मंगलबारे लघुकथा रोजाइ कार्यक्रममा म लक्ष्मी रिजालको हार्दिक नमस्कार र स्वागत छ । आज मिति– २०८०–०६–०२ गते मंगलबार हो । लघुकथा प्रतिष्ठानको नियमित श्रृङ्खला– ७०० लिएर म उपस्थित भएकी छु । अहिले रातको ७ः३० बजिसकेको छ । आजका लघुकथाको टिप्पणी गर्न हाम्रा गुरु पं.ज्यो. तोयनाथ सुवेदी यस असोज महिनाभरि आउनुहुने छ । अतिरिक्त नारी हस्ताक्षरको रुपमा एन्जल निलु मीना साहले सघाउनुहुनेछ ।
आजका लघुकथा रोज्नुभएको छ, मनोहर पोखरेल, नन्दलाल आचार्य, एन्जल निलु, पीयुष र गजलले । उहाँहरु सबैलाई एकमुस्ट धन्यवाद छ । हरेक हप्ता मंगलबारको समयमा यहाँरुले पनि लघुकथा छान्न सक्नुहुनेछ ।
आज मङ्गलबारको लघुकथाक्रम यस्तो छ-
१. लघुकथा- पापसँग जोडिएको धर्म -अप्सरा आचार्य
२. लघुकथा- यन्त्र -खेमराज पोखरेल
३. लघुकथा- चरी जेलैमा -अवतार ढकाल
४. लघुकथा- लाेकाचार -विष्णु भण्डारी आचार्य
५. लघुकथा- शालीनता -रमेशमोहन अधिकारी
आजको कार्यक्रम नियाल्न धेरै जना लघुकथाप्रेमीहरु पाल्नुभएको छ । उहाँहरु सबैलाई एकमुस्ट नमस्कार र स्वागत भन्दै म आजका कथाहरु वाचन र छोटो प्रतिक्रिया व्यक्त गर्न अनुमति चाहन्छु ।
+++
१. लघुकथा- पापसँग जोडिएको धर्म -अप्सरा आचार्य
ऋषिपञ्चमीको दिन पूजा लगाउने तयारी हुँदै थियो । टोलको सप्तऋषिको मन्दिर परिसरमा टोलछिमेकका सबै महिला दिदीबहिनीहरू मिलेर पूजा लगाउने भनेर ठिकठाक पर्छन् । पल्लो घरकी सुन्तली दिदी पनि आफ्नी बिस वर्षकी छोरीलाई पूजामा सहभागी गराउने भनेर लिएर आइन् । रजस्वला भैसकेपछि हरेक महिलाले पञ्चमीको विधिवत् पूजाआजा गरेर कर्कलो र भात खाई व्रत बस्ने प्रचलन छ हाम्रो हिन्दू संस्कारमा । हाम्रा आमा हजुरआमा सबैले यसै गर्दै आउनुभयो अनि हामीले पनि निरन्तरता दिँदै आएका छौँ ।
पूजा सम्पन्न भइसकेपछि पण्डितजीले पञ्चमिको कथा सुनाउन थाल्नुभयो । कथामा महिनावारी भएकी महिलाको कस्तो कस्तो रूप हुन्छ व्याख्या गर्दै भन्न थाल्नुभयो । रजस्वला भएको पहिलो दिन स्त्री चण्डालिनी हुन्छे । दोस्रो दिन बृह्मघातिनी तथा तेस्रो दिन धोबिनीको समान अपवित्र हुन्छे । चौथो दिन नुहाइ धुवाइ सकेर शुद्ध हुन्छे । रजस्वला भएका बेला छोइछाइ गर्दा पाप लाग्छ अनि वर्षभरि गरिएको पाप पखाल्नका लागि पञ्चमीको पूजाआजा गरी व्रत बसिन्छ भन्ने कुरा कथामा आयो ।
यति कथा सुनिसकेपछि सुन्तली दिदीको छोरी आज्ञा जुरुक्क उठ्छिन् र भन्छिन्, “पण्डितजी हामीले रजस्वला भएर के पाप गरेको छौँ र यहाँ पाप पखाल्ने कुरा हुँदै छ । अनि हामी महिलालाई पर सरेका बेला दिएका उपनामहरूले यहाँ महिलाको खिल्ली उडाएको रहेछ । प्रकृतिको नियम हो रजस्वला हुने । हामीले किताबमा पढेको कुरा गर्ने हो भने यो एक स्वाभाविक प्रक्रिया हो जसरी शरीरबाट दिशा, पिसाब र पसिना निस्कन्छ त्यसरी नै महिलाहरूको शरीर परिपक्व भएपछि रजस्वला हुन्छन् । यो प्रकृतिको नियमलाई पाप भनेर जबरजस्ती धर्म गराउन खोज्नु धर्म को गलत व्याख्या हो । मैले रजस्वला भएर न कुनै पाप गरेँ र अब न मलाई यो पापसँग जोडिएको कुनै धर्म नै गर्नु छ । वातावरणमा एक छिन सन्नाटा छाउँछ । सबै मुखामुख गर्छन् ।
(इमाडोल ललितपुर)
+++
(अप्सरा आचार्यको यस लघुकथाले विद्रोही विचार ओकलेको छ । विचारप्रधान लघुकथाको नमुना भएको छ । लघुकथा लेखनको संरचना पक्षमा कसरमसर बाँकी छ । अहिलेका नयाँ पुस्ताले परम्परागत सोच र विचारमा कमजोरी देखे सुधार्न र परिमार्जन गर्न खुट्टा कपाउन नहुने सन्देश सम्प्रेणका लागि अप्सरा आचार्यलाई मुरीमुरी बधाई र शुभकामना छ । समय सान्दर्भिक लघुकथा रोजेर मंगलबारे लघुकथा रोजाई कार्यक्रमलाई सघाउनुभएकोमा व्यवस्थापक मित्र मनोहर पोखरेलप्रति हार्दिक आभार व्यक्त गर्दै खेमराज पोखरेलको यन्त्र शीर्षकको दोस्रो लघुकथा वाचन गर्न अनुमति चाहन्छु ।)
२. लघुकथा- यन्त्र -खेमराज पोखरेल
‘के वर माग्छौ मनुष्य ? तिम्रो तपस्या याने रिसर्चको हेतु के हो ?’ कम्प्युटरको प्रयोगशालाबाट एउटा यन्त्र बोकेर भगवान् प्रकट भएर सोधे ।
ऊ अचम्मित भयो । उसको लामो समयदेखिको रिसर्च सफल भएको थियो ।
उसले भगवान्लाई एकोहोरो हेर्यो । कल्पकल्प बितेका दाह्री पालेका, केशविन्यास नमिलेको, दाह्रानङ्ग्रा भएका अट्टहास हाँस्ने एउटा स्वरूप उसको अगाडि थियो ।
उसले गुगलमा ‘भगवानको स्वरूप’ भन्ने वाक्य टङ्कण गर्यो । सोही आकृति देखा पर्यो । अब भने ऊ ढुक्क भयो कि यही स्वरूप भगवान् हो ।
उसले भगवान्लाई भन्यो — हे भगवान् ! यो पृथ्वीका मान्छे किन विकृत भएका ?, यसको कारण के हो ? सद्दे र विकृत मान्छे चिन्ने कसरी ??
भगवान्ले भने — यति जाबो कुरा पनि थाहा छैन मनुष्य ?
उसले भन्यो — छैन नि भगवान् ।
भगवान्ले भने — मनुष्य ! तिम्रो रिसर्चले एउटा यन्त्र जन्माएको छ । त्यो मसँग छ । यसलाई मैले अपारदर्शी र सुन्दर कागजले छोपेको छु । यो यन्त्र तिमी घर लिएर जाऊ । कोही मानिस विकृत छ कि छैन भनेर जाँच्नका लागि यो कागज खोल । अनि यो यन्त्र उसैलाई देखाइ देऊ । यो यन्त्रले भन्ने छ ।
ऊ यन्त्र बोकेर घर पुग्यो । श्रीमतीले सोधिन् — चिया सँगै पिउने हो ? बनाऊँ ?
उसले यन्त्र श्रीमतीतिर फर्कायो । श्रीमती मनमनै भन्दै थिइन्, ‘यस्तो घोसे चिसो ढुङ्गाजस्तो लोग्ने हुनुभन्दा त बरु .....’
ऊ झर्कियो ।
कोठामा पुगेपछि यन्त्रलाई टेबलमा राखेर लुगा फेर्न थाल्यो । त्यो यन्त्रमा ऊ आफैँ देखियो । विकृत र दुष्ट ।
+++
(खेमराज पोखरेलको यस यन्त्र शीर्षको लघुकथाले आजका विकृत र दुष्ट मान्छेका गालामा थप्पड बर्साएको छ । आफनो मुहारमा आफैँ कलंकको दाग लगाएर मान्छे नथाकेको विचार ओकलेको छ । मान्छे आफैँले आफ्नो पतनको खाल्डो खन्दै छ भन्ने विचार सम्प्रेषणमा यो लघुकथा नमुना भएको छ । लघुकथा लेखनको संरचना पक्ष समेत अनुकरणीय छ । अहिलेका नयाँ पुस्ताका लघुकथा सर्जकहरुले परम्परागत सोच, विचार र मिथकको प्रयोग कसरी गर्ने भन्ने सिक्न सक्छन् । हाइपोथेसिसको प्रयोग गरी मानवभित्र मान्छे हुनुपर्छ भन्ने सन्देश सम्प्रेणका लागि खेमराज पोखरेललाई मुरीमुरी बधाई र शुभकामना छ । समय सान्दर्भिक लघुकथा रोजेर मंगलबारे लघुकथा रोजाई कार्यक्रमलाई सघाउनुभएकोमा व्यवस्थापक मित्र नन्दलाल आचार्यप्रति हार्दिक आभार व्यक्त गर्दै अवतार ढकालको चरी जेलैमा शीर्षकको तेस्रो लघुकथा वाचन गर्न अनुमति चाहन्छु ।)
+++
३. लघुकथा : चरी जेलैमा -अवतार ढकाल
तीज लाग्नु भन्दा पन्ध्र दिन अगाडि देखि नै दर खाने कार्यक्रमहरू आयोजित थिए । शहरका होट्ल र पार्टी प्यालेसहरू भरिभराउ हुन थालिसकेका थिए । पर्वको नाम उहि तर सँस्कृतिको मौलिकता मेटिंदै गएको थियो ।
मेरो एकजना मिल्ने साथी र म एउटा रेष्टुरन्टमा खाजा खाँदै गफ गर्दै थियौं । अलि परको टेवलमा महिलाहरूको एउटा सानो टोली थियो । उनीहरूको चर्को कुराकानीले हाम्रो कुराकानीलाई छोपिरहेको थियो ।
`गेम खेल्न भनेर मोवाइल मगाको यस्तो पठाइदिएछ । खासै मन परेको छैन ।´ ` मलाई त एउटा प्रोग्राममा लगाको कपडा अर्कोमा लगाउन मनै लाग्दैन ।´ ` सुड्डोहरूलाई खुसी पार्न सकियो भनें त टिकटकमा टन्नै गिफ्ट मिल्काउँछन यार।` छोराछोरीलाई बोडस गर्देकी छु । ढुक्क छ ।´ ` ह्य बुडाबुडीको चाकर गरेर नि कोहि गाउँमा बस्छ । ´ उनीहरूका यस्तै यस्तै गफगाफहरू र उन्मुक्त हाँसोले रेस्टुरन्ट गुल्जायमान थियो । टेबलमा रित्तिँदै गरेका बोतल र गिलासहरू र प्लेटहरू थिए ।
` लौ अब एकछिन रमाइलो गरौं । एकछिन उफ्रियो भनें बल्ल खाको पच्छ ।´ उनीहरू मध्येकी एउटीले प्रस्ताव गरि । सबैजना जर्याकजुरुक उठेर खाली ठाउँमा उभिए । एउटीले सानो स्पिकरमा ब्लुटुथ कनेक्ट गरेर गीत बजाउन सुरु गरि : ` चरी जेलैमा .....।´ उनीहरू सबै फ्री स्टायलमा उफ्रन थाले ।
`यस्तो स्वतन्त्रता । अनि गीत चाहिँ चरी जेलैमा ।´ मैले आफुलाई चित्त नबुझेको कुरा साथीसँग राखें ।
` गीतका अरु कुरा यिनीहरूसँग नमिले पनि यो लाइन चाहिँ मिल्छ ।´ साथीले भन्यो ।
मैले ` कसरी?´ भन्नें आसयले मुन्टो उठाएर हेरें ।
`हेर यिनीहरू ढोका बिनाको जेलमा आफुले आफैंलाई कैद गरेका चरी हुन । बिशुद्ध अर्काले हालिदिएको चारो खाएर मोटाउने जेलका ब्रोइलर चरीहरू ।´ उसले भन्यो ।
+++
(अवतार ढकालको चरी जेलैमा शीर्षकको तेस्रो लघुकथाले आजका पर्व मनाउने चलनमा विकृति भित्रिएकोमा असन्तोष प्रकट गरेको छ । तीजका नाममा अनावश्यक हर्कत गर्ने नारीका गालामा थप्पड बर्साएको छ । आफनो मुहारमा आफैँ कलंकको दाग लगाएर ठूलो मान्छे नभइने विचार ओकलेको छ । चाडपर्व मनाउने नाममा मान्छे आफैँले आफ्नो पतनको खाल्डो खन्दै छ भन्ने विचार सम्प्रेषण गरेको छ । आधुनिक लघुकथा लेखनको संरचना पक्षमा भने अझ मगज लगाउन आवश्यक छ । संस्कृतिलाई कुसंस्कारमा बदलेर पहिचान मेट्ने मुर्खता गर्नुहुन्न भन्ने सन्देश सम्प्रेणका लागि अवतार ढकाललाई मुरीमुरी बधाई र शुभकामना छ । समय सान्दर्भिक लघुकथा रोजेर मंगलबारे लघुकथा रोजाई कार्यक्रमलाई सघाउनुभएकोमा सानी नानी गजलप्रति हार्दिक आभार व्यक्त गर्दै विष्णु भण्डारी आचार्यको लोकाचार शीर्षकको चौथो लघुकथा वाचन गर्न अनुमति चाहन्छु ।)
+++
४. लघुकथा—लाेकाचार -विष्णु भण्डारी आचार्य
एक्लाे छाेराकाे लागि बाबुले कमाइदिएका अथाह सम्पत्ति छदै थियाे प्रमाेदकाे ।
समाजमा प्रतिष्टा कमाएरै बसेका ब्यक्ति पनि हुन् । त्यही भएर त बाबुको काजकिरिया धौ फुकाएरै गरे उनले । एकतोलाको त पिण्ड काट्ने सुनको फाली नै दान गरे । लुगाफाटा, फर्निचर भाँडाकुँडा भाेजखर्च जम्मै गरि लगभग आठ दशलाख दान गरेकोजस्तो अनुमान लगाउन सकिन्थ्यो ।
तेर्हाैँ दिनको तिथीमा मान्छेको घन्चमन्च ठूलै थियो । शायद मलाम गकाजति कोही छुटेका थिएनन् हाेला जस्ताे लाग्थ्याे।
छोराछोरी हो्उन् त प्रमोदजस्ता । मरण होस् त प्रमाेदका बाकाे जस्ताे । पुरोहित पुरोहित्नी दङ्ग हुदै कुरा गर्थे । टाढाबाट आउनेहरु पनि त्यही भनाईमा सहमत जनाउथे ।
केही पर छिमेकीहरुकाे एक समुह भने एकापसमा मुखामुख गरि कानेखुसीमा कुरा गर्दैथिए-
जसले बालाई दुईवर्षअघिदेखि अध्याराे काेठा, चिसाे भुइँ, थाेत्रे गुन्द्रीमा मात्र सुताएकाे देखेका थिए ।
बेलबारी माेरङ
+++
(विष्णु भण्डारी आचार्यको लोकाचार शीर्षकको चौथो लघुकथाले आजका पुस्तामा मानवता हराउँदै गएको र आडम्बरको दास भएकोमा असन्तोष प्रकट गरेको छ । जिउँदो छँदा बाबुआमाप्रति अत्याचार गर्ने र मरेपछि गोहीका आँसु चुहाउने सन्तानको गालामा थप्पड बर्साएको छ । यस लघुकथाले पनि आफनो मुहारमा आफैँ कलंकको दाग लगाएर ठूलो मान्छे नभइने विचार ओकलेको छ । जेष्ठ नागरिकको अपमान गरी पण्डित पुरोहित पोसेर धर्म नहुने बरु पापको भारी थपिने भन्ने विचार सम्प्रेषण गरेको छ । आधुनिक लघुकथा लेखनको संरचना पक्षमा भने अझ गन्थनमन्थन गर्न आवश्यक छ । जेष्ठ नागरिक सम्मानको संस्कृति विकासमा लागेर कुसंस्कार र आडम्बरलाई लात हान्नुपर्छ भन्ने सन्देश सम्प्रेणका लागि विष्णु भण्डारीलाई मुरीमुरी बधाई र शुभकामना छ । समय सान्दर्भिक लघुकथा रोजेर मंगलबारे लघुकथा रोजाई कार्यक्रमलाई सघाउनुभएकोमा सानो भाइ पीयूषप्रति हार्दिक आभार व्यक्त गर्दै अब भने रमेशमोहन अधिकारीको शालीनता शीर्षकको पाँचौँ तथा आजको अन्तिम लघुकथा वाचन गर्न अनुमति चाहन्छु ।)
५. लघुकथा- शालीनता -रमेशमोहन अधिकारी
उहाँ राष्ट्रिय रूपमा चर्चित व्यक्ति हुनुहुन्छ । एउटा मात्र प्रतिभाको प्रबलता भए तापनि हरेक क्षेत्रको धेरथोर ज्ञान उहाँमा छ । त्यसैले कसै कसैले उहाँलाई बहुमुखी प्रतिभा पनि भन्ने गर्दछन् ।
एउटा रङ्गमञ्चको पर्दा उघारिँदा उहाँ देखिनुभयो । उहाँको शालीनता, जनताप्रतिको दायित्वबोध, राष्ट्रियताजस्ता राजनीतिका सबल पक्ष उहाँको व्यक्तित्वबाट स्पष्ट झल्कन्थ्यो । उहाँ एउटा छाता बनाउँदै हुनुहुन्थ्यो, आफ्नै हातले । त्यो छाता त गजबको रहेछ । त्यस छाताको आकार नेपालकै आकारको थियो । त्यस छातामुनि जति मान्छे अट्थे, तिनका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार आदिसम्बन्धी यावत् समस्याहरू स्वतः दूर हुँदै जान्थे अर्थात् छातामुनिका सबै हरेक दृष्टिले सन्तुष्ट हुन पाउँथे । त्यस्तो छाता बनाउन पाउँदा उहाँका अनुहारमा पनि प्रसन्नताका रेखाहरू सल्बलाएका स्पष्ट देखिन्थे ।
उहाँले त्यो छाता द्रुत गतिमा बनाउँदै हुनुहुन्थ्यो । छाता ज्यादै ठूलो हुनाले एकै दिनमा बन्न सक्तैनथ्यो । अर्को अर्को दिन पनि उहाँ रङ्गमञ्चको पर्दामा देखिनु नै पथ्र्यो ।
भोलिपल्ट पनि दर्शकहरू नाट्यशालामा खचाखच थिए । उहाँ रङ्गमञ्चमा देखा पर्नुपर्ने समय बित्दै गइरहेको थियो तर उहाँ पर्दामा देखा पर्नुभएन । दर्शकहरू अधीर भए र आफैंँआफैंँमा प्रश्न गर्न लागे “कतै उहाँलाई केही त भएन ?”
यस्तै खासखुस हुँदाहुँदै अलि छटपटे खालका एक दुईजना दर्शकहरू पर्दापछाडि चियाउन पुगे । पर्दापछाडि उहाँ नै त्यो छाता धमाधम भत्काउँदै हुनुहुँदोरहेछ ।
त्यहाँ गएकाहरूमध्ये एकले ज्यान हत्केलामा राखेर डराई डराई प्रश्न गरे “बहुमुखी प्रतिभावान् राष्ट्रिय व्यक्तित्वज्यू ! यो छाता पुनः किन भत्काउन लाग्नुभएको ?” उहाँले उही शालीन शैलीमा जवाफ दिनुभयो “अहिले पुनः मैले रङ्गमञ्चको पर्दामा देखा पर्नु छ र पुनः छाता बनाउनु छ ।”
लेखन- २०५९
(अब भने रमेशमोहन अधिकारीको शालीनता शीर्षकको पाँचौँ तथा आजको अन्तिम लघुकथाको कुरा गर्दै छु । लघुकथा बेजोड छ अनुकरणीय छ । द्वन्द्व बिना राम्रैराम्रै भएको कुराले लघुकथा चखिलो बन्दैन भन्ने पाठक मन भइरहँदा अन्त्यमा गएर पाठक सोचलाई नै गन्दै नालीमा मिल्काउँदै आदर्श पात्रले कैँटे भूमिका खेलेको छ ।
आजका नेतानेतृ अर्थात् जनप्रतिनिधिहरुमा मानवता हराउँदै गएको, सामाजिक चिन्तन सेलाएको र आडम्बरको दास भएकोमा असन्तोष प्रकट गरेको छ । चुनावताका देश बनाउने कसम खाँदै भोट माग्न गोहीका आँसु चुहाउने प्रवृतिको गालामा थप्पड बर्साएको छ । यस लघुकथाले विश्वासघात गर्नेहरुलाई रछ्यानमा पुर्याउनुपर्छ भन्ने विचार ओकलेको छ । देश र जनतालाई ठग्नेबाट होसियार हुनुपर्छ भन्ने सन्देश सम्प्रेणका लागि रमेशमोहन अधिकारीलाई मुरीमुरी बधाई र शुभकामना छ । समय सान्दर्भिक लघुकथा रोजेर मंगलबारे लघुकथा रोजाई कार्यक्रमलाई सघाउनुभएकोमा एन्जल निलुप्रति हार्दिक आभार व्यक्त गर्दछु । अब भने मंगलबार एकएक वटा लघुकथा रोज्न आग्रह बिसाउँदै म तपाईंहरुबाट ओझल पर्न अनुमति चाहन्छु । अहिलेसम्म कार्यक्रम नियालेर साथ दिनुहुने तपाईं तमाम दर्शक, आजका पाँच लघुकथा रोज्ने मित्रहरु र सर्जकहरुप्रति हार्दिक धन्यवाद छ । नमस्कार)
निर्णायक मण्डलज्यू,
५ दर्जन लघुकथामध्ये २७ लघुकथा यस लिंकमा छन् । कृपया यहाँबाट लिनुहोला वा यही हेर्नुहोला । दिएको कथा सूची अनुसार १०० मा जम्मा कति अंक ल्याए क्रमशः लेखेर पठाउन हुन सादर निवेदन छ ।
https://www.facebook.com/groups/295090186555588/permalink/295149366549670/

No comments:
Post a Comment