-स्वस्तिका सिम्खडा
"तँ अचेल अँध्यारो मुख लगाएर किन कुनामा थुप्रिन्छे हँ ?" माहिला हुजुरबुबाले आज पनि पुरानै प्रश्न दाेहोर्याउनुभयो । उहाँलाई देख्नासाथ हर्दम यही एउटा प्रश्न घोचो बनेर मेरा सामु तेर्सन्थ्यो ।
"म मनकी राजा हुँ । आफ्नो मनसँग बात मारेर सुख आर्जन गर्न चाहन्छु ।" यसो भनेर जवाफ फर्काउन चाहेँ । मेेरो बोलीले उहाँलाई बिझाउला कि भनी मुखमा भोटे ताला लगाई हालेँ । उहाँ आदर्शका कुरा फलाक्दै स्कुल जानुभयो ।
धेरै पहिलेदेखि मलाई समय चहर्याउँथ्यो । वातावरणमा उकुसमुकुस छाउँथ्यो । म प्राकृतिक वातावरणमा हराउन चाहन्थेँ । प्रकृतिको वास्तविक रुपमा हेलिन चाहन्थेँ । समग्रमा म फकिर बन्न चाहन्थेँ ।
मान्छेलाई मनोभावना अनुरुप बाँच्न समाजले छुट दिँदैनथ्यो । म निर्धारित समयभन्दा एकाध घण्टा ढिलो निवास पुगेँ भने अभिभावकलाई त यथार्थ कुरा वताएर विश्वस्त पार्न सक्थेँ ।
समाजले तिखा नङ्ग्राका साथ भन्न सक्थ्यो- नेपाली नारीको गन्तव्य र सीमा समाजले तोक्छ । त्यस लक्ष्मणरेखा नाघ्न सीतालाई त छुट भएन । मामुली नारीलाई झन् हुन्न ।
यसरी मलाई आफ्नो हैन डरको घरमा बसिरहेको भान हुन्थ्यो । यस्तै अनुभव मनमा खेलाइरहेको बेला माहिला हजुरबुबा टिफिन खान स्कुलबाट आएको भान हुनासाथ अनुहारको प्राकृतिकपन ढाकछोप गरिहालेँ । बदलामा कृतिमपन निम्त्याई हालेँ । हाँसेर नास्ता पस्किएँ ।
खाँदाखाँदै उहाँले थप्नुभयो- आज हाम्री ठुली नातिनीको मुहारमा छचल्किएको हाँसो अलिकति चोर्न मन लाग्यो ।
+++
२०७९/०१/१६ बेलका-२, उदयपुर ।
(लघुकथाकारकाे पुरानो डायरीबाट साभार । उहाँको निधन २०८०/०४/२० गते भयो । जन्म २०६१ बैशाख १६ गते भएको थियो । उहाँका लघुकथा डायरीमा छरिएका छन् । - संकलक- लक्ष्मी रिजाल )
No comments:
Post a Comment