ? असल संस्कारको सुरुवात त आफैँबाट गर्नु पर्दैन र ?" बस् ।
~~~~~~~~~~~~~~~~~~~
५४. लघुकथा~ चिनो ✍️
उमेरले साठी काटेकी आमा म उठ्ने वेला जाँतोमा केही पिसिरहनु भएको थियो।
म साझँमा छिट्टै सुँते।कतिवेला सुत्नुभयो कतिबेला उठेर पिस्दै हुनुहुन्छ।
आमा यती धेरै पिसि सक्नुभएछ !कतिवेला उठ्नुभयो?-म आमाको नजिकै गएर सोंधे।
खै बाबु हिंजो आज गाउँमा कसैका भाले बास्दैनन् ।भयपो बासुन्।जतीवेला निद्रा खुल्यो आएर एकपाथी मैकै पिंसिसके।अँझै बाहिर अँध्यारो नै देखिन्छ।-आमाले पिस्दापिस्दैको जाँतो बिसाएर भन्नुभयो।
थोरै रहिछ मकै दिनु म पिस्छु -मैले आमालाई भने।डालोमा दुई पसर मकै थियोहोला।
भयो म पिसिहाल्छु तिमी आराम गर। -आमाले भन्नुभयो।
म लाहुरे ठिटो पिस्न रहर लाग्यो।
आमा खै त मपनि पिस्नसक्छु की बिचारै भयो।-मैले ठट्टा गर्दै हतासो छोपें।आमा मेरो केटौलेपन देखेर खिसिक्क हाँस्नुभयो।
बल्ल बल्ल जाँतो(चाकी) घुमाको देखेर होला ! भयो बाबु तिमीले सक्दैनौँ।-आमाले भन्नुभयो।
तर मैले चाकी बिसाउँदै ओजेरो राख्थें;जनतन त्यो दुई पसर जती मकै पिसें।
मेरो हातभरी राता फोकाहरू परे।
आमा हजूरका हात देखाउँनोहोस् त-मैले हात देखाउँन अनुरोध गरें।
आमाले एक पाथी मकै पिसेका हातमा कुनै असरी देखिन।
किन की त्यहाँ ठेलाहरू थिए।
~~~~~~~~~~~~~~~~~~~
५३. लघुकथा~ तराजु ✍️
कोठाभित्र छिर्दै अम्बिकाले सोधिन्— “ज्वरो कस्तो छ ? दैव पनि कति निष्ठुरी बाइसबर्से कलकलाउँदो बैँसमा लोग्ने टिप्यो । कालो अरिङ्गालजस्ती सासू दियो । त्यस्तालाई पनि आमालाई जस्तै ग¥यौ । थुप्रै धनाढ्य कुमार केटाले छोरासँगै लान्छु भन्दा पनि डेक चलिनौ । अहिले घरको न घाटकी भयौ । त्यो पापीमाथि गरेको लगानी बालुवामा पानी हालेजस्तै भयो ।”
इल्याले पनि भित्र पस्दै कुरा थपिन्— “हामीले त भनेकै हौँ । आफ्नो मुठी बलियो पार । छोराको लागि आफूलाई बन्धकी नराख भनेर पटक्कै टेरिनौ । तिम्रो लास उठाउन पनि त्यो पापी आउनेवाला छैन ।”
सरलाले केही बोल्न खोज्दै थिइन् । मोबाइलमा घन्टी आयो । उनले मोबाइल उठाउँदै मायालु स्वरमा भनिन्— “दर्शन बाबा ! मलाई सब ठीक छ । तिमीले आफ्नो ख्याल गर्नू । हैन के भनेको तिमीले एयरपोर्टमा छु रे ! मैले कति भन्नु यो देशमा तिम्रो भविष्य नै छैन भनेर । देखिहाल्यौ देशका रक्षकहरूको चाल सधैँ मुसोबिरालोझैँ गर्छन् । मान्छे करोडौँकरोड खर्च गरेर ज्यानको बाजी राखेर अमेरिका जान्छन् । कतिले त बाटैमा ज्यान गुमाउँछन् । त्यो सपनाको देश छोडर तिमी आउँदै नआऊ बाबा ! मलाई केही नै हुँदैन ।”
“मलाई त पीडा हुन्छ नि ममी ! मलाई हजुरको काख र देशभन्दा प्यारो केही छैन । हजुरबिना चार वर्षको पढाइ सिध्याउन चार जुग बितेजस्तै भयो । हजुर सधैँ आफ्नो खुसीभन्दा अरूको खुसी मात्र हेर्नुहुन्छ । म पनि हजुरलाई संसारको सबै खुसी दिन्छु । लभ यु डियर ममी ! बाई !” यति भन्दै आकाशले मोबाइल राखे ।
धेरैलाई जोख्ने तराजुमा आकाशलाई जोखेकोमा अम्बिका र इल्या नै सपनाबाट ब्युँझेझैँ झल्याँस भए ।
---------------------------------------
५२. लघुकथा - -साझा समस्या ✍️
-" हेर्नु न ममी,अाज हजुरअामाले अचम्म गर्नु भएछ । म त हाँस्दा हाँस्दै झण्डै मरे।"" मरिमरी हाँस्दै रुपाले भनी।
--" हैन फेरि के बिगार गरिन यी, बुढियाले,? अाफुलाई न हुदाँ यसाे एकदिन चुलामा पठायाे भने गर्नुहार गर्छिन् भन्या ,यी बुढिले। एक न एक अनिष्ट भएकै हुन्छ। अनि अाज फेरि के गरिन् त ?"
--"" कुकरमा तेल,नुन, मसला सबैहालेर दाल हाल्नु भएछ, र पानी न हाली ,कुकरकाे बिर्काे लाउनु भए छ। डढेर खाग भएकाे गन्घले म कुदेर किचनमा पुगेकी, उल्टाे हजुरअामा - कुन काेठामा बस्ने कस्ले के डढाए काेनी गनाएर बसिनसक्नु पारे, भन्दै हुनुहुन्थ्यो ।" मैले त साँसाे राेक्नै सकिन।" रुपाले भनी।
-""यी बेहाेसी बुढियाले गर्नुहार गरिन। जे छाेयाे त्याे बिधंसनै हुन्छ। यिनका त हातमा के बसेकाे छ काेनी।"
ममिकाे उग्र रुप देखेर सम्झाउदै रुपाले भन्न थालिन ,--"भाे भाे, ममी, अब नकराउनु हाेस् -,यस्तै हुन्छ पाका उमेरका मान्छेलाई। उमेर सत्तरी काटेपछि सबैलाई एउटा अल्जाईमर्स भन्ने राेग लाग्छ। यसलाई बिर्सिने राेग भन्छन्। याे हरेक मानिसकाे साझा समस्या हाे।"
रुपाले ममितिर फर्केर हास्दै भनी --" ममि ,, हजुरलाई त याे राेग झनै छिटो लाग्छ।किन भने हजुर हरेक कुरामा धेरै टेन्सन लिनु हुन्छ नी तेसैले। टेन्सनले याे राेग छिटाे ल्याउछ।"
ममि अनि याे राेग लागेकाहरुलाई गाली हैन,धेरै माया प्रेम र हौसला दिनु पर्छ।
~~~~~~~~~~~~~~~~~~~
५१. लघुकथा~ वृद्धमन✍️
"कति आँशुमात्र खसालिरहेकी? ठाउँमा छन्, सबै सेवा सुविधा उपलब्ध छन्, तैले चिन्ता लिनै पर्दैन।" वृद्ध बाले आमालाई सम्झाईरहे।
"सानो छदाँ कम्ता दुख गरेर हुर्काको हो र? विरामी हुँदा काखमै हल्लाएर कति रात छर्लङ्ग पारेकी छु।तपाईलाई थाहा छैन र।" आमाले घुक्क घुक्क गर्दै बिगत सम्झिईन्।
"मलाई किन थाह नहुनु, जसलाई थाहहुनु पर्ने उसैलाई पो थाह भएन।" बाले छोराप्रति दिक्तता पोखे।
"त्यसो नभन्नु न! कति सम्झिरहेको होला? के गर्नु! न भन्ने वित्तिकै पुग्न सकिन्छ न त उनीहरु नै आउँछन्, यो छाती चिराचिरा भैसक्यो।" उनका आशु रोकिएनन्।
"लु नरो धेरै, बुढो शरिर कमजोर हुन्छ।" बाले सम्झाउने कोशिस गरे।
"एक पटक फोन गरौँ न कस्तो भो?" आमाले छोराको बोली सुनेर चित्त बुझाउने मन गरिन्।
"गरेकै त हो नि उठाउँदैनन् के गर्नु।"
"अब उठाउँछन् की?"
"ल तँ यो तातो पानी पिउँदै गर् म मोवाईल लिएर आउँछु।"
आमा पानी पिउँदै झ्याल बाहिर आखाँ डुलाउन थालिन्, अम्बाको रुखमा ढुकुरले आफ्ना जोरै बचेरालाई चारा खुवाउँदै थियो। उनको मन भारी भयो।छाती चसक्क दुख्यो।मुखको पानी निलिएन।
"यि हेर् तेरा छोरा बुहारीले फोन उठाउँछन् की त?"
बुहारीले फोन उठाईन् "अहिले उहाँ औषधी खएर रेष्ट गर्दै हुनुहुन्छ, बोल्न मिल्दैन पछि फोन गर्नुहोला!" फोन कट्ने बित्तिकै आमा पुर्लुक्क लडिन्, आँखा परपर हेरिरहिन्।
~~~~~~~~~~~~~~~~~~~
५०. लघुकथा~ नाती✍️
ए काका ! यहाँ निर उमानारायणको घर थियो 'अहिले यो वृद्धा आश्रम देखिरहेछु । त्यो मान्छे कता जानुभयो अह: ? बाह्र वर्षपछि कमल नारायण अमेरिकाबाट आफ्ना जहान समेत घर फर्केका थिए।
यो वृद्धा आश्रम उहाँकै हो बाबु। उहाँ भित्र हुनुहुन्छ होला भनेर ती वृद्ध मान्छेले भने।
कमल नारायण भित्र पस्नेबित्तिकै, तिमी को हो बाबु यता कसलाई खोज्न आएको आश्रमका एक वृद्धले सोध्यो ।
यिनीहरूको आवाज सुनेर ,को हो र दाजु ,कोसँग कुरा गर्नुभएको भित्रबाट भन्दै रमाकान्त बाहिर निस्किनुभयो।
छोरालाई देखेर एक टक्क भयो।
न खुसी न दु:खी कुनै प्रतिक्रिया मुहारमा थिएन। दर्शन बुवा ! भन्दै छोराले नै बुवाको ध्यान आकर्षण गराइयो।।
खुसी रहुन् भन्दै सानो जवाफ फर्काइयो।
उमानारायण कुर्सीतिर इशारा गर्दै बस्न भन्यो । चिया खाँदै बाउछोराको गफगाफ सुरु भयो।
यो घरबारी बेचेर हजुरलाई पनि अमेरिका लाने सोचमा थिए ।केहीबेरका भलाकुसारेपछि कमल नारायणले आफ्ना मनका कुरा ओक्लियो।
तिमी भन्न के खोज्या !! यतिका वर्षसम्म मेरो याद आएन । तिम्री आमा छोराछोरा भन्दै परलोक सुधारिन्। तिमी हाम्रा कुनै मेसो राखेन्न । आज एक्कासी मेरो मायाले होइन ...,यो सम्पत्तिको लोभले तँलाई नेपाल ल्यायो। तर यति याद राख्नु , यो सम्पत्ति बाँचुन्जेल मेरो र मेरो अवकाश पछि जसले रेखदेख गर्छ उसको नाममा गर्दिन्छु। दूध पोखे झैँ उमानारायण आफ्नो रिस पोख्यो।
एकछिनको वातावरण शिशिर झै भयो। त्यसोभए हामी यहाँ किन बस्ने। जाउँ हिँड आफ्ना मौन तोड्दै कमल नारायणले छोरा र स्वास्नीलाई अह्राए।
गेटसम्म पुगिसकेका उमानारायणका नाती दौड्दै आयो। अँगालो मार्दै भन्यो ।अब म हजुरसँगै बस्छु है ..…...!!!!
~~~~~~~~~~~~~~~~~~~
४९. लघुकथा~ स्याहार ✍️
"ऐया !! कान्छी ......। " बिहानै झिसमिसेमा आमा लड्नुभयो ।
" आमा ... आमा के भयो ?? लौन अब के गर्ने ? " उनले उहाँलाई उठाउन खोजिन् तर सकिनन् । बल्ल तल्ल बसाईन् ।
" हेलो ! हजुर कतिबेला आउने ? आमा यहाँ भर्खरै नराम्रोसँग लड्नुभयो । आउन मिल्छ भने छिटोभन्दा छिटो आउनु न ।" ।"फोनबाट आफ्नो बुडालाई भनिन् ।
"म अहिले आउन मिल्दैन कान्छी ,अलि समय लाग्छ ।बरु ,छिटो अस्पतालमा पुर्याउने व्यवस्था गर ।" उनका पतिले फोन काटे ।
घरमा सबै कामको साथसाथै आमाको स्याहारसुसार नि थपिएको थियो उनलाई ।
काम विशेषले घर बाहिर जानुपर्ने भएकोले छोरालाई आमाको "हेरचाह गर्नु है बाबु" भनी अह्राएकी थिइन् उनलेे ।
"नाति ,आज तेरो मम्मी पनि घरमा छैन । मलाई पिसाब लागिरहेको छ ।त्यो कोपरा यतातिर राखिदेउ न ।" उसलाई घिन लाग्छ भन्ने डरले सानो स्वरले भन्नुभयो ;
"हुन्छ , हजुरआमा "भनेर उ मोबाइलमा व्यस्त भयो ।
"नाति खोइ देउन कोपरा ! पिसाबले अत्यायो ।" कतिपटक भन्दा नि उसले सुनेको नसुने गर्यो ।
" के गर्नु ? ढिलो भयो ।" भनेर हतारिँदै बुहारी कोठामा पस्दा त आमाले धेरै पिसाब च्यापेर ओछ्यानमा छोड्नुभएको रहेछ ।
" छोरा भनाउँदो यस्तो छ ,भनेको केही नटेर्ने । जता पनि आँफै पुग्नुपर्ने । " सफा गर्दै उनी उसँग रिसाउँदै थिईन्।
आमालाई न्यानो बनाएर तातोपानी र खाजा खान दिइन् ।
"आमा कति गार्हो भयो होला" भन्दै गर्दा उहाँले भन्नुभयो ;
" केटाकेटी नै छ बरा ! घिन लाग्यो होला ।"
" तिमीहरूले मलाई जसरी माया ,स्नेह दिएका छौ ,त्यो सबै घरपरिवारको आमाबाबाले पाउन् ।अलिक बर्ष बाँच्छु कि ? जे भए नि तिमीहरु मेरो साथमा त छौ । " यति भन्दै बुहारीलाई अँगालो हाल्नुभयो आमाले ,ऊनी भावुक मुद्रामा थिइन् ।
~~~~~~~~~~~~~~~~~~~
~~~~~~~~~~~~~~~~~~~
४७. लघुकथा- चिन्ता ✍️
" बाबू ! सत्तरी वर्ष पुगेपछि त हातगोडा सबै लुला भए थरथर काम छुट्छ, तिमीहरू छिटै आए हुन्थ्यो । बाबा म भन्दा पनि कमजोर हुनुभयो " आमाले फोनबाट विदेशमा भएको छोरासंग दुखेसो गरिन् ।
" अहिले त आउन मिल्दैन है आमा! , दुःखसुख गर्दै गर्नु " छोराले जवाफ फर्कायो ।
" यो खेतबारी सम्हाल्ने मान्छे छैन ।
हामीलाई पनि सहयोगी चाहिन्छ , आओ नानी! आओ अब " आमाले आग्रह गरिन्
" भनें त अहिले आउन मिल्दैन भनेर , कति एउटै कुरा दोहोर्याउनु भएको? " छोरो झर्केर बोल्यो । फेरि उसैले थप्यो " नानीहरूको पढाई लेखाई चौपट हुन्छ उनीहरूको भविष्य हेर्नु पर्दैन ?" एकछिन् पछि फेरि उही बोल्यो " त्यहाँ शून्य भयो भने कि राम्रो वृद्धाश्रम हेरौँ त ?"
स्तब्ध बनेकी आमाले " खै " भन्दै फोन राखिन् र
पतितर्फ फर्केर भनिन् " मिल्दैन भन्छ, नानीहरूको भविष्यको कुराछ भन्छ "
" हामीले उस्को भविष्य हेर्दा हेर्दा यो गति हुदैछ पछि उस्को पनि यस्तै त होला ! " पतिले पर क्षितिज तर्फ हेर्दै भने
" कि वृध्दाश्रम बुझौँ त पनि भन्दै थियो" आमाले निराश आवाजमा भनिन् ।
पतिले लामो सास तानेर भने " मेरो सम्पत्ति र मेरा छोरा भनेर घमण्ड गर्नु पनि बेकार रहेछ यो संसारमा "
~~~~~~~~~~~~~~~~~~
....
४६. लघुकथा~ बुढा बा ✍️
" जेष्ठ नागरिक भनेका जिवित ईतिहाँस हुन् । ज्ञान, वुद्धि ,विवेक , अनुभव र सीपका खानी हुन् । सजीव ईतिहासको मान मर्दन गरेर हामी कँहि पुग्न सक्दैनौं ।"
दर्शक र स्रोताले खचाखच भएको हल तालीको गड्गडाहटले गुजायमान भयो ।
आजभोलि बृद्ध बा आमालाई हेयको नजरले हेरिन्छ ।बरु कुकुर बिरालो जस्ता जनावर हरुसँग दिन बिताउँने संँगै सुताउँने संस्कार बढ्दैछ ।
मेरो त हेर्नुहोस् नाती बाजेको दोस्ती जमेको छ । मन्चको एउटा कुनोतिर संकेत गर्दै उनले भनिन् । नभन्दै उनको करिव छ बर्षको छोराले ससुराको सिंगान पुछिदिदैं थियोे ।
उपस्थित बृद्धबृद्धले उनी जस्तै बुहारी र तीनका छोरा जस्तै नातीको मनमनै कल्पना गरे ।
कार्यक्रम सकियो । सबैले उनको प्रशंसा र तारिफ गरे ।
घर आईपुगे सबैजना ।
"बाबुलाई तातोपानीले नुहाईधुवाई गरेर सफा लुगा लगाएर भित्र ल्याउँनु , अनि यो बुढाको ओछ्यान पनि साबिकमै सारिदे । " एकैसासमा नोकरलाई आदेश दिईन् उनले । अब देखि हजुरबाको नजिक नजानु है मेरो बाबु , खानेकुरा ख्वाउँने , हजुरबाले दिएको खाने नगर्नु । हेर हेर ! नङ्ग भित्र सम्म सफा गरिदिएकि छु, फोहोरी बुढालाई अंगालो हालेर बुढाकै वास आईरहेको छ ....।
को हुनुहुन्छ घरमा ? हेल्लो सुन्नुस न ।
फेरि को मुन्टिएछ्न्?
उनको पारो तात्तियो । हाम्रो संस्थाले जेष्ठ नागरिकप्रतिको हजुरको लगाव देखेर हजुरलाई पुरस्कृत गर्ने भएको छ । समाज बदल्ने भनेकै हजुर जस्तै ठूलो मन भएकाले त हो नि। आफ्नो परिचय पत्र देखाउँदै गर्दा बुढा बा को बिस्तारा कुकुरसँगै कुनामा देखेर मुखामुख गरे उनिहरुले । उनी हड्बडाईन् ।
"जाडो निक्कै बढेको छ । यो कुकुर बिरामी पनि छ । यसलाई तातो गरुँ भनेर यसको स्याहार गर्न मात्र यहाँ बिस्तारा लाएको हुँ" बुढा बा ले भने ।
मेरो हेरचाह गर्ने त यति ज्ञानी बुहारी नाती छदैछन् नि । आखिर पशुको पनि शरीर हो नि होइन र ? बुढा बा बोले !
~~~~~~~~~~~~~~~~~~
~~~~~~~~~~~~~~~~~~~
४४. लघुकथा~रहस्य ✍️
" नानी ! चियामा त चिनीको सट्टामा टन्न नुन पो हालिछ्यौ ।" मलाई पहिलोपटक केटी हेर्न आउँदा हजुरबुबाले सबैका अगाडि भन्नुभयो ।
" अनि चियामा नुन नहालेर बेसार हाल्ने त ?" मैले सबैका सामु हजुरबुबालाई ओठे जवाफ लगाएँ । सबैले मुखामुख गरे ,म किंकर्तव्यविमुढ भएर उभिरहेँ ।
" चिया त बिगारिहाल्यौ , जाऊ अब फलफूल ल्याऊ ।" हजुरबुबाले सन्दर्भ बदल्दै भन्नुभयो । म बिस्कुट लिएर गएँ ।
" लौ , फलफूल लिन गएकी मान्छे विस्कुट पो लिएर आइछ ।" बुबाले मुख फोर्नुभयो ।
" अर्काको घरमा आएर कहाँ भनेजस्तो खानेकुरा खान पाइन्छ र ? उहाँहरु मलाई हेर्न आउनुभएको कि टन्न खान ?"
मेरो अनौठो गतिविधिले बुबा लज्जित हुनुभएको आभास मैले पाएँ तर पनि मैले पारा छोडिनँ ।
" हेर , त्यति राम्रो घरबाट कुरा आएको थियो , बिगारिस् होइन पागलपन देखाएर ?" बेलुकी आमा मसँग जाइलाग्नुभयो ।
" जानीजानी परिवारको इज्जत फाल्नेसँग नि के कुरा गर्छेस् ?" बुबा रिसले आगो हुनुभयो ।
म के गरूँ कसो गरूँको भावमा कुर्थाको फेर समाएर उभिरहेँ ।
" तँ त्यस्ती मान्छे त होइनस् , तर तँलाई त्यस्तो उट्पट्याङ काम गर्न कसले सिकायो हँ ?" दाइ पनि पहिलोपटक मसँग जङ्गिनुभयो ।
" मैले " अचानक हजुरबुबा बोल्नुभयो ।
" तर तपाईं बूढो मान्छे भएर नि आफ्नी नातिनीको कुरा बिगार्नुको कारण ?"बुबाले स्पष्टीकरण माग्नुभयो ।
हजुरबुबाले किन यस्तो सिकाउनुभयो भनेर अनविज्ञ भएकीले म पनि उत्तरको पर्खाइमा थिएँ ।
" मैले नातिनीको कुरा बिगारेको होइन कान्छा , कुरा मिलाएको चाहिँ हुँ । अर्काको धन हेरेर भर्खरै ११ कक्षा पढ्न लागेकी नातिनीको पखेटा काटिदिनुको सट्टामा पढाइ सकिएपछि आफ्नो खुट्टामा उभ्याएर अन्माउनु जाती होइन र ?"
~~~~~~~~~~~~~~~~~~~
४३. लघुकथा~ डाँडामाथिको घाम ✍️
“एक जुवा माथि घाम आइसक्यो यी केटाहरू अझै उठेका छैनन्। तिमीहरूले गरी खाँदैनौँ।” - हजुरबाले सँधै झैँ आज पनि फलाक्नुभयो। म हत्तपत्त उठेर झ्यालको पर्दा उघारेँ। घामको किरण आँखामा परेपछि ऊ पनि चरपटायो। मैले “ उठ!” भने। उसले “ ह्याsss दादा सुत्न दिनुन भन्यो। “ पानी छेप्देन सुतुवालाई।” हजुरबा वैठक कोठाबाटै कड्किनु भयो। शुभम जुरुक्क उठ्यो।
नित्य कर्म सकेर बिहानको खाजा खानु र गृहकार्य सकेर हजुरबासँगै बसेर खाना खानु अनि स्कुल जानु बिहानको दैनिक कार्यतालिका थियो। चाँडै सुत्नू, चाँडै उठ्नू, तात्तातै खाना खानू, बेलामा पढ्नू र बेलैमा विद्यालय जानू जस्ता आदेश नमान्ने हो भने हजुरबालाई हिटलर बन्न समय लाग्दैन थियो।
शुभमलाई हजुरबाको कचकच मन पर्दैनथ्यो। कहिलेकाँही त रिसाएर भोक हड्ताल गर्थ्यो। कान्छो नाती रिसाए पछि फकाउने काम पनि हजुरबा नै गर्नुहुन्थ्यो। कहिलेकाँही त सुटुक्क दश रूपैयाँको नोट दिएर फकाउनु हुन्थ्यो।
“हेर! बुढापाकाले कराउँदैमा गाली गरेको नठान्नू। अर्ती दिएको हो। अर्ती भनेको जसले दिएपनि लिनुपर्छ। बुढापाका मान्छे भनेका डुब्न लागेको घाम जस्तै हुन्। परार तिमीहरूको हजुरआमा अस्ताईन्। अब पालो मेरै छ।” हजुरबाको कुराले मेरो मन छुन थाल्यो। शुभमलाई भने यी कुराले खासै छोएको थिएन।
बाह्र पास गरेपछि म अष्ट्रेलिया गएँ। त्यहाँ पुगेपछि मैले समयको महत्व र हजुरबाको अर्ती एकैचोटी बुझेँ। दुई वर्षपछि विदामा घर आएँ। हजुरबा बिरामी हुनुहुन्थ्यो। मलाई अगाडि देखेपछि चमत्कार जस्तै गरि हजुरबा निको हुनुभयो।
एकदिन म साथीहरूलाई भेटेर घर आउँदै थिएँ। शुभम डाको छोडेर रुएको आवाज परैबाट सुनेँ। के भएछ भनेर दौडिदै घर पुगेँ। शुभम रुँदै भन्न थाल्यो - “ हेर्नुन दादा हजुरबा रिसाएर मसँग बोलिसिन्न।” मैले हजुरबालाई झक्झक्याए। बोल्नु भएन। पछि धेरै मान्छेहरू जम्मा भएपछि थाहा पाएँ। डाडामाथिको घाम अस्ताईसकेको रहेछ।
~~~~~~~~~~~~~~~~~~~
~~~~~~~~~~~~~~~~~~~
३९. लघुकथा - चिन्ता ✍️
माहिला बालाई तुलसी मठमा सारियो । उनको वाक्य बन्द भएको पनि दुई दिन भइसकेको थियो । घर परिवारले यो चिसोमा पनि उनलाई न्यानो कपडा ओडाउने मेसो पाइरहेका थिएनन् ।
माहिला बाले छोरालाई हातको इसारा गरे । उनी आफ्नो कम्मरमा बाँधिएको पटुका तर्फ सङ्केत गर्दै थिए । छोराले जिज्ञासु बन्दै पटुका खोले । पटुकाबाट पट्याइएको अवस्थामा सानो कागजको टुक्रा फुत्त भुइँमा खस्यो । छोराले अनुहार अमिलो बनाउँदै सो कागजको टुक्रा फोहोरको थुप्रोमा फाले । बिरामी रुङ्न आएको कोही बोल्यो - "त्यसरी नफाल । खोलेर हेरौँ न के रहेछ ?"
छोराले जाँगर नलाग्दो पारामा कागजको टुक्रा उठाए । कर्के नजर लाउँदै तिनै मानिसको हातमा थमाए । ती मानिसले कागज खोले । अनि कागजमा लेखिएको कुरा सबैले सुन्ने गरी पढ्न सुरु गरे - 'आँफूले आधा पेट खाएर पनि भोलिका दिनमा मेरा सन्ततिहरूलाई सजिलो होस् भनी मूल ओछ्यानमा जमिन मुनी केही गाडेर राखिदिएको छु ।'
~~~~~~~~~~~~~~~~~
३७. लघुकथा -काँसकाे थाली ✍️
"ढाेग गरें है सानाबा ! " ललितजंगले भरतरामलाई ढाेग गर्याे। भरतरामले आशीर्वाद दिए ।
" आरामै त छाै बाबु । घरतिर के कसाे छ ? " भरतरामले हालखबर साेधे ।
ललितजंगले भन्याे -" सबै ठिकै छ सानाे बा । अनि हजुरहरूलाई के कस्ताे छ ?
भरतरामले सुस्केरा हाल्दै भने -" हामी बुढाखाडाकाे के नै हुन्थ्यो र बाबु ? पाका नागरिककाे पीडा न आफन्तले बुझ्छन् । न राज्यले सुन्छ । अनि बाबू ! कताबाट आयाै त ? "
ललितजंगले भन्याे - अहिले त घरबाटै आएँ सानाेबा । विदेशतिर थिएँ । अस्ति मात्रै आएकाे । "
भरतरामले भने - "ए ! "
" गाउँ त शून्य भएछ नि सानाेबा । घरहरू खाली खाली भएछन् ।" ललितजंगले कुरा राख्याे ।
भरतरामले मुख खाेले " यस्तै छ बाबू ! अनि तिमी पनि त दुई / चार दिनकाे पाहुना हाेला ? "
ललितजंगले प्रतिक्रिया जनायो " त्यस्तै भन्नू पर्याे सानाेबा । आखिर यहाँ बसेर के नै छ र ? खाेइ सानिमालाई त देख्दिन नि ? "
"तिम्री सानिमा पनि सिमापारि गएकी छन् । घरमा म बुढाे एक्लै छु ।"
भरतरामकाे कुरा नबुझेकाे ललितजंगले जिज्ञासा राख्याे - "सिमापारि भन्नाले सानाेबा ! इन्डियातिर ?"
" हैन बाबू तेल भिसामा अमेरिकातिर । तिम्रा दाइ भाउजूलाई छाेराे जन्मियाे । उसैको स्याहार गर्न । " ललितजंगले प्रतिक्रिया जनायाे -" ए ! उसाे भए गज्जब भएछ । "
भरतरामले गुनासाे पाेखे - कहाँ गज्जब हुनु बाबू । मेराे त बिजाेग भाे । पकाएर खान दिने मान्छे काेही छैन । तिम्री सानिमा उता गएपछि महिना दिन थलिएँ । तै माइला दाइका छाेरा बुहारीले स्याहार गरेर बाँचियाे । "
ललितजंगले थप्याे - "पैसा पठाएकै हाेलान् नि । के फरक पर्याे र ? "
भरतराजले असन्तुष्टि प्रकट गरे - " बाबू ! विरामी पर्दा दबाइपानी खाने कि पैसा ? "
ललितजंगले भन्याे -" त्यसाे हाेइन नि सानाेबा । पैसा भएपछि उपचार गर्न सकिन्छ भनेकाे । "
भरतराजकाे असन्तुष्टि थप छचल्किएर आयाे । उनले भने - "हेर बाबु ! विरामी पर्दा कसले कुर्छ ? स्याहारसुसार कसले गर्छ? पैसा अगाडि राखेर त हुँदैन हाेला ? "
ललितजंग - "पैसा भएपछि मान्छेलाई कजाउन सकिन्छ नि । मन लागेकाे कुरा झिकाउन सकिन्छ । मिठाे मसिनो खान सकिन्छ ।"
भरतराम - भाे भैगाे बाबू । छाेडाैं यी कुरा बरू भाेकाएका थियौ कि ? "
ललितजंग - भाेकाएकाे छैन सानाेबा । भर्खरै खाजा खाएर आएकाे । बुढाे मान्छेले कति दुःख गर्नुहुन्छ ?"
" कहाँ त्यसाे भनेर हुन्छ । पख है त एकछिन् " यति भन्दै भरतराम घरभित्र छिरे । भित्र छिरेकाे एकछिनमै भरतराम काँसकाे थाली बाेकेर बाहिर आए ।
उनले भने - लाै त बाबू खाजा खाऊँ । मज्जासित खानुपर्छ बाबुछाेराले । "
ललितजंग हेरेकाे हेरै भयाे । काँसकाे थालीमा खाजा थिएन । हजार हजारका नाेटहरू सजाएर राखिएका थिए ।
~~~~~~~~~~~~~~~~~~
~~~~~~~~~~~~~~~~~~
३५. लघुकथा~ भर ✍️
"बुढा!हजुरको तलब कैले आउँछ?बाबुको विद्यालयको परीक्षा पनिआइसक्यो।शुल्क बुझाउनु पर्ने। "रचना गनगन गर्दै राकेश लाई सोध्छे।
"खै!खुइय्या गर्दै राकेश भन्छ "आठ मैना भै सक्यो तलब न आएको।हामी शिक्षक हरु लाई सारै गारो परी सक्यो।अब त
साथी भाई ले पनि पत्याउन छाडी सके।"
दुईदिन पछि छोरा खुशी हुँदै आमालाई भन्छ ' आमा!यी लिनुस्।शुल्क तिरेको रसीद अनि मेरो प्रवेश पत्र।छक्क पर्दै रचना भन्छे ' कस्ले तिरी दियो तिम्रो शुल्क?
"मैले ।आमा भित्र बाट बाहिर निस्कँदै भन्नु हुन्छ।मेरो नातिलाई दुःख भएको म हेर्न सक्दिन नि।
" अनि आमा एती धेरै पैसा हजुरले कहाँबाट ल्याउनु भयो '?राकेशले सोध्छ।
"बाबुको विद्यालय नजिक एउटा सामाजिक संस्थाले हाम्रो हिन्दू धर्ममा लोप हुन लागेको काम लाग्ने डपरी,बत्ती,र जनै जस्ता सामग्री को तालिम सञ्चालन गरेको रहेछ।यसमानयाँ पुस्ता लाई हामी पाका नागरिक द्वारा उनी हरुलाई सिकाउँछौं।त्यहीँबाट आएको पैसाले काम चलाई दिए। "
"आमा! हजुर ले यो के गर्नु भएको ?बुहारी रचनाले आमा तिर हेर्दै भन्छिन। "
" हेर!हामी बा आमा सन्तानको लागि भार होइन।भर हौं। आमाले मुसुक्क हाँस्दै भन्नु भयो।
~~~~~~~~~~~~~~~~~~
३४. लघुकथा~ बेसहारा ✍️
आमा लडनु भएछ ! साहारा दिएर उठाउदै एक आगन्तुकले भन्यो ।
अघि शौच जादा लडेकेा उठन नसकेर उठाउने कोहि नभएर त्यहि लडिराथे आमाले भनिन ।
किन कोहि हुनुहुन्न र घरमा ?
श्रीमान हुनुहुन्छ , भएर के गर्नु । बिरामि भएर थला पर्नुभएको छ ।
छोराछोरि सपरिवार बिदेशतिर छन ।यता बारि खन्ने मान्छे नपाएर यि खेत हरु बाझो रहेको पनि धेरै भए ।
चेाट लाग्यो होला है आमा ? आगन्तुकले सोध्यो ।
श्रीमान थला परेपछि, छोराछोरि बिदेशिएपछि यसरि त कति लडियेा लडियेा । यसले त के चेाट लग्थ्यो र !
लामो सुस्केरामा उफ.....
चेाट त त्यो सम्झिदा लाग्छ, म जस्ता धेरै बृद्धबृद्धा यसरि नै बेसहारा भएका छन । यहा मेरो देश नै बेसहारा भएको छ ।
हेर त यो गाउ पुरै बृद्धाश्रममा परिणत भएको छ ।
~~~~~~~~~~~~~~~~~~~
३३. लघुकथा~ ढोका खुलेन ✍️
उनको आँखाबाट तुरुक्कै आँशु चुहियो।
पत्नीका आँखामा पनि छचल्कियो आँशु।
जेसुकै भए पनि विदाइ गर्नु नै थियो।
"शुभयात्रा ! राम्ररी जानु।" भन्दै हात हल्लाएर विदा गरे पत्नीलाई।
छोरी अष्ट्रेलिया र छोरो अमेरीका थिए।अमेरीकामा नाति जन्मिएकोले बुबाआमालाई उतै झिकाएका थिए।
दुबै बुढाबुढीले पासपोर्ट बनाए।नाति जन्मिएको खुसीयाली,अमेरीका घुम्न पाउने अवसर, बुढाबुढी प्रफुल्लित थिए।तर अन्तिममा आएर दाँतमा ढुङ्गा लाग्यो।दुतावासले पत्नीलाई मात्र भिसा दियो।
रक्तचापको विरामी, बुढ्यौली उमेर।अमेरीका जाने आकाङ्क्षामा तुषारापात भयो।पत्नी पठाएर आफू एक्लै बस्नु पर्ने वाध्यताले निराश थिए। गलेका थिए उनी।
पत्नीलाई विदाइ गरेपछि टेक्सी चढेर घरमा फर्किए।
घर शून्य लाग्यो।साँझको खाना पकाउने जाँगर पनि चलेन।
अलिकति पानी तताएर औषधी खाइ सुते।
निद्रा के आउँथ्यो ? विविध तर्कना मात्र आइरहे मनमा।
आमा सकुशल अमेरीका आइपुगेको जानकारी गराउन मेसेन्जर डायल गरे गणेशले।निरन्तर घण्टी बज्यो तर फोन उठेन।
अलि आत्तिएर फोन नम्बर नै डायल गरे।तर फोन उठेन।
घरको छिमेकी शोभाकान्तलाई फोन गरे गणेशले।
शोभाकान्तले घरमा गएर हेरे।ढोका भित्रबाट बन्द थियो।
ढोका ढक्ढकाए।आवाज दिएर बोलाए।
तर ढोका खुलेन।
~~~~~~~~~~~~~~~~~~~
--------------------------
२८. लघुकथा- सपना ✍️
छेपारोलाई नियालेर हेरेँ।लम्पसार थियो।मलाई जिस्क्याउन मन लाग्यो।सानो ढुङ्गाले हानेँ।
उठ्दै उठेन।अझै नियालेर हेरेँ।कतै मरेको त होइन।
नजिकै गएँ। श्वास चलेको थियो।पेट डम्म फुलिएको ।छेपारो अलि बुढो नै रहेछ।अनि आरामको मुडमा पनि।
सोचेँ,बुढो छेपारोलाई के जिस्काई रहनु।अगाडि बढेँ।
छेपारो बुढो भएर आराम गरेको रहेछ।आँखामा देशका बुढा नेताको तस्बिर आयो।
मनमा परिबर्तनसील सपना। बुढो छेपारोले झैँ हाम्रा बुढा नेताले पनि कुर्सी छोडेर आराम गर्ने कहिले?
-------------------------
२०. लघुकथा~ संस्कार ✍️
बिरधोज धार्मिक स्वभावको व्यक्ति थिए।उनि बिहानै उठथे,पूजापाठ गर्थे।दिउँसो केही न केही काममा आफूलाई व्यस्त राख्थे।औ साँझपख सिकुवामा बसेर रामायण पाठ गर्थे।यो उनको दैनिक क्रम थियो।
केहीदिनदेखि उनि ओछ्यानमा थला परे।छोरो मनोजले उनलाई अस्पताल लैजाने आग्रह गरे।उनले प्रतिवाद जताउदै भने -
"सत्तरी वर्षको उमेर पुग्यो,अहिलेसम्म अस्पतालमा खुट्टा टेक्या छुइन,अब यो मर्ने बेलामा जान्न!"
मनोजले जिद्दी गर्यो,उनले नमान्दै भने -
"छोरा,बरु सक्छ्स भने बिहानबेलुकी यसो धर्मशास्त्रको कथाहरु पढेर सुना न,मेरो त आँखाले अक्षरहरू ठ्म्याउन छाड्यो।"
त्यसदिनदेखि मनोजले बालाई धर्मशास्त्रहरू पढेर सुनाउन थाले।
एक साँझपख।मनोज पढ्नलाई तयार भए,तर पुस्तक भेटेनन।यथासम्भव खोजे,अँह भेटेनन।अन्त्यमा छेवैमा पढदै गरेको उनको सात वर्षिय छोरोलाई सोधे -
"बाबू, तिमीले हजुरबालाई सुनाउने पुस्तक देख्यौ?"
"अँ, मैले राख्या छु।"
"किन राखेको!"
"अन्त,तपाँईंले जम्मै पढनु भो भने,पछि तपाँई बुडो हुँदा म के सुनाउनु?"
~~~~~~~~~~~~~~~~
१९. लघुकथा~ ट्रक ड्राइभर ✍️
ट्रक ड्राइभर पुन ट्रक अनलोग गराउदै चिया पसलमा बसिरहेका थिए । नजिकै एउटा भत्केको छाप्रोबाट आएको आवाज सुने र त्यता गए ।
"यस्तो ठिहीमा किन कक्रिएर बस्नुहुन्छ बाबै ! म न्याना लुगा ल्याइदिन्छु ।" पुनले तातो चियाको कप थमाउँदै बेसहारा ती बाबैलाई भनें । बाबैले चिया पिए । आशाका नजर दौडाए र फेरि कुङलिङ परेर भुइँमा सुते ।
"विचरा बाबैका कोहि छैनन होला ॽ घरमा पुराना कम्बल र न्याना कपडा राख्ने ठाउँ छैन । घर गएर कपडा लिएर आउछुँ ।"
पुन अनलोड सकेर घर गए । घरमा राजेलक्ष्मीमैयाले ओछ्यान माथि कपडा थुपारेकी थिन् । पुनलाई थकाइ लागेको थियो । कपडा यत्रतत्र फाले तर बाबैको कुरा सम्झिन सकेनन् ।
आफुले मरिमरि धोएर ओछ्यान माथि राखेको लुगा पुनले यत्रतत्र फालेको देखेर राजेलक्ष्मीमैया रिसाइन । भैँमा छरिएका कपडा उठाएर राखिनन् ।
हिजो हुत्याएका कपडाले भोलिपल्ट बिहान पुनलाई सम्झायो । पुन कम्बल र लगाउने तातालुगा बोकेर बाबै भए ठाउँमा पुगे ।
बाबै चिसोले रातिनै बितिसकेका थिए । पुनलाई पछुतो भयो । भने- "सुखमा दुखको कुरा सम्झना कहाँहुन्छ !" पुनलाई आफु पापी बनेको ग्लानि भयो ।
***
~~~~~~~~~~~~~~~~
१७. लघुकथा~ शोभा ✍️
सरोज आफ्नो घरको करेसाबारीमा टहल्दै थिए । त्यसैबेला "के छ हो ..? सरोजबाबु " भन्दै उसको साथी मोदनाथ टुप्लुक्क देखा परे ।
"अरे...! ठिकै छ यार । अकस्मात आज कताबाट हो ?" सरोजले आत्मियता दर्शाउँदै साथीलाई स्वागत गरे ।
दुई जना मिल्ने साथी । लामो समय पश्चात भेट भएको लामै कुराकानी भयो । कुराकानीकै क्रममा सरोजले बाबुआमाको हालचाल बारे जिज्ञासा राखे ।
मोदनाथले कुनै धक नमानी भने - " बाबुआमालाई त मैले भाइको घर पुराइ दिएँ यार । उसको पनि बाउआमा हो नि । भाइ अंश लिएकै हो ।सारै अर्ति उपदेश छाँट्थे बुढा । मेरो परिवारमा हाइसन्चो छ
अहिले ।"
" यो त राम्रो भएन । त्यसो गर्न नहुने । आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भन्छन् ।" सरोजले भने ।
" छोड़देउ त्यस्ता पुराना कुरा । बरु बाबुआमा गएपछि मैले घर रङ्गरोगन गरेर चिटिक्क पारेकोछु । फूलबारीमा फूलहरु फुलेर शोभायमान भइरहेका छन् । अरु भन्दा पनि घरमा पालेको जर्मन सेफर्ड कुकुरले मेरो घरको शोभा बढाइरहेको छ ।"
सरोजले अवाक् भएर उसको कुरा सुनि मात्र रह्यो ।
मोदनाथले अझ धमास प्रकट गर्दै भन्यो - " तिमी त सामान्य जीवन यापन गरिरहेका छौ । बरु भन तिम्रो घरमा त्यस्तो शोभा बढाउने कुरा के छ ?"
केही नबोली सरोजले मोदनाथलाई घरको माथिल्लो तलामा लिएर गए । बैठक कोठाको पर्दा यसो उघारेर टेलिभिजनमा धार्मिक कार्यक्रम हेरिरहेका जेष्ठ नागरिकलाई देखाउँदै भने - " वहाँहरु मेरो बाबुआमा ! मेरो घरको शोभा ।"
~~~~~~~~~~~~~~~~
१६. लघुकथा~ वृद्धा बा ✍️
कसैले बोलाए झैं लाग्यो; र म घरको गेटमा दौडेर गएं।त्यहाँ एकजना करिब पचहत्तर वर्षिय बुढा उभिएका थिए।
देख्दा राम्रै देखिन्थे लुगापनि मैला त थिए तर फाटेका थिएनन्।
उनि कतैबाट पनि भिखारी जस्ता लाग्दैन थिए।
हजूरले बोलाउँनु भएको हो?-मैले सोधें।
केही खानेकुरा छ भने दिनोहोस् न बाबु ।-उन्ले म तिर दुबै हात जोडे र याचना गरे।
"घरमा कोहीपनि थिएनन् म दौडेर किचनमा बेलुकीका दुइव़टा मात्र बासी रोटी थिए।मैले सोचें बिचरा वृद्धा बा लाई बासी रोटी भन्दा बिस्कुट नै ठिकहोला।"
मैले एउटा दश रूपियाँ पर्ने पार्लेजी बच्चाहरू फुलाउन राखेको उठाएर पुनः गेटमा पुगें।
बाबा लिनुहोस् ।- मैले बिस्कुटको पाकिट उन्को हातमा थमाउँन खोजे।
रोटी छैन बाबु ? मैले अंस्ती देखी रोटी खानपाएको छैन्-उन्ले भने।
घरमा त बेलुकीका दुइव़टा रोटी त छन् .।
"हो! बरू अचार छ भने दुइटा रोटी भए पुग्छ।-उन्ले मेरोकुरा बिचैमा काटेर भने।
म पुनः भित्र गएं दुबै रोटी तताएं र आंपको अचार राखेर दिएं।उनि खुसी भए। बङ्गारा नभएपनि गमागम खाए।
त्यो देखेर मलाई पुरानो एउटा आमाले सोधेको प्रश्न झलझली याद आयो।अहिले त्यो प्रश्नको उत्तर मिलेकै थियो।
भोक मिठो की भोजन् ?
~~~~~~~~~~~~~~~~
~~~~~~~~~~~~~~~~
११. लघुकथा- उत्तरार्ध ✍️
" आमा ! नमस्कार ।"
" नमस्कार बाबू ! मैले त चिनिन ।"
" म माझघरे अन्तरेको कान्छो छोरो हुँ आमा !"
" ए ! कान्छा ,कहाँ छस् अहिले ?"
" म मधेस तिर छु आमा !"
आफ्नोे पुरानो गाउँ घुम्दै गएका कान्छाले ऊ बेलाकी छिमेकी आमासंग भेटगरी केही भलाकुसारी गरे।
"अनि आमा कहाँ छन् त दाजु दिदीहरु ?"
" आ ! बाबू प्युसाप्युसी के बस्थे र गुँडमा पखेटा लागेपछि उडिहाले नि !"
" हेर त यस्तो बेलामा झन संगै हुनुपर्ने !"
" जाउन उनीहरु गरिखाउन्, उनीहरुलाई शुभ्यफाब्य होस्, म त अस्ताउन आँटेकीलाई किन कुर्नु र काञ्छा!"
" अलिक गाह्राे भो होला नि त आमालाई , बा पनि उहिल्यै बित्नु भएछ । "
" यस्तै हो जाने चोला हो, अजम्बरी को छ र कान्छा !"
" हेर त ऊ बेलामा बीस पाथी धान बेसीबाट बोकेर आउने आमाको हालत !"
"अरु त त्यस्तै हो अहिले सम्म त दुःखसुख अगेनो ताद्दै छ तर चिसो भाको दिन पो गाह्राे होला त काञ्छा !"
~~~~~~~~~~~~~~~~~~
१०. लघुकथा~ निर्णय ✍️
बेलुकीको खाना पछि छोरा बुहारी दुबैजना सङगै मेरो कोठाभित्र पसे । सानो नाति एक्लै बोल्दै खेलाउना गाडी खेलाइरहेको थियो । "पक्कै पनि केही सल्लाह गर्न आएका हुनुपर्छ ।" मेरो मनले भन्यो ।
उनीहरु दुबैजना चुपचाप बसे केहि समय । बुहारीले नातीले खेलेको हेरिन । छोराले भित्तामा राखिएका उसका बुबा , हजुरबुबा र हजुरआमाका तस्वीर नियाल्यो । दुबै गम्भीर देखिन्थे ।
मौनताभरी मेरा आँखा घरी छोराबुहारीतिर , घरी नातीतिर र घरी तस्वीरहरुतिर ओहोर दोहोर गरिरहे ।
"मुमा हजुरसँग एउटा सल्लाह गरौं भनेर ।" बुहारीले मौनता भङ्ग गरिन ।
"भन न ....।" मैले जिज्ञासा राखें ।
" अब त बाबुलाई स्कुल हाल्ने बेला भयो । डे बोडस हाल्नु पर्ला । अँ.........।" उनी रोकिइन ।
" अब यो पोक्चुपनि स्कुल गएपछि घर कति शून्य हुने होला ? पढाउनु परिगो ।" आवाजसँगै सुस्केरा निस्कियो मेरो मुखबाट ।
"त्यहि भनेर ........।" मतिर नहेरी छोरो बोल्यो ।
" हामी दुबै बिहानैदेखि काममा हुन्छौं । घरै बसौं न त भन्दा गुजारा चलाउनै गाह्रो ।" उनले भनिन ।
" उबेला हामीले खासै पढन पाएनम । घरधन्दामै जीवन बिताइयो । तिमीहरु पढेका छौ । हामीजस्तै बसेर के हुन्थ्यो नि ।" मैले सम्झाएँ ।
" कोहि यसो काम सघाउने केटी पाए पनि हुन्थ्यो गाउँतिरकी । मुमालाई मुखबोलाउ साथी पनि हुन्थ्यो । तर खै .......? " छोराले भन्यो ।
"हुन त अहिले प्राइभेट आश्रमहरु पनि खुलेका छन । राम्रो सुबिधा दिंदा रहेछन । " उनले भनिन ।
" मुमाले जे भन्नु हुन्छ । अर्को महिनादेखि हो बाबुलाई स्कुल हाल्ने । घरमा एक्लै बस्न गाह्रो होला भनेर मात्र हो .......काम गर्ने पाए....।" भुइँतिर हेर्दै छोराले भन्यो ।
"चिन्ता नगर म सबैलाई सजिलो हुने निर्णय गरौंला।" उनीहरुलाई मैले नै सहज बनाइदिएँ ।
"भ्रु.... भ्रु...... भ्रु .... भ्वाँभ्वाँ ... ।" नाती मस्तले खेलिरहेकै थियो ।
श्रीमानको तस्वीरमा आँखा पुगे । परलोक जानुभन्दा अगाडि दुबै हात समाएर रुँदै भन्नुहुन्थ्यो," म मरेपछि कसरी बस्दिहोस फगत एक्लै ।"
तस्वीरमा हेर्दाहेर्दै लाग्यो उहाँ त्यही कुरा भनिरहनु भएको थियो ।
मैले मनमनै निर्णय गरिसकेकी थिएँ ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
८. लघुकथा- पाका नागरिक ✍️
आफू प्रधानमन्त्री कार्यालयको मुख्य सचिव भएर के गर्नु ? गरि खाने वातावरण छैन । बाबू, बिदेश जा । " छोरालाई अमेरिका पठाउन मुख्य सचिव बोले ।
समयले महंगी थोपर्यो कि प्रणालीले ? देश झनै गरिव भयो । दोस कसको ? कसैले जवाफ दिएनन् । जवाफ भएका शाषक थिएनन् ।
"हेड अफ द नेसन बिदेशले फेर्यो । जाबो अदालत र सरकारको चावी फेर्न कति समय लाग्छ र ! " एक प्रोफेसरले दिक्षान्त समारोहमा गुनासो गरे ।
माहोल आफ्नो पक्षमा पार्दै प्रधानमन्त्री चिच्याए, " यति धेरैलाई दिक्षान्त गरि हामी ईतिहास रच्दै छौँ । "
मुख्य सचिवले हालको अवस्था स्पष्ट पार्दै दुखेसो पोखे, " देशको लागि अनावस्यक भेडा उत्पादन गरेर के गर्नु ? आवस्यक अर्थशास्त्री, शिक्षक, विशिष्ट कर्मचारी तथा नीति बनाउने थिंक ट्याङ्क आज सम्म एउटै उत्पादन भएन । सन्तान जति बिदेश । पाका नागरिकले आफ्ना दक्षता सिकाउने बेलामा बरु मलामी नपाउने पो हो कि ! "
- ~~~~~~~~~~~~
७. लघुकथा-लठ्ठी ✍️
"आमा !यी लिनु"भन्दै उसले वेतको लठ्ठी आमाको हातमा दियो।आमाले खुशीले गदगद हुँदै भनिन्,"मेरो बाबू! कति जाती हुनुहुन्छ।बाबू धन्यवाद!"
आमाले आँखाभरि खुशीका आँशु छचल्क्याउँदै उ तिर हेरिन् र हातले टाउकोमा थपथपाउँदै आशिर्वाद दिइन्।
"मलाई वरपर हिँड्न पनि कस्तो गाह्रो भइरहेको थियो।जीवन बाबुले धन्न बुझ्नु हुँदो रहेछ ।"भन्दै लठ्ठी टेक्दै घर भित्र छिरिन्।
"कसले दियो लठ्ठी ,हँ?"सात्तो जाने गरि छोरोले धोद्रोआवाजमा करायो।
" दिए होलान नी तिनै जाती हुन खोज्नेहरुले"बुहारीको आवाज पनि झर्किलो नै थियो।
" जसले लठ्ठी दियो उसैले पाल्छ।जानु उतै।हामीले केही गर्न नसकेको देखाउने,मगन्ते !"
छोरो फेरि रड्कियो।
"त्यसो नभन् न छोरा।मलाई मात्र कहाँ हो र?उ यो टोलका सबै बुढाबुढीहरुप्रति दयामाया राख्छ।म हिजो पसलबाट नुन किनेर आउँदा घरै अगाडिको बाटोमा ठेस लागेर लडेको थिएँ।उसैले देखेर उठाई दिएको थियो।दया लागेर ल्याईदेको होला।"
बुहारीले आमाको हातबाट खोसेर त्यो लठ्ठी आँगनतिर हुत्याईदिँदै हकारिन," जोरिपारी को अगाडि बेइज्जत गर्ने हाम्रो।भोलि म नै किनेर ल्याइदिउँला!"
खुशी हुँदै आमाले भनिन्,"सुईटर पनि ल्याई दे है बुहारी! पोहोरको जाडोदेखि सुनाको।"
लघुकथा :बुढ्याइ(प्रतियाेगी लघुकथा)
गोपाल सङ्ग्रौला ,झापा
" पिताजी लाई अब यो घरमा राख्न सकिँदैन ।भोलि नै कतै लगेर बैता लगाउनू नि!"सुभद्राले सुर्यका मुखमा तीर जस्ता तीखा अाँखाले हेर्दै भनी।
"किन के छाँटा चलेर अकस्मात एस्तो तुच्छ वचन बोल्यौ प्रिया ? "सूर्यले सहजै जिज्ञासा राख्यो। " बुढाबुढी घरका घाँडा मात्र हुन।तिनिहरुको केही काम छैन ।" पतिको मुख ताकेर उसले फेरि आक्रोश व्यक्त गरी ।
सुर्य पत्नी लाई यसरी सम्झाउन थाल्यो -
बुढाबुढी हाम्रा धरोहर हुन। हामी उनिहरुका सिर्जना हाैँ।उनिहरु अनुभव र सीपका खानी हुन।उनिहरूको आचार विचार हामीले अनुकरण गर्नु पर्छ ।बुढेस्कालमा सबैको अवस्थ दयनीय हुन्छ ।लौराको सहारामा बाच्नु पर्दछ ।उनिहरुको अवस्था कहलीलग्दो हुन्छ ।हाम्रो अविवेकी सरकारले उनिहरुको लागि कुनै रचनात्मक काम गरेको छैन ।प्राय:बुहारीहरू तिमी जस्तै ढुङ्गाको हृदयका हुन्छन।"
सुभाद्रा अग्निशर्मा बनेर गर्जीई-"मलाई तपाईका भाषण को खाँचो छैन । भोलि बृद्धाश्रम पुर्याउनु भएन भने मलाई माया मार्नु पर्छ ।"बाबा आमाको अनिष्टकारी वार्ता सुनिरहेको कक्षा सतमा पढ्ने छोराले भन्यो - "बूढो भए पछि घरम बस्ने अधिकार छैन भने चार वर्ष पछि बाबा आमालाई पनि बैता लगाइने छ ।"
~~~~~~~~~~~~~~
६. लघुकथा~ बुढ्याइ ✍️
" पिताजी लाई अब यो घरमा राख्न सकिँदैन ।भोलि नै कतै लगेर बैता लगाउनू नि!"सुभद्राले सुर्यका मुखमा तीर जस्ता तीखा अाँखाले हेर्दै भनी।
"किन के छाँटा चलेर अकस्मात एस्तो तुच्छ वचन बोल्यौ प्रिया ? "सूर्यले सहजै जिज्ञासा राख्यो। " बुढाबुढी घरका घाँडा मात्र हुन।तिनिहरुको केही काम छैन ।" पतिको मुख ताकेर उसले फेरि आक्रोश व्यक्त गरी ।
सुर्य पत्नी लाई यसरी सम्झाउन थाल्यो -
बुढाबुढी हाम्रा धरोहर हुन। हामी उनिहरुका सिर्जना हाैँ।उनिहरु अनुभव र सीपका खानी हुन।उनिहरूको आचार विचार हामीले अनुकरण गर्नु पर्छ ।बुढेस्कालमा सबैको अवस्थ दयनीय हुन्छ ।लौराको सहारामा बाच्नु पर्दछ ।उनिहरुको अवस्था कहलीलग्दो हुन्छ ।हाम्रो अविवेकी सरकारले उनिहरुको लागि कुनै रचनात्मक काम गरेको छैन ।प्राय:बुहारीहरू तिमी जस्तै ढुङ्गाको हृदयका हुन्छन।"
सुभाद्रा अग्निशर्मा बनेर गर्जीई-"मलाई तपाईका भाषण को खाँचो छैन । भोलि बृद्धाश्रम पुर्याउनु भएन भने मलाई माया मार्नु पर्छ ।"बाबा आमाको अनिष्टकारी वार्ता सुनिरहेको कक्षा सतमा पढ्ने छोराले भन्यो - "बूढो भए पछि घरम बस्ने अधिकार छैन भने चार वर्ष पछि बाबा आमालाई पनि बैता लगाइने छ ।"
~~~~~~~~~~~~~~
५. लघुकथा बुढेसकाल ✍️
एकाबिहानै मनमाया गाैरीकाे घरमा गएर भनिन् "बैनी! मलाई के भयाे के,बुढेसकाल लागेर हाे कि धेरै दिन भयाे खान नि रुच्दैन, कताकता दुखेर मात्रै आउँछ, म त मर्ने भएँ के गर्ने हाेला ? छाेराछाेरीलाई भन्नु भएन त । आआफ्नो पीडा आफूसँगै छ । कसैले फाेन गर्दैनन् । म त फोन गर्न पनि जान्दिनँ।"
मनमायाको कुरा सुनेर गाैरी चिन्तित भइन् र "माेबाइल दिनू त म कल गर्दिन्छुु," भनिन्। पहिला छाेरालाई कल गरेकाे उठेन पछि छाेरीलाई गरेकाे व्यस्त छु भन्दै फाेन राखिन्। गाैरीले भनिन् "तपाईंको छाेरी व्यस्त रे छाेराकाे फाेन उठेन।"
मनमाया डाँकाे छाेडेर रुन लागिन्। "याे बुढेसकालमा संसारमा कसैले साथ नदिने रहेछ। बुढा त बच्चाबच्ची साना हुँदै मलाई छाेडेर याे धर्तीबाट बिदा भएर जानुभयाे, दु:ख गरेर छाेराछाेरी हुर्काइ बढाएँ र विवाहदान गरिदिएँ । अहिले मेराे वास्ता कसैलाई छैन । मेराे अहिले साथी भनेकाे छायाँ र ऐना छ । छाया म जता जान्छु त्यतै जान्छ । ऐना हेर्दै रुन्छु ऊ पनि म सँगसँगै रुन्छ ।" यति नभन्दै मनमाया भक्कनिइन्।
गाैरीलाई पनि धेरै नराम्रो लाग्याे । "आमा नरुनुहाेस्। हिँड्नू , म हजुरलाई हस्पिटल लान्छु।" उनले ट्याक्सी चडाएर हस्पिटल पुराएर जाँच गर्दागर्दै मनमायाले आँखा तानिन् । गाैरी पनि "बिचरा! जिन्दगी भन्दै डाँकाे छाेडेर रुन थालिन्। मनमायाकाे माेबाइलमा फाेन आयाे । गाैरीले डराएर फाेन उठाइन् । उनको छाेराकाे फाेन आएकाे रहेछ । गाैरीले आमाको माेबाइलबाट कल गरेकाे नउठेकाे भएर मैले हस्पिटल लगेर बचाउन नसकेको कुरा सुनाइन् ।
छाेराले "पैसा पठाइदिन्छु, दाहसंस्कार गरिदिनुहोला" भन्दै गाैरीलाई अनुरोध गर्यो।
~~~~~~~~~~~~~~~~~~~
४. लघुकथा~ आमाको दबाइ ✍️
" बाबु ! बजारबाट किन यति ढिला गर्यौ?खाना सेलाउने बेला भयो ,ल झट्टै हिड खाना पस्किदिन्छु" आमाले भन्नुभयो ।
" आमा हामीलाई कचकच नगर्नु ,हजुरले खाएर सुत्नु ,हामीले बाहिर खाएर आयौं " छोराले जबाफ दियो ।
" मैले त खाइसकें,तिमीहरू मात्रै बाँकी हौ।।आमाले पून:भन्नुभयो ।
" बुहारीले र मैले पनि खाएर आयौं सुन्नुभएन! "कोठा भित्र पसेर ढोका लगायो।
आमा रूदै आफ्नो कोठामा जानुहुन्छ।अनि टेबुलमा एउटा पत्र लेखेर छाड्नु हुन्छ ।"बाबु !आज तिम्रो जन्म दिन हो ,तिमीलाई मनपर्ने खाना बनाएकी छु,तिमीलाई खुवाएर खाने कत्रो रहर थियो ,त्यसैले त सकिनसकि बनाएं नि।सधैंभरि सुखशान्ति र दिर्घायुको कामना छ।म आमा हुँ,तिमीले नखाई कसरी खान सक्छु ?म पनि त भोकै छु।"
बिहान अबेर संम आमा उठ्नु भएन।उसले आमालाई उठाउन प्रयत्न गर्यो तर आमा चिर निद्रामा गैसक्नु भएछ।
उसले अतालिदै अस्पताल पूर्यायो ।डाक्टरले हृदयाघातका कारण मृत्यु भएको जानकारी गराउनुभयो।उ अत्यन्तै विचलित हुन पुग्यो ।
यतिकैमा अन्तिम संस्कारको तयारी हुन्छ ।
अन्तिम संस्कार गर्ने बेला उसको गोजीमा अचानक हात पुग्छ।उसलाई अफिस जानेबेला आमाले एउटा पत्र थमाउनुभएको थियो ।उ झटपट पढ्न शुरू गर्छ।पत्रमा लेखिएको थियो " बाबु !मलाई तिम्रो याद नआउने कुनै दबाइ भए लिएर आउ है।"
पत्र पढेर उ भक्कानिन्छ।"दागबत्ती दिन ढिला भयो "भनेर गुरूले भन्दा "आमा...!! मलाई माफ गर्नु"उ लासमाथि एक्कासि घोप्टिन्छ।
~~~~~~~~~~~~~~~~~~~
२. लघुकथा~ पाका मान्छे ✍️
नातिनीको प्रश्नले हजुरबाबा झस्कनु भयो । नातिनी म यो प्रश्नको जवाफ दिन असमर्थ छु। यसको उत्तर तिमी आफै खोज ।
उ वल्लो घर पल्लो घर सबै ठाउँमा पुगि । तर उसले आफ्नो प्रश्नको जवाफ कतैबाट पाउन सकिन ।
उ बाटोमा धुरु धुरु रोएर बसेकी थिई । पल्लो गाउँको हजुरआमाले भन्नुभयो ।
"नानु तिमी किन रोएर बसेकी हौ ?" उसले हजुरआमालाई आफ्नो समस्या बताइ । "ऊ त्यो घर जाउ । त्यहाँ तिम्रो प्रश्नको उत्तर पाउने छौ । "
उ खुशी हुदै त्यो घर गइ । उसले त्यहाँ बुझि । त्यहाँ पनि समस्या समाधानको बाटो देखिन । उसले जसलाई भेट्न खोजेकी थिइन् । ऊ त दुई महिना घर बसेर विदेश गएछन् । त्यो घरमा बुढाबुढी र केटाकेटी मात्रै रहेछन । उ पिर मान्दै घर फर्की ।
उसले सुनेकी थिइ । यस पृथ्वीमा कतिपय जीव चित्रमा मात्र सिमित छन् । उसले उपाय न देखेपछि धमाधम चित्र बनाएर भित्तामा टाँसी ।
यता हजुरबाबाले सोच्नु भयो । नातिनी प्रश्नको उत्तर नपाएर पिर मानेकी होलि । सरले भोलि कक्षामा सोध्नुभयो भने उसले के भन्लि । " गाउँमा भएका पाका मान्छे र उनीहरुको परिचय । " यो प्रश्न अहिलेको रोजगार विहिन अवस्थामा आफैमा जटिल छ ।
हजुरबुवाले कोठामा पस्दै सोध्नु भयो ।
"नातिनी बिहान सोधेको प्रश्नको उत्तर हात लाग्यो ?" उसले भित्तातिर देखाउदै भनि ।
" हजुरबुबा ऊ त्यहाँ हेर्नु न ।"
जहाँ लेखिएको थियो ।
"यो देशको लागि इतिहासमा सिमित ।"
तल केही चित्र कोरिएको थियो । हजुरबुबाको अनुहार एक्कासी उज्यालो भयो ।
"पाका मान्छेहरुको चित्र। कैयन वर्ष भो युवायुवती विदेश जान थालेको । "
~~~~~~~~~~~~~~~~~~
१. लघुकथा~ स्पर्श ✍️
``ऊ बेला त म पनि कहाँ यस्तो थिएँ त ? आकासको तारा झार्थे नि ! बाबु !´´ भिडियो कलमा बाउले निकै फुर्ति लगाए ।
छोरा फिस्स हाँस्यो र भन्यो ,`` उहिलेका कुरा खुइलिए बा ! अब त एक्लै बस्न गाह्रो भएन र ? ´´
खुइय .. गर्दै `` के गर्नु र गाह्रो साह्रो जे भए नि ! तँ जस्ता छोराछोरी सबै विदेश नपसी हाम्रा मुखमा माड लाग्ने होइन ? ´´
`` काम गर्ने मान्छे राख्ने त ? ´´ उसले सोध्यो ।
`` उसले नै केही गर्ला कि ? भन्ने पीर बोक्दिनँ , बाबु । हात खुट्टा चल्दैछन् । भो , बुढा बाउको पीर नगर् । ´´
छोराले सम्झायो , `` आमा भएको भए माटालाई ढुङगाको भर , ढुङगालाई माटाको भएझैँ हुन्थ्यो कि राम्रो बृद्धाश्रमतिर सरौँ बा ?´´
उनले हकारे , `` भो ,घर छाडने कुरा नगर् बा ! ´´
उसले हाँस्दै सोध्यो, `` किन र बा , यो उमेरमा त्यो झुपडीको चै यति बिध्न माया लागेको नि ? ´´
उज्यालो अनुहार लाउँदै बा´ले भने , `` घरका कोठा चोटामा तेरी आमाको स्पर्श छ नि त , बाबु ! ´´
~~~~~~~~~~~~~~~~~~~
No comments:
Post a Comment