कालजयी लघुकथा सूची–
१. लघुकथा- जात्रा –अच्युत घिमिरे
• उपाध्यक्षलाई अतिथि आसन ग्रहणका लागि निमन्त्रणा गर्दछु । -उद्घोषकले भने ।
• उनले एवम् रीतले सदस्यसम्मलाई आसन ग्रहण गराए ।
• भुइँफुट्टाहरू सबैको आसन ग्रहण भयो ।
• ती सबैले हनुमाने नाक फुलाए ।
• उसले दर्शकदीर्घाबाट सामने भुइँफुट्टाहरूलाई नियालिरहेको थियो ।
• संस्थाका आयोजकहरूले आफैँले आफैँलाई आसन ग्रहण गराएको रमिता हेर्न लायकको थियो ।
आसन ग्रहण मात्र होइन, आयोजकले आफ्नो प्रचारका लागि अपनाएका अरु विधि पनि रमित लाग्दा थिए ।
• उसले दिनभरि रमितै रमिता हेर्यो ।
परिणाम, त्यस दिनको जात्राले धेरै दिनसम्म उसको दिमाग रन्थनिरह्यो ।
+++
२. लघुकथा- उपहार -अन्जु शर्मा
"बिहे गर्ने उमेर भएर होला केटाको कुरा गर्ने बित्तिकै मसक्क मस्किन्छे । हामी जोरै भएर पनि यो छोरीको बिहे गर्न सकेको छैन । लौ न, कानमा तेल हालेर बस्न त भए न नि !"
फूलमाया ओछ्यानबाटै बर्बराइन् । उनी धेरै दिनदेखि क्यान्सर पीडित छन् ।
"कोशिस नगरेको कहाँ हो र ? हराएको भए पो खोज्नु । चिन्ता गरेर हुन्छ ? लगन आएपछि भइहाल्छ । तिमी आफ्नो चिन्ता गर छोरीको जिम्मा मलाई छोडिदेऊ ।" नरेनले सम्झाए, ।
"यी महिला को हुन् जो अघिदेखि चुप लागेर बसेकी छन ?"
"अब को हुन् भन्नू ? यिनी तिम्रै बैनी भने हुन्छ । तिम्रो यो अवस्था सेवा गर्ने मान्छे पनि चाहियो । अनि आज मातातीर्थ औंशी, छोरीलाई आमाको न्यास्रो कहिले नहोस् भनेर उपहार यिनैलाई लिएर आएँ । मेरो वृद्धा अवस्थामा कसैले पत्याउन्नन्, त्यसैले एक्लो जीवन गाह्रो हुन्छ भनेर आजै पो लिएर आएँ । छोरीको त उमेर छदै छ नि !" नरेन मुसुक्क मुस्काए ।
श्रीमानको कुरा सुन्दै गर्दा फूलमायालाई हृदयाघात भयो । आमाको मुख हेर्ने दिन आमाको मृत्यु । सानीले आमालाई अंगालो हाल्दै "बा ! तपाईंको उपहार मलाई चाहिन्न, मेरी आमा फिर्ता दिनुस् ।" डाको छोडेर रून्छिन् ।
रातोपुल (२०८०/०१/०९)
+++
३. लघुकथा- आमाको माया -अनुग्रह राना मगर पुष्प
परदेशको बसाइ पनि निकै लामो भइसकेको थियो । समय र परिस्थितिसँग जुद्दाजुद्दै यतिको बर्ष बितेको पत्तै भएन । ऊ बेला धेरै सपनाहरू पूरा गर्ने बाचा बन्धनका साथ लागेको थिएँ । ती अझै पूरा हुन सकेको छैन ।
"पैसा र निद्राले जीवनमा कहिल्यै पुग्दैन भनेको सुनेको थिएँ हो रैछ ।" यसपालि त अब निस्क नै पर्यो जसरी भए पनि भन्यो फेरि उस्तै । उता टाल्यो अर्को प्वाल शुरु ..।
"हे मेरो जिन्दगी, अधुरा सपनाहरूमा दौडिरहेको मति..।" कहिले आउला त्यो दिन भनेर मनमा सोच्दै बसिरहेको थिएँ।
ट्रीरिङ ट्रीरिङ मोबाइलको घण्टी बज्यो। हेरेँ आमा रहेछिन् । हेल्लो भनेँ। सम्बोधन गरेँ । सञ्चो बिसञ्चोको भलाकुसारी पछि कहिले आउँछस् भनेर भन्नुभयो ।
"खै आमा सपना पूरा गरेर फर्कौं भनेको कहिल्यै पूरा गर्न सकिएन ।"
"लु छोरा, ती सपनाहरु त्यतै छोडी दे । आइज बरु बाँकी सपना मिलिजुली जति हुन्छ त्यसैमा रमाइ पूरा गरौंला ।"
हस् आमा भनेँ र छिट्टै स्वदेश फर्कने बाचा गर्दै फोन राखेँ र लामो सास तान्दै मनमनै भने हेर मेरी आमाको माया ।
पाँचखपन नपा-६ संखुवासभा ।
+++
४. लघुकथा- सातोपुत्लो -डा. अमर कार्की
हिजो अचानक छिमेकी साहिँली दिदी भेट भयो बजारमा । गहनाले छपक्कै भएर आएकी उनीलाई देखेर मेरी श्रीमतीले सोधी हालिन्, "हैन दिदी यति धेरै गहना लगाएर बजार आउनु भएछ त !"
दिदीले मुसुक्क मुस्कुराउँदै भन्नु भो, "एउटा बिहेमा गएर आएको । अनि घर जाँदा अलिकति किनमेल गरौं भनेर यता बजारमा पसेको बहिनी ।"
त्यति नै बेला म जान्ने भएर अर्ति दिन लागे, "अनि यत्रो सुन कहाँ राख्नु हुन्छ त भाउजू ? चोरिने डर हुन्न ?"
उहाँले पनि सहजै जबाफ दिनु भो, "भित्र आफै सुत्ने कोठामा सेफ छ नि । फेरि घरमा त कोही न कोही त भैहाल्छन । के को डर ? "
मेरी श्रीमती बाठी, हतपत कुरो मिलाउँदै भनिन्, "हामीले चाहिँ बैँकको सुरक्षित लकरमा राख्ने गरेका छौँ, त्यसैले सोध्नु भाको होला उहाँले !"
ए हो भन्दै दिदी किनमेल तिर लाग्नु भो । हामी घरतिर लाग्यौं । बाटोमा बुढीले सातो झारिन्, "हजुरलाई जान्ने भएर किन सोध्नु पर्या अर्काको गहना कहाँ राख्छन् भनेर ? अब केही गरी गहना चोरी भो भने पर्छौ बुढा जेलमा !" मैले नसुने झैँ गरे ।
नभन्दै आज बिहानै मन्दिर गएकी बुढी आत्तिँदै र फलाक्दै घर पसिन्, "ए बुढा लौ मार्यो साहिँली दिदीको घरमा हिजो राती चोरी भएछ !" म नराम्रोसँग झस्किएंँ । हिजो गाउँमा स्याल कराउनु आजै कुखुरा हराउनु जस्तै पो भो त ! श्रीमती ठुलो ठुलो स्वरले घरै उचाल्दै थिइन् । म भने चुप थिएँ ।
त्यति नै बेला ढोकामा ढक-ढक गरेको आवाज आयो । "ल मार्यो पुलिस आयो कि क्या हो ? " श्रीमती झनै अत्तालिइन् ।
"ह्या नकराऊ तिमी, न बिराउनु न डराउनु !" भन्दै म ढोकातिर लम्के । भन्न त भनेँ तर ढोका मात्र के खोलेथेँ मेरो त सातो पुत्लो उड्यो । त्यहाँ साहिँली दिदी दुई जना प्रहरीका साथमा आउनुभएको थियो ।
दिदीले भन्नुभो, "राम भाइ, हिजो राती मेरो घरमा चोरी भयो नि । हामी सबै बैठक कोठामा टिभी हेरि राखेका थियौँ । चोर झ्यालबाट पसेर सेफ नै बोकेर भागेछ ।"
यतिन्जेलसम्म मेरो मस्तिस्कमा भने प्रहरीले मलाई हतकडी लगाएर चौकीतिर लादै गरेको दृश्य आइसकेको थियो ।
म चुप थिएँ । फेरि पनि दिदी नै बोल्नु भो, "धन्न हेर्नु राम भाइ, तपाईले हिजो सल्लाह दिए अनुसार हिजै सबै गहना र पैसा बैँकको लकरमा लगेर राखेको हुनाले बच्यो नि । तपाईंलाई धेरै धेरै धन्यवाद भन्न आएको हामी त । ल गए है ।"
फ्लोरिडा, २०८० बैसाख ४
+++
५. लघुकथा- आमाको माया -अम्बिका धिताल
"आजभोलि कति चम्किलो देखिरहेको छु मैँले रमेशको मुहार बुहारी ।"
सासु आमाको कुरा सुनेर रीताले गम्भीर हुँदै सोधिन्, "हो र आमा ! किन अघिपछि ऊ यति खुसी हुँदैन र ?"
आमा टाउको कन्याउँदै बोल्नुभयो, "अलि फरक छ नानी । बोलाए मात्र बोल्छ, एकोहोरो सोचेर मात्र बस्छ ।"
हत्त न पत्त रीताले सोधिन्, "पढ्न त मान्छ नि होइन आमा ?"
लामो श्वास लिदै आमाले भन्नुभयो, "खै नानी के भनौँ । रातको एघार बाह्र बजेसम्म किताब हेर्छ । आफूलाई कालो अक्षर भैँसी बराबर छ । पढेकै त होला नि ।"
"चिन्ता नगर्नु आमा । अब जसरी भएपनि रमेशलाई असल शिक्षा र संस्कार सिकाएर आफ्नै खुट्टामा उभ्याउनु पर्छ ।"
रीताको मतमा मत मिलाउँदै आमाले भन्नुभयो, "हाम्रो आशाको त्यान्द्रो नै त्यही त हो नि नानी । अघि पँधेरामा भेट्दा स्कुलको मिसले भन्दै हुनुहुन्थ्यो आजभोलि स्कुलमा उसको पढाइ पहिलाको भन्दा राम्रो छ रे ।"
उज्यालो चेहरामा रीता बोलिन्, "हाम्रो विश्वासलाई उसले तुवाउँदैन आमा । ऊ मलाई भन्दै थियो यसपालिको जाँच राम्रो गरेको छु भनेर ।"
"हजुरआमा ! आमा खै ? हेर्नु त मैँले पुरस्कार पाएँ । म जाँचमा दोस्रो भएँ ।" दौडँदै आएर रमेशले पुरस्कार पाएको कापी देखायो ।
"कति राम्रो कुरा सुनायौ बाबु । हाम्रो आशीर्वाद छ तिमीलाई । सधैँ राम्रो काम गर है ?" रीताले धाप मार्दै भनिन् ।
"आमा ! तपाईं हजुरआमालाई र मलाई छोडेर काम गर्न सहरतिर नजानु ल ? तपाईं साथमा हुनुभयो भने म सबै काममा राम्रो गर्न सक्छु ।"
"अनि पैसा कसले कमाउँछ त साने ?" रीताले गहभरि आँशु पारेर छोरालाई अँगाल्दै भनिन् ।
"गाउँमा नै खेती गरेर पेट पालौ न हुन्न आमा ? पैसा त म पढेर कमाइ हाल्छु नि ! अहिले बुढी हजुरआमालाई हजुरको साथ र मलाई माया चाहिएको छ ।"
कमलविनायक, भक्तपुर २०८०/०१/०७
+++
६. लघुकथा- मालिक -अम्बिका बास्तोला
"तपाईं हाम्रो जीवनस्तर उहिल्यै उक्सन्थ्यो तर खस्क्यो । कारण.....!" चप्पले नेताले मेरा घरमा भोट माग्न आउँदा अधुरै वाक्यमा भने ।
मेरो मन विस्फोट भयो- "तपाईंजस्ता धेरै नेतालाई मैले धेरैपटक भोट दिएँ । नेता धनी भए देश चलाउँदा रहे । म भने उनको गरिब जनतामा नै गनिएँ । नागरिकका हैसियतले मैले राष्ट्रलाई कर तिरेँ । कर्मचारी, ठेकेदार मोटाएर धनी भए । म उस्ताको उस्तै नै रहेँ ।"
"राम्रो शिक्षाका लागि प्राइभेट स्कुलमा नानीलाई पठाएँ । नानी सरासर रट्ने सुगा भई तर स्कुल धनी भयो । बिराम मुक्त हुन मैले आस्पताल धाएँ । अस्पताल धनी भयो । म भने एउटा छाडेर अर्कै बिमारको मालिक भएँ । म जस्तालाई जसले जेजे दिए सबै धनी भए । म ठाउँको ठावै उभिएँ ।
सार्है भयो मलाई बाँच्न मन लागेन । अब त संसारबाटै उठाईदेऊ प्रभु भनेर दिनुहुँ भेटी लिएर मठमन्दिर धाएँ । मठमन्दिरका पुजारी नै मोटाएर धनी भए ।"
"जसलाई मैले दिएँथे आज रोग, भोक, शोकबाट निबृतिका लागि तिनैसँग अहिले कचौरा थापेर दयाको भिख माग्दै छु । तसर्थ म भिखारीसित तपाईंले किन धकाउने ! सिधै भन्नुस् न यस पाली जसरी भए पनि मलाई नै भोट दे भनेर !"
मेरो लामो गनगन सुनेर नेताले हँसिलो मुहार लगाएर भने; "म तपाईं जस्तै उठ्न चाहन्छु र सारालाई उठाउन चाहन्छु । भोट दिएपछि गुलाम हैन मालिक बन्नुस् भन्न चाहन्छु ।"
२०८०/०५/२० सप्तकोसी, सप्तरी ।
+++
७. लघुकथा - आमाको माया -अरुणबहादुर खत्री “नदी”
उर्मिलाका छोरी थिएनन् । तिनजना छोराहरु थिएँ । जेठा र कान्छा छोराहरु बाहिर बाहिरै थिएँ । लोग्नेको मृत्यु पश्चात माइलो छोराको रेखदेखमा जीवन गुजारा चलाउँदै आएकी थिइन् उर्मिलाले ।
एकदिन उर्मिला साह्रै बिरामी परिन् । आफ्नी आमा बिरामी परेको खबर थाहा पाएर जेठा र कान्छा दुबै छोराहरु आइपुगे । उर्मिलाले सबै छोराहरुको अनुहार हेरिन् । हात समाउदै भनिन् “म मरेपछि मेरो नाममा बैंकमा बाँकी रहेको पैसा माइलालाई दिनु ।” जेठा र कान्छाले “हुन्छ आमा” भने । “आमा मलाई तपाईको माया र साथ भए पुग्छ बैंकमा भएको पैसा चाहिदैन” माइलाले भन्यो । माइलो घोप्टो परेर बिलौना गर्न थाल्यो । यत्तिकैमा स्या- स्या गर्दै उर्मिलाले संसार छाडिन् ।
तेह्र दिनको काज किरिया बसेर सकेपछि माइलाले भन्यो “बैंकमा आमाको नाममा बाँकी भएको पैसा मलाई लिनु भन्नु भएको छ हजुरहरुले लिन पाउनु हुन्न ।”
“आमाले आफ्नो नाममा बाँकी रहेको पैसा तँलाई दिनु भन्नु हुँदा आमाको अगाडि चाहिँ मलाई हजुरको माया र साथ भए पुग्छ पैसा चाहिदैन भन्ने अहिले आएर पैसा म लिन्छु हजुरहरुले लिन पाउनु हुन्न भन्न तँलाई कति पनि लाज लाग्दैन” दाजुले भने । “अब हाम्रो आमा यस संसारमा हुनुहुन्न, हामीले आमाको माया र साथ पाउन यो जन्ममा सक्दैनौ त्यसैले अब आमाको नाममा बाँकी भएको पैसा मैले नै लिन पाउनु पर्छ नत्र म हजुरहरुको बिरुद्धमा अदालतमा गएर मुद्दा नहाली कहाँ छाड्छु र ?” माइलाले भने ।
सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं
+++
८. लघुकथा- आमाको मन -अल्पविराम पोखरेली
ओई बुढी ! छोराले तीर्थ घुमाउने वहानामा हामीलाई बितरामा पारे जस्तो छ । तीन दिन भयो, अहिले भर्खरै आउॅछु तपाईहरू यहाँ बस्तै गर्नुस् है भनेर गएको छोरो फर्केरै आएन । बूढाले आँखाबाट आँसुको भल बगाउँदै बुढिसॅग बिलौना गर्यो ।
बुढीले पनि आँसु झार्दै भनिन्- त्यसो नभन बुढा ! हाम्रो छोरा त्यस्तो छैन, केही काम परेर भुल्यो होला आई त हाल्छ नि ।
देवघाट जाने बाटोको चौतारीमा दुई जना ज्येष्ठ नागरिक अलपत्र अवस्थामा बसिरहेका एउटा बटुवाले देख्यो र कुरा पनि सुन्यो । उसले सोच्यो बुढाबुढी भएका बाआमालाई पाल्न झ्याउ लागेर यहाँ ल्याएर छोडेछ, स्वार्थी बदमासले, देवघाट नजिकै छ त्यहीको बृद्धाश्रममा पुर्याउन पर्यो भनेर ती ज्येष्ठ नागरिकलाई प्रस्ताव राखे । तीन दिन देखिको भोक प्यासले आकुल ब्याकुल तिनीहरू बृध्दाश्रम जान तयार भए । प्रहरी जस्तै देखिने ती बटुवाले सोधे "घर कता पर्यो होला, बाआमाको ?"
बूढाले घरको ठेगाना भन्नै आँटेका थिए, बुढीले बुढाको मुख च्याप्प थुन्दै कानमा भन्यो छोरालाई गाह्रो पर्छ नि बुढा, नबोल ।
२०८०\१\८
+++
९. लघुकथा- नयाँ वर्ष -अक्षान्त
"सधैं किचलो झिकेर गिदी खानुहुन्छ ।" वीरेको आनीबानीले कटाक्ष भेट्यो विमलाबाट । पहिले तिलको पहाड बनाउँथ्यो वीरे । अहिले भने विल्कुलै शान्त थियो । एकाएक परिवर्तन आएकोमा सन्नाटा छायो ।
संसारका सामु मिलेका जोईपोइ थिए । आन्तरिक रूपमा रहस्यमय जोडी थिए । आँखा सामु एकले अर्कोलाई गन्दैनथ्यो । ओझलमा रानो हराएको मौरी हुन्थे । उनीहरू आपसमा नचिनिई जीवन घिसार्थे ।
एक्कासी विमलालाई उखपात हुन थाल्यो । उनी पतिलाई कोट्याईकोट्याई बोलाउन थालिन्- "एकाएक मान्छेले विल्कुलै परिवर्तन हुनुहुन्न ।" पतिको मौनताले कष्टकर अवस्था आयो । सधैंको बकबके बानी विमलामा सर्यो ।
वीरेको मन भने मुस्कुराइरहेको थियो । विमलाको चाहिँ भतभती पोलिरहेको थियो । वीरे अथाह आनन्दमा पौडदै थियो । बाहिर अनेक भित्र एक थिए । केहीबेरमै विमलाका आँखाले बाँध फुटायो ।
आँसुले वीरेको शान्ति भङ्ग गर्यो । विमलाको नाजुक हालत असह्य भयो । उनलाई आफूतिर तानेर पाखुरी सुम्सुम्यायो । अनि गाला पुछ्दै वीरेले थप्यो; "नयाँ वर्षदेखि नयाँ काम थालेको ।"
२०८०/०१/०१ सिर्जनाकुटी, सिरहा ।
+++
१०. लघुकथा- समय - इन्द्रकुमार श्रेष्ठ
पाको उमेरमा पनि बुआ खेतीपातीको काममा ज्यादै दुःख गर्नुहुन्थ्यो । उहाँको शरीरबाट सधैं गोबरको गन्ध आउँथ्यो । हातका औंलामा उचेरा गएका थिए । हत्केलाभरि ठेला । कुर्कुच्चा चर्चरी फुटेका । बिहान उठेदेखि बेलुकासम्म गोबर सोहोर्नु, भैंसी दुहुनु, मोही पार्नु, घाँस काट्नु, स्याउला काट्नु—एकैछिन टुसुक्क बस्नुहुन्नथ्यो । आमा अलि निफेर भएकोले बुआसँगसँगै काम नगर्दा खुब गाली खानुहुन्थ्यो ।
“यो छोराले के गरी खाला र ? हलो बनाउन पनि जान्दैन । दाम्लो बाट्न पनि जान्दैन । डोको बुन्न पनि जान्दैन । न जोत्न जानेको छ । न गाईभैंसी दुहुन जानेको छ । सिक्नै खोज्दैन । चासै गर्दैन । खालि किताब सतातेर झोक्रइरहन्छ । किताबले मात्रै त खान दिँदैन होला नि !”
घरमा आएका पाहुना, साथीभाइ र जोकोहीलाई पनि मेरो बारेमा बुआ यस्तै कुरा गर्नुहुन्थ्यो । मलाई पनि सधैं, ‘काम गरिनस् !’ भनेर गाली गरिरहनुहुन्थ्यो । बिहान बेलुका घाँस काट्ने, बिदाको दिन गाईगोरु बाख्रा चराउने काम त मैले गरेकै थिएँ । तर बुआलाई यतिले पुग्दैनथ्यो । बुआको बढ्ता कचकच सुन्दा एकमन त लाग्थ्यो, ‘विद्यालयमा पढाउनै छोडेर खेतीपातीमै लागूँ कि !’ तर पहिलेदेखि पढ्ने पढाउने काममा लागेको बानी खेतीपातीमा लाग्ने कुरै थिएन । आज बुआ बितेको पनि पन्ध्र वर्ष भैसकेछ !
मैले जागिरबाट अवकाश लिएर शहरमा बस्न थालें । किनिखान पुग्ने पेन्सन आउँछ । लाउनखानको कुनै समस्या छैन ।
सानैदेखि शहरमा पढेको मेरो पनि एउटा छोरो छ । मैले पनि उसलाई उसरी नै गाली गरें, “तँलाई लुगा धुन पनि आउँदैन । ओढेको सिरक पनि पट्याउँदैनस् । कोठाको फोहोर उस्तै छ । न घरमा आएका पाहुनासँग बोल्ने ढङ्ग छ । इन्जिनियर पढेको भएर के गर्नु ! यस्तै पाराले तैंले के गरी खालास् ?”
आफ्नै गल्ती हुँदा पनि ऊ मेरो कुरा सुनेको नसुनेझैं गथ्र्यो । कहिलेकाहीं झडङ्ग रिसाएर कोठाबाहिर निस्कन्थ्यो वा साथीभाइकहाँ जान्थ्यो ।
उसले इन्जिनियर पास गर्यो । आजकल नर्स बुहारीसहित विदेश छ । कुराकानी हुँदा भन्छ, “हामी दुवैको राम्रो कमाइ छ । आरामै छौं र खुशी पनि छौं । राम्ररी लाएर खाएर बसेका छौं । हाम्रो कुनै चिन्ता लिनुपर्दैन ।”
कमलाकुञ्ज, ओखलढुङ्गा ।
+++
११. लघुकथा- मेरा बाले के काम गर्छन् ? -इन्द्रकुमार श्रेष्ठ "सरित्"
नयाँ ट्रयाकसुटका लागि राजनले बासँग गनगन गरेको धेरै दिन भए पनि बा र आमाले किनिदिने चासो नदेखाएपछि ऊ खानै नखाई बाहिरिएको थियो । सरकारी कार्यालयको गेट अगाडि नाङ्लोमा चुरोटसुपारी बेच्दाबेच्दै झमक्क साँझ परेपछि धनमाया पोको पुन्तुरो बोकेर डेरातिर लागिन् । धनमायाको पछिपछि झंकबहादुर पनि आइपुग्यो ।
"बाबु, आज कलेजमा पढाई कस्तो भयो ?" - झंकबहादुरले सोध्नेबित्तिकै राजनले झर्किदै जवाफ दियो । -"जस्तो भए पनि तपाईलाई के ? मर्निङ वाक जान एडिडासको एकजोर ट्रयाक सुट किनिदिन नसक्नेलाई पढाईको हालखबर किन चाइयो र ?"
झंकबहादुर केही बोलेन । खाना खाँदै गर्दा झंकबहादुरले भन्यो । -"यसपटक पैसा हुने बित्तिकै किन्दिन्छु नि छोरा ।" तर छोरोले केही बोलेन ।
"त्यतिका पैसा का'ट ल्याउँछौ र बुढा ?" धनमायाको प्रश्नमा झंकबहादुर केही बोलेन । बोल्नलाई कुनै जवाफ पनि थिएन ऊसँग । किनकि जसोतसो एक्लो सन्तान एक्लो छोरोलाई कलेज पढाउनु नै झंकबहादुरका लागि दिनदिनै सगरमाथा चढ्नु बराबर थियो ।
त्यो वार्तालापको तीन चार दिनपछि झंकबहादुरले राजनलाई पैसा दियो । उसले आफूलाई मनपर्ने ट्रयाकसुट र जुत्ता किनेर ल्यायो । मन परेको पोशाकमा ठाँटिएर रमाएको छोरोलाई नियालेर झंकबहादुरको मन पनि रमायो । धनमायातिर हेरेर ऊ मुसुक्क हाँस्यो । तर बाबुले त्यति धेरै पैसा एकैचोटि कहाँबाट ल्याए भनेर छोरोले सोधेन भने झंकबहादुरले पनि भनेन ।
आज पनि समयमै झंकबहादुर काममा निस्कियो भने धनमाया पनि नाङ्लो र पोकापुन्तुरा बोकेर निस्किई । राजन नयाँ ट्रयाकसुटमा ठाँटिएर अघि नै निस्किसकेको थियो ।
राजन आफ्ना साथीहरुसँग रमाउँदै र हल्ला गर्दै म:म खान महाबौद्ध पुग्यो । वीर अस्पतालको आडैमा भारी बिसाउँदै गरेका भरियामाथि उसको आँखा पर्यो । ऊ त्यहीँ जड भयो । उसको मनमा चिसो पस्यो- उफ ! मेरा बाले के काम गर्छन् र पैसा कसरी कमाउँछन् भनेर मैले कहिल्यै किन सोधिन त ?
ऊ जड भएर ठिंग उभियो । उसको अवस्था देखेर उसका साथीहरु आश्चर्यचकित भैरहेका थिए ।
"राजन, के भयो ?" जड बनेको राजनले साथीहरुको पटक-पटकको यो प्रश्न पनि सुनिरहेको थिएन ?
- तरहरा (सुनसरी)
+++
१२. लघुकथा- पहिलो प्रेम -इन्दिरा चापागाईं
लेख्दै गरेको डायरी टेबलमा रहेछ देखिहालेँ ।
"तिम्रो प्रेमको बदलामा मैले केही दिन सकिन । तिम्रा लागि रित्तिन पाए हुन्थ्यो भन्ने लाग्छ । तिम्रै प्रेमको अमृतपान गरेर मेरो जीवन चलेको छ । तिम्रै त्याग र समर्पणले जीवनमा उर्जा मिलेको छ । मेरा नसा नसामा रगत बनेर बगेकी छौ तिमी । मेरा स्वास प्रस्वासमा अक्सिजन बनेर बहेकी छौ । खुशीको क्षण आउँने बित्तिकै तिमीलाई सम्झिन्छु र दुखी हुन्छु । दुखको समय आउँदा पनि तिमीलाई सम्झिन्छु र खुशी हुन्छु । तिमीबिनाको मेरो जीवन कहालीलाग्दो छ । तिमी मेरो जीवनमा भैदिए म कति भाग्यवान हुन्थेँ होला । पहिलो प्रेमको स्थान कसैले लिन सक्दो रहेनछ । अनि पहिलो प्रेमको अरु कुनै प्रेमसँग तुलना नै हुँदो रहेनछ । जोडी बाँधिन लागेको छु । आशिर्वाद देऊ है ।"
हाम्रो विवाह पक्का भएको थियो । लुगाको नाप दिन घरबाट बोलाइएकोले दाजु र म उनका घर गएका थियौँ । म सरासर कृष्णको कोठामा गएँ । उनी नुहाउँन पसेका रहेछन् । डायरीमा लेखेको यो व्यहोरा पढेपछि मेरो रिस र रक्तचापको पारो एकैपटक मकालु चढ्यो ।
"तिमी मेरो पहिलो प्रेम । म चाहिँ तिम्रो वैकल्पिक ? विवाह हुन लागिसक्यो, तिम्रो भने अर्कैसँग यस्तो ? अझ पहिलो प्रेम । यत्रो ठूलो धोका !" म पागल जस्तै कराउँदै थिएँ । यतिकैमा उनी नुहाएर निस्के ।
"यत्रो प्रेम अर्कैसँग अनि विहे मसँग । नो, नेभर, यो विहे हुनै सक्दैन म फन्किदै हिडेँ ।
"यता हेर त राधा ! आवेशमा नआऊ । डायरी एकपटक पल्टाऊ त । मेरो पहिलो प्रेम हेर ।" उनले शान्त मुद्रामा भने ।
फर्रर डायरी पल्टाएँ । उनकी आमाले उनलाई काखमा बोकेको सानो हुँदाको तस्विर पो रहेछ । उनी दश वर्षको हुँदा नै आमा गुमाइसकेका थिए ।
हाल : सल्लाघारी, भक्तपुर ।
+++
१३. लघुकथा- आमा
-उमानाथ दाहाल
राम छिट्टै उठ्यो । नित्य कर्म सिद्ध्यायो । आमाको तस्विर निकालेर पुसपास गर्यो । ढोग्यो र अघिकै ठाउँमा झुन्ड्यायो । अगरबत्ती बाल्यो र चढायो । आज ऊ निकै गम्भिर देखियो । आमाको सम्झनाको खहरे ऊसको मुटुमा गड्गडायो । हिजै ठिक पारेको एकझोला खेनेकुरा लिएर ऊ वृद्धाआश्रम तर्फ लम्कियो ।
नजिकै रहेको वृद्धाश्रम पुग्दा उसले थुप्रै आशामुखी वृद्ध-वृद्धा देख्यो । उसले सम्झ्यो कत्तिका छोराछोरीले हेलाँ गरेर वृद्ध आमा बाबुलाई यसरी बेहाल पारेका होलान् । मेरो आमा जीवित भए सधैँ श्रद्धा र आदरका साथ राख्थें ।
रामले झोलाको खानेकुरा झिकेर एकएक गर्दै बाँड्दै गयो । वृद्ध वृद्धा हर्षित भए । बाँड्दै जाँदा एक वृद्धाको अनुहारमा उसले आमाको झल्को पायो । अनुहार केही मिल्दो थियो । उसले बोलायो "आमा ! सञ्चै हुनुहुन्छ ?"
कसैले एकाएक आमा भनेर बोलाएको सुनेर उनी भावविह्वल हुदै भनिन् -"मेरो कोही छैन नानी ! ठ्याक्कै तपाईँकै रूप परेको एउटा छोरो थियो बुहारी लिएर विदेशिएको मरो बाँचो अत्तोपत्तो छैन । मनमा सधैँ पीरको पीर छ अनि कसरी सञ्चो हुन्थ्यो र बाबु !"
"अनि अरु सन्तान ? श्रीमान् ?" रामले जिज्ञासा राख्यो ।
"छैनन् नि, श्रीमान् बितेको सात बर्ष भयो अरु कोही छैन मेरो टेक्ने समाउने आधार ।"
राम एकछिन् मौन रह्यो र बोल्यो" तपाईँलाई म आफ्नै आमा जस्तै सम्झेर याद गर्छु नि त, छिट्टै तपाईँसंग अलि लामो कुरा गर्ने गरी आउँछु है आमा !"
वृद्धको गला अवरुद्ध भयो । एकोहोरो हेरिरहिन् । उनका आँखा रसाएर टिलपिल भए ।
शिवसताक्षी नगरपालिका दूधे, झापा
+++
१४. लघुकथा : अन्तिम प्रतीक्षा -उमेश कार्की
मान्छेको जस्तो आकृति मात्रै तर मान्छे होइन । निर्जन-निरब-निशा प्रिय ऊ, भाग्दै-लुक्दै-छेलिदै चौबाटोमा पुगेर रोकियो जहाँ समयले दिशा निर्देश गरेको थियो ।
"को हौ ? कहाँ जाने ? र किन ?" समयले प्रश्न तेर्स्यायो ।
"म... म लाज ! दुनियाँको सर्वश्रेष्ठ सभ्यता छोडेर अन्त कतै जान लागेको, लाजले भन्यो ।"
"लाज लाजले भागेको .....? हा.. हा.. हा" समयको अट्टहाँसले ऊ झस्कियो । एकछिन पछि बिस्तारै बोल्यो-"अनि म के गरूँ ? मान्छेमा म अट्ने ठाउँ नै छैन ।"
उसले समयको आँखामा जवाफ खोज्यो तर आँखा रित्ता थिए ।
"म सृष्टिको सुरुवात देखि नै यहीँ छु । धेरै चिजहरु आए-गए । इच्छा, चाहना, ज्ञान, बुद्दी, शक्ति, सामर्थ्य, लोभ, मोह, घमण्ड सबै.... सबै आए । जानेहरु नि गइरहेका छन् । भर्खरै सभ्यता, शिष्टता, नैतिकता, मानवता यहीँबाट गए । अब तिम्रो पालो । जाऊ जाऊ..। म पो कुर्दै-कुराउदैँ एक्लै....!"
संसारमा सबैभन्दा आफू बेचैन महसुस गरेको लाजले आफुभन्दा नि समय बेचैन देखेर समयको काँधमा थप्थपाउदै ऊ बोल्यो- "प्रकृतिको सुन्दर र उर्वर आयामलाई मान्छेले कुरुप र जर्जर बनायो । यसर्थ कथित श्रेष्ठ सभ्यताको सर्वनास सन्निकट छ अर्थात अर्को चक्र शुभारम्भ । जसले तिमीलाई र तिमीले उसलाई गरेको अन्तिम प्रतीक्षा हो । त्यसपछी तिमी पनि सायद ।......."
"मेरो अन्तिम प्रतीक्षा तिमी हामी अट्न सक्ने समुन्नत सभ्यता हो, सर्वनास होइन । भागेर के समस्याको समाधान हुन्छ र ?
खाँदबारी-७ संखुवासभा
+++
१५. लघुकथा - विमर्श -एन्जेल निलु (मिना साह )
"हैन ! यसरी अकस्मात् फोन गरेर बोलाउनुको कारण के होला त भाइ ?" बिमलाले सोफामा बस्दै आफ्नो कुरा राखिन् ।
"पहिले हजुर बसिसियोस्, चिया खाजा खाइसियोस् ।" यत्तिकैमा कान्छो भाइ पनि आइपुग्यो ।
बिमला घरकी जेठी संतान भएकिले घरको ठुलो सानो सबै कुरामा उनको उपस्थिति र सरसल्लाह अनिवार्य हुन्थ्यो ।
एकैछिन् पछि बिमलाले नै कुरा उठाइहालिन् । त्यसपछि ठूलो भाइले अलिक असहज हुँदै आफ्नो कुरा राख्यो ।
"म अमेरिका बस्छु, हजुरलाई थाहै छ । अब कान्छो भाई पनि अस्ट्रेलिया जाने भो । हामी दाजुभाइ गइसकेपछि आमालाई काहाँ राख्ने, के गर्ने, कसरी गर्ने भन्ने विषयमा हजुरसँग केही सरसल्लाह र बिचार विमर्श गर्नु थियो ।"
"आमालाई बृद्धाआश्रममा राख्ने नि !" दाइको कुरा नटुङ्गिदै भाइले प्याच्चै बोलिहाल्यो ।
भाइको कुरामा असहमति जनाउँदै एकछिन् तँछाड मच्छाड र द्वन्द्व जस्तै पनि भयो ।
केहीबेरको छलफल पछि बिमलाले सर्लक्क आफ्नो राय राखिन् । तिमी दुबै दाजुभाइलाई जहाँ जानु छ जाउँ......। आमा मसँग बस्नुहुन्छ । कुरो बुझ्यौ ?"
काठमाडौं जोरपाटी
+++
१६. लघुकथा- भगवानको कुभलो -एलपी पराजुली
पहिलो दिन भगवानको मूर्ति अगाडि ऊ बेस्सरी रोयो । व्यवसायको नोक्सानी सुनायो । आफन्तले दिएको व्यथा बिसायो । भ्रष्ट संसार देखि वाक्क लागेर बाँच्न मन नभएको कुरा जाहेर गर्यो । कुनै प्रतिक्रिया पाएन ।
दोस्रो दिन "हे प्रभु ! तपाईं सार्है दयालु हुनुहुन्छ, भक्तका दु:ख हरण गरिदिनुस्" भनेर निकै फकायो तैपनि सुनुवाइ भएन ।
तेस्रो दिन "हे प्रभु हरेक हप्ता व्रत बस्छु, नित्य पूजा गर्छु" भनेर भाकल गर्यो मुर्तिले कुनै प्रतिक्रिया दिएन ।
चौथो दिन "मेरो काम बन्यो भने सुनको मुकुट चढाउँछु, मन्दिरमा छाना हाल्छु" भनेर वाचा गर्यो तैपनि जवाफ आएन ।
पाँचौ दिन ऊ क्रोधित भयो र धारे हात लाउँदै मन्दिरबाट निस्कियो "तिमी भगवान होइन पत्थर रहेछौ । म जस्तो सच्चा भक्तको आवाज नसुन्ने तिम्रो पनि भलो नहोस् ।"
आश्चर्य ! अप्ठ्यारो पर्दा मात्रै सम्झिने, स्वार्थपूर्तिको लागि भावनात्मक दबाब दिने, चाप्लुसी गर्ने, लालच बढाउने र केही नलागे आस-त्रास देखाउने चरम स्वार्थी अनुयायी भएका नेताको जस्तो दुर्गति हुन्छ भगवानको समेत त्यसरी नै कुभलो भएछ ।
दैनिक हजारौंले पुज्दै आएको भगवानको त्यो मूर्ति राती नै चोरी भएछ । फलस्वरूप छैटौं दिनदेखि मन्दिरको ढोका सधैंको लागि बन्द भएछ ।
कपन, काठमाडौं
+++
१७. लघुकथा- आमाको चिट्ठी -कमला भट्टराई
साब ! हजुरको आमाले विष सेवन गरेर अस्पताल लगेको रहेछ चाँडै जानुपर्यो । यी यो चिट्ठी आएको छ । चिट्ठी खोलेर हेर्नासाथ आमा ! आमा ! भन्दै ऊ दगुर्दै गयो । तर, धेरै ढिला भइसकेको थियो । आमाले त्यतिबेला सम्ममा त यो संसारिक मोहबाट विदा लिइसकेकि थिइन्, आमासँग पश्चताप गर्ने मौका पनि पाएन उसले । अब लाख कोशिस गरे पनि आमा यो जुनीमा फर्केर आउदिनन् । ऊ जमिनमा निधार बजारी–बजारी रुन थाल्यो ।
आफ्नी आमालाई भन्दा पनि बढी माया गर्ने श्रीमानको यस्तो हाल देखेर श्रीमतीले उसको हातमा भएको चिट्ठी तानेर पढिन्– “स्याबास !! छोरा । तिम्रो बाबाले तिमी गर्भ मै छँदा मलाई एक्लै छोडेर विदेश गएका थिए । पैसा कमाएर सुखले जीवन विताउने कत्रो आश थियो । तर, गएको तीन वर्ष नपुग्दै उनी त बाकसमा बन्द भएर फर्के ! गर्भावस्थादेखि आजसम्म के कति दुःखकष्ट झेलेर तिमीलाई यो अवस्थामा ल्याए त्यो मलाई मात्र थाहा छ ।
श्रीमानले छोडेर गए पनि उहाँको प्रतिनिधि पात्र छोराले उहाँले गर्न नभ्याएको कर्तव्य सबै पूरा गर्ने छ, भन्ने मलाई कत्रो आशा थियो । तर, बुहारी ल्याएपछि तिमीमा धेरै परिवर्तन आएछ । म विरामी परेर ओछ्यानमा थलिदाँ तिमीहरुलाई मेरो श्वास गन्हाएछ है ! मैले टुहुरो तिमीलाई बाबाको कमी महशुस कहिल्यै हुन दिइन, तिम्रो मलमुत्र, सिगान, खकार पनि मलाई प्रिय थियो, कहिल्यै गन्हाएन र घिन पनि लागेन । स्याबास ! आजबाट तिमीहरुलाई मेरो श्वास कहिल्यै गन्हाउँने छैन । म माथीबाट हेरिरहने छु, तिमीहरुलाई दुःख कहिल्यै नपरोस् । आमालाई अन्तिम पटक हेर्ने चाहना भए भेटन अस्पतालमा आउँ है !”
सुन्दरहरैँचा नगरपालिका–९, विराटचौक (मोरङ)
मितिः २०८० वैशाख ६ गते बुधबार ।
+++
१८. लघुकथा- साली -कामना आचार्य
"तिम्रो गाम कहाँ हो, नानी ?" प्रहरीले सोध्यो ।
भर्खरै एसइईको हलबाट निस्कँदै गर्दा सुनेको प्रश्नको जवाफ नदिने विचारमा थिएँ । फेरि प्रश्न दोहोरियो ।
"उदयपुर !" छोटो उत्तर दिएर उम्कन खोज्दै थिएँ ।
उसले नातो लगाउँदै भन्यो; "उसो भए साली परेछ्यौ तिमी त !"
"हो, हो उदयपुर घर भएका सारा केटीहरू पुलिसकै साली हुन् नि !" मेरो आक्रोश सुनेर उसले अनुहार रातोपिरो बनायो ।
छुट्टिँदाछुट्टिँदै उसले भन्यो; "मेरो ससुराली गाउँ उदयपुर नै हो ।"
बेलका २, उदयपुर ।
हाल- गोलबजार ४, सिरहा, नेपाल । २०८०/०१/०१
+++++
१९. लघुकथा- खुसी - किशन पौडेल
पत्थरले मान्छेलाई भन्यो-
“तिमी मलाई कुनै मन्दिरभित्र लगेर राखिदेऊ, म भगवान बनेर तिमीलाई बरदान दिने छु ।"
मान्छेले त्यो पत्थरलाई मन्दिरभित्र लगेर राख्यो र बरदान माग्यो - “हे भगवान ! मेरा सारा दु:ख कष्टहरु निवारण गरेर खुसी भरिदिनुस् ।"
पत्थरले भन्यो- "हे मनुवा ! अहिले म आफैं अत्यन्तै दुखित भएको छु । म बगरमा स्वतन्त्र थिएँ । हावा, पानी र माटोसँग जुन आत्मीयता र खुसी थियो त्यो अहिले गुमेको छ । सक्छौ भने मलाई पुन: त्यही ठाउँमा लगेर राखिदेऊ ।"
मान्छे नतमस्तक थियो ।
हेटौंडा-४
+++
२०. लघुकथा : अतिरिक्त -किशोर पहाडी
गाडीको पाङ्ग्राले खप्परलाई किचेर धूलो पारेपछि पो मलाई थाहा भयो- मलाई गाडीले किचेछ । खप्पर किचिमिचि भएको हुनाले मेरो आँखा छुट्टिएर पिर्लिक्क आँखा मात्र बाँकी थियो । त्यसैले म केही देख्न सक्दिनथेँ । कान त अलिकति पनि बाँकी थिएन । अगाडिको चक्काले किचुन्जेल दाहिने कान बाँकी थियो क्या र अलिकति । गाडीको पछाडिको चक्काले फित्रिक् फित्रिक् चलिरहेको त्यो कानलाई धुलो पारिदियो । त्यसैले म केही सुन्न पनि सक्दिनथेँ ।
मलाई कति थाहा थियो भने म मर्नै लागेको छु । तर मलाई बाँच्नुको अति लोभ थियो । गर्दनमाथिको भाग नभए तापनि मैले हात चलाएँ, खुट्टा चलाएँ, जिउ जम्मै फत्र्याक् फत्र्याक् चलाएँ । छटपट गरेँ । मलाई बाँच्न अति मन लागेर आयो ।
मेरो हातमा त्यतिखेर जुन चिट्ठी थियो - त्यो मैले घरमा आफ्नी आमालाई लेखेको थिएँ र त्यसलाई हुलाकमा खसाउन म लम्कँदै थिएँ । आमाले अघिल्लो चिट्ठीमा यस्तो लेखी पठाउनु भएको थियो - ".… तँ घर नआउने ? आइज। हामीलाई तेरो अनुहार हेर्न मन लागेको छ । …"
मैले त्यसको जवाफमा 'यसपालिको दशैमा अवश्य पनि आउनेछु । आमाको अनुहार दुई वर्षसम्म देख्न नपाउँदा मलाई पनि हेर्न मन लागेको छ ।' - यस्तै यस्तै लेखेको थिएँ । यस्तो लागेर आयो - दुई वर्षअघि म गाउँबाट शहर आउनुको मतलब थियो - आमाको निम्ति म दुई वर्षअघि नै मर्नु । गाउँमा म जो मोटो थिएँ, शहरमा गलेर हाड र छालाको आकृति आफ्नी आमालाई देखाउने ठूलो ईच्छा थियो । … त्यसको निम्ति पनि मलाई बाँच्न मन लागेर आयो ।
अब कसले आमालाई म मरेको खबर दिन्छ ?
महेशदाइसँग अस्ति सुषमाको बिहेमा लाएर जान कोट लिएको थिएँ । त्यो अब कसले फिर्ता दिन्छ ?
गर्गनेको छाता पनि छ मेरोमा । त्यो कसले दिन्छ उसलाई ?
प्रमिलाको नोट कापी लिएको थिएँ । त्यसलाई मैले सार्दासार्दै सिरानीमुनि राखेको थिएँ, त्यो पनि त फर्काउनु छ ।
अनि हिजो ललिताले फिजिक्स फर इन्टरटेन्मेण्ट' किनेर ल्याइदिनू भनेर पैसा दिएकी थिई, त्यो के गर्ने ?
ओछ्यानमुनि मैले एउटा अश्लील पत्रिका 'प्ले ब्वाय्' राखिछोडेको सबैले देख्छन् अब । त्यो देखेर के भन्छन् होला सबले ?
लुगामा जुम्रा परेकोले सबै एकातिर कोचिराखेको थिएँ । अब मेरो लुगाको जुम्रा पनि सबैले देख्ने भए । छि: !
मेरा घरायसी कागत- पत्रहरू पनि सबै। … … मलाई झन् झन् बाँच्न मन लागेर आयो । आफ्ना अधुरा कामहरू पुरा गर्न मन लाग्यो । आफ्ना नीचतम कुराहरू लुकाउन मन लाग्यो ।
मान्छेको मस्तिष्क नहुँदा पनि शरीरको कुनै अर्कै भागले सोच्ने काम गर्दो रहेछ क्यार ! म राम्ररी सोच्दै थिएँ - मलाई मर्न मन छैन भन्ने कुरो । तर म मर्ने निश्चित थियो । मेरो टाउको सम्पूर्ण नै धुलोपीठो भएको हुनाले म बाँच्ने सम्भावना थिएन । त्यसैले म छटपटाएँ, रोएँ । आँखा थिएन, त्यसैले रुँदा आँसु झरेन । मुख थिएन, त्यसैले कराउँदा बोली निस्केन । बाहिर जम्मा भएको भीडले समवेदना दियो होला, तर सुन्ने कान थिएन र म आफैभित्रै आँसु झारेर, कराएर रोइरहेको थिएँ । अनि बेतोडसँग छट्पटाइरहेको थिएँ ।
तर मलाई छट्पटाउन पनि दिइएन। कसैले मेरो हात र खुट्टा पनि जोडसंग अँठ्याइदियो । सायद अब दुर्घटनाको अनुसन्धान कार्य शुरु भएको हुनुपर्छ ।
अनि त्यसको लगत्तैपछि एक्कासि म मरें ।
+++
२१. लघुकथा- प्रस्ताव -कुञ्जदेवी उपाध्याय
"बुबा आज एउटा प्रस्ताव राख्दछौँ, ना भन्न पाउनु हुन्न ।"
भर्खरै हाईस्कूल सकेर कलेज पुगेको छोरो अनि बि. ए. पढ्दै गरेकी छोरी आफ्ना साठि कटेका पिता सामु खडा हुन्छन् ।
"के भन्ने बिचार हो तिमीहरूको !"
"पहिले सहमति दिनुहोस् अनि भन्ने ।"
टाउको कन्याउँदै "तिमीहरूलाई कहिले ना गर्या छु । भनेर त हेर ।"
"हामीलाई आमा चाहिन्छ बुबा ।"
"अब स्वर्ग पुगेकी आमा कताबाट ल्याउने ! त्यो सम्भव छैन हठ नगर । म यथासम्भव साथ दिन्छु ।"
"होइन बुबा हामीले खोजी सक्या छौँ हाम्रो आमा । हामी होस्टल गएपछि हजुरको एक्लोपना असहनीय हुनेछ । हाम्रो खुशी चाहनुहुन्छ भने झट्टै तैयार हुनुहोस् दोस्रो बिबाहको लागि ।"
असम, भारत । २४ अप्रैल २०२३
+++
२२. लघुकथा- धन -कृष्ण तिमिल्सिना "सानो बाबु"
"त्यो मुसालाई समात्यौ भने तिमीलाई उचित पुरस्कार हुनेछ बुझ्यौ ?" शिकारिलाई राजाले आफ्नो महङ्गो हिराको हार मुसाले लिएर भागेको सुनाउँदै भने ।
मुसा समात्ने ठेक्का पाएको शिकारी मुसाको राज्यमा छिर्दा हजारौं हजार मुसा एकमाथि अर्को गर्दै झुण्ड बनाएर बसेका थिए र एउटा मुसा उनीहरुभन्दा अलग पर बसेको थियो ।
शिकारीले त्यही मुसा समात्यो र राजाका अगाडि गई सारा वृत्तान्त सुनायो ।
अचम्मित हुँदै राजाले शिकारीलाई सोधे, "हजारौं मुसाहरु मध्येमा यही मुसाले हिरा चोरेको छ भनेर तिमीले कसरी थाहा पायौं ।"
शिकारीले जवाफ दियो "धेरै नै सजिलो थियो नी महाराज । जब मूर्ख धनवान् बन्छ अरुसंग मेलमिलाप गर्न छोडिदिन्छ ।"
कंचनरुप नगरपालिका सप्तरी
+++
२३. लघुकथा- कारण -खगेन्द्र बस्याल
दैलातुङ्ग फाँटतर्फ गइरहेको जीपमा मोहनले मदनलाई भन्यो "हेर्दा राम्रै देखिन्छु, बैसकै छु, पैसाको पनि कमी छैन तैपनि मेरोपछि कोही लाग्दैनन् किन होला ?"
मदनको भनाइ आयो "प्रायः मेरो खल्ती भोकाएकै हुन्छ । जतिसुकै राम्रो हुन खोजेपनि जस्ताको तस्तै देखिन्छु, न रुपको बरदान पाएको छु, तैपनि युवतीहरु पनि मेरो नजिक आउन चाहन्छन्, म आफै यसको कारण बुझ्न सकेको छैन ।"
यी दुई जनाको कुराले जीपमा सवार सवैको ध्यान उनीहरू तर्फ आकर्षित भयो ।
त्यो सुनिरहेका यात्रु उज्ज्वलले भने" म तपाईंहरु दुवैलाई राम्रोसँग चिन्दछु । त्यसको कारण मलाई राम्रोसँग थाहा छ ।"
दुवैले एकैसाथ सोधे "त्यो के हुन सक्छ ?"
उसले भन्यो "बोलीमा मह भएपछि अरु कुरामा वास्ता नहुँदो रहेछ नि । बोलीमा मह नपाउँदा प्रायः मानिसहरु पानी बिनाको माछा जस्तै भएका छैनन् त !"
+++
-तिलोत्तमा ९ सरस्वती पथ, रुपन्देही । ०८० असोज ३
+++
२४. लघुकथा- उपरासन -खेमराज पोखरेल
‘म सहिद हुँ, निचासनमा ? ऊ सहिद होइन, उपरासनमा ?’ एक मृतआत्मा चिच्यायो ।
चित्रगुप्तले बहीखाता पल्टाएर हेरे र भने, ‘आज सहिद दिवस हो मृत मनुष्य । एक छिन चुप लाग ।’
मृत आत्मालाई चित्त बुझेन । फेरि भन्यो, ‘त्यो त मैले बुझेको कुरा हो । तर त्यो उपरासनमा म हुनुपर्ने ।’
चित्रगुप्त बोले, ‘उसमा र तिमीमा फरक छ नि मनुष्य ।’
‘के फरक छ ?’
‘तिमी निरपराध मनुष्य चढेको बसमा बम हान्न जाँदा आफैँले बोकेको बम पड्केर मारियौ ।’
‘हे चित्रगुप्त ! एकपल्ट बहीखाता पल्टाएर हेर, मलाई थाहा छ, त्यो उच्चासनमा बसेको मान्छे सहिद होइन । कालगतिले मरेको हो ।’
‘हो मलाई थाहा छ, ऊ सहिद होइन ।’
‘अनि किन त उसलाई उपरासन ? कि मत्र्यमण्डलमा जस्तै यहाँ पनि सहिद बनाउन धाँधली हुन्छ हँ चित्रगुप्त ?’
‘हे कुटिल मनुष्यात्मा ! मत्र्यमण्डलमा पापी मनुष्यले पो झेली गर्छन् । यहाँ त दूधको दूध पानीको पानी हुन्छ ।’
‘अनि भन्नुहोस् न चित्रगुप्त किन ऊ सहिद नभए पनि उपरासनमा छ र म सहिद भएर पनि निचासनमा छु ?’
चित्रगुप्तले बहीखातामा लेखिएको नियम देखाउँदै भने, ‘ऊ देशकै लागि मर्ने खाँटी सहिद जन्माउने बाउ हुन् ।’
+++
२५. लघुकथा- विश्वास -गजल आचार्य
"मेरो आधा भाग खाएको अंशियार हो यो ।" लुसीलाई देखाउँदै मैले भनेँ ।
मामूले सम्झदै थप्नुभयो- "उसले आँखा खोल्दा दायाँबायाँ हामी मात्रै थियौं । त्यसलाई मैले आफ्नै दूध दुहेर खुवाएँ । तँलाई भने चुस्न दिन्थेँ । तँ भाइ भन्थिस् त्यसलाई । तँ बढेर बोल्न थालिस् । त्यो बढेर भुक्न थाल्यो ।"
मामूको बोलीपछि मैले भनेँ- "प्राकृतिक स्वभाव हटाउन खोज्दैमा कहाँ हट्ने रहेछ र ।"
बेलका २, उदयपुर ।
हाल- गोलबजार ४, सिरहा, मधेस प्रदेश, नेपाल । २०८०/०१/०१
++++
२६. लघुकथा- शोक र भोक -डा. गणेशप्रसाद भट्टराई
“दाजु ; आमा बिरामी पर्नुभयो । ठुलेलाई बोलाइदे भन्नुहुन्छ । गारो हुन्छ कि क्या हो दाजुभाउजू नै मिलाएर घर आउनुपर्ने भो दाजु ।” रञ्जनले अत्तालिँदै अस्ट्रेलियामा रहेका दाजुलाई फोन गर्यो ।
“हैन यति राती किन फोन गरेको ? बिहान गरे हुन्न ? निद्रा नै बिग्रियो ।” दाजुको आवाज रञ्जनको कानमा मात्र पर्यो । अरु उत्तरको प्रतीक्षामा थिए । कुनामा लडिरहेकी आमामा पनि आशाचेत चलमलायो ।
अलिक राम्रो सुनिएन भन्दै रञ्जन बाहिर निस्कियो तर फोन बाहिर पनि मधुरो आवाज चाहिँ सुनिँदै थियो ।
“आमा बिरामी भएकाले मैले त समय पनि ख्याल गरिनछु । सरी दाजु । तर आमा निकै सारो हुनुहुन्छ । डाक्टरले पनि अब आफ्नो धर्मकर्म गर्नु भनेका छन् । गोरु र भैँसी बेचेर यतिसम्म त खर्च टारियो । अब त मलाई पनि ....।”
“अनि के गर्ने त ? म सधैँ पैसा पठाउन सक्छु र ? अस्तिको दश हजार के गरिस् ? मेरो छुट्टी मिल्दैन अहिले । फेरि छुट्टीमा तस्मानियाँ घुम्न जाने भनेकी छन् भाउजूले । आ ... केही हुन्न आमालाई । बुढेसकालको रोग हो, दुईचार दिनमा ठिक हुन्छ । तँ छँदै छस् नि त्यहाँ । राख् अहिले फोन ।”
“हस् ।”
रञ्जन भित्र पस्यो । दाजुले के भन्यो भन्ने प्रश्नमा उसले आमाले समेत सुन्ने गरी भन्यो, “आमा दाजुभाउजू भोलि नै हिँड्ने रे । तपाईँलाई सहर लगेर राम्रो डाक्टरलाई देखाउन डाक्टरसँग कुरा गर्नुभएको छ रे । मआजै पैसा पठाइदिन्छु, हवाईजहाजको टिकट काटिराख्नू भन्नुभएको छ ।”
आमाले अस्पष्ट स्वरमा “मेरो छोरो; ” भन्नुभयो । क्यान्सरको पीडा सहेकी उहाँले आज अलिकति दालको झोल पनि खानुभयो ।
आमालाई सारो हुँदै गयो । रञ्जनले पनि दिनहुँ झैँ फोन गरिरह्यो । दाजुका उत्तरमा सहानुभूतिको कठोरपन थपिँदै गयो ।
एक दिन सबै गाउँले भेला भएर आमाको अवस्था गम्भीर भएको ठानी आँगनमा निकाले । धार्मिक संस्कार सुरु भयो । आमा चलमलाउन छाड्नुभयो । यति नै बेला ठुले टुप्लुक्क देखियो । जेठो छोरो आइपुगेकामा खैलाबैला भयो । राम्रा नराम्रा कुरा गानगुन भए ।
ठुले आमाका छेउतिर लाग्दै थियो, आमाले आँखा उघारिन् र ठुलेतिर हेरिन् । उनले लरबरिएको स्वरमा भनिन्, “यो परदेशमा रमायो, कमायो र भोकायो पनि होला । मिठो नभए पहिले पेट भरेर आइज बाबु । यसलाई केही देओ ।”
आमाले पुनः आँखा चिम्लिन् र कहिल्यै उघारिनन् । रञ्जनले आमाको हात समाएर डाँको छाड्यो ।
कन्याम, इलाम (२०८०।०१।०१)
+++
२७. लघुकथा- सञ्चय -गरिमा आचार्य
"दिनेशजी, सुन्नुस् त !" एक्कासी सुनेको स्वरले दिनेशले चौका खायो ।
ऊ सधैं बकबक गरिहन्थ्यो तर त्यसको साथी रुख भने मौन थियो । कारण बुझ्न नसकेर दिनेश हैरान थियो ।
दिनेश विगत सम्झन्थ्यो- अरू मान्छे आउँथे । सुस्ताउँथे । शरीरमा ताजापन भर्थे । त्यही शक्तिले साथीका हाँगाबिँगा काटकुट पार्थे । लिएर घर जान्थे । दोहोरो कुरा गर्न नपाएर ऊ निराश हुन्थ्यो ।
यतिबेला भने उसको साथी भन्दै थियो, "तिमीहरू बढता बोलेर शक्तिहिन छौ । म मौन रहेर तिमीहरूको अत्याचार सहने शक्ति बटुल्छु ।"
बिउँझदा त दिनेश रुखमुनि थियो । रुखका पातले हम्केर वरपर शीतल वातावरण बनाइरहेका थिए ।
बेलका २, उदयपुर ।
हाल- गोलबजार ४, सिरहा, मधेस प्रदेश, नेपाल । २०८०/०१/०१
+++++
२८. लघुकथा- पथिक प्रेम -गुरुदत्त ज्ञवाली
कौशल, पाल्पाको कुसुमखोला हुँदै देउराली पुग्यो । एकैछिन् घोरियो र उसले अर्जुनको पसलबाट दुई पोका चाउचाउ किन्यो । र, ढाबखर्कको बाटो लघुवा झर्यो । मोटरबाटो त थियो तर धेरैबेर कुर्नु पथ्र्यो बस चढ्न । त्यसैले लघुवाबाट सिधै अर्गली झर्ने पैदल बाटो समात्यो । समय बिहानको एघार बजेको थियो । ऊ रिडी जाँदै थियो ।
“ओरालीमा जो झरे पनि, मेरो माया झरेझैँ लाइरहने” नारी कण्ठको यो गीत उसको कानमा गुन्जियो । जंगलको बाटो, सुनसान थियो । मोटरको सुविधाले गर्दा पैदल यात्री खासै त्यो बाटो हिँड्दैनथे । ओरालो झर्दै गरेको कौशल त्यो गीत सुनेर झस्क्यो । लक्का जवानी, एक्लै छ । ऊ उभियो एकैछिन् र यताउति हेर्यो । गीतको आवाज आएतिर हातको पाली लगाएर खोज्यो । अहँ, देखेन कतै । उसको मनमा हलचल उत्पन्न भयो । कसले माया गर्यो भन्ने लाग्यो । र, अलि तल चौपारीमा गएर बस्यो ।
अलिमाथि एउटी युवतीले घाँस काट्दै गीत गाइरहेकी । उनको माया को थियो ! वा त्यसै गुन्गुनाएकी थिइन् ? हुन सक्छ कौशललाई नै देखेर होस् । कौशलको मनमा ती युवती प्रति माया टुसायो । एकैछिन् ऊ त्यसै चौपारीमा बस्यो । कुर्यो ती युवतीलाई । आइन् उनी । घाँस काट्न गएकी, घाँसको भारी पुग्यो, झरिन् घरतिर ।
कौशल लालायित भयो । मनमन खुसी भयो । के बोल्ने ? कसरी बोल्ने ? मनमा कुरा खेलाउँदै थियो । युवती नजिकै आइन् । ऊ उभियो । जुल्पी मिलायो । उसलाई लागेको थियो कि युवतीले घाँसको भारी त्यसै चौपारीमा बिसाउनेछिन् । युवती चौपारीको नजिकै पुगिन् । घाँसको भारी बिसाइन् । अनि नजिकैको खोल्टे पानीतिर लागिन् । मुलको पानी रसाएको ठाउँमा सानो कुवा थियो त्यहाँ । हात मुख धोइन् र अँजुलीले घटाघट पानी खाइन् ।
कौशल पनि पानी खाने बहानामा उनको नजिकै पुग्यो । उनले कौशललाई देखिन् । जंगलको बिचमा एक्लै ती युवकलाई देखेपछि उनको सातो गयो । डराइन् । “जे पनि हुन सक्छ ।” उनको मनले सोँच्यो । र, घाँसको भारी बोकेर तेर्सो बाटो लागिन् । “हत्तेरिका, यतिबेर त रिडी पुगिन्थ्यो !” कौशल मनमनै भुत्भुतायो ।
तिलोत्तमा-१, शंकरनगर, रुपन्देही
+++
२९. लघुकथा- प्राध्यापकको स्वाभिमान -गोपाल काफ्ले
चिरबिर - चिरबिर चरीको आवाज । शान्त कोठा; एउटा खाट अलिक ठुलो, अर्को खाट अलिक सानो । पुरानै भएपनि कफीरङ्गे सफा तन्ना बिछ्याइएको । सरसामानको बढी नै ठेलमठेल भान्सा त्यही भुइँमा । पुरानो प्लास्टिक कार्पेट, ढप्किएको ढोकामा ठोकिएको काटीमा नयाँ पुराना दुई तीन जोर लुगा पहराका कुभिन्डोझैं देखिन्थे ।
पन्ध्र वर्ष पुरानो साथी महङ्गो कारमा सवार भयो । झ्यालबाट नजर पर्यो कोठामा छिरेर चारैतिर आँखा दौडायो ।
"साथी, तिमीले डिग्री गरेर, स्थायी प्राध्यापक भएको १५ वर्ष भएन र ?" उसले हेय भावले भन्यो । "भयो यार, मैले भनेँ ।"
"यो के पारा हो प्राध्यापकज्यू ? खाना ? बैठक, गेस्टरुम ? बेडरुम ? लिभिङ रुम ... खै त ?"
मस्कुराउँदै मैले भनेँ, "सादा जीवन", पुनः थपेँ, "हेर साथी, यो ढोकामा ठोकेको ह्याङ्गरमुनि मेरो चेन्जिङ्ग रुम, यो खाटमुनिको राइसकुकर जोड्ने प्लकमुनि किचन रूम ..."
खाटमुनिका अस्तव्यस्त सामान देखाउँदै- "यो स्टोर रुम । सानो पुरानो ब्याग देखाउँदै मेरो मूलधन राख्ने दराज/लकर/सेभ जे भने पनि !"
"यो बिचको मझेरी लिभिङ रुम प्लस गेस्टरुम ।" यो साइड पूर्वी कुनाको अलिकति खालि ठाउँ देखाउँदै- "यो बेडरुम जहाँ म विराजमान छु"; मैले थपें ।
भ्रष्टाचार, अभिमान र पैसाको तुझुकको संयुक्त रुपको त्यो साथी हेरेको हेरै भयो । झन्डै बेहोस भएन । खै के-के सोच्यो होला ? म अझ बेलिबिस्तार लगाउँदै गएँ ! "ती किताबका ठेली मेरा घडेरी । यी कलम कापी र मेरा प्रकाशित रचना कृतिहरु बैंक ब्यालेन्स । यो जुनी र त्यो लोकलाई...।"
"मैले ईश्वर भेटेँ" भन्दै आँखाभरी आँसु पार्यो उसले । म किंकर्तव्यबिमुढ भएँ ! बाहिर सूर्यले लाली पोत्न सुरु गरि सकेछ । दुबैका नजर आपसमा ठोक्किए । ऊ लाचार देखिन्थ्यो !
-हेटौंडा -५ पिप्ले
+++
३०. लघुकथा - आमा बा ! -गोपाल प्रसाद थपलिया
—“छोरा छोरीहरूले आमा बाको भावना कहिले बुझ्छन् !” सुभद्राले रसमिलालाई भनिन् ।
—“आमा बाको भावना छोरा छोरीहरू त्यसबेला बुझ्छन् जब उनीहरू पनि बाबु आमा बनी सक्छन् !” रसमिलाले भनिन् ।
—“आफू मर्ने बेला भई सक्यो ! हामी मरेर बुझे पछि के काम !? हामीले देख्दैनौ सुन्दैनौ ! जे सुकै होस् ! तर सबैको राम्रो होस् ! हामीले चाहेको पनि त्यहि हो !” सुभद्राले भनिन् ।
—“सुभद्रा बहिनी ! तँपाई धेरै बुझ्ने मान्छे हो छोरा छोरीहरूले जे भनुन् जे गरून रिसाए पनि खुसाए पनि छोराछोरी कै चिन्ता गर्नु हुन्छ !”
—“के गर्नु रसमिला दिदी ! छोरा छोरीको काम र ब्यवहार देखेर कहिले कांही रिसाउँछु ! पछि आफैलाई चिन्ता लाग्छ ! माया लाग्छ ! जे गरे पनि गरून ! यिनीहरूले दुःख पाए आफैलाई दुख्छ !”
—“त्यहि त ! यो छोराछोरी भन्ने जात के हो के हो ?! साना हुन या ठूला सधैं माया मोहो !”
—“कहिले काहि त भन्छन् मेरा छोरा छोरी दुबैले “आमा देखे भोक हराउँछ !”
—“आमाको जात सुखमा पनि दुःखमा पनि छोरा छोरी कै सम्झना आँउछ !”
—“आमाको काख लाख !” त्यतितै भनेको होइन नि !”
—“आमाको माया बाबुको दया !” पनि त भनिन्छ नि !”
—“आमा बाको मन छोरा छोरी माथि, छोरा छोराछोरीको मन ढुंगा मुढा माथि !” पनि भन्छन् !
—“मेरा श्रीमान आजकल आफूलाई दुःख परेको कि “आमा बाले भनेको मानिन, आफूले जानिन, बेला पनि बित्यो, त्यसबेला आमा बुबाले भनेको याद आयो, बल्ल बुध्दि पलायो !” भन्नु हुन्छ ।
—“त्याग बराबरको सुख अरू केही छैन ! हाम्रो जीवन छोरा छोरी कै लागि रहेछ ! उनीहरूकै लागि त्याग गर्नु पर्ने रहेछ ! यी साना हुँदा मर्लान भन्ने डर ! अहिले ठूला भए मार्लान भन्ने डर पनि हुने ! कहिले कांहि त !”
—“त्यो त मुर्ख छोरी छोरीले मात्रै गर्ने काम हो नि ! कहि कहि त्यस्तो पनि भएको पनि सुनिएको छ !”
—“संसार माया प्रेमको भोको छ ! तर माया प्रेम भन्ने कुरा बुझ्दैन ! स्वार्थ मात्र बुझ्छ !”
—“तर आमा बाको माया प्रेम निःस्वार्थ हुन्छ !” यो कुरा छोरा छोरीहरूले बुझेको दिन आमा बा सबैभन्दा खुशी र सुखी हुन्छन् ! बा आमालाई चाहिएको यत्ति हो !”
—“जस्ले आफ्नो आमा बालाई माया गर्दैन उसले कसैलाई पनि साँचो माया गर्दैन !” मेरो निष्कर्ष चाहि यहि हो ।
काठमाडौ, २०८०/०१/२२
+++
३१. लघुकथा- नाता - गोपाल सङ्ग्रौला
मलाई चाहिँ मानिस सित नाता लगाएर बोल्न मन लाग्छ ।
धेरै मानिसहरू आफन्तलाई पनि नाता लगाएर बोल्न चाहदैनन् । अझ सम्धी भन्न त धेरै कठिन मान्दछन् ।
नाता लाएर बोल्न पनि आर्थिक अवस्थाले ठुलै भूमिका खेल्ने रहेछ । मेरा एकजना काका थिए । तिनी आफूलाई ठुलै धनाढ्य सम्झेर सर्वसाधारणलाई मान्छे जस्तो देख्दैन थे । तिनी आफ्ना ज्वाइलाई पनि गरिबीको कारणले नाता लाउन हिचकिचाउथे । भरिसक्य बोल्दैन थे, बोलिहाले पनि थर मात्र उच्चारण गर्दथे । मेरा एकजना भतिजा चै आफ्नै ससुरालाई पनि ससुरा भन्न गारो लागेर मुखि "बा" मात्र भनेर बोलाउँथे ।
एउटा साहित्यिक कार्यक्रममा भानिज सित अचानक भेट भयो । तिनी सुट्बुट्मा ठाटिएका थिए । उनले मलाई देख्नासाथ हात मिलाउने सुरले हात पसारे । मैले हात दिन अन्कनाए । "अब मामासँग पनि हात मिलाउने भैयो कि कसो ? फलेको वृक्ष नुहुन्छ भनेर गुरुले पढाएको बिर्सियौ कि कसो ?" मैले उनको धतुरो झारे । भान्जाको मुख रातो भयो । बलैले मेरो हात समातेर ढोगे ।
मैले तेसरी झाको झारेको त्यो सभाका आयोजकले सुनिरहेका रहेछन । मेरा भान्जा निकै लजाएका जस्ता देखिन्थे ।
भरे मात्र थाहा पाए कि तिनी त्यो सभाका प्रमुख अतिथि बनेर गज्किदै आएका रहेछन् ।
झापा
+++
३२. लघुकथा- वारिस - गोपीराम भण्डारी 'बटुवा'
सडक किनारमा मान्छेको ठुलै भिड थियो । मजदुरीको लागि सडकमा निक्लिएको जयन्ते पनि भिडमा मिसियो । भिडको बीचमा एउटा मृत मानिस लडिरहेको देख्यो । मृतकको छेउँमै बसेर दुईजना प्रहरीले मुचुल्का लेखिरहेका थिए । उचिएको प्रहरीले वाक्कीट्वाकीमा भन्दै थियो–“सर वेवारिसे अन्दाजी दस, एघार वर्षको पुरूष ।"
जयन्तेले उभिएकाहरूसँग जिज्ञासा राख्यो "के भएछ ?” उभिएका मध्येको एउटा मान्छेले भन्यो–“के हुनु नि ओभरडोज भयो अनि गयो । अलिअलि पैसा भयो कि डोज दिइहाल्छन् ।" जयन्तेले नियालेर हेर्यो । मृतक दश एघार बर्षे केटो थियो । मुकुन्देले भन्यो "ऐ त्यो बच्चो हिजो बेलुका मलाई होटलसम्म जाने हो दाइ भनेर बाटामा सोध्ने फुच्चे पो रहेछ !" पुलिसले जयन्तेको मुख तिर पुलुक्क हेर्यो । पुलिसको छेवैँमा होटलवालाले बयानमा भन्दै थियो–“मैले चिन्दिन तर एक वर्षदेखि मेरो होटलमा ग्राहक ल्याउँथ्यो । मैले प्रत्येक ग्राहकको पचास रूपैँया दिन्थेँ । त्यो भन्दा अरू मलाई थाहा छैन । त्यो बेवारिसे नै हो ।"
जयन्ते रिसाउँदै भन्यो, "हिजोसम्मको तिम्रो कर्मचारी आज वेवारिसे बन्यो ? थुक्क ! मानवताहिन मुन्छे ! हुनत, समाज नै आफै बेवारिसे बनिरहेको छ ! तमी हामी खोष्टा मुन्छेका के कुरा !"
प्रहरीले जयन्तेको मुखमा हेर्दै प्रश्न गर्यो, "तपाईं यसलाई चिन्नुहुन्छ ? मुकुन्देले भन्यो, "हो म चिन्दछु यो मुन्छेको बच्चा हो । यो समाजको कुलतले मारेको बच्चा । सहरले बेवारिसे बनाएको बच्चा ।" प्रहरीले भन्यो, "के हो तपाईं उल्टा सिधा कुरा गर्ने ?" उसले शालिन भएर भन्यो, "समाज उल्टो दिशामा हिँडेको देख्नुभएन ! म बोलेको सुन्नुभयो हैन ? छाडिदिनुस कुरा, मिल्छ भने मलाई जिम्मा दिनुस । म वारिस बन्छु मृतकको ।" प्रहरीले भन्यो, "प्रक्रिया पुराएर लैजानुहोस् ।"
मुकुन्देले भन्यो, "गाउँमा त यस्तो हुँदैनथ्यो ? कस्तो प्राण भर्ने प्रकृया, मृत समाजको ?"
प्रहरीले नबोलेर कागज लेखिरह्यो । मृत प्रकृयाले प्रकृयाको मृत प्रकृति खोज्दै थियो, जहाँ मानवता कात्रोमा लुकाईएको थियो ।
टोखा-३, काठमाडौं २०८०/०४/२८
+++
३३. लघुकथा- इरादा -गोमविक्रम
“भुटानले रातारात खेदेर र भारतले मेची पुल कटाएपछि देशविहीन जिन्दगी यत्तिकै अलपत्र छ । ८१ नाघेँ, परिवार कोही भुटानै छाडिए, कोही अमेरिका, अस्ट्रेलिया म भनेँ यही छु ।”
हर्कमान बुढाले झापाको शरणार्थी शिविरबाट खुइय्य गर्दै थिए । ६ महिना अघि श्रीमती बितेपछि नितान्त एक्लिएका उनको मस्तिष्कमा कहिले आफू जन्मेको लामिडाँडाको बगैंचा र श्रीसम्पत्ति घुमिरहन्थ्यो । आफ्ना दमाली सकिए । पोहोरसम्म त अमेरिकाबाट छोरानातिको फोन आइरहन्थ्यो । अहिले न फोन छ न उठाइदिने ?
“कसरी आइपुग्नु भो यहाँ ?”
मजस्तै पत्रकार, मानव अधिकारवादीहरू सोधिरहँदा रहेछन् । वृतान्त सुन्छु । सन् १९८८ को जनगणनामा दक्षिण भुटानका नेपालीहरूलाई नागरिकमा समावेश नगरी आगो लगाएर लखेटेको, आन्दोलन गर्दा ७ हजार मरेका, देशद्रोहीको आरोपमा सर्वस्वहरणसहित देश निकाला, नमान्नेलाई राज्य, सेना र पुलिसले हत्या–हिंसा, बलात्कार–लुटपाट, ज्यान जोगाएर आएको । भुटान र भारत सरकारको षड्यन्त्रले स्वदेश फर्किनै नदिएको । विवशताले काँकडभित्ता हुँदै शिविरमा फालिएको । अधिकार र स्वदेश फिर्तीका लागि अनेकौं आन्दोलन र अनसन । भारतीय पुलिसको दमनले सहबहादुर शिवाको मृत्यु, २५ हजार भारतमै अलपत्र इत्यादि । नेतृत्व लिनेलाई जेल, अधिकार माग्नेलाई छिन्नभिन्न पारेर ८ मुलुकमा पुनर्वास ।
“तपाईको स्याहार कसले गर्छ अहिले ?”
“कसले गर्नू ? नेपालमै बिहे भएकी छोरी छन्, कमै भेट हुन्छ । छोराहरू अमेरिका गए । कोही आफन्त नभाको देशमा म गइनँ । परिचयपत्र नभएका, अपांग र रोगीहरू मात्रै छम् यहाँ ।”
संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोगले ३ वटा विकल्प अघि सारेको थियो– १) स्वदेश फिर्ता, २) तेस्रो मुलुक पुनर्वास र (३) नेपालमै समायोजन ।
श्रीमतीको उपचारमा खटिएकाले हर्कमान तथ्याङ्कमा छुटेछन् । रोगी भएकाले कतै गएर केही गर्ने उपाय थिएन । छोरीले छाडेको सातुचिउरा अनि रासनको तेल–चामलले गुजारा चलाएर, कहिले त भोकभोकै सुत्दा रहेछन् ।
१ लाख १५ हजार शरणार्थी पुनर्वासमा गएपछि शिविरै लगभग रित्तो र स्मशान जस्तो भैसकेको थियो ।
“बुवाको अन्तिम इरादा ?”
“यतिञ्जेल अलपत्र भइयो । न परिचय भयो न देश रह्यो ? न परिवारसित न अस्तित्व । नेपाल हेर्दा टिठ लाग्छ, भारत सम्झिँदा रिस उठ्छ । हाम्रो के गल्ती थियो र यति ठूलो सजाय ? फर्किने आश पनि छैन, घिट्केसो पनि मर्दैन । पुर्ख्यौली थलोमा मरे पनि स्वाभिमानले नेपाली भएर मर्न चाहन्छु ।”
बूढाका आँखाभन्दा पहिल्यै आफ्नै आँखामा मूल फुटिसकेछन् ।
+++
३४. लघुकथा- आमाको खुसी -गोविन्दबहादुर कुँवर
हजुर आमा –"मेरो माहिलो नातिको हात खुट्टाका रुम लामा छन् । जीउमा लामा रुम हुनेलाई गाई भैंसी अग्घोर फाप्छ ।"
बुवा –"गौरीशंकरले जस्तो भैँसीको स्याहार कसैले गर्दैन यो घरमा !
हजुरआमा र बुवाको कुरा सुनेर, म फुरुक्क पर्थेँ । तर आमा अँध्यारो हुनुहुन्थ्यो ।
उतिखेर केही नभने पनि हामी आमा छोरा एक्लै हुँदा भन्नुहुन्थ्यो, "ऐले फुरुक्क परेको छस्, पछि कुकुरले नपाउँने दु:ख पाउँदा थाहा पाउलास् !" आमाले मायालु पाराले पनि सम्झाउनु हुन्थ्यो ।
मैले पढ्न छोडेकोमा उहाँ धेरै दु:खी हुनुहन्थ्यो । तर मेरो मन एकोहोरिएको थियो ।
म भरसक आमासित एक्लै पर्दैनथेँ ।
दाइ एक दिनको बाटोमा डेरा गरेर उतै छ साता कक्षामा पढ्नुहुन्थ्यो होला । भाइ बहिनी सानै थिए । गोठालो जानसक्ने घरमा म नै थिएँ ।
हाम्रो परिवार ठूलो थियो । गरेर खान पुग्ने खेत पाखो बाहेक अरु आयश्रोत थिएन । बुवाको जागिर थिएन । हजुरबाले नेपाली सेनामा भएर पनि राम्रै आय आर्जन गर्नुभएको रहेछ । त्यसैले हाम्रो परिवार हिङ नभए पनि हिङ बाँधेको टालोमा गनिन्थ्यो ।
त्यतिखेर नगद आमदानीको लागि गच्छे अनुसार हिउँदमा दुई चार ओटा थारा भैँसी किन्ने र वर्षामा तिनीहरु बाली गएर ब्याए पछि बेचेर नगद पारिन्थ्यो ।
अनि त्यो पैसाले नून तेल, बाली सेर्मा र ओडापैरीको समस्या हल हुन्थ्यो ।
मैले गोठालो गरेको तेश्रो वर्ष ठूलो भान्दाइ दशैँमा टीका लाउन आउनुभयो । राति केके कुरा भए, थाहा पाइन । विहान घर जाने वेलामा मलाई भन्नुभयो, "ल, हिँड् माहिला तलाई म पढाउँछु ! अब तैँले पढ्नुपर्छ ।"
हजुरआमा र बुवाले टीका लाएर विदा गर्नु भयो । म रमाउँदै भान्दाइको अघि लागेँ ।
आमा घाँस काट्न कुन भीरपाखा पुग्नुभएको थियो, त्यस बेलासम्म पनि घरमा आउनुभएको थिएन ।
तर मलाई के थाहा थियो भने आज आमाको सबैभन्दा बढी खुसीको दिन हुनेछ ।
भोटेओडार, लमजुङ २०८०/०४/२८
+++
३५. लघुकथा- मातृत्व -गंगा खड्का
"तिमीलाई नै त्यत्रो समस्या छ, म बूढीलाई किन ल्याइदिनुपर्थ्यो र यो शिरफूल ! मैले छोरीचेलीको ऋणको भारी कसरी बिसाउनु !" आमाको मुख हेर्ने दिनमा मैले दिएको उपहार लिन आनाकानी गर्दै आमाले खुइय्य सुस्केरा हाल्नुभयो ।
"लौ, के ऋणको कुरा गर्नुभएको आमा ? त्यस्ता ऋणको कुरा गर्ने हो भने त तपाईंप्रतिको मातृऋण त म सात जुनीसम्म पनि तिर्न सक्दिनँ । तपाईंको एउटा रहर पनि पूरा गर्न सकिन भने मेरो जीवनको के अर्थ त ? " मैले पनि आमाको मुखमा बुजो लाइदिएँ ।
घर फर्कने बेलामा आमाले गुन्द्रुकको पोको थमाइदिँदै भन्नुभयो, "नानी ! आमाले गुन्द्रुकको पोको दिएकी त हो नि भनेर जहाँ पाए त्यहीँ फ्यात्त नफाल है ।"
मैले समर्थन भाव दर्साउँदै टाउको हल्लाएँ । किन-किन मलाई त्यो गुन्द्रुकको पोको विशेष लाग्यो । मैले त्यसलाई जतनले राखेँ । निकै दिनपछि गुन्द्रुक पकाउन भनेर पोको निकालेर खोलेँ । त्यसको भित्रपट्टि त कहिलेदेखि जम्मा गरेर राखिएको हजार हजारको नोट लुकाएर आमाले हालि दिनुभएको रहेछ । बल्ल आमाले जहाँ पाए त्यहीँ नफाल भन्नुभएको कुराको अर्थ बुझेँ । मेरो आँखाबाट बर्र आँसु झर्यो ।
"आखिर आमाको मन कहिल्यै साँघुरो नहुने रहेछ । वर्षौँदेखि शिरफूल लाउने रहर पाल्नुभएको आमालाई छोरीचेलीको ऋण तिर्न कुनै भद्रो हेर्नु परेनछ ।"
बूढानीलकण्ठ, काठमाडौँ
+++
३६. लघुकथा- भाग्यमानी -गङ्गा आचार्य सापकोटा
काम सिध्याइसकेपछि घर जाने बेलामा कमलीले मालिक्नीतर्फ हेर्दै भनी । "दुई दिन छुट्टी दिनुहोस् न है । भोलि आमाको मुख हेर्ने दिन हो । बुढा भएका आमाबा छन् । भेट्न नगए चित्त दुखाउँलान्, रोलान् ।"
सानैमा टुहुरी भएकी मालिक्नीको हृदय आमाबा भन्ने शब्द सुन्ने बित्तिकै रसायो । उनले कमलीको मुहारमा एकटकले हेरिन् । खै के सोचिन् अनि खल्तीबाट केही पैसा झिकेर उसको हातमा थमाउँदै भनिन् । "जाऊ जाऊ, मेरो तर्फबाट पनि आमाबालाई अलिकति फलफूल लगिदिनू ल ।"
कमलीको मुहार एकाएक उज्यालो भयो । ऊ फुरुङ्ग पर्दै आफ्नो घरतर्फ लागी । मालिक्नीले उसलाई देखुन्जेल परसम्म हेरिन् र झिनो स्वरमा भनिन् ।
"कमली तँ संसारकै भाग्यमानी रहिछस् ।"
बागलुङ, हाल- काठमाडौं
+++
३७. लघुकथा- दायित्व -चिरञ्जीवी दाहाल
“जा त बाबु पसलबाट एक पोका नुन लिएर आइज ।" बाह्र बर्ष उमेर पुगिसकेको जेठो छोराले आमाले भनेको नसुनेझैं गर्यो । उनले तैपनि अलिकति नुन छ कि भनेर भाँडोमा हेरिन्, एक चिम्टी पनि थिएन । आफैं गएर पसलबाट नुन लिएर आएपछि दिक्क मान्दै भनिन् “यिनीहरूले गरि खादैनन् । कथंकदाचित हामी रहेनौँ भने के गरि खान्छन् होला ! अह्राएको त फिटिक्कै टेर्दैनन् ।"
जेठो छोरो परार देखि नै विद्यालय जाने गरेको थियो । सानो छोरोलाई ८ बर्ष पुगेपछि यसपालि श्रीपञ्चमी देखि विद्यालय पठाउन थालियो । सानी छोरी ६ वर्ष पुग्दा पनि पठाउने सुर थिएन ।
यसैबिच अचानक एकदिन आएको भुइँचालोले उनीहरूको कच्ची घर भत्कियो । घरले च्यापेर बुढाबुढीको निधन भयो । केटाकेटी सामान्य घाइते भएपनि केही दिन पछि निको भए ।
अचेल जेठोले भाइ बैनीलाई विद्यालय पठाउँछ । विदाको दिन बाहेक एकदिन पनि घरमा बस्न दिदैन । ऊ साहुकोमा बाख्रा चराउन जान्छ । भाइ बैनी जस्तै आफू चाहिँ किन पढ्न नगएको भनेर कसैले सोध्यो भने मुसुक्क हाँसेर जवाफ दिन्छ । “म जेठो बाठो मान्छे, भाइ बैनीलाई सुखसँग हुर्काउने र पढाउने दायित्व अब मेरो काँधमा आएको छ । जिउँदो छउन्जेल मातापिताको सेवा गर्न नसके पनि यिनैलाई पढाएर मातापिता प्रति सम्मान गर्दैछु ।”
चितवन ।
+++
३८. लघुकथा- धुवाँको रङ -चूडामणि नेपाल ‘अकिञ्चन’
सानो द्रकमा फूल भरिएको थियो । आठ दशजना मान्छेहरुले अँगालोमा फूल बोकेर ल्याए, विस्तारै मान्छे भरिए । एकैछिनमा चिता फूलले सजियो । मान्छेहरुका हात हातमा सेता र राता चन्दनका टुक्राहरु पनि देखिन्थे । कसैका हातमा ताजा घिउका बट्टा थिए । फूलको चाङमाथि रुद्रसिंहको लास राखियो र पुरै चन्दनका टुक्राहरुले छोपियो ।
साथी र म घाटको माथिल्लो भागमा बसेर हेरिरहेका थियौँ । एकछिन पछि नजिकै पाँच सात जना मान्छेले अर्को लास लिएर आए र दाउराको चिता बनाए । लासलाई चितामाथि राखे र भिजेको परालले छोपे ।
हामी अझै मुकदर्शक भएर दृश्यहरु हेरिरहेका थियौँ र मलामीबाट घेरीई सकेका पनि थियौँ ।
‘हुनत पापी नै हो अहिले फूलले छोपिएर के गर्नु ? हाम्रै छिमेकीको दुई रोपनी फूलबारी उसैले हडपेको हो । अझै मुद्दा चलिरहेको छ ।’
अर्को बोल्यो ‘कत्रो सपना बोकेर काठमाडौँ आएको रहेछ, बरा आफ्नो जिल्ला सप्तरी भन्दै थियो, नाम समेत भन्न चाहेन, बाध्यता थियो होला, काम गर्न आएकै दिन रङ दल्दा दल्दै खुट्टा चिप्लिएर तल खस्यो । प्रहरीले जिम्मा दिएपछि बल्ल आज ल्याएको ।’
हामी तल झर्यौँ फूलको चिताको आगो र पल्लो दाउराको आगाको ताप, राप र रङ उस्तै लाग्यो । धुवाँ अलि फरक झैँ थियो । खै किन हो फूलको चिताबाट मडारिएर कालो धुवाँ निस्की रहेको थियो अनि चिता बल्ल नमानेझैँ गथ्र्यो भने दाउराको चिताको धुवाँ सेतो थियो र ह्वारह्वारती बली रहेको थियो ।
विराटनगर-१
+++
३९. लघुकथा : दसैँ - जम्देली
बा, ए ! बा, जमरा त गजव नै भए छ नि यो पालि । माथ्ला घरे ठुला बा को भन्दा कति राम्रो हगि । नकरा मोरा जा बोकोलाई घाँसले'र आ । तेरा काम छैनन् खालि जमरा मात्रै हेर्छ यो तिखे ।
सारा हिलो मैलो हटि सफा र स्वच्छ मौसम अझै आएको थिएन । शरदको आगमनले कताकता बर्षाको झल्को दिइरहेकै थियो । आकासभरि कालो बादल मडाररहेकै थियो । तिखे जमरा राम्रो भएको खबर एक कान दुई कान गरि फैलाउदै कर्नेवाला तिर हानियो बोकोलाई घाँस लिन ।
अस्ति शनिबारको हाटमा १२ हजार हालि तिखेका बाउले दसैँलाई भनि बडो मज्जाको बोको ल्याएका थिए । गाउँभरिका मुन्छे जम्मा हुन्थे तिखेको घर । आफ्नो तारिफ सुनि तिखेका बाबु मख्ख पर्थे । दसैँ त यसपालि तिखेका बाबुलाई नै चढेछ है ! यसपालि त अष्टमी देखि नै यतै डेरा सर्नु पर्ला कि कसो ए बौवा । भइ हाल्छ नि दाजु । ठुला घरे गोपालदासले गरेको ख्याल ठट्टाको उत्तर दिदै तिखेका बाबु पनि तिखे गए तिरै लागे ।
तिखेका बाबुलाई गाउँमा सबैले मायाले बौवा भन्थे वास्तविक नाम उनको गुमनाम नै थियो । गाउँभरिका मुन्छे व्यस्त कतै कोहि खालि थिएनन् दसैँ जो आएको थियो ।
देस बिदेसबाट घर फर्कन पाउनेहरुको खासै लर्को भने थिएन । चाड पर्वहरू मनाउने चलनको चहलपहल भने गाउँमा जिवित थियो ।
समय बित्दै जाँदा गाउँमा हल्का फल्का चहलपहल बढेको भने अवश्य थियो । भोलि अष्टमी अर्थात् बोको चढ्ने रात तिखेका बाबु पानी तताउने मालसमान र मासु काट्ने औजार मिलाउदै भोलि चारै बजे उठ्नु पर्छ धेरै टि.भि. नहेर है तिखे भन्दै कराउन थाले । तिखे पनि बाबुको आदेस मानि भोलि चार बजे उठ्ने, बोको काट्ने, मासु खाने सपना बुन्दै हिड्यो सुत्न ।
अरु दिन बाबुको खासै कुरा नमान्ने तिखे दसैँ आएदेखि आज्ञाकारी भा'को देख्दा तिखेकी आमाको मुहारमा मुस्कान देखिन्थ्यो । पन्ध्र दिनपछि ५ जनाको परिवारमा आधा किलो मासु ल्याई काम चल्ने घरमा यसपालि सग्लो बोको ल्याइएको छ । साच्चै यो घरमा यसपालि दसैँ आएको छ अनि के दुखि हुनु कोहि । सायद यो सबैको घरमा नहोला तर यसपालि तिखेको घरमा दसैँ आएको छ । खुसिका पोका पन्तुरा बोकि । वर्षौ वर्षको अन्तरालपछि तिखेले अघाउन्जेल मासु खान पाउने भएको छ । नयाँ लुगा लाउन पाउने भएको छ ।
समयले दिइएको हरेक घाउँहरु यसपालि भरिने छन् । दु:ख गरेर काला अक्षर जानेको तिखेका दाजुले गर्दा नै तिखेको घरको सान बद्लिएको छ । साच्चै सर्वसाधारण तिखेले पनि यसपल्ट दसैँको आनन्द बटुल्ने छ । भलै दसैँले अरुको घरमा के गर्ला तर तिखेको घरमा यसपालि खुसी जरुर ल्याएको छ ।
+++
४०. लघुकथा- यातना -जीवन दाहाल
नयाँ क्लाइन्ट आफ्नो कार्यालयमा छिरेको देखेर सहयोगी ल च्याम्बरका वरिष्ठ अधिवक्ता मि. न्यौपाने र अधिवक्ता मिसेस् न्यौपाने दुबैका आँखा ठूला भए ।
आगन्तुक महिला गएर मिसेस् न्यौपानेको अघिरहेको खाली कुर्सीमा बस्तै भनिन्-"मलाई साह्रै नै गाह्रो भयो वकिल साब्, जसरी भएपनि मलाई बचाउनु पर्यो ।"
"किन ? के भयो र ?"-मिसेस् न्यौपानेले जिज्ञासा राखिन् ।
आगन्तुकले पहिले पुलुक्क मि. न्यौपानेतिर हेरिन् । आगन्तुक बोल्न अलि धकाएजस्तो गरेको थाहा पाएकी मिसेस् न्यौपानेले परिस्थितिलाई सहज बनाउने अभिप्रायले भनिन्-"आफ्नो कुरा निर्धक्क राख्नुस् केही फरक पर्दैन ।"
आगन्तुक अलि मिसेस् न्यौपानेतर्फ झुकिन् र लाज मान्दै मसिनो स्वरमा भनिन्-"मलाई लोग्नेले साह्रै दु:ख दिन्छ वकिल साब् । दिनमा एकपटक त भै गो भनेर चित्त बुझाएकै हो तर कहिले त दिनमैं दुई तीनपटक समेत गाँज्न छोड्दैन । मेरो पनि त हाडमासुकै ज्यान हो, मेरो लागि उसको यस्तो हर्कत यातना हुन्छ भनेर न आजसम्म बुझ्यो न बुझ्ने कोशिस नै गर्यो । तपाईं आफैं भन्नुस त यस्तो राक्षससँग कसरी जिन्दगी बिताउन सकिन्छ ? त्यसैले म उसको यस यातनाबाट छुटकारा पाउन चाहन्छु ।"
मिसेस् न्यौपाने र आगन्तुकको वार्तालाई मतलबै नराखे जस्तो गरेर कान थापी रहेको मि. न्यौपानेले मनभित्रै दुखेसो पोख्यो-"के गर्नु ? साट्न नहुने ।"
आगन्तुकको ब्यथा सुनि सकेकि मिसेस् न्यौपानेले पनि मनमनै भनिन्-"बजिया मलाई पर्नु पर्ने यसलाई परेछ ।"
गौरादह-७, झापा ।
+++
४१. लघुकथा- चैते खहरे - टङ्कबहादुर आलेमगर
'आमौ ! यति राम्री भइछस् त । हन तलाई पनि 'मदर्स डे लाग्यो केहो ?'
'हजुर मेरा पनि त एउटी मायालु छोरी र दुइभाइ छोरा छन् ।'
'हन तँ बुडी कन्या । कता र आए छोराछोरी । बेसौटे त होइनन् ?'
'छि: छि: के भन्नु भा, मुखिनी पनि । बाटोमा भेटेको हजुर ।'
'के गर्छन् छोरा छोरी ।'
'जेठो पत्रकारिता गर्छ । बेला बेला देश-विदेशमा बस्ने महान मनकारीसँग माग्छ ।'
'हन पत्रकार पनि भिखारी ?'
'हो त्यसरी मागेरै त मलाई पालिराख्या छ । कान्छो के गर्छ थाहा छैन । तर बेला बेला आमा भन्दै पैसा दिएर जान्छ ।'
'छोरी नि ?'
'धेरै माया गर्ने उही छोरी त छे । दमले कहिले मरिसक्थेँ । उसैले अस्पताल लगेर बचाकी । दुइटा तान्ने र दुइटा बिहान बेलुका खाने चक्की उसैले ल्याइदिन्छे । नर्स काम गर्ने हुनाले बिमार बताउने साथ के गर्ने भनेर बाटो देखाइहाल्छे । चिसो, धुवा, धुलोले चाप्छ सडकमा बसेर माग्ने नगर्नु भन्छे । तर बानी परेको । साँझ बिहान धर्मस्थल तिर मागि हिँड्छु । कहिले तपाईंहरू जस्ता दयालु दहिलोहरूमा हात पसार्नु आइपुग्छु ।'
'छोरा छोरी त्यस्ता रहेछन् के मागि हिँडेकी त मोरी ।' भन्दै छोरीलाई खै गरिन् मुखिनीले 'छोरी माग्ने आन्टीलाई एकपसर पुवा र एउटा सेल ल्याइदेउत ।'
छोरी थाल भरि खाने सर्दाम लिएर घरको प्यासेज बाट बाहिर आउदै गर्दा, उतै हेरेर भिखारिनले खुशी हुँदै भनि 'मुखिनी मेरी छोरी उही त हो । छोराहरू नआए पनि प्रत्येक माताआउँसीमा उसैले मेरो मुख हेर्छे । मीठोमसिनो खाने कुरो, राम्रा फरिया चोली ल्याइदिन्छे । जाडो र तातोका लुगा ल्याइदिने उही त छे । तपाईं भनेको, छोरीलाई तँ भन्न पर्छ भनेर लाजै मर्न पारेकी छे मुखिनी ।'
मुखिनी मनमनै फत्फतिन्छिन् 'ए ! छोरीको नर्सको जागीर बग्ने खोलो यता रै छ, र पो सधैँ चैते खहरे देखाउदो रहेछ ।'
त्रियुगा नगरपालिका -११, उदयपुर
+++
४२. लघुकथा- चाहनाहरु -टीकाराम जोशी
"बुहारी ! हेर त यसको सुकेको अनुहार । भोकाएको होला ।" रनजितेकि आमाले बुहारी अनितालाई भनेकि थिइन् । "के गर्नु ? आफु सक्दैन । आफ्ना हातखुट्टा बसे ।"
भर्ति भएको वर्षदिनमा पाएको बिदामा रनजिते सेनाको जागिरबाट घर पुगेको थियो । उसले आमाको खुट्टामा ढोग्यो र छेउमै बस्यो ।
उन्ले उसको टाउको सुमसुम्याइन् । आमाको हत्केलाको स्पर्शमा मायाको न्यानोपनले रेलको दुई दिनको यात्राको थकान छिनभरमै मेटिएको उसले महसुस गर्यो ।
"खान पनि पाउँदैनस् भने जागिर छाडिदे बाबु ! तिम्रा लागि घरखेत जोडिदिएकै छ बुवाले । एक्लै उहाँ सक्नुहुन्न खेतबारी सम्हाल्न । बुहारीले कति गरोस् । उस्लाई पनि त लोग्नेको आधार चाहियो । हामी अब डाँडापारीको घाम भैसक्यौँ । कहिलेसम्मको मानु छ, थाहा छैन ।"
"आमालाई छोरो मोटोघाटो भएको हेर्न मन लाग्छ तर सेनामा शरीरलाई फुर्तिलो बनाउन धेरै कसरत गर्नु पर्छ त्यसैले मोटाइदैन ।" उस्ले भान्सा कोठातिर खोजी नजर लगाउँदै भन्यो ।
"बुडाले सेनामा भर्ती हुन मान्नु भएन । गाउँमै बस्छु । किन नौकर बन्नु अर्काको ?" खेति गर्छु भन्नुभयो । स्याउ बारी बनाउनु भयो । बङ्गुर, भैँसी, बाख्रा, कुखुरा पाल्नु भयो । तिम्रो र तिम्रो बहिनीको पढाई खर्च र बिहे खर्च सबै त्यसै घरखेतबाटै गर्नुभयो ।"
आमा सम्झाउँदै थिइन् ।
ढोका पछाडि लुकेर आमा छोराको कुरा सुनी रहेकी अनिता मनमनै आफ्नो काखमा छोराको टाउको मुसार्ने चाहना गर्दै मुस्काइन् ।
-टीकापुर
+++
४३. लघुकथा- सुतिको सारी -टीकाराम पुरी
"हेर ! आमालाई नत आवस्यक्ता छ, नत रहर छ । तिमी किन यस्तो ब्यवहार गर्छ्यौ ?" पत्नी सरलाले भोलि मातातीर्थ औंसीमा आमाहरुको मुख हेर्न जाँदा लाने सामानहरु देखाउदै गर्दा रमेशले अमिल्चो भावमा असन्तुष्टि पोख्यो ।
छुट्याइएका सामानहरुमा दुईथान सुति सारी पनि थिए । एउटामा मूल्य सात सय र अर्कोमा पन्द्र सय टाँसिएको थियो ।
"हामीले लगिदिएको सारी हजुरकी आमाले कहिले लगाउनु पनि हुन्न । फेरि दाइहरुले पनि सारी ल्याउनुनै हुन्छ ।" -भन्दै सात सयको सारी देखाएकी थि ।
"प्रश्न लगाउने नलगाउने भन्दा पनि यो भावना र सम्मानको विषय हो ।" -रमेशले सम्झाउदै भन्यो ।
"छोराछोरीहरुले के ल्याई दिन्छन् भन्दा पनि सम्भव भए सम्म आज आफ्ना सन्तानलाई प्रत्यक्ष देख्न र छुन पाउछु भन्ने मोह मातापितामा हुन्छ । हामी गाईलाई त आमा मानेर पुजा गर्छौ । रोटी पिठो खुवाएर खुसी पार्छौं । भोलि तिमी पनि सासू बन्नेछौ । जे रोप्यो त्यहीँ फल्छ ।"
छ वर्षको छोरो राजु अलिक पर स्कुलको गृहकार्य गर्न ब्यस्त थियो । एकाएक रमाउदै उफ्रियो । -" मैले बुझे ! हजुरहरुको कुरा मैले बुझे !"
उसले के बुझ्यो तर सरला र रमेश भने दुबै मुखामुख गर्छन् ।
दमक, झापा
+++
४४. लघुकथा- खुसी - तारा श्रेष्ठ
"दर्शन गरेँ बुबा ! आज बुबाको मुख हेर्ने दिन हजुरलाई मन पर्ने खानेकुरा ल्याएकी छु यी हेर्नुस् त," बुहारी सरलाले भनिन् । छोरा सविन पनि आएर बुबाको पाउमा ढोगी दिए । बुबाले दुबैलाई आशीर्वाद दिए ।
लामो समयदेखि विधुर भएर एक्लै बनेका उनी औँसी पूर्णिमामा खुसी देखिने गर्थे । सधैँ व्यापारको चटारो र पैसा मात्र कमाउने लालसाले सन्चो बिसन्चो सम्म सोध्न नभ्याउने छोरा बुहारीको तामझाम देखेर आज धनभक्त बा अचम्मित भए । त्यसै समय महँगा लुगाकपडा फलफूल मिठाइ र मरमसला लिएर कान्छा छोराबुहारी पनि टुप्लुक्क देखा परे । अमेरिका र अस्ट्रेलियाबाट छोरीज्वाइँहरुले भिडियो कल गरे । बा निकै रमाएर गफिए । सबैलाई आशीर्वाद दिदैँ गए । धनभक्त बा यी सबै कुरा हेरी दङ्ग परेर मुस्कुराए । बाको प्रशन्न अनुहार देखेर सबै जना आनन्दित देखिए । धनभक्त बालाई भने आफ्ना वरिपरि रहेका मिठा मिठा परिकार, फलफूल र मिठाइले टुलुटुलु हेरेर गिज्याइरहेको जस्तो लाग्यो ।
सबै पक्षबाट सम्पन्न भएपनि अरु बेला समयमा चियासम्म दिन नभ्याउने छोराबुहारीको ताल देखेर उनले ख्वाक्क खोकेर भने, "यसरी वर्षको एकदिन यति धेरै खानेकुराका चाङ र मान पाउनु भन्दा सधैँभरी समयमा खान र मिठो बचन सुन्न पाएको भए मेरो मन कति खुसी हुन्थ्यो होला ।"
बिराटनगर-६ २०८०/०५/२८
+++
४५. लघुकथा : कर्तव्य -तिलक तारामी "रेशाली"
"ए, जानकी ! तिम्रा सामानहरू प्याक गरिहाल त !" बिरामी सासु आमाको लागि जाउलो पकाउँदै गरेकी जानकीको कानमा जलबिरेको आवाज ठोक्कियो ।
"किन ?" जानकीले छोटो प्रश्न गरी ।
"अब तिमी पनि मसँगै शहर जाने हो । म तिमीलाई लिन आएको हुँ ।" जलबिरे चर्को स्वरमा बोल्यो ।
मातातीर्थ औंसीमा गाउँ आएको जलबिरे शहर फर्किने बेला भएको थियो । उनीहरूको बिहेपछि जानकी भने गाउँमै बसेकी थिई । लोग्नेको कुराले ऊ अचम्मित भई ।
"के भन्नु भाको ? यहाँ आमालाई कल्ले हेर्छ ? बाले पनि काम गर्न सक्नुहुन्न । दुइदुइवटा लैनो भैंसी छ । घर त सबै लथालिङ्ग हुन्छ नि !" जानकीले विवशता दर्साई ।
"भो, भो ! तिमी धेरै जान्ने नहोउ । खुरुक्क तयारी गर ।" जलबिरेले आदेश दियो ।
"बा-आमा भनेका त साक्षात भगवान् पो हुन् त ! म सानैमा टुहुरी भएँ । हजुर पनि टुहुरो हुनु परेको भएको भए बल्ल बा-आमाको महत्व बुझ्नुहुन्थ्यो होला ?" जानकीले सम्झाउन खोजी ।
"बा-आमालाई हेर्ने त भाइ छदैंछ नि ! सँगै बाँच्ने र सँगै मर्ने वाचा भूल्यौ र ?" जलबिरेले प्रतिप्रश्न गर्यो ।
"दृष्टिविहीन देवर बाबूले कसरी बा-आमाको सेवा गर्नुहुन्छ ? किन यस्तो कुरा गर्नुहुन्छ, हजुर ?" जानकीले प्रतिवाद गरी ।
"बा-आमाले मलाई भन्दा भाइलाई धेरै माया गर्छन् । उसैले पालोस् ।" जलबिरेले आफ्नो रोष प्रकट गर्यो ।
जानकीले बल्ल लोग्नेको आसय बुझी । उसले सोंचमग्न हुँदै बोली, "हजुरले पनि त जूलीलाई भन्दा त्यो असक्त पिङ्कीलाई नै धेरै माया गर्नुहुन्छ नि ! आखिर दुबै कुकुर नै त हुन्, हैन र ...?"
बुटवल-११, रुपन्देही २०८० बैशाख २४
+++
४६. लघुकथा : उदय -तुलसी पण्डित
कति निस्वार्थ भावना । उसैको लागि आत्मा । आफ्नो आधा पेट । उसैलाई राम्रो बनाउन पाउँदा आत्मा सन्तुष्टि । मुख बार्ने देखि मीठो खान प्रतिबन्ध ।
हो आमाको त्यागले छोरो साने हुर्कियो । उसमा उमङ्ग फैलियो । जोशजागर आयो । कौतुहलता बढ्यो । उसले सोच्यो । ममा यो तरङ्ग ल्याउने आमा हुन् । उहाँको देनले मैले सबै कुरा पाएँ । बरु उहाँलाई कसले साथ दिएको छ । उहाँले मलाई कसरी हुर्काउनु भयो । उहाँ त मेरो रेखदेखमा घर मात्र हुनुहुन्छ । कतै गएको देख्दिन । मलाई खुवाउने पढाउने साथै कपडा कसरी आयो । विरामी हुदा औषधी मूलो कसरी गर्नु भयो ।
उसले सबै कारण खोज्यो । पत्ता लगाउन सकेन । उसले आमालाई भन्यो । "आमा तपाईले मेरो जीवन बनाउन ठूलो त्याग गर्नु भयो । जसले म सक्षम युवक भएँ । बरु हजुरले मलाई आवश्यक सबै कुरा कसरी पुर्याउनु भयो । काम गर्न गएको देख्दिन ?"
"ल हेर तँ पेटमा छदा तेरै लागि बाबा विदेश जानु भएको थियो । अैले सम्म घर आउनु भएको छैन ।" ऊ अन्कनायो । " छोराछोरी बयस्क बनाउन बाबुआमाको त्याग शक्ति ठूलै हुने रहेछ । एकको अभावमा बच्चाको उदयको कल्पना गर्नै न सकिने ।"
+++
४७. लघुकथा- मानव अधिकार -तुलसीहरि कोइराला
केही व्यक्तिले रातो कपडामा सेवा अक्षर लेखिएको एउटा तूल टाँगेर नारा लगाउँदै गन्तव्यतिर लम्किए ।
उनीहरूले तूल टाँगेको एक व्यक्तिले नजिकैबाट हेरिरहेको थियो । टाँग्नेहरू ओझेल परिसकेपछि पनि उसले निकैबेर त्यो तूललाई हेरिरह्यो र मुसुक्क मुस्कुराउँदै आफ्नो शरीरतिर हेर्यो ।
उसले तूलमा लेखिएका वाक्य पढेझैँ गर्यो र प्रतिक्रिया स्वरूप फिस्स हाँस्यो । पल्याकपुलुक हेर्दै तूललाई टाँगेको ठाउँबाट निकाल्यो र आफ्नो शरीरमा जतनले मिलाएर बेर्यो।
तूलले बेरिएपछि ढुक्क भएझैँ गरी एक पटक पुन: हाँस्यो ऊ ।
भोलिपल्ट तूल टाँग्नेहरू पुन: त्यही ठाउँमा आए । हिजो टाँगिएको तूल नदेखेपछि `पक्कै पनि प्रतिपक्षको षडयन्त्र हुनुपर्छʼ भन्ने अड्कल काट्दै आक्रोशका ज्वाला ओकले ।
त्यतिबेलै उनीहरूले आफूहरूले टाँगेको तूलले नै बेरिएर बसिरहेको एक व्यक्तिलाई झट्ट देखे । उनीहरूले त्यसलाई हुचीलले बिरालोलाई झम्टिएझैँ झम्टिए र कुटपिट गर्दै उसको शरीरबाट आफूहरूको तूल निकाले ।
तूल पुन: त्यही ठाउँमा टाँगियो र विजयोत्सवको नारा लाग्यो-
मानव अधिकार- जिन्दावाद !
हाम्रो पार्टी- जिन्दावाद !!
बेरिएको तूल निकालिएपछि सर्वाङ्ग नाङ्गो भएको त्यो व्यक्तिले उनीहरूको शरीरतिर हेर्यो र आफ्नो शरीर नियाल्दै एक पटक फेरि हाँस्यो ।
नारा लगाउनेहरू सँगसँगै त्यो नाङ्गोमान्छे पनि आवाज थप्नै पछिपछि लाग्यो-
मानव अधिकार-जिन्दावाद !
हाम्रो पार्टी- जिन्दावाद !!
+++
४८. लघुकथा- मातृप्रेम -पं. ज्यो. तोयनाथ सुवेदी
भक्ति सानो छँदा बहिनी लिंदै आमाले आफूलाई छोडेर हिडिन् । कहाँ गइन् पत्ता भएन । ऊ माइलाबा र ठूलोबा कहाँ दु:खजेलो गरेर हुर्कियो ।
ऊ बिस्तारै विद्यालय जान थाल्यो । पढ्दै जाँदा विद्यालयइय शिक्षा हाँसिल गर्यो । विदेशिएका बुवा पछि आइपुग्नु भयो ।
छोराले बुवाको प्रत्यक्ष विवाह हेर्ने अवसर पायो ।
समय बित्दै जाँदा ऊ घर छोडेर पढ्नका लागि शहर गयो । शहरमा बस्दै गर्दा आफूलाई जन्मदिने आमा हेटौंडा आएकी छन् भन्ने थाहा भयो । खोज्दै जाने क्रममा बसबाट ऊ बसपार्कमा ओर्लियो । सम्पूर्ण पसल चहार्दै सोध्दै गर्दा चियापसल छ भन्ने कुरा पत्ता लगायो ।
एक्कासी देखादेख हुँदा उनले आफ्नो छोरालाई चिने पनि नचिने जस्तो गरिन् । उसले भन्यो 'तपाईं मेरी आमा हुनुहुन्छ । जन्मदिने आमा ! खै दण्डवत् गरौ ।'
महिलाले भनिन्, "तिमी को हौ ?"
'म तपाइँको छोरो भक्ति क्या ।' अहँ मेरा त छोरा छोरी नै भएका छैनन् ? बिहा गरेको त एक वर्ष भयो । कहाँ तिमी मलाई के के ... भन्छौ ?'
तपाईंले मलाई नचिने पनि म त तपाईंलाई राम्ररी चिन्छु नि...। मातृवात्सल्य मेटिन्न आमा टाढा भए पनि ..भन्दै ऊ अलप भयो ।
ओखल्ढुङ्गा, हाल: हेटौंडा-८, कमाने, मकवानपुर । २०८०/०१/०४ रोज २
+++
४९. लघुकथा- तिम्रो बूढो र म -दीपक लोहनी
तिम्रो बूढा मेरो घर आउदै थिए । मैले झट्पट तिमीलाई थाहा दिएँ ।
तिमीले भन्यौ - "मैले दिएका सम्पूर्ण उपहारहरू लुकाउ ।"
मैले तिमीलाई अप्ठ्यारोमा पार्नु थिएन ।
तसर्थ -
याद बल्झाइरहने फोटोफ्रेम हटाएँ ।
टेबुलमा पल्टिरहेको प्रेमील कविताहरू लुकाएं ।
सम्झना टिप्ने डायरी र पेन पन्छाएं ।
भित्तेपात्रो तिमीले नै दिएकी थियौ -
फ्रिजभित्रको क्याटबरी तिमीले नै थमाएकी थियौ -
मोबाइलको चार्जर तिमीले किनिदिएकी थियौ -
सबै लुकाएं ।
केही क्षणपछि तिम्रो बूढा टुप्लुक्क मेरो घर आइपुगे ।
हामी गफियौ ।
पियौ ।
रमायौ ।
३ घण्टापछि उनी फर्किए ।
तिम्रो बूढा फर्किसकेपछि मैले आफूलाई ऐनामा हेरें ।
तिमीले दिएको प्रेम त मेरो अनुहारमा झुण्डिरहेको थियो । त्यो त लुकाउनै बिर्सेछु - धत् ।
® कुरिलो घर, काठमाडौं ।
+++
५०. लघुकथा- भुकम्प -दिप मंग्राती
"ए केटा हो..... भूकम्प आयो कि क्या हो....?"
"बाहिर हेर त, अरु पनि केही हल्लिन्दै छ कि....?"
"छैन त हजुर, केही पनि हल्लेको छैन...!"
"अनि मेरो कुर्सी किन हल्लियो त....?"
"ढल्लै जस्तो गरेर...?"
"धेरै वोटा खुट्टा भएको कुर्सी यस्तै हुन्छ नि हजुर....! कहिले कुन खुट्टाले भुइ छुदैन, कहिले सतह नै मिल्दैन....!"
"कनाहा भयो की धर्मराई हाल्छ..!"
"तेइत भनेको....! यो धेरै वोटा खुट्टा भएको कुर्सी न हुने रहेछ । कहिले यता चर्मराउछ, कहिले उता ढल्मलाउछ।"
"एउटा खुट्टा कस्यो, अर्को हल्लिन्छ, अर्को कस्यो अर्को फितलो हुन्छ ।"
"यसो घुम्न पर्यो भने पनि, आफै कुर्सीको फन्को लगाउनु पर्ने ,कुर्सी मै बसि बसि घुम्न पाएपो...?"
"कुर्सी मै बसि बसि घुम्न त एउटै खुट्टा मात्र भएको कुर्सी चाहिन्छ हजुर..."!"
"अनि त जता घुमे पनि हुन्छ।"
"न ढल्ने डर , न त कनाहा हुने डर।"
"यहि कुर्सी त बल्ल बल्ल पाइयो, एउटै खुट्टा भएको कुर्सी त काहाँ पाउनु अब...?"
"कस्ले देला र सररर घुम्ने कुर्सी ?" "पत्त्याउन छाडीहाले सबैले...!"
"अब के गरौं त हजुर....?"
"अब यसैलाई कस्कास पारेर काम चलाउने....! जति टिक्छ टिकुन्जेल.."!"
"भुकम्प नहाए सम्म त टिक्छ होला नी...!"
"ए.....!हजुर भुकम्प आएजस्तो छ, सबै मान्छेहरु सडकमा निस्किन्दैछन...!"
"ए....हे... कुर्सी ......! मेरो कुर्सी अठाओ ढल्छ...!"
"ए होइन रहे छ भुकम्प हजुर....!
तिनीहरु त नागारिक्ता बनाउन पो आका रहेछन....!"
५१. लघुकथा- सरकार -दिव्य गिरी
अदालतमा न्यायाधीशको बेञ्चमा केही प्रहरी र हातमा हतकडी लगाएको एउटा दुब्लो अनुहार र पातलो शरिरको एकजना अभियुक्त थियो । अभियुक्तका चार पाँचजना आफन्त पनि बसिरहेका थिए ।
'यसको अपराध के हो ?' न्यायाधीशको पहिलो प्रश्न ।
'श्रीमान्, यसले सरकारको बिरोध गर्दै सडकमा नारा लगाएर हिँडिरहेको थियो ।' प्रहरी हवल्दारले अभियोग सुनायो ।
'के यो कुरा साँचो हो ?' न्यायाधीशको दोस्रो प्रश्नको उत्तर युवकले दिएन । ऊ चुपचाप बसिरह्यो ।
'बोल् किन नबोलेको ? तँ सरकारको बिरोधमा नारा लगाएर हिँडेको बखत हामीले तँलाई समातेको हो कि होइन ? भन् ।' हवल्दारले अलिकति रिसाएजस्तो भावमा भन्यो ।
'यसको प्रमाण छ ?' यस पटक न्यायाधीशले प्रश्न हवल्दारतिर फर्केर सोधे ।
'छ श्रीमान् ।' यति भन्दै हवल्दारले उस्लाई आदेश दियो- 'तेरो पिठ्यू श्रीमान् न्यायाधीशलाई देखा ।'
ऊ अर्थात कथित अभियुक्त युवक न्यायाधीशतिर पिठ्यू फर्काएर उभियो ।
उसले लगाएको कालो टीसर्टमा ठूलाठूला भङ्गेरे टाउके अक्षरमा सेतो रङले लेखिएको थियो - 'मेरो देशको सरकार हरायो ।'
२०८० असोज २,
+++
५२. लघुकथा : देशको माया -घिमिरे दुर्गा
एक दिन विद्यालयबाट फर्कँदै गर्दा मेरी सानी छोरीले प्रश्न सोधिन् "बाबा ! हजुरले सधैँ मलाई देशभक्ति गीतमा मात्र नाच्न लगाउनु हुन्छ । हिजो नयाँ विद्यार्थीहरूलाई स्वागत गर्ने कार्यक्रममा `आँखैमा राख्छु मेरो देश´ गीतमा नाच्न लगाउनु भो । साथीहरूले खिस्सी गरे । उनीहरूको गीतमा कति हुटिङ भो रे । मेरो गीतमा त हुटिङ पनि भएन रे ।" छोरीको कुराले म एकै छिन रोकिएँ । के उत्तर दिने मसँग तत्कालीन उत्तर त थिएन । मैले छोरीलाई बोलाउँदै, "नानी एकपटक यता आऊ त" "यो मेरो हात हेर ! किन बाङ्गो छ ? यो आन्दोलनमा जाँदा प्रहरीको लाठीचार्ज परेको हात हो ।
त्यतिबेला देश बचाउने आन्दोलन थियो छोरी । निरङ्कुस शासनको विरुद्ध तिम्रो बाबा र अरुले निकै दु:ख पाएका थिए । अझ तिमीहरूले देश भक्तिको गीत गाउन नछोड है । देशभन्दा माथि कोही पनि हुँदैन । यो देशको माया गर्ने व्यक्ति नै नेपाल आमाका असल सपूत हुन ।
देश लुट्नेहरूले लुटपाट गर्दैमा देशभक्तहरूले कहिल्यै हार खाँदैनन् ।"
"खै त बाबा ! यो देशमा परिवर्तन ल्याउन हजुरले योगदान दिनु भो तर देश र जनताको अवस्था किन उस्तै ?"
"नानी मेरो परिवर्तन होइन देशको हुनुपर्छ र सबै नेपालीले सुख पाउनु पर्छ "जबसम्म भ्रष्टाचार र कुशासनको अन्त्य हुँदैन तबसम्म देशमा विकास हुँदैन । अरुले जे भनुन् तर हामीले राम्रो बाटो हिँड्न छोडन हुँदैन ।"
"म लगातार बोलिरहेको थिएँ ।" त्यही बीचमा भित्रबाट एउटा पुरानो चन्द्र सूर्य अङ्कित झन्डा बोकेर, "हो बाबा ! म सधैं यस्तै गीत गाउँछु, आँखैमा राख्छु मेरो देश ! मुटुमा राख्छु मेरो देश..........!"
रत्ननगर-१४, चितवन
+++
५३. लघुकथा- भ्रष्टाचार -बाँस्कोटा धनञ्जय
‘यो भ्रष्टाचार बिरुद्धको अभियानमा छौं हामी अहिले । यहाँहरुले यो चर्को घामको पर्वाह नगरी यहाँ उपस्थिति जनाएर भ्रष्टाचारमूक्त समाजको निर्माणमा साथ दिनुभएकोमा मुरी मुरी धन्यवाद दिन चाहन्छु । भोलि पनि यही समयमा यही ठाउँमा भ्रष्टाचार बिरोधी कविताहरुका साथमा उपस्थित हुन आग्रह पनि गर्दछु । हवस् त, धन्यवाद ।’
सहरको मूख्य चौकमा भ्रष्टाचार बिरुद्धको अभियान सशक्त अभियान चलाइरहेका समाजिक व्यक्तित्व गोवर्धन काजीले यसरी सभालाई सम्बोधन गरेर आफ्नो भनाइ टुङ्ग्याए ।
भ्रष्टाचार बिरोधी अभियानलाई उनको वाककलाले निकै माथि पुर्याइरहेको थियो ।
भोलिपल्ट काजीको उर्दी बमोजिम मानिसहरु भेला भए । कविहरुले कविता र गजलहरु बाचन गरेर समयको भरपूर सदुपयोग गरे । अनि कविता सकिए । गीत सकिए । नृत्य सकिए । अल्मल्याउने सानातिना भाषण पनि सकिए । तर गोवर्धन काजी आएनन् ।
अकल्पनीय भयो । गोबर्धनले फोन पनि नलाग्ने बनाएछन् । सम्पर्क टुट्यो । व्यवस्थापन गर्न खटिएको युवाहरु पनि आक्रोशित भए । यसैबीच गोवर्धनका अनन्य मित्र आइपुगे । उनले आइपुग्नासाथ माइक समाते । र बोले, ‘आदरणीय न्यायप्रेमी जनसमुदाय ! यो पछिल्लो भ्रष्टाचार बिरुद्धको आन्दोलनले ऐतिहासिक सफलता प्राप्त गरेको छ । सरकारले घुँडा टेकेको छ र उच्चस्तरीय छानबिन समिति गठन गर्न बाध्य भएको छ । अब सबै भ्रष्टाचारी जेलमा भेटिनेछन् । अभियान पूरा भइसकेकोले गर्दा यो आन्दोलन गर्न जरुरी छैन । हामी अब आफ्नो काममा लागौं । गोवर्धनजीको यही सन्देश लिएर आएको म । जय नेपाल ।’
यतिकैमा भीडबाट एकजना युवा अगाडि आए । माइक समाए । र भने, ‘यो गोवर्धन भन्ने मान्छे पार्टीको झोले हो । उसको ज्वाईंको नाम पोलेछन् सुनकाण्डमा हिजो समातिएका केटाहरुले । अनि ऊ पनि तानिने भए पछि अघि बिहानै गृहमन्त्रीको घरमा जाँदै थियो । हेर्नुस्, जब भ्रष्टाचारको कुरा सशक्त उठ्छ, यस्तै छानविन आयोगका नाटकहरुको रचना गरेर मुद्धा तुहाइदिन्छन् । यो पनि गर्न खोजेको यही हो । तीन दशकदेखि यिनले कतिवटा आयोग बनाइसके ? तिनले केही काम गरे ? कसैलाई पक्रिए ? कसैलाई कार्वाही भयो ? कोही जेल गयो ? कसैको सम्पत्तिको श्रोत खोजियो ? गोवद्र्धनहरुको युग अब सिध्याउनु पर्छ । आफैं भ्रष्टाचार गर्ने, अनि आफैं भ्रष्टाचार बिरोधी आन्दोलनको नेतृत्व गर्ने ?’
सन्नाटा !
दमक, झापा
+++
५४. लघुकथा- स्वावलम्बी -नन्दलाल आचार्य
"तँलाई मैले धेरै थोक गरेँ ।" एसएलसीको उत्तीर्ण गरेपछि आमाले भन्नुभयो । उहाँले मलाई घर त्याग भन्नुभयो । बाटो खर्च दिने वचन दिनुभयो । त्यो पनि फर्काउने सर्त राखेर ।
"काखको छोरो खाते बन्न नपठा ।" बाले संसय नेत्र पारेर भन्नुभयो । आमा धपाउने तर बा राख्ने । बाआमाको यस्तो रस्साकस्सी निकैबेर चल्यो । कालान्तरमा निर्णयको अभिभारा मलाई सुम्पनुभयो ।
म अनिर्णयको बन्दी बनेर रोएँ । एसएलसी गरेर महत्वाकांक्षी बनेको ठहर्याएँ । मूकदर्शक बनेर आँखाभरि आँसु बनाएँ । आमाको आँखामा सहानुभूतिपूर्ण भाव पढिरहेँ । बाकोमा भने अन्धो अनुराग भेटिरहेँ ।
घर छाड्ने आँखा थिएनन् मसँग । हिम्मत जुटाउने सहास जन्मेको थिएन । जीवन आफ्नो भएकाले आफैंले बनाउनुपर्छ । संसार तमासा हेर्छ कसैलाई सघाउँदैन । यस्तै विचारले मैले मुठ्ठी कसेँ ।
"कमजोर पाखुराले धरतीसँग कसरी जुध्छ ?" बाले ममता मिश्रित पानी पियाउनुभयो । आमाले दानापानी बन्दको घोषणा गर्नुभयो । जवाफमा ममता बाहिर धपाएर भन्नुभयो; "हतियार बनाउन फलाम तातोरातो बन्नैपर्छ ।"
२०८०/०१/०१ सिर्जनाकुटी, सिरहा ।
+++
५५. लघुकथा- अव्यक्त -नवराज शर्मा
"कसको माया लाग्छ ? मम्मीको कि बुबाको ? "
मिठाई पाउँदा उत्तर हुन्थ्यो 'बुबाको' सकिएपछि जवाब हुन्थ्यो 'मम्मीको', अनि दुबै आमाबाबु खित्का छाडी हाँस्थे आनन्दको ।
बुढा, बुढी घाम ताप्दै छोरा, बुहारी र नातिको लीला हेरिरहेका थिए । बुढाले भने, "फूल छातीमा परेपनि थाप्लोमा झरेपनि आनन्द आउँछ ।"
"फूल फल भै पोल्टामा परे आनन्द दिन्छ, पुर्पुरोमा बर्सिए पीडा ।" भन्दै घरभित्र जान लागेकी बुढीको अनुहार हेर्दापनि बुढाले भेउ पाएनन्, बुढीको मुस्कानले "मोनालिसा"को मुस्कान जस्तो हर्ष पोखिरहेको थियो कि विषाद !
भक्तपुर, हाल- भर्जिनिया, अमेरिका
+++
५६. लघुकथा : विवेक -नानि भारद्वज
"नमस्कार मेम् !", प्रमुख अतिथिलाई स्वागत गर्दै कार्यक्रम अध्यक्षले भनिन् ।
"नमस्कार !"
साँझपख पार्टी प्यालेशमा रङ्गीन बत्तिहरु झिमझिम गरिरहेका छन् । डिजे आवाजमा तीजको गीत घन्किरहेको छ । गरगहना र रंगिन पोषाकले सजिएका महिलाहरु उक्त गीतको भाकामा नाचिरहेका छन् ।
"उहाँ हुनुहुन्छ संघर्षशिल महिला अधिकारवादी नेतृ सारदा मेम्", कार्यक्रम कक्षमा प्रवेश गरेपछि सञ्चालिकाले मेमलाई स्वागत गर्दै उनको परिचय दिइन् ।
"दरखाने दिन यसो जमघट गरौं भनेर मेम् !," भन्दै उनलाई चमेना भएतिर सञ्चलिकाले लगिन् ।
स्नेक्स र सोमरसको चुस्की लिएपछि मेम् पनि नृत्यमा झुम्न थालिन् । सबैले उनलाई तालीले साथ दिए ।
"अब डिनर लिसियोस् मेम् !" भन्दै अध्यक्षले खाना राखेको टेबुलतिर मेमलाई लगिन् । रातिको दस बजेको छ ।
टेबुलमा सजिएका विभिन्न थरिका साकाहारी र मांसहारी परिकारबाट उनले प्लेटमा खानेकुरा झिकिन् ।
यसैबेला मेमको मोवायलमा घण्टी बज्यो । उनले फोन उठाउँदै भनिन्, "के भो जुनेली ?"
"हजुर कतिबेला आइसिन्छ ?"
"म जतिबेला आउँ तलाई के को चासो !" मेमले झ्वाक्किदै भनिन् ।
मेमको घरमा दिनभरि लुगा धोएर लखतरान भई बसेकी सेविका जुनेली भन्छे, "मेम हजुरलाई एउटा कुरो भन्नु थियो !"
"के कुरो भन् !"
"घरमा एक गेडो चामल छैन नानीहरु मलाई पर्खेर बसेका छन् । मेरो तलव दिसिन्थ्यो कि !"
"अस्ति भर्खर दिएको होइन ? "
"गएको हप्ताको पाएकी छुइन ! पाए घरमा चामल लिएर जाने थिएँ हजुर !"
"चामल न सामल चुप लागेर जा !" भन्दै मेमले फोन काटिन् ।
विराटनगर, मोरङ्ग ।
+++
५७. लघुकथा- खल्लो -नारायण कोइराला
बुढीसँगको अनबनपछि दिदि रिसाएर हिँड्नु भयो । मनमा चसक्क घोँच्यो । न बुढीलाई सम्झाउन सकेँ, न दिदीलाई ।
तीजमा रमाइलो गरौंला भनेको कुरो उल्टो भयो ।
माइत आएकी दिदि घरजानु भएन होला भन्ने लाग्यो ।
भाइलाई फोन गरेँ ।
धन्य भगवान, दिदि भाइकोमा जानुभएछ । भाइसँग बजारमा भेट्ने कुरो भयो । दरखाने सामान किनियो । दिदीलाई रातो साडी किन्दा भाइको अनुहार मधुरो देखियो ।
काउन्टरमा आएर सबै बिल बुझाएँ । भाइको घर नजिकै डहरमा पुगेर सबै सामान भाइलाई दिएँ । भाइ ढोकामा पुग्दा दिदि बाहिर निस्कनु भयो । दुबैको अनुहारमा खुसीको लहर देखेँ । धनको कमीमा दिदीको तीज खल्लो भएन ।
- तानसेन, पाल्पा
+++
५८. लघुकथा - सतप्रतिशत -निरज कोइराला
रमिलाले महेशको टेबलमा मासिक कार्ययोजना लेखेको कागज नियालेर हेरिन् र भनिन्, "बाआमालाई भनेर पन्ध्र प्रतिशत छुट्याउनुभएछ त < यो के पारा हो <"
महेशले जवाफ फर्काए, "कानुनले आफ्नो आम्दानीको पन्ध्र प्रतिशत दिनै पर्छ भनेर तोकेको छ । यो त छुट्याउनै पर्छ ।"
"कानुनले भन्यो भनेर पन्ध्र प्रतिशत छुट्याउने त <" रमिलाले कुरो बढाइन् । महेश अक्क न बक्क भए तथापि बिस्तारै कुरा बढाए, "बाआमालाई पन्ध्र प्रतिशतले त औषधी किन्न नै पुग्दैन । पुरानो आम्दानी जायजेथा बाले सबै हाम्रै छोराछोरीको लागि नै खर्च गर्नुहुन्छ । बाको सम्पत्ति भविष्यमा हाम्रो त हो नि Û"
रमिलाले एकछिन पछि जवाफ दिइन्, "त्यही भएर त पन्ध्र प्रतिशत दिनु हुँदैन भनेको । हाम्रो हातले खर्च गर्दा भविष्यको जोहो नै हुँदैन । चाहिएको बेला बाआमासँग मागौँला अहिले सतप्रतिशत बाआमालाई बुझाऊँ न ।"
इटहरी, सुनसरी २०७९-०१-०५
+++
५९. लघुकथा- दोबाटो -निर्मला बराल
“के गर्ने गर्ने, जंगलमा चारो पाइन असाध्यै कठिन हुन पो थाल्यो त, साथी हो !” मैनाले पीर मान्दै भन्यो ।
“हो त ! फेरि, हाम्रा अबोध बचेराहरु घरै छोडेर सँधैभरि टाढासम्म कहिलेसम्म धाउने हो !” भँगेराले चिन्ता व्यक्त गर्यो ।
हुनपनि, बढ्दो तापक्रम, जलवायु परिवर्तन र सुक्दै गएका नदिनालाले चराहरुको जीवन अति कष्टकर बन्दै गएको थियो । खानेकुराको अभावले आक्रान्त बन्दै गरेको जंगलमा बलिया बांगा कहलिएका चिल, बाज र गिद्घले कमजोर र निमुखा चराहरुका बासस्थानमा आक्रमण गरी उनीहरुका गुँडमा रहेका अण्डा फुटाइदिने, गुँड भत्काइदिने र उनीहरुका बचेराहरुलाई आफ्नो शिकार बनाउन थालेका थिए । उनीहरुको अत्याचारले आफ्नो वंश नै सखाप हुनसक्ने डरबीच भावी पिंढीको सुरक्षा सोचेर, निमुखा चराहरु एकदिन मानव बस्ती सरे ।
तर मानव बस्तीको कथा अर्कै रहेछ । त्यहाँ त मान्छेहरु आफै बन्चरो भएर रुखहरुलाई झम्टिदा रहेछन् । मरुभूमि बनेर जंगल लुछ्दा रहेछन् । अनिकाल बनेर खेतका बाली सखाप पार्दा रहेछन् । विषाक्त हावा बनेर वातावरण घातक बनाउँदा रहेछन् ।
“आउन त आइयो हेर साथीहरु, तर मान्छे भन्ने त....... !” सुगाले दुखेसो पोख्यो ।
मानव बस्तीमै घुमिरहेका चील, बाज र गिद्धहरु देखेर चराहरू एक आपसमा मुखामुख गर्दै दोबाटोमा अलमल्ल परिरहे ।
सानोठिमी, भक्तपुर २०८०/६/३ गते बुधबार ।
+++
६०. लघुकथा- कविता वाचन -परशुराम पराशर
पर्यटन वर्षको पूर्व सन्ध्या पारेर मङ्सिर महिनाको अन्तिम शुक्रबार शिवपुरी महोत्सव हुने भयो । त्यहाँ विभिन्न कार्यक्रमहरु राखिएका थिए । पहिलो दिन महोत्सवको उद्घाटन, चित्रकला प्रतियोगिता र कविता वाचनको कार्यक्रम राखिएको थियो । साहित्यकार तथा अतिथिहरुका लागि काठमाडौँबाट यातायातको व्यवस्थासमेत गरिएको थियो ।
“स्कुल छुट्टी भएर गए पनि भ्याइहालिन्छ नि ।” शिक्षक साथीले भन्दाभन्दै विद्यालयमा बिदाको निवेदन चढाएर मोटरसाइकलमा उकालो उक्लिएँ ।
कार्यक्रमस्थलमा पुग्दा आयोजकहरु भर्खर तुल-ब्यानर टाङ्दै थिए । सबैलाई म पालुवा साहित्य मञ्चको अध्यक्ष भन्ने थाहा थियो । तोकिएको समयभन्दा एक घन्टा ढिलो बस आइपुग्यो ।
कार्यक्रम सुरु गर्न चाहिने मुख्य व्यक्ति सभापति समयमा नआएर कार्यक्रम आधा घन्टा ढिलो भयो । बल्लबल्ल सुरु भएको कार्यक्रममा प्रमुख अतिथिको अनुपस्थितिले उद्घाटनलाई थाती राख्दै पहिले चित्रकला प्रतियोगिता गराइयो । त्यसै बिचमा पालैपालो कविता वाचन पनि सुरु भयो ।
म चाहिँ हालसालै लेखेर कतै नसुनाएको व्यङ्ग्य कविता वाचन गर्छु भन्ने तयारीमा थिएँ । अब आउला तब आउला भनेर पर्खेर बसेको म आधाउधी कार्यक्रम सकिँदा पनि नाम आएन । गएर उद्घोषकलाई भनेँ । उनले नाम टिपे । कविता वाचन अविरल भइरहेको थियो । मेरो भने नाम आउने छाँटकाँट देखिएन । त्यतिखेर भने स्कुल बिदा नलिई छुट्टीपछि आएको भए पनि हुनेरहेछ भन्ने लाग्यो । लगभग २ः३० बजेको थियो होला बल्ल मेरो नाम आयो । अब त कविता सुनाउन पाउँछु भन्ने खुसीले बुरुक्क उफ्रिन मन लागे पनि संयम भएर मञ्चमा पुगेँ ।
त्यहाँ पुगेर माइक समात्ने तरखर गर्दा नगर्दै प्रमुख अतिथि मन्त्रीको सबारी भयो । मन्त्रीलाई आसनग्रहण गराउन उद्घोषकले माइक मागे र आसनमा नबसी पानसमा बत्ती बालेर कार्यक्रमको विधिवत उद्घाटन गर्न लगाइयो । मन्त्रीले उद्घोषकको कानमा केही फुस्फुसाए । उद्घोषकले मलाई माइक नदिई मन्त्रीलाई दिए । बस्न नभ्याएका मन्त्रीको धुवाँदार भाषण सुरु भयो । म भने कविता वाचन गर्न नपाएकाले बिस्तारै मञ्चबाट तल झरेँ र सुइँकुच्चा ठोकेँ ।
+++
६१. लघुकथा- कृतघ्नता -पुण्य कार्की
“के तुइनाम्जे छोराछोरी ! हाम्रा देवर बाबुका ! आफ्नो गाउँ छोड्न नसक्ने । आफ्नो घर छोड्न नसक्ने । मेरा नानीहरु अष्ट्रेलिया अमेरिका खाइसके । स्कुलको मास्टर नाथे जागिरमा हल्लेका छन् हल्लेका छन् ।”
आफ्ना देवरका छोराछोरीको बदख्याइँ चलाइरहेकी छिन् जमुनी बजै । आफ्ना दुइटै नानीहरु अष्ट्रेलिया, अमेरिका छिरेकोमा उनीहरुको प्रशंसा र बखान गाएर कहिल्यै थाक्तिनन् । देवरका छोराछोरी भने गाउँकै स्कुलमा पढाउँछन् । उनीहरुको खोइरो खन्छिन् । नामर्द, पंगु, हुतिहारा अनेकन विशेषण भिराएकी छन् ।
समयको खेल न हो । सात दिनदेखि जमुनी बजै सिकिस्त बिरामी भएर ओछ्यानमा ढलेकी छिन् । उसले रातोदिन निन्दा गरेकी त्यही देवरकी छोरी सानीमैँया तातोपानी तताएर औषधी खुवाउँछिन् । जाउलो बनाएर पियाउँछिन् । राति पनि ठूलो ममीलाई रुङ्ने, हेरचाह गर्ने उही छिन् ।
केही समयपछि पूर्णरुपले तङ्ग्रिन् उनी । फेरि पुरानै बानी दोहोर्याउन थालिन् । कन्ना पछाडि आफ्नै छोराछोरीको तारिफको पुल हाल्छिन् । देवरका छोराछोरी सन्दिप र सानीमैँयाको निन्दा बखान्छिन् । एक दिन त तल्लो घरकी बूढी सासुले प्याच्च भनिदिइन्– “तँ त सारै बैगुनी छेस् । अस्ति विरामीले इन्तु न चिन्तु हुँदा त्यही सानीमैँया नभाकी भा जिब्रो टोकिसक्थिस् । खुब छोराछोरीको बढाइँ चढाइँ गर्छेस् । के नापेका छन्, सात समुन्दर पारी उडेका तेरा छोराछोरीले तँलाई ! कृतघ्न आइमाई !”
उनको कुराले जमुनी बजै नाजवाफ बनिन् ।
उदयपुर
+++
६२. लघुकथा - आधुनिक धावक -डा.पुष्करराज भट्ट
साथी धावकका रुपमा चर्चित थियो । उसलाई पनि धावक बन्ने इच्छा जागृत भयो ।
“हामीलाई पनि सँगै लग्नुस न । आफै कति दौडनुहुन्छ ?” साथीसँग बेलाबेलामा आग्रह गरिरहन्थ्यो । धेरै दिन भइसकेको थियो, साथी उसको यही संवाद सुनिरह्यो । साथीले उसलाई आफूसँग मैदानमा दौडिन बोलायो । दौँडिदा के के गर्ने भन्ने सबै कुरा सिकायो । ऊ सिकारु थियो । उसमा अभ्यासको कमी थियो । साथी जसरी दौडन सकेन् । साथी अघि थियो, ऊ निकै पछि थियो । उसले बल गर्यो, अहँ साथीलाई भेटाउन सकेन । दौडदा दौडदै थाकेर भूँइमा लड्यो । खुट्टामा अलिकति चोट लागेको थियो । तर उसले यस्तो नाटक गर्यो की उसलाई ठूलै चोट लागेको छ ।
उसले कराउँदै साथीलाई बोलायो । साथी उसलाई उठाउन आयो । उसमा इर्ष्याभाव चरम चुलीमा पुगेको थियो । उसले साथीलाई लछारपछार गरेर भुईँमा लडायो । अनि जसोतसो दौड्यो । दौड्दा दौड्दै उसले मनमनै भन्यो, “खुब ठूलो धावक हुँ भन्थ्यो । आज त मैले त्यसलाई जितेँ ।”
+++
६३. लघुकथा- माइती -पूजन न्यौपाने
आमा तपाईं माइती नजाने ? चाडबाड आउने बित्तिकै छोरीहरूले गर्ने प्रश्न थियो यो ।
प्रत्तिउत्तरमा निशब्द हुने गर्थिन् उनी ।
उनलाई माइती जान मन नलागेको होइन तर बिडम्बना उनको कतै जाने ठाउँ थिएन । छोरो त सबैभन्दा जेठो भएर होला बुझ्ने नै थियो तर चारओटी छोरीहरू भने मामाघर जाने भनेर हैरान पार्थे । उनको बुवा उनी दुई वर्षको हुँदा बितेका थिए त्यसैले दाजुभाइ, दिदीबहिनी कोही थिएनन् उनका ।
एउटैमात्र सहारा आमाको पनि अल्पायुमै मृत्यु भएकोले माइती विहीन भएकी थिइन् उनी ।
आज पनि छोरीहरू रोइरहेका थिए । उनले आफ्ना छचल्किएका आँसुलाई पुछिन् अनि आफ्नो अगाडि छोरीहरूलाई राखेर भन्न थालिन् -"म किन कतै जानु ? मेरा माइती त मेरै अगाडि छ । तिमीहरू नै आजबाट मेरो माइती भयौ । चाडपर्वमा एउटीले चुरा ल्याइदिनु, एउटीले टिका, एउटीले पोते अनि एउटीले साडी ।"
सप्तकोसी-१ फत्तेपुर, सप्तरी । २०८०-५-११
+++
६४. लघुकथा- पालो -प्रेम पुन मगर
"नाच्न नजान्नेलाई आँगन टेडो ।...भने झै मान्छे अज्ञानी भएपछि अनेक हुदोरहेछ ।"
धनबहादुरलाई उनको छोरोले रिसाउदै व्यङ्ग्य हान्दा पनि धनबहादुर मौन नै रहे ।
यो देखेर छोरोले झन उग्र बन्दै अगाडि थपे- "चिसो पिउन दियो । पिनासले सताउँछ रे । चिया पिउन दियो । सुगर बढ्छ रे । दूध पिउन दियो । ग्याष्ट्रिक बढ्छ रे । मासु पकायो, युरिक एसिड बढ्छ रे । यस्तो पनि हुन्छ ?"
"यस्तै हुन्छ त, म के गरुँ बाबू ?" उनी दुखी स्वरमा बोले ।
"संसारमा भएजति रोग एउटै मान्छेलाई..!! .. यस्तो कसरी हुन्छ ? के पारा हो बुवा ?" छोरोको प्रश्नमा उनले शान्त भावमा भने- "तिम्रो उमेरमा मैले पनि यही कुरा मेरो बुवालाई भनेको अहिले सम्झिरहन्छु । धेरै नकराउ छोरा, मेरो पछि तिम्रै पालो त हो नि ।"
ढोरपाटन नगरपालिका-४ बाग्लुङ *हाल पोखरा २०८० बैसाख ६
+++
६५. दूटा मैथिली लघुकथा- प्रेम विदेह - जनकपुरधाम
(१) भीडतन्त्र
- ई कोन तन्त्र छै भाइ रे ?
- कुतन्त्र।
- फरिछाक' कही ने ।
- भीडतन्त्र । भेलौ ?
- कोना रौ ?
- देखै नइँ छही अन्हरा ?
- की देखियौ ?
- उँचकापर लागल छै भूतसभक मेला !
- ओ............
[नेपाली रूपान्तर]
भिडतन्त्र
- यो कुन तन्त्र हो यार ?
- कुतन्त्र ।
- प्रष्ट भनन ।
- भिडतन्त्र । भयो ?
- कसरी ?
- हेर्दैनौ अन्धो ?
- के हेरूँ ?
- चुचुरोमा लागेको छ भुतहरूको मेला !
- ए.......
(२) गुणतन्त्र
- कोन पसीन छौ भाइ ?
- कोन पसीन छौ ?
- राजतन्त्र कि प्रजातन्त्र ?
- कोनो नइँ ।
- लोकतन्त्रो नइँ ?
- जे प्रचलित अछि से नइँ ।
- तखन कोन ?
- गुणतन्त्र फेँटल ।
- ओहिमे कीसभ हेतै ?
- जे हेतै से नीके हेतै । मुदा एकटा बात नइँ हेतै ।
- की भाइ ?
- औँठा छाप शिक्षामन्त्री !
+++
[नेपाली रूपान्तर]
गुणतन्त्र
- के मनपर्छ भाइ ?
- के मनपर्छ ?
- राजतन्त्र कि प्रजातन्त्र ?
- कुनै पनि होइन ।
- लोकतन्त्र नि ?
- अहँ, प्रचलित होइन ।
- अनि कुन ?
- गुणतन्त्र मिसिएको ।
- त्यसमा के के हुन्छ ?
- जे जे हुन्छ,राम्रै हुन्छ । तर एउटा चाहिँ हुँदैन ।
- के हुँदैन ?
- ल्याप्चे शिक्षामन्त्री !
+++
६६. लघुकथा-आमाको माया -प्रेम शर्मा " एकान्त प्रेमी "
दिपाको बिबाह कालेबुङमा भएको थियौं । आफुले मन पराएको केटा सग उनी बिना बाच्न सक्दैन थिई । दिपा बिबाहको तीन वर्ष पछी एउटा सुन्दर नानी जन्मिन पुग्यो । उनिहरूले नानिको नाम प्रेम राखे । यसरी निरन्तर जीवन अगाडि बढदै थियो ।
छोरालाई पिठ्युँमा बोकेर दिपा भारी बोक्थिन गर्न जान्थिन । अचानक सडकमा हिडिरहेको समय गाडीको ठक्करबाट बुबाको मृत्यु भयो भने प्रेम अपांग भयौं । यो सन्सार अध्यारो भयो ।
दिपा बेहोस भईन । छोरालाई हतारमा अस्पतालमा पुर्याईन । कालेबुङ अस्पतालमा जहा भिड-भाड छ ।
दिपा ईमर्जेन्सी कक्ष गइन । भनिन् खुट्टाको अप्रेसन गर्नुपर्ने हुन्छ । तर उ हिडन सक्दैन । हामी सक्दो कोशिश गर्ने छौ । अनि आँखाको ज्योति पनि गुमेको छ ।
अप्रेसन भयो, तर उस्को आँखा ठिक भएन । दिपालाई देख्न सक्दैन छोराको लागि अन्धी भईन् । घर लिएर गयो । दिन बित्दै गयो । प्रेमको सफलताको शिखर चुम्दै छ कालेबुङ रकभेल ऐकेडेमी मा उ कालेबुङको नै टप भयौं । कलेजमा साथीहरूले अन्धीको छोरा भन्थे । आमाले लिन आउदा प्रेम लाई रिस उठन थाल्यो । आमा टाढा भाग्न थाल्यो ।
प्रेम आमासग छुट्टै बस्न थाल्यो । धेरै दिन बाट छोराको आवाज सुन्न नपाउदा आमाको माया-ंममताले आशुको नदि बन्न पुग्यो ।
आमा घरमा आउदा पनि बोल्दैन । सुनेको नसुने झै गर्यो । आमाले मायाको भक्कानो थिचेर निस्किदै थिई कालेबुङ १० माईलमा गाडीले ठक्कर दिदा घटनास्थल मृत्यु हुन पुगिन् ।
प्रेमले आमाको मृत शरीर देखेर काखमा उठाई रून थाल्यो । आमाको यस्तो हाल देखेर कराउन थाल्यो । आज रिसलाई काबुमा राक्न नसक्दा प्रेमले आमा गुमाउनु पुग्यो ।
आमालाई कहिले दु:ख नदिने । आमाको ममता सधैं अजम्बरी छ प्रेमलाई आमाको मायाको यादले सताएको छ ।
कालेबुङ
+++
६७. लघुकथा- समय -बाबुकाजी सुवाल 'विकेश निराशी'
चिबाखंई (नेवारी)
"बाउचा, पिने मनूत छाय् चिल्लाय् दंका हागु ?" बुरिम्ह अजिं छय्याके न्यन ।
"पिने जुलुस वगु अजि ।" छय् नं धाल ।
"छुकिया जुलुस वगुले, बाउचा ?" अजिं हाकन न्यन ।
"खुँ व डाँकातयेगु जुलुस् वगु, अजि । इमिगु हक लायेकाके दइमखु हँ, इमित माक्व खुयेगु व डाँका मारे याये दयेमा हँ । पुलिसं इमित ज्वने मदयेकेमा हँ ।" छय्म्हेसिनं अजिमांयात ध्वाथुइकेगु कुत यानाच्वन ।
"हँ ! गज्यागु खँ थ्व ? म्वाना च्वनेजक फयेक माल । थ्व हलिमय् छु छु जक स्वये दईगु जुइ ?" अजि याकचा हालाच्वन ।
(नेपाली अनुवाद)
"बाबू, बाहिर मान्छेहरू हल्लीखल्ली गरेर किन कराएका ?" हजुरआमाले नातिसँग सोधिन् ।
"बाहिर जुलुस आएको हजुरआमा ।" नातिले भन्यो ।
"केको लागि जुलुस आएका रहेछन् त, बाबू ?" हजुरआमाले फेरि सोधिन् ।
"चोर, डाँकाहरू जुलुस आएका नि, हजुरआमा । उनीहरूको हक छिन्न पाइँदैन रे । उनीहरूले चाइए जति चोर्न र डकैती गर्न पाउनुपर्छ रे । पुलिसले उनीहरूलाई पक्रिन पाइँदैन रे ।" नातिले हजुरआमालाई बुझाउने प्रयत्न गर्यो ।
"हँ ! कस्तो कुरा यो ? बाँचिरहन मात्रै सक्नुपर्छ । यो संसारमा के के मात्रै देख्न पाइने होला ?" हजुरआमा एक्लै फत्फताउन थालिन् ।
चाँगुनारायण नपा-२, हनुमानटार, झौखेल, भक्तपुर ।
ने.सं. ११४३ बछलाथ्व दुतिया . वि.सं. २०८० बैशाख ९ गते शनिबार ।
+++
६८. लघुकथा– लखन्तरेको लेखान्त –बालकृष्ण काफ्ले
डल्ली र मतानेबाट लगातार विहे गरेको चौध वर्षको अवधिमा नौ भाइ छोरा भए । डल्ली भने दुब्लाएर सियो धागो भइसकेकी थिई । घर बाहिरको काम गर्न सक्ने अवस्था थिएन डल्लीको । मतानेले एक्लै मुखियाको ठूलो कित्ता खेत खनजोत गथ्र्यो ।
मरासिनी बाजेको पाखो बारी पनि उसकै पसिनाले रमाउँथ्यो । देवीथाने बाको खरपाखो मतानेलाई नै पर्खिन्थ्यो । डाँडाली आमैको दाउरे कटेरोमा मताने नै दाउराको माच बनाँउथ्यो । प्रधानपञ्चको गोठका वस्तुभाउ मतानेले नै पर्गेल्थ्यो । मालिकहरु हाटबजार जाँदा घरबाट बजारसम्मको यात्रामा ढाकर उसकै ढाडमा सवार हुन्थ्यो । नुन, तेल, मल, फलाम सवै मतानेकै पसिनाले पग्लिन्थे, तप्किन्थे, बालिमा मिल्थे, फाली बनेर काममा लाग्थे सबैका ।
विहान एक डबका चिसो सबै मालिकका घरमा उपलब्ध हुन्थ्यो मतानेलाई । दुई चारवटा भकारो ऊ एक्लै पार लगाँउथ्यो मालिकहरुको । चारैतिर बानरले घेर्थे डल्ली र मतानेका मकैका झुत्तालाई । डल्ली ढुंगा हान्थी, मताने घुँयत्रो हान्थ्यो । बाँनर लखेट्थे । वरिपरी जंगल, मालिकहरुको गाँउ अलिमाथि, डल्ली र मताने ऊ बेलाबोल्दै हाँस्दै विहानउकालो अनि साझँमा ओरालोओहोर दोहोर गर्थे । वस्तुभाउ थिएनन् उसबेला । भर्खर विहे गरेथे । कुनै चिन्ता थिएन । सम्झना आउनासाथ शृंगार रसमा सिंगारिन्थे डल्ली र मताने ।
एक वर्ष नबित्दै बाउआमा बने डल्ली र मताने । बर्षेनी बाउआमा बन्दै गए । पारिपट्टी चिहान खन्दै गए । सन्तान थन्क्याउँदै गए । तेह्र बर्षमा आठ वटा खाडल भरे । पिडाबोध गरे । तर हरेस खाएनन् । जन्माउन छोडेनन् । विहे भएको चौधौं बर्षमा नवौं छोरा जन्माए । नाम जुराएनन्, सिधै ‘लखन्तरे’ नाम राखे । डल्ली मालिकहरुका गाउँतिर उक्लिन नसक्ने भई । झण्डै छ महिना थलिई । ओछ्यान परी । मतानेले डल्लीलाई जाउलो अनि लखन्तरेलाई दुध कहिल्यै टुटाएन । डल्लीलाई बचायो, उठायो । लखन्तरेलाई लिटो निल्ने बनायो । त्यसपछि डल्ली घरको धन्दासम्म गर्ने भई । लखन्तरेलाई दुवैले खुबै स्नेहले पाले, हुर्काए, बढाए, पढाए पनि । लखन्तरे दुई बर्ष लागेपछि डल्ली दुई जीउकी भई । नौ महिना पुग्न दुई महिना बाँकी हुँदै कान्छो जन्माई । दुस्ख सुख कान्छोलाई पनि हुर्काए, बढाए, पढाए ।
लखन्तरे एक दिन बिद्यालयबाट घर फर्केन । साँझ परेपछि ऊसँगै नौ कक्षामा पढ्ने केटाकेटीलाई सोध्यो मतानेले । लखन्तरे दिउँसोको भाषणबाट प्रभावित भएर त्यसै हुलमा जंगल पसेथ्यो । ब्रिगेड शब्दलाई “ग्रिनेट” नै होला भन्ने बुझेर ऊ हिँडेथ्यो । उसको बच्चै देखिको शौख भनेकै ग्रिनेट अनि बम पड्काँउने थियो ।
अर्कातिर दुई वर्ष पछि कान्छो पनि दश पढ्न थाल्नासाथ शाही सेनाको जागिरे भएथ्यो । अमल डाँडामा दोहोरो झडप भयो । दुवै जना लखन्तरे र कान्छो एकै साथ अस्ताए । डल्ली र मतानेले भेउ पाएनन् । दशैंको टिकाका दिन तीन घण्टा टाढाको ब्यारेकमा निम्तो गरियो डल्ली र मतानेलाई । उपहार स्वरुप एकै ठाउँमा ढलेका रातो लखन्तरे र हरियो कान्छो सजिएको एक सुन्दर तस्विर लिए घर आए डल्ली र मताने । लखन्तरे र कान्छोका सामान र दाम मरासिनी बाजेलाई शहरमै बुझाइयो । बाजेलाई रिझाइयो । मरासिनी बाजेले मालजाल अनि दाम बुझे । डल्ली र मतानेले तस्विर पाए ।
उदयपुर
+++
६९. लघुकथा- मुर्तिकार -बिष्णु उप्रेती
"यति राम्रोसंग किन हेरेको भाइ ? स्कुल हिडेको बेला ढिलो भएन ?"
आफुले ढुङ्गा कुंदेर भगवानको मुर्ति बनाउँदै गरेको एउटा स्कुल जाँदै गरेको बिद्यार्थी भाईले धेरै बेर देखि हेरिरहेको देखेर, मुर्तिकारले सोध्यो ।
तपाईंले एउटा ढुङ्गालाई यति राम्रो भगवानको मुर्ति बनाएको देखेर हेरेको नी दाइ ।"
"तिमी कति कक्षामा पढ्छौ भाइ ? अनि घर कता छ ?"
कति बर्षको भयौ ?
"म चार कक्षामा पढ्छु ।" मेरो घर यहि नगरपालिकाको सात नम्बर वडा छ ।" म नौ बर्षको भएँ ।
मुर्तिकार र बिद्यार्थी बीच केहि समय कुराकानी भए । बिद्यार्थीले सोधेका कुराहरुको मुर्तिकारले हाँसि हाँसि जवाफ दिए ।
दाइ, तपाईंले यो ढुङ्गालाई यसरी धारिलो हतियारले काटिरहँदा, खोपी रहँदा, हथौड़ाले कुटि रहँदा यसलाई दुख्दैन ? ऐया भन्दैन ?"
मुर्तिकारले हातको छिनो र हथौड़ा भुईमा राख्दै, केटाको मुखतर्फ हेरेर हास्दै भने ---"भाइ दुख्छ त, कम्ति दुख्छ त, किन दुख्दैन । तर भाइ, भोली भगवान हुन पाँउछु भन्ने आशा र बिश्वासमा आज परेको कठोर पीडा दुख पनि, ऐया नभनी चुप लागेर सहन्छ उसले । अनि भोली भगवान भएर मन्दिरमा बसेपछि त, कस्तो मजा हुन्छ होला आफै भन त ? "
मुर्तिकारको कुरा सुनेर बिद्यार्थी केही नबोली बाटो लाग्यो ।
भक्तपुर राधे राधे । २०८०/०५/०१
+++
७० लघुकथा- आमा - बोधराज प्याकुरेल
"आमाले तीनदिन देखि केही खानु भएको रहेनछ, कमजोरीले यस्तो भएको हो । केहीबेरमा होस खुलिहाल्छ, आत्तिनु पर्दैन ।" डाक्टरले रिपोर्ट हेर्दै भने ।
" तर डाक्टर ....।" दिनेश केही भन्न खाेज्दै थियोे ।
" म केही भिटामिन लेखिदिन्छु । घर लगेर तागतिलो खानेकुरा खुवाउनु, आमालाई केही रोग छैन ।" डाक्टरले बीचमै थपे ।
एक्कासी लडेर आमा अचेत भएपछि छिमेकी काकालाई बोलाएर दिनेशले अस्पताल लगेको थियो । आठ कक्षामा पढ्दै गरेकाे उसलाई घर व्यवहार केही थाहा थिएन । आमालाई के गर्ने, कसो गर्ने आतेस लागेर आको थियो ।
" तेराे बुबा खस्दा तँ एक महिनाको थिइस् । राम्रोसँग पढ बाबु ठूलाे मान्छे बन्नुपर्छ" आमाले सधैं उसलाई यतिमात्र भन्ने गरेको कुरा उसले सम्झेको थियो ।
"साह्रै कमजोर हुनु भएछ, के भएको थियो बाबु आमालाई ? खाना त खानुहुन्थ्यो ?" अर्काको घरमा भाँडा माझ्ने, लुगा धुने जस्ता काम गरेर जीविका गर्दै आएकी दिनेशकी आमाको गरिबीलाई नजिकैबाट बुझेका छिमेकी काकाले अस्पताल आउँदै गर्दा साेधेका थिए ।
"खै काका पहिले त सँगै खान्थ्यो । दुईतीन दिन यता मैले खाइसकेँ तँ खा भन्नुहुन्थ्यो मलाई खाना दिने बेला ।" दिनेशले अनभिज्ञता जनाएको थियो ।
खजुरा, बाँके
+++
४९. लघुकथा- तिम्रो बूढो र म -दीपक लोहनी
तिम्रो बूढा मेरो घर आउदै थिए । मैले झट्पट तिमीलाई थाहा दिएँ ।
तिमीले भन्यौ - "मैले दिएका सम्पूर्ण उपहारहरू लुकाउ ।"
मैले तिमीलाई अप्ठ्यारोमा पार्नु थिएन ।
तसर्थ -
याद बल्झाइरहने फोटोफ्रेम हटाएँ ।
टेबुलमा पल्टिरहेको प्रेमील कविताहरू लुकाएं ।
सम्झना टिप्ने डायरी र पेन पन्छाएं ।
भित्तेपात्रो तिमीले नै दिएकी थियौ -
फ्रिजभित्रको क्याटबरी तिमीले नै थमाएकी थियौ -
मोबाइलको चार्जर तिमीले किनिदिएकी थियौ -
सबै लुकाएं ।
केही क्षणपछि तिम्रो बूढा टुप्लुक्क मेरो घर आइपुगे ।
हामी गफियौ ।
पियौ ।
रमायौ ।
३ घण्टापछि उनी फर्किए ।
तिम्रो बूढा फर्किसकेपछि मैले आफूलाई ऐनामा हेरें ।
तिमीले दिएको प्रेम त मेरो अनुहारमा झुण्डिरहेको थियो । त्यो त लुकाउनै बिर्सेछु - धत् ।
® कुरिलो घर, काठमाडौं ।
+++
५०. लघुकथा- भुकम्प -दिप मंग्राती
"ए केटा हो..... भूकम्प आयो कि क्या हो....?"
"बाहिर हेर त, अरु पनि केही हल्लिन्दै छ कि....?"
"छैन त हजुर, केही पनि हल्लेको छैन...!"
"अनि मेरो कुर्सी किन हल्लियो त....?"
"ढल्लै जस्तो गरेर...?"
"धेरै वोटा खुट्टा भएको कुर्सी यस्तै हुन्छ नि हजुर....! कहिले कुन खुट्टाले भुइ छुदैन, कहिले सतह नै मिल्दैन....!"
"कनाहा भयो की धर्मराई हाल्छ..!"
"तेइत भनेको....! यो धेरै वोटा खुट्टा भएको कुर्सी न हुने रहेछ । कहिले यता चर्मराउछ, कहिले उता ढल्मलाउछ।"
"एउटा खुट्टा कस्यो, अर्को हल्लिन्छ, अर्को कस्यो अर्को फितलो हुन्छ ।"
"यसो घुम्न पर्यो भने पनि, आफै कुर्सीको फन्को लगाउनु पर्ने ,कुर्सी मै बसि बसि घुम्न पाएपो...?"
"कुर्सी मै बसि बसि घुम्न त एउटै खुट्टा मात्र भएको कुर्सी चाहिन्छ हजुर..."!"
"अनि त जता घुमे पनि हुन्छ।"
"न ढल्ने डर , न त कनाहा हुने डर।"
"यहि कुर्सी त बल्ल बल्ल पाइयो, एउटै खुट्टा भएको कुर्सी त काहाँ पाउनु अब...?"
"कस्ले देला र सररर घुम्ने कुर्सी ?" "पत्त्याउन छाडीहाले सबैले...!"
"अब के गरौं त हजुर....?"
"अब यसैलाई कस्कास पारेर काम चलाउने....! जति टिक्छ टिकुन्जेल.."!"
"भुकम्प नहाए सम्म त टिक्छ होला नी...!"
"ए.....!हजुर भुकम्प आएजस्तो छ, सबै मान्छेहरु सडकमा निस्किन्दैछन...!"
"ए....हे... कुर्सी ......! मेरो कुर्सी अठाओ ढल्छ...!"
"ए होइन रहे छ भुकम्प हजुर....!
तिनीहरु त नागारिक्ता बनाउन पो आका रहेछन....!"
५१. लघुकथा- सरकार -दिव्य गिरी
अदालतमा न्यायाधीशको बेञ्चमा केही प्रहरी र हातमा हतकडी लगाएको एउटा दुब्लो अनुहार र पातलो शरिरको एकजना अभियुक्त थियो । अभियुक्तका चार पाँचजना आफन्त पनि बसिरहेका थिए ।
'यसको अपराध के हो ?' न्यायाधीशको पहिलो प्रश्न ।
'श्रीमान्, यसले सरकारको बिरोध गर्दै सडकमा नारा लगाएर हिँडिरहेको थियो ।' प्रहरी हवल्दारले अभियोग सुनायो ।
'के यो कुरा साँचो हो ?' न्यायाधीशको दोस्रो प्रश्नको उत्तर युवकले दिएन । ऊ चुपचाप बसिरह्यो ।
'बोल् किन नबोलेको ? तँ सरकारको बिरोधमा नारा लगाएर हिँडेको बखत हामीले तँलाई समातेको हो कि होइन ? भन् ।' हवल्दारले अलिकति रिसाएजस्तो भावमा भन्यो ।
'यसको प्रमाण छ ?' यस पटक न्यायाधीशले प्रश्न हवल्दारतिर फर्केर सोधे ।
'छ श्रीमान् ।' यति भन्दै हवल्दारले उस्लाई आदेश दियो- 'तेरो पिठ्यू श्रीमान् न्यायाधीशलाई देखा ।'
ऊ अर्थात कथित अभियुक्त युवक न्यायाधीशतिर पिठ्यू फर्काएर उभियो ।
उसले लगाएको कालो टीसर्टमा ठूलाठूला भङ्गेरे टाउके अक्षरमा सेतो रङले लेखिएको थियो - 'मेरो देशको सरकार हरायो ।'
२०८० असोज २,
+++
५२. लघुकथा : देशको माया -घिमिरे दुर्गा
एक दिन विद्यालयबाट फर्कँदै गर्दा मेरी सानी छोरीले प्रश्न सोधिन् "बाबा ! हजुरले सधैँ मलाई देशभक्ति गीतमा मात्र नाच्न लगाउनु हुन्छ । हिजो नयाँ विद्यार्थीहरूलाई स्वागत गर्ने कार्यक्रममा `आँखैमा राख्छु मेरो देश´ गीतमा नाच्न लगाउनु भो । साथीहरूले खिस्सी गरे । उनीहरूको गीतमा कति हुटिङ भो रे । मेरो गीतमा त हुटिङ पनि भएन रे ।" छोरीको कुराले म एकै छिन रोकिएँ । के उत्तर दिने मसँग तत्कालीन उत्तर त थिएन । मैले छोरीलाई बोलाउँदै, "नानी एकपटक यता आऊ त" "यो मेरो हात हेर ! किन बाङ्गो छ ? यो आन्दोलनमा जाँदा प्रहरीको लाठीचार्ज परेको हात हो ।
त्यतिबेला देश बचाउने आन्दोलन थियो छोरी । निरङ्कुस शासनको विरुद्ध तिम्रो बाबा र अरुले निकै दु:ख पाएका थिए । अझ तिमीहरूले देश भक्तिको गीत गाउन नछोड है । देशभन्दा माथि कोही पनि हुँदैन । यो देशको माया गर्ने व्यक्ति नै नेपाल आमाका असल सपूत हुन ।
देश लुट्नेहरूले लुटपाट गर्दैमा देशभक्तहरूले कहिल्यै हार खाँदैनन् ।"
"खै त बाबा ! यो देशमा परिवर्तन ल्याउन हजुरले योगदान दिनु भो तर देश र जनताको अवस्था किन उस्तै ?"
"नानी मेरो परिवर्तन होइन देशको हुनुपर्छ र सबै नेपालीले सुख पाउनु पर्छ "जबसम्म भ्रष्टाचार र कुशासनको अन्त्य हुँदैन तबसम्म देशमा विकास हुँदैन । अरुले जे भनुन् तर हामीले राम्रो बाटो हिँड्न छोडन हुँदैन ।"
"म लगातार बोलिरहेको थिएँ ।" त्यही बीचमा भित्रबाट एउटा पुरानो चन्द्र सूर्य अङ्कित झन्डा बोकेर, "हो बाबा ! म सधैं यस्तै गीत गाउँछु, आँखैमा राख्छु मेरो देश ! मुटुमा राख्छु मेरो देश..........!"
रत्ननगर-१४, चितवन
+++
५३. लघुकथा- भ्रष्टाचार -बाँस्कोटा धनञ्जय
‘यो भ्रष्टाचार बिरुद्धको अभियानमा छौं हामी अहिले । यहाँहरुले यो चर्को घामको पर्वाह नगरी यहाँ उपस्थिति जनाएर भ्रष्टाचारमूक्त समाजको निर्माणमा साथ दिनुभएकोमा मुरी मुरी धन्यवाद दिन चाहन्छु । भोलि पनि यही समयमा यही ठाउँमा भ्रष्टाचार बिरोधी कविताहरुका साथमा उपस्थित हुन आग्रह पनि गर्दछु । हवस् त, धन्यवाद ।’
सहरको मूख्य चौकमा भ्रष्टाचार बिरुद्धको अभियान सशक्त अभियान चलाइरहेका समाजिक व्यक्तित्व गोवर्धन काजीले यसरी सभालाई सम्बोधन गरेर आफ्नो भनाइ टुङ्ग्याए ।
भ्रष्टाचार बिरोधी अभियानलाई उनको वाककलाले निकै माथि पुर्याइरहेको थियो ।
भोलिपल्ट काजीको उर्दी बमोजिम मानिसहरु भेला भए । कविहरुले कविता र गजलहरु बाचन गरेर समयको भरपूर सदुपयोग गरे । अनि कविता सकिए । गीत सकिए । नृत्य सकिए । अल्मल्याउने सानातिना भाषण पनि सकिए । तर गोवर्धन काजी आएनन् ।
अकल्पनीय भयो । गोबर्धनले फोन पनि नलाग्ने बनाएछन् । सम्पर्क टुट्यो । व्यवस्थापन गर्न खटिएको युवाहरु पनि आक्रोशित भए । यसैबीच गोवर्धनका अनन्य मित्र आइपुगे । उनले आइपुग्नासाथ माइक समाते । र बोले, ‘आदरणीय न्यायप्रेमी जनसमुदाय ! यो पछिल्लो भ्रष्टाचार बिरुद्धको आन्दोलनले ऐतिहासिक सफलता प्राप्त गरेको छ । सरकारले घुँडा टेकेको छ र उच्चस्तरीय छानबिन समिति गठन गर्न बाध्य भएको छ । अब सबै भ्रष्टाचारी जेलमा भेटिनेछन् । अभियान पूरा भइसकेकोले गर्दा यो आन्दोलन गर्न जरुरी छैन । हामी अब आफ्नो काममा लागौं । गोवर्धनजीको यही सन्देश लिएर आएको म । जय नेपाल ।’
यतिकैमा भीडबाट एकजना युवा अगाडि आए । माइक समाए । र भने, ‘यो गोवर्धन भन्ने मान्छे पार्टीको झोले हो । उसको ज्वाईंको नाम पोलेछन् सुनकाण्डमा हिजो समातिएका केटाहरुले । अनि ऊ पनि तानिने भए पछि अघि बिहानै गृहमन्त्रीको घरमा जाँदै थियो । हेर्नुस्, जब भ्रष्टाचारको कुरा सशक्त उठ्छ, यस्तै छानविन आयोगका नाटकहरुको रचना गरेर मुद्धा तुहाइदिन्छन् । यो पनि गर्न खोजेको यही हो । तीन दशकदेखि यिनले कतिवटा आयोग बनाइसके ? तिनले केही काम गरे ? कसैलाई पक्रिए ? कसैलाई कार्वाही भयो ? कोही जेल गयो ? कसैको सम्पत्तिको श्रोत खोजियो ? गोवद्र्धनहरुको युग अब सिध्याउनु पर्छ । आफैं भ्रष्टाचार गर्ने, अनि आफैं भ्रष्टाचार बिरोधी आन्दोलनको नेतृत्व गर्ने ?’
सन्नाटा !
दमक, झापा
+++
५४. लघुकथा- स्वावलम्बी -नन्दलाल आचार्य
"तँलाई मैले धेरै थोक गरेँ ।" एसएलसीको उत्तीर्ण गरेपछि आमाले भन्नुभयो । उहाँले मलाई घर त्याग भन्नुभयो । बाटो खर्च दिने वचन दिनुभयो । त्यो पनि फर्काउने सर्त राखेर ।
"काखको छोरो खाते बन्न नपठा ।" बाले संसय नेत्र पारेर भन्नुभयो । आमा धपाउने तर बा राख्ने । बाआमाको यस्तो रस्साकस्सी निकैबेर चल्यो । कालान्तरमा निर्णयको अभिभारा मलाई सुम्पनुभयो ।
म अनिर्णयको बन्दी बनेर रोएँ । एसएलसी गरेर महत्वाकांक्षी बनेको ठहर्याएँ । मूकदर्शक बनेर आँखाभरि आँसु बनाएँ । आमाको आँखामा सहानुभूतिपूर्ण भाव पढिरहेँ । बाकोमा भने अन्धो अनुराग भेटिरहेँ ।
घर छाड्ने आँखा थिएनन् मसँग । हिम्मत जुटाउने सहास जन्मेको थिएन । जीवन आफ्नो भएकाले आफैंले बनाउनुपर्छ । संसार तमासा हेर्छ कसैलाई सघाउँदैन । यस्तै विचारले मैले मुठ्ठी कसेँ ।
"कमजोर पाखुराले धरतीसँग कसरी जुध्छ ?" बाले ममता मिश्रित पानी पियाउनुभयो । आमाले दानापानी बन्दको घोषणा गर्नुभयो । जवाफमा ममता बाहिर धपाएर भन्नुभयो; "हतियार बनाउन फलाम तातोरातो बन्नैपर्छ ।"
२०८०/०१/०१ सिर्जनाकुटी, सिरहा ।
+++
५५. लघुकथा- अव्यक्त -नवराज शर्मा
"कसको माया लाग्छ ? मम्मीको कि बुबाको ? "
मिठाई पाउँदा उत्तर हुन्थ्यो 'बुबाको' सकिएपछि जवाब हुन्थ्यो 'मम्मीको', अनि दुबै आमाबाबु खित्का छाडी हाँस्थे आनन्दको ।
बुढा, बुढी घाम ताप्दै छोरा, बुहारी र नातिको लीला हेरिरहेका थिए । बुढाले भने, "फूल छातीमा परेपनि थाप्लोमा झरेपनि आनन्द आउँछ ।"
"फूल फल भै पोल्टामा परे आनन्द दिन्छ, पुर्पुरोमा बर्सिए पीडा ।" भन्दै घरभित्र जान लागेकी बुढीको अनुहार हेर्दापनि बुढाले भेउ पाएनन्, बुढीको मुस्कानले "मोनालिसा"को मुस्कान जस्तो हर्ष पोखिरहेको थियो कि विषाद !
भक्तपुर, हाल- भर्जिनिया, अमेरिका
+++
५६. लघुकथा : विवेक -नानि भारद्वज
"नमस्कार मेम् !", प्रमुख अतिथिलाई स्वागत गर्दै कार्यक्रम अध्यक्षले भनिन् ।
"नमस्कार !"
साँझपख पार्टी प्यालेशमा रङ्गीन बत्तिहरु झिमझिम गरिरहेका छन् । डिजे आवाजमा तीजको गीत घन्किरहेको छ । गरगहना र रंगिन पोषाकले सजिएका महिलाहरु उक्त गीतको भाकामा नाचिरहेका छन् ।
"उहाँ हुनुहुन्छ संघर्षशिल महिला अधिकारवादी नेतृ सारदा मेम्", कार्यक्रम कक्षमा प्रवेश गरेपछि सञ्चालिकाले मेमलाई स्वागत गर्दै उनको परिचय दिइन् ।
"दरखाने दिन यसो जमघट गरौं भनेर मेम् !," भन्दै उनलाई चमेना भएतिर सञ्चलिकाले लगिन् ।
स्नेक्स र सोमरसको चुस्की लिएपछि मेम् पनि नृत्यमा झुम्न थालिन् । सबैले उनलाई तालीले साथ दिए ।
"अब डिनर लिसियोस् मेम् !" भन्दै अध्यक्षले खाना राखेको टेबुलतिर मेमलाई लगिन् । रातिको दस बजेको छ ।
टेबुलमा सजिएका विभिन्न थरिका साकाहारी र मांसहारी परिकारबाट उनले प्लेटमा खानेकुरा झिकिन् ।
यसैबेला मेमको मोवायलमा घण्टी बज्यो । उनले फोन उठाउँदै भनिन्, "के भो जुनेली ?"
"हजुर कतिबेला आइसिन्छ ?"
"म जतिबेला आउँ तलाई के को चासो !" मेमले झ्वाक्किदै भनिन् ।
मेमको घरमा दिनभरि लुगा धोएर लखतरान भई बसेकी सेविका जुनेली भन्छे, "मेम हजुरलाई एउटा कुरो भन्नु थियो !"
"के कुरो भन् !"
"घरमा एक गेडो चामल छैन नानीहरु मलाई पर्खेर बसेका छन् । मेरो तलव दिसिन्थ्यो कि !"
"अस्ति भर्खर दिएको होइन ? "
"गएको हप्ताको पाएकी छुइन ! पाए घरमा चामल लिएर जाने थिएँ हजुर !"
"चामल न सामल चुप लागेर जा !" भन्दै मेमले फोन काटिन् ।
विराटनगर, मोरङ्ग ।
+++
५७. लघुकथा- खल्लो -नारायण कोइराला
बुढीसँगको अनबनपछि दिदि रिसाएर हिँड्नु भयो । मनमा चसक्क घोँच्यो । न बुढीलाई सम्झाउन सकेँ, न दिदीलाई ।
तीजमा रमाइलो गरौंला भनेको कुरो उल्टो भयो ।
माइत आएकी दिदि घरजानु भएन होला भन्ने लाग्यो ।
भाइलाई फोन गरेँ ।
धन्य भगवान, दिदि भाइकोमा जानुभएछ । भाइसँग बजारमा भेट्ने कुरो भयो । दरखाने सामान किनियो । दिदीलाई रातो साडी किन्दा भाइको अनुहार मधुरो देखियो ।
काउन्टरमा आएर सबै बिल बुझाएँ । भाइको घर नजिकै डहरमा पुगेर सबै सामान भाइलाई दिएँ । भाइ ढोकामा पुग्दा दिदि बाहिर निस्कनु भयो । दुबैको अनुहारमा खुसीको लहर देखेँ । धनको कमीमा दिदीको तीज खल्लो भएन ।
- तानसेन, पाल्पा
+++
५८. लघुकथा - सतप्रतिशत -निरज कोइराला
रमिलाले महेशको टेबलमा मासिक कार्ययोजना लेखेको कागज नियालेर हेरिन् र भनिन्, "बाआमालाई भनेर पन्ध्र प्रतिशत छुट्याउनुभएछ त < यो के पारा हो <"
महेशले जवाफ फर्काए, "कानुनले आफ्नो आम्दानीको पन्ध्र प्रतिशत दिनै पर्छ भनेर तोकेको छ । यो त छुट्याउनै पर्छ ।"
"कानुनले भन्यो भनेर पन्ध्र प्रतिशत छुट्याउने त <" रमिलाले कुरो बढाइन् । महेश अक्क न बक्क भए तथापि बिस्तारै कुरा बढाए, "बाआमालाई पन्ध्र प्रतिशतले त औषधी किन्न नै पुग्दैन । पुरानो आम्दानी जायजेथा बाले सबै हाम्रै छोराछोरीको लागि नै खर्च गर्नुहुन्छ । बाको सम्पत्ति भविष्यमा हाम्रो त हो नि Û"
रमिलाले एकछिन पछि जवाफ दिइन्, "त्यही भएर त पन्ध्र प्रतिशत दिनु हुँदैन भनेको । हाम्रो हातले खर्च गर्दा भविष्यको जोहो नै हुँदैन । चाहिएको बेला बाआमासँग मागौँला अहिले सतप्रतिशत बाआमालाई बुझाऊँ न ।"
इटहरी, सुनसरी २०७९-०१-०५
+++
५९. लघुकथा- दोबाटो -निर्मला बराल
“के गर्ने गर्ने, जंगलमा चारो पाइन असाध्यै कठिन हुन पो थाल्यो त, साथी हो !” मैनाले पीर मान्दै भन्यो ।
“हो त ! फेरि, हाम्रा अबोध बचेराहरु घरै छोडेर सँधैभरि टाढासम्म कहिलेसम्म धाउने हो !” भँगेराले चिन्ता व्यक्त गर्यो ।
हुनपनि, बढ्दो तापक्रम, जलवायु परिवर्तन र सुक्दै गएका नदिनालाले चराहरुको जीवन अति कष्टकर बन्दै गएको थियो । खानेकुराको अभावले आक्रान्त बन्दै गरेको जंगलमा बलिया बांगा कहलिएका चिल, बाज र गिद्घले कमजोर र निमुखा चराहरुका बासस्थानमा आक्रमण गरी उनीहरुका गुँडमा रहेका अण्डा फुटाइदिने, गुँड भत्काइदिने र उनीहरुका बचेराहरुलाई आफ्नो शिकार बनाउन थालेका थिए । उनीहरुको अत्याचारले आफ्नो वंश नै सखाप हुनसक्ने डरबीच भावी पिंढीको सुरक्षा सोचेर, निमुखा चराहरु एकदिन मानव बस्ती सरे ।
तर मानव बस्तीको कथा अर्कै रहेछ । त्यहाँ त मान्छेहरु आफै बन्चरो भएर रुखहरुलाई झम्टिदा रहेछन् । मरुभूमि बनेर जंगल लुछ्दा रहेछन् । अनिकाल बनेर खेतका बाली सखाप पार्दा रहेछन् । विषाक्त हावा बनेर वातावरण घातक बनाउँदा रहेछन् ।
“आउन त आइयो हेर साथीहरु, तर मान्छे भन्ने त....... !” सुगाले दुखेसो पोख्यो ।
मानव बस्तीमै घुमिरहेका चील, बाज र गिद्धहरु देखेर चराहरू एक आपसमा मुखामुख गर्दै दोबाटोमा अलमल्ल परिरहे ।
सानोठिमी, भक्तपुर २०८०/६/३ गते बुधबार ।
+++
६०. लघुकथा- कविता वाचन -परशुराम पराशर
पर्यटन वर्षको पूर्व सन्ध्या पारेर मङ्सिर महिनाको अन्तिम शुक्रबार शिवपुरी महोत्सव हुने भयो । त्यहाँ विभिन्न कार्यक्रमहरु राखिएका थिए । पहिलो दिन महोत्सवको उद्घाटन, चित्रकला प्रतियोगिता र कविता वाचनको कार्यक्रम राखिएको थियो । साहित्यकार तथा अतिथिहरुका लागि काठमाडौँबाट यातायातको व्यवस्थासमेत गरिएको थियो ।
“स्कुल छुट्टी भएर गए पनि भ्याइहालिन्छ नि ।” शिक्षक साथीले भन्दाभन्दै विद्यालयमा बिदाको निवेदन चढाएर मोटरसाइकलमा उकालो उक्लिएँ ।
कार्यक्रमस्थलमा पुग्दा आयोजकहरु भर्खर तुल-ब्यानर टाङ्दै थिए । सबैलाई म पालुवा साहित्य मञ्चको अध्यक्ष भन्ने थाहा थियो । तोकिएको समयभन्दा एक घन्टा ढिलो बस आइपुग्यो ।
कार्यक्रम सुरु गर्न चाहिने मुख्य व्यक्ति सभापति समयमा नआएर कार्यक्रम आधा घन्टा ढिलो भयो । बल्लबल्ल सुरु भएको कार्यक्रममा प्रमुख अतिथिको अनुपस्थितिले उद्घाटनलाई थाती राख्दै पहिले चित्रकला प्रतियोगिता गराइयो । त्यसै बिचमा पालैपालो कविता वाचन पनि सुरु भयो ।
म चाहिँ हालसालै लेखेर कतै नसुनाएको व्यङ्ग्य कविता वाचन गर्छु भन्ने तयारीमा थिएँ । अब आउला तब आउला भनेर पर्खेर बसेको म आधाउधी कार्यक्रम सकिँदा पनि नाम आएन । गएर उद्घोषकलाई भनेँ । उनले नाम टिपे । कविता वाचन अविरल भइरहेको थियो । मेरो भने नाम आउने छाँटकाँट देखिएन । त्यतिखेर भने स्कुल बिदा नलिई छुट्टीपछि आएको भए पनि हुनेरहेछ भन्ने लाग्यो । लगभग २:३० बजेको थियो होला बल्ल मेरो नाम आयो । अब त कविता सुनाउन पाउँछु भन्ने खुसीले बुरुक्क उफ्रिन मन लागे पनि संयम भएर मञ्चमा पुगेँ ।
त्यहाँ पुगेर माइक समात्ने तरखर गर्दा नगर्दै प्रमुख अतिथि मन्त्रीको सबारी भयो । मन्त्रीलाई आसनग्रहण गराउन उद्घोषकले माइक मागे र आसनमा नबसी पानसमा बत्ती बालेर कार्यक्रमको विधिवत उद्घाटन गर्न लगाइयो । मन्त्रीले उद्घोषकको कानमा केही फुस्फुसाए । उद्घोषकले मलाई माइक नदिई मन्त्रीलाई दिए । बस्न नभ्याएका मन्त्रीको धुवाँदार भाषण सुरु भयो । म भने कविता वाचन गर्न नपाएकाले बिस्तारै मञ्चबाट तल झरेँ र सुइँकुच्चा ठोकेँ ।
+++
६१. लघुकथा- कृतघ्नता -पुण्य कार्की
“के तुइनाम्जे छोराछोरी ! हाम्रा देवर बाबुका ! आफ्नो गाउँ छोड्न नसक्ने । आफ्नो घर छोड्न नसक्ने । मेरा नानीहरु अष्ट्रेलिया अमेरिका खाइसके । स्कुलको मास्टर नाथे जागिरमा हल्लेका छन् हल्लेका छन् ।”
आफ्ना देवरका छोराछोरीको बदख्याइँ चलाइरहेकी छिन् जमुनी बजै । आफ्ना दुइटै नानीहरु अष्ट्रेलिया, अमेरिका छिरेकोमा उनीहरुको प्रशंसा र बखान गाएर कहिल्यै थाक्तिनन् । देवरका छोराछोरी भने गाउँकै स्कुलमा पढाउँछन् । उनीहरुको खोइरो खन्छिन् । नामर्द, पंगु, हुतिहारा अनेकन विशेषण भिराएकी छन् ।
समयको खेल न हो । सात दिनदेखि जमुनी बजै सिकिस्त बिरामी भएर ओछ्यानमा ढलेकी छिन् । उसले रातोदिन निन्दा गरेकी त्यही देवरकी छोरी सानीमैँया तातोपानी तताएर औषधी खुवाउँछिन् । जाउलो बनाएर पियाउँछिन् । राति पनि ठूलो ममीलाई रुङ्ने, हेरचाह गर्ने उही छिन् ।
केही समयपछि पूर्णरुपले तङ्ग्रिन् उनी । फेरि पुरानै बानी दोहोर्याउन थालिन् । कन्ना पछाडि आफ्नै छोराछोरीको तारिफको पुल हाल्छिन् । देवरका छोराछोरी सन्दिप र सानीमैँयाको निन्दा बखान्छिन् । एक दिन त तल्लो घरकी बूढी सासुले प्याच्च भनिदिइन्– “तँ त सारै बैगुनी छेस् । अस्ति विरामीले इन्तु न चिन्तु हुँदा त्यही सानीमैँया नभाकी भा जिब्रो टोकिसक्थिस् । खुब छोराछोरीको बढाइँ चढाइँ गर्छेस् । के नापेका छन्, सात समुन्दर पारी उडेका तेरा छोराछोरीले तँलाई ! कृतघ्न आइमाई !”
उनको कुराले जमुनी बजै नाजवाफ बनिन् ।
उदयपुर
+++
६२. लघुकथा - आधुनिक धावक -डा.पुष्करराज भट्ट
साथी धावकका रुपमा चर्चित थियो । उसलाई पनि धावक बन्ने इच्छा जागृत भयो ।
“हामीलाई पनि सँगै लग्नुस न । आफै कति दौडनुहुन्छ ?” साथीसँग बेलाबेलामा आग्रह गरिरहन्थ्यो । धेरै दिन भइसकेको थियो, साथी उसको यही संवाद सुनिरह्यो । साथीले उसलाई आफूसँग मैदानमा दौडिन बोलायो । दौँडिदा के के गर्ने भन्ने सबै कुरा सिकायो । ऊ सिकारु थियो । उसमा अभ्यासको कमी थियो । साथी जसरी दौडन सकेन् । साथी अघि थियो, ऊ निकै पछि थियो । उसले बल गर्यो, अहँ साथीलाई भेटाउन सकेन । दौडदा दौडदै थाकेर भूँइमा लड्यो । खुट्टामा अलिकति चोट लागेको थियो । तर उसले यस्तो नाटक गर्यो की उसलाई ठूलै चोट लागेको छ ।
उसले कराउँदै साथीलाई बोलायो । साथी उसलाई उठाउन आयो । उसमा इर्ष्याभाव चरम चुलीमा पुगेको थियो । उसले साथीलाई लछारपछार गरेर भुईँमा लडायो । अनि जसोतसो दौड्यो । दौड्दा दौड्दै उसले मनमनै भन्यो, “खुब ठूलो धावक हुँ भन्थ्यो । आज त मैले त्यसलाई जितेँ ।”
+++
६३. लघुकथा- माइती -पूजन न्यौपाने
आमा तपाईं माइती नजाने ? चाडबाड आउने बित्तिकै छोरीहरूले गर्ने प्रश्न थियो यो ।
प्रत्तिउत्तरमा निशब्द हुने गर्थिन् उनी ।
उनलाई माइती जान मन नलागेको होइन तर बिडम्बना उनको कतै जाने ठाउँ थिएन । छोरो त सबैभन्दा जेठो भएर होला बुझ्ने नै थियो तर चारओटी छोरीहरू भने मामाघर जाने भनेर हैरान पार्थे । उनको बुवा उनी दुई वर्षको हुँदा बितेका थिए त्यसैले दाजुभाइ, दिदीबहिनी कोही थिएनन् उनका ।
एउटैमात्र सहारा आमाको पनि अल्पायुमै मृत्यु भएकोले माइती विहीन भएकी थिइन् उनी ।
आज पनि छोरीहरू रोइरहेका थिए । उनले आफ्ना छचल्किएका आँसुलाई पुछिन् अनि आफ्नो अगाडि छोरीहरूलाई राखेर भन्न थालिन् -"म किन कतै जानु ? मेरा माइती त मेरै अगाडि छ । तिमीहरू नै आजबाट मेरो माइती भयौ । चाडपर्वमा एउटीले चुरा ल्याइदिनु, एउटीले टिका, एउटीले पोते अनि एउटीले साडी ।"
सप्तकोसी-१ फत्तेपुर, सप्तरी । २०८०-५-११
+++
६४. लघुकथा- पालो -प्रेम पुन मगर
"नाच्न नजान्नेलाई आँगन टेडो ।...भने झै मान्छे अज्ञानी भएपछि अनेक हुदोरहेछ ।"
धनबहादुरलाई उनको छोरोले रिसाउदै व्यङ्ग्य हान्दा पनि धनबहादुर मौन नै रहे ।
यो देखेर छोरोले झन उग्र बन्दै अगाडि थपे- "चिसो पिउन दियो । पिनासले सताउँछ रे । चिया पिउन दियो । सुगर बढ्छ रे । दूध पिउन दियो । ग्याष्ट्रिक बढ्छ रे । मासु पकायो, युरिक एसिड बढ्छ रे । यस्तो पनि हुन्छ ?"
"यस्तै हुन्छ त, म के गरुँ बाबू ?" उनी दुखी स्वरमा बोले ।
"संसारमा भएजति रोग एउटै मान्छेलाई..!! .. यस्तो कसरी हुन्छ ? के पारा हो बुवा ?" छोरोको प्रश्नमा उनले शान्त भावमा भने- "तिम्रो उमेरमा मैले पनि यही कुरा मेरो बुवालाई भनेको अहिले सम्झिरहन्छु । धेरै नकराउ छोरा, मेरो पछि तिम्रै पालो त हो नि ।"
ढोरपाटन नगरपालिका-४ बाग्लुङ *हाल पोखरा २०८० बैसाख ६
+++
६५. दूटा मैथिली लघुकथा- प्रेम विदेह - जनकपुरधाम
(१) भीडतन्त्र
- ई कोन तन्त्र छै भाइ रे ?
- कुतन्त्र।
- फरिछाक' कही ने ।
- भीडतन्त्र । भेलौ ?
- कोना रौ ?
- देखै नइँ छही अन्हरा ?
- की देखियौ ?
- उँचकापर लागल छै भूतसभक मेला !
- ओ............
[नेपाली रूपान्तर]
भिडतन्त्र
- यो कुन तन्त्र हो यार ?
- कुतन्त्र ।
- प्रष्ट भनन ।
- भिडतन्त्र । भयो ?
- कसरी ?
- हेर्दैनौ अन्धो ?
- के हेरूँ ?
- चुचुरोमा लागेको छ भुतहरूको मेला !
- ए.......
(२) गुणतन्त्र
- कोन पसीन छौ भाइ ?
- कोन पसीन छौ ?
- राजतन्त्र कि प्रजातन्त्र ?
- कोनो नइँ ।
- लोकतन्त्रो नइँ ?
- जे प्रचलित अछि से नइँ ।
- तखन कोन ?
- गुणतन्त्र फेँटल ।
- ओहिमे कीसभ हेतै ?
- जे हेतै से नीके हेतै । मुदा एकटा बात नइँ हेतै ।
- की भाइ ?
- औँठा छाप शिक्षामन्त्री !
+++
[नेपाली रूपान्तर]
गुणतन्त्र
- के मनपर्छ भाइ ?
- के मनपर्छ ?
- राजतन्त्र कि प्रजातन्त्र ?
- कुनै पनि होइन ।
- लोकतन्त्र नि ?
- अहँ, प्रचलित होइन ।
- अनि कुन ?
- गुणतन्त्र मिसिएको ।
- त्यसमा के के हुन्छ ?
- जे जे हुन्छ,राम्रै हुन्छ । तर एउटा चाहिँ हुँदैन ।
- के हुँदैन ?
- ल्याप्चे शिक्षामन्त्री !
+++
६६. लघुकथा-आमाको माया -प्रेम शर्मा " एकान्त प्रेमी "
दिपाको बिबाह कालेबुङमा भएको थियौं । आफुले मन पराएको केटा सग उनी बिना बाच्न सक्दैन थिई । दिपा बिबाहको तीन वर्ष पछी एउटा सुन्दर नानी जन्मिन पुग्यो । उनिहरूले नानिको नाम प्रेम राखे । यसरी निरन्तर जीवन अगाडि बढदै थियो ।
छोरालाई पिठ्युँमा बोकेर दिपा भारी बोक्थिन गर्न जान्थिन । अचानक सडकमा हिडिरहेको समय गाडीको ठक्करबाट बुबाको मृत्यु भयो भने प्रेम अपांग भयौं । यो सन्सार अध्यारो भयो ।
दिपा बेहोस भईन । छोरालाई हतारमा अस्पतालमा पुर्याईन । कालेबुङ अस्पतालमा जहा भिड-भाड छ ।
दिपा ईमर्जेन्सी कक्ष गइन । भनिन् खुट्टाको अप्रेसन गर्नुपर्ने हुन्छ । तर उ हिडन सक्दैन । हामी सक्दो कोशिश गर्ने छौ । अनि आँखाको ज्योति पनि गुमेको छ ।
अप्रेसन भयो, तर उस्को आँखा ठिक भएन । दिपालाई देख्न सक्दैन छोराको लागि अन्धी भईन् । घर लिएर गयो । दिन बित्दै गयो । प्रेमको सफलताको शिखर चुम्दै छ कालेबुङ रकभेल ऐकेडेमी मा उ कालेबुङको नै टप भयौं । कलेजमा साथीहरूले अन्धीको छोरा भन्थे । आमाले लिन आउदा प्रेम लाई रिस उठन थाल्यो । आमा टाढा भाग्न थाल्यो ।
प्रेम आमासग छुट्टै बस्न थाल्यो । धेरै दिन बाट छोराको आवाज सुन्न नपाउदा आमाको माया-ंममताले आशुको नदि बन्न पुग्यो ।
आमा घरमा आउदा पनि बोल्दैन । सुनेको नसुने झै गर्यो । आमाले मायाको भक्कानो थिचेर निस्किदै थिई कालेबुङ १० माईलमा गाडीले ठक्कर दिदा घटनास्थल मृत्यु हुन पुगिन् ।
प्रेमले आमाको मृत शरीर देखेर काखमा उठाई रून थाल्यो । आमाको यस्तो हाल देखेर कराउन थाल्यो । आज रिसलाई काबुमा राक्न नसक्दा प्रेमले आमा गुमाउनु पुग्यो ।
आमालाई कहिले दु:ख नदिने । आमाको ममता सधैं अजम्बरी छ प्रेमलाई आमाको मायाको यादले सताएको छ ।
कालेबुङ
+++
६७. लघुकथा- समय -बाबुकाजी सुवाल 'विकेश निराशी'
चिबाखंई (नेवारी)
"बाउचा, पिने मनूत छाय् चिल्लाय् दंका हागु ?" बुरिम्ह अजिं छय्याके न्यन ।
"पिने जुलुस वगु अजि ।" छय् नं धाल ।
"छुकिया जुलुस वगुले, बाउचा ?" अजिं हाकन न्यन ।
"खुँ व डाँकातयेगु जुलुस् वगु, अजि । इमिगु हक लायेकाके दइमखु हँ, इमित माक्व खुयेगु व डाँका मारे याये दयेमा हँ । पुलिसं इमित ज्वने मदयेकेमा हँ ।" छय्म्हेसिनं अजिमांयात ध्वाथुइकेगु कुत यानाच्वन ।
"हँ ! गज्यागु खँ थ्व ? म्वाना च्वनेजक फयेक माल । थ्व हलिमय् छु छु जक स्वये दईगु जुइ ?" अजि याकचा हालाच्वन ।
(नेपाली अनुवाद)
"बाबू, बाहिर मान्छेहरू हल्लीखल्ली गरेर किन कराएका ?" हजुरआमाले नातिसँग सोधिन् ।
"बाहिर जुलुस आएको हजुरआमा ।" नातिले भन्यो ।
"केको लागि जुलुस आएका रहेछन् त, बाबू ?" हजुरआमाले फेरि सोधिन् ।
"चोर, डाँकाहरू जुलुस आएका नि, हजुरआमा । उनीहरूको हक छिन्न पाइँदैन रे । उनीहरूले चाइए जति चोर्न र डकैती गर्न पाउनुपर्छ रे । पुलिसले उनीहरूलाई पक्रिन पाइँदैन रे ।" नातिले हजुरआमालाई बुझाउने प्रयत्न गर्यो ।
"हँ ! कस्तो कुरा यो ? बाँचिरहन मात्रै सक्नुपर्छ । यो संसारमा के के मात्रै देख्न पाइने होला ?" हजुरआमा एक्लै फत्फताउन थालिन् ।
चाँगुनारायण नपा-२, हनुमानटार, झौखेल, भक्तपुर ।
ने.सं. ११४३ बछलाथ्व दुतिया . वि.सं. २०८० बैशाख ९ गते शनिबार ।
+++
६८. लघुकथा– लखन्तरेको लेखान्त –बालकृष्ण काफ्ले
डल्ली र मतानेबाट लगातार विहे गरेको चौध वर्षको अवधिमा नौ भाइ छोरा भए । डल्ली भने दुब्लाएर सियो धागो भइसकेकी थिई । घर बाहिरको काम गर्न सक्ने अवस्था थिएन डल्लीको । मतानेले एक्लै मुखियाको ठूलो कित्ता खेत खनजोत गथ्र्यो ।
मरासिनी बाजेको पाखो बारी पनि उसकै पसिनाले रमाउँथ्यो । देवीथाने बाको खरपाखो मतानेलाई नै पर्खिन्थ्यो । डाँडाली आमैको दाउरे कटेरोमा मताने नै दाउराको माच बनाँउथ्यो । प्रधानपञ्चको गोठका वस्तुभाउ मतानेले नै पर्गेल्थ्यो । मालिकहरु हाटबजार जाँदा घरबाट बजारसम्मको यात्रामा ढाकर उसकै ढाडमा सवार हुन्थ्यो । नुन, तेल, मल, फलाम सवै मतानेकै पसिनाले पग्लिन्थे, तप्किन्थे, बालिमा मिल्थे, फाली बनेर काममा लाग्थे सबैका ।
विहान एक डबका चिसो सबै मालिकका घरमा उपलब्ध हुन्थ्यो मतानेलाई । दुई चारवटा भकारो ऊ एक्लै पार लगाँउथ्यो मालिकहरुको । चारैतिर बानरले घेर्थे डल्ली र मतानेका मकैका झुत्तालाई । डल्ली ढुंगा हान्थी, मताने घुँयत्रो हान्थ्यो । बाँनर लखेट्थे । वरिपरी जंगल, मालिकहरुको गाँउ अलिमाथि, डल्ली र मताने ऊ बेलाबोल्दै हाँस्दै विहानउकालो अनि साझँमा ओरालोओहोर दोहोर गर्थे । वस्तुभाउ थिएनन् उसबेला । भर्खर विहे गरेथे । कुनै चिन्ता थिएन । सम्झना आउनासाथ शृंगार रसमा सिंगारिन्थे डल्ली र मताने ।
एक वर्ष नबित्दै बाउआमा बने डल्ली र मताने । बर्षेनी बाउआमा बन्दै गए । पारिपट्टी चिहान खन्दै गए । सन्तान थन्क्याउँदै गए । तेह्र बर्षमा आठ वटा खाडल भरे । पिडाबोध गरे । तर हरेस खाएनन् । जन्माउन छोडेनन् । विहे भएको चौधौं बर्षमा नवौं छोरा जन्माए । नाम जुराएनन्, सिधै ‘लखन्तरे’ नाम राखे । डल्ली मालिकहरुका गाउँतिर उक्लिन नसक्ने भई । झण्डै छ महिना थलिई । ओछ्यान परी । मतानेले डल्लीलाई जाउलो अनि लखन्तरेलाई दुध कहिल्यै टुटाएन । डल्लीलाई बचायो, उठायो । लखन्तरेलाई लिटो निल्ने बनायो । त्यसपछि डल्ली घरको धन्दासम्म गर्ने भई । लखन्तरेलाई दुवैले खुबै स्नेहले पाले, हुर्काए, बढाए, पढाए पनि । लखन्तरे दुई बर्ष लागेपछि डल्ली दुई जीउकी भई । नौ महिना पुग्न दुई महिना बाँकी हुँदै कान्छो जन्माई । दुस्ख सुख कान्छोलाई पनि हुर्काए, बढाए, पढाए ।
लखन्तरे एक दिन बिद्यालयबाट घर फर्केन । साँझ परेपछि ऊसँगै नौ कक्षामा पढ्ने केटाकेटीलाई सोध्यो मतानेले । लखन्तरे दिउँसोको भाषणबाट प्रभावित भएर त्यसै हुलमा जंगल पसेथ्यो । ब्रिगेड शब्दलाई “ग्रिनेट” नै होला भन्ने बुझेर ऊ हिँडेथ्यो । उसको बच्चै देखिको शौख भनेकै ग्रिनेट अनि बम पड्काँउने थियो ।
अर्कातिर दुई वर्ष पछि कान्छो पनि दश पढ्न थाल्नासाथ शाही सेनाको जागिरे भएथ्यो । अमल डाँडामा दोहोरो झडप भयो । दुवै जना लखन्तरे र कान्छो एकै साथ अस्ताए । डल्ली र मतानेले भेउ पाएनन् । दशैंको टिकाका दिन तीन घण्टा टाढाको ब्यारेकमा निम्तो गरियो डल्ली र मतानेलाई । उपहार स्वरुप एकै ठाउँमा ढलेका रातो लखन्तरे र हरियो कान्छो सजिएको एक सुन्दर तस्विर लिए घर आए डल्ली र मताने । लखन्तरे र कान्छोका सामान र दाम मरासिनी बाजेलाई शहरमै बुझाइयो । बाजेलाई रिझाइयो । मरासिनी बाजेले मालजाल अनि दाम बुझे । डल्ली र मतानेले तस्विर पाए ।
उदयपुर
+++
६९. लघुकथा- मुर्तिकार -बिष्णु उप्रेती
"यति राम्रोसंग किन हेरेको भाइ ? स्कुल हिडेको बेला ढिलो भएन ?"
आफुले ढुङ्गा कुंदेर भगवानको मुर्ति बनाउँदै गरेको एउटा स्कुल जाँदै गरेको बिद्यार्थी भाईले धेरै बेर देखि हेरिरहेको देखेर, मुर्तिकारले सोध्यो ।
तपाईंले एउटा ढुङ्गालाई यति राम्रो भगवानको मुर्ति बनाएको देखेर हेरेको नी दाइ ।"
"तिमी कति कक्षामा पढ्छौ भाइ ? अनि घर कता छ ?"
कति बर्षको भयौ ?
"म चार कक्षामा पढ्छु ।" मेरो घर यहि नगरपालिकाको सात नम्बर वडा छ ।" म नौ बर्षको भएँ ।
मुर्तिकार र बिद्यार्थी बीच केहि समय कुराकानी भए । बिद्यार्थीले सोधेका कुराहरुको मुर्तिकारले हाँसि हाँसि जवाफ दिए ।
दाइ, तपाईंले यो ढुङ्गालाई यसरी धारिलो हतियारले काटिरहँदा, खोपी रहँदा, हथौड़ाले कुटि रहँदा यसलाई दुख्दैन ? ऐया भन्दैन ?"
मुर्तिकारले हातको छिनो र हथौड़ा भुईमा राख्दै, केटाको मुखतर्फ हेरेर हास्दै भने ---"भाइ दुख्छ त, कम्ति दुख्छ त, किन दुख्दैन । तर भाइ, भोली भगवान हुन पाँउछु भन्ने आशा र बिश्वासमा आज परेको कठोर पीडा दुख पनि, ऐया नभनी चुप लागेर सहन्छ उसले । अनि भोली भगवान भएर मन्दिरमा बसेपछि त, कस्तो मजा हुन्छ होला आफै भन त ? "
मुर्तिकारको कुरा सुनेर बिद्यार्थी केही नबोली बाटो लाग्यो ।
भक्तपुर राधे राधे । २०८०/०५/०१
+++
७० लघुकथा- आमा - बोधराज प्याकुरेल
"आमाले तीनदिन देखि केही खानु भएको रहेनछ, कमजोरीले यस्तो भएको हो । केहीबेरमा होस खुलिहाल्छ, आत्तिनु पर्दैन ।" डाक्टरले रिपोर्ट हेर्दै भने ।
" तर डाक्टर ....।" दिनेश केही भन्न खाेज्दै थियोे ।
" म केही भिटामिन लेखिदिन्छु । घर लगेर तागतिलो खानेकुरा खुवाउनु, आमालाई केही रोग छैन ।" डाक्टरले बीचमै थपे ।
एक्कासी लडेर आमा अचेत भएपछि छिमेकी काकालाई बोलाएर दिनेशले अस्पताल लगेको थियो । आठ कक्षामा पढ्दै गरेकाे उसलाई घर व्यवहार केही थाहा थिएन । आमालाई के गर्ने, कसो गर्ने आतेस लागेर आको थियो ।
" तेराे बुबा खस्दा तँ एक महिनाको थिइस् । राम्रोसँग पढ बाबु ठूलाे मान्छे बन्नुपर्छ" आमाले सधैं उसलाई यतिमात्र भन्ने गरेको कुरा उसले सम्झेको थियो ।
"साह्रै कमजोर हुनु भएछ, के भएको थियो बाबु आमालाई ? खाना त खानुहुन्थ्यो ?" अर्काको घरमा भाँडा माझ्ने, लुगा धुने जस्ता काम गरेर जीविका गर्दै आएकी दिनेशकी आमाको गरिबीलाई नजिकैबाट बुझेका छिमेकी काकाले अस्पताल आउँदै गर्दा साेधेका थिए ।
"खै काका पहिले त सँगै खान्थ्यो । दुईतीन दिन यता मैले खाइसकेँ तँ खा भन्नुहुन्थ्यो मलाई खाना दिने बेला ।" दिनेशले अनभिज्ञता जनाएको थियो ।
खजुरा, बाँके
+++
७१. लघुकथाः उधारो कात्रो -मनीषकुमार शर्मा ‘समित’
“के दिऊँ आमा ?”
वृद्धभत्ताको पैसा हातमा मुठ्याउँदै पसल छिरेकी बुढीआमालाई साहुजीले सोधे ।
बुढीआमाले परिवारको पहिलो पात्र सम्झन पुग्छिन् । सानी नातिनी प्रायः जसो उनैसँग लुटुपुटु गर्छे, “आमा मलाई नाना ल्याइदिनु है ।” हिड्ने बेलामा तोते बोलीको मिठास शब्द उनको दिमागमा घुम्न थाल्यो ।
“एउटा जामा निकाल्नु न चार वर्षे नानीलाई ।”
पसले साहुले रातो फूलबुट्टे जामा निकाल्दै भन्यो “अरू ?”
उनको आखाँमा परिवारको दोस्रो पात्र नाच्न थाल्यो । उनको एक्लो सन्तान, बा बिनाको टुहुरो । ज्याला मजदुरी गरेर भए पनि आफ्नो गक्ष अनुसार कुनै दुःख हुन दिएकी थिइनन् । हिजोसम्म आमा भनेर हुरुक्क हुने छोरा हिजोआज जोईटिङ्ग्रे भएको थियो ।
“एउटा दौरा–सुरुवालको कपडा ।”
फेरि उनको मस्तिष्कमा परिवारको तेस्रो पात्र घुम्न थाल्यो । घरकी बुहारी, सधैँ दास र नोकर जस्तो व्यवहार गर्ने । एक छाक माडको लागि पनि कति पटक निरीह लाचार बन्नुपथ्र्यो । वृद्ध उमेरमा तिरस्कार र अपमानका सबै कुराहरू छोप्न खोज्थिन् । पीडा र आँसुलाई भित्रै दबाएर राख्थिन् ।
“कता टोलाउनु भयो आमा ?”
साहुको प्रश्नले उनलाई फेरि बर्तमानमा उभ्याइ दिन्छ ।
“एउटा रातो फरिया” फ्याट्ट भन्छिन् ।
“अरू केही ?” फेरि साहु प्रश्न तेर्साउँछ ।
उनी फेरि टोलाउँछिन् । लाग्न थाल्यो अब बाँकी जीवन बाँच्न उनलाई कष्टकर छ । जीवनप्रतिका मोहहरू शक्ति क्षीण हुँदै सकिँदै छन् । हिजोआज प्रत्येक रातको सपनामा मरिसकेको लोग्नेले बोलाइरहेको देख्छिन् । छोरा बुहारीको के भर । भोलिको लागि जोहो गर्नु नै छ ।
“अब दुई मिटर सेता कपडा ।”
साहुले सबै सामान पोको परिदियो । उनले हातमा मुठ्याएर राखेको पैसा साहुको हातमा राखिदिइन् । साहुले पैसा गन्दै भन्यो -
“पाँचसय पुगेन नि आमा ।”
निरास आँखाले साहुलाई हेर्दै दबिएको स्वरमा भनिन्- “बाबु यो कात्रोको पैसा चाहिँ बाँकी राखन है अर्को चोटी आएर तिर्ने छु ।”
(लघुकथा सङ्ग्रह हराएको सहरबाट)
मध्यपुर ठिमी, भक्तपुर
+++
७२. लघुकथा : चुक्ली -मनोहर पोखरेल
“सबैको जागिर पाँच बजे सकिन्छ, तिम्रो भने जहिल्यै रात पर्छ ।” तीन बिस नाघेकी रमा चिढिँदै बोलिन् ।
बुहारी घर आउन ढिला भएकाले उनी छटपटिएकी थिइन् ।
हस्याङफस्याङ गर्दै घर आएकी बुहारी सोझै भान्साभित्र पसिन् । “खोई, हाम्री भाउजूको ओभरटाइम भएर होला नि ।” माइत आएकी सानुले छेड हानिन् ।
भान्साबाटै बुहारीले सोधिन् “आज के पकाऊँ आमा ?” धेरै दिनपछि छोरी माइत आएकी थिइन् । छोरीलाई चौपट्टै मनपर्ने परिकार पकाउन निर्देश दिँदै रमाले भनिन्, “तरुवा, फूलौरा जे-जे पकाए पनि सिन्की र तामा पकाउन भने नछाड्नू है ।”
बुहारीले बजारबाट पनीर ल्याएकी थिइन् । उनी रनभुल्लमा परिन् । माइतमा आमालाई फोन लगाइन् ।
फोन गरेको थाहा पाएर सानुले रमालाई पोल लगाइन्- “हामीसँग एक शब्द बोलिनन् भाउजू, उता भान्सामा पसेर माइतमा हाम्रो भए नभएको कुरा लगाउँदै छिन् ।”
रिसाउँदै भान्सा पुगेर रमाले सोधिन्, “के हो चाला, कसलाई के कुरा लगाउँदै हो महारानी ।”
हत्तपत्त फोन लुकाउँदै बुहारीले स्पष्ट पार्न खोजिन्- “केही होइन, आमासँग कुरा गरेको हो ।”
“त्यही भएर सोधेकी, चुक्ली पो के-के लगायौ ?” रमा जङ्गिइन् ।
निकै केरकार गरेपछि अप्ठ्यारो मान्दै बुहारीले भएको कुरा बताइन्- “सिन्की र तामा पकाउन नजानेकीले आमालाई सोध्दै थिएँ ।”
राजविराज ६, सप्तरी ०७९ फागुन ९ गते
+++
७३. लघुकथा– चिन्ता -ममता मृदुल
श्रीमतीलाई लिएर भरतपुर क्यान्सर अस्पताल भित्र पसे । अमिलो मन बाेकेर डाक्टरकाे छेउमा पुगे ।
अवस्था राम्रो छैन् । एक पटक फेरि दिसा, पिसाब, रगत, एक्सरे र भिडियो एक्सरेको रिपोर्ट हेरेर डाक्टरले भने ।
“के भन्याे डाक्टरले ? सञ्चो त हुन्छ नि ?” ससुरा बुवाले फाेनमा भन्नुभयो ।
“रिपोर्ट सबै ठिकै छरे । एउटा अर्को जाँच पनि गराउनुस्, भन्नुभएको छ ।” उहाँलाई सम्झाउँदै भने ।
होटेलको कोठामा रातभर छट्पटाउँदै बसेकी श्रीमतीको पीडाले म पनि छट्पटाउनुकाे बिकल्प खाेज्थे । म लाचार थिएँ ।
सुई, औषधिले पनि उनको पीडा कम हुँदैनथ्यो ।
“उनीलाई लास्ट स्टेज क्यान्सर भएको छ । शरीरभरि फैलिसकेको छ । उपचार सम्भव छैन् । अब केमो थेग्न सक्नुहुन्न । घर लग्दा हुन्छ ।
”डाक्टरको कुराले छाँगोबाट खसेजस्तो भएँ । छेउकै कुर्सीमा थुचुक्क बसे । रुँदै अनुनय विनय गरे । बचाईदिन आग्रह गरे ।
डाक्टरले भने म सकेसम्म बचाउन चाहन्थे तर सक्दिन ।
आँसु पुछेर कृत्रिम मुस्कान अनुहारमा ल्याउँदै डाक्टरको कोठाबाट म बाहिर निस्केँ ।
"सामान्य समस्या रहेछ । घरमा आराम गर्दै तीन महिना औषधि खाए ठिक हुन्छ भनेकाे छ ।"
मेरो कुरा सुनेर उनको मलिन अनुहार हँसिलो भएर आयो ।
ओछ्यानबाट उठ्ने काेसिस गर्दै उनले भनिन ।
"त्यसाे भए चिन्ता नलिनु म पाखाेबारी सबै खन्छु ।
तपाईं काममा जानु कान्छाे छाेरालाई भैंसी फुका भन्नु है फुनमा ।"
+++
७४. लघुकथा- कर्तव्य -माधव पोखरेल गोज्याङ्ग्रे
नागरिकले आफ्नो कर्तव्य के हो ? भन्ने कुरा राम्ररी बुझेकोले नेताले नागरिकको काम कर्तव्य र अधिकारका बारेमा जति नै तिखा र मीठा भाषण गरे पनि गाउँलेहरू चुपचाप सुनिरहेँ ।
भाषण सुन्ने मध्ये रामविनयले कालीचरणसँग भन्यो -"दाजु यो राजनीतिले मान्छे बिगार्छ भन्छन् नि के सत्य हो ?"
कालीचरणले आफूभित्रको कालो मन खोल्यो -"बिगार्छ होइन भाइ सपार्छ । कसरी भन्छौ भने मेरो अवस्था हेर । तिम्रो छिमेकी नरेशलाई हेर त !
रामविनयले देखेको थियो, उनीहरूको हिजोको अवस्था । आजको अवस्थासँग पनि राम्रो जानकार छ ।
राजनीतिमा लाग्नेहरूले सबैभन्दा पहिले समाज बिर्से । देश बिर्सिए । चुनावका बेला भोट मागे, जितेर संसदमा पुगे, प्रदेशमा पुगे, स्थानीय तहमा पुगे । जहाँ पुगे पनि जनताको मनभित्र पुग्न सकेनन् । इमान र अनुशासनलाई हात्तीको देखाउने दाँत बनाए । यो सबैले बुझेको कुरा हो ।
अहिले ति नेताहरू गाउँमा आउँदैनन् । हिजोको वाचा फोहरमा फाले । गाउँमा समस्याको चाङ छ ।
फेरी चुनाव आयो । तिनै नेताहरू भोट माग्न गाउँ पसे । जनताले अनौठो तरिकाले बिद्रोह गरे । नेताको कार्यक्रममा सबै गाउँलेहरूले केश मुण्डन गरेर भेला भएका थिए ।
एक नेताले सोधे किन के भयो यो गाउँमा र सबैले केश खौरेको ?
रामविनयले जवाफ दियो हिजो हामीले मत दिएर जनप्रतिनिधि बनाएर पठाएका नेताहरूले आफ्नो कर्तव्य बिर्सेकाले र आफूले बोलेको बचन लत्याएकोले ति नेतालाई श्रद्वाञ्जली दिन केश खौरेर कार्यक्रममा भेला भएका हौ ।
नेताहरूलाई रामविनयको कुराले लाज भयो र कुनै मन्तव्य नराखि कार्यक्रम स्थलबाट जुरुक्क उठेर बाटो लागे ।
+++
७५. माटाे र पानी -मान सिंह धामी
चपल चंचलि किशाेरी खाेल्सि दाईना बायाँका मट्याल* पखेराकाे माटाे सँगै उस्काे धुलाेमैलाे झै काम र वासना एकसाथ बगाउदै वग्ने गर्दथीन् । जति झर्थिन्, पलपल वेग घटेजस्ताे आकारसँगै आलस् र लज्जा वढे-वढे जस्ताे आभास थपिदाे थियाे ।
माटाे र पानीकाे मिलौट् दलदल र हिलाे, देखेर माटाेले पानी र पानीले माटाेलाई दाेष्न थालेका थिए । एकले अर्का माथि ज्यादतिकाे आराेप लगाउथे । त्यस उपत्यकामा पुग्दासम्म तालकाे वातावरण मौन र शान्त देखिए तापनि कटाक्ष भित्रभित्र जिवित थियाे ।
विस्तारै केही हिले वनस्पतिहरु (कमलका वाेटहरु) देखिए । हेर्दा हेर्दै कापिलाहरु माेहक कमलले फुलेर मुस्कान छर्न थाले ।मानौ ती कमलका फूल नभै प्रेमिल जाेडिका लाेभलाग्दा सन्तान् होउन जाे !
तिनै फूल र तिनका मुस्कानले माटाे र पानीले कलकटाक्ष नै भूले । प्रेमिल दम्पति झै अनायासै हास्न थाले । फक्रेका कमलकाे सौन्दर्य र शाेभाले देवताहरुसमेत रमाउनकाे लागि त्यस उपत्यकामा आउन थाले ।
एकाएक जीवन र यस्काे सौन्दर्यकाे रेखाे मेटियाे । चपल चंचल सरिता दशकाेष टाढाका काकाकुल गाँउलेहरुले अपहरण गरेर त्यतै ठेलेर लगे । त्यस पछि भने -"कमल हाेइन् अरु नै झारले ताल मृत्यु पर्खिरहेका" प्रवासि सन्तानका आश्रित बा आमा जस्तै निरीह निरास र कुरुप देखिए ।
माटाे र पानी मिलनकाे हिलाेमा फूलेका कमल जस्ता सन्तानका घाेचक स्मृति र कमलकाे नलेखिएकाे राेचक कथा दुवै उपत्यकामा नै वेवारिस थिए ।
मट्याल*= कंकड, बालुवा नभएकाे नरम माटाेले वनेकाे जमिन्
कैलाली । २०८०/३/१७
+++
७६. लघुकथा- कान्छो लोग्ने -मित्र 'उराठी' गौतम
"ल स्वागत छ । आउ, भित्रै आउ ।",धेरै वर्षपछि भेट भएको साथी कल्पनालाई हार्दिकतापूर्वक स्वागत गरिन् सुप्रियाले ।
क्याम्पस सँगै पढेका थिए उनीहरुले । पढाइ सकेपछि सुप्रिया सरकारी सेवामा प्रवेश गरिन् । कल्पना अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थामा आवद्ध भइन् ।
सुप्रिया कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेर दुर्गम जिल्लामा कार्यरत थिइन् । यसै बखत कल्पना पनि आफ्नो संस्थाको कामको सिलसिलामा यहाँ आएकी थिइन् । त्यसैले पनि यो भेटघाट महत्वपूर्ण थियो । यो मित्र मिलनमा हार्दिकता झल्कन्थ्यो ।
"कान्छु ! नास्ता तयार भएको भए ल्याइहाल ।" सुप्रियाले भान्छामा भएका नहकुललाई इसारा गरिन् ।
"भिनाजु कता हुनुहुन्छ ? बच्चाबच्ची कति भए ? कता छन् ?" कल्पनाले जिज्ञासा राखिन् ।
"भिनाजु अध्यापन गर्नुहुन्छ । घरपायक जागिर छ । दुई छोराछोरी उहाँसँगै छन् । आफू भने यो जागिरले कहिले यो जिल्ला, कहिले त्यो जिल्ला । सधै बाहिर बाहिरै ।" दुखेसो पोखिन् सुप्रियाले ।
"त्यहि त, बुढाबुढी नै जागिरे हुनु र घरपायक नहुनु त साह्रै विजोग, हैन् ? बैंश छउञ्जेल बुढाबुढी सँगै हुन नपाउनु पनि के जिन्दगी ? चालिस कटेसी रमाउँला भन्ने गीत त्यसै त बनाएको हैन् रहेछ ?" कल्पनाले ठट्यौली गर्दै भनिन् ।
"चालीस हो र, साठी कटेसी हुने भो जागिरेको त । त्यसैले आफूले त बुढाको सल्लाह वमोजिम नै ऊ उनलाई कान्छो लोग्ने बनाएको । जहाँ गए पनि पकानपुकुन देखि हरेक कुरामा सजिलो भएको छ ।" नहकुल तर्फ संकेत गर्दै सुप्रियाले स्पष्ट पारिन् ।
अमरपुर, गुल्मी हाल : तिलोत्तमा न. पा.–२,रुपन्देही
+++
७७. लघुकथा- विद्रोह -रञ्जना रिजाल
"हामी तेरो हित बाहेक अर्को सोच्दैनौँ ।" बाले भन्नुभयो ।
"छोरी भएपछि बाबुआमाको वचन भुईंमा खस्नासाथ पूरा गर्नुपर्छ ।" आमाले थप्नुभयो ।
"जिन्दगी तेरो हो तर हामीले रोजेको बाटो हिँड्नुपर्छ तैंले !" बाको गनगन रोकिएन ।
उहाँहरूको अडान सुनेर मैले दारा किटेँ । उहाँहरू आफ्नै धुनमा मनको अतृप्ति छादिरहनुभएको थियोे । म भोको बिरालाले मासुभात खाइरहेको मान्छेलाई हेरेझैँ हेरिरहेकी थिएँ ।
"नबोल्नु भनेको मौन स्वीकृति हो ।" आमाको भेडो ढिपी रोकिएन ।
आड पाएर बाले सोध्नुभयो; "उसो भए छोरी, हामीले तय गरेको ठाउँमा बिहे गर्न तयार छेस् हैन ?"
"सल्लाह दिनुस् तर जिद्दी नथोपर्नुस् । जीवन मेरो हो भने जिउने कला पनि मेरै हुनुपर्छ ।"
अकस्मात् निस्केको मेरो बोलीले उहाँहरू फ्रिज हुनुभयो ।
काठमाडौं, नेपाल । हाल- अमेरिका २०८०/०१/०१
+++
७८. लघुकथा- महालक्ष्मी पुजा -रञ्जुश्री पराजुली
टोल छिमेकमा उहाँलाई सबै सन्तोषी आमा भनेर चिन्दथे । उनले महालक्ष्मीको ब्रतपूजा घरमा लगाउने गरेको धेरै बर्ष भइसकेको थियो । बिहा गरेर भित्रीदा नै सासुआमाले त्यो पूजा गर्ने गरेकोले दशैँ अगाडि बर्सेनि त्यो पूजा त्यहाँ नियमित चल्दै आएको थियो । घर परिवार मात्र नभै वल्लाघर पल्लाघर र केही नातेदारहरु पनि त्यस्मा सहभागी हुन्थे ।
महालक्ष्मी पूजाको साङ्घेको दिन घरकी मुली सन्तोषी आमा बिरामी भएकीले पूजामा नित्य सहभागी हुन सकिनन् । उनलाई डाक्टरले समयमा खाना खाने, कुनै दवाई खाना भन्दा पहिले, कुनै खाना सँगै खान पर्ने दिएको थियो ।
खालि पेटमा खाने त उनले बिहानै खाएकी थिइन् । ब्रतपूजाको दिन भएकोले घरमा नैबेद्य पुरी, सेल, मालपुवा र चोखो तरकारी पकाउने जिम्मा एउटी पाकी बज्यैलाई दिइएको थियो । आमाको खाना खाएर औषधि खाने बेला भै सकेको थियो । घरमा त्यत्रो पूजा भैरहेको छ आफू एक छाक औषधि नखाए के होला र भन्ने सोचेर उनी चुप लागि रहीन् । तर फेरि डाक्टरको "बेलामा खाना खाएर औषधि खान नबिर्सनु होला" भन्ने वाक्य सम्झिइन् । अनि छोरालाई बोलाएर "बाबू घरमा पूजा छ हो, तर डाक्टरले मलाई बेलामा खानासँगै खाने औषधि खानु भनेको छ । यत्रो बर्ष मुखमा पानी नहालीकन पूजा सम्पन्न गर्दथे । यस्पाली त्रुटि हुने भयो । मलाई अलिकती केही चोखो खाने कुरा खान पर्यो कि हगि ।" हो नि खानु होस् । स्वाथ्यको ख्याल गर्नु पर्छ । पूजा सकिन अझ तीन घन्टा लाग्छ भनेको छ । भान्छामा गएर केही खानु भनेर छोरा आफ्नो काम तिर लाग्यो । बज्यै भान्छामा गएर भान्छासँग "नैवेद्य छुट्ट्याएर अलिकता खिर र नुनिलो तरकारी देउ त । मलाई खाना सँगै औषधि खानु पर्छ ।" आमाले त्यसो मात्रै के भनेकी थिइन् पछाडीबाट ब्रतालु एउटीले "यत्रो महालक्ष्मीको पूजा घरमा भै रहेको छ तपाईं घर मुली आमा भएर नियम बिगारेर यस्तो नचाहिए काम गर्ने । कमसे कम लक्ष्मी आमाको त मर्यादा राख्नुस । अनि पो घरमा धन वर्षा हुन्छ । छोरा नातिको भविष्य उज्यालो हुन्छ" भनेको उनले सुनिन ।....
"हो त नि हगि" भन्दै उनी डङ्गरङ्ग पछारिइन् ।
+++
७९. लघुकथा- आमा -रमेन्द्र कोइराला
काखको बच्चाले अण्डा हुत्याइदियो अनि चिच्याइ चिच्याइ रुन थाल्यो । आमाको अनेक उपायले पनि बच्चा चुप लागेन । बसमा सिट नपाएर ऊनी जेब्रा झोलामा अडेस लाएर तल बसेकी थिइन् । बच्चा तन्की-तन्की रुँदा र बाटोको गल्ट्याङ गुल्टुङले उनको सन्तुलन बिग्रीरहन्थ्यो । तर पनि बच्चालाई सम्भालेर राखेकी थिइन् । हेर्दा उनको अवस्था साह्रै मायालाग्दो थियो ।
"लिनुस् यो कुरकुरे दिनुस् त ।" मैले करुणावश दिएँ । तर बच्चाले त्यो पनि पर हुत्याइदियो ।
ऊ अर्कै कुरा माग्दै थियो ।
"के माग्दैछ यो ?" मैले नबुझेर सोधें ।
"हेर्नुस् न केरा माग्दैछ । निमोनिया भएको छ कसरी दिनु ?"
मैले फेरि भट्मास दिएँ । त्यो पनि फ्याली दियो । मकै, डट, टोपी आदि कुनैले फुलिएन । आमा हैरान भइन् ।
त्यतिखेरै एक महिलाले बिस्कुट दिइन् ।
बल्ल बच्चा चुप भएर बिस्कुट खान थाल्यो । आमाको अनुहारमा पनि बल्ल शान्ति छायो । उनको आँखामा अपार वात्सल्य झल्किरहको थियो । लाग्थ्यो उनले संसारै पाएकी छिन् । खुसीले आँसु तर्र तल झर्यो ।
मैले सोचें -"आफ्ना सबै सुख त्यागेर सन्तान हुर्काउने आमा साँच्चै नै महान हुन् ।"
इनरुवा-९ बबिया, सुनसरी
+++
८०. लघुकथा- गुलियो माया -रमेशचन्द्र घिमिरे
जेठो छोरा ट्याक्सी रिजर्भ गरेर बालाई भेट्न सपरिवार बिहानै आइपुग्यो । बालाई खादा लगाइदियो, ढोगिदियो र स्याउ टक्र्यायो । घरमै बसेकी कान्छी बुहारीले स्याउ काटेर भाग लगाई । गुलियो स्याउ चाख्न पाएर बा खुसी भए ।
माहिलो छोरो मोटरसाइकलमा आयो । माहिलो छोराले ल्याएको गुलियो छोगडा टोक्न पाएर बा मक्ख परे ।
छोरीहरू बालाई भेट्न बस चढेर आइपुगे । जेठी छोरीले ल्याएको गुलियो मिस्री र सुन्तला चुस्न पाएर बा फुरुङ्ग भए अनि कान्छी छोरीले ल्याइदिएको गुलियो लड्डु, पेडा खान पाएर बा रमाए ।
३६४ दिन नै बालाई पालेर बसेको कान्छो छोराले कहाँबाट के ल्याइदियोस् ! नुहाइधुवाइ गरिसकेर बाको हातबाट टीका लगायो र आशीर्वाद थाप्यो । बाले खुट्टा तेसारे र ढोग पाए ।
कान्छाको परिवारले सबैलाई गच्छे अनुसारको भातभान्सा गराए । घरको सुसेधन्दामा कान्छो एकछिन व्यस्त हुनुपर्यो । कान्छो छोराको अनुपस्थितिको मौका छोपेर बाको मुख हेर्ने दिनमा आइपुगेका अरू छोराछोरीले बालाई उक्साए, बालाई एकछिन एकान्त गराए । बाले सुखका भन्दा पनि दुःखकै कुरा बढी ओकले अनि सहानुभूतिको महसुस गरे ।
`बाले दुःख पाउनु भएछ, बाको बिजोक भएको रहेछ´ भनेर अरू छोराछोरीले साउती मार्न समेत भ्याए । एकछिनको पाहुना बन्न आएका ती छोराछोरीसँग साखुल्ले पल्टेर बाले `बेलाबेलामा आइराख्नु पर्छ है ?´ भनेर आँसु चुहाए । `कामको व्यस्तताले सधैँ आइरहन कहाँ पाइन्छ र बा ! अब एकैचोटि दसैँमा मात्रै आइन्छ ।´ अरू सबैको साझा उत्तर यस्तो थियो ।
त्यो दिन बाको अनुहार अरू छोराछोरीसँग खुसी र आफूसँग बेखुसी जस्तो देखिएको अनुभूत कान्छो छोराले गर्यो ।
जर्रो भात, नुनिलो दाल, कोक्याउने गाभा, पिरो तरकारी, तितो करेला र अमिलो मोही खुवाएर बालाई वर्षौ पालेको कान्छो छोराले मनमनै सोच्यो,`साँच्चै मैले बालाई गुलियो खुवाउन नसकेकै रहेछु ।´
भोर्लेटार, लमजुङ २०८०/०५/२८ (कुसे अौँसी)
+++
८१. लघुकथा- शालीनता -रमेशमोहन अधिकारी
उहाँ राष्ट्रिय रूपमा चर्चित व्यक्ति हुनुहुन्छ । एउटा मात्र प्रतिभाको प्रबलता भए तापनि हरेक क्षेत्रको धेरथोर ज्ञान उहाँमा छ । त्यसैले कसै कसैले उहाँलाई बहुमुखी प्रतिभा पनि भन्ने गर्दछन् ।
एउटा रङ्गमञ्चको पर्दा उघारिँदा उहाँ देखिनुभयो । उहाँको शालीनता, जनताप्रतिको दायित्वबोध, राष्ट्रियताजस्ता राजनीतिका सबल पक्ष उहाँको व्यक्तित्वबाट स्पष्ट झल्कन्थ्यो । उहाँ एउटा छाता बनाउँदै हुनुहुन्थ्यो, आफ्नै हातले । त्यो छाता त गजबको रहेछ । त्यस छाताको आकार नेपालकै आकारको थियो । त्यस छातामुनि जति मान्छे अट्थे, तिनका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार आदिसम्बन्धी यावत् समस्याहरू स्वतः दूर हुँदै जान्थे अर्थात् छातामुनिका सबै हरेक दृष्टिले सन्तुष्ट हुन पाउँथे । त्यस्तो छाता बनाउन पाउँदा उहाँका अनुहारमा पनि प्रसन्नताका रेखाहरू सल्बलाएका स्पष्ट देखिन्थे ।
उहाँले त्यो छाता द्रुत गतिमा बनाउँदै हुनुहुन्थ्यो । छाता ज्यादै ठूलो हुनाले एकै दिनमा बन्न सक्तैनथ्यो । अर्को अर्को दिन पनि उहाँ रङ्गमञ्चको पर्दामा देखिनु नै पथ्र्यो ।
भोलिपल्ट पनि दर्शकहरू नाट्यशालामा खचाखच थिए । उहाँ रङ्गमञ्चमा देखा पर्नुपर्ने समय बित्दै गइरहेको थियो तर उहाँ पर्दामा देखा पर्नुभएन । दर्शकहरू अधीर भए र आफैंँआफैंँमा प्रश्न गर्न लागे “कतै उहाँलाई केही त भएन ?”
यस्तै खासखुस हुँदाहुँदै अलि छटपटे खालका एक दुईजना दर्शकहरू पर्दा पछाडि चियाउन पुगे । पर्दा पछाडि उहाँ नै त्यो छाता धमाधम भत्काउँदै हुनुहुँदोरहेछ ।
त्यहाँ गएकाहरूमध्ये एकले ज्यान हत्केलामा राखेर डराई डराई प्रश्न गरे “बहुमुखी प्रतिभावान् राष्ट्रिय व्यक्तित्वज्यू ! यो छाता पुनः किन भत्काउन लाग्नुभएको ?” उहाँले उही शालीन शैलीमा जवाफ दिनुभयो “अहिले पुनः मैले रङ्गमञ्चको पर्दामा देखा पर्नु छ र पुनः छाता बनाउनु छ ।”
लेखन : २०५९
+++
८२. लघुकथा- नेता बन्ने लक्षण -रमेश रोका
शिक्षक आन्दोलनका दौरान सरकारसँग अनेक बुँदे सहमतिमा हस्ताक्षर गरेर बाहिरिँदै गर्दा नेताको मोबाइलको घण्टी बज्यो,
गाउँबाट एक शिक्षक – "हेल्लो शिक्षक आन्दोलनका नेताज्यू ! माग पूरा गराएर कि त्यत्तिकै आन्दोलन स्थगित भएको हो ?"
शिक्षक आन्दोलनका नेता- "ढुक्क हुनुस, हाम्रा माग संसदबाट पूरा हुने गरि सहमतिमा हस्ताक्षर गरिएको छ, त्यत्तिकै किन छोडिन्छ र !!"
-अनि यता त आत्मसमर्पण गरेको भनी गाइँगुइँ छ त ??
-भन्नेको मुख थुन्न सकिन्छ र ?? वार्ता, सहमति, सहकार्य विनाको आन्दोलन कहिँ सफल भएको छैन है आजसम्म !
-त्यो त हो, तर यति चाँडै गल्न नहुने थ्यो है नेताज्यू, सरकारलाई घुँडा टेकाउनै पर्थो क्या !
-हुन त हो नि , तपाईं हामी जस्ता सार्वजनिक स्कूलका मास्टरले आफ्ना छोराछोरीलाई प्राइभेट स्कुलमा पढाएको कुरा छताछुल्ल हुन थालो, अप्ठ्यारो भो क्या अब ! के छ विचार तपाईंहरुको - आफ्ना छोराछोरी आफैँ काम गर्ने स्कुलमा पढाउन राजी हुने हो सबै भने आन्दोलन जारी राखिनेछ !
-खै के, खै के ! ठिकै छ नि त, सहमतिमा जाऊँ अहिलेलाई, फेरि देखा जाएगा !
घरबाट श्रीमतीको फोन - "होइन ए बुढा, पैसाको बिटो खाएर आन्दोलन तुहाएको हल्ला छ त गाउँघर भरी, कुरा क्या हो ??"
- "हल्लाको पछि लागेर साद्धे हुन्छ ? सरकारसँग बकाइदा कागज गरेर आन्दोलन रोकेका हौं क्या !"
- "ए, राम्रै भएछ त ! अनि माग चाहिँ पूरा भयो त ? त्यत्तिकै नफर्किनु है लाज हुन्छ नि !"
- "भन्छ्यौ नि बुढी, ह्याँ कस्तो गाह्रो भो आफूलाई ! वार्तामा बस्दा त हाम्रा छोराछोरी पढ्ने स्कूलको फाउन्डर नै मन्त्री रहेछन, क्या फसाद नि ! आन्दोलन चर्काऊँ ; अर्काका छोराछोरीको भविष्य बिगारेको आरोप लाग्ने ; स्थगित गरौं - बदनामी खेप्नु पर्ने !!"
-"अर्थोक जे सुकै होस, हाम्रा छोराछोरीको भविष्यमा चाहिँ खेलबाड नगर्नु है हजुर !
गाउँबाट फ़ेरि अर्को फोन आयो - "हेल्लो भतिज ! के भएको हो आज ? हल्लाखल्ला निक्कै छ त सामाजिक सञ्जालमा ?"
- "दर्शन है गुरु ! होइन यता ठिकै छ, वार्ता सफल भयो, आन्दोलन हाललाई स्थगन गरियो है गुरु !
- "खै, माग त काँचै रहेछन, हतार हतार ल्याप्चे ठोकेछौ त ! हामीले २०३८ सालमा ५/६ महिना देशव्यापी स्कुल हड्ताल गरेर आन्दोलन गरेका थियौं, पञ्चायत र राजालाई झुकाएका थियौं, खै के पारा हो तिमेरको ??"
- "मलाई नि अलिअलि थाहा छ गुरु त्यो आन्दोलन बारे, त्यही आन्दोलनले शिक्षकलाई स्थायी, तलब भत्ता सुनिश्चित, सञ्चयकोष र पेन्सनको ब्यबस्था गर्न सफल भएको हो ! शिक्षकको पेशागत हितका निम्ति त्यो नै कोशेढुङ्गा हो नि !"
- "अनि के भएर यति चाँडै लत्रेका हौ तिमिरु ?"
>"भन्न नै गाह्रो भो है गुरु, तपाईंहरुको त्यो बेला प्राइभेट स्कुल थिएनन, तपाईंका बालबच्चा अनि जिशिओ, सिडिओ, माननीय र मन्त्रीका बालबच्चा पनि सरकारी स्कूलमा पढ्थे, जब्बर पञ्चायत र राजा पनि झुक्न बाध्य हुनुपरो ; तर अहिले बडो गाह्रो भो क्या गुरु, हामी सरकारी शिक्षकका शेयरमा थुप्रै प्राइभेट स्कुल खोलिएका पाइयो, हाम्रा बालबच्चा पनि बोर्डिङ स्कूलमा बग्रेल्ती पढेका पाइयो, सिडिओ, जिशिओ, सचिवका बालबच्चा त मरिगए सरकारी स्कूलमा पढ्दा रहेनछन, माननीय मन्त्रीहरु त नाम चलेका प्राइभेट स्कूलका फाउन्डर नै रहेछन, आफ्ना बालबच्चा नपढ्ने स्कुल बन्द गरेर आन्दोलन गर्दै वार्तामा बस्दा लाजले मुख छोप्नु पर्ने अवस्था आईलागो है गुरु ! संसदले माग पूरा गर्दिने शर्तमा हाललाई आन्दोलन स्थगित गरेका हौं !"
- "स्याबास माडसाब ! अब चाहिँ पक्का नेता हुने लक्षण देखियो है !"
- "त्यसो नभन्नु न गुरु, सामाजिक सञ्जालमा कति थोक आइसको होला, तपाईंहरुको पालामा न फोन, न मोबाइल, न त सामाजिक सञ्जाल नै थियो, अहिले त निमेषमै हल्ला फैलिन्छ, आफूलाई तनावै तनाव !"
-हिजो कांग्रेसले विपिको एउटा गाई, आफ्नै खान पुग्ने खेतबारी, औषधिमुलोको सुबिस्ता र स्कुल पढ्ने सहजता सहितको समाजवाद भन्दै जनतालाई ढाँटेर नवउदारवाद लागू गरेर अनि स्वास्थ्यको सुविधाको नाममा प्राइभेट अस्पताल खोलेर अकुत सम्पत्ति कमाएकै कारण आजसम्म शासनमा पकड जमाउन सकेको छ, कम्युनिष्टहरुले "जसको जोत-उसको पोत" भन्दै जग्गा दलालीलाई पेशा बनाएर वा निशुल्क वैज्ञानिक अनि जीवन उपयोगी शिक्षा भन्दै जनतालाई ढाँटेर प्राइभेट स्कुल खोलेर लूट्नसम्म लूटेर चुनाव जित्न सफल भएका छन !
"ल है बाबू, तिमीहरूले पनि यस्तै ढाँटढुँट, छलछाम सिक्दै गएमा नेता बनेर देशको बाग्डोर सम्हाल्ने दिन चाँडै नआउला भन्न सकिन्न !"
निराश अनि अलमल्ल परेका शिक्षक नेताको मनमा एकाएक नयाँ आशा अनि उज्यालो भविष्यको एक झलक घैँटामा लाग्यो !
गाईघाट, उदयपुर २०८० असोज ५
+++
८३. लघुकथा- एक्लोपन -रमेश सुबेदी
जवानीमा कमाउ र सञ्चित गर, सन्तान सुख खोज, आफुले भन्दा पहिले परिवारको खुशी खोज्दै तीन बिस काटियो । दैबको लेखा नभोगी सुख छैन, बुढिले छोडे पछि छोरा बुहारीको खटन सहनै परेको छ ।
सासुले गर्दै आएको सम्पूर्ण काम बुहारीको काँधमा आए पछि, छोरा भन्दै छ, ससुरा सामु दैनिक धोती लगाएर काम गर्न अफ्टेरो भो रे ! बुढो मान्छेले खोकेरै हैरान, फोहोर त्यतिकै छ । अब देखि हजुर तल ग्यारेजमा सर्नु पर्यो ।
उनिहरुकै सुखको लागि चुपचाप एकल जीवनको स्वाद चाख्दै जिन्दगीलाई नजिकबाट नियालीरहेको छु । दुई तीन हप्ता बिते, खासै वास्ता गरेनन्, आफैं रमाउन ब्यस्त भए । बाह्र/पन्ध्र दिन घुमेर आउँछौं भन्दै काम गर्नेको भरमा छोडेर हिँडे । मन रोयो, आत्माले भन्यो केहि त गरे हुन्छ नि ! यत्रो श्रीसम्पती कस्को लागि जोडेको ? आखिरी अवस्थामा काम लाग्ला कि नलाग्ला, आफ्नै दैनिकीलाई सोध !! झोक चल्यो...!!!
घरको मुल ढोका बाहिर भुसतिघ्रे गार्डले भित्र पस्न नदिए पछि अचम्म मान्यो । बाउको फोनमा सम्पर्क हुन सकेन भन्ने सुन्यो । त्यो देखेर गार्डले आफ्नु फोनबाट बाउसँग कुरा गरायो र प्रतिक्षा गर्यो ।
सरर कारमा आएको बाबुले घर बिक्रि गरेर आफु अर्कै घर किनेर गएको, उस्को लागि एपार्टमेण्टमा एक बर्षको भाडा तिरि दिएको भन्दै साँचो बुझाएर आफ्नु गन्तब्य लागेको छोरोले हेरि रह्यो...।
ललितपुर-१३, कुसुन्ती । २०८०-१-४
+++
८४. लघुकथा- आमा -राजकुमार कार्की
"आज पनि रित्तो हात आयौ हैन । कति दिन भयो एउटा हार बनाई देऊ भनेको ?"
घरमा दिनेश पस्नासाथ गरिमाले आक्रोश पोखी । दिनेश केही नबोली आफ्नो कोठामा पसेर कपडा बदल्न लाग्यो । गरिमा भने अझै लट्टे पट्के झैँ पट्की रहेकी थिई ।
"बाबु ! मेरो चस्माको सिसा आज पनि फेरिनस् है ।" भन्दै बुवा पनि गुनासाका पोकाहरू खोतल्न लाग्नुभयो ।
दिनेश घरायसी टन्टा र अफिसको कार्यबोझले थकित हुँदै ओछ्यानमा पल्टिन्छ । अनि सोच्छ; कति मतलबी हुन्छन् मानिसहरू ? थाकेको छु; भोकाएको छु कोही सोध्दैनन् भोकाइस् होला भनेर । उल्टो गुनासाहरू तेर्साएर सताउँछन् ।
यस्तै धेरै सोच्दै लोलाउन के आँटेको हुन्छ । उसलाई कसैको प्यारो स्पर्श भए जस्तो लाग्छ । गरिमाको चेपारे माया हो भन्ठानेर अझ दाह्रा किट्छ र कोल्टे फर्किन्छ ।
छोराको निधारको पसिना पुछ्दै दिनेशकी आमा भन्दै थिईन्,"बाबु उठ भोकायौ होला यी तिम्रो लागि मैले चाम्रे बनाएको छु ।"
कटारी-१ उदयपुर २०८०/१/१/
+++
८५. लघुकथा- उत्साह -राजेश भट्टराई
"कति रहर लागेछ ।"
"मलाई पनि लागेछ । तर के गर्नु ?"
"एकदिन त कसो नपुग्ला ? रहर ।"
"खोई पुग्ला नि ।"
"खाईरहेका छौ नि ? औषधि ।"
"अ खाईरहेको छु । तिमीले ?"
"मैँले पनि खाएकि छु ।"
"राम्रो सुधार भएको छ, भनेका छन् नि ? डाक्टरले ।" सोधिन् उनले ।
"अ भनेका छन् ।"
"फेरि कहिले हो, बोलाएको ?"
"पर्सी ।"
जाँच गर्दा राम्रो सुधार देखियो । भने डाक्टरले "अब चाहिँ सफल हुने सम्भावना धेरै छ ।"
"आजै लगाऊ मिठो माया ।" घर पुगेँपछि भन्यो, उसले ।
"नाई पर्सी ।"
"किन ?"
"नयाँ बर्षकै दिन, नयाँ सदस्यको बिजारोपण गर्न ।"
सैनामैना ११, रुपन्देही, हाल भरतपुर, चितवन
८६. लघुकथा- स्वतन्त्रता -रामकुमार पण्डित
खरायोलाई राजाले पालेका थिए । राजाको विशाल बगैँचामा त्यो जता पनि, जहाँ पनि घुम्न, खेल्न पाएर खुब रमाएको थियो । एकदिन रूखको टुप्पामा बसेर कागले कागिनीसँग भन्यो ।
"हेर त यो खरायो ! यस्तो फुर्तिलो भएर पनि यो सानो बगैंँचामा रमाएर बसेको छ । बाहिरको संसार देख्न पाए यसले के गर्ला ?"
कागिनीले खिसी गर्दै सहमति जनाई ।
त्यो संवाद सुनेदेखि अलिअलि गर्दै खरायोलाई राजाको बगैँचा साँघुरो लाग्न थाल्यो । त्यहाँबाट निस्केर खुला चौतारीमा जाने अठोट गर्यो । यताउता कुनाकानीमा बाहिर निस्कने ठाउँ खोज्यो । एक ठाउँमा मुसाले खनेको दुलो भेट्यो । त्यसैलाई ठूलो भ्वाङ पारेर बाहिर निस्कियो । खुला ठाउँमा लामो श्वास तानेर हावाको आनन्द लियो । खुसीले बुर्लुक्क उफ्रँदै सुनसान ठाउँमा पुगेको मात्रै के थियो; क्षणभरमै व्याधाले जालमा पारेर खायो । ब्याधाले मिल्काएको हाडखोरमा खरायोको मासु लुछ्दै त्यो कागको जोडीले आनन्द उठाए ।
+++
८७. लघुकथा- फोन नं. सय –रामदेव पाण्डे
अस्पतालमा भर्ना चौध वर्षीया किशोरी । साथमा बसेकी महिलाका आँखामा आँसु थिए । आगन्तुकले सोध्यो, “तपाईंकी छोरी ?”
“हँ, हो..इन ।”
“अनि, रोइरहनुभएको छ त ?”
महिला झसङ्ग भई, “हाम्रै घरमा बस्ने, छोरीजस्तै हो ।”
“के भएको नि ?”
“ज्वरो आएको ।”
“कति छ नि ?”
“अलि बढी नै ।”
“बिचरी । धन्य हो तपाईंहरूको महानता । आजकल आफ्नै छोराछोरीलाई त मान्छेले यति गर्न छोडिसके, अझ घरका नोकरलाई । हुन त टोलकै चर्चित समाजसेवी र नेता पनि पर्नुभयो हजुरका श्रीमान् ।”
केटीका आँखाबाट तरतरी आँसु झरेको देखेर आगन्तुक पछुतायो, “माफ गर नानी, मैले गलत शब्द प्रयोग गरेँछु, सरी !”
ऊ एक डाक्टर थियो । औषधि हेर्न मन लागिहाल्यो । यसो औषधिको टोकरी उठाएर हेर्न थाल्यो । महिला रातीपिरी भइन् । टोकरीमा ज्वरो कम गर्ने सिटामोल, निमेसुलाइड या एम्पिसिलिन, एमोक्सिसिलिन र सिप्रोफ्लोक्सासिनजस्ता एन्टिबायोटिक पनि थिएनन् । बरु थिए त मिफेप्रिस्टोन (Mifepristone) र मिसोप्रोस्टोल(Misoprostol) का एक एकओटा पत्ता ।
आगन्तुकले दोहोराई दोहोराई पालैपालो औषधि, महिला र बेडमा सुतेकी किशोरीलाई हेर्यो । किशोरी पीडामा थिई, उसको तन्नासम्म रगतले रातै बनेको थियो । टोकरीमा राखिएका औषधिहरू गर्भपतन गराउनका लागि प्रयोग हुने कुरा उसलाई थाहा नहुने कुरै भएन !
अचानक कोठामा एकजना भलाद्मीको प्रवेश भयो । बालअधिकार तथा महिला अधिकारका हिमायती सङ्गठनका ठुलै नेता र मन्त्रीका भाइ । आगन्तुकले चिन्थ्यो, नेताले चिन्ने कुरै भएन । केटीका छेउमा बसेर रुने महिला उसकै श्रीमती थिइन् । दुई वर्ष पहिले श्रीमानको कुटाइबाट भाँचिएको यिनका हातको प्लास्टर यिनै डाक्टरले गरेका थिए ।
आगन्तुक निस्केर ढोकामा पुग्नै लाग्दा भलाद्मीले श्रीमतीलाई भन्यो, “यहाँ जोपाइलाई आउन किन दिएको ? अझ औषधिको टोकरीतिर के गर्दै थियो ? यो औषधी पनि लुकाएर राख्न पर्दैन ? अनि सुन, मलाई आज महिला हिंसाविरुद्धको कार्यक्रममा प्रमुख अतिथि बोलाएका छन् । ख्याल गर्नु कतै यो केटी भागेर बर्बादै होला फेरि !”
ढोकामा उभिएर सबै सुनेका आगन्तुकले किशोरीको अवस्था र किशोरीले एकछिन अघि महिलाका आँखा छलेर हात जोडेको सम्झ्यो । उसले फोन थिच्यो, “१००” ।
+++
८८. लघुकथा- शिखर -रुद्र अधिकारी
“बुबाको मुखमा सन्तानको सुख छ, छोरा छोरालाई चोट पर्दा बुबालाई दुख्छ, कुशे औंशीको शुभकामना बुबा” शक्तिले फेसबुकको भित्ताको यो पोस्ट राखेको केहि बेरमा धेरैले मन पराए ।
टिकटकमा उसका शब्दहरु ‘भाईरल’ बने । समाजमा उसको ब्यक्तित्व असल छोराको रुपमा चिनियो ।
यस अघि उसले लेखेको चलचित्रको संवाद “बिदेशमा बसेको भए बेग्लै कुरो हुन्थ्यो काठमाडौंमा भएर पनि बुबाको मुख हेर्न नआउनेलाई म मरेपछि पनि मेरो लासको अनुहार समेत हेर्न नदिनु ।” ले बुबा आमालाई भेट्न नआउने सन्तानहरु लाई ठुलो झटारो हानेको भन्दै धेरै प्रशंसा बटुलेको थियो ।
यसरी सामाजिक सञ्जालबाट एक पछि अर्को चर्चा बटुल्दै सफल टिकटक र फेसबुकले स्थापित भै सकेको शक्तिले बुबाको मुख हेर्ने दिनमा सम्पूर्ण परिवारको टिकटक बनाउछ र आफू पनि ‘भाईरल’ भइन्छ भन्ने आशामा माइत आएकी दिदी तारालाई भाइले परिवार सँग टिकटक नबनाएकोमा सारै नमज्जा लागेको कुरा बुबालाई सुनाइन । बुबाले भने “शक्ति अब कहा तिम्रो सानो भाई रहयो, ठूलो/चर्चित भई सक्यो । हामी सँगको फोटो राख्दा उसलाई लाज हुँदो हो ! किन राख्थ्यो र? बुबाको मुख हेर्न आयो, म त यसैमा खुसी छु । बुबा, आमा लगायत परिवारको मुख अरुलाई देखाउदैमा के हुन्छ र ?”
ताराले भनिन “शक्ति, संसारको लागि ठूलो र चर्चित होला तर हाम्रा लागि ऊ सानो भाई नै हो, सफलताको शिखर चुमे पनि बुबा, आमा, परिवार र आफ्नू धरातल बिर्सनु हुदैन ।”
ईटहरी, सुनसरी हाल- लन्डन
+++
८९. लघुकथा- पितृ -राेशन पराजुली
अतिथि देवाे भव: !
झिसमिसेमै घरकाे आँगनमा दुइ छाँया उभिएका थिए ।
बाहिर बत्तिकाे प्रकाश पाेलवाट रुद्राक्षेकाे हाँगा हुँदै छाँया देखिए ! दुई आकृतिले दैलाे चियाइरहेका थिए ।
रातभरिकाे निदलाई आनन्द दिएर म आँखा चिम्लिदै शरिरकाे विकार विसर्जनमा हताराे थिए ।
आग्लाे निकालेर ढाेका घर्याक्क गर्दै बाहिरि निस्कए ।
अन्यासै निन्याउराे आँखा छाँयामा पर्याे ।
भित्रैबाट दुई आकृति देखेर मेरा हंशले ठाउँ छाड्दा तुरुक्क तुर्कियाे ।
शुरुवाल सवै भिजे ।
डर पनि अनौठाे लाग्याे थर्रर्र शरीर कम्पायन भएर आयाे र दिदीलाई डाके !
"कान्छि !"
हेर त," कस्ताे डरलाग्दाे छायाँ" रुखतिर औंला तेर्साए !
खै ! केही छैन् ,"नचाहिने कुरा गर्छ विहान विहानै !"
"म चाहिँ घुम्न हिडे", भन्दै दिदी त्यहि छाँया हुँदै गेट खाेलेर बाहिर निस्केर गई ।
म अझै मुक भएर हेर्या हेर्यै थिए ।
अनायसै कानमा आवाज गुन्जियाे । "बाबू आज औँशी","हामी तिमिहरुलाई सम्झाउन आएका हौ ।"
बरगाछी, धरान । २०८०/०१/०२
+++
९०. लघुकथा : निर्माण -लता के सी
" बाबा, म यो अराजक घरमा बस्दिँन, विदेश जान्छु ।" छोराले असन्तुष्टि पोख्यो ।
बाबाले सम्झाउँदै भन्नु भयो, "आफ्नो घर अराजक भयो भने पलायन हुनु त कुन बहादुरी भयो र, बाबु ? बरू हामी मिलेर आफ्नो घरको संस्कार र अस्मिता जोगाउनेतिर लागौँ न हुन्न ?"
"`पहिला निर्माण हुँदा यो घर कत्ति सशक्त थियो रे ! राणा अङ्कल र पञ्चायत अङ्कलले खै के के गरे ? हजुरबाले भन्दै हुनुहुन्थ्यो ।"
"उनीहरूलाई मात्र दोष थुपार्नु हुँदैन बाबु ! समय र अवस्थाको माग अनुसार उनीहरूको विवेकले जे देख्यो, त्यही गरे । बरू तेरा प्रजातन्त्र र गणतन्त्र मामाहरूलाई पनि भन् ।"
"के भन्नु ?" छोराको जिज्ञासा ।
"अब म डाँडापारिको जून भैसकेँ । उनीहरूसंगै हातेमालो गरेर यो घरमा शान्तिको बास गराउने, स्वर्ग बनाउने भनेर !"
आशङ्का प्रकट गर्दै छोराले भन्यो -"अनि मामाहरूले तँ फुच्चेको यत्रो हैसियत ? भनेर मलाई गलहत्याए भने के गर्नु ?"
बाबाले शान दिएर भन्नु भयो, "तँ मेरो सपूत होस् बाबु ! लाछी कुरा गर्नेलाई त खै म के भनुँ ? तर अरूले बनाइदिएको घरमा रङरोगन गरेर बस्न पनि जान्नु पर्दछ भनेर बुझेस् है !"
तीनकुने, काठमाडौं ।
+++
९१. लघुकथा- एउटा छोरा -ललिता ‘दोषी’
मोबाइलतिर हेरेर विवशले भने “बाउले पनि चाट्नु दिमाग चाटिसके । सताउनुको पनि हद हुन्छ नि यार ! अस्तिन पनि म मर्न लागेँ भनेर नेपाल डाके । म गएको भोलिपल्टदेखि मैले पनि भेट्टाउन नसक्ने गरेर ठमठम हिँड्न र मैले भन्दा बढी खान थाले । छोरालाई के, कसो छ पटक्कै बुझ्नु छैन । बेला न कुबेला फोन हानेको छ ।”
आठ वर्षका लन्डनमै हुर्किएका थोरै नेपाली बोल्न जान्ने प्रतीकले बाबुको हातबाट मोबाइल लिएर हजुरबालाई मोबाइल लगाउँदै भने— “ल छितो कुला गल्नुहोच् ।”
अलि ठाडो स्वरमा विवश — “ल ढोग गरेँ । ल भन्नुहोस् फेरि के भयो ?”
नवराज खोक्दै बोले — “भाग्यमानी भएस् बाबू ! खोइ के भन्नु बुढेसकालमा जन्मेको त नै एक मात्र सहारा होस् । तेरी आमा ज्वरोले इन्तु न चिन्तु भएकी छे । बाथले मेरो खुट्टा पटक्कै चल्दैन । आएर बरु वृद्ध आश्रमतिर राखिदे बाबू ! बेलामा दुई गाँस त खान पाउँछौँ । अस्तिदेखि हामी भोक्कै छौँ । सबैले गाउँ छोडिसके । भएका पनि टाढा छन् । कसले के खुवाओस् बाबू ?”
मोबाइल राख्दै विवश फतफताए —“पैसा नै ओढ्ने, पैसा नै ओछ्याउने गरी पैसा पठाउँदा पनि कहिले शान्ति छैन । बाबुआमालाई मान्छेहरूले किन आश्रममा राख्छन् भनेको त यस्तै कारणले पो रहेछ । ल भन अपेक्षा ! अब म के गरौँ ? गएर राम्रो आश्रममा राखिदिऊँ है ? लन्डन छोड्ने कुरै भएन । यहाँ कसरी लेराउनू ?”
अपेक्षााले उत्तर दिन नपाउँदै प्रतीकले भने— “थिक छ, हदुलबा–हदुलआमालाई आच्लम् लाख्ने भए म पनि हदुलहरूलाई पछि आच्लम् नै लाखिदिन्चु । हदुल पनि एउता छोला, म पनि एउता छोला... ।”
बुद्धनगर, काठमाडौँ मिति : २०८०।१।१५
+++
९२. लघुकथा- हरिराज्य -लक्ष्मण अर्याल
चार महिना सुतेर उठ्यो हरि । अब ऊ आठ महिना सुत्दैन रे । यो हरि मांसाहारी होइन अनि मद्याहारी पनि थिएन । यो पहिलो हरि हो कथाको । सम्झनुहोला यो हरिलाई एउटा मार्क लागेको थियो त्यो हो 'देउता' । चार चार महिना सुत्ने लठुवा पनि कतै मान्छे हुन्छ र ?
सुतुवा हरिको स्वागतमा मांसाहारी र मद्याहारी हरि बिहानैदेखि धोतीपाटामा सजिएको थियो । ऊ पनि कुरिरहेको थियो अर्को तेस्रो हरिलाई । तेस्रो हरि पुरेत हो । यो नास्तिक छ | भन्छ - "त्यो देउतो मर्यो, मरिसक्यो । त्यो छ भन्ने कुरा नै भ्रम हो । यही भ्रममा बाँचेका छौं हामी र यसै एउटा मीठो भ्रममा बचाउनु छ सबैलाई ।" तर मरेको भनिएको हरिको स्वागतमा ऊ सघाउन आएको थियो - मद्याहारी हरिलाई ।
हरिले स्वागत खायो, हरिले स्वागत गर्यो अनि हरिले नै स्वागतमा सघायो ।
स्वागत गर्ने हरिलाई हिजो बेलुकाको ह्याङओभर छुटेको थिएन - तन्द्रामा थियो, निद्रामा थियो, कल्पनामा थियो अनि सपनामा थियो ।
पुरेत हरिलाई बारम्बार फोन आइरहेथ्यो निरन्तर । फोनमा यताबाट हरि भनिरहेथ्यो -"एकैदिन ढिलो हुन्छ । तपाईंहरू सर्वहारा हरिहरू बटुल्दै गर्नुस् । तिनीहरूलाई मस्त लोभ्याउनुस् कुस्त फकाउनुस् अनि जसरी हुन्छ एउटा समूह छरिन नदिनुस् । म आउँछु र प्रसाद बाँड्छु । प्रसादको प्राप्तिपश्चात् ती लठ्ठिनेछन् हामीसँग | सम्पूर्ण हरिहरू हाम्रा वशमा हुनेछन् । अनि निर्माण गरौंला एउटा सुन्दर हरिराज्य । | "
देउतो हरि छक्क माथि छक्क परिरहेको थियो । सोच्यो - चार महिनामा नै यत्रो उलटपुलट | सबै हरि बन्ने ताकमा दौडिरहेका हरिहरू देखेर मनमनै गुन्यो – "यो नशावाज हरि नशाले नै मर्नेछ एक दिन । न यो धोतीपाटा छाड्छ न नशा ।"|
देउतो हरिलाई आज अल्छी लागेर आयो । गल्यो ज्यान | फेरी सुत्नै मन लागेर होला भन्यो मद्याहारीलाई - "बाबु हरि, मलाई उपहार दिन्छौ भने आज केरा, स्याउ, पञ्चामृत, अर्घ होइन देउन है ऊ त्यो र्याकको ठुलो ब्ल्याक लेबल ।"
+++
९३. लघुकथा- जन्मदिन -लक्ष्मण ज्ञवाली
अनुराधा आज बिहानै देखि व्यस्त छिन् । आज उनको तनमा एक किसिमको स्फूर्ति बढेको छ ।
घरका नियमित कामहरू, झाडु -पोता, दुहुन-वान, स्नान इत्यादी कर्म सकेर मन्दिर जाने तैयारी पश्चात उनी आफ्नो श्रङ्गार कक्षमा प्रवेश गरिन । ठूलो ऐना अगाडी उभिएर श्रङ्गारमा जुटिन । कम्मर तलसम्म लर्किएको केश बडो जतनसाथ कोरीबाटी गरिन ।
आफूलाई मनपर्ने रातो साडी र गहनामा सजिए पछि अनुहार पनि हल्का सजावट गरिन ।
विभिन्न कोणबाट ऐनामा आफूले आफैलाइ नियालेर हेरिन ।
मस्त जवानीले धपक्कै बलेको उस बेलाको अनुहार संझिन् र ऐलेको अवस्था संग तुलना गरिन । आफ्नैअनुहार संग आँखा जुधाउन सकिनन् ।
तेतिनै खेर उनका श्रीमान वासुदेव कोठामा प्रवेश गरे ।
"हैन हो अनुराधा, बिहान बिहानै कता जाने तयारी हो? " वासुदेवले प्रश्न गरे ।
"कति सधै घरमै कोचिएर बस्नु नि ।" साडीको सप्को मिलाउदै अनुराधाले भनिन ।
"घरमै बसिराख्नु पर्छ भनेर मैले कहाँ भनेको छु र ?"। तिमी चिटिक्क परेर हिड्न थालेको देखेर पो त । वासुदेबले मनको कुरा खोले ।
अनुराधाले फर्केर वासुदेवको अनुहारलाई नियालिन र उनले पनि । दुबैका नयनहरूले केही बेर मौन वार्तालाप गरिरहे । दुबैले ५० वर्ष पहिले देखिका आफ्ना सुख दुखका दिनहरूलाई संझेर भावुक हुदै अंकमाल गरे ।
वासुदेवले अनुराधाको शीर सुमसुमाउदै भने, निधारमा टिकि लगाउन बिर्सिछ्यौ त !
अनुराधाले जवाफ फर्काईन् ,"मैले मात्र विर्सेको कहाँ हो र ? हजुरले पनि त भुसुक्कै विर्सिनु भो नि ! आज हजुरको जन्मदिन, श्रीकृष्ण (वासुदेव)को जन्मदिन ।"
तिलोत्तमा १ नीलगिरिपथ, शंकरनगर रूपन्देही, २०८०/५/२०
+++
९४. लघुकथा- मान्छे -लक्ष्मी रिजाल
"नानी, सरकारी जागिरे हुनुपर्छ । राम्रोसँग पढ् है ।" मामूले भन्नुभयो ।
"तैंले डाक्टर हुनैपर्छ ।" बाबाले थप्नुभयो ।
मेरा आँखा किताबमा थिए । मन भने क्रोधमा पाक्दै थियो ।
"छोरी अवश्य हाकिम बन्छे ।" मामूले खुशीसाथ दोहर्याउनुभयो ।
"डाक्टर बनेर छोरीले मेरो नाक राख्छे ।" बाको जिद्दी पनि दोहोरियो ।
कचकचले कान खायो र भनेँ; "कसैको अधुरो सपनालाई पूरा गर्ने ठेक्का मैले लिएकी छैन ।"
"उसो भए के बन्छेस् त ?" दुबैको एउटै कुरा थियो ।
जवाफमा मैले भनेँ; "मान्छे !"
२०८०/०१/०१ कञ्चनरूप १२, प्रगतिटोल, रूपनगर, सप्तरी ।
+++
९५. लघुकथा- अभियान -लक्ष्मीप्रसाद पौडेल
-"केतली तात्दैन, बिंड जान्दैन !"
त्यतिखेरको परिवेश नै त्यस्तै थियो । दिन पुरै भए पनि चियानास्ता, खानपिन, उठाइबसाइँ रद्दी कटाउँदा जम्माजम्मी बच्ने तीन घण्टा । साँझपखको ।
-'ओरालो लागेका घाम, पखाला लागेको बिरामी ।' सबै एउटै अभियानमा थिए । अभियान के भन्नु, आन्दोलनमा थिए । सक्किने र भरिने । मेरा सहभागीहरू यस प्रकार थिए- 'केतली, दूध, च्याँपत्ति, चम्चा, ओधानी, आगो र पानी । अनि म- च्याँ वाला ।'
अभियानको विषयवस्तु थियो, आगामी आन्दोलनको नेतृत्व कसले गर्ने ! 'ठूलो पल्टिनु, मै मात्र जान्ने हुँ भन्नु मेराे कर्तव्य र अधिकार थियाे ।' मेरो अधिकार कर्तव्य सबैले बुझेका थिए । त्यसैले निश्चित रुपमा आन्दोलनको नेतृष्ट मै माथि आउँनुपर्थ्यो ।
-"यसपटक नेतृत्व फेर्नुपर्छ !" ग्राहकको भीडमा एकाएक चियापत्तिको केस्रा उफ्रियो ।
-" नेतृत्व फेर्ने हो भने त्यो म हुँ ! मेरो भाउ चढेको बेला छ ।" चिनी सलबलायो । आगो अघिदेखि चुपचाप बसेको'थ्यो । पानीतिर इसारा गर्यो । उसलाई थाहा छ पानी बिना आगोको अस्तित्व हुँदैन । 'खरानीको के मूल्य, सेलाउनु सिवाय ।' पानी थोरै बग्यो । आगो झ्वाईय्य गर्यो । आगोको प्रतिक्रिया सुनेर एकछिन सबै चुप भए ।
मेराे अवस्था के भयो होला, तपाईं जानकार हुनुहुन्छ । यिनीहरुकै परिश्रममा नेता बनेको थिएँ । अझै बन्नु थियो । आफ्नो र माथिको कर गुजारा चलाउनु'थ्यो ।
-"छलफल निष्कर्षमा पुगोस् ! हिम्मत भए, र माथि रिझाउन सक्ने भए जो कोही अगाडि सरे पनि हुन्छ । मेरो आपत्ति छैन ! "माथिको पासा मेरो लागि अप्ठ्यारोको जडी बन्थ्यो ।
"त्यो माथि को रहेछ, एकपटक बुझेर आउँछु अनि छलफल अघि बढ्छ ।" ओधानी जुरुक्क उठ्यो । ओधानी उठेपछि त्यहाँ अरूको भाषण नबिक्ने अलिखित प्रचलन थ्यो ।
-"यसको पनि उपाय सोच्नुपर्ने भो ! जहिले नि फुर्ती लाउँछ । " केतलीले मेरो सहमति खोज्यो । " यो पटकको नेता 'म' ! सबै तह लगाउने जिम्मा मेरो भो ! "
अब चाहिँ मेराे धरातल भासिँदै गएको अनुभव भयो । हातगोडा फत्रक्क गले । ऊ नै थियो, अगाडिपट्टी उभिने । शरीर शिथिल भएर नौं फूल तोरीका देखें ।
" हरेश खाए पनि चरेश नखानु भन्छन् ।" भए बाँचेका सरसामाग्री उठाएँ । नजिकै महानगरको गाडी आइसकेको थियो ।
-"मैले सडक व्यापार छोडें ! अर्को चुनावमा तपाईंको पार्टीबाट टिकट लड्छु !" मैले हात खडा गरें ।
-"समयमा बुद्धि पूर्याएछौ । अब सडकमा कोही बाँच्न पाउँदैन ।"
धनगढी, गणेशपथ ३
+++
९६. लघुकथा- सन्तानकाे माया -लाेकनाथ पुडासैनी
"बाबु बालाई बिसन्चाे भएर आइसियुमा भर्ना गरिएकाे छ । तिमीहरू तुरून्तै घर आऊ ल ! हलाे ..., " मनसराले अमेरिकामा रहेकाे छाेराेलाई फाेन गरिन् । पैसा सकिएकाले कुराे नटुङ्ग्याउँदै फाेन काटियाे । उताबाट आएन ।
सुधार नभएकाले दाेस्रै दिन गजाधरलाई भेन्टिलेटरमा राखेर उपचार थालियाे ।
"आमा ऐले बालाई कस्ताे छ ?" चार दिनपछि छाेराकाे फाेन आयाे ।
"सुधार हुँदैछ रे बाबु ! बरू तिमीहरू छिट्टै आओ । बाले खाेज्नु भा`छ ।" छाेरालाई पिर नपराेस् भनेर आमाले वास्तविकता लुकाइन् ।
"मेराे छुट्टी छैन । छाेरी र सन्ध्या अष्ट्रेलिया दिदी भिनाजुकाेमा जाने याेजना बनाएका छन् । त्यै पनि हामी किन आउन पर्याे र ! पैसा पठाइदिँदैछु । बैनी ज्वाइँहरू छँदैछन् । बाेलाएर राम्राेसँग उपचार गराउनुहाेला । म बिजी छु । पछि कुरा गराैँला ।" दाेहाेराे कुराकानी नहुँदै उसले फाेन काट्याे ।
"... हजुरसँग यहाँ काे काे हुनुहुन्छ आमा ?" त्यत्निखेरै उपचार कक्षबाट बाहिरिएका डाक्टरहरूले साेधे ।
"ममात्रै छु । किन ? के भयाे र डा साव ?"
"... सरी । हामीले बालाई बचाउन सकेनाैँ आमा !" डाक्टरका कुरा सुन्नासाथ मनसरा डङरङ्गै ढलिन् ।
अस्पताल भर्ना भएकाे पाँचाैँ दिनमै गजाधरकाे प्राण गयाे । बेहाेस भएकी मनसरालाई कुरूवाहरूले पानी छम्केर उठाए । हाेस खुलेपछि उनी बेस्सरी राेइन् । अनि ज्वाइँछाेरीलाई फाेन गरिन् । मानिसहरू जुटे ।
धर्तीमा गजाधरकाे चिता जल्दै थियाे, मनसराकाे माेवाइल बज्याे । उनले सुस्तरी उठाइन् ।
"हलाे ..., हजुर कहाँ हुनुहुन्छ ? अमेरिकाबाट हजुरकाे नाममा पैसा आएकाे छ । समय मिलाएर लिन आउनुहाेला ।"
जराङबेसी, गाेरखा हाल, पाेखरा १५, ठुलीमजुवा
+++
९७. लघुकथा : काेठावाल ~डा. विदुर चालिसे
--"तपाईंले नटेरेकाे ?"
--"टेरेकाे छु नि सर !"
--"भाेलिदेखि छिटाे छिटाे है !"
--"हुन्छ, हस, हजुर !"
आसमायाकाे दिमाग चक्करायाे । उनकाे दैनिकीले बेलाबेला समस्या पार्न थाल्याे । मनमनै उनी बलरामसँग सतर्क रहन थालिन् । आसमायालाई वाध्यता थियाे । मुसुक्क नहाँसे काेठा काे समस्याकाे काम हुँदैन थियाे । ढिला भएकाेमा खिसिक्क परिन् । बलरामतिर फर्केर फर्याकफुरूक गरिन् । बलरामकाे आँखा सुस्ताए । उनी निस्ताइन् । हातमा भएकाे कलमलाई मुखमा राखेर साेचिरहिन् । उनकाे मनबाट अकस्मात उठेकाे प्रणय भाव थियाे । सुकाेमल लयमा भनिन् ।
--"भाेलि विदा हाे सर ?"
बलरामले पात्राेलाई हेरे । पात्राेकाे दिनगन्तिहरू हराउँदै गए । अड्डामा नायकत्व प्राप्त बलरामलाई लाग्याे ।
--"पात्राेकाे दिन भनेकाे महिनावारी हाे !"
उनले महिनावारी यसपाली नहुने कुरा सम्झे । आसमायालाई महिनावारीकाे आपतलाई बुझाए ।
--"भाेलिकाे विदा कट्टा गरि दिएकाे छु !"
--"किन सर ?"
--"काेठावालहरूमा कहिल्यै इमान हुँदैन !"
--"मतलब ?"
--"तलबकाे मात्रै आस गर्छन् !"
असरल्ल फाइलमा अल्झिएकाे कामकाे चापमा बलरामलाई भित्रबाटै आदेश आइरहेकाे थियाे। यसपालीकाे महिनामा पनि उच्च क्षमताकाे हाजिरी जनाउने मेसिनका काेठाहरू खाली थिए । काेठावाल महिनावारी राेकिएर भड्किरहेकी थिइन् । अन्तिम निश्वासमा उनकाे स्वर निस्क्याे ।
--"मन्दीकाे चाप !"
उनले बाटाेमा विरहका साथ हिंड्दै गर्दा बाटाेभरि लेखेकाे देखिन ।
--"पानी पर्याे छाता थिएन, छाता थियाे ओडाउने थिएन !"
+++
९८. लघुकथा- घमन्ड -विद्या ढकाल
"तँ नाँथेको केही जोर चल्दैन ।" - कङ्क्रिटको बाँधले लल्कार्दै नदीलाई भन्यो ।
"त्यसो नभन । मलाई मेरै लयमा बग्न देउ ।" - थुनिनु पर्दाको पीडामा नदीले बिनम्रतापूर्वक अनुरोध गर्यो ।
"मसँग सिमेन्ट छ । अनि बालुवा, गिटी र रड पनि छ । मेरो तागत तलाईँ के थाहा ?" - बाँध चर्को स्वरमा चिच्यायो ।
मुसलधारे वर्षा सँगै बगेर आएका रुख, विरुवा र लेदो माटो सबै बाँधमा छेकिएका थिए । बाँध झनै गर्जियो - "सब मेरो तजबीजमा चल्छ । सबै यहीँ मुन्टिएर बस ।"
बाँध अझ के के भन्न खोज्दै थियो । नदीको बाढीमा बग्दै आएको हात्ती जस्तै ठूलो चट्टान बाँधमा ठोकियो । वरिपरिको जमिन नै थर्किने गरी आएको ड्वाङ्गको आवाज सँगै बाँध गर्ल्यामगुर्लुम ढल्यो ।
तनहुँ ।
+++
९९. लघुकथा- समय -विनोद नेपाल
समय उसको प्रतीक्षामा थियो ।
ऊ टुप्लुकियो र भन्यो ‘क्षमा पाउँ, म समयमा आउन सकिन ।’
किन ? कस्ले रोक्यो ?
उसले जवाफ दिन थाल्यो-
–अलिकति व्यस्तताले,
–अलिकति बेवास्ताले
–अलिकति लापर्बाहीले
–अलिकति अभावले
–अलिकति इर्ष्याले
–अलिकति डाहाले
–अलिकति लोभले
ऊ आफ्नै सुरमा एकोहोरो बोलिरह्यो ।
– यतिन्जेल समयले नेटो काटिसकेको थियो ।
२०८०।०५।२८
+++
१००. लघुकथा - भगवान र भगवानहरु -विवेक दुलाल क्षेत्री 'दमक'
समयको बस्तिभित्र एउटा भगवान थियो । त्यो भगवान भगवानप्रती अति विस्वास गर्थ्यो । यती सम्मकी उ त्यही विस्वास बोकेर मन्दिर जान्थ्यो । मन्दिरमा बसी घन्टौ सम्मन भजन किर्तन गर्थ्यो ।
एकदिन मन्दिर परिषरमा बसेर उ प्रार्थनामा लिन थियो । उस्को कानमा कसैले फुस फुसायो ।
"बालक तिमी घर जाउ । घरमा गएर बिरामी पत्निलाइ तातो जाउलो देउ । समय खेर नफाल ।"
आज्ञाकारी बच्चा जस्तै उ घर गयो । पानी ततायो । चामलको जाउलो पकायो । पत्निलाइ दियो ।
पत्निले भनिन् - "हजुरको अनुहार आज त उज्यालो छ । मेरो मिथ्या चिन्ता नगरीस्यो । बरु यहि उज्यालो मुस्कान कायम गरिस्यो आफूमा !"
भगवान मुस्कुरायो मात्र । मनमनै भने उ भगवानप्रती क्षुब्द भयो । उस्ले सोच्यो - "भगवानले त्यत्रो प्रार्थना गर्दा पनि फल दिदैनन । भगवानलाई आफनै ठान्नु र उनले भनेको मान्नु पनि बेकार रहेछ !"
यति नै बेला उस्को कानमा केहि उच्चारण भयो । यो सुन्नसाथ उस्ले आफ्नो शोचप्रती बेकुफी सम्झ्यो । अनि सधैलाइ वास्तविक दुनियामा रमाउने निधो गर्यो । भगवानको कानमा उच्चारित शब्दहरु यस्ता थिए - "पत्निलाइ सेवा भगवानको आज्ञा पालन हैन तिम्रै कर्तब्य हो । भगवानको प्रतिको आस्था पनि तिम्रो सस्कार मात्र हो । जिजिबिषाको लागि काम नगर्ने कसैलाइ छुट हुदैन । भगवानले लाखौ भगवानलाइ कर्म अनुसार हेर्नू पर्ने हुन्छ । यसरी हजार कोशीसको बाबजुद पनि प्रतिफलमा थपघट स्वभाबिक हो । अब प्रश्न नगर्नु कि भगवान भगवानप्रति किन पक्षपाति छन् ?"
दमक बजार ,झापा हाल - अबुधाबि ,युएइ ।
+++
१०१. लघुकथा- लाेकाचार -विष्णु भण्डारी आचार्य
एक्लो छोराको लागि बाबुले कमाइदिएका अथाह सम्पत्ति छदै थियो प्रमोदको ।
समाजमा प्रतिष्टा कमाएरै बसेका ब्यक्ति पनि हुन् ऊ । त्यही भएर त बाबुको काजकिरिया धौ फुकाएरै गरे उनले । एकतोलाको त पिण्ड काट्ने सुनको फाली नै दान गरे । लुगाफाटा, फर्निचर भाँडाकुँडा भोजखर्च जम्मै गरि लगभग आठ दशलाख दान गरेकोजस्तो अनुमान लगाउन सकिन्थ्यो ।
तेर्हौँ दिनको तिथीमा मान्छेको घन्चमन्च ठूलै थियो । शायद मलाम गका जति कोही छुटेका थिएनन् होला जस्तो लाग्थ्यो ।
छोराछोरी हो्उन् त प्रमोदजस्ता । मरण होस् त प्रमोदका बाको जस्तो । पुरोहित पुरोहित्नी दङ्ग हुदै कुरा गर्थे । टाढाबाट आउनेहरु पनि त्यही भनाईमा सहमत जनाउथे ।
केही पर छिमेकीहरुको एक समुह भने एकापसमा मुखामुख गरि कानेखुसीमा कुरा गर्दै थिए । जसले बालाई, दुई वर्ष अघिदेखि अध्यारो कोठा, चिसो भुइँ, थोत्रे गुन्द्रीमा मात्र सुताएको देखेका थिए ।
बेलबारी, मोरङ
+++
१०२. लघुकथा: उपहार -शान्ता तिम्सिना
कुश काटेर फर्कंदै थिए, बिच बाटोमै ढले भक्तराम । हत्तपत्त अस्पताल पुर्याए उनलाई । एकैछिन पछि डाक्टरले भने , " उहाँको दुबै मिर्गौलाले काम नगर्ने भएको छ ।"
माइत जानलाई चाँडो उठेर घरको काम गर्दै थिइ, अनुस्का । बिहानै आमाको मोबाइलबाट फोन आयो । हतारमा उठाइ । बाबाको खबर सुन्नासाथ अस्पताल दौडिइ, ऊ । त्यहाँ भाइ र बहिनी पनि आइसकेका थिए ।
झड्केली छोरी भनेर पटक पटक गरेको हेला सम्झि उसले । गरिब भनेर ज्वाईंलाई गरेको तिरस्कार चलचित्र बनेर घुम्यो । भाइ बहिनी र उसलाई गरेको भेदभाब सम्झेर मुटुमा गाँठो पर्यो । आमाले गरेको मायाँ सम्झी, " म छु त ! किन दु:ख मान्छेस् । आमाको लागि सबै बिर्सि उसले ।
प्रतीक्षामा बाहिर थिए उनिहरु । बाबाको मुख हेर्न आतुर भएकी थिइ अनुस्का । एक नर्स आएर भनिन्, "बिरामिको तत्काल किड्नी फेर्नु पर्ने भयो, नभए हामिले सरि भन्नू पर्ने हुन्छ ।"
यो सुनेर सबै स्तब्ध भए । भाइ बहिनीले किड्नी दिने कुरा असहमति जनाए । आमाको होस उड्यो । अनुस्काले एक टक लाएर आमाको अनुहार हेरि । सेतो पहिरनमा बिधवा आमालाई सम्झी ।
एक कदम अघि सर्दै भनी," आज बुबाको मुख हेर्ने दिन, एउटा मिर्गौला उपहार दिएर उहाँको मुख हेर्नेछु ।"
भक्तपुर
+++
१०३. लघुकथा- योग -शारदा दहाल (भण्डारी)
"मर्ने बेलाको हरियो काँक्रो के गर्नु ? होस् अब ! जीवनमा मैले गर्ने काम गरिसकेंछु । तिमीहरू भने स्वास्थ र निरोगी रहन निरन्तर गरिरहनू ।"
"त्यसो होइन नि बुबा ! योग, प्राणायाम र ध्यानको धेरै नै महत्त्व छ । तपाईंले आसन गर्न नसके पनि प्राणायाम र ध्यान सहज ढंगले गर्दा लाभ मिल्छ । हामी थाहा नपाई पनि स्वासप्रश्वास त गरिरहेका छौं नि ! र त जीवन छ । यसैलाई हेर्ने न हो । यसले जीवनीशक्ति बढाइदिन्छ, प्राणमा आयाम थपिदिन्छ ।"
"खेतीकिसानी मान्छे हलोकोदालो गरियो । उकालीओराली झरियो । दाउरा घाँस, वस्तु गोठालो गरियो । अस्तिसम्म पनि मैले फ़ुर्तिलो गरी काम गरेकै थिएँ अब यो अवस्थामा बल गरिरहन्न छोरी ।" बुबाले ओछ्यानबाटै निराश र मलिन स्वरमा भन्दै हुनुहुन्थ्यो । शरु भावुकता सम्हालेर मुटुमा पाषाढपिण्ड बोकी बुबालाई सकारात्मक बनाउन अरु कोशिश गर्दै थिइन् ।
बाउछोरीको बार्तालाप सुनिरहेकी आमाले शरुलाई बिस्तारै भन्दै हुनुहुन्थ्यो -"अब क्यान्सरको पनि चौथो चरण पार गरेको दुईमहिना बितिसक्यो । केमोथेरापीले बुबाको कपाल झरे झैँ बाँच्ने रहर पनि मरिसकेको बुझिन्छ ।"
"नाइँ आमा !
रोगीका लागि उपचार हो,
योगीका लागि जीवन पद्धति
बाल, युवा, बुढा जोसुकैले गरे
दिनप्रतिदिन बढ्छ जीवनीशक्ति ।"
"बाँच्दा स्वास्थ तन, मन र सफल जीवन अनि मर्दा पनि शान्तिसाथ मृत्युलाई स्वीकार्दै ध्यानमग्न भई भगवान संकीर्तन गरी मोक्षप्राप्ति गर्न सहजतापुर्वक सक्ने विद्या भनौ या रामवाण औसधि त योग नै हो नि । मृत्यु साश्वत सत्य हो । जुनसुकै बेला गतिलो ह्यामर्को चोट ब्योहर्ने बेला आउँदैछ । पहिला विविध कारणले गर्न नसके पनि अब सबैलाई अनिवार्य छ आमा योग ।"
आमा जुरुक्क उठेर बुबालाई पनि उठाउँदै आँगनको म्याटमा पुर्याउनु हुन्छ । अनि सबै जना ज्ञानमुद्रामा बसी वैदिक मन्त्र जप्दै प्राणायाममा लीन हुन्छन् ।
+++
१०४. लघुकथा- खोजी -शुक्रराज कुँवर
उ एउटा 'सपिङ्ग मल' को मालिक थियो । हरेक बिहान उ नजिकैको मन्दिरमा जाने गर्थ्यो जहाँ माग्नेहरु लहरै बसेका हुन्थे । उ अशक्तलाई केही न केही खानेकुरा दिने गर्थे ।
सदा झैँ एकदिन उनी माग्न बसेकाहरुलाई सहयोग गरिरहेका थिए, लाममा बसेकी एकजना बुढी आमाले भनिन् "बाबु तपाईँ सधैँ आउनुहुन्छ, सहयोग गर्नुहुन्छ तर मलाई लाग्छ तपाईँका आँखाले कसैलाई खोजिरहेको छ, कुरा के हो बाबु ?"
बुढीआमाको कुरा सुनेर लामो निश्वास छोड़दै उनले भने -
" आमा ! आज म जे छु एकजना भद्र पुरुषको कारणले छु । करिब पन्द्र वर्ष अगाड़ि म पनि यसै ठाउँमा माग्न बस्थेँ । एकदिन तिनै भद्र पुरुषले मलाई मागि खान होइन कमाइ खान सिकाए । वर्षौँदेखि मेरा आँखा उनैको खोजीमा छ आमा !"
बलभद्रपथ, धरान १० ! २०८०/०६/०४
१०५. लघुकथा- आमा -शेषमणि आचार्य
आमा थोतो मुहारमा मुसु्क्क हाँस्दै मुस्कुराउनु भयो । छोरीहरूले बिहानैदेखि फोनमा घण्टी ठोकेको टिन टिन आवाज आइरह्यो । आमाले फोन उठाउन पनि पाउनु भएन । नातिनीले "हजुल आमा, फुन आ'छ !"- भन्दै हजुर आमालाई मोबाइल ओसारी रहिन् ।
"या कति फुन आको हजुल आमाको त, आज !! हिँजो अस्ति त आएन, आज किन यति धेलै !"--नातिनीको प्रतिक्रिया ।
"दिउँसो त झन् लमाइलो हुन्छ, फुपूहलु आउनुन्छ । मलाई किन आज इक्कुल जान पल्या होला । बाबा ! बाबा ! मिसलाई भन्दिनु न, आज इक्कुल बिदा हो कि हैन !"-- नानीले कर गरिन् बाबालाई !
"नानु इस्कुल छुट्टी छैन, नाना लगाऊ गाडी आम्छ, अब ।"--बाबाले भने । नानीको अनुहार अँधेरो भयो । एकछिन पछि नानीले बाबासित सोधिन् । "बाबा ! आज किन हजुल आमालाई यति धेलै मुबाइल आको ! हजुल आमाको त मुबाइल छैन । म इक्कुल गएसि कल्ले मुबाइल ल्याइदिन्छ ? आज के हो ल, यति धेलै मुबाइल आको !"
बाबाले ध्यान दिएनन् । नानीले जिद्दी छोडिनन् । बाबाको हात झटारिन् । बाबा झ्याउ मान्दै थिए, "किन हो भन्नु न बाबा !"-नानीले सोधिन् ।
बाबाले भने, -"आज आमाको मुख हेर्ने दिन हो र, यत्रा फुन आका !" आमा औँसी हो ।"
फुनमा बोलेर मुख देखिन्छ त ! मुख हेलेल हजुल आमाको झरेका दाँत आउँछन् ल ! हजुल आमाका गाला राम्ला हुन्चन् त !"--नातिनीले प्रश्न वर्षा गरिरहिन् । इस्कुल वस आउने बेला भो, बाबाले संझाउनुभो । नातिनीले "बाबा बाबा आमा उम्सी जस्तै मेलो उम्सी कहिले आम्छ ! मेलो नि फुन आम्छ, मलाई नि दिदीहलुले मिठाइ ल्याइदिनुन्छ । मेलो उम्सी कैले आम्छ !!" भनिन् ।
नानीको हठ चल्दाचल्दै बस आइपुग्यो, बाबाले बस चढाइदिए । नातिनी भने "आमा, फुन कल्ले ल्याइदिन्छ, हजुललाई ! भनिरहिन् । बस गुड्यो अगि अगि ।
२०८०/०१/०६
सन्दर्भ : मातृ औँसी
+++
१०६. लघुकथा- चिठी —श्रीप्रसाद पोखरेल
“आमा आराम छु, सोही चाहन्छु । तिम्रो खवर पाएर घर आउन नपाए पनि म खुशिनै छु ।” श्रीधर दाजुको चिठी पढेर आमालाई सुनाउँदै छ ।
“अगाडी पढ न,” आशाले भनिन् ।
आमा, न बुबाले न तिमीले कहिल्यै आँगभरि लुगा लगाउन पाएनौ । बुबालाई घिउभात ख्वाउने सपना पनि अधुरै रह्यो । आमा भनन, बुबालाई घाट लैजादा नयाँ लुगा त फेरायौ नि ? बुबा कत्ति खुशि हुनुभयो होला !..............
आमा, बुबालाई दाउरैदाउरा माथि राखेर सबै मिलेर जलाए हैन ? कि दाउरा थिएन र ढोडले जलाए ? बुबाले खाना पकाउन बटुलेर ल्याएका झिरिमिटी आँटीमा अझै छन् हगि ?.......
आमा मजेत्रोले रसाएका आँखा र नाक पुच्छिन् ।....... श्रीधरको गला अवरुद्ध हुन्छ । अवरुद्ध गलाले फेरी अगाडी पढ्छ ।
आमा, पहिलेपहिले कुहिनो सम्म चुहिने गरि घिउभात खाएको कुरा बुबाले बित्ने बेलामा गरे कि गरेनन् ? घिउभात खान नपाए पनि जलाउँदा त जिउभरी घिउ दलिदियौ नि हैन ? .............. अँ भन त त्यसदिन घरमा पाहुना पनि धेरै आएहोला हैन ? हामी गरिवका घरमा पनि पाहुना आउने दिन आउँदो रहेछ ।
“ताप नमान आमा । बुबालाई किनीदिएको लुगा, दाउरा, घिउ र पाहुनालाई ख्वाउन गरेको खर्च सबै तिर्न मैले कारखानामा विदा मिलाई सकेँ । म यही औंसीमा घर आईपुग्छु ।”
चिठी पढिनसक्दै बाहिर हल्लखल्ल सुनेर आशा र श्रीधर पिँढीमा निस्किए । आँगनमा रातो बाकस थियो ।
इटहरी, सुनसरी
२०७९ साल कार्तिक २३ गते
+++
१०७. लघुकथा– पौरख –स्वस्तिका सिम्खडा
‘एकैछिन सास फेर्न पायो भने सकिनसकी हर्दम एउटै बोली फलाकिरहनु राम्रो होइन ।’ उमेरको ख्यालै जगरी मैले मनभित्रको कुरो बाहिर ल्याइहालेँ ।
हजुरआमा शान्त देखिनुभयो । मलाई उहाँ रिसाउनुभयो कि भन्ने डर भयो । उहाँलाई मन परेकी जेठी नातिनीको नाकमा झिँगा बसेछ भन्ने लागेछ ।
मेरो एक वाक्यले उहाँको बोली बन्द भएपछि म पग्लन थालेँ । हजुरबा वितेपछि माया, आदर जे गरे पनि जिवित देवी एउटै हजुरआमा हुनुहुन्थ्यो । म उहाँलाई सम्मानस्वरूप आमा भनेर बोलाउँथेँ ।
उहाँको रिसाएको मनलाई खुशी बनाउन भनेँ– आमा, मेरो दोष मात्रै किन कोट्याउनुभएको ?
उहाँको अनुहारमा भिन्नै तेज देखियो । भन्नुभयो– हाम्रो युग गयो । तिमीहरूको आयो । म बोदेको कारण तँ बेलैदेखि पौरखी बन्छेस् कि भनेर हो ।
बानडाँडा, बेलका २, उदयपुर । २०७९.०५.०७
(बि.एड. प्रथम वर्षमा अध्ययनरत् स्वस्तिका सिम्खडाको पुरानो डाइरीमा सिमित यो लघुकथालाई पहिलो पटक यहाँ सार्वजनिक गरेकी हुँ । स्वस्तिकाको २०८०.०४.२० गते दुःखद निधन भयो । उहाँको जन्म २०६१.०१.१६ गते भएको हो । उहाँ लघुकथा वाचन र लेखनका अतिरिक्त कविता, संस्मरण र निबन्ध लेख्न रुचाउनुहुन्थ्यो । उहाँका दुई दर्जन अधिक लघुकथा प्रकाशित र प्रसारित छन् । संकलक– लक्ष्मी रिजाल)
+++
१०८. लघुकथा- मृत्यु पनि आफन्त -सञ्जय साह मित्र
अलिक पर कुन्नि के हो, एउटा बाजा बज्यो । यहाँ बाजाको आवाज दुर्लभै सुनिन्छ । कुनै पब, होटल, रेस्तुराँ वा पार्टीबाहेक बाजा बजेको आवाज यहाँ आएको सबा दुई वर्षमा मैले सुनेको छैन ।
बाजा सुन्नासाथ मेरो मुटु उतै तानियो । लाग्यो, मैले चिनेको बाजा हो यो । यस्तो आवाज यहाँको बाजामा हुँदैन । बाजामा आफ्नोपनको गन्ध छ ।
फेरि बज्यो । अहिले अलिक चिनेको जस्तो लाग्यो । यो कुनै साइत वा कुसाइतको बाजा हो । परदेशमा केको साइत र कुसाइत रु यहाँ त कामबाहेक कुनै साइत र कुसाइतले चियाउने मौकै पाउँदैन । जे त पर्ला भनेर बाहिर निस्कन्छु । मनमा अँध्यारो डर छ, बाहिर उज्यालो आवाज । आखिरमा आजको हाजिरी काट्ला, एक छिन परिचित आवाज त बुझूँ ।
झनै नजिक बज्यो । एउटा लासलाई चार जनाले बोकेको, एकले घन्टी बजाएको र अर्कोले हाँडी समातेका थिए । अर्का एक मलामी थिए ।
को म¥यो रु यहाँ परदेशमा पनि मलामीको संस्कृति रु नजिकै भएर अगाडि बढ्यो । अहँ कोही पनि चिनेको लागेन ।
पाउरोटी सेक्ने काम हो मेरो । आज अहिलेसम्म केही पनि खाएको छैन संयोगले । मसँगै काम गर्ने दख्खिन भारतको एक युवक छन् । उनले सोधे – तुम्हारा पहचानका है कोई रु
मैले नाइँ भनें तर मेरा खुट्टाहरू अनायास पछि पछि अगाडि बढे । मैले केहीँ नभने पनि उनले भने – तुम जाओ, मै सम्हाल लुँगा ।
मेरो मन भक्कानियो । कस्तो अचम्म – परदेशमा मृत्यु पनि आफन्त लाग्दो रहेछ ।
अपरिचित र अन्जान गन्तव्य लिएर बढेको लासतिर स्वचालित पाउरोटी उद्योगझैँ बढ्न थाले पाइलाहरू ।
रौतहट
+++
१०९. लघुकथा- फरक -सत्या अधिकारी
मन्त्रालयमा काम गर्दै थिएँ । छोराको फोन आयो, " हेल्लो ड्याडी ! झट्टै घर आउनुपर्यो"।
छोराको फोनले कतै अनिष्ट पो भयो कि भन्ने लख काटें। चिटचिट पसिना आयो। चोरऔंलाले निधारको पसिना तर्काउंदै सोधें ,"बाबू किन? कसलाई के भो?´´
आत्तिएको स्वरमा नै भन्यो " ड्याडी ! धर्म अङ्कल लडेर खुट्टाबाट रगत आइरहेको छ । ´´
धन्न परिवारका कसैलाई केही भएको रहेनछ । लामो सास लिएं ।
धर्म भाइ हाम्रै घरमा बसेको धेरै भैसक्यो । ऊ घरको सदस्यजस्तो मात्र होइन, मेरो दाहिने हात बनेको थियो । हतार गरेर घर पुगेँ । ऊ मेरै प्रतीक्षामा बसिरहेको थियो । घुँडाबाट रगत बगिरहेको थियो । हतार हतार अस्पताल लगें। डाक्टरको उपचारपछि बिस्तारै ठिक भयो ।
` दशा पनि बाजा नबजाइ आउँछ ´ भने झै लगत्तै मेरी उनी घरको भर्र्याङ्बाट चिप्लेर लडिन्। देब्रे हातमा चोट लागेर चलाउन नसक्ने भयो। सोचें, ``यहाँका डक्टरको के भर ? विदेश लानु पर्यो ।´´
सरकारसंग हार गुहार गरेँ । एयरलाइन्सको टिकट झिकाएंँ। सबै बन्दोबस्त भएपछि छोराले भन्यो , " धर्म अङ्कलको त्यत्रो ठूलो घाउ त यहीँ ठिक भयो। मम्मीलाई चैँ किन विदेशको डक्टर चाहियो ? ´´
सानेपा
+++
११०. लघुकथा- जस -सीता रेग्मी
"कति नमिठो गरी पकाएको यो साग ! म त खान्न !"
बेलुकाको लागि साग तयार गर्दैगर्दा सारदाको दिमागमा विहान श्रीमान् ले भनेको कुरा झ्वाट्ट आयो ।
उनलाई त्यो साग पकाउनै मन लागेन । यताउती हेरिन । बिकल्पमा कुनै तरकारि भेटिनन् । त्यही भएको सागलाई मन लगाएर पकाईन् ।
खाना खाँदै गर्दा श्रीमान् ले भने, "ओ हो ! यो साग त मिठो छ त पहाडकै परेछ कि क्या हो ?"
+++
१११. लघुकथा- लोभ -सुधा देव अन्जान
जताततै चुनावको माहोल थियो । परिवारमा, छिमेकमा, चौतारा बजार हटियामा चुनावकै चर्चा सुनिन्थ्यो । एकपछि अर्को गर्दै भोट माग्नेको पनि लर्को लागि रहन्थ्यो ।
शिक्षाले पछाडि परेको बस्ती सबैको सबैले पैसाले लोभ्याउने दाउँमा थिए।पहिलेका चुनावहरूमा पनि त्यस गाउँमा पैसाले नै चुनाव जितिनेमा उम्मेदवारहरू विश्वस्त हुन्थे। लेन देनको जिम्मा लिने उमेरले पाँच वसन्त पार गरेका हर्के थिए । अघिल्लो चुनावमा पैसा तिरेर मत किन्नेहरूसंग उनैले नेतृत्व लिएर जिम्मा लिएका थिए ।
यसपालि भने,´ जितेकाले गाउँको बिकासमा सिन्को नभाचेको देखेर सबै भित्र भित्रै मुरमुरी रहेका थिए । गाउँको कुनै समस्या समाधान हुदैन् । सधैं एकै जनालाई कति जिताउने भनेर केही बुद्धिजीवी व्यक्तिले गाउँका एकदमै ईमानदार समाजसेवी वीरवहादुरलाई चुनावमा अध्यक्ष लागि उम्मेदवारी दिन लगाए ।
चुनावको दुई दिन अगाडि नानीदेखि बानीलागेको पक्षबाट मत किन्न पैसा बाड्न थालियो । सबैले रकम लिए मत दिन्छु भन्दै पठाए ।
चुनावको पूर्व सन्ध्यामा गाउँले बसेर सल्लाह गरे।हाम्रो मत पैसामा किनेर दुई पटक जितिसक्यो । विकास शून्य भयो । प्रतिबद्धता प्रतिबद्धतामा सिमित भए । हाम्रै ठाउँका लागि आएको करोडौंको रकम आफ्नो गोजीमा कुम्ल्याएर हामीलाई मूर्ख बनायो ।
यसपालि मत नदिएर हामीले मूर्ख बनाएमा केही पाप लाग्दैन् । विकास गर्नेलाई जिताउनुपर्छ । सधैं मूर्ख बजाउनेलाई पनि मूर्ख बनाउनुपर्छ । पैसा लिएर भोट दिनुहुँदैन ।
राजविराज,२ सप्तरी
+++
११२. लघुकथा - सम्मान -सुनिता निरौला पौडेल
"बाबा आज हजुरको मुख हेर्ने विशेष दिन, हजुर सधैं हाम्रो साथमा हुनुहुन्छ ।" उनको अनुहार मलिन भयो, आँखा रसिलो बनाईन् ।
रोशनीले फलफूल मिठाइ सबै आफ्नो बाबाको फोटो अगाडि राखेर सफा कपडाले उहाँको धुलो भएको फोटोलाई पुछ्दै भनिन्; "सबै सामानहरू अर्पण गरेकी छु, स्वीकार गर्नुहोला ।"
उनले भन्दै गर्दा भाइले छक्क परेर हेरिरह्यो र भन्यो; "दिदी यसरी बाबाको फोटो अगाडि यी राखिएका फलफूल र सबै सामग्रीहरु उहाँले स्विकार्नुहुन्छ होला त ?"
"किन नहुनु भाइ ! हामी छोराछोरीको छहारी भनेको बाबा हो । उहाँ सधै हाम्रो अन्तरआत्मामा बस्नुभएको छ ।"
केही समय पछि जब बुझ्ने भयो ऊ । दिदीलाई आफ्नो मनमा लागेको कुरा राख्यो ।
बाबाको मुख हेर्ने दिन औँसी आयो । सदाको झैँ सबै सामग्री तयार पार्यो उसले । दिदीलाई लिएर ऊ घरबाट बाहिर गयो । उनी पनि अचम्म मान्दै भाइको पछि लागिन् । अलिक पर एउटा आश्रम तीर दिदीलाई लग्यो ।
त्यहाँ भएका वृद्ध बाबाहरुलाई अगाडी राखी आफूले ल्याएको फलफूल मिठाई खान दिए । उहाँहरुलाई नयाँ बस्त्र लगाईदिए । यसरी आफु सम्मानित हुँदा हर्षका आँसु झरेका थिए बाबाहरूको ।
" दिदी यी जिउँदा बाहरुलाई बाबाको सम्झना यी खानेकुरा सबै कुरा अर्पण गरे पो फोटामा भएका बाको आत्माले आशिर्वाद दिनुहुन्छ ।"
भक्तपुर-राधे राधे, निकोशेरा । २०८०-०१-२० गते ।
+++
११३. लघुकथा- कुसे औँसी -सुरेशकुमार पाण्डे
"आमा हामीले हजूरलाई लिन आएका हौं !" मानसिँह र प्रमिलाले बृद्धाश्रममा पुगेर कुशे औँसी बिहानै आमा राधासँग भने ।
"भैगो बाबु अब मलाई कतै जानु छैन । कान्छोले घुम्न लान्छु भनेर यहाँ पुर्यायो, अब तिमिहरूले कता पुर्याउँछौ ? यतैबाट मुर्दा घरजानु पर्ला बरू अब म कतै जाँदैन ।" राधा मलिन हुँदै भनिन् ।
"आमा मलाई पछि थाहा भयो भाई रामेले गलती गरेछ, हजूरलाई झुक्याएर बृद्धाश्रम पुराएको रैछ । हिँड्नुस् आमा हाम्रो घरमा हजूर उतै बस्नुहोला !" मानसिँह र प्रमिलाले अलिबेर बिन्ति बिसाउँछन् ।
आमाको मन त हो त्यो पग्लियो उनि खुसिले गदगद भइन मानसिँह र प्रमिला सँग घर फर्किन तैयार भईन ।
तीनैजना बृद्धाश्रमबाट घर पुगे, खानपिना भयो ! राधाले पनि सबै बितेका दिन भुलेर मनमनै भनि सबै छोरा एकैनासे हुने रैनछन् ।
यही अचानक भित्रबाट आवाज आयो ।
"अब त्यो नानिको रेखदेख गर्न राखेकी आयालाई भोलिबाट छुट्टी दिनुपर्ला । अब आमाले नानिको रेखदेख गरि हाल्नुहुन्छ नी !" प्रमिलाले मानसिँहलाई प्याच्च भनी ।
"होस् !" मानसिँहले समर्थन गर्यो ।
उता त्यो कुरा राधाको कानमा परिहाल्यो ।
घोराही उप महानगरपालिका-१८, दाङ २०२३-०४-१४
+++
११४. लघुकथा- ब्यवस्थापन -हिरनमयी आचार्य शर्मा
बढिपिता, आरामै हुनु हुन्छ ।" भन्दै फोनमा सोध्यो उसले । बढिपिता उसको बुबाको साथी हुन् । बुबाले आफ्नो साथी उमेरमा ठुलो हुनाले "बढिपिता" भनेर सम्बोधन गर्नु भन्नु भएको थियो । हजुरआमा बिरामी भएर बितेको वर्ष दिन पछि कलिलै उमेरमा बाध्यतामा परेर बुबाले बिहे गर्नु पर्यो !
"आहा कति समय पछि सम्झना आएछ त । साह्रै खुशी लाग्यो । भन के छ खबर बाबु ?" बढिपिताले पनि सोध्नु भयो । "ठिकै छ हाम्रो । दुबैजना ब्यस्त छौँ । फुर्सद पनि हुँदैन । अर्को वर्ष छोरा र छोरी बिदेश जाने रे पढन् ।" उसले भन्यो ।
"कति छिटो बिदेश पठाउँन आँटेऊ त !! कहिले आउने होऊ यता र ? बुबाले पनि न्यास्रो मान्नु भएको छ ।" हो हो, के गर्ने भनेको बेलामा फुत्किन पनि सकिनदैन । आउन त मन थियो । यही विषयमा हजुरसँग सल्लाह गरौँ भनेर फोन गरेको ।" उसले भन्यो । "भन न कस्तो सल्लाह होला ।" बढिपिताले सोध्नु भयो । " घुम्नको निम्ति बुबा आउँन खोज्नु हुन्छ तर फेरी पन्द्रह दिन नपुग्दै गाउँ पुराई देऊ भन्न थाल्नुहुन्छ, समयमा बिदा मिलाउन साह्रै हुन्छ मलाई बढिपिता !! बुबालाई त्यतै व्यबस्थित गर्नु पर्यो ।" उसले भन्यो । कस्तो व्यवस्था गर्ने त ?"
"कोहि असहाय, विधुवा बिहे गर्न इच्छुक छन् भने, बुबालाई बिहे गर्नु भनेर भन्नु होस्, हजुरले बढिपिता, बिन्ति गरेँ !!
गुवाहाटी, असम
No comments:
Post a Comment