Tuesday, September 19, 2023

मंगलबारे लघुकथा रोजाइ कार्यक्रम–७०० लक्ष्मी रिजाल+तोयनाथ सुवेदी+एन्जल निलु (२०८०–०६–०२)

मंगलबारे लघुकथा रोजाइ कार्यक्रम– लक्ष्मी रिजाल (संयोजक/प्रस्तोता) पं.ज्यो. तोयनाथ सुवेदी (टिप्पणीकार) (मिति–२०८०–०६–०२ श्रृङ्खला– ७००) समय– रातको ७ः३०–८ः३० बजे । अतिरिक्त नारी हस्ताक्षर–एन्जल निलु मीना साह 

आजको लघुकथाक्रम यस्तो छ-
१. लघुकथा- पापसँग जोडिएको धर्म -अप्सरा आचार्य
२. लघुकथा- यन्त्र -खेमराज पोखरेल
३. लघुकथा- चरी जेलैमा -अवतार ढकाल
४. लघुकथा- लाेकाचार -विष्णु भण्डारी आचार्य
५. लघुकथा- शालीनता -रमेशमोहन अधिकारी

आजको कार्यक्रम नियाल्न धेरै जना लघुकथाप्रेमीहरु पाल्नुभएको छ । उहाँहरु सबैलाई एकमुस्ट नमस्कार र स्वागत भन्दै म आजका कथाहरु वाचन र छोटो प्रतिक्रिया व्यक्त गर्न अनुमति चाहन्छु ।

+++
१. लघुकथा- पापसँग जोडिएको धर्म -अप्सरा आचार्य

ऋषिपञ्चमीको दिन पूजा लगाउने तयारी हुँदै थियो । टोलको सप्तऋषिको मन्दिर परिसरमा टोलछिमेकका सबै महिला दिदीबहिनीहरू मिलेर पूजा लगाउने भनेर ठिकठाक पर्छन् । पल्लो घरकी सुन्तली दिदी पनि आफ्नी बिस वर्षकी छोरीलाई पूजामा सहभागी गराउने भनेर लिएर आइन् । रजस्वला भैसकेपछि हरेक महिलाले पञ्चमीको विधिवत् पूजाआजा गरेर कर्कलो र भात खाई व्रत बस्ने प्रचलन छ हाम्रो हिन्दू संस्कारमा । हाम्रा आमा हजुरआमा सबैले यसै गर्दै आउनुभयो अनि हामीले पनि निरन्तरता दिँदै आएका छौँ ।
पूजा सम्पन्न भइसकेपछि पण्डितजीले पञ्चमिको कथा सुनाउन थाल्नुभयो । कथामा महिनावारी भएकी महिलाको कस्तो कस्तो रूप हुन्छ व्याख्या गर्दै भन्न थाल्नुभयो । रजस्वला भएको पहिलो दिन स्त्री चण्डालिनी हुन्छे । दोस्रो दिन बृह्मघातिनी तथा तेस्रो दिन धोबिनीको समान अपवित्र हुन्छे । चौथो दिन नुहाइ धुवाइ सकेर शुद्ध हुन्छे । रजस्वला भएका बेला छोइछाइ गर्दा पाप लाग्छ अनि वर्षभरि गरिएको पाप पखाल्नका लागि पञ्चमीको पूजाआजा गरी व्रत बसिन्छ भन्ने कुरा कथामा आयो ।
यति कथा सुनिसकेपछि सुन्तली दिदीको छोरी आज्ञा जुरुक्क उठ्छिन् र भन्छिन्, “पण्डितजी हामीले रजस्वला भएर के पाप गरेको छौँ र यहाँ पाप पखाल्ने कुरा हुँदै छ । अनि हामी महिलालाई पर सरेका बेला दिएका उपनामहरूले यहाँ महिलाको खिल्ली उडाएको रहेछ । प्रकृतिको नियम हो रजस्वला हुने । हामीले किताबमा पढेको कुरा गर्ने हो भने यो एक स्वाभाविक प्रक्रिया हो जसरी शरीरबाट दिशा, पिसाब र पसिना निस्कन्छ त्यसरी नै महिलाहरूको शरीर परिपक्व भएपछि रजस्वला हुन्छन् । यो प्रकृतिको नियमलाई पाप भनेर जबरजस्ती धर्म गराउन खोज्नु धर्म को गलत व्याख्या हो । मैले रजस्वला भएर न कुनै पाप गरेँ र अब न मलाई यो पापसँग जोडिएको कुनै धर्म नै गर्नु छ । वातावरणमा एक छिन सन्नाटा छाउँछ । सबै मुखामुख गर्छन् ।
(इमाडोल ललितपुर)
+++


२. लघुकथा- यन्त्र -खेमराज पोखरेल


‘के वर माग्छौ मनुष्य ? तिम्रो तपस्या याने रिसर्चको हेतु के हो ?’ कम्प्युटरको प्रयोगशालाबाट एउटा यन्त्र बोकेर भगवान् प्रकट भएर सोधे ।
ऊ अचम्मित भयो । उसको लामो समयदेखिको रिसर्च सफल भएको थियो ।
उसले भगवान्लाई एकोहोरो हेर्यो । कल्पकल्प बितेका दाह्री पालेका, केशविन्यास नमिलेको, दाह्रानङ्ग्रा भएका अट्टहास हाँस्ने एउटा स्वरूप उसको अगाडि थियो ।
उसले गुगलमा ‘भगवानको स्वरूप’ भन्ने वाक्य टङ्कण गर्यो । सोही आकृति देखा पर्यो । अब भने ऊ ढुक्क भयो कि यही स्वरूप भगवान् हो ।
उसले भगवान्लाई भन्यो — हे भगवान् ! यो पृथ्वीका मान्छे किन विकृत भएका ?, यसको कारण के हो ? सद्दे र विकृत मान्छे चिन्ने कसरी ??
भगवान्ले भने — यति जाबो कुरा पनि थाहा छैन मनुष्य ?
उसले भन्यो — छैन नि भगवान् ।
भगवान्ले भने — मनुष्य ! तिम्रो रिसर्चले एउटा यन्त्र जन्माएको छ । त्यो मसँग छ । यसलाई मैले अपारदर्शी र सुन्दर कागजले छोपेको छु । यो यन्त्र तिमी घर लिएर जाऊ । कोही मानिस विकृत छ कि छैन भनेर जाँच्नका लागि यो कागज खोल । अनि यो यन्त्र उसैलाई देखाइ देऊ । यो यन्त्रले भन्ने छ ।
ऊ यन्त्र बोकेर घर पुग्यो । श्रीमतीले सोधिन् — चिया सँगै पिउने हो ? बनाऊँ ?
उसले यन्त्र श्रीमतीतिर फर्कायो । श्रीमती मनमनै भन्दै थिइन्, ‘यस्तो घोसे चिसो ढुङ्गाजस्तो लोग्ने हुनुभन्दा त बरु .....’
ऊ झर्कियो ।
कोठामा पुगेपछि यन्त्रलाई टेबलमा राखेर लुगा फेर्न थाल्यो । त्यो यन्त्रमा ऊ आफैँ देखियो । विकृत र दुष्ट ।
+++

३. लघुकथा : चरी जेलैमा -अवतार ढकाल 

तीज लाग्नु भन्दा पन्ध्र दिन अगाडि देखि नै दर खाने कार्यक्रमहरू आयोजित थिए । शहरका होट्ल र पार्टी प्यालेसहरू भरिभराउ हुन थालिसकेका थिए । पर्वको नाम उहि तर सँस्कृतिको मौलिकता मेटिंदै गएको थियो ।
मेरो एकजना मिल्ने साथी र म एउटा रेष्टुरन्टमा खाजा खाँदै गफ गर्दै थियौं । अलि परको टेवलमा महिलाहरूको एउटा सानो टोली थियो । उनीहरूको चर्को कुराकानीले हाम्रो कुराकानीलाई छोपिरहेको थियो ।
`गेम खेल्न भनेर मोवाइल मगाको यस्तो पठाइदिएछ ।खासै मन परेको छैन ।´ ` मलाई त एउटा प्रोग्राममा लगाको कपडा अर्कोमा लगाउन मनै लाग्दैन ।´ ` सुड्डोहरूलाई खुसी पार्न सकियो भनें त टिकटकमा टन्नै गिफ्ट मिल्काउँछन यार।` छोराछोरीलाई बोडस गर्देकी छु । ढुक्क छ ।´ ` ह्य बुडाबुडीको चाकर गरेर नि कोहि गाउँमा बस्छ । ´ उनीहरूका यस्तै यस्तै गफगाफहरू र उन्मुक्त हाँसोले रेस्टुरन्ट गुल्जायमान थियो । टेबलमा रित्तिँदै गरेका बोतल र गिलासहरू र प्लेटहरू थिए ।
` लौ अब एकछिन रमाइलो गरौं । एकछिन उफ्रियो भनें बल्ल खाको पच्छ ।´ उनीहरू मध्येकी एउटीले प्रस्ताव गरि । सबैजना जर्याकजुरुक उठेर खाली ठाउँमा उभिए । एउटीले सानो स्पिकरमा ब्लुटुथ कनेक्ट गरेर गीत बजाउन सुरु गरि : ` चरी जेलैमा .....।´ उनीहरू सबै फ्री स्टायलमा उफ्रन थाले ।
`यस्तो स्वतन्त्रता । अनि गीत चाहिँ चरी जेलैमा ।´ मैले आफुलाई चित्त नबुझेको कुरा साथीसँग राखें ।
` गीतका अरु कुरा यिनीहरूसँग नमिले पनि यो लाइन चाहिँ मिल्छ ।´ साथीले भन्यो ।
मैले ` कसरी?´ भन्नें आसयले मुन्टो उठाएर हेरें ।
`हेर यिनीहरू ढोका बिनाको जेलमा आफुले आफैंलाई कैद गरेका चरी हुन । बिशुद्ध अर्काले हालिदिएको चारो खाएर मोटाउने जेलका ब्रोइलर चरीहरू ।´ उसले भन्यो ।
+++

४. लघुकथा—लाेकाचार -विष्णु भण्डारी आचार्य

एक्लाे छाेराकाे लागि बाबुले कमाइदिएका अथाह सम्पत्ति छदैथियाे प्रमाेदकाे ।
समाजमा प्रतिष्टा कमाएरै बसेका ब्यक्ति पनि हुन् ऊ । त्यही भएर त बाबुको काजकिरिया धौ फुकाएरै गरे उनले । एकतोलाको त पिण्ड काट्ने सुनको फाली नै दान गरे । लुगाफाटा ,फर्निचर भाँडाकुँडा भाेजखर्च जम्मै गरि लगभग आठ दशलाख दान गरेकोजस्तो अनुमान लगाउन सकिन्थ्यो ।
तेर्हाैँ दिनको तिथीमा मान्छेको घन्चमन्च ठूलै  थियो ।शायद मलाम गकाजति कोही छुटेकाथिएनन् हाेला जस्ताे लाग्थ्याे। 
 छोराछोरी हो्उन् त प्रमोदजस्ता । मरण होस् त  प्रमाेदका बाकाे जस्ताे।पुरोहित पुरोहित्नी दङ्ग हुदै कुरा गर्थे । टाढाबाट आउनेहरु पनि त्यही भनाईमा सहमत जनाउथे । 
 केही पर छिमेकीहरुकाे एक समुह भने एकापसमा मुखामुख गरि कानेखुसीमा कुरा गर्दैथिए
जसले बालाई,दुईवर्षअघिदेखि अध्याराे काेठा ,चिसाे भुइँ, थाेत्रे गुन्द्रीमा मात्र सुताएकाे देखेकाथिए ।
बेलबारी माेरङ
+++

५. लघुकथा- शालीनता -रमेशमोहन अधिकारी

उहाँ राष्ट्रिय रूपमा चर्चित व्यक्ति हुनुहुन्छ । एउटा मात्र प्रतिभाको प्रबलता भए तापनि हरेक क्षेत्रको धेरथोर ज्ञान उहाँमा छ । त्यसैले कसै कसैले उहाँलाई बहुमुखी प्रतिभा पनि भन्ने गर्दछन् । 
एउटा रङ्गमञ्चको पर्दा उघारिँदा उहाँ देखिनुभयो । उहाँको शालीनता, जनताप्रतिको दायित्वबोध, राष्ट्रियताजस्ता राजनीतिका सबल पक्ष उहाँको व्यक्तित्वबाट स्पष्ट झल्कन्थ्यो । उहाँ एउटा छाता बनाउँदै हुनुहुन्थ्यो, आफ्नै हातले । त्यो छाता त गजबको रहेछ । त्यस छाताको आकार नेपालकै आकारको थियो । त्यस छातामुनि जति मान्छे अट्थे, तिनका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार आदिसम्बन्धी यावत् समस्याहरू स्वतः दूर हुँदै जान्थे अर्थात् छातामुनिका सबै हरेक दृष्टिले सन्तुष्ट हुन पाउँथे । त्यस्तो छाता बनाउन पाउँदा उहाँका अनुहारमा पनि प्रसन्नताका रेखाहरू सल्बलाएका स्पष्ट देखिन्थे । 
उहाँले त्यो छाता द्रुत गतिमा बनाउँदै हुनुहुन्थ्यो । छाता ज्यादै ठूलो हुनाले एकै दिनमा बन्न सक्तैनथ्यो । अर्को अर्को दिन पनि उहाँ रङ्गमञ्चको पर्दामा देखिनु नै पथ्र्यो । 
भोलिपल्ट पनि दर्शकहरू नाट्यशालामा खचाखच थिए । उहाँ रङ्गमञ्चमा देखा पर्नुपर्ने समय बित्दै गइरहेको थियो तर उहाँ पर्दामा देखा पर्नुभएन । दर्शकहरू अधीर भए र आफैंँआफैंँमा प्रश्न गर्न लागे “कतै उहाँलाई केही त भएन ?” 
यस्तै खासखुस हुँदाहुँदै अलि छटपटे खालका एक दुईजना दर्शकहरू पर्दापछाडि चियाउन पुगे । पर्दापछाडि उहाँ नै त्यो छाता धमाधम भत्काउँदै हुनुहुँदोरहेछ । 
त्यहाँ गएकाहरूमध्ये एकले ज्यान हत्केलामा राखेर डराई डराई प्रश्न गरे “बहुमुखी प्रतिभावान् राष्ट्रिय व्यक्तित्वज्यू ! यो छाता पुनः किन भत्काउन लाग्नुभएको ?” उहाँले उही शालीन शैलीमा जवाफ दिनुभयो “अहिले पुनः मैले रङ्गमञ्चको पर्दामा देखा पर्नु छ र पुनः छाता बनाउनु छ ।” 
लेखन ः २०५९

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...