भीम पौडेल घाँसेको ‘झट्केलो छोरो’ को कृति परिचय
–नन्दलाल आचार्य
उदयपुर जिल्लाको साहित्यिक इतिहासमा भीम पौडेल घाँसे (२०१८) को अलग्गै पहिचान छ । उनले ‘रविमाला’ कविता कृतिपछि हालै ‘झट्केलो छोरो’ उपन्यास कृति सार्वजनिक गरेका छन् । आख्यान र काव्य विधामा रमाउने घाँसे यदाकदा निबन्ध पनि लेख्छन् । सानो छँदा उपयुक्त लेखपढ र साहित्यिक वातावरणबाट बन्चित रहेका घाँसेलाई हिन्दी र नेपाली उपन्यासले उपन्यास लेखनमा आकर्षित गरेको हो । उनी ज्योतिष विधामा समेत पारङ्गत छन् । उनमा हिन्दु सांस्कारिक रीतिथितिको समेत राम्रो जानकारी छ । जीवनको सुखदुःखलाई नजिकैबाट अनुभूत गरेका घाँसेले आफ्नो अनुभूतिलाई आदर्शको जलप लगाएर पाठक सामु पस्किएका छन् ।
‘झड्केलो छोरो’को बाह्य स्वरूप
‘झट्केलो छोरो’ उपन्यासको गाता चित्र उनी आफैँले बनाएका हुन् । सेतो पृष्ठभूमिमा कालो, रातो, नीलो रङमा उपन्यासको केन्द्रीय भाव बोकेको ग्रामीण परिवेशको चित्र छ । चित्रमा घरको आँगनमा मताबे, सौतेली भाइ बोकेकी उसकी आमा, उसकी सौतेली बहिनी, आफूतिर गिद्धे नजर गाडिरहेको सौतेली बाबु रहेका छन् । मताबे भने ओझलमा उभिएर टुलुटुलु हेरिरहेको विवस प्राणी आभास हुन्छ । यस चित्रले नै उपन्यासको मूल कथ्यलाई सम्बोधन गरेको छ ।
सौतेलो बाबुसामु मताबेले सास्ती पाएको छ । उसको संरक्षण आमाले गरेकी छन् भन्ने आभास चित्रबाटै मिल्छ । गहिरिएर हेर्दा भावयुक्त चित्र छ । तर आकर्षक विल्कुलै छैन । आकर्षक चित्र हेर्ने बानी परेका आधुनिक पाठक मनलाई चित्रले तान्न सक्तैन । भाव खोज्ने पाठकलाई भने चित्रले कौतुहल बनाउँछ र भित्र के रहेछ भनी खोतल्न वाध्य पार्छ ।
‘झट्केलो छोरो’ को प्रकाशक कृष्ण कुमारी पौडेल रहेकी छिन् । ठेगाना कटारी–०८, टोड्केपानी, उदयपुर रहेको छ । पुस्तकको प्रकाशन मिति २०८० रहेको छ । गाता पृष्ठसहित पुस्तकको पृष्ठ सङ्ख्या १८ र ८३ गरी १०१ रहेको छ । मूल्य भने रु. २५० (व्यक्तिगत) र रु. ८०० (संस्थागत) तोकिएको छ । पुस्तकको आकार सुहाउँदो छ । पुस्तकभित्र जम्मा १३ वटा पाठ छन् । पुस्तकको मुद्रक कार्की छापाखाना, गाईघाट, उदयपुर हो । लेआउटमा विकास थापा मगरको नाम छ । पुस्तकको आवरण उपन्यासकार घाँसे स्वयम्ले बनाएका हुन् । पुस्तकको भूमिका पुण्य कार्कीले ‘भीम पौडेल ‘घाँसे’को औपन्यासिकता’ शीर्षकमा लेखेका छन् । त्यस्तै अर्को भूमिका डा. कैलाश राईको ‘झड्केलो छोरो’ शीर्षकमा छ । मेरो गन्थन शीर्षकमा उपन्यासकार भीम पौडेल ‘घाँसे’ ले प्रविधि नजान्दाको पिरलो र दुखेसो पोखेका छन् । उनले आफ्नो ठेगाना कटारी–८, टोड्केपानी, उदयपुर, सम्पर्क फो.नं.– ९७६३०४१४३६ (भीम पौडेल ‘घाँसे’) भनी उल्लेख गरेका छन् ।
‘झड्केलो छोरो’ को मूल भाग–
समाजमा तिताटर्रा कामकुरा हुन्छन् । तिनलाई मनमा कुहाउनुहुन्न । समयको आवाज सुन्नुपर्छ । पछुतोमा परेलाई सहयोग गर्न पछि पर्नहुन्न । कृतघ्नलाई घृणाले बदला दिनुहुन्न, कृतज्ञता जाहेर गरेर आदर्श समाजको स्थापना गर्नुपर्छ । घृणलाई घृणाले कहिल्यै पराजय गर्न सकिन्न । आदर र प्रेमको हतियार प्रयोग गरे सजिलै जित हात पार्न सकिन्छ । यही ‘झट्केलो छोरो’ उपन्यास कृतिको मूल विषय र विषयवस्तुको भावगत आशय हो ।
आजका लेखकले आदर्श समाज बनाउने प्रण गर्नुपर्छ । समाजमा त्याग र बलिदानी गर्ने पात्र हुनुपर्छ । आदर्शको गोरेटोमा हिँडे मात्र समाज उँभो लाग्छ । ‘झट्केलो छोरो’ मा लेखकले भन्न खोजेका प्रमुख कुराहरू यिनै हुन् ।
त्यागको बाटो हिँडेमा आदर्श समाज भेटिन्छ भन्न उपन्यासकार स्पष्ट छन् । सबैले अहङ्कार त्याग्न सके समाज उँभो नलाग्ने कुरै छैन । आदर्श जति मिठो हुन्छ अपनाउन उत्तिकै तितो हुन्छ । उपन्यासले नाटकीय छलाङ लगाएको छ । केही घटना र प्रसङ्ग अस्वभाविक प्रतीत हुन्छन् ।
दलबहादुर बाँनियाँले मुद्दामा फँसाएकाले बाबु नैनसिंह पुलामीको सिरीखुरी स्वाहा हुन्छ । मुखियाले जग्गा कब्जा मात्र गर्दैन नैनसिंहलाई बँधुवा हली समेत बनाउँछ । बिरामी भएको बेलामा पनि काममा जोताएको कारण अकालमै नैनसिंहको प्राणपखेरु उड्छ । दयाराम जस्ताको यौनपिपासु प्रवृतिबाट जोगिन हम्मेहम्मे परेकाले बखतबहादुर आलेसित मताबेकी आमाले बिहे गर्छिन् ।
त्यहाँ मताबेकी आमाले बहिनी र भाइ जन्माउँछिन् तर उसले सौतेनी बाबुको माया कहिल्यै पाउँदैन । आमा अन्यत्र गएको बखत मताबेले पानी लिन जाँदा अन्जानबस् गाग्रो फुटायो । बाबुले कुट्छ भनेर डरले घर छाडेर तराईतिर भाग्यो । अनेक हन्डर खाँदै अर्काकहाँ काम गरेर ऊ किशोर भयो । त्यसै गाउँकी भुन्टीको प्रेमपासमा फँस्छ । उसलाई आफ्नो जीवनसंगिनी बनाउन राम्रो आम्दानी हुनु जरुरी ठान्छ र सल्लाहले काठमाडौँ पस्छ ।
उता मताबेकी आमा छोराको शोकमा बहुलाही बनेर बेपत्ता हुन्छिन् । यता भुन्टीको विवाह अर्कै केटासँग हुन लाग्छ । भुन्टी पनि मताबेको नाम लिँदै भागेर काठमाडौँ पस्छे । गाँसबासको राम्रो व्यवस्था गरेर मताबे भुन्टीलाई लिन आउँदा भेट्दैन र उसकै खोजीमा पुनः राजधानी छिर्छ । मानसिक अवस्था बिग्रेकै रुपमा आमालाई भेट्छ र अस्पतालमा उपचार गराउन भर्ना गर्छ । मताबेसँगको बिछोडले विक्षिप्त बनेकी भुन्टीलाई करुणा आमाले भेटेर सोही अस्पतालमा उपचारका लागि ल्याउँछिन् । यसरी अपूर्व संयोगले भेट हुनुपर्ने तिनै जनाको भेट हुन्छ । आमा र भुन्टीको औषधी मताबे बन्छ । दुबै सन्च हुन्छन् । भुन्टी र मताबेको लगनगाँठो कसिन्छ ।
मताबेले राम्रो उन्नति गरेर समृद्धिको यात्रा गर्छ । आफ्नै गाउँ गएर गुमेको जायजेथा उकास्छ । अरु पनि थप्छ । उता सौतेनी बाबु दरिद्रनायक कहलिन्छ । परिवारको पुनर्मिलन भए पनि उसको अनुहारमा खुशी नाच्न सक्तैन ।
मताबेले विगतका तिता कुरा बिर्सेर बखतबहादुरलाई सपरिवार आफ्नै घरको अंशियार बनाउने कुरा गर्छ । यसरी आदर्शोन्मुख विचार दिएर उपन्यास अन्त्य भएको छ ।
उपन्यासमा मताबे, बखतबहादुर र मताबेकी आमा केन्द्रीय पात्र हुन् । अन्य परीधिय पात्र प्रशस्त छन् । माताबेको आनीबानी शुरुदेखि अन्तसम्म आदर्शवादी नायक चरित्रको छ । उसले जीवनमा सहनै नसक्ने हन्डर खाएको छ । उसको जीवन नै एउटा दुःख सागर हो । सुरुआतको जाति स्वभाव अन्तसम्म उसले जाति नै देखाएको छ ।
बखतबहादुर स्वार्थी खलनायक पात्र हो । ऊ मताबेलाई मान्छे सम्झदैन । उसको मनमा मताबेप्रति घृणा मात्र छ । अन्त्यमा धन निख्रेपछि धन र मन दुबैले सम्पन्नशाली मताबे सामु पछुताएको आभास मिल्छ । बखतबहादुरले समाजलाई प्रत्यक्षपरोक्ष पढाएको पाठ हो– घमन्ड गर्नाले हात परेको जित पनि फर्कन्छ । प्रेमले ढुङ्गो पनि पगाल्छ ।
मातबेकी आमाभित्र दया र सहनशीलताको खानी छ । उनको विद्रोह गर्ने शैली फरक छ । जसरी योगमायाले अन्याय विरुद्धको आन्दोलनमा आफ्नो जीवन अर्पण गरिन् र काला मन भएका राणा शासकलाई लोप्पा खुवाइन् । त्यसै गरी मताबेकी आमा बहुलाही बनी बखतबहादुरको बडप्पनलाई गतिलो झापड बर्साइन् । उनी पनि आदर्श समाज स्थापनाकी नायक चरित्र हुन् ।
आफूलाई सामान्य लेखपढ गरेको बताउने उपन्यासकार घाँसेको प्रयोग गरेका झर्रा शब्दहरू उपन्यासभरि नै छताछुल्ल पाइन्छ । हिन्दी र अंग्रेजी संस्कार र सभ्यताले मोहित पारेका हामी सहरबासीलाई उपन्यासकार घाँसेका कतिपय रसिला झर्रा शब्द बुझ्न कठिन छ ।
कथावस्तु काल्पनिक भए पनि नेपाली समाजलाई सर्लक्क टिपेर राखेका छन् उपन्यासकार घाँसेले ।
निष्कर्ष–
उपन्यासकार घाँसेको परिवार नै नेपाली सामाजिक, सांस्कृति हुँदै राजनैतिक क्रान्तिमा होमिएको थियो । उनी रोग, भोक र शोकका सम्राटको रूपमा अद्यापि छन् । अहिले पनि घाँसे आफू स्वयम्् र उनकी पत्नी दुबै अस्वस्थ रहेका छन् । आर्थिक सङ्घर्षको डुङ्गा तर्न फुकीफुकी पाइला चाल्न परेको परिप्रेक्ष्य छ । यस हिसाबले उनबाट आदर्शोन्मुख उपन्यास प्रकाशन हुनु असम्भव जस्तो लाग्छ । लेखनको रहर र समाज यस्तो होओस् भन्ने सोचाइले यस रुपमा उपन्यास बाहिरिएको छ । पठित र मध्यम स्तरको जीवन घिसारिरहेका हाम्रा लागि यो गतिलो पाठ हो ।
उपन्यास अनपढ ग्रामीण नेपाली मातृभाषीका लागि रिठ्ठो नबिराई बुझिने खालको छ । भोका, नाङ्गा मान्छेको अवस्था र स्थितिलाई सम्बोधन गरेकाले आफ्नै कथा जस्तो लाग्छ । दानवी चरित्रलाई सजायको दायरामा नल्याई उपन्यास टुङ्ग्याउनाले बढता नाटकीय र फिल्मी लाग्छ ।
पाको अनुभवले खारिएका उपन्यासकार घाँसेको मनको आवाज अर्को उपन्यासमा आउनुपर्छ । आफू, आफ्नो जीवनको छायाँ र भोगेको समय अनि स्रष्टाचेतले देखेको युगीन आवाज आफ्नो लेखनीमा कुनै न कुनै रुपमा रहन सके मात्र त्यो कृति कालजयी बन्छ । अर्थात् यथार्थको नजिक भएको स्वभाविक लयको अधिकांश व्यक्तिको विचार र विवेकलाई तरंगित गर्ने सामथ्र्य रहेको कृति मात्रै कालजयी हुन्छ । त्यस्ता कृतिको सृष्टिका निम्ति सृष्टिकर्ता भीम पौडेल घाँसेसँग अपेक्षाका साथ शुभकामना !
२०८०.०४.२७ सिद्धार्थटोल, उदयपुर ।
०००
No comments:
Post a Comment