Friday, August 11, 2023

लघुकथा– एकालाप –नन्दलाल आचार्य

लघुकथा– एकालाप
–नन्दलाल आचार्य
‘यस ठाडालाई आजै के हुनुपरेको ?’ मालिकले मेरा गाला बटार्दै तान्यो । म अझै बलियोसाथ स्थिर भइरहेँ ।
नयाँ छँदा मालिक मलाई प्रेमबस म्वाई खान खोज्थ्यो । धुलोधुँवा, फोहरमैलाले छोला कि भनी हरेक दिन महंगो स्याम्पुले माडीमाडी नुहाइदिन्थ्यो । सफा तौलीले प्रेमपूर्वक पुछिदिन्थ्यो । रातमा पनि मलाई कपडा नओडाईकन आफ्नो विस्तरामा जाँदैनथ्यो ।


घरको नक्शा पास गर्ने बेला मेरा लागि सुन्दर कोठा छुट्यायो । केही महिना मलाई कोठामा बस्न दियो । हावाहुरी, घामपानीबाट बँचेर म आनन्दले रहन थालेँ । क्रमशः म बुढी हुँदै गएँ । मलाई कोठाबाट निकालेर गल्लीमा कोच्न थाल्यो । मेरा बस्त्र च्यातिएर नालायक बने । नयाँ किन्दिने नामै लिएन । मेरो दर्दको उसलाई रत्तिभर ख्याल रहेन ।
आज राती मलाई गन्धे नालीमा उभ्याएर ऊ भने पत्नीसँग मस्तले निदायो । रातभर परेको असिनापानीले पिटेर मेरो हुर्मत लियो । म रातभर छटपटिई रहेँ । विलौना गरिरहेँ । ऊ भने आनन्दको दुनियामा घुरिरह्यो । 
एकाबिहानै आएर दस थरीका गाली बर्साउँदै तान्दै थियो । बाबुको बिहे देखेपछि अन्तिम अस्त्र स्वरुप लातले धक्का दिएर न्वारानदेखिको बल निकाल्यो । मैले पनि आफ्नो धर्म छाडिदिएँ । एक्कासी नालीमा उत्तानो टाङ लगायो । उसकी पत्नी आएर उठाई र मतिर गिद्धे नजर गाडी ।
त्यही मौकामा मैले भनिदिएँ– म्याडमजी, घर पास गर्न मेरो कोठा छुट्याएर राख्ने । दुनो सोझिएपछि सटर लगाएर भाडामा दिने र मलाई गन्धे नाली सुघाउनेको हालत यस्तै हुन्छ ।
२०८०–०४–२६ सिद्धार्थटोल, उदयपुर । हाल– सिर्जनाकुटी, सिरहा ।

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...