बिहीबारे लघुकथा छलफल कार्यक्रम– ६६० सुनिता निरौला+पुण्य कार्की+खगेन्द्र बस्याल+तुलसी पण्डित+बन्दना घिमिरे+बन्दना घिमिरे
१. मिति र भाग– २०८०.०४.२५ गते (६६० औँं भाग)
२. प्रस्तोता विश्लेषक– सुनिता निरौला+पुण्य कार्की
३. समाविष्ट सर्जक– बन्दना घिमिरे, खगेन्द्र बस्याल, तुलसी पण्डित
४. समय– बेलुकी ७ः३०--८ः३० बजे ।
लघुकथाक्रम–
१. लघुकथा - पढ्नुको अर्थ -खगेन्द्र बस्याल
२. लघुकथा : रोटी -तुलसी पण्डित
३. लघुकथा : समाधान -बन्दना घिमिरे
४. लघुकथा– माया –स्वस्तिका सिम्खडा
धन्यवाद ।
+++
१. लघुकथा - पढ्नुको अर्थ -खगेन्द्र बस्याल
दुवै जुम्ल्याहा छोरीहरूले प्रथम श्रेणीमा स्नातकोत्तर गरिसकेपछि संगै राखेर उदयले सोधे " अब पढाइ पूरा भयो ,कतै मायाप्रिती बसिसकेको भए त्यही अनुसार अगाडि बढ्छु ,नभए म भोलि देखिनै तिमीहरूलाई सुहाउँदो राजकुमार खोज्न हिड्ने छु।"
दुवै छोरीको एकै लयमा जवाफ आयो " कतै कसैलाई मन पराउने काम गरेका छैनौं ।त्यसको प्रमाण नतिजाले स्पष्ट पार्दैन र!"
बाबुले जेठीलाइ सोधे "तिम्रा लागि कस्तो मनको राजा खोजुँ?"
जवाफ आयो " धनी र सभ्य परिवार होस् ।उचाइ मिल्दोजुल्दो होस् ।बर्णले केही फरक पर्दैन ।समग्रमा भन्नुपर्दा हजुरले ज्वाइँ भन्न सुहाउने त हुनुपर्यो नि,होइन त बुवा!"
त्यसपछि उनी कान्छी तिर फर्केर जेठीलाइ सोधेकै जिज्ञासा राखे।
उसले जवाफ दिई" मलाई सामान्य आर्थिक हैसियत भएको ।घरमा सभ्यता नदेखिएको रोज्नु है बुवा!"
उनलेे गम्भीर हुँदै भने" ठट्टा गर्नुको पनि सीमा हुन्छ।यस्तो कुरा गर्न लाज लाग्दैन तिमीलाई।"
उसले भनी " मैले अहिलेसम्म तपाईं संग यस्तो कुरा गरेको कुनै दिन छ र,मैले त मनको कुरा नै गरेकी हुँ नि।"
बाबुले सोधे " त्यसको कारण सुनुँ त?"
उसको जवाफ रह्यो " म पतिको मात्रै नभएर पुरै परिवारको भलाइ चाहन्छु ।त्यो परिवारले काँचुली फेर्यो भनेअवश्य समाजले मलाई कसकी छोरी रहेछन् सोच्ने छन् ।सवैले बनेको मात्रै ठाउँ खोज्ने हो भने बाटो बिराएको घरमा को पुग्ने ?"
जवाफ सुनेर उनी निकै खुशी देखिदै भने " स्यावास् छोरी !तिम्रो बाबू हुन पाएकोमा मलाई गर्व छ।"
यो सुनिरहेकी जेठीले भनी" बल्ल मेरा आँखा बहिनीले खुलाइ दिई। पढनुको अर्थ हामी सवैले बुझे यो समाज झलमल्ल हुन अवश्य बेर लाग्ने थिएन।"
* तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही । ०८० साउन १७
+++
२. लघुकथा : रोटी -तुलसी पण्डित
दस वर्षको बच्चा होटेल अगाडि देखा पर्यो । उसले लगाएका कपडाहरु सबै च्यातिएका थिए । ऊ होटेल मालिक सँग केही खान दिनको लागि अनुनय विनय गरिरहेको थियो । मालिकले उसको कुरा प्रति कुनै वास्ता गरेको थिएन । बच्चाले पून आफ्नो कुरा दोह्रायो। "हजुर मैले न खान नपाएको धेरै भयो । केही खान दिनुन । बरु म यहाँ भाँडा माझ्छु ।" तर साहुको हृदय पग्लेन ।
उसले सोच्यो । साहुले खानेकुरा मागेर दिने भएन । अब भोक मेटाउन केही गर्छु । उसले झट्पट गरी प्लेटमा राखेको पाँच वटा रोटी लिएर दौड्यो । साहु उसको पछाडि दौडदै गयो । धेरै समयको दौडपछि पहाडको खोचमा केटो समातियो ।
साहुले रोटी लिएर केटालाई पिट्यो । "किन चोरेको मेरो रोटी ?" "हजुर मलाई यो रोटी खान दिनु न । मलाई असाध्यै भोक लागेको छ । बरु खानको लागि मात्र भए पनि तपाईको होटेलमा काम गर्छु । पैसा दिनु पर्दैन ।"
"यस्ता चोरलाई म काम लगाउँछु । बरु यो रोटी तलाई पनि खान दिन्न ।" भन्दै साहुले रोटी तल भिर तिर फालिदियो । ऊ त्यहाँबाट केटालाई गाली गर्दै फर्कियो ।
बच्चाले रोटी तिर दृष्टि लगायो । रोटी बिच भिरमा अड्केको रहेछ । ऊ खुशी भयो । ऊ लहरा समात्दै तल गयो । रोटी मुखको सहयोगले कपडा भित्र राख्यो । ऊ खुशी हुँदै माथि आउँदै थियो । एउटा हातको लहरा कमजोर परेछ । उसको सन्तुलन बिग्रिन गयो । ऊ एक्कासी तल भिरको खोचको ढुङ्गामा बजारियो ।
देख्नेहरु भन्थे । " उसको प्राण पखेरु उड्दा पनि उसले रोटी च्याप्प समाति रहेको थियो ।"
+++
३. लघुकथा : समाधान -बन्दना घिमिरे
ऐया ! बाबा मरे... मेरो नाक
टोक्यो ।
अवचेतन मनले भन्यो, '' नछोड, टोक्दे तँ पनि''
चेतन मनले तुरुन्तै भन्यो,'' सावधान ! तुरुन्त अस्पताल जा टिटनस र रेविज विरुध्द सुई लगाईहाल ।
२०८०/२/२७
गठ्ठाघर, भक्तपुर
+++
४. लघुकथा– माया –स्वस्तिका सिम्खडा
‘भोकाले भोजन माग्छ; अघाएर पनि म चाहिँ भोजन नै माग्ने अनौठी भिक्षुणी हँु ।’ मैले आफ्नै अर्को मनसँग भनेँ ।
तत्कालै त्यस मनले भन्यो; ‘तेरो मनलाई बुभ्mन हजार शिर भएका शेष नागको पनि पाइन छैन । तसर्थ अल्पज्ञ संसारसँग मिल्ने कुरा गर्; बाझ्ने कुरा नगर् ।’
‘यार, अरूले के भन्छन् भन्दैनन् ? तँ त कुरो बुझिदे ।’ मेरो गुनासो सुन्नासाथ उसले भनिहाल्यो; ‘तँ चेतन छस् । सोचीबिचारी तौलेर बोल्छस् । विवेकले विवेकी बाटो पक्रन्छ । म तेरै अन्धो मन हुँ । मसँग विवेक शून्य छ । मेरो धर्म तेरो अतृप्त चाहनालाई विस्फोट गर्नु हो ।’
म छक्क परेकै बेला त्यसले थप्यो; ‘रमाइला र उन्नतशील विचार र व्यवहार प्रदर्शन गर् । तेरो अतृप्त इच्छा पूरा गर्ने ठेक्का म लिन्छु ।’
यस कुराले मेरो अबुझ अहङ्कारलाई प्याट्ट हान्यो । म झसङ्ग भएँ । त्यही मौकामा त्यसले सोध्यो– आखिर तँ के चाहन्छेस् ?
मैले भनेँ– माया ।
त्यसले भन्यो– लाटी, मागेर पाइन्छ ? गरेर पो पाइन्छ । संसारलाई माया गर्; दोब्बर भएर फिर्ता पाउँछेस् ।’
मिति– २०७९.०४.२० बेलका नगरपालिका– २, उदयपुर ।
(यसका लघुकथाकारको निधन २०८०.०४.२० गते भयो । यो सिर्जना उहाँकै पुरानो डायरीबाट साभार गरिएको हो । –लक्ष्मी रिजाल ।)
.jpg)
.jpg)
No comments:
Post a Comment