Tuesday, September 26, 2023

मंगलबारे लघुकथा रोजाइ कार्यक्रम– लक्ष्मी रिजाल, पं.ज्यो. तोयनाथ सुवेदी (मिति–२०८०–०६–०९ श्रृङ्खला– ७०७)

~~मंगलबारे लघुकथा रोजाइ कार्यक्रम~~~

मंगलबारे लघुकथा रोजाइ कार्यक्रम– लक्ष्मी रिजाल (संयोजक/प्रस्तोता) पं.ज्यो. तोयनाथ सुवेदी (टिप्पणीकार) (मिति–२०८०–०६–०९  श्रृङ्खला– ७०७) समय– रातको ७ः३०–८ः३० बजे । अतिरिक्त नारी हस्ताक्षर–एन्जल निलु मीना साह ।

सम्पूर्ण मित्रहरुमा मंगलबारे लघुकथा रोजाइ कार्यक्रममा म लक्ष्मी रिजालको नमस्कार छ । आजका टिप्पणीकारमा पं.ज्यो. तोयनाथ सुवेदी हुनुहुन्छ । आज मिति–२०८०–०६–०९ गते हो ।  आजको श्रृङ्खला– ७०७ हो । अहिले रातको ७ः३० बजेको छ । अतिरिक्त नारी हस्ताक्षरमा एन्जल निलु मीना साहले मलाई सघाउनु हुनेछ ।

सर्वप्रथम आजका टिप्पणीकार पं.ज्यो. तोयनाथ सुवेदी र सात लघुकथा रोज्नुहुने 
नानि भारद्वज, नन्दलाल आचार्य, खगेन्द्र बस्याल, सुनिता निरौला, लक्ष्मी रिजाल र मनोहर पोखरेलप्रति आभार प्रकट गर्दछु ।

आजका लघुकथाको रुपरेखा यस्तो छ-
लघुकथाक्रम-
१. लघुकथा : खोज - खलिल जिब्रान  (अनुवाद: नानि भारद्वज) 
२.  लघुकथा- संसार -गंगा खड्का 
३.  लघुकथा: उजुरी -अम्बिका धिताल
४. लघुकथा- तमाखु   –गुरुदत्त ज्ञवाली
५.  लघुकथा: सरकार -दिव्य गिरी
६.  लघुकथा :- विकृति -ममता मृदुल
७. लघुकथा : हतियार  -डा.रवीन्द्र पाण्डे
+++
नानि भारद्वजको रोजाइको लघुकथा-
१. लघुकथा : खोज - खलिल जिब्रान
अनुवाद: नानि भारद्वज 

एक हज्जार वर्ष अघिको कुरा हो,लेवनानको एउटा भिरालो  ठाउँमा दुई दार्शनिकको भेट भयो। एकले अर्कोलाई सोध्यो,
 "तिमी कहाँ हिंडेको ? " 
अर्कोले उत्तर दियो , "म एउटा यौवनको झरनाको खोजीमा जादैछु,मलाई लाग्छ त्यस्को श्र‍ोत यिनै पहाडहरुको बीच कतै हुनुपर्छ।मलाई केही यस्ता लिखित प्रमाणहरु प्राप्त भएको  छ,जसले त्यस्को उदगम पूर्व तर्फ बताएकाछन्। तिमी चैं के खोज्दै छौ ?"

पहिलो ब्यक्तिले उत्तर दियो , " म मृत्युको रहस्यको खोजीमा छु।"

अब ती दुई दार्शनिकहरुले "आफू जत्तिको महान विद्या ऊ संग छैन" भनी एक अर्का प्रति  धारणा बनाए। उनीहरु बहस गर्न थाले र एकले अर्कोलाई "तँ अन्ध विश्वासी होस् ! भनी आरोप लगाउन थाले। दुवै दार्शनिकहरुको आवाजले वातावरण गुञ्जियो।

त्यसैबेला एउटा अपरिचित त्यहाँ आइपुग्यो,जसलाई उस्को गाउँमा महामूर्ख सम्झन्थे। जब उसले दुवैले उत्तेजित रुपले बहस गरिरहेको देख्यो, तब ऊ केहीबेर सम्म उभ्भिएर उनीहरुको तर्क सुनिरह्य‍ो ।त्यसपछि तिनीहरुको नजिकै आएर उसले भन्य‍ो," सज्जनवृन्द ! तपाइँहरु वास्तवमा दुवैजना एकै सिद्धान्त मान्ने विद्वान हुनुहुन्छ र एउटै कुरा भनिरहनुभएको छ जस्तो लाग्छ,फरक चैं मात्र शब्दहरुको छ,तपाइँहरुमा एउटाले यौवनको खोजी गरिरहनु भएको छ, अर्कोले मृत्युको रहस्य थाह पाउन चहानुहुन्छ। हुनलाई त दुवै एउटै हुन् तर पनि बेग्लाबेग्लै रुपले तपाइँहरुको दिमागमा घुम्दैछन्।"

यति  भनिसकेपछि त्यो अपरिचित फनक्क फर्कियो, "अलबिदा सन्तहरु!" भन्दै हाँस्दै ऊ त्यहाँबाट हिड्यो।
फेरि ती मध्ये एकले भन्यो , " ठीकै छ त अब हामी दुवै मिलेर खोजी किन नगर्ने ?"

विराटनगर,मोरङ्ग।
+++
नोट : यो कथाले विद्वानहरुको महत्वकांक्षा कसरी टकराउँछ र पाखण्डपनको विकास हुन्छ  तर सामान्य अचेत मानिसहरुमा कति सुन्दर ज्ञान हुन्छ जसले धुरन्दर विद्वानको आँखाको पट्टी खोल्दिन्छन् भन्ने कुराको उजागर गर्न खोजेको छ। त्यसैले  मैले केही समय अगाडि अनुवाद गरेको विश्व प्रसिद्ध साहित्यकार खलिल जिब्रानद्वारा लिखित  यो लघुकथा छानेको हुँ।
+++

नन्दलाल आचार्यको रोजाइको लघुकथा-
२.  लघुकथा- संसार -गंगा खड्का 

बाक्लो फ्रेमवाला चस्मा लगाएका रामप्रसादले फेसबुकमा पोस्ट भएको फोटो र क्याप्सनलाई नियाल्ने जमर्को गरे । अक्षर र तस्वीर धमिलो देखिएकाले राम्रोसँग ठम्याउन सकेनन् । उनले अझै आँखा गाडेर जुम गर्दै हेरे । उनले अड्कल गरेको कुरा सही रहेछ । नभन्दै उक्त क्याप्सन पाँच वर्षदेखि अमेरिका बस्दै  आएको उनको नातिले नै लेखेर फोटो पोस्ट गरेको रहेछ । उनले क्याप्सनका अक्षरमा एकएक गर्दै आफूलाई खोजे तर भेटेनन् । त्यसपछि फोटोमा खोजे , त्यहाँ पनि भेटेनन् ।
" साउँको भन्दा ब्याजको माया बढी हुँदो रहेछ " भन्दै पाँच वर्षअगाडि आफ्नो भएको एक टुक्रो जिउनी भाग बेचेर आफ्नै पहलमा  नातिलाई अमेरिका पठाएको घटनापरिघटनाले उनलाई बारम्बार गिज्याउन थाल्यो । नातिको क्याप्सनले उनको रातभरिको निद्रा पनि लुटेर लियो । जुन क्याप्सनमा  उसले आफ्ना बाबुआमा र बहिनीको फोटो राख्दै लेखेको थियो, "मेरो सानो संसार , मेरो सर्वस्व , मेरो खुसी ।" 
बूढानीलकण्ठ , काठमाडौँ
२०८०-४-३१
+++
(गंगा खड्काको  संसार शीर्षकको लघुकथाले सुरुदेखि नै पाठकलाई कौतुहल बनाई अन्त्यमा सकारात्मक सन्देश दिएको हुनाले म नन्दलाल आचार्यलाई यो लघुकथा मन पर्यो र रोजेको हुँ ।)
+++
खगेन्द्र बस्यालको रोजाइको लघुकथा-
३.  लघुकथा: उजुरी -अम्बिका धिताल 

कमलविनायक भक्तपुर 

"अझै पनि किन हुन्छ सर भेदभाव?"

तिलकको प्रश्नको उत्तर सुन्न कक्षामा सन्नाटा छायो।

सामाजिक विषयमा 'भेदभाव' शीर्षकको पाठ पढाइरहनुभएको  थियो जितेन्द्र सरले ।

उहाँलेभन्नुभयो,"सबैले ध्यान दिएर सुन ,अझै पनि मानिसमा चेतनाको स्तर कम छ । त्यही अशिक्षा र अन्धविश्वासले गर्दा काहीँकतै यस्ता घटना घट्ने गर्छन्।"

हत्तपत्त रामले उठेर भन्यो," पढेलेखेका मान्छेहरुले पनि यस्ता काम गरेको भन्ने समाचार आउँछ नि सर अशिक्षा मात्र कसरी भयो त ?"

जितेन्द्र सरले संयमित हुँदै भन्नुभयो,"हो उनीहरु पढेका तर अन्धविश्वासको पछि लागेकाले समस्या भएको हो ।"
रमिताले जुरूक्क उठेर सोधिहालिन्," यस्ता घटना घटे भने कहाँ अजुरी गर्ने सर ?"

सरले भन्नुभयो,"अहिले त धेरै सजिलो छ । आफ्नै ठाउँमा  स्थानीय सरकार छ । त्यहाँ गएर उजुरी गर्ने।"

यति भनेसँगै खाजा खाने घण्टी बज्यो । सबै विद्यार्थी चौरमा बसेर खाजा खाँदै थिए ।

रामले दौडँदै गएर टेबुलमा राखिएको बोतलको पानी घटघटि पियो।

"मैँले त्यहाँ राखेको पानी किन तैँले छोइस्?"भन्दै सरले लाठ्ठी बर्साउनु भयो।

विद्यार्थीहरूले घेर्दै भने,"शिक्षा दिने ठाउँका शिक्षकबाटै यस्तो भेदभाव ? , खै तपाईंले कक्षामा दिनुभएको शिक्षालाई व्यावहारमा उतार्न सक्नुभयोको । सबैजना जाऊ अब पालिकामा गजुरी गर्न।"
+++
एन्जेल्र निलुको रोजाइमा

४. लघुकथा- तमाखु   –गुरुदत्त ज्ञवाली
     तिलोत्तमा १, रुपन्देही  

पाल्पा सानो हुँगीबाट कामको खोजीमा हिडेको ऊ कालीगण्डकी झोलुङ्गे पुल तरेर स्याङ्गजाको जिमुवा हुँदै गल्याङ जान शिखरडाँडाको उकालो चढ्दै थियो । शमीको रुख पल्तिरका साहुबाले दलानको खाटमा बसेर तमाखु मिच्दै थिए, उसलाई देखेर भने, “ ए सेते आइज एक सर्को तमाखु तानेर जालास् ।” उ तमाखु खाने लोभले त्यतै गयो र पेटीमा टुसुक्क बस्यो ।

साहुबाले, ए सेते त्यो आगनको दाउराको ठुटो फर्लक्क पारिदे मैले तमाखु सल्काउँछु–उसले दाउरा चिरेर सक्यो । साहुबाले तमाखु सल्काउँदै भने– जा त सेते गोठमा भैंसी कराएको छ, एउटो मुठो घाँस लगेर भकारामा छिरल्दे । उसले त्यो काम पनि ग¥यो । “उ त्यो ताउलोमा एक गाग्री पानी थपेर भैसीलाई कुँडो दे त..., अनि तमाखु खालास् ।” उसले भैँसीलाई कुडो पनि दियो । यसै गरेर साहुबाले अरु धेरै काम अह्राए, उसले सबै काम सक्यो । उता तमाखुको राग सकिएर चिलिमको आगो निभ्यो र  चिलिममा गोँजे मात्र रहेको अवस्थामा पुग्यो, साहुबाले तमाखु तान्न दिने छाँट देखेन ।

झोँक चलेर उसले भन्यो, “आमा कसम अब तिम्रो तमाखु खाए त...।” त्यहाँबाट फनक्क फर्केर उ गल्याङतिर जान उकालोतिर पाइला के चालेको थियो, साहुबाले भने– अभागी मोरो, यत्रा’बेर पर्खेर तमाखु नखाइकन जान्छ । आइज तमाखु थपेर खालास् । “पक्का हो साहुबा ?” उसले अघि भर्खरै आमा छोएर कसम खाएको कुरा बिर्सेर पुनः तमाखु खान फक्र्यो । साहुबाले भने– ज्या..., तमाखुको त भाँडै रित्तिएछ, जा जा गल्याङ गएर तमाखु किने ल्या.., पैसो भरे तेरै हातमा दिम्ला !
+++
सुनिता निरौलाको रोजाइमा
५.  लघुकथा: सरकार -दिव्य गिरी
 
 अदालतमा न्यायाधीशको बेञ्चमा केही प्रहरी र हातमा हतकडी लगाएको एउटा दुब्लो अनुहार र पातलो शरिरको एकजना अभियुक्त थियो । अभियुक्तका चार पाँचजना आफन्त पनि बसिरहेका थिए । 
'यसको अपराध के हो ?' न्यायाधीशको पहिलो प्रश्न । 
'श्रीमान्, यसले सरकारको बिरोध गर्दै सडकमा नारा लगाएर हिँडिरहेको थियो ।' प्रहरी हवल्दारले अभियोग सुनायो ।
'के यो कुरा साँचो हो ?' न्यायाधीशको दोस्रो प्रश्नको उत्तर युवकले दिएन । ऊ चुपचाप बसिरह्यो ।
'बोल् किन नबोलेको ? तँ सरकारको बिरोधमा नारा लगाएर हिँडेकोबखत हामीले तँलाई समातेको हो कि होइन ? भन् ।' हवल्दारले अलिकति रिसाएजस्तो भावमा भन्यो ।
'यसको प्रमाण छ ?' यस पटक न्यायाधीधले प्रश्न हवल्दारतिर फर्केर सोधे । 
'छ श्रीमान् ।' यति भन्दै हवल्दारले उस्लाई आदेश दियो- 'तेरो पिठ्यू श्रीमान् न्यायाधीशलाई देखा ।'
 ऊ अर्थात कथित अभियुक्त युवक न्यायाधीशतिर पिठ्यू फर्काएर उभियो ।
 उसले लगाएको कालो टीसर्टमा ठूलाठूला भङ्गेरे टाउके अक्षरमा सेतो रङले लेखिएको थियो - 'मेरो देशको सरकार हरायो।' 
 
 असोज २, २०८०
+++
लक्ष्मी रिजालको रोजाइमा
६.  लघुकथा- विकृति -ममता मृदुल 

"नहास्नु ल एउटा कुरा भन्छु," मैले बरण्डाबाट काेठामा पसेर उहाँलाई भने ,
"के कुरा हाे र?" उहाँले छक्क परेर साेध्नुभयाे
"हिजाे फेसबुक भरि तीजले विकृति ल्यायाे भनेर भाइरल भएको छिमेकी चिन्नु हुन्छ नी ?"
 "किन नचिन्नु त्यही कलेजकाे प्राडा होइन ?"
"हाे भन्या ।"
"अनि के भाे त ?"
 हाम्राे मूल ढाेकाछेउको नालामा हिलाम्मे भएर गीत गाउँदैछ,
 खाेई के काँडो भन्दै घाेच्याे चस्स चस्स ।
धन्यवाद ।।
+++
मनोहर पोखरेलको रोजाइमा
७. लघुकथा : हतियार -डा.रवीन्द्र पाण्डे

भित्रभित्रै तेस्रो विश्वयुद्धको तयारी भइरहेको थियो | क्षेत्रीय, राजनैतिक, आर्थिक, धार्मिक तथा अन्य कारणले विश्वयुद्ध भएमा त्यसको लागि जल, स्थल तथा नभमा सैनिक तथा शक्तिशाली हतियारको संग्रह बढ्दै थियो | अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, उत्तर कोरिया, इजरायल, इरानलगायत विश्वका धेरै देशले आणविक हतियारको निर्माण तथा परीक्षणमा प्रतिष्पर्धा गरिरहेका थिए | अमेरिकाले मात्र २०१९ मा मात्र ७३२ डलर बिलियन सुरक्षा बजेट छुट्याएको थियो भने अन्य शक्तिराष्ट्रले पनि सुरक्षामा ठूलो लगानी गरेका थिए | आरपिगी, एसएएम, एएच – ६४ अपाचे गनशिप, एफ -३५ लाइटिंग २, निमिज क्लास एयर क्राफ्ट क्यारियर, केमिकल विपन, अग्नि मिसाइल, त्रिडेन्ट-२ लगायतका खतरनाक हतियारको संग्रह बढ्दै थियो | एके - ४७ एसल्ट राइफल मात्र ७५ मिलियन थिए भने डेथ नोटजस्ता खतरनाक हतियारको खरिदबिक्रि पनि बढ्दै थियो |
हेक्लर एण्ड कोच, ईस स्निपर राइफल, प्रति मिनेट २०००- ६००० राउण्ड प्रहार गर्ने एम १३४ मिनिगन, युएसआइएनजीका युनाइटेड स्टेट्स नेभीजस्ता (युएसएस जुम्वाल्ट - डीडीजी १००० ) समुन्द्रमा हान्ने युद्ध सामग्री अन्य देशमा पनि रेती लगाएर बसेका थिए | लकिड मार्टिन एफ -३५ लाइटिंग २, छेन्दु जे – २०, सुकोई सु – ५७, डासल्ट राफल, युरोफाइटर टाइफुन, बोइंग एफ – १५ एक्स, जेएफ – १७ थन्डर लगायतका फाइटर जेट तम्तयार भएर बसेका थिए | उत्तर कोरिया लगायतका देशले ब्यालेस्टिक मिसाइलको परीक्षण गरिरहेका थिए | जैविक हतियारहरु विश्वका धेरै प्रयोगशाला भरिभराउ अवस्थामा रहेका थिए | स्टक पाइल्समा अकल्पनीय हतियारको संग्रहालय नै थियो |
पृथ्वीलाई ध्वस्त गर्ने क्षमताका द बि -४१ हाइड्रोजन बम, जार बम, बि ५३ न्युक्लियर बम, १३ हजार ८० वटा न्युक्लियर वारहेडलगायतका धेरै आणविक हतियार पृथ्वीको गर्भमा राखिएको थियो | फोर्स अमेरिका, रसियन एयर फोर्स, द पिपल्स लिबेरेसन एयर फोर्स, इजरायली एयर फोर्स, इन्डियन एयर फोर्स लगायत धेरै देशका एयर फोर्स संख्या तथा गुणबत्ता बढाउन प्रतिष्पर्धा गरिरहेका थिए | त्रिशुल, अग्नि, अर्जुन, भिम क्षेप्यास्त्र भारतले राखेको थियो भने ती भन्दा कयौं गुणा टाढा हान्न सक्ने क्षेप्यास्त्र अमेरिका, रुस, चीन, उत्तर कोरिया लगायतका देशमा थिए | सैनिक ट्यांकको परेडले धरतीमा कम्पन छुटेको थियो |
अमेरिकी राष्ट्रपतिको सुरक्षाकर्मीले कालो सुटकेस बोक्ने गर्दथे | जसलाई न्युक्लियर फुटबल भनिन्छ | यसको स्विच थिच्ने बित्तिकै ठूलो क्षेत्रफल क्षणभरमै ध्वस्त हुन्थ्यो | यस्ता सुटकेस धेरै देशका राष्ट्रप्रमुखसंग थियो | आणविक बमले पृथ्वी ध्वस्त गर्न सक्छौं भन्ने थेगो गौरबको बिषय भएको अवस्थामा साना तथा गरिब देशहरु पनि आफ्ना नागरिकको पेट काटेर फौज र हतियारमा ठूलो लगानी गरिरहेका थिए | पृथ्वी र पृथ्वीबासीको आयु आणविक सन्तुलनमा चलेको थियो |
यसैबीच सन् २०१९ को अन्त्यमा चीनमा देखिएको कोरोना भाइरसले बिमान, जहाज, रेल तथा बसलगायत पुंजिबादको उत्पादनमा चढेर संसारको छातीमा आक्रमण गर्यो | कोरोना भाइरसले विश्वका गरिब राष्ट्रमात्र हैन धनी र शक्तिशाली राष्ट्रलाई पनि उत्तिकै आक्रमण गर्यो |
विश्वलाई ठप्प पारेको कोरोना भाइरससंगको युद्धमा खरबौं डलरका खतरनाक हतियारमा खिया लाग्यो | मास्क, स्यानिटाइजर र खोप अचुक अस्त्र साबित भए | ‘गेट, सेट एण्ड गो ’ को लागि तम्तयार करोडौं सुरक्षाकर्मी र खरबौं डलरका आणविक हतियारका मालिकले भने – मास्क, स्यानिटाइजर र खोपभन्दा अचुक अस्त्र अरु छैन |
(अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस विशेष)
+++

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...