बुधबारे लघुकथा साक्षात्कार कार्यक्रम–६५९ पूजन न्यौपाने+खगेन्द्र बस्याल+रमेन्द्र कोइराला+श्रीप्रसाद पोखरेल +नन्दलाल आचार्य- २०८०.०४.२४ गते
(श्रोताहरुलाई लाइभ जोडिएर लघुकथा वाचन गर्न आग्रहका साथ साउन २४ गते बुधबारका लागि)
बुधबारे लघुकथा साक्षात्कार कार्यक्रम–
१. मिति र भाग– २०८०.०४.२४ गते ( ६५९औँं भाग)
२. प्रस्तोता विश्लेषक– पूजन न्यौपाने+खगेन्द्र बस्याल
३. समाविष्ट सर्जक– रमेन्द्र कोइराला, श्रीप्रसाद पोखरेल र नन्दलाल आचार्य
४. समय– बेलुकी ७ः३० बजे ।
+++
लघुकथाक्रम–
१. लघुकथा- सुटिङ -रमेन्द्र कोइराला
२. लघुकथा- बिदाको दिन —श्रीप्रसाद पोखरेल
३. लघुकथा– खाली दिमाग -नन्दलाल आचार्य
धन्यवाद ।
+++·
१. लघुकथा- सुटिङ -रमेन्द्र कोइराला
इनरुवा-९, बबिया, सुनसरी
स्कुल हिंडेको रसिक फिल्मको सुटिङ देखेर त्यतै लाग्यो । हिट कलाकारहरूको उपस्थितिले भीड थामिनसक्नु थियो ।
हिरोइन नाउमा नदीबाट आउँदा बालकले बढार्ने सिनको तयारी हुँदै थियो । सुटिङ टिम बालक नभेटेर हैरान थिए ।
त्यतिखेरै निर्देशकले रसिकलाई देखेर भन्यो -"बाबू , फिल्मको सुटिङ गर्छौ ? ठूलो पर्दाको हो । "
सुनौलो अवसर पाएपनि अनकनाउँदै उसले भन्यो-" अंकल ! स्कुल जान ढिलो हुन्छ कि ? "
"ढिलो हुँदैन बाबू , एकैछिनमा भैहाल्छ । "
"हुन्छ, त्यसो भए । " ऊ बढार्न थाल्यो ।
तर तीन पल्ट ड्रोनबाट लिंदापनि सिन सकिएन । अब क्यामराबाट पनि लिनुपर्छ भनेकोले ऊसले डराउँदै भन्यो-" अंकल मलाई ढिलो हुन्छ । म जान्छु अब । "
निर्देशकले भन्यो-" आधी गरिसकिहाल्यौ । अब पाँचै मिनेटमा भै हाल्छ। बस न एकछिन ।"
रसिकलाई दोधार भयो । बसूँ स्कुल छुट्ने नबसूँ फिल्म हुस्ने । फेरि एकैछिन त भनेकोले काम गर्न थाल्यो ।
अचानक रसिकले हल्ला सुनेर टाउको माथि उठायो । माथि बुवा,आमा र शिक्षक रिसाएर उसैलाई हेर्दै थिए। अब मार्ने भए भनेर डरायो ।
आमाको हातमा कर्सी थियो । ऊ तल झरी र च्याप्पै हात समातेर कराई -"तँलाई फटाहा ! स्कुल छोडेर यसरी झाडु चलाउन लाज लाग्दैन ? "
" अब आधा मिनेट पनि लाग्दैन मम्मी । कृपया छोडिदिनु न ! "
"म केही जान्दिन । खुरुक्क हिंड् । भरे तेरा पिंडुला झारौंला ।" भन्दै बिचैबाट निकालेर ठेल्दै अगाडि बढाई ।
ऊ भने फिल्मको पर्दामा देखिने सपना चकनाचुर भएकोमा खिन्न भइरहेको थियो । ०८०/४/१०
+++
२. लघुकथा- बिदाको दिन —श्रीप्रसाद पोखरेल
सधैँ झैँ आज पनि विदाको दिन चट्टोपाध्याय कार्पेट ओछ्याएर बसे । तासको गड्डी लिएर एक्लै फिटिरहेका थिए । तासमा घरी पाउडर छर्थे, घरी कैँची मार्थे । तास खेल्न नपाएको दिन उनलाई राती राम्रो निद्रा पर्दैनथ्यो ।
कहिलेकाँही साथी नआएका दिन फोन गरेर बोलाउँथे । उनका पुराना साथी आज पनि आए । श्रीमतीलाई अह्राए “आज मिठो खाजा बनाउनु है ।”
श्रीमतीले आज्ञा सुचक मन्टो हल्लाइन् ।
खेल राम्रै चल्दै थियो । हेर्ने दर्शक पनि वरिपरि बसेका थिए । पैसा हुने खेल्न पाए हुन्थ्यो भन्नेमा थिए । नहुने बेलाबेला जितौरी थाप्थे ।
एक हुल प्रहरी आएर सबैलाई जस्तो अवस्थामा थिए त्यस्तै समातेर गाडीमा हाले । गाँउलेका अगाडी धुलो उडाउदै गाडी कुद्यो ।
बोल्न नसकेका गाँउलेहरुले खुशि व्यक्तगरे, ‘अब चैँ हाम्रा केटाकेटी सुध्रिन्छन् कि ?’
इटहरी, सुनसरी
२०७९ साल माघ १६
+++
३. लघुकथा– खाली दिमाग -नन्दलाल आचार्य
‘मेरो जीवन पृथ्वीलाई भार थियो । अहिले छोराबुहारीमा सरेको छ ।’ भर्खरै अठासीऔँ जन्मोत्सव मनाएका आप्पाले एक्लै भुत्भुताएको मैले सुनिहालेँ ।
‘कसले आप्पाको चित्त कुड्यायो ?’ एक्कासी मैले सवाल गर्दा उनी तर्सिए । मुजा परेको निधारमा चिट्चिट् पसिना देखियो । आँखाभरि टिलपिल आँसु जम्मा थियो ।
‘छोराबुहारीले वचन वाण हाने ?’ मेरो सवालमा उनले दायाँबायाँ मुन्टो हल्लाए ।
‘खानलाउन दिएनन् र ?’ अर्को सवालले पनि उस्तै जवाफ भेट्यो ।
‘उसो भए महंगो आँसु कौडीको भाउमा किन बेचेको त ?’ अलिक रुखो स्वरमा सोधेको प्रश्न सुनेर उनले ख्वाङ्ख्वाङ् खोके ।
भने– ‘घरमा केही काम गर्न दिँदैनन् । मिठो लागेको पेटभरि खाएर घरमै बसिरहन भन्छन् । बाहिरफेरो निस्केको राम्रो मान्दैनन् ।’
त्यसो त दुर्बल शरीर हेरेर छोराबुहारीले राम्रै गरेछन् भन्ने मन हुँदै थियो उनले नै पहिले मुख खोलिहाले; ‘खालि घोप्टीकै याद आउँछ । साढे सात दशक साथ दिएर आउँदै गर है भन्दै अघि लागिहाली मोरी !’
२०७९–०५–०१ सिर्जनाकुटी, सिरहा ।
+++
(समाचार– कृपया केही भाषिक परिमार्जन गरी प्रशारण वा प्रकाशन गरिदिन अनुरोध छ । –नन्दलाल आचार्य)
लघुकथाकर्मी स्वस्तिका सिम्खडाको स्मृतिमा लघुकथा प्रतिष्ठानद्वारा लघुकथा सम्मानको स्थापना ।
लघुकथा लेखनमा महिलाहरुको सक्रियता बढाउने उद्देश्यले लघुकथा प्रतिष्ठान नेपालले लघुकथा सम्मानको स्थापना गरेको छ । फुटकर रुपमा संख्यात्मक र गुणात्मक लघुकथा लेखी लघुकथाको उन्नयनमा उत्कृष्ट कार्य गर्ने एक जना नवोदित महिला सर्जकलाई वर्षेनी उक्त सम्मान प्रदान गरिने प्रतिष्ठानका व्यवस्थापक मनोहर पोखरेलले बताए ।
लघुकथाको संस्थागत र विधागत समुन्नतिमा सघाउने विश्वास राख्दै उक्त सम्मानको नाम ‘स्वस्तिका स्मृति लघुकथा सम्मान’ राखिएको प्रतिष्ठानकी संस्थापक लक्ष्मी रिजालले वताइन् । उनले हरेक वर्ष लघुकथाकर्मी स्वस्तिका सिम्खडाको जन्मोत्सव बैशाख १६ गतेको उक्त सम्मान प्रदान गरिने जानकारीे दिइन् । उनले सम्मानका लागि अक्षयकोषको स्थापना गरेर संस्थागत गति दिने समेत जनाइन् ।
लघुकथाकर्मी स्वस्तिका सिम्खडाको स्मृतिमा उक्त पुरस्कार घोषणा गरिएको हो । स्वस्तिकाको देहवसान २०८० साउन २० गते भएको थियो । उनको जन्म भने २०६१ बैशाख १६ गते भएको हो । उनी जुझारु लघुकथा लेखक र लघुकथा वाचक रुपमा परिचित थिइन् ।
उनले लघुकथा प्रतिष्ठान नेपालको नियमित वाचन तथा विश्लेषण कार्यक्रममा दर्जनौँ श्रृङ्खला सञ्चालन गरिसकेकी छिन् । बि. एड. प्रथम वर्षमा समेत अध्ययनरत् स्वस्तिका ‘गर्दै र सिक्दै’ सिद्धान्तको पक्षधर थिइन् । घोडा चढ्दा लडियो भने सिकिन्छ र आँट भरिन्छ भन्दै उनी थप्थिन्– लड्ने डरले घोडा चढिएन भने काँतर भएको अनुभूतिले आफैँलाई भित्रभित्रै जलाउँछ र गलाउँछ ।
उनी सौम्य समाजको अनुहार ढाक्ने कालो पर्दा च्यात्न लघुकथा मार्फत् सहज हुने बताउँथिन् । पुरानो लेखन तौरतरिका र शैलीलाई सम्मान गर्दै आजका लघुकथाकर्मीले आफ्नो निजत्व झल्कने शैली बनाउनुपर्छ भन्थिन् । लघुकथा वाचनमा समेत शब्दशब्दमा, वाक्यवाक्यमा प्रस्तोताले ध्यान पुर्याउनुपर्ने ठान्थिन् ।
साहित्यमा र बोलाउने दुबैतिर उनको नाम स्वस्तिका सिम्खडा रहेको भए पनि नागरिकता र प्रमाणपत्रमा उनको नाम सोस्तिका सिम्खडा थियो । सिलाइबुनाइ, पाककला र होटल म्यानेजमेन्टमा तालिम प्राप्त उनी मान्छे धनको हैन मनको धनी हुनुपर्छ भन्थिन् ।
वाचन कलाका सम्बन्धमा उनको कथन थियो– लघुकथामा पात्रले कुन परिवेश र मनस्थितिमा कस्ता कुरा अभिव्यक्त गरिरहेको छ भन्ने कुरा प्रस्तोताको वाणीले त्यसलाई सम्बोधन गर्न सक्नुपर्छ । नव रसको आभास प्रस्तोताको वाणीमा आउनुपर्छ । स्रोताको ध्यानलाई प्रस्तोताको वाणीले खिच्नुपर्छ । प्रस्तोता वाणीमा त्यो जादु घुस्नुपर्छ जसको एकैछिन श्रवणले पनि कार्यक्रमको अन्तसम्म स्रोतालाई अड्याइरहने बनाउनुपर्छ । आफ्नो कला, गला र स्वर स्रोताले खोजीखोजी नियाल्ने बनाउन सकियो भने मात्र सफल प्रस्तोता कहलिन सकिन्छ ।
लघुकथाकर्मी स्वस्तिका सिम्खडाका दुई दर्जन अधिक लघुकथा फुटकर रुपमा प्रकाशित र प्रसारित छन् । उनको असामयिक निधनले सम्पूर्ण लघुकथा जगत् मर्माहत रहेको बताउँदै प्रतिष्ठानका अर्का व्यवस्थापक नन्दलाल आचार्य भन्नुहुन्छ– लघुकथाकर्मी स्वस्तिका सिम्खडाको मृतात्माले शान्ति पाओस्, सम्पूर्ण लघुकथाकर्मीको तर्फबाट सहकर्मीलाई एकमुस्ट रुपमा हार्दिक श्रद्धाञ्जली !!!


No comments:
Post a Comment