आइतबारे लघुकथा वार्ता कार्यक्रम– मनोहर पोखरेल (संयोजक/प्रस्तोता) वार्तामा अतिथि अनु विज्ञाति (मिति–२०८०–०६–०७ श्रृङ्खला– ७०५) समय– रातको ७ः३० बजे ।
+++
१. अग्रज लघुकथा : आँसु -रवीन्द्र समीर
२. आफ्नो लघुकथा- सचेत ग्राहक - अनु विज्ञाति
३. नारी हस्ताक्षर लघुकथा- स्वप्नलोक -लता के. सी .
+++
१. अग्रजको लघुकथा : आँसु -रवीन्द्र समीर
भव्य पर्खाल । भव्य गेट । बाहिरबाट हेर्दा चित्ताकर्षक बगैचा । चारैतर्फ हातमा आधुनिक हतियारले सुसज्जित सुरक्षाकर्मीको पहिलो घेरा, दोस्रो घेरा, तेस्रो घेरा ।
मान्छे भएर जानु असम्भव लाग्यो, गरिब बस्तीलाई । ऊ हावा बनेर लहरिँदै लहरिँदै दरवारभित्र पस्यो । उसलाई खुब रमाइलो लाग्यो । कहिले गुलाफ, कहिले गुराँस, कहिले सुनगाभा, कहिले चम्पा, कहिले चमेली, कहिले धुपी, कहिले पारिजात, कहिले राजवृक्ष, कहिले शीतले भिजेको दुबो त कहिले अन्य क्षुप, लता, बिरुवा र ठूला रूखहरूमा ऊ लुकामारी खेल्यो ।
लुकामारी खेल्दै गरिब बस्ती महाराजको शयन कक्षमा पुग्यो । चन्दन, धुप, कपुर, सुगन्धित तेल, घ्यू, चमेली फूल आदिको मिश्रित सुगन्ध उसको नाकको बाटो हुँदै फोक्सोमा पुग्यो ।
सुनको पलङ, चाँदीको टेबुल, हिराजडित बल्व, नवरत्नले सिंगारिएका उपहारहरू तथा सिंह, हात्ती, गैंडा, बाघ, भालु, आदिका छालाले बनेका गलैचा अनि ती जनावरका सिङ, दांत, पुच्छर आदिले सजिएको भित्तो देखेर ऊ बाल्य हाँसो हास्यो ।
सधैँ मदिरा र मदिराक्षीमा मस्त हुने महाराजले घन्टी दवाएपछि उ महाराजको सुसारे बनेर हाजीर भयो । यसपटक महाराज निकै चिन्तित मुद्रामा देखिए । उनको अनुहारको रङ बगैँचामा सरेको थियो । महाराज घरि यता घरि उता हिँडिरहेका थिए । उसले महाराजको आँखा हे¥यो। आँखाको डिलबाट आँसुका बुँद तप्प तप्प चुहिइरहेका थिए ।
ऊ घोर आश्चर्यमा प¥यो र महाराजलाई भन्यो– “महाराज ! हजुरको र हाम्रो खुसी आकास र पाताल जस्तै फरक भए पनि आँसु ठ्याक्कै उस्तै रहेछ !”
+++
२. आफ्नो लघुकथा : सचेत ग्राहक -अनु विज्ञाति
‘भर्खरै माझेर ल्याएको हुँ । सफा छ ।’ भनेर स्पष्टीकरण दिने वेटरको उसले सात्तो उडायो ।
“तेरो हातका औँला गिलासभित्र छिराएर किन समाइस् ?”
“त्यहाँ तेरो हातको कीटाणु सरेन अब ?”
“मैले त्यही गिलासमा खाँदा सिधा त्यो कीटाणु मेरो फोक्सोमा पुग्न सक्छ । मलाई इन्फेक्सन हुन सन्छ । म बिरामी पर्न सक्छु ।”
“के थाहा, यही कारण मर्छु पनि कि !”
“यदि त्यस्तो भयो भने तँ जिम्मेवार हुन्छस् ?”
आवाज अझैँ उचो बनाएर करायो, “मान्छेको स्वास्थ्यप्रति यति गैरजिम्मेवार बन्न मिल्छ होटलहरूले ?”
उसको चर्को स्वर सुनेका अरू ग्राहकहरू अर्डर गर्न छोडेर उसको कुरा सुन्न थाले ।
होटल मालिक ग्राहक भड्किने डरले हतारिँदै उसको छेउमा पुग्यो ।
उसले विनम्र भएर भन्यो, “उसको तर्फबाट म माफी माग्छु हजुर ! हजुरको लागि म आफै सर्भ गर्छु । भनिस्यो के लिइबक्सिन्छ ?”
उसले केही मत्थरिलो स्वरमा भन्यो, “बाँकी पछि थपौला, अहिलेलाई एक खिल्ली खुकुरी चुरोट र एक बोतल लोकल झट्टै ल्याउनुस् ।”
+++
३. नारी हस्ताक्षरको लघुकथा- स्वप्नलोक
-लता के. सी .
दिनभरिको जोताइले थाकेको शरीर लिएर ऊ ओछ्यानमा पल्टियो । निदाएको थिएन, तन्द्रामा हो कि ? भित्तामा उसले एउटा स्वीच जस्तो देख्यो । "के रहेछ ?" भन्नेजस्तो लागेर थिच्यो । थिच्नासाथ ऊ एउटा अलौकिक दुनियाँमा पुग्यो ।
"आहा ! कत्ति सुन्दर र शान्त ठाउँ रहेछ । न त हाकिमको हप्की, न त स्वास्नीको कचकच ! छोराछोरीको तनाव पनि नहुने रहेछ।" उसले सोच्यो ।
उसलाई अनौठो लाग्यो, सबै जीवहरू पखेटाको सहाराले उडिरहेका थिए । ऊ आफू पनि उडिरहेको महसुस गर्यो । ऊ मनमनै गद् गद् भयो । मनमनै आफैलाई भन्यो, "यसरी सबैले उडने हो भने त यातायात खर्च, अशान्त र कोलाहल बेहोर्नु पर्दैनथ्यो !"
अकस्मात् उसको नजिक एउटा प्राणी आयो र सोध्यो, "तिमी को हौँ ?"
उसले जवाफ फर्कायो, "म पृथ्वीलोकमा मान्छेबाट आजित भएको मान्छे हुँ । यहाँको वातावरण मलाई औँधी नै मन पर्यो । अबदेखि म पनि यतै बस्न चाहान्छु । मैले के गर्नु पर्छ ?"
"आफ्नो लोक स्याहार्न नसकेर तिमीलाई हाम्रो शरणार्थी बनेर बस्न लाज लाग्दैन ? अहिले नै गइहाल ।" भन्दै त्यो प्राणीले उसलाई हकार्यो र धकेलिदियो ।
ऊ बौरियो अनि बेस्सरी रून थाल्यो ।
+++
No comments:
Post a Comment