मंगलबारे लघुकथा रोजाइ कार्यक्रम– लक्ष्मी रिजाल (संयोजक/प्रस्तोता) पं.ज्यो. तोयनाथ सुवेदी (टिप्पणीकार) (मिति–२०८०–०६– १६ श्रृङ्खला– ७१४) समय– रातको ७ः३०–८ः३० बजे । अतिरिक्त नारी हस्ताक्षर–एन्जल निलु मीना साह ।
१. एन्जल निलुको रोजाइको लघुकथा- समानता -प्रेम पुन मगर
२. नन्दलाल आचार्यको रोजाइको लघुकथा- चुनाव -अमृता घिमिरे
३.रामप्रसाद पन्थीको रोजाइको लघुकथा- पिताजीकाे श्राद्ध ✍️ रामप्रसाद पन्थी
४. लक्ष्मी रिजालको रोजाइको लघुकथा- भिडतन्त्र -प्रेम विदेह
५. गजल आचार्यको रोजाइको लघुकथा- गुणतन्त्र -प्रेम विदेह
+++
१. एन्जल निलुको रोजाइको लघुकथा- समानता -प्रेम पुन मगर
"समयमा किन नआएको?" अफिसबाट आउदैँ गरेका सोम सरलाई उनकी श्रीमती मंगलाले झर्किदै भनिन्।
"आजलाई अबेर भयो। भोली देखि यस्तो हुनेछैन।" सोम सरले नम्रताका साथ भने।
"घरको काम मिलिजुली गर्नु पर्छ। किनभने महिला पुरुष समान हौं।" मंगलाले भनिन्।
"हुन्छ घरको काम मात्रै किन ? जीवनका हरेक समस्याहरुको समाधान मिलिजुली गर्नुपर्छ नि। " उनले भने।
"कुरा मात्र दार्शनिक गरेर हुन्छ? भन आज कता किन ढिला भयो?" उनले थपिन्।
"सरकारी हस्पिटलमा गाउँबाट बाजेलाई ल्याएछन्। त्यहाँ पुगेर आउँदा ढिला भयो नि।" सोम सरले भने।
"सत्यनाश! ... गरीखान नदिने भए। ती गंगाराम बाजे पनि कति हप्तै पिच्छे बिरामी हुन परेको ?" मंगलाले निधार पिट्दै भनिन्।
"ती बाजे होइनन् क्या तिम्रा माइतीघरका गमलाल बाजे हुन्।"
सोम सरले सत्य कुरा भने।
"ए मेरा बाजे पो बिचरालाई के भएछ पहिल्यै किन भनेनौ। हेर्न गएर एकदमै ठिक गरेउ।" मंगलाको कुरा सुनेर सोम सरले सोधे -
"बाजे त तेरो मेरो छुट्टाउनेले अझै समानता खोज्दैछ्यौ?"
८/३/२०८०
+++
२. नन्दलाल आचार्यको रोजाइको लघुकथा- चुनाव -अमृता घिमिरे
“फलानो पार्टी जिन्दावाद ।” प्रत्युत्तरमा – जिन्दावाद ! जिन्दावाद !! “भोट के मा ?” नारा लाग्यो – “डिस्कानो पार्टीमा ।” “हाम्रो पार्टीमा भोट दिऔँ, देशलाई सुन्दर र समृद्ध बनाऔँ ।” चुनाव नजिकिएको थियो । यस्तै–यस्तै नारा लगाएर भोट माग्दै ७–८ जनाको एक हुल हाम्रो गाउँमा पसेको थियो । त्यो सुनेर ठुलोबुवाले भन्नुभयो “ठिकै भन्छौ केटा हो, जिन्दाबाद । जिन्दा र आबाद त तिमीहरुका पार्टी र नेता त हुने हो नि । अनि सुन्दर र समृद्ध पनि देश होइन तिमीहरुकै परिवेश त हुने हो । हामी जनतालाई कस्ले हेर्ने, कस्ले सुन्ने ।” “मेरो पारो तातेर रगत उम्लिसक्यो यी दहीचिउरे नेता तथा मासु र रक्सीमा बिकेका पुच्छरहरु देखेर” घरको धुरीमा सिउरेको लामो भाटो तेस्र्याएर सुरिदै भीम दाजुले भन्नुभयो– “आफु त बिके देश पनि बिकाउने भए ।” भीम दाजुको हात समाउँदै किरण गुरुले भन्नुभयो– “शान्त हौ भीम शान्त । सास रहुन्जेल आश हुन्छ । सबै पार्टीका नेता एकै नहोलान् । देश र जनताको मर्म बुझ्ने कोहि त होलान् ।” त्यसपछि अक्रोश मुद्रामै भीम दाजुको प्रश्न थियो – “त्यो कोही चाहिँ को होला ?” भीम दाजु र किरण गुरुको कुरा सुनिरहनु भएका ठुलोबुवाले भन्नुभयो– “यसपालो नि त्यहि त हो नि । हात्ती आयो हात्ती आयो फुस्सा, जुन गोरु आए पनि कानै चिरेको ।”
विराटनगर सरौचिया, मोरङ मिति २०७८ /१२/१३
+++
३. रामप्रसाद पन्थीको रोजाइको लघुकथा- पिताजीकाे श्राद्ध ✍️ रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ , गुल्मी
हिजैदेखि घरमा चहलपहल बढेकाे कुरा अनितालाई थाहा छ । उसले मामुलाई साेधेकी थिई " हाम्राे घरमा के हुँदैछ मामु ?"
"तिम्राे हजुरबाकाे श्राद्धे " सरलाले उत्तर दिइन् ।
अनितालाई श्राद्धका बारेमा थाहा थिएन । कारण त्यस घरमा पहिलाेपटक हजुरबाकाे श्राद्ध हुँदै थियाे । उसले मामुसामु जिज्ञास राखी " याे श्राद्धे भनेकाे के हाे नि मामु ? "
"मरेका पितृहरूकाे पूजापाठ गर्ने हाे नानी । पितृहरूकाे श्राद्धे गर्दा उनीहरू प्रशन्न हुन्छन् । आशीर्वाद दिन्छन् । याे हाम्राे संस्कृति पनि हाे ? "
सरलाकाे कुराले कता कता छाेयाे अनितालाई । हजुरबा बिरामी पर्दा निकै झर्काेफर्काे गर्नुहुन्थ्यो मामु । हजुरबाले चिया खान खाेज्दा सुगरले समात्छ खानु हुँदैन धेरै भन्नुहुन्थ्यो । रातमा हजुरबालाई खाेकी लाग्दा बुढाले सुत्नै दिएनन् भन्नुहुन्थ्यो । बाबा मामुकाे व्यवहारले हजुरबा जीवित छँदा जहिल्यै दुःखी हुनुहुन्थ्यो । आज हजुरबालाई प्रशन्न गराउन श्राद्ध गर्ने भनेकाे सुन्दा अनितालाई अचम्म लाग्याे ।
यस्तैमा सुरेशकाे आगमन हुन्छ । उनले अनितालाई दुबाे र फूल टिप्न लगाउँछन् । अनिता बाबुकाे आज्ञापालनमा खटिन्छे ।
"आज अनिता पनि स्कुल नजाओस् है सरला " बाबुकाे यस कुराले अनिता दङ्ग छे ।
"लाै पण्डितजी पनि आइपुग्नु भाे । सरला ! मिठाे चिया बनाऊ । चिया खाएर काम सुरू गर्नु पर्ला ।"
सुरेश पण्डितजीसँग गफ गर्दै गर्दा चिया आइपुग्छ । सुरेशले अनितालाई आइफाेन ल्याउन लगाउछन् ।
श्राद्ध सुरू हुन्छन् । सुरेशले स्ट्याण्ड ठड्याएर भिडियो क्यामेरा चालु गर्दछन् । प्रत्यक्ष प्रसारण सुरू हुन्छ । छिनछिनमा सुरेश भ्युज, लाइक र कमेन्टकाे अवस्था नियाल्न पुग्छन । अनलाइनमा आफूले गरेकोे कर्मकाे क्रेज बढेकाेमा सुरेश प्रशन्न देखिन्छन् ।
अनिताले बाबुकाे संकेतअनुसार बेलाबखत फाेटा खिचिदिन्छे। श्राद्ध सम्पन्न हुन्छ । टीकाटाला र दान दक्षिणा पनि चल्दछ ।
सुरेशले श्राद्ध सम्पन्न भएसँगै निमन्त्रणा गरिएका पाहुनालाई घर छेऊमै रहेकाे पार्टी प्यालेसमा पितृ प्रसादका लागि लैजान्छन् । " ...अरेली काँडैले ...च्वास्स च्वास्स ... गीतसँगै चुस्स चुस्स पितृ प्रसाद ग्रहणकाे काम थालनी हुन्छ । यसैबीचमा सुरेशले सामाजिक सञ्जालामा आफ्नाे पुरूषार्थ पाेष्ट्याउदै स्ट्याटस लेखे " पिताजीकाे श्राद्ध सम्पन्न गरियाे ...!
२०८० आश्विन १५
+++
४. लक्ष्मी रिजालको रोजाइको लघुकथा- भिडतन्त्र -प्रेम विदेह
- यो कुन तन्त्र हो यार ?
- कुतन्त्र।
- प्रष्ट भनन।
- भिडतन्त्र। भयो ?
- कसरी ?
- हेर्दैनौ अन्धो ?
- के हेरूँ ?
- चुचुरोमा लागेको छ भुतहरूको मेला !
+++
५. गजल आचार्यको रोजाइको लघुकथा- गुणतन्त्र -प्रेम विदेह
- के मनपर्छ भाइ ?
- के मनपर्छ ?
- राजतन्त्र कि प्रजातन्त्र ?
- कुनै पनि होइन।
- लोकतन्त्र नि ?
- अहँ, प्रचलित होइन।
- अनि कुन ?
- गुणतन्त्र मिसिएको।
- त्यसमा के के हुन्छ ?
- जे जे हुन्छ,राम्रै हुन्छ।तर एउटा चाहिँ हुँदैन।
- के हुँदैन ?
- ल्याप्चे शिक्षामन्त्री !
######
नोट : यी कथाहरू २०५३ सालमा लेखिएका हुन्।
प्रेम विदेह
* जनकपुरधाम *
No comments:
Post a Comment