Tuesday, October 10, 2023

आज मंगलबारे लघुकथा रोजाइ कार्यक्रम-लक्ष्मी रिजाल/पं.ज्यो. तोयनाथ सुवेदी/२०८०–०६– २३ श्रृङ्खला– ७२१

-आज मंगलबारे लघुकथा रोजाइ कार्यक्रम-


लक्ष्मी रिजाल (संयोजक/प्रस्तोता) 
पं.ज्यो. तोयनाथ सुवेदी (टिप्पणीकार) 
(मिति–२०८०–०६– २३  
श्रृङ्खला– ७२१) 
समय– रातको ७ः३०–८ः३० बजे । 
अतिरिक्त नारी हस्ताक्षर– एन्जल निलु मीना साह ।
+++--- Dukhada khabar
गत शनिबार प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको थियो । उनीहरु इजरायल सरकारको सहयोगमा ‘लर्न एण्ड अर्न’ (सिक्दै कमाउँदै) कार्यक्रममा गएका सुदूरपश्चिम विश्वविद्यालयका विद्याrthiहरु हुन् । धेरै नेपालीहरु अहिले पनि बंकरभित्र बसेर उद्धारको प्रतिक्षामा छन् ।

---आज मंगलबारे लघुकथा रोजाइ कार्यक्रमका कथासूची–-
१. लघुकथा : विकृति  -पदमप्रसाद दाहाल
२. लघुकथा- सभ्यताको लाइन  -सोम कुमार सुब्बा
३.  लघुकथा- चस्मा -खेमराज पोखरेल 
४.  अतिरिक्त लघुकथा- पुण्य  - विद्या ढकाल 
+++

१. लघुकथा : विकृति  -पदमप्रसाद दाहाल
 (शिवसताक्षी - ११ दुधे, झापा )

"बुवा ! बुवा  !  रामेले आज मलाई स्कुलमा एक झापड हान्यो।"
"किन र ! तैंले केही नराम्रो कुरा गरिस् होला , हान्छ त !" बुवाले सरल ढङ्गले उत्तर दिए ।
"भरे  म तेसलाई ढुङ्गाले हिर्काउँछु ।" छोरो पूरा आक्रोशित देखियो । " तैंले तेस्तो लाटो रिस देखाइस् भने स्कुलबाट तँलाई निष्कासन गर्छन् अनि पुलिसको कार्वाहीमा पनि पर्न सक्छस् ।" सम्झाए बुवाले । " भो भो मलाई सम्झाउनु पर्दैन । मैले पनि बुझेको छु । तपाईं मन्त्रीको आफ्नु मान्छे होईन ? अनि सधैं पार्टीको झोला बोकेर हिँडिरहनु भाको होईन  ? मलाई कार्बाही भैहाल्यो भने पनि तपाईंले नेतालाई भनसुन गरेर छुटाइ हाल्नुहुन्छ नि ! " छोरो विश्वस्त देखियो । 
"तेसो भनेर कहाँ हुन्छ छोरा ! अपराध गरेकोलाई त  छुटाउन मिल्दैन त ! तँलाई थाहा छैन ?"
"थाहा छ, रम्ररी थाहा छ । खुङ्खार अपराधीलाई पनि संविधान दिवसका दिन आममाफी हुँदोरहेछ त !"
२०८०/६/२०
+++
२. लघुकथा- सभ्यताको लाइन  -सोम कुमार सुब्बा
,लिङ्दोक,पूर्व सिक्किम।

मैले सभ्यताको एक ज्वलन्त उदाहरण देखेँ।झट्ट क्यामेरा अन गरेँ औ प्रत्यक्ष प्रसारणमा जुडेँ।
"हेर्नोस दर्शकवर्ग,यो लाइनमा हरेक जात,धर्म,वर्ग र स्तरका मानिसहरु शिष्टचारपूर्वक लामबद्ध भएका छन्।एकताको प्रतिक र विवेकशिल प्राणी हुनको  सद्गुणहरु हेर्नोस!"
तत्क्षणै सिलेण्डरको ट्रक  आए।लाइनमा अलिक चहलपहल भयो।मैले आत्मविश्वासको साथ भने -
"तपाँईहरु नआत्तिनोस,घण्टौदेखि उभिएका यी थकित मानिसहरु, गाडी देख्दा उत्साहित मात्र भएका हुन!"
केहीक्षणमै मानिसहरु आआफ्नो सिलेण्डर बोक्दै गाडीतर्फ दौडन लागे।लाइन तितरबितर भयो।
"म पहिला आको।"
"मलाइ पहिला दिनोस।"
"मलाई हत्तार छ।"
"म को हो चिनिस?"
यस्तै आवाजहरु आइरेथ्यो।मैले समापन गर्दै भने -
"दर्शकवर्ग हो,हामी जमातमा बाच्नेँ तर एकलै मात्र हाँस्न रुुचाउँने जन्तु मान्छे।
+++

३.  लघुकथा- चस्मा  -खेमराज पोखरेल 

‘नरमाया, भित्र आउनोस्’ सेतो एप्रोन लगाएकी महिलाले भनिन् । 
‘कुर्सीमा बसेपछि डाक्टरले सोधे, ‘के भो आमा ?’
‘के हुनु नि बाबु ? यी आँखाले देख्ने कुरा देख्न छाडे ।’
डाक्टरले पे्रस्क्रिप्सनको पाना मिलाउँदै भने, ‘आमा ! हजुरको नाम ?’
‘ठाँइँली बज्यै । नागरिकतामा नरमाया ।’
डाक्टरले आँखामा टर्च लगाएर हेरे । अनि भने, ‘कहिलेदेखि यस्तो भएको हो आमा ?’
आमाले भनिन्, ‘त्यही आन्दोलन भएका बेला बसमा आगो लगाएर मेरा श्रीमान्लगायत जिउँदै मान्छे मारेका थिए नि, त्यही दिन संसारलाई अलि घुर्मैलो देखेकी थिएँ । त्यसपछि त बुढेसकाल पनि लाग्यो, सुद्धि सँगसँगै यी आँखा पनि बेइमान भए डाक्टर साहेब ।’

डाक्टरले आँखाको अनेकन विधिबाट राम्ररी परीक्षण गरे । आँखामा पावर पावरका चस्मा लगाइ दिएर भने, ‘आमा ! उः पर हेर्नु त । के देख्नु भो ?’
‘आगो लागेको बसमा छट्पटाइ रहेका श्रीमान्लाई देख्दै छु ।’
‘बाहिर हेर्नु न ।’
‘काङ्ग्रेस देखेँ । अलि परतिर कम्युनिष्ट देखेँ । त्यो परतिर लुखुरलुखर गर्दै आएको राजाको भूत देखेँ ।’
‘त्यस्तो होइन के । यो चस्मा लगाएर झ्यालबाहिरका मान्छेलाई हेर्नु न ।’
आमाले चस्मा लगाइन् र, भनिन्, ‘अहो डाक्टर साहेब ! यो चस्मा लगाएपछि त पर जुलुसमा आइरहेको घुर्मैलो नेताजस्तो गुण्डा देखेँ । पछि लागेर पत्रु भएका भेडा देखेँ । दुई खुट्टे स्याल देखेँ । आफूले तिरिरहेको घरधुरी कर, मालपोत, पानीपोतलगायत सरकारले लगाएका करहरू तिरेको, भोट हालेको, नेताको गुण्डाले धम्क्याएको सवै देखेँ ।’
डाक्टरले अलि रिसाएझैँ गरेर भने, ‘होइन नि आमा, मान्छेलाई चाहिँ हेर्नु न ।’
‘मान्छे त भएको भए पो हेर्नु ? डाक्टर बाबु ! बृद्ध भइयो । सहारा चाहियो । चस्मा लगाएर हेर्दा सरकार देखिन्छ कि भनेर आएकी । त्यो चाहिँ देखिएन ।’
आफ्नै हातको काम्रोतिर देखाउँदै डाक्टरले भने, ‘आमा ! म आँखा र चस्माको डाक्टर, मैले त सरकार देखेको छैन भने हजुरले कसरी देख्नु ???’
+++

४.  अतिरिक्त लघुकथा - पुण्य  - विद्या ढकाल, तनहुँ ।

"तँ नाथे कुवाको भ्यागुतोलाई चार धाम दर्शन गर्दा प्राप्त हुने पुण्यको के ज्ञान ?" - माझाघरे कान्छालाई लल्कार्दै धर्मानन्दले कुरा सुरु गरे ।
 हिजो मात्र श्रीमती सहित चार धाम तीर्थ यात्रा पूरा गरेर आइपुगेका धर्मानन्दको घरमा काशीको जल अनि चार धामको प्रसाद लिन आउनेको लर्को नै लागेको थियो । तर जल प्रसादमा कुनै रूचि नदेखाउँदा माझाघरे कान्छा उनको वाक्वाणमा परेका थिए ।
"एकातिर खर्चपर्चको जोहो गर्न मुस्किल । अर्कोतर्फ खेतबारी पनि समाल्नै पर्ने। अझ छरछिमेकको सुखदुखमा पनि सामेल हुने बानी ।" - माझाघरे कान्छा सफाइको भाषामा बोले ।
"बेलामा कमाउन जाने पो आई पर्दा खर्च गर्न सकिन्छ । मैले पनि तीस वर्षे जागिरमा यसो हातछाम नगरी तलब मात्र भनेर बसेको भए के नै हुन्थ्यो र ? उ समयमा मौकामा चौका हान्ने सीप लगाएको थिएँ र पो ।" - धर्मानन्दले फूर्तिका साथ विगतलाई कोट्याए । 
माझाघरे कान्छा हतार भावमा बोले - "भरखर चार जना मिलेर सुत्केरी व्यथाले छटपटाई रहेकी सुन्तलीलाई स्वास्थ्य केन्द्र छोडेर आयौँ । फेरि अस्ति मात्र पैरोले क्षतिग्रस्त पुनमको घर मर्मतका लागि जानुछ । लौ म त हिँडे ।"

+++

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...