टंकबहादुर आलेमगरको संयोजकत्वमा आयोजित एकता विषयक लघुकथा लेखनमा हालसम्म संकलित लघुकथा सूची-
४९. लघुकथा- अमर प्रेम ✍️रमेन्द्र कोइराला
४८. लघुकथा- एकता ✍️शुक्रराज कुँवर
४७. लघुकथा- सपनाकाे खाेजी ✍️याेग भैरव गेलाल
४५. लघुकथा- एकता ✍️बाँस्कोटा धनञ्जय
४४. लघुकथा- अदृश्य पात्र ✍️बिष्णु उप्रेती
४३. लघुकथा- एकता दिवस ✍️प्रेम घिमिरे 'अग्निकवच’
४२. लघुकथा- अपरिहार्य ✍️नवराज शर्मा
४१. लघुकथा- एकतामा विश्वास ✍️ पं.ज्यो. तोयनाथ सुवेदी
४०. लघुकथा- राष्ट्रिय एकता ✍️टीकाराम जाेशी इमाडाेल
३९. लघुकथा- गणतन्त्र ✍️कल्याण पन्त
३८. लघुकथा- चनाखो ✍️श्रीप्रसाद पोखरेल
३७. लघुकथा- एकलकाँटे ✍️सुनिता निरौला पौडेल
३६. लघुकथा- एकता ✍️शान्ता तिम्सिना
३५. लघुकथा- एकता ✍️नारायण कोइराला
३४. लघुकथा- चन्द्रागिरी ✍️रुद्र अधिकारी ‘निर्दोषी’
३३. लघुकथा- अन्तर्मनको आवाज ✍️ एलपी पराजुली
३२. लघुकथा– रोगी एकता ✍️लक्ष्मी रिजाल
३१. लघुकथा– अँजुली ✍️अक्षान्त
३०. लघुकथा– एक्लो बृहस्पति ✍️राजेश विद्रोही
२९. लघुकथा- एकतामा सफलता ✍️गणेशकुमार अधिकारी
२८. लघुकथा~ राजा ✍️नन्दलाल आचार्य
२७. लघुकथा- एकता दिवस ✍️ललिता ‘दोषी’
२६. लघुकथा- होस्टेमा हैंसे ✍️निर्मला बराल
२५. लघुकथा- बल ✍️सुरेशकुमार पाण्डे
२४. लघुकथा- वीरांगना ✍️शु्क्रराज कुँवर
२३. लघुकथा- एकता ✍️रचना शर्मा
२२. लघुकथा- विकास ✍️सविता भट्टराई
२१. लघुकथा- जातीय राज्य ✍️डा. पुष्करराज भट्ट
२०. लघुकथा- परिणाम ✍️उमानाथ दाहाल
१९. लघुकथा- एकता ✍️प्रेम पुन मगर
१८. लघुकथा- एकता दिवस ✍️एन्जल निलु मिना साह
१७. लघुकथा- आयथ्याे साेच यसरी ✍️दुर्गा तिवारी राजन
१६. लघुकथा- दिवस ✍️राजकुमार कार्की
१५. लघुकथा- एकता ✍️तुलसी पण्डित
१४. लघुकथा- अमृत धारा ✍️सुरेशकुमार पाण्डे
१३. लघुकथा- तालि ✍️तुलसी पण्डित
१२. लघुकथा- एकता ✍️रामप्रसाद पन्थी
११. लघुकथा- लाैराे ✍️टङ्कबहादुर आलेमगर
१०. लघुकथा- कसम ✍️कमला भट्टराई
९. लघुकथा- एकता ✍️लक्ष्मण ज्ञवाली
८. लघुकथा- खुलेका आँखा ✍️खगेन्द्र बस्याल
७. लघुकथा- आफ्नो श्रम ✍️बिमला देव
६. लघुकथा- प्रश्न ✍️गंगा खड्का
५. लघुकथा- पैचान ✍️अन्जु शर्मा
४. लघुकथा- एकता ✍️बालकृष्ण गजुरेल
३. लघुकथा- पहिचान ✍️पीपी कोइराला
२. लघुकथा- भोज ✍️सोम कुमार सुब्बा
१. लघुकथा- मैत्री ✍️रुद्र अधिकारी ‘निर्दोषी’
+++५०.
४९. लघुकथा- अमर प्रेम ✍️रमेन्द्र कोइराला
"पाँच वर्ष भयो प्रिय मिलन नभएको त्यसैले आज म रोक्न सक्दिन यो रजत वैवाहिक वार्षिकोत्सवमा । " उनले आफूलाई समर्पण गर्दै भनिन् ।
"मलाई तिम्रो देह चाहिएको छैन प्रिय । यस कार्यमा म समावेश हुन सक्दिन । " उसले असहमति जनायो ।
"म तपाईंको पीडा हेर्न सक्दिन । " उनले उसको मलिन अनुहारतिर हेर्दै भनिन् ।
" म तिम्रो मृत्यु हेर्न सक्दिन। यो कर्म अन्तिम हुन सक्छ भनेको छ डाक्टरले ।" उसले हात समात्दै भन्यो ।
"मेरो अन्तिम दिन होला तर यसलाई म खास बनाउन चाहन्छु । " उनले हात दबाउँदै जोड गरिन् ।
"तर म अन्तिम होइन तिम्रो साथ अनन्तसम्म चाहन्छु । "
"मेरो मृत्युको चिन्ता नगर्नुस् । आज यादगार दिन बनाऔं ।"
यो सुनेर उसले झन दृढताले भन्यो - " म कसम खान्छु , तिमीलाई जिन्दगीभर छुने छैन । "
उसको त्याग देखेर उनी अचम्म बनिन् । उनले पनि एक कदम अघि सरेर भनिन् - "त्यसोभए म पनि कसम खान्छु, बाहिर गएपनि केही बोल्दिन । "
त्यसपछि दुबै धेरै बेरसम्म अँगालो हालेर रोइरहे ।
इनरुवा -९ बबिया, सुनसरी ०८०/९/२७
++++
४८. लघुकथा- एकता ✍️शुक्रराज कुँवर
तँ पहाडे... तँ मधिसे... तँ भोटे ...! कक्षाका तिन जना केटाहरु एकापसमा झगडा गर्दै थिए । त्यहीँबेला सर आइपुग्नु भयो ।
के को झगडा हो ? आज पृथ्वी जयन्ती , राष्ट्रिय एकता दिवस,आजकै दिन तिमीहरु झगडा गर्ने ? त्यसरी जातीपातीको कुरा उठाएर झगडा गर्नु झन नराम्रो हो ।" सरले सम्झाउँदै भन्नुभयो ।
" सुन ! यो देश सबै जातजातीको साझा फूलबारी हो । को पहाडे , को मधिसे को हिमाली भन्ने संकुचित धारणा राख्नु हुँदैन । सबैभन्दा पहिले हामी नेपाली हौँ । " सरले अझ प्रष्ट पार्दै भन्नुभयो ।
स्कूलबाट घर फर्कने क्रममा मधेसी मूलका वद्यार्थीलाई गाडीले ठक्कर दिएर सख्त घाइते भए । पछाडि आउँदै गरेका पहाडी मूलका विद्यार्थीले अन्य मानिसको सहयोग लिएर अस्पताल पुराए । घाइते विद्यार्थीको शरीरबाट अत्यधिक रक्तस्राव भएको थियो । उनलाई बचाउन तत्काल रगतको खाँचो थियो । तर मिल्ने रगत पाउन गाह्रो भइरहेको थियो । त्यहीँबेला हस्याङफस्याङ गर्दै हिमाली मूलका विद्यार्थी आइपुगे । उनको रगत ' म्याच ' भयो । डाक्टरले हत्तपत्त रगत चढाए ।
मधिसे मूलका विधार्थी बिस्तारै ठिक हुँदै गए । उनको छेउमा पहाडी र हिमाली दुवै मूलका साथी थिए । त्यहीबेला सर आइपुग्नु
भयो । सरले मुस्कुराउँदै भन्नुभयो - " आहा कति राम्रो मिलाप ! हिमालबाट झरेको पानीले पहाडलाई स्पर्स गर्दै मधेसलाई सिंचित
गर्छ । यसरी हामी सबै एकताको सूत्रमा बाँधिनु पर्छ ।"
सरको कुरा सुनेर तिनैजना वपद्यार्थीले हातमा हात राख्दै एकै स्वरमा भने - " ठिक भन्नुभयो सर । हिमाल पहाड तराई कोही छैन पराई ।"
बलभद्र पथ,धरान १०
२०८०/०९/२७
++++
४७. लघुकथा- सपनाकाे खाेजी ✍️याेग भैरव गेलाल
"छाेरा ! बुढेसकालकाे सहारा तँ एउटा छाेराे पनि बिदेशिएपछि हाम्रो के हालत हाेला त बाबू ? "-साठी काटेर लाठीकाे सहारा लिइसकेकी मनमायाले अाँखा रसिलाे बनाउँदै छाेरा सुगमसङ्ग अाफ्नाे दुखेसाे पाेखिन ।
" अामा के गराैं त ? अचेल अाफ्नै देशमा बिरानाे भइएकाे छ । कतै पहाडिया भनेर अवसर दिदैनन् ; कतै मगरकाे छाराे भनेर पन्छाउँछन् ; कतै पार्टीको सदस्यता नभएकाेले त कही भनसुन गरिदिने काेही नभएर वा भाेज खुवाउने धन नभएकाेले याेग्यता भएर पनि अवसरबाट बञ्चित हुनु पर्छ । अाफ्नाे माटाेले नचिनेपछि परदेशकाे माटाेसङ्ग मितेरी गास्नु परेन त -अामा ! " -
सुगमले राष्ट्रिय बिवसता पाेख्दै बुबाकाे मुखतिर हेरेर थप्याे- " अामा ! गणतन्त्रकाे लडाइँमा बाउले सन्तानकाे सपना खाेज्दा एउटा हात गुमाए , गणतन्त्रपछि अाफ्नै देशमा हामीले पहिचानकाे नाममा एकता र सहकार्य गुमायाैं र अन्त्यमा देशले युवाकाे सपना र सिर्जनशील हात गुमाउँदै छ । मैले माेराे सपनाकाे खाेजीमा अामा-बाबुकाे काख, अाफन्तकाे साथ गुमाउँदै छु ।थाहा छैन छिमेकीकाे घरकाे अङ्गेनाे तापेर मेराे घरकाे जाडाे जन्छ कि जादैन ।" - सुगमले अाफ्ना बिवसता पाेख्याे ।
सुगमका शब्द-शब्दले मर्माहत बाबु हर्कमानले अाफ्नाे काटिएकाे हात हेर्याे र शिर निहुर्यायाे ; यता मनमायाका अाँखा अगाडि अन्धेराे छाउँदै गयाे । हातकाे लाठी खुस्किएर झर्याे र ऊ भुईंमा थचक्क बसी - लामाे सुस्केरा हाल्दै ।
लहान
+++
४६. लघुकथा- चिन्ता ✍️कमला भट्टराई
के भयो मनु तिमीलाई ? चिन्तिन मुद्रामा छौ नि ! ब्रह्माजीले आश्चर्य मान्दै प्रश्न गर्नुभयो ।
मनुः– अनेकतालाई एकताको मालामा उनेर मैले राम्रै काम गरेको रहेछु क्यारे, स्वर्गमा बास पाए । तर, ती मेरा सन्ततीहरुलाई हेर्नुृस् त....!, स्वर्गमा बास त परको कुरा तिनीहरुको मृत्युसँग त काल पनि डराउँछ होला ! मैले एक÷एक मोहर रैतिसँग उठाएर, मेरा शैनिकहरुले चारै प्रहर तैनाथ रहेर, भोक, प्यास, निद्रा केही नभनि रगत र पसिनाको खोलो बगाएर अर्जेको राष्ट्र र रैतिलाई कस्तो अवस्थामा पु¥याएर छाडे । मेरो आँगमा बग्ने नदीनाला सबै परतन्त्र भइसके अरे, अब हिमाल, पहाड र तराईमा परचक्री पाउ पर्न के बेर ? मेरो सिधासाधा रैतिहरु धेरै चिन्तित छन् रे । कसले गर्ला मेरो राष्ट्रको रक्षा !! ?
ब्रह्माः– यो सब कसले भन्यो मनु तिमीलाई ।
मनुः– ऊ क्या त ! मेरो राष्ट्रबाट आएका यी राष्ट्रप्रेमी सपुतहरु ।
चुनदेवी, भक्तपुर
२०८० पौष २७ गते शुक्रबार
+++
४५. लघुकथा- एकता ✍️बाँस्कोटा धनञ्जय
गाउँमा केही बर्षदेखि यता एउटा समस्या उब्जिएको थियो । तर त्यसको निवारण कसरी गर्ने भन्ने गर्ने भन्ने कुरामा मतक्यैता थिएन ।
यस पटक उनीहरु गम्भीर छलफलमा जुटे । बिषय थियो — जंगली हात्तीको आतंक । गाउँ असुरक्षित बन्दै गयो । बस्तुभाउ असुरक्षित बन्दै गए । आप्mनै आँगन बिरानो लाग्न थाल्यो । धेरै मानिसहरु पलायन भए । युबाहरु त झन सबै पलायन भइसक्न लागे ।
‘अस्ति हात्तीले मेरो ग्वाली लडाउँदा तिमेरु को आयौ मलाई सान्त्वना दिन ? अर्कालाई पर्दा रमिता हेर्ने मान्छे चाहिंदैन । म त हिंडें ।’ एक जना भलादमी आक्रोश पोखेर हिंडे ।
‘मेरो घर त सिरानमा छ । मेरोमा हात्ती कहिल्यै आइपुग्दैन । तर पनि म यहाँ आएको छु । पुछारमा घर हुनेहरु सबै आउनु पर्दैन ? हामीले तिमेर्को रक्षा गरिदिनु पर्ने ?’, अर्का भलादमी जंगिएर बोले, अनि बाटो लागे ।
‘मेरो तीन तले घर छ । हात्तीले केही पनि गर्न सक्दैन । तर पनि म आएको छु । छाप्रावालाहरु सबै आउनु पर्दैन ?’, अर्का भलादमी पनि जंगिएर बोले, अनि बाटो लागे ।
‘हाम्रो त केही पनि छैन । न घर छ । न बारी छ । न खेती नै । सबै अर्काको गरेका छौं । हात्तीले आएर थोडै हाम्रो बिगार्छ ? हुनेको बिगार्छ नि ! सबै हुनेखानेहरु भेला भएर यो काम गर्नु पर्ने हाइन ? हामी ठण्डारामलाई आउँदो न जाँदो !’, अर्का खाइलाग्दो मान्छे उफ्रिएर बोले, अनि बाटो लागे ।
‘अनि तिमीहरुको त केही पनि समस्या रहेनछ त ! हात्तीले मारेका मान्छे, बस्तुभाउ र सखाप पारेको बाली चाहिं कस्को हो ? थुक्क भँडुबाहरु ! तिमीहरु त्यसै नेता भएका होइन रहेछौ ! त्यसै पटक पटक चुनाउ जितेका होइन रहेछौ । अब आउने चुनाउ पनि तिमीहरुले नै जित्ने संकेत देखियो । अपराधिहरु !’, संधै निश्पक्ष बोल्ने काइला काका कराउन थाले । अनि सबैका कान ठाडा भए, तिनका खुट्टा टक्क रोकिए । अनि एकै स्वरमा बोले, ‘काइला बा एकताका प्रतीक हुन् । हामी उहाँलाई साथ दिन्छौ र गाउँको एकतालाई मजबुत पाछौं ।’
‘हात्ती आतंक मूर्दावाद !’
दमक, झापा
++++
४४. लघुकथा- अदृश्य पात्र ✍️बिष्णु उप्रेती
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने कार्यक्रममा उद्घाेषकले अाफ्नु नाम लिएपछि ,,हरिभक्त माईक समाउन पुगे। उनले अौपचारिक सम्बाेदन सकेपछि ,चारैतर्फ हेर्दै भने--"अाज म, परम्परागत रुपले अाफ्ना शब्दहरु खर्चगर्न चाहन्न। अाज म ,नौलाे र बिशिस्ट प्रस्तुति दिन गईरहेकाे छु।""
उनले बाेल्न छाेडेर चारैतिर पल्याकपुलुक हेरे । सबैमा कौतुहलता थियाे। उनले एकजना अलि पाका मानिसलाई हातले ईसारा गरेर मन्चमा बाेलाए।
मैला कमेजसुरुवाल लगाएका सेतादारी नकाटेका ,टाेपी पछाडि लगाएका मानिस हरिभक्तकाे छेउमा पुगे। हरिभक्तले उनका हातमा माईक दिदै -- अाफ्नाे परिचय भन्न लाएपछि ,उनले माईक समाउदै भने --"" मलाई त बाेल्न अाँउदैन। यसरी बाल्ने बानि पनि छैन।वाहाँ सरले अनुराेध गरेपछि परिचय दिन अाएकाे छु। "
उनले अगाडि भने - "याे देश एकिकरणकाे माहाअभियानमा पि एन् शाह एक्लैकाे मात्र देन छैन। याे अभियानमा दृश्य ,अदृश्य धेरै पात्रकाे याेगदान छ।
म उनै अदृश्य तर महत्त्वपूर्ण पात्रकाे सन्तान हुँ। जसले पि एन साह संगै देश निमाणमा ईटा बाेक्ने काम गरेकाे छ। तर उनी सधै अाेझेलमा छन्। तिनै मेरा माहान पुर्खाकाे नाम थियाे " बिसे नगर्ची"
२०८०/०९/२७
बिर्तामोड झापा।
+++
४३. लघुकथा- एकता दिवस ✍️प्रेम घिमिरे 'अग्निकवच’
जब लाउडस्पिकरमा राष्ट्रिय धून बज्न थाल्यो तब सबैजना उठेर राष्ट्रिय गान गाए। आ-आफ्नै पहिरनमा ठाँटिएका नेताहरूले मञ्च खचाखच भरिएको थियो। उद्घोषकले छोटो शुभकामना मन्तव्यको लागि समय दिए पनि वक्ताहरूले आफ्ना नालीबेली सुनाउन बाँकी राखेनन्। पहिचान, मुक्ति र विभेदले पनि आ-आफ्नै राग अलापे। तर सबै वक्ताहरूले राष्ट्रिय एकता दिवसको शुभकामना बाँड्न भने छुटाएनन्।
शिरमा मिथिला पाग, शरीरमा सुट र घाँटीको टाई छोपिने गरी खादा र माला धारण गरेका प्रमुख अतिथिले बडो फुर्तीकासाथ बाइसे चौबिसे राज्य देखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था सम्मको इतिहास ओकले। हिमाल, पहाड, तराईलाई जोडे। मेची र महाकालीको पानी वागमतीमा मिसाए । विकासको घोडा दौडाए। अधिकारको डङ्का पिटे। विकेन्द्रीकरणको फूल फुलाए। भ्रष्टाचार, अन्याय, अत्याचार र विभेदको जरो-किलो उखेलेको कुरा गरे। तर बिसे नगर्चीलाई सम्झिएनन्। अन्त्यमा राष्ट्रिय एकता दिवसको शुभकामना भन्दै हात हल्लाएर विदा भए। सबैले ताली बजाए।
मञ्चको पछाडि बसेका पहिचान, मुक्ति र विभेदले दर्शक दीर्घामा बसेका शहीद परिवारलाई हेरे। गिट्टी फुटाउन छोडेर भाषण सुन्न आएका हर्के र बिर्खेका हातका ठेलाहरू गने। बोक्सीको आरोपमा गाउँ निकाला गरिएकी मधेसी महिलालाई सम्झे। नागरिकता नपाएका टुहुरा युवकहरू देखे। काम नपाएर विदेश जाने प्रक्रियामा राजधानी छिरेको एउटा तन्नेरीले बिना कारण ज्यान गुमाउनु परेको घटनालाई सम्झे। तर उनीहरूको हातले ताली बजेन।
२७ पौष २०८०
बर्दिबास, महोत्तरी
+++
४२. लघुकथा- अपरिहार्य ✍️नवराज शर्मा
पाँच भाइमा घम्साघम्सी भइरहेको थियो ।
" म जत्ति मिहिनेत त तिमीहरूबाट त्यति नै हो । " खाइलाग्दो ज्यानको, होचो डालको जेठो पड्किदै थियो ।
" भो धेरै धाक लाउनु पर्दैन । देख्नाको डाल खानाको काल ।" माइलोले नराम्ररी वचन लायो ।
" बढ्ता नहो है मुखसुख च्याती दिउँला । चोर मोरो ! " जेठो रिसले थर्रर काम्यो ।
" भैगो, जान देओ । " माझीले बिचको बाटो रोज्यो ।
" म नभई त तिमीहरूको कामै चल्दैन बा ! बिहेमा रोजिने पनि मै अनि खोजिने पनि मै हुँ । " साँइलो लजाउँदै बोल्यो ।
साँइलोको भनाई सुनेर कान्छो मरीमरी हाँस्न लाग्यो ।
उत्तिनैखेर कुन सड्को कताबाट एउटा घुस्याहा जस्तो भुस्याहा टोकुला झैँ गरी झम्टिदै आयो । हत्तपत्त पाँच भाइले लौरो बलियो गरी समाए र बजाए ।
" देख्यौ त .... ।" आँखाले अधुरो बोल्यो ।
मुखले वाक्य पुरा गर्यो, " एकताको अपरिहार्यता! "
अल्गानक्विन, अमेरिका ।
२७ / ०९ /२०८०.
+++
४१. लघुकथा- एकतामा विश्वास ✍️ पं.ज्यो. तोयनाथ सुवेदी
परमभक्त व्यक्तिको एकताप्रति ठूलो विश्वास थियो।
एकदिन उनी शिष्यसँग अनकण्टार जङ्गलको बाटो हिड्दै थिए।
हठात् ह्रिंसक जङ्गली जनावर देखा पर्यो । त्यो देखेर शिष्य डराए ,तर ती व्यक्तिलाई भने डर लागेन।
शिष्यले सोधे," हजुरलाई किन डर लाग्दैन?"
ती व्यक्तिले भन्न चाहेनन् ।केवल सङ्केत मात्रै गरे।
शिष्यले त्यो सङ्केत बुझेनन् र बारम्बार जिज्ञासा मात्रै राखे।
गुरुले बाध्य भएर भने, " बाबू! तिमी र ईश्वर अगाडि पछाडि
भएकाले मलाई डर लाग्दैन.......।"
।। समाप्त।।
मिति २०८०/०९/२७/ ६बार राती ११:१० बजे
++++
४०. लघुकथा- राष्ट्रिय एकता ✍️टीकाराम जाेशी इमाडाेल
पुसकाे कठ्याङ्ग्रिदाे जाडाे छल्न चियापसलकाे अगेना छेउकाे न्यानाेमा ताताे चियाकाे आनन्द लिनेहरुमाझ राष्ट्रिय एकता दिवसको बहस चर्केकाे छ।
" रगत राताे नभएकाे मान्छे कतै देख्नुभएको छ?" राजबहादुरले भने।
"कस्टाे नहुने कुरा गर्नुहुन्छ। सबैकाे रगट राटै ट हुन्छ।"झेम्पा जाेसिए।
"हाे ! त्यसैले म भन्छु मान्छेले मान्छेसँग भेदभावपूर्ण व्यवहार गर्नुहुँदैन।"राजबहादुरले भने।
"सबैकाे रगत राताे हुँदैमा सबै एउटै कसरी भए?भाषा , भेषभुषा, जात जाति,चालचलन,रितिरिवाज, परम्परा,मूल्य मान्यता नै फरक फरक भएपछि विचार पनि फरक फरक हुन्छ ।"रामानन्दले तर्क राखे।
"त्याे त आफ्नाे वरिपरिकाे फरक फरक वातावरणमा र समाजमा समायाेजनका लागि मानिसले हासिल गरेका साँस्कृतिक विशेषता हुन्। "राजबहादुरले प्रष्ट पार्न खाेजे।
"जे भन्नुस्। यहाँ काेही धनी त काेही गरीब छन्।गरीबहरु पिल्सिएका छन्। शासकहरु धनी छन्।एकले अर्कोलाई राम्राे विचारले देख्नै सक्दैनन्। कसैले कसैमाथि अन्याय अत्याचार गरिरहेकाे देखेपनि नदेखेझैँ गर्छन्। "रामानन्दले आक्राेश पाेखे।
"हाे !त्यही भएर एकअर्काको प्रति सबैकाे विचार राम्रो हुनुपर्छ।"राजबहादुरले भने।
"असम्भव कुरा नगर्नुस् न। कसरि विचार मिल्छ राम्रो हुनलाई ?" यतिबेलासम्म कुराे सुनिरहेका झेम्पाले मुख खाेले।
"असम्भव भन्ने कुनै कुरै हुँदैन। एकता भए विचार मिल्छ।विचार मिले एकता हुन्छ।
राष्ट्रलाई सबैकाे साझा फूलबारी बनाउनुपर्छ
तब त्यहाँ राष्ट्रियता हुर्किन्छ अनि एकता बलियाे हुन्छ।" राजबहादुरले भने।
++++
३९. लघुकथा- गणतन्त्र ✍️कल्याण पन्त
प्रश्न नं ४ः एकता प्रतीकको सन्दर्भमा पुस २७ गतेको बारेमा लेख्नुहोस् ।
प्रश्न नं. ५ः राजतन्त्र या प्रजातन्त्रको पक्ष या विपक्षमा लेख्नुहोस् ।
कक्षा १२ को आन्तरिक परीक्षा चल्दै थियो । क्रमशः पूरै प्रश्न बाँड्न पाउँदा नपाउँदै हल्लाखल्ला सुनिन थाले । तर यसका बाबजुद पनि परीक्षा सम्पन्न भयो ।
परीक्षा लगत्तै बाहिर गगनभेदी नारा सुनियो -
‘प्रश्नपत्र निकाल्नेलाई कारबाही गर’
‘भक्तिराम मूर्दावाद ।’
हेर्दाहेर्दै टायर बालिए, रेलिङ भाँचिए, भवनहरुमा समेत आगोको मुस्ला देखिए । यता दुई घन्टा नबित्दै परीक्षा रद्द गरियो र विषय शिक्षक भक्तिरामसित स्पष्टीकरण लिइयो । उनले दबेको स्वरमा भने, ‘मैले पाठ्यपुस्तकै प्रश्न निकालेको हुँ ।’ तर उनका कुराहरू सुनिएन ।अन्ततः भोलिपल्टै अर्का जल्दाबल्दा शिक्षकलाई नियुक्त गरियो ।
‘ यति जाबो प्रश्न पत्रको निहुँमा एकैछिनमा यस्तो तहसनहसको स्थिति कसरी भयो ?’ पर्सिपल्ट हामीले चासो लिएर सोध्यौं ।
एक मित्रले सासले बोलें, ‘०६२/०६३ को उपलब्धी !’
+++
३८. लघुकथा- चनाखो ✍️श्रीप्रसाद पोखरेल
"लौ घर छाउने टिन म किनिदिन्छु" श्रीधरले भनेका मात्र के थिए,सुब्बाले "म सिमेन्टी किनिदिन्छु " भने ।
सहायता खोजिरहेका छेदिलाल,दनदनी आगो बलेर थुप्रोलागेको खरानी नजिक बसेर गाउँलेको कुरा सुनिरहेका थिए । राई कान्छो र अन्सारीले श्रमदान गरिदिने भए। कृष्णे भने बिचैमा उठेर हिड्यो ।धेरै नसक्नेले अलिअलि आर्थिक सहयोग गर्नेभए । लामादाइले श्रमदान गर्नेहरूलाई खाना खुवाउने भए । छेदिलालको घर बन्ने भएको आभास पाएर "कसैले हाम्रो एकतामा भाँजो नहालोस" सुनार कान्छाले भने ।
श्रीधरले बिचार राखे, "चार जात छत्तीस वर्णको साझा फूलबारीमा सँधै हामी चनाखो हुनुपर्छ ।
२०८०/०९/२६
इटहरी, सुनसरी
++++
३७. लघुकथा- एकलकाँटे ✍️सुनिता निरौला पौडेल
" ए ! काइँला , हिँड है काम गर्न जाउँ । "
"जादिँन है दाजु ! तिमी नै जाउ ,म त आफ्नै खेतमा काम गर्ने हो ।"
"तँ त कस्तो एकल काँटे हौ केटा , कुनै कुराको सल्लाहमा कतै पनि मिल्दैनस् ।
हामी गाउँले दाजुभाई छ सात घर मिलेर खेत रोप्छौँ " । "
“ गाउँ समाजमा एकजुट भएर बस्दा पो राम्रो हुन्छ ।एक्लै यसलाई कस्तो रमाइलो लागेको होला ? जति भन्दा नि नहुने ,बुझ्दै बुझ्दैन यो।"
यसरी गाउँलेले जुनसुकै काम गर्न समुहमा बोलाउँदा काइलाले अटेर गरेको थियो।
आज राति गाउँघरमा हात्तीको हुलहरु खेतबारीतिर पसे । सबै गाउँलेहरू मिली आ-आफ्नो खेतमा बसी हात्तीलाई भगाएर खेतबारी बचाउन सफल भए ।
"लौन गुहार ...गुहार ! त्यस्तो दुःख गरेर रोपेको धान हात्तीको हुल पसेर सखापै पार्यो " काइँलाले आत्तिदै भन्यो ।
भक्तपुर ः राधे राधे ,निकोशेरा ।
हाल ः अस्ट्रेलिया , क्यानवेरा ।
२०८० - ०९ - १७ गते ।
+++
३६. लघुकथा- एकता ✍️शान्ता तिम्सिना
जेठाबाको मृतु पश्चात् दुइ भाइको मन मिलेन । बिस्तारै झगडाले उग्र रूप लियो ।
फाटो पार्नुमा गाउलेकै भुमिका थियो । दुई भाइको मित्रतामा आरिस गर्थे उनीहरु । जिउनीको बिषयलाई लिएर गाउलेहरु उपस्थित भए ।
गाउँमा कुरा काट्ने माध्यम बन्यो उनीहरुको झगडा । पक्ष विपक्षमा भए गाउँलेहरु । मन छुट्टियो , धन छुट्टियो , सबै कुरा आधा आधा बाँडियो ।
दुबै एक अर्काको साथ सहयोगबाट टाढा रहे । माया त के ? रिसको आबेगमा भेटघाट र देखादेख नै नगर्ने कुरा गर्दै थिए उनीहरु । गाउँलेको कुरामा स्वार्थ भएको बुझ्यो भाइले । गलत सोचको तत्काल मूल्याकंन गर्यो ।
एक्कासी सोच्यो , " ओहो ! दाजुको त मृगौला पो बिग्रीएको थियो त , यदि केही भैहाल्यो भने ! मेरो त आफ्नो कोहि हुँदैन नि ! नम्र भएर भाइले भन्यो ," जाउँ दाजु ! यहि जिउनी बेचेर हजुरको उपचार गरौ ।"
उपस्थित सबै गाउलेहरु हेरेको हेरै भए कोहि बोलेनन् । दाजुले भाइलाई आँगालो हालेर रुदै भने ,
" रगतको नातामा कुनै स्वार्थ हुदैन , अर्काको कुरा सुन्नाले झन्नै हामी टाढा भयौ । अबको हाम्रो साथ कहिल्यै नछुटोस्। दाजु भाइ जस्तो नजिकको नाता अरु को नै छ र ? भिडबाट आवाज सुनियो ।
" दाजु भाइको जस्तो एकता कस्को हुन्छ र ?"
+++
३५. लघुकथा- एकता ✍️नारायण कोइराला
रिसाएकाहरु एक ठाउँमा जम्मा छन त! एकता दिवस होकि?कसैको मृत्यु भयो?
म आत्तिदैं नजिक गएँ।एक अर्काले मुखामुख गर्दै थिए। प्याट्ट बोल्न मन लागेको थियो।चुप बस्न ठीक माँने। सबैले आफ्नो मत राखे कुरो मिल्यो।
हत्तेरी!!रिसाएकामा एकता हुनुको कारण त गाउँको विकासमा पार्टिका नेतालाई भागबन्डा लगाउन पो रहेछ ।
तानसेन,पाल्पा
+++
३४. लघुकथा- चन्द्रागिरी ✍️रुद्र अधिकारी ‘निर्दोषी’
“कता हो शरद जी हुल बाँधेर ?” रुपेशले सोध्यो।
“केटाकेटीले केवलकार चड्न सारै रहर गरे त्यसैले चन्द्रागिरी डाँडा तिर यसो..जाउ भनेर हिडेका।” शरदले जवाफ दिदै रुपेशलाई जान निमन्त्रण समेत गरे ।
रुपेशले असमर्थता जनाउदै कारण पेश गरे “मलाई पनि केटाकेटीकी आमाले “लभ साईन”मा फोटो खिच्न जाउ, म केवलकार चढेको टिकटक बनाउछु भनेर हत्तू हैरान गरेको छिन । हिजो सम्म थाहा दिनुभएको भए जान सकिन्थ्यो….”
रुपेशको नजाने संकेत बुझे पछि “हस त हामी लाग्यौं ।“ भन्दै शरदका परिवार बाटो लागे ।
बाटामा शरदकी श्रीमतीले सुस्तरी श्रीमान् लाई सोधिन “के हो बुढा ! आज एकता दिवस र पृथ्वी जयन्ती हो । पृथ्वी नारायण शाहले चन्द्रागिरी डाँडा बाट काठमाण्डौं उपत्यकाको मनोरम दृष्य देखें पछि उपत्यका आक्रमणको योजना बनाएका थिए रे । तत्पश्चात् नेपाल एकिकरण सम्भव भएको थियो रे । एकता दिवसको नाममा भाषण गरेको सुन्नु भन्दा, यस्तो ऐतिहासिक ठाउंमा जाउ, केटाकेटीले पनि इतिहासको बारेमा शिक्षा पाउछन । राष्ट्र निर्माता प्रतिको सम्मान पनि हुन्छ, भन्नु भएकोले हामी चन्द्रागिरी जान लागेको होईन ? फेरी किन रुपेशबाबुलाई “केटाकेटीले केवलकार चड्न सारै रहर गरे, त्यसैले जान लागेको भनेर किन ढाट्नु भएको? केटाकेटीले केवलकार त भर्खरै मनोकामना चढेकै थिए त ?”
शरदले यता उता हेरे र जवाफ फर्काए“बिस्तारै बोल, एकता दिवस मनायो भन्ने थाहा पायो भने पार्टीले कारबाही गर्छ के !”
शुक्रवार, पौष २७, २०८०
+++
३३. लघुकथा- अन्तर्मनको आवाज ✍️ एलपी पराजुली
"खबरदार अघि नबढेस् "
आदेश दिँदै छातितर्फ बन्दुक तेर्सियो । शान्तिरामले गेटभित्र चिहायो । केही क्षतबिक्षत शव छरपस्ट देख्यो ।
जिज्ञासा र त्रास बीच सैनिक कड्क्यो ।
"को होस् तँ ?"
"म यो देशको नागरिक ।"
"प्रमाण ??? "
सैनिकले उसको पहिरन नियाल्यो ।
त्यहाँ बिदेशी सुट थियो, दौरा सुरुवाल थिएन ।
कम्मरमा पेटी थियो, पटुकी थिएन, खुकुरी थिएन ।
चस्मा, घडी र ब्रासलेट थियो, तर चन्द्रसूर्य अङ्कित चिन्ह थिएन ।
शिरमा हेर्यो ह्याट थियो, नेपाली टोपी थिएन ।
मुसुक्क हाँसेर सैनिकले गेट खोलिदियो ।
भित्र छिर्नेबित्तिक्कै घृणाले थुक्दै गरेका केही मान्छे देखिए । उनीहरु शान्तिरामलाई अङ्कमाल गर्न खोज्दै थिए ऊ भने रिसले मुर्मुरियो । थुकुवाहरूलाई टोकूँ टोकूँ लाग्यो, ठोकूँ ठोकूँ लाग्यो । हतियार केही नभए पनि आवेगमा उसले त्यो झुन्डमाथी आक्रमण गर्यो ।
"जय गोरखकाली ... "
सिंहनाद गर्दै मुड्की हान्यो, लात्ती हान्यो । धेरैलाई पछार्यो । आफ्नै चिच्याहटले जब बिउँझ्यो दु:स्वप्न रहेको थाहा पायो ।
उसले लामो सुस्केरा छाड्यो । सपना सत्य थियो । नेपालीपन झल्काउने ऊसँग केही पनि थिएन । थियो त केबल एउटा नेपाली मन मात्रै । आफूलाई धिक्कार्दै उसले भित्तामा हेर्यो । क्यालेन्डरको फोटोले औंला उठाएर एकताको सन्देश दिँदै थियो ।
शान्तिरामका दुबै हात फोटोको सम्मानमा उठे ।
"एकताका सूत्रधार ! नेपाल राष्ट्रका निर्माता, नेपालीका पहिचानदाता , हे पृथ्वी ! तिमीलाई अन्तर्मनको नमन छ । तिमीलाई करोडौं नेपालीको श्रद्धा छ । "
कपन, काठमाडौं
+++
३२. लघुकथा– रोगी एकता ✍️लक्ष्मी रिजाल
‘हाम्रा राजाले देश जन्माए र पो तँ जनता बन्न पाइस् ।’ मेरो अहङ्कारलाई थप्पड लगाउन फुपूले भन्नुभयो ।
जवाफ फर्काऊँ भने नखरमाउली कहलिउँली भन्ने भयले चुपचाप सुसेधन्दामा जोतिइरहेँ ।
‘हाम्रा राजाले दुःख गरेर आर्जेको यत्रो विशाल मुलुकलाई तेरा राजाले चर्काउन थाले ।’
फुपूको यस्तो विषबमन नरोकिँदा मैले सकस अनुभव गरेँ ।
‘मेरा साना दुःखले आर्जेको मुलुक होइन । सबै नागरिकको रगत, पसिना र सहासले बनेको मुलुक हो ।’ भन्ने आशय स्वयम् राष्ट्रनिर्माताले भनेको स्मरण गर्दै मैले भनेँ; ‘राजाको लगानी इतिहासमा मात्रै सीमित पार्नुहुन्न । वर्तमानमा समेत सबैले मान्नुपर्छ । यसो भन्दैमा जनताको हैसियत सती जाने ठान्नुहुन्न ।’
फुपूले थप्नुभयो; ‘तँ पनि लाटी नै रैछेस् ।’
म अलमलमा फँसेँ ।
प्रष्ट्याउँदै फुपूको स्वर सुनियो; ‘राजा नेता हुँदा देश फुलेको थियो । जनताको एकता रोगाउँदा यी च्याउ सरिका नयाँ राजा पो मोटाए ।’
२०८०.०७.२९ रुपनगर, सप्तरी ।
०००
+++
३१. लघुकथा– अँजुली ✍️अक्षान्त
‘सोचेर हैन घोचेर बोल्नेको मुखमा महला लगाएरै छाड्छु ।’ यसो भन्दै हिँडेको बासु काकाको छोरो आज सत्र वर्षपछि घर आइपुग्यो ।
घरमा उमङ्गको वर्षा भयो । छिमेकमा रुवाबासी सुरु भयो । उसका दौतरीहरूले सामुमा उभिएर हात जोडिरहे । छोरो भने सबैको मुहार नियाल्दै र चिन्दै हात मिलाउँदो भयो । सबैले उसको माया मारेका थिए । उसको अनुहार हेर्न त्यहाँ मेला नै लाग्यो ।
‘सत्र वर्षसम्म तँलाईं आमाबाको याद आएन बाबु ?’ मजेत्राले आँखाको डिल सफा गर्दै प्याकुली काकीले मुख खोलिन् ।
छोराले जवाफ दिनै पाएको थिएन हात जोड्दै दुई जना मानिस टुप्लुक्क देखा परे ।
‘हाकिम साहेव, यसलाई घर पायक सरुवा नमिलाई भएन । यसकी श्रीमती दीर्घरोगी भई । यसले भरथेग नगरे परिवारकै जहाज डुब्ने भयो ।’ एउटाले बिन्ती बिसायो ।
छोराले कार्यालयमै भेट्नुहोला भनेर पठायो । छोरो आफ्नै जिल्लामा हाकिम भएर आएको बुझेपछि काकाकाकीको मनमा ढकमक्क गुराँस फुल्यो ।
उपस्थित सबैले कसरी हाकिम भइस् भनी प्रश्नसूचक नेत्रले हेरिरहे ।
स्पष्टीकरणमा छोराले भन्यो– ‘अनेक मान्छेले मलाई आफ्नो अँजुलीमा थापे ।’
०८०–०९–२७ सिद्धार्थटोल, उदयपुर ।
+++
३०. लघुकथा– एक्लो बृहस्पति ✍️राजेश विद्रोही
‘बलियो प्रमाण प्रतिपक्षको हातमा छ । तपाईंहरूको हातमा कोरा बोली छ; त्यो पनि आफू र आफन्तको ।’ वकिल टक्टकिए ।
मैले जिद्दी गर्दै भनेँ; ‘अन्यायले न्यायको घाँटी दाब्नुभएन वकिल साहेब ।’
‘तपाईंहरूको खाल्डोमा आँखा चिम्लेर हाम फाल्न सकिन्न । सरासर हार्ने खेल खेल्ने खेलाडी होइन म ।’ वकिलले स्पष्ट पार्न खोजे ।
एक्लो बृहस्पतिलाई झुटो नठान्न मैले अडानलाई लिएँ । सत्यको पाउ कसै गरी नडगमगाउने पूर्ववत् सोचलाई मलजल लगाइरहेँ । धेरै जना सत्य पक्षधरले एक स्वरमा मलाई उकासी रहे ।
फलतः मुद्दा लड्न र मलाई जिताउन तयार भए वकिल ।
०८०–०९–२७ लहान, सिरहा ।
+++
२९. लघुकथा- एकतामा सफलता ✍️गणेशकुमार अधिकारी
कुनै एउटा गाउँमा रामवीर र मानवीर नामका दाजुभाइ थिए । दुवैले एस एल सी पास गरेका थिए । रामवीरको विवाह रमिलासँग र मानवीरको माधवीसँग भएको थियो । एक दिन मध्यपहाडी लोकमार्गमा गाडी दुर्घटनामा मातापिता दुवैको दुखद निधन भएपछि पारिवारिक बोझ दुई भाइमाथि आइपर्यो । उनीहरूको पढाइ पनि अवरुद्ध भयो । उनीहरू मध्यमवर्गीय किसान भएकाले मुख्य पेशा नै कृषि थियो ।
रामवीर र रमिलाका रवि र रक्षा तथा मानवीर र माधवीका मानुषी र मनिष गरी आठजनाको संयुक्त परिवार आफ्नो व्यवहार धान्दै थियो ।चार सन्तानमध्ये मानुषी र रवि स्नातक तह प्रथम वर्षमा र रक्षा र मनिष नौ कक्षामा पढ्थे ।
पहाडी गाउँ , पातलो बस्ती त्यसमा पनि बेरोजगारी समस्याले आहत युवा दस्ता विदेशिन वाध्य थिए । गाउँघरमा मजदुरहरूको अभाव भयो । बाली लगाउने र भित्र्याउने समयमा समस्या देखिन थाल्यो । जेठी छोरी मानुषीले एक दिन बेलुका आफ्नो पारिवारिक बैठकबस्ने प्रस्ताव गरिन् । रामवीरको अध्यक्षतामा बैठक बस्यो , सञ्चालन मानुषीले नै गरिन् । मुख्य प्रस्ताव `मजदुरको अभावमा कसरी खेती गर्ने ´ र `पढाइ कसरी चालू राख्ने ´ भन्ने थिए ।
छलफल सुरु भयो ।जनशक्तिको अभावमा खेती सम्भव हुँदैन ; निश्चित समयमा नै खेती लगाउने र उठाउने गर्नुपर्छ । कतिले खेती पेशा त्यागेर अर्को कुनै पेशा अँगाल्ने प्रस्ताव पनि गरे ।अन्तत: पेशा बदल्न नसकिने टुङ्गो लाग्यो । जनतामा क्रयशक्ति नै छैन त्यसैले जग्गा बिक्दैन भन्ने भयो ।
निचोडमा मानुषीलेआफू इतिहासकी विद्यार्थी भएकोले एकतामा ठूलो बल हुने कुरा प्राध्यापकबाट सुनेकी थिइन् । पृथ्वीनारायण शाहका बारेमा पढ्दा रैतीबाट एक-एक रुपियाँजम्मा गर्दा विशाल कोष खडा भएको र सबैजनता जुट्दा विशाल फौज तयार भएको अनि विजय हासिल गरेको ऐतिहासिक तथ्यले उत्साहित भएको बताइन् । हामी परिवारका सबै सदस्य मुख्य काममा एकजुट भई गर्ने र अरू समयमा आफ्ना नियमित काममा फर्किने भन्ने कुरनमा सबैको चित्त बुझ्यो । यो कुरा ताली पड्काएर पारित गरियो । त्यस परिवारले `एकता नै बल हो र सफलताको सुन्दर उपाय हो ´भन्ने कुरा सावित गरेको थियो ।
रचना मिति : २०८०।०९।२४ मा
सिराहा, बन्दिपुर
+++
२८. लघुकथा~ राजा ✍️नन्दलाल आचार्य
"तपाईंले यत्ति धेरै क्षेत्रमा किन अनुहार देखाउनु परेको होला ?"
वैद्यखाना निरीक्षण गरिरहँदा अघिदेखि मनमा उब्जेको प्रश्न अहिले मेरो मुखबाट फुत्त फुत्किहाल्यो । शेर्पा दाइ भने निरुत्तर काममा जोतिइरहे ।
मदन भण्डारी, मनमोहन अधिकारी, बिपी कोइराला, नारायण गोपाल, पासाङल्यामु शेर्पा आदिका पेरिस माटाका मूर्तिहरू मलाई हेरेर मुस्कुराउँदै मानौं भन्दै थिए; "भाइ, हामीलाई तिम्रा अघि जिउँदो राख्ने कर्मठ हातहरूलाई चुम।"
अनेक आकृतिका शिवलिङ्ग र बुद्धका अनेकौं भावभङ्गीका काष्ठमूर्तिले मानौं मेरो थाप्लोमा हात राखेर भन्दै थिए; "सत्यको बाटो हिँडेर सत्यलाई नै साथ देऊ ।"
शेर्पा दाइकै कुचीले सिङ्गारिएका फ्रेबिक पेन्टिङबाट निर्मित प्रकृति, बुद्ध ,हनुमान, बाली, शिव, शिवपार्वती, गणेश, गिरिजा, सुशील कोइराला, कृष्ण, यशोदाकृष्ण आदिका चित्रहरूले पनि कलाकारिताको अद्वितीय छटा दर्शाइरहेका थिए । वैद्यखानाका अनगिन्ती जडिबुटीहरूले सबैको आरोग्यताको कामना गरिरहेको अनुभूत हुन्थ्यो । दाइको मुखराबिन्दबाट मधुर वाणीमा भनिएका तन्त्र, मन्त्र र जन्त्र श्रवणले आधा बिमार चट्ट भएको आभास हुन्थ्यो ।
"देशविदेश छोराछोरी पुगेको, धनधान्यले पुगिसरी आएको, नब्बेतिर तानिँदै गएको बुढ्यौली अवस्थामा अब केको लन्ठ्ठा बिसाएको ?" अकस्मात मैले पुनः अर्को शब्दवाण चलाइहालेँ ।
उनको सहज उत्तर थियोे; "सबैको सहयोगले आफ्नै धरतीले जन्माएको हो यो वैद्यखाना । सबैको समर्थन पाएर मनको राजा हुन खोज्दा जन्मेको हो यो कलाकृति !"
२०८०-०९-२०/२१ (रौतामाई गा.पा. ९, मुर्कुची, उदयपुरको जमिनमा उभिएर सिर्जित)
+++
२७. लघुकथा- एकता दिवस ✍️ललिता ‘दोषी’
धीरेन्द्रले दलित बस्तीमा भाषण गर्दागर्दै यस्तो टुक्का पनि गाँसे—
‘हामी सबै एकै हौँ नि ! छैनौँ कोही पर
सबको रगत रातै हुन्छ नछुट्ट्याऊ थर ।’
उनको भनाइ सुनेर सबैको रगत उम्लियो । गडगडाहट ताली पनि बज्यो । स्कुलमा साह्रै मिल्ने नवीन परियार र रोहित क्षेत्री पनि खुसी भए । परिवारको डरले टाढा बसेका उनीहरू दौड्दै आएर अङ्कमाल गरे ।
नवीनले खुसी हुँदै भन्यो- “रोहित अब हामी छुट्टिनु नै परेन । हाम्रो घरमा सबैजना छिरेजस्तै मलाई पनि उनीहरूको घरमा छिर्ने साह्रै रहर छ नि !”
“अब पक्कै छिर्न पाउँछौँ । ल हिँड हाम्रो घरमा गएर क्यारेमबोर्ड खेलौँ ।” रोहितले भन्यो ।
दुवै अलि छिटो हिँडे । कोठाभित्र छिर्दै नवीनले भन्यो- “वाऊ ! कति राम्रो कोठा सबैको कोठा यस्तै हुन्छ त ?”
रोहितले हाँस्दै उत्तर दियो- “अब तिमी आफैँ गएर अरूको कोठा हेर । गडजस्तै मेरो बाबाले भनेपछि सबैले मानिहाल्छन् नि !”
नवीनले पनि ‘हो अङ्कल गड नै हो’ भन्यो । दुवै हाँसीखुसी खेल्दाखेल्दै साँझ झमक्क प¥यो । धीरेन्द्र भित्र छिर्दै चिच्च्याए- “ए पाजी दलित, खुरुक्क बाहिर निस्किहाल ! अब देउ पितृ नै भाग्ने भए ।”
नवीन रुँदै घरतिर दौडियो । रोहित रिसाउँदै भन्यो- “नवीनलाई किन गाली गर्नुुभएको ? हजुरले नै आजदेखि हामी एक हौँ । हामी एक भयौँ भने देश उँभो लाग्छ । जात नछुट्ट्याऊ । एकता दिवसको नारा यही हो । यस्तै केके भन्नुभएको होइन ?”
धीरेन्द्रले छोराको गालामा चड्कन हान्दै भने- “आठ वर्ष नपुगेका चल्लाहरूले पनि भाषण बुझेछन् । त्यो भाषण त केवल भोट तान्नका लागि मात्र हो । नवीनेजस्तालाई भित्र हुल्नका लागि होइन बुझिस् पाजी !”
२०८०।९।२६ बुद्धनगर काठमाडौँ
+++
२६. लघुकथा- होस्टेमा हैंसे ✍️निर्मला बराल
तँ सुतेरै मात्र बस्ने?”
“तँ चौबिसै घण्टा मोबाइलमा झुण्डिने?”
“तँ दश दुनियाँ बरालिदै हिड्ने?”
“तँ दादागिरी गर्दै मात्र हिँड्ने?”
घरमा भएका चारै छोरा बेगारी थिए। स-साना कुराहरुमा उनीहरुबीच सँधै झगडा भइरहन्थ्यो। छोराहरुको चर्तिकला देखि वाक्क दिक्क भएका बृद्ध बुवा एकदिन जंगिए।
“ए बेकम्मा भाते हो, चुप लाग्छौ कि भकुरौं तिमेरुलाई ? मिलेर बसौं भन्ने तिमीहरुको शब्दकोषमा छैन? अब यसो सघाऔं भन्ने पनि छैन, म बुढोले कहिलेसम्म खटेर बस्ने खेतबारीमा? बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काँधैमाथि... !”
बुवाको कुरा सुनेर चारै जनाले एकस्वरमा प्रतिक्रिया जनाए ।
“के पो काम गर्ने र बा हामीले?”
“हेर छोरा हो, काम त कति छ कति! तर तिमीहरुले एक भएर गर्नसक्नुपर्छ ।”
बुवाको कुरा सुनेर सबै छोराहरु शान्त भए। त्यही बेला, भित्तोमा कमिलाको ताँती एउटा मरेको झिंगो चारैतिरबाट होस्टेमा हैंसे गर्दै कोही ठेल्दै कसैले तान्दै गन्तव्य तर्फ अघि बढ्दै थियो । चारैजना छोराहरुको आँखा त्यही कमिलाको ताँतीमा पर्यो। कमिलाहरुको त्यो एकताको बललाई, कमिलाहरु ओझेल नहुन्जेसम्म उनीहरुले हेरिरहे।
भोलि बिहान घर शान्त थियो। बुवाले झ्यालबाट नजर दौडाए । उनले देखे चारैजना छोराहरु हातमा कुटो र कोदालो बोकेर खेततिर लम्किदै थिए ।
२०८०| ९| २७ गते
(भक्तपुर सानो ठिमी)
“
+++
२५. लघुकथा- बल ✍️सुरेशकुमार पाण्डे
होइन ताराप्रसादको घर बलियो छ।अलि जित्न सक्ने ठाउँबाट अभियान सुरू गरौँला।त्यस्तो ठाउँ हेरौँ न बरू !- मनकुमारले सामुहिक ठग बैठकमा भन्यो।
म भनौँ सर? - उदयले आफ्नो बिचार राख्ने अनुमति माग्यो।
भन तिमीले पनि।-मनकुमारले उदयको मत बुझ्न खोज्यो।'
अहिले हाम्रो यो लुटको कारोबार गर्न पहिलेको जस्तो सजिलो छैन। जनता पढेलेखेका र सचेत भएकाछन्।यदि गर्ने नैहो भने ज्वालासिहँको घरबाट सुरू गर्दा हामिलाई धेरै फाइदा हुनसक्छ।-उदयले आफ्नो प्रस्ताब राख्यो।
कस्तो नहुँने कुरा गरेको तिमीले?ज्वालासिहँ यो गाउँमा सबैभन्दा बलियो व्यक्ती मध्यका हुँन।बरू हामिले धम्काएर भएपनि काबु गर्नसक्ने ठाउँको तलास गरौँ।
-मनकुमारले कोखे नजरले उदय तिर हेर्दै भन्यो।
"हो सर ! उनिहरू पहिले बलिया थिए। तर अब उनिहरू यो गाउँमा सबैभन्दा कम्जोर छन्।-उदयले मुस्कुराउँदै भन्यो।
त्यो कसरी?-मनकुमारले सटिक प्रश्न गर्यो।
अहिले उनिहरू तिनौँ भाई छुट्टिए र एक आर्कासँग राम्रो छैन।
एउटा भाईलाई आर्को सँग झ्यास्सै लडाउँन सकिन्छ।
त्यसैले हामिले उनिहरूको अन्एकताबाट फाइदा लिन सजिलो छ।-उदयले खांटी कुरा भन्यो।
दाङ घोराही १८
३०-१२-२०२३(१४ पौष २०८०)
+++
२४. लघुकथा- वीरांगना ✍️शु्क्रराज कुँवर
ढ्याम्म...! ढ्याम्म...! नालापानी किल्लामा चारैतिर बाट तोपका गोला बारुद बर्साउँदा समेत गोर्खाली सेनालाई परास्त गर्न नसके पछि अङ्ग्रेज सेनापति कर्णेल माबीले आक्रोश पोख्दै भने -
" किल्लाको पर्खाल भन्दा गोर्खाली सेनाको छाती अभेद्य रहेछ ।उनीहरुको पराक्रम अगाडि हामीले दुई चरण युद्ध हारिसक्यौँ ।सेनापति जर्नल जेलप्सी लगायत कैयौँ वीर योद्धाले वीरगति प्राप्त गरे ।यस्तो हताहत, हाम्रो जस्तो कहिल्यै सूर्यास्त नहुने ब्रिटिस सम्राज्यको लागि लज्जाको विषय हो ।"
" युद्धबाट गोर्खालाई हराउन सकिन्दैन । उनीहरुको एकतालाई तोड़न कुटनीतिक चाल नचली हुँदैन ।" कर्णेल माबीले अन्तिम निष्कर्ष निकाले ।
नयाँ चाल रच्दै अङ्ग्रेज सेनाले किल्लामा जाने पानीको मुहान अन्यन्त्र फर्काइ दिए । गोर्खाली सेनामा विपत्ति आइलाग्यो । भीषण तोप आक्रमणको बिच पानी खान नपाएर धेरै गोर्खाली सेना हताहत भए ।
किल्ला भित्र रसद पानीको अभाव र थप सैनिक मद्दत आइनपुगेको कारण सेनापति बलभद्र कुँवर किल्ला छाडन बाध्य भए । उनले एकजना घाइते महिलालाई उद्धार गर्न खोजे । तर उनले भनिन् - " सेनापति ! तपाईँ अर्को ठाउँमा मोर्चा खडा गरेर फिरङ्गीलाई धपाउनु होला । म एक मुठ्ठी सास छउन्जेल यहीँ बस्न्या छु । एकजना भए पनि फिरङ्गीको नाश गर्न्याछु ।"
वीर बलभद्रले किल्ला छाडेपछि अङ्ग्रेज सेना डराइ डराइ किल्ला भित्र प्रवेश गरे । त्यहाँको अवस्था भयानक थियो । यत्रतत्र लाश छरिएको थियो । कोही ऐया...! ऐया...! पानी ...! पानी...! भन्दै कराइरहेका थिए । पर्खालको एउटा कुनामा एउटी सख्त घाइते महिला ऐया...! ऐया...! गर्दै थिइन् । उनको छातीमा एउटा बालक लपेटिएको थियो - निस्प्राण ।
ती महिलाको प्याकप्याक परेको अवस्था देखेर एउटा फिरङ्गी सैनिकले टुमलेटको पानी खुवाउन खोजे । तर उनले छेउमा रहेको खुँडाले उसको प्राण हरण गर्दै गर्जना गरिन् - " अघि पानीको मुहान काटिस् ! तँ जस्ता कायर अधर्मीको हातको पानी खान्या मेरा स्वाभिमानले दिन्या छैन ।"
बलभद्र पथ,धरान १०
२०८०/०९/२७
+++
२३. लघुकथा- एकता ✍️रचना शर्मा
"हाम्रो एकता जिन्दावाद !"
"जिन्दावाद, जिन्दावाद!"
"एकता अझै कायम रहोस् !"
"कायम रहोस् , कायम रहोस् !"
यो नारा लगाएपछि क्याप्टेन ग्रीफ्लाइले फोहोरको डंगुरमाथी बसेर ठूलो स्वरमा भन्यो, "हेर साथीहरू ! हाम्रो एकताले गर्दा नै आज हाम्ले सफलता हासिल गरेका छौं । हाम्रो कारणले यो शहरका धेरैजसो मान्छेमा हैजा लागेको छ । आजभोलि यिनीहरूको बास अस्पतालको शैयामा छ।"
सुन्नेजति सबै माखा गदगद भए र परर्र ताली बजाए ।
"हाम्रो अस्तित्व युगौंयुग कायम रहनुपर्छ । त्यसैले अब हैजा लाग्न बाँकी रहेका सबै घर छानबिन गरेर त्यतैतिर लाग्नुपर्छ !" ग्रीनफ्लाइ फेरि बोल्यो ।
"मान्छेले गर्दा हाम्रो अस्तित्व कायम रहेको छ भन्ने कुरा खोइ यिनीहरूले बुझेको ?"
सबैकुरा सुनिरहेको कमिलाको टोलिनेता ब्ल्याक इन्सेक्टलाई माखाहरूको फोहोरी विचार मन परेन ।
"बोलेर होइन दादा, अब गरेर देखाऔं । सकारात्मक सोचौं मान्छेलाई बचाऔं !"
चिल्लो कमिलाले मसिनो स्वरमा इसारा गर्यो ।
पल्टनका पल्टन कमिलाहरू उत्तिखेरै जुटे । भाषण गर्दै गरेको ग्रीनफ्लाइ डङ्रङ्ग ढलेपछि माखाहरूको एकता तितरबितर भयो ।
+++
२२. लघुकथा- विकास ✍️सविता भट्टराई
"बा! हाम्रो गाउँ मा पनि पल्लो गाउँ को जस्तो विद्यालय बनाऊ न?' सन्तोष ले आफ्ना बुवा रामहरि लाई जिज्ञासा पोख्यो।
"हुन्छ नि बाबु!भोलि पल्लो गाउँ घुम्न जाऊ है?" बा को कुरा सुनेर सन्तोष दंग पर्यो।
भोलि पल्ट दुवै बाबुछोरा पल्लो गाउँ घुम्न गए।फराकिलो बाटो, उच्च मावि भवन ,ठुला ठुला पसलहरु ,बाटोको ठाउँ ठाउँमा पानीको व्यवस्था,बिजुली बत्ती आदि शहर बिर्साउने विकसित गाउँ भन्दा फरक न पर्ला।रामहरि छक्क पर्दै वरिपरि हेरि रहेका थिए ।
आफ्नो गाउँ शहरबाट नजिकै भएर पनि केही व्यवस्था,विकास न भएको । तर यो पल्लो गाउँ एती टाढा भएर पनि कति छिटो विकास भएको ।
घुम्दै घुम्दै ऊ आफ्नो साथी किस्ने को घरमा पुगेर सोध्छन्" कृष्ण
भनत ! तिम्रो गाउँ को बिकाश त अचम्म गरी कति चाँडै भयो कसरी????
कृषनेले हाँस्दै जवाफ दियो"हेर!हाम्रो गाउँमा एकता छ।एकताको अर्को अर्थ नै विकास हो।तर तिम्रो गाउँमा एकता छैन।
रामहरि ले बल्ल एकतामा लुकेको शक्तिको बारे मा बुझे।
जनकपुरधाम
मिति/२०८०/९/२७गते शुक्रबार
+++
२१. लघुकथा- जातीय राज्य ✍️डा. पुष्करराज भट्ट
नयाँ संविधानको निर्माण गर्नका लागि संविधान सभाको निर्वाचन भयो । विभिन्न राजनीतिक समूदायले यसमा भाग लिए र एकप्रकारको नतिजा समेत आयो ।
राजनीतिक दलका आआफ्ना एजेन्डा थिए, उनीहरूका बिचमा आआफ्ना एजेन्डा पास गराउनमा ठूलै कसरत चलिरहेको थियो ।
कतिपय राजनीतिक एवम् जातीय समूह एवम् संगठन जातिय राज्यको पक्षमा थिए । उनीहरू नेपाललाई विभिन्न जातका आधारमा राज्य गठन गर्ने र त्यसैको आधारमा संघियता सञ्चालन गर्ने पक्षमा आफूलाई उभ्याइरहेका थिए ।
“यो भूगोल हाम्रो जातको ।”
“कहाँ तिमीहरूको हुन्छ, यो त हाम्रो पुर्खादेखिको थलो, त्यसै कहाँ छोड्छौं ।” विभिन्न जातिका बिचमा यसरी झगडा चलिरहेको थियो ।
“हाम्रो राज्य आएमा तिमीहरूलाई केही प्रतिशत आरक्षण दिन्छौं ।”
“हैन, हैन, हामी तिमीहरूलाई आरक्षण दिन्छौं ।”
जातीय नेताहरू बिच दन्तबझान जारी थियो ।
कतिपय जातिवादी नेताहरू आफ्नो जातको राज्य नभए देश टुक्रा पार्ने चेतावनी दिइरहेका थिए । समाजिक एकता खतरामा पुगिसकेको थियो ।
जातीय भावनाले देश बिग्रने कुरा धेरैले महसुस गरे । समाजमा यसको विपक्षमा जनमत निर्माण भयो । जातको आधारमा राज्य गठन हुने कुरा लागु भएन ।
एकदिन जातीय राज्यका पक्षधर रहिसकेका एकजना नेताजीसँग भेट भयो ।
“तपाईँहरूले उठाएको जातीय राज्यको एजेन्डा त पास भएन नी ?” मैले प्रश्न गरेँ ।
“हेर्नुस् भाई, यो हाम्रो एजेन्डा थिएन । कतिपय नेताहरूले यो कुरा उराले । हामीलाई सबले आफ्नो राज्य लिन थालेपछि हामी पनि के कम भन्ने भावना जाग्यो, त्यै भएर हामी त्यसको पक्षमा लागेका हौं । हाम्रो जातको भएन त के भयो ? अरु कसैको पनि त भएन । सबै समेटने गरी भएपछि हामीलाई मात्र के छ र ? हामी त त्यतिबेला भावनामा बगेका न हौं । आखिर हामी सब नेपाली न हौं ।” उनी बोल्दै गए, म सुन्दै गएँ ।
+++
२०. लघुकथा- परिणाम ✍️उमानाथ दाहाल
" चित्र गुप्त! यो मनुवालाई सात दिनसम्म चिसो छिँडीमा राख र त्यसपछि पेस गर ।" यमराजले आदेश दिए ।
आदेश अनुसार चित्र गुप्ताले मनुवालाई भनिएको ठाउँमा पुर्याएर ढोका बन्द गरे र यमराज छेउ आएर जिज्ञासा राखे- " महाराज ! यो मनुवालाई किन यस्तो सजाय दिनुभयो?
आजसम्म त कसुर हेरेर कि स्वर्ग कि नर्क पठाइन्थे । यसले के तेस्तो पाप गरेछ ?"
" पाप, धर्म बारे त इन्साफ गर्नै बाँकीछ चित्र गुप्त !, यसले मर्त्यलोकको नेपालमा बसेर , नेपाली भएर गर्नै नहुने काम गरेको कुरा तिमीलेनै पेश गरेको बिवरणमा उल्लेख छ त ।"
" के कुकर्म गरेको रहेछ महाराज यो मनुवालले ?"
चित्र गुप्तको जिज्ञासाको उत्तर दिँदै यमराजले भने- " यसले आफ्नै हातले नेपालका निर्माता पृथ्वीनारायण शाहको सालिक तोडेकोछ ।"
शिवसताक्षी नगर पालिका दूधे झापा
+++
१९. लघुकथा- एकता ✍️प्रेम पुन मगर
"के रहेछ जमघटत निकै छ?"
नातिनीको आज एकता दिवसको बिदा परेकोले परतिर लैजाने क्रममा मैले सोधेँ ।
" आज एकता दिवस हो। कार्यक्रम हुदै छ नि।" उनले भने।
नानीको स्वाभाव पनि बुझ्नै नसकिने । भेला भएको मध्येका एक सज्जननेर पुगेर केही भन्न थालिन्।
सज्जनले प्रश्न गरे। " किन बोल्न सिकिन नानीले?"
"बल्ल तीनवर्ष चार महिना पुग्दैछिन् सिक्छिन् नि।" मैले भने।
उनले भने। "होइन होइन । मगर जस्ता देखिन्छौ। तिमीहरूको बोली नै यस्तै तेतेर् पेतेर् हो।"
मैले तत्काल केही नबोले पनि मनले भने प्रतिवाद गर्यो। देखावटीको लागि एकता दिवस भन्दा हाम्रो सोचमा एकता हुनुपर्ने होइन र? राष्ट्रनायकले पनि यस्तै सोचेको भए..?..."
२०८०/९/२७
+++
१८. लघुकथा- एकता दिवस ✍️एन्जल निलु मिना साह
(राजविराज-७)
ए बिर्खे ! तिमी यहाँ एक्लै किन बस्या ? गाँउका एकजना बृद्ध काकाले बिर्खे लाई सोध्नु भयो।
काका दर्शन!! म त्यहाँ गइन क्या ।त्यहाँ अर्कै अर्कै पार्टीका मान्छेहरू छन् ।
के रे !अर्कै पार्टी ।तिमीलाई पार्टीसँग के सरोकार। तिमीले आफ्नो काम पो गर्नु पर्ने हो । तैपनि त्यहाँ हेर त सबै पार्टीका मान्छे छन्। काकाले सम्झाउने कोशिस गर्नु भयोे।
हुन्न त हो!तर, त्यो मेयरसँग मेरो कुरै मिल्दैन क्या , त्यही भएर न गाको । बिर्खेले ब्यङ्गात्मक पाराले जवाफ फर्काइयो।
हेर बिर्खे ....! तिम्रो कोसँग कुरा मिल्छ, कोसँग मिल्दैन ,त्यो कुरा परै राख्नु ।
आज एकतादिबसको उपलक्ष्यमा नयाँ योजना बनाइएको छ।त्यहाँ सबैले मिलेर काम गर्नुपर्ने अवस्था छ।
यो बाँध आज बाँधेन भने भोलि बाढी आउदा पुरै गाउँ सखाप हुन सक्लान् । त्यतिखेर रूनु बाहेक केही रहदैन ।तिमीलाई थाहा छैन "मौकामा हिरा फोर्नुपर्छ"। काकाले बिर्खेलाई सम्झाउँदै आफ्नाे कुरा राख्नुभयो ।
त्यसपछि बिर्खेलाई बल्ल "घैँटोमा घाम लागेछ"। उ जुरुक्क उठेर काँधमा कोदालो बोक्यो ए...हो त काका मैले कस्तो कुरा नबुझ्या है.....! "विनाशकाले विपरीत बुद्धि".......।।।
(2080-09-26)
+++
१७. लघुकथा- आयथ्याे साेच यसरी ✍️दुर्गा तिवारी राजन
थुङ्गा थुङ्गामा बिभक्त याे भुमी,यउटै माला बनाउने यक नब युबाकाे हृदयमा उब्जेको प्रस्न हाे।बा बा गाेरख नाथकाे अाँगनमा खेल्ने उक्त नब युबा साहसी ,नीडर,अात्मा बिस्वासी थीयाे।खेल्ने घुम्ने सिलसिलामा यक भिच्छुले नब युवालाई भाेक लागेकाे खानलाई दहि ल्याउन भन्याे।
भिच्छुकाे नरमता देखेर युबा दाैडदै दरबार बाट दहि ल्याई खानलाई दिय। मुखमा दहि हाल्दै भिच्छुले भन्याे,हात थाप?नब युबा लाई उक्त दही
खान भने।युबा जाेस याे मगन्तेले भनेकाे मैले यस्काे जुठो खाने !नब युबकमा अलि ग्लानी भयाे र हातमा रहेकाे दहि तल खसाल्दीय।बाबा ले
उक्त युबकलाई याे देखेर भन्नू भयाे, हे पृथ्वी तिमीले दहि खायकाे भय सबै तिम्रो हुन्थ्यो ,नखाई खुट्टामा पार्याे अब तिम्रो लक्ष्यमा कमि भै तिमिले जहाँ जहाँ पैताला राख्छौं त्यहाँ मात्र तिम्रो हुनेछ ।पृथ्वी चै यउटा
भलाद्मी पाराले सुनेर उभिएका थिय ,उक्त भिच्छु अन्तरध्यान भय।
पृथ्वी लाई याे भिच्छुले बकबास भन्याे भन्ने पर्याे,जाेड बल चै ईश्वर काे नेपाल देस बनाउन त्यो बेला देखि नै चाहना थियाे। त्यसको
लिडर चै एकताका प्रतिक पृथ्वीनारायण शाहलाई नै चुनेर ईश्वर ले धर्ती मा पठाएको रहेछ ।
२०८०/९/२६/६ स्वरचीत काठमाडौ नेपाल
+++
१६. लघुकथा- दिवस ✍️राजकुमार कार्की
"ओहो ! दुखीलाल जी बधाई छ । अनि तपाईंलाई हाम्रो गुटमा स्वागत पनि ।"
लामो समयदेखि रिक्त दरबन्दीमा सिफारिस भएर आएका सुब्बा दुखिलाललाई चटपटे पसलमा स्वागत गर्दै चटपटानन्द अधिकारीले आफ्नो आतिथ्य भाव प्रकट गरे ।
उनी रसिलो र मीठो गफले लठ्ठ पारेर आफ्नो दुनो सोझ्याउने अनि अस्थिरताको धमिलो पानीमा माछा मार्न काबिल चटपटानन्द हाकिमको बरखिलाफमा गएर आफ्नो गुटलाई मलजल गर्न सिद्धहस्त खेलाडी थिए ।
उनी दुखीलाललाई भन्दै थिए, "हेर्नूस् सर, तपाईंलाई जे आवश्यक पर्छ निर्धक्क भन्नूस, सकेको सहयोग गर्न यो ज्यान हाजिर छ।"
आफूले काम गरेको संस्था गन्जगोल पार्न खेलेको भूमिका; अनि कर्मचारी बिच ल्याएको फुट; सेवाग्राहीलाई दिएको सास्तीलाई आप्नो पुरुषार्थ ठानेर खुब आत्मालाप गरे ।
"सरलाई आवश्यक परेको बेला साम, दाम, दण्ड, भेद जे चाहिए नि हुन्छ । खाली हाम्रो इसारामा चल्नुपर्यो।" कम्प्युटर अपरेटर झुम्रीले थपी ।
"केके न गर्छु भन्थे आखिरमा हाम्रै गुटको मानिस आयो हिहि...।" भन्दै छ्वाँके खरदार ङिच्च दाँत देखाउँदै हाँस्यो ।
सबैका कुरा बिस्मयसूचक नजरले नियाली रहेको दुखीलालले आफ्नो मौनता भङ्ग गर्दै भने,"तपाईं र हाम्रो आस्था मिल्यो होला तर मिल्यो भन्दैमा म कर्तव्यलाई तिलाञ्जली दिन सक्दिन ।"
वरपर हेर्दै जुरुक्क उठेर चटपटे पसलको टेबलमा सजिएको सानो झण्डा ल्याए ।
अरु सबै कौतुहलपूर्ण नजरले दुखिलाललाई हेर्दै थिए ।
सबको माझमा राखेर भने,"हेर्नूस् आज पुस सत्ताइस या नि एकता दिवस हो नि ?"
सबैले मुन्टो हल्लएर स्वीकार गरे," त्यसोभए
ल ! भन्नुस् त सबै एक हौँ..एक हौँ ।"
समाप्त २०८०/९/२६/ कटारी-१,उदयपुर
+++
१५. लघुकथा- एकता ✍️तुलसी पण्डित
हजुर आमा यो के अचम्म हो ? यति साना जीवहरुमा पनि कति शक्ति हुने रहेछ । त्यति ठूलो जीवलाई पनि सजिलै सँग तानेका छन् ।
"होइन यो नाति के भन्छ ? हजुरआमालाई उदेक लाग्यो । खै के हो देखाउ त बाबु ?"
"हजुरआमा ऊ त्यहाँ हेर्नुहोस् त । "
ए यो कमिला हो । कमिलाको एकताले नै यो कठिन कार्य गर्न सम्भव भएको हो । ती साना भएर के भो त बाबु ? एकतामा ठूलो बल हुन्छ । ल हेर यिनिहरुको एकताले गर्दा यति ठूलो फटाङ्ग्रो सहजै तान्न सकेका छन् । त्यस्तै धमिरा पनि सानो जीव हो । तर उनीहरुको एकताले ठूलो माटाको घर बनाउँछन् । एउटाले मात्र सम्भव हुदैन कुनै पनि कठिन कार्य गर्न । धेरैको एकताले कठिन कार्य सहजै गर्न सकिन्छ बाबु ।
हजुरआमाले आफूले लगाएको माला देखाउदै भन्नु भयो ।
"ल भन त यो के हो ?" " त्यो त माला हो हजुरआमा ।" " हो ठिक भन्यौं । यो माला पनि एउटाले मात्र बन्दैन । धेरै मालाका गेडाहरुको एकताले नै माला बन्छ । "
हजुरआमा हाम्रो सरले भन्नु भएको । "हामी पढ्ने ठाउँमा पनि एकता चाहिन्छ रे । " "आहा होनि बाबु । पढ्ने ठाउँमा एकता भएन भने कक्षामा पढ्न सकिँदैन । एकताले नै असंम्भव कुरा सम्भव हुन्छ बाबु ।" "हजुर आमा बाहिर हल्ला छ नि ?" "हो ऊ भर्खर बसाइ सरेर आएको हो । यहाँ एकताको कारण सबै धर्म समान छन् । तर ऊ हिन्दु धर्म मात्र हुनुपर्छ भन्छ । यही कारणले उसलाई कसैले सम्मान गर्दैनन् । सम्मान पाउन सबै धर्मलाई समान दृष्टिे हेर्नू पर्यो । एकतामा घुलमिल हुनु पर्यो नि ।"
हजुर आमा अब एकता दिवस पनि आउदै छ रे । " "हो बाबु ।
म तिमीलाई एउटा कुरा भनौँ " " के कुरा हजुरआमा ?"
"जून घर टोल गाउँमा एकता छ । त्यो घर टोल गाउँ स्वर्ग समान हुन्छ ।"
+++
१४.लघुकथा- अमृत धारा ✍️सुरेशकुमार पाण्डे
"जयलालजी ! ठग्गुलालले सधै हामि नेपाली श्रमजिविहरूको परिश्रम लुट्न पल्केको छ।
यो पालि विजय उस्को सिकार भएकाछन्। एक वर्ष देखि घरमा कजायो; तर एक रूपियाँ पनि तलब दिएको छैन।उल्टै उसलाई चोरी गरेको भन्दै पुलिसमा दिन्छु भन्दै धम्कि दिन्छ।-नरेशले ठगुलालको बारेमा बतायो।
हामि प्रवाशी श्रमजिविहरू हौँ। यो यहाँको लोकल धनी मान्य व्यक्ति,पुलिस प्रसासन यसैको हातमा छ।यस्तो अबस्थामा हामि सचेत र संगठित भएर मात्र यसलाई काबुगर्न सकिन्छ।-जयलालले सुझाव दियो।
उनिहरूले त्यो एरियाका सबै मज्दुरहरू जम्मा गराए। जयलालको नेतृत्वमा सबैजना नजिकको प्रहरी चौकिमा पुगे।
उनिहरू एउटा मजदुरको दयानिय अवस्थाको सुनाइका लागि त्यहाँ पुगेका थिए।त्यो देखेर केही स्थानिय समाजसेवक संगठन समेत मिलेर चौकिमा पुगे।उनिहरूको एकता देखेर प्रहरीपनि उनिहरू सँगै ठग्गुलाल कहाँ पुगे।
हजूरले यो विजयलाई एक वर्ष देखि तलव दिनु भएको छैन?- प्रहरी नाइकेले सोध्यो। उसले चारैतिर नजर घुमायो र मनैमन सोंच्यो। "अब मेरा दिन गएछन्।"
हो दिएको छैन । किन की बिचरा परदेशी हो!खर्च भयो भने घरमा जाँदा केलिएर जाला भनेर पो हो। मैले खानलाई होर! लिनोस् भर्खरै दिन्छु। अनि तलब मात्रै होइन वैंकले दिएको ब्याजपनि यसैको हो मैले खादैन।-ठग्गुले विन्रम भन्यो।
दाङ घोराही १८
०३-०१-२०२३ (१८पुस् २०८०)
+++
१३. लघुकथा- तालि ✍️तुलसी पण्डित
तिमीहरु किन झगडा गरिरहन्छौ । सर मलाई पानेले हिर्कायो । सर मलाई हर्केले फोहरी भन्छ । सर म त आमालाई लिएर आउँछु ।
"किन बाबु आमालाई ल्याउने ?" " हेर्नुन यो भोलेले मेरो कपडा च्यातिदियो ।" त्यही झगडाको बिच सरले कक्षामा आएको एक मौरी देखाउँदै भन्नु भयो ।
"यो के हो ? चिनेका छौ ?"
" मौरी हो सर ।"
"यसले के बनाउँछ ?"
" मह सर ।"
"मह खाएका छौ ?"
"खाएका छौ सर ।"
"मह कस्तो हुन्छ ?"
" गुलियो सर ।"
"मौरीको घार देखेका छौ ?"
" देखेका छौ ।"
"त्यहाँ कति मौरी हुन्छन् ?"
धेरै मौरी हुन्छ सर ।"
" तिनिहरु एकआपसमा झगडा गर्छन् त ?"
" ती मिलेर बस्छन् सर ।"
"हो ठिक भनौ । तिनिहरुले एकताबाट नै धेरै मह बनाउन सफल हुन्छन् । एकता नभएको भए त्यति धेरै मह बनाउन सक्दैनथे । होइन त ?"
" हो सर ।"
"यो के हो ?"
"बाबियो ।"
" नरे अगाडि आउँ त । "
मेरो हातमा कतिओटा बाबियो छ ?; "एक वटा मात्र सर ।" " ल नरे यो बाबियो चुडाल्न सक्छौ ?" " सक्छु सर ।" " ल देख्यौ नरेले एउटा बाबीयो सजिलै चुडायो ।" "अहिले कति ओटा छ । दुई ओटा ।" " ल नरे यो बाबियो चुडाउँ ?"
"सर गाह्रो भयो ।" " ल देख्यौ एउटा बाबियो सहज सँग चुडाउने नरेले दुई ओटा बाबियो चुडाल्न सकेन । धेरै बाबियोको एकताले बनाएको लठ्ठो हात्तीले पनि चुडाल्न गाह्रो हुन्छ ।"
"सर हजुरले एकता सम्बन्धि पाठ पढाउनु भएको रहेछ । मैले त राम्रोसँग बुझे ।" " सबैले एकै स्वरमा भने । "हो सर हामीले पनि बुझ्यौं । अब हामी कक्षाका सबै विद्यार्थी एकतामा बस्नु पर्ने रहेछ हैं सर ?" " हो ठिक भन्यौ । हेरत एक हातले तालि बज्दैन ।"
+++
१२.लघुकथा- एकता ✍️रामप्रसाद पन्थी
खेल शिक्षक हाेमनाथ सरले कक्षा १० का विद्यार्थीहरूलाई खेल मैदानमा लिएर गए । उनले विद्यार्थीहरूलाई एक मुठा छड देखाउँदै भने -" हेर त नानी बाबुहरू हाे ! तिमीहरूलाई खेल खेलाउनु पर्याे भनेकाे यहाँ त छडकाे मुठा रहेछ । यसलाई त जसरी पनि हटाउनु पर्याे । "
विद्यार्थीहरूले एक स्वरमा भने - "हाे सर ! हटाउनु पर्याे ।"
हाेमनाथ सरले कृष्णलाई अगाडि सार्दे भने - ल कृष्ण तिमीले हटाएर देखाइदेऊ ।"
कृष्णले छडकाे मुठाे उठाउन निकै बल गर्याे तर उसकाे केही लागेन । हाेमनाथ सरले अर्काे विद्यार्थी हरिलाई बाेलाएर भने - "बाबुहरू हाे ! तिमीहरू दुई जना मिलेर याे छडकाे मुठालाई उता साइडमा लगेर राख त । " कृष्ण र हरि दुवै जनाले खुब बल लगाउँदा पनि डेग चलाउन सकेनन् । हाेमनाथ सरले तेस्राे पटक अरू थप चारजना विद्यार्थी बाेलाएर भने - "अब तिमीहरू छ जनाले यसलाई ऊ पर छेउमा लगेर राख । " छ जना विद्यार्थीहरूले उक्त छडकाे मुठालाई सजिलैसँग खेलमैदान बाहिरकाे साइडमा लगेर राखे । त्यसपछि छडकाे मुठा हटाउने विद्यार्थीलाई बाेलाएर हाेमनाथ सरले भने - धेरै धेरै धन्यवाद । यस खुसियालीमा एक एकवटा चकलेट पनि पुरस्कार तिमीहरूलाई । " धन्यवादका साथमा चकलेट पाउँदा विद्यार्थीहरू खुब खुसी भए । विद्यार्थीहरू खुसी भएकाे देखेपछि हाेमनाथ सरले भने - "हामीहरूले एउटा खेल खेलिसक्याैं नि ।" विद्यार्थीहरूले अचम्म मान्दै जिज्ञासा राखे - "हामीले त खेल खेलेकै छैन । छडकाे मुठा हटाएर खेल मैदान मात्रै खालि गरेकाे हाे नि सर । "
हाेमनाथ सरले मुस्कुराउँदै भने - "त्यहीँ त हाे खेल । तिमीहरूले छडकाे मुठा हटाउने खेल खेल्याै । मैले धन्यवादका साथमा चकलेट पुरस्कार दिएँ । अब हामी अर्काे खेल खेल्छाैं । सबैजना खेल्ने हाे ? "
विद्यार्थीहरूले एकै स्वरमा भने - " खेल्ने सर ।"
" उसाे भए अब हाजिरीजवाफ खेल्ने। म एउटा मात्रै प्रश्न साेध्छु है त । जवाफ मिलाउनेलाई चकलेट छ है । "
हाेमनाथ सरकाे यस भनाइले विद्यार्थीहरू निकै उत्साहित भए । हाेमनाथ सरले विद्यार्थी सामु प्रश्न राखे - अघि खेलेकाे छडकाे मुठा हटाउने खेलले के शिक्षा दिएकाे छ ? "
विद्यार्थीले जवाफ दिए - खेल मैदानमा यस्ता सामग्री राख्नु हुँदैन । भएमा हटाएर मात्रै सुरक्षित तवरले खेल्नु पर्छ । "
हाेमनाथ सरले भने - " तिमीहरूको जवाफ पनि ठिकै हाे । तर यसकाे सही उत्तर हाे - एकता । "
रेसुङ्गा न पा २ गुल्मी
२६ पुस , २०८०
+++
११. लघुकथा- लाैराे ✍️टङ्कबहादुर आलेमगर
विकल: गफ नहाँक । गर्ने एक्लैले हाे किन चाहियाे; एकताकाे लाैराे ।
शुभम्: हेर एकता नै महाशक्ति हाे । एकता भित्र अनेकका एकता छन्, र तँ छस् ।
विकल: कसरी हुन्छन्, एकभित्र अनेक ? अनि अनेकमा एकता ?
शुभम्: (हाँस्दै) हेर केटा एकभित्र अनेक हेर्ने बाैद्धिक दूरबीन हुनुपर्छ । अनेक काेसिकाले अङ्ग, अङ्गहरू मिलेर शरीर बनिएकाे छ । खाेल्साे मिलेर खाेलाे, खाेलाेका एकता काेसी, अनेक काेसीका एकता समुद्र हाे । अनेक ताराकाे एकता आकास गङ्गा, आकास गङ्गाका एकता ब्रह्माण्ड । एकताकाे उदाहरण, घर, गाउँ, जिल्ला, प्रदेश र देश । साेच एकताकाे आधारशिला आजकाे संसार । एकताकाे लाैराे नटेके, शुन्य छन् चराचर ।
विकल: भाे नबजा एकताकाे दमाहा । ऊ हेर, त्यस्तो गरीब फिस्टे काठमाडौंकाे महँगो अस्पतालमा उपचार गरेर फर्के छ त ।
शुभम्: त्याे पनि एकताकै लाैराे हाे ।
।धन्यवाद ।
त्रियुगा नगरपालिका -११, हिमाली टाेल, उदयपुर ।
+++
१०. लघुकथा- कसम ✍️कमला भट्टराई
उनको गर्जाहटले मलाई सोच्न बाध्य बनायो । उनलाई आप्mनै पुर्खेउली थलोबाट उठिबास लगाएकोमा मलाई आत्मग्लानी महशूश भयो । नहोस पनि कसरि..., उनलाई निकाल्न हाम्रो पनि साथसपोर्ट थियो । अब कहिल्यै यस घरमा आएर बस्ने त परको कुरा सपनामा पनि नदेख्नु भन्दै डाँढो कटाएका थियौं । उनलाई अधिकारच्यूत गराएका थियौं यीनै ठालूहरुको लौरो बनेर ।
अपसोच मान्दै मैले उनलाई भने– ‘हामीले सोचेका थियौं, विकास र निकासका बाधक हटाएपछि गाउँमा उज्यालो घाम लाग्ला । यिनै ठालूहरुलाई विश्वास गरेर सारा अधिकार सुम्पिदिएका थियौं, । तर, यिनीहरुबाट हामीमाथि घात भयो । अब त हाम्रो जीवनमात्र होइन गाउँ नै जोखिममा परेको भान हुन थालेको छ, हाम्रो नयाँ गाउँ बनाउने सपना चकनाचुर भएको छ । यदि तिमीमा आफ्नो गाउँप्रति प्रेम र समर्पणको भाव बाँकी छ भने पुर्खाहरुको आर्जनको कसम खाएर आऊ, आफ्ना पुर्खाले रगत पसिनाको बलि चढाएर निर्माण गरेको सिङ्गो भूमिलाई बचाऊ ।’
“म पनि कहाँ चुप बस्या छु र..! ? बाहिरैबाट अध्ययन मनन् गरिरहेको छु । कत्ति न मै हूँ, के–के न गरेर देखाउँछ्रौं भन्नेहरुले के–के गरे, कसो–कसो गरे, हिमालयको काखमा रहेको मेरो सुन्दर गाउँलाई कस्तो अवस्थाबाट कस्तो अवस्थामा पु–याएर छोडे, यतिका वर्षसम्म कस–कसले के–के लछारपाटो लगाए त्यो सब म नियाली रहेको छु । अब मेरो धैर्यताको बाँध टुटिसक्यो । । यदि तिमीहरुले मलाई साथ दिन्छौ भने पुर्खाहरुले अर्जेको सानको कसम..!”
चुनदेवी, भक्तपुर २०८० पौष २४ सुभम्
+++
९. लघुकथा- एकता ✍️लक्ष्मण ज्ञवाली
"यति धेरै सेता बाकस किन बारीभरि राखेका हजुर बा ?"
जाडो बिदा मनाउन तराइको घरमा झरेको स्कुले नातिले हजुरबासँग जिज्ञासा राख्दै सोध्यो ।
ल सुन् नाति -" यि सेता बाकसहरू मौरीका घरहरू हुन् । यिनलाई घार भनिन्छ । मौरीहरू यिनै घारमा बस्छन् ।
यिनीहरूलाई यो तोरीबारीमा राख्नुको कारण -"यिनीहरू फूल फुलेको ठाउँमा बस्न रूचाउँछन् । र, त्यहींबाट आफुलाई वर्ष भरीलाई पुग्नेगरी मह संकलन गर्छन् । "
हजुर बाले विस्तार लाउनु भयो ।
"हामीले खाने मह यिनीहरूले नै बनाएका हुन त हजुरबा ?"
नातिले पुनः प्रश्न सोध्यो।
"हो त ! यिनीहरूको घारमा एउटी रानी र केही भालेहरू हुन्छन् जसले सन्तानोत्पादनको पूर्ण अभिभारा लिन्छन्।"
"यहाँ सिकर्मी डकर्मीको पल्टन हुन्छ ।जसले मह,कुट र बच्चा राख्ने आधार चाकाहरू तैयार गर्छन् ।"
"अर्को ज्यामीहरूको फौज हुन्छ जसले बाहिर गएर फूलको रस चुसेर ल्याएर मह ,कुट उत्पादन गर्छन् ।कुट मह चाकाहरूमा अलग अलग ठाँउमा भर्छन् र सिल गरेर राख्छन् ।"
"अनि हामीलाई कसरी मिल्छ त मह ?" नातीले जान्न खोज्यो ।
"हेर बाबु यो त मानिस चलाख प्राणी भएकोले उसलाई रत्ताएर उसको भाग खोसेको पो त । सिजन सिजनमा उसले सँगालेको मह थोरै मात्र त्यहीँ छोडेर अरू सबै काढेर निकाल्ने हो ।"
हजुरबाले भन्दै जानु भयो -"उनीहरूका लडाकु सेना , गुप्तचर टुकुडी पनि हुन्छन् ।उनीहरूलाई आघात पर्ने, आफ्नो पेरीफेरीमा दख्खल गर्ने काम कसैले गरे गराएको थाहा पाउनासाथ सबै जुटेर प्रतिकारमा उत्रिन्छन् ।अन्यथा सबै एकापसमा सद्भावपूर्ण वातावरण तयार गरी सिंगो घर चलाएका हुन्छन् । रानीको आदेशमा यी सबै संगठनहरू अनवरत चलिरहन्छन् ।"
"आहा...कति राम्रो चलन ! हामीले पनि यस्तै चलन चलाए हुन्न र ? हजुर बा ।
हजुर बाका कुरा सुनेर नातिले प्रशन्नता जाहेर गर्दै जिज्ञासा थप्यो ।
नातिको जिज्ञासा मेटाउँदै हजुरबा ले भन्नु भयो
"हुन त कति नै हुन्थ्यो नी । हामीकहाँ त कसैले कसैलाई नटेर्ने भाँडतन्त्र पसिसकेको छ।"
"लोभी पापी लालची राष्ट्रघातीहरूले राष्ट्रियतामा खलल पारिरहेछन्।"
"यि सबै कुकर्म छोडेर देश बनाउँछु भन्ने हो भने आखिर एकताको पाठ सिक्न अन्त कहिँ जानु पर्दैन । घरैको मौरीको घार हेरे पुग्छ ।"
हजुरबा का कुरा सुनेर खुसी हुँदै नातिले भन्यो ।
मैले पनि बुझें हजुर बा "एकता" का कुरा ।
समाप्त
तिलोत्तमा १ नीलगिरि पथ शंकरनगर रूपन्देही । २०८०/९/२४
+++
८. लघुकथा- खुलेका आँखा ✍️खगेन्द्र बस्याल
बसाइँ सरेर मधेस गएका हरिलाललाई उनका भाइ रमेश कम्तीमा बर्षको दुई पटक भेट्न जान्थे ।
हरेक भेटमा उनको गुनासो हुन्थ्यो " पहाडमा म एक्लो भएको छु।दाजुभाइ बिना बस्न गाह्राे हुने रहेछ।मलाई पनि यतै तान्नु होस् ।"
सवै मधेस तिर बसाइँ सर्न लागेपछि पहाडका खेतबारीको मूल्य ह्वात्तै घटेको थियोे ।त्यसमाथि बाँदर आतंकले जग्गा किन्न कोही पनि अगाडि सर्दैनथे।
दाजु हरिलालले भनेका थिए " जग्गा खोजी रहेको छु।विवाह र जग्गा किन्न जुर्नु पर्छ भन्छन् ।पहाडको जग्गा बेचेर यहाँ किन्न त्यति सजिलो नभएकोले हो ढिलो भएको ।"
यसबीच रमेशले बसाइँ सरेर आउने कुरा गर्न छोडिसकेका थिए।
एकदिन रमेश आएको बेला हरिलालले भने" तिमी पहाडमा आफ्ना दाजुभाइ नहुँदा एक्लो भयौ,आउ।यता सस्तोमा खेतीपाती गर्न पाइन्छ । अहिले यता आर्थिक मन्दी भएको कारण थोरै पैसाले जग्गा पनि केही किन्न सकिने स्थिति छ।"
रमेशले भने " मेरा आँखा खुले। अव म आउन्न।केही बर्ष यता देखि मैलेआफुलाई एक्लो भएको महसुस गरेको छैन ।मलाई उतै बैकुण्ठ छ।"
हरिलालले आश्चर्य मान्दै सोधे "अहिले कसरी त्यो उजाड ठाउँ बैकुण्ठ भयो ?"
रमेशले जवाफ लिए " गाउँमा रहेका सवै जाति र धर्मका छिमेकीलाई आफ्नै दाजुभाइ दिदीबहिनी जस्तो व्यवहार गरेपछि मलाई त्यहाँ जति राम्रो ठाउँ अन्त हुनेमा बिश्वास लाग्न छाड्यो ।"
* तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही ।०८० पुस १५
++++
७. लघुकथा- आफ्नो श्रम ✍️बिमला देव
हेर त श्याम आज यो पोखरीको स्वक्ष जलको उपभोग कसले गरिरहेको छ ? हामी आफ्नै गाउले त होनी ।
पोखरीको एउटा धाटमा महीलाहरू लूगा धूदै
गर्दा उनीहरूका बच्चाहरू महारमा खेल्दै थिए ।अर्को तिर
गाय वस्तूहरू किनारामा पानी पिऊदै थिए ।
पोखरीको चारैतिरको नजारा हर्दै , नूहाउन सगैं आको
मोहनलालले आफ्नो खासी जाहिर गर्दै भने।
हो त नी काका भन्दै श्यामले हा मी भरे ।
खारो नदिले ल्याएको बालूवाले पूरेको यो
सदियौंको पोखरीमा पानी न हूदा दस वर्ष कमता दू:ख
भोगेका छैनौ हामी गाऊँले ले ।
सोध्न जादा , मेरो पूरखाले तिम्रो टोलकै छेउमै यो पोखरी
खनाएर जानू भो। तिमीहरूलाई पानिको असूबिधा न होस भने र ।मेरोपनि पूरा साथ पाऊने छौ।ल पोखरी
तिमीहरूलाई नै सोपे । भन्दै न भन्दिएको भए त हामी
अहीले सम्म पानिको दू:ख भोगी रहेको हूनथ्ये । पोखरी धनीको आभार मान्दै ,मोहनलाल ले विगत सम्झे ।
अनि काका तपाई हरूको मिहीनेत पनि त कहा
कम थियो र ।तपाई कै अगूवाईमा पूरा टोल वासीलाई भेला गराई ,एकजुट भई हामी आफ्नै श्रमले पोखरी उत्खनन न गरे सम्म हामी पानीको सूख भोग्न सक्दैनौ
भनेको सूझाऊ माने र त उत्खनन कार्य सजिलै सगं सफल
भयो ।आफ्नो श्रमको सुखद परिणाम आज हाम्रो सामू छ
। हो काका एकतामा धेरै बल हूदोरहे छ।
भनी रहदा श्यामको मूखारवृदं चमकिदै थियो ।
इति।
बिमला देव
राजविराज, राजदेवी रोड २०८०|९|२४| गते २०२४|१|०९|
+++
६. लघुकथा- प्रश्न ✍️-गंगा खड्का
"हजुरबुबा ! मलाई त आजको एकता दिवसको बिदा दिएको कुरा त्यति सन्तोषजनक लागेन ।" भर्खरै आधारभूत तहमा पढ्दै गरेको नातिले अगेनाको छेउमा बसेर आगो ताप्दै रामप्रसादलाई भन्यो ।
छेउमै बसिरहेकी हजुरआमाले भनिन् ," किन सन्तोष लागेन बाबु ? झन् यसरी आगो ताप्दै मकै भटमास खाँदै बस्न पाएका छौ ।"
" खान त चरा मुसाले नि पाएका छन् नि । तर जुन बिदा पनि उद्धेश्यमुलक हुनु पर्यो नि !"
नातिको गहकिलो कुराले रामप्रसादको ध्यान खिचियो ।
" तिमीले त निकै गहिरा कुरा गर्यौ बाबू । तर ठाउँ ठाउँमा विभिन्न कार्यक्रम गरेर यो दिवस त मनाउँदै छन् नि ।"
रामप्रसादका कुरा सुनेपछि नाजवाफ हुने गरी नातिले प्रश्न गर्यो ," एकता दिवसजस्तो महत्त्वपूर्ण दिनलाई आज एकदिन मात्रै विशेष बनाई केही ठाउँमा कार्यक्रम गर्नु त बालुवामा पानी हालेजस्तो भएन र हजुरबुबा ?"
बूढानीलकण्ठ ,काठमाडौँ
२०८०-९-१८
+++
५. लघुकथा- पैचान ✍️अन्जु शर्मा
"राष्ट्रिय एकता दिवस जिन्दावाद ! जिन्दावाद !!"नारा लगाउदै हरियाली पार्टीका नेता र कार्यकर्ता खुला मंचतिर आमसभाका लागि अगाडि बढ्दै थिए।एकहुल प्रहरीले "खुला मंचमा पहिले नै अर्को पार्टीले आमसभा गर्दै छ।तपाईंहरू मंडलातिर जानुस्।हामीलाई माथिको आदेश यस्तै छ।"भनेर मंडला तर्फ मोडिदिए।
प्रहरीलेले रोक लगाएपछि हरियाली पार्टीका नेता र कार्यकर्ता अन्यत्र मोडिए।हरियाली पार्टी मोडिएको संकेत पाउनासाथ खुला मंचबाट जंगली पार्टीका प्रमुख नेताले चर्को स्वरमा सबैको ध्यानाकर्षण गर्दै भाषण गरे -" सरकार! संबिधान खारेज गर्न तयार हुनपर्छ।हाम्रो भाषा ,हाम्रो धर्म र हाम्रो जातीयताको पैचान हुने छुट्टै राज्यको स्थापना हाम्रो माग हो ।हाम्रो माग पूरा नहुन्जेल हामी जनताको रगत बगाउन तयार छौं ।" गड्गडाहट तालिले भिडबाट नेतालाई संमान गरें।
विचार म! एकता दिवसको कार्यक्रम हेर्न पुगेको मान्छे !!आफू एक्लिएको महसुस गरि रत्नपार्कबाट लुरूक्क घर फर्के ।
रातोपुल(२०८०/०९/१८)
+++
४. लघुकथा- एकता ✍️बालकृष्ण गजुरेल
"यो खस भाषा पढेर काम छैन । बाहुन तथा क्षेत्रीको भाषाले बिगार्यो । " बिजय चौधरीले रिस पोखे ।
"त्यही त साहिँला । लिम्बू भाषा पो भाषा ।" रमण लिम्बुले आफ्नो राय राखे ।
क्रमश: नेवार, मगर, तामाङ्गका लिपि तथा भाषाको बिषयमा चर्चा भयो । भाषा सबैका गहन थिए । महत्वपूर्ण थिए । सबै भाषाको सम्मान गर्नुपर्नेमा जोड दिइयो । जायज बिषयमा एक मत रह्यो ।
"खस भाषा भनेर कहिले देखि सुरु भयो ? भाषाका इतिहासकार भन्दैनन् । कुन पश्चिमेली राजनीति चाटुकारले भन्यो ? " सन्चमान तामाङ्गले रिस पोखे । उनलाई बिस्वको कुनै पनि देशको राष्ट्र भाषा विवाद नभएको थाहा थियो ।
"हुन पनि हो । पहिला नेपाली भाषामा विवाद थिएन । पछि लोकतन्त्रका नाममा चाटुकारले विवादित बनाए । देश बनाउने पृथ्वी नारायण शाह हत्यारा रे ! देश सिध्दाउन ...हत्या, हींसा गर्ने महान रे ! " विस्वविद्यालयका प्राध्यापकले तितो वास्तविकता खोले ।
डीनले छलफललाई अन्त्य गर्दै भने, "कुनै पनि देश सक्नलाई भाषामा विवाद तथा शिक्षा प्रणाली पंगु बनाए पुग्छ । त्यसैले हामी सबै नेपालीले अात्म सम्मानको लागि अनेकतामा एकता खोज्न जरुरी छ ।"
मिती- २०८० पौष १७
हेलम्बु-६, सिन्धुपाल्चोक
+++
३. लघुकथा- पहिचान ✍️पीपी कोइराला
धरान-१३
म अफ्रिकाको भ्रमणमा थिएँ।मेरो बाल्यकालको पत्रमित्रले नेपालबाटै लिएर गएका थिए। उनले बैठकको भित्तामा एउटा तस्विर देखाउँदै भने," यीनलाई मैले जिम्बाबे को राजधानी हरारेमा देखेको थिएँ।त्यो बेलादेखि म उहाँसँग यति प्रभावित भएको छु कि आज पनि श्रद्धा गरेर सम्झन्छु। "
उनले भन्दै गए," यति भलादमी राजनेता त सायदै यो दुनियामा कोहि छ होला?अन्तिम घडि सम्म जनतामा समर्पित भए।"
उनले नेपालका प्राचीन देखि वर्तमानसम्म सबै राजनेताहरुको गुण अवगुण एकै क्षणमा खर्रर भनेर सुनाए।नेपाल बाटै इतिहासमा पि यच डि गरेको हुनाले नेपालको इतिहास त खर्लप्पै खाएका रहेछन् मित्रले।
म त हेरेको हेर्यै भएँ।फेरि एउटा जिज्ञासा सोध्न मनलाग्यो,"यति गहिरो अध्ययन गर्नु भएको रहेछ।अब मलाई भन्नू त यी राजनेताको मुख्य कमजोरी चाहिँ कहाँ भएको थियो?"
उनले सजिलै उत्तर दिए,"जनताका अति प्रिय हुँदाहुँदै पनि सबै जनताका सामिप्यमा गएर वास्तविक जनगुनासो सुन्न नदिने ढोंगी दलालहरुको गतिविधि थाहा नपाउनु नै ठूलो कमजोरी थियो।"
" उनले के गर्नु पर्थ्यो त?"मैले उनलाई मस्तिष्क मन्थन गर्न कर लाएँ।
उनले भने ,"राष्ट्रिय एकताका लागि सबैलाई एउटै जात नेपाली,एउटै थर नेपाली राखेर नागरिकता दिनु पर्थ्यो र आफैले प्रतक्ष्य शासन गर्नुपर्थ्यो।"
+++
२. लघुकथा- भोज ✍️सोम कुमार सुब्बा
एउटा गाउँमा दुई थरीका जनसमुदाय बस्थे।उनिहरु एकआपसमा मिल्दैनन् थिए। त्यसैले त्यो गाउँ हर क्षेत्रमा पछाडिएको थियो।
स्थानीय नेता बेलाबखत गाउँ भ्रमणमा आउँथे।दिउँसो माथिल्लो गाउँ घुम्थे,राती तल्लो गाउँ।उनि आश्वासनको पोको बाडेर फर्कन्थे।
उनि फर्कनसाथ दुई समुदाय बिच झगडा मच्चिनथ्यो।
एकदिन गाउँका केही शिक्षित युवाहरुले गाउँ उत्थान सम्बन्धित मन्थन गरे।सबैको सहमतिमा भोज आयोजना गरे।विषय गुप्त राखे।नेतालाई निमन्त्रणा गरे।नेता आए।उनले सबैलाई हात जोड्दै भने -
"लौ खुलासा गर्नोस्,के को निम्ति भोज आयोजना गरियो त?"
"हजुर,यो एकता भोज हो।"एकजना युवाले भने।
"मैले बुझिन नि?"नेताले जिज्ञासा राखे।
"हजुर,यो भोज चाहिँ माथिल्लो गाउँको नाइकेको छोरा र तल्लो गाउँको नाइकेको छोरीको विवाह भोज हो! युवाले प्रष्ट पारे।
"यो कसरी सम्भव भो?,यिनीहरुको जात,धर्म मिल्दैनन् त!"उनले टोपीले निधारको पसिना पुछ्दै आचार्य प्रकट गरे।
लिङ्दोक,पूर्व सिक्किम
२०८०/०९/२०
+++
१. लघुकथा- मैत्री ✍️रुद्र अधिकारी ‘निर्दोषी’
“राजा र रैती बिच समानता भएपछि के को एकता दिवस ?” बादलले विचार राखे ।
“मुलुक लोकतान्त्रिक गणतन्त्रमा गइसक्यो । जनताका छोराछोरी राष्ट्रपति भइसके, क्रिकेट खेलमा जितेको जस्तो हो र? खुशियाली मनाउन।” बर्षाले समर्थन जनाइन ।
बिजुलीप्रसाद कड्किए “पृथ्वीनारायण शाह राजा भए पनि बिद्रोही नेता जस्ता थिए । तपाईहरुको शब्दावलीमा कमरेड र सर्वोच्च कमान्डर थिए । आधुनिक नेपाल एकीकरण गर्ने उनको सम्मानमा पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदैमा हामी राजावादी कहलिन्छौं र? “
बादल गर्जिए “नेपालीहरुमा जाती, धर्म, असमानता र बिभेदको नामना फुट भईरहेको छ । एकता दिवस ‘ए ! कता?’ दिवस भई सक्यो, पर्या छैन मनाउन”
“नेपाल रहे हामी नेपाली रहने हो । न हामी इतिहासलाई बदल्न सक्छौ न पूर्खाहरुले देशको रक्षार्थ गरेको त्याग, तपस्या र बलिदानको समान गर्न सक्छौं । कमसेकम, सबै जात-जाती, भाषा-भाषी, धर्म-संस्कृती वीच एकता बनाई मेलमिलाप र सदभावना कायम त गर्न सकिन्छ नी ?” बिजुलीप्रसादले सम्झाउन खोजे ।
बर्षाले भनिन “नेपालमा कसको पो एकता र मेलमिलाप छ र? नेताहरु पार्टीमा आ-आफ्नू गुट र उपगुट बनाउनमा ब्यस्त छन । जनता बिभिन्न बहानामा टुक्रिएका छन ।”
बिजुलीप्रसादले एकताले सफलता दिलाएको दृष्टान्त प्रस्तुत गरे “हिन्दु, बौद्ध, किरात, इसाई र मुसलमान सबै धर्मको एउटै समुह; कथित दलित, जनजाती, खस, आर्य र पिछाडि पारिएको वर्ग सबै समेटिएको- एकता, आपसी सहयोग र मेलमिलापले भरिपूर्ण समूह, जसले नेपाललाई गर्व गर्ने बनाएको छ । हामीले पनि उनीहरुले जस्तै एकता र मेलमिलाप किन कायम नगर्ने ?”
बादल र बर्षाले आश्चर्य प्रकट गरे “कुन समूह होला ! “
बिजुलीप्रसादको गर्भका साथ भने “एकता र मेलमिलापको प्रतिक नेपाली क्रिकेट टोली”
ईटहरी, सुनसरी (हालः लन्डन, बेलायत)
पुष २१, २०८० ।
+++
No comments:
Post a Comment