Tuesday, August 1, 2023

मुक्कासहितको सेवा-खेदका साथ शुभकामना लघुकथा र कथाकार दिनचर्याका दौडानमा

खेदका साथ शुभकामना लघुकथा र कथाकार दिनचर्याका दौडानमा 

विषयक्रम
१. चर्चापरिचर्चा
२. शुभकामना हिजो र आज- त्रिलोचन ढकाल (साउन १७) डा. दिवाकर रेग्मी, उमानाथ दाहाल, गरिमा आचार्य (साउन १६ गते) शुभकामना कविता डा. दिवाकर रेग्मीको ।  
३  शुभकामना लघुकथा- हजुरबा  -त्रिलोचन ढकाल
४. लघुकथाकारको दुर्भाग्य विषयमा अन्यबाट खेद प्रकट
५. शुभकामना लघुकथा- आएन -उमानाथ दाहाल
६. कथाकार दुर्भाग्यबारे पत्रपत्रिका टिप्पणी
७. शुभकामना लघुकथा- एकहप्ते तालिम  -गरिमा आचार्य
८. निलम्बित रक्षक बारेको समाचार
९. रहलपहल कुरा र बैयक्तिक इतिवृति

।। जन्मोत्सव शुभकामना ।।
+++
आज मध्याह्नमा अनुकूल र प्रतिकूल परिस्थितिको समर्थन र आपत्तिमा लघुकथा वाचनसहितको चर्चापरिचर्चा कार्यक्रममा समयले साथ दिएसम्म लाइभ कार्यक्रममा सरिक भएर र नभए अफलाइन वा युटुभ भिडियो हेरेर साथ र समर्थन दिन लघुकथा प्रतिष्ठानको सादर अनुरोध छ । 

+++
लघुकथाका माध्यमबाट बौद्धिक क्रान्तिमा सरिक लघुकथा प्रतिष्ठानका नियमित तथा सक्रिय लेखक, पाठक, स्रोता, शुभचिन्तक र मार्गनिर्देशक उमानाथ दाहाल साथै लघुकथा साहित्यमा जुझारु छवि देखाउन तम्सने गरिमा आचार्यको जन्मोत्सवको अवसरमा एकमुस्ट बधाई तथा शुभकामना ।
+++
लघुकथाको उन्नयनमा कलममार्फत बौद्धिक क्रान्तिमा होमिएर हामी लघुकथाकर्मीहरुका अभिभावक बनिरहनुभएका त्रिलोचन ढकालज्यूको शुभजन्मोत्सव आज साउन १७ गते परेको हुँदा लघुकथा प्रतिष्ठान परिवार उहाँप्रति जन्मोत्सवको शुभकामना अर्पण गर्दछ ।

+++
लातबात जे बजारे पनि जस्तोसुकै आँधीबेहरी आएर रोक्नछेक्न खोजे पनि हामी कहिल्यै विचलित हुँदैनौँ । आफ्नो सुकर्म छाडिन्न । कुकर्मले जल्ने जल्दै गर्छन्, बल्ने बल्दै गर्छन् । न हाम्रो बोली कहिल्यै बन्द भयो न हाम्रो कलम कहिल्यै अबरुद्ध भयो । देश र जनताका पक्षमा छाती ठूलो पारेर उभिने पारिवारिक शिक्षालाई मैले सानैदेखि मन्त्र बनाएको छु । तपाईं ढुक्क हुनुस् नन्दलालजी, मलाई कसैले चाहेर पनि केही गर्न सक्तैन । ( २०८०.०४.१५ ७.१५ बजे बेलुका भएको नन्दलाल आचार्य र मनोहरजीसँगको वार्ताको अंश)
+++
३  शुभकामना लघुकथा- महिला मुक्ति  -त्रिलोचन ढकाल

रामप्रसाद शर्मालाई निकै हतार थियो । उनले अन्तर्राष्ट्रिय नारी दिवस (आठमार्च)को कार्यक्रममा प्रमुख अतिथि हुनु थियो । सभामा महिला मुक्तिका बारेमा मन्तव्य प्रस्तुत गर्नु थियो ।

आयोजकहरू उनलाई लैजान भनेर घरमै आएका थिए । विलासी गाडी थियो उनीहरूसँग ।

“जाउँ हजुर ! सभा सुरु हुने समय हुन थाल्यो ।”

तोकिएको समयमा कार्यक्रम सुरु भयो ।

मञ्चमा केही महिलाहरू थिए ‌। पुरुषको संख्या ठूलै थियो ।

सबैले प्रस्तुत गरे विचार । त्यहाँ नारी दिवसको इतिहास बताइयो । महिला आन्दोलनका बारेमा सुनाइयो । महिला हिंसाको अन्त्य गरिनु पर्ने कुरा भनियो । सतीप्रथाको अन्त्य भएको कुरा गरियो । बाल विवाह, अनमेल विवाह, करकाप विवाह गर्न नपाइने भनियो । बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग गरियो । छाउपडी प्रथा, देवकी प्रथा, दाइजो प्रथा, बोक्सीप्रथा, आदिको विरोध गरियो । बालिकालाई दास बनाउन नपाइने कुरा पनि सुनाइयो ।

अन्त्यमा प्रमुख अतिथिको मन्तव्य दिने समय आयो । उनी उठे । माइकको अगाडि पुगे । भाषण सुनाउन थाले । उनले बालिकाहरूलाई कामदार बनाउन नहुने कुरामा जोड दिए । दासी बनाउने त कल्पनाभन्दा बाहिर हुनु पर्ने कुरा बताए ।

श्रोता समूहमा घुमाउँदै जाँदा पछाडि पट्टि पुगे उनका आँखा । जानकीमाथि ठोकिए उनका नजर । उनले जानकीलाई मञ्चमा आउन माइकबाटै अनुरोध गरे । प्रमुख अतिथिले मञ्चमा बोलाएपछि खुसीले उमङ्गित हुँदै पुगिन् जानकी ।

रामप्रसादले नजीकै बोलाएर भने, “किन आएकी ? गइहाल् । मालिक्नीलाई सघाउने, भाँडामा माझ्ने, घरको सरसफाइ गर्ने, कपडा धुने काम गर्न परेन ? म आउँदा सबै कुरा ठिकठाक पारेर राखेस् ।”

+++
५. शुभकामना लघुकथा- आएन -उमानाथ दाहाल

 शिवसताक्षी नगर पालिका  झापा 
   " आमा ! म हेर्छु नि " 
  " के हेर्ने हो?" लताले प्रश्न गरी ।
  " मेरो दशैँको लुगा " 
   लता सीतालाई हेरेर मुस्कुराई र बोली- " हिजो हेरेकै हो नि , किन दिनै हेर्नु पर्यो?"
 " कस्तो मन लाग्छ  "  सीता लाडे बनेर बोली ।
 उमेर अनुसार शरीरिक विकास नभएकी सीता चौध बर्षकी हुँदा पनि उसमा बाल स्वभाव गएको थिएन ।
 " आमा ! अनि खसी घरमै काट्ने कि ल्याउने ?" सीताको स्मरणमा दशैँ मात्रै थियो ।
 " जसरी भए पनि खाउली न मासु , पख एकदुई दिन " 
 यही बेला कृष्णप्रसाद हत्तारिएर आए र लर्बरिएको स्वरमा भने " सुनन बुबा त बित्नु भएछ कान्छोले खवर गर्यो "।
 " हँ" लता आत्तिई । एकछिन् सन्नाटा छायो ।
 " मैले त एक पटक हेर्न जाउँ पछि पछुतो हुन्छ भनेकी हूँ नि " 
 खै जाउँ भन्दा भन्दै ... " कृष्णप्रसाद  बिस्तारै बोले ।
  लताले लामो सास तानी र सीता तर्फ फर्केर भनी " नानी! कत्ति रहर गर्दै थियौ तर यसपालीको दशैँ अब आएन है हामीलाई " ।

+++
६. कथाकार दुर्भाग्यबारे पत्रपत्रिका टिप्पणी
७. शुभकामना लघुकथा- एकहप्ते तालिम  -गरिमा आचार्य

हाम्रो गाउँको नवल दाजु सधैं मकहाँ आएर एक डाेकाे गाली बर्साउँथे । उनकै गाली सुनेर मेरो बिहानी सिदिन्थ्याे । सुन्ने मान्छे रिसले मुर्मुरिन्थे । म भने हाँसेरै टारिदिन्थेँ ।

उनी आउनासाथ खुब मज्जा आउँथ्याे । उनी हरेक दिन बेग्लाबेग्लै घटनाकाे प्रसङ्ग निकालेर गाली बर्साउँथे ।

उनका विरुद्धमा गाउँलेहरू बाेल्न सक्तैनथे, किनभने उनी गाउँभरिकै एक मात्रै पढे-लेखेका र भर्खरै सरकारी हाकिम भएका व्यक्ति थिए ।

पहिले उनको मुखबाट कहिल्यै रुखाे र नराम्रो बाेली निस्कन्नथ्याे । सरकारी हाकिम बनेपछि मात्रै उनी यस्तो हर्कत देखाइरहेका थिए ।

सबै मानिसहरू उनकाे बदलिएको बानी देखेर एउटै निर्णयमा पुगेका थिए – “बिचरा नवल बढी पढेर बहुलाएछ । देशकाे मुहार सुन्दर पार्ला र गाउँकाे इज्जत सगरमाथा पुर्‍याउला भनेको आफैँ पाे धरापमा फँसेछ ।”

हप्ता दिन पुगेपछि मलाई साथ लिएर नवल दाजु हात जाेड्दै हिँड्न थाले । घर-घर पुगेर माफी माग्थे ।

जहाँ पुगे पनि उनी भन्थे; “हाकिम भएपछि सेवाग्राही निर्धाहरूसँग रुखाे र घाेचपेचकाे भाषा बाेल्ने अनि त्यस्तै व्यवहार  गर्ने चलन रहेछ । मैले  त्यो आदत बनाउन यिनै बहिनीकहाँ सिक्न खाेजेकाे मात्रै हुँ ।”

अन्त्यमा उनले भन्ने गरेका थिए, “मेराे बनावटी व्यवहारलाई सत्य ठानेर मलाई उतिर्ण गराउनुभएकाेमा आभारी छु । मनमा चाेट र खाेट लगाउन पुगेकोमा दुबै हात जाेडी क्षमा माग्दछु ।”

###

नेपाली लघुकथाको क्षेत्रमा “लघुकथा संसार” पुरानो तर बिस्तारै अघि बढ्दै रहेको एक लघुकथा समूह हो । स्रष्टा राजन सिलवाल यसको संस्थापक एडमिन सदश्य हुन् । यस समूहमा अन्य समूहको तुलनामा थोरै लघुकथाकारहरूको संलग्न भएको र थोरै लघुकथाकारहरूले मात्र लघुकथाहरू पोस्ट गरेको देखिन्छ ।

प्रस्तुत लघुकथा “एकहप्ते तालिम” गरिमा आचार्यले पोष्ट गरेकी हुन् । नेपाली लघुकथाको क्षेत्रमा गरिमा अत्यन्तै नयाँ नाम हो । उनी श्री जनता माबि, सिरहामा १० कक्षामा अध्ययनरत छिन् ।

प्रस्तुत लघुकथा “एकहप्ते तालिम” नवनियुक्त सरकारी अधिकृतको बारेमा लेखिएको लघुकथा हो । भाषा सरल र कथा श्रुतिमधूर छ ।  कथामा रोचक तरिकाबाट सरकारी कर्मचारीहरू रूखो र  घोचपेची शैलीबाट प्रस्तुत हुन्छन् भन्ने भाव देखाइएको छ  । गरिमा आचार्यलाई थप लघुकथा लेखनको लागि शुभकामना ।

=======
+++


+++ 


"मुक्कासहितको सेवा" Manohar Pokharel
उ कार्यालयभित्र प्रवेश गरिसकेको थियो । एकाएक फर्किएर दौडिदै मुक्का बर्षाउन थाल्यो । अरु सबैले उहाँ पत्रकार र अधिकारकर्मी भन्दै रोक्ने प्रयास गरिरहेका थिए । उ “जो सुकै भएपनि मलाई केही फरक पर्दैन्” भन्दै कुर्लदै थियो । 
प्रहरी कार्यालय परिसरमा आक्रमण गर्नुलाई उसले आफ्नो पुरुषार्थ सम्झिरहेको थियो । एउटा मनले भन्यो जस्तालाई त्यस्तै जवाफ फर्काउनु पर्छ । तर सम्हालिए । आक्रमण त बहादुरले होइन कायरले गर्छन् । पराजित मानसिकताको उपज आक्रमण हो भन्ने ज्ञान छ मलाई । कुराकानीमा पराजित भएर नै फर्किसकेको उसले एकाएक दौडिदै आएर अन्तिम बल प्रयोग गरेको थियो । 
व्यक्तिको जीवनमा हरहमेशा जोडिने र निकट रहने सरकारको प्रतिविम्ब थियो उ । उसले गर्ने व्यवहारका आधारमा राज्यप्रतिको धारणा निर्माण हुने कुराले चिन्तित बने र मुस्कानसहितको सेवा सम्झिए । अनुहार जोगाउन हातले छेके, बुटले अण्डकोषमा प्रहार गरयो । ‘मुक्कासहितको सेवा’को प्रत्यक्ष अनुभव गरे । सपना झै लाग्यो । यो खबर सुनेर धेरैले पत्याएनन् । म आफै पनि पत्याउन नसकिरहेको घटना अरुहरुलाई पनि पत्याउन गाह्रो हुनु स्वभाविक नै थियो । तर वास्तवमा कल्पना नगरेको घटना भयो । आमनागरिकले तिरेको करबाट प्राप्त तलबभत्ता, सुविधा र बर्दीको आडमा जनताकै करबाट किनिएको बुट वर्षिदा देख्नेहरुलाई पनि आश्चर्य नमानी सुख थिएन् । मुक्का, लात्ती बर्साइरहेका प्रहरीलाई देख्दा सबैका आँखीभौं आश्चर्यले उचालिएका थिए । सेवा लिन आएका यतिका धेरै सेवाग्राहीले प्रत्यक्ष देखिरहेको समयमा त प्रहरीको यस्तो व्यवहार रह्यो भने कसैले नदेखेका ठाउँमा कति बर्बर आक्रमण गर्दा हुन् ।
पछिल्लो समय सप्तरीमा प्रहरीको यो र यस्ता व्यवहार प्रहरी कार्यालयमा मात्र होइन जहाँसुकै उस्तै देखिन थालेको छ । मलाई मात्र होइन बेलाबेलामा राजनीतिकर्मी, सञ्चारकर्मी, अधिकारकर्मी, कानुन व्यवसायी, शिक्षक, कर्मचारीलगायतमाथि गरिने यस्ता व्यवहारबाट प्रहरीले आफ्ना कर्मचारीलाई आवश्यक तालिम दिन सकेको रहेनछ भन्ने महसुस भयो । जिल्लाको शान्तिसुरक्षाको अवस्था र प्रहरीमाथिको विश्वासको वातावरण अहिले भिन्न बन्दै गएको छ । प्रहरीले अपनाउनु पर्ने आचारसंहिता,  न्यूनतम कला र व्यवहार नसिकेका प्रहरीले एकाएक लाठी, लात्ती र मुक्काको उपयोगलाई प्राथमिकतामा राखेको देखिएको छ । यसले मुस्कानसहितको सेवा नभई ‘मुक्कासहितको सेवा’ सार्थक हुन पुगेको छ ।
मलाई सप्तरी जिल्ला बार एकाई र उच्च अदालत बार एकाईको छुट्टाछुट्टै कार्यक्रमको निम्तोमा पुग्नुपर्ने हतारो थियो । बैद्य–प्रकाश मानव अधिकार स्मृति कोषको सदस्य सचिवको नाताले ३१औं प्रकाश काफ्ले स्मृतिमा हुने मंगलबारको कार्यक्रमको अन्तिम तयारी सम्पन्न गर्नुपर्ने थियो । समयअभावले तिरहत गाउँपालिका–४ डिमनका अयोधी यादवको गुनासो सुन्न पनि उहाँलाई व्यानर बनाउने ठाउँमा नै बोलाएको थिए । त्यसपछि दुईओटा समाचार लेखेर पठाउनु पर्ने दैनिक कर्म पनि पुरा गर्नु थियो । तथापि घरमै आएर गुनासो गरेका पीडितहरुप्रति प्रहरीको व्यवहार र उजुरीका विषयमा प्रहरीको भनाई बुझ्न प्रहरी कार्यालय जाने कामलाई प्राथमिकता दिनु पहिलो कर्तव्य ठाने । गर्भपतनको जाहेरी सनाखत गर्न अलमल गरिरहेको, बलात्कारको मुद्दा मेलमिलापका लागि पठाइरहेको र संवेदनशील अपराधको घटना क्रिया शपथ गरेर टुंग्याउन खोजिरहेको व्यवहारले म खिन्न भएँ । उजुरी दर्ता गरे पनि, नगरे पनि समाचारको विषय बन्थ्यो । समाचार लेख्नु मेरो दैन्दिनको काम नै थियो । तर पनि उजुरी दर्ता भएर स्वतन्त्र अनुसन्धान भइदिए मनले बढी सन्तोष पाउँथ्यो । प्रहरीको दृष्टिकोण र व्यवहार स्वयम बुझेर बाँकी काम फत्ते गर्ने मनसायले प्रहरी कार्यालयबाट निक्लिनै लाग्दा दुव्र्यवहार गरिरहेका प्रहरीले मुक्कासहितको सेवा प्रदान गरयो । उसले कार्यालय प्रमुखकै अगाडि पश्चाताप गर्नुको बदला हाकाहाकी कुटेको कुरा गर्वका साथ स्विकार गरेको कुराले झनै आश्चर्यचकित बनायो । बाखा हरायो भन्दा पनि बाघ पल्किएको पो हो कि भन्ने आभाष मिल्यो ।
यस घटनाबाट दुखित भई फोन गरेर तथा अस्पताल आई भेटेर जिज्ञासा राख्नुहुने, सामाजिक सञ्जाललगायतका माध्यमबाट चिन्ता जाहेर गर्नुहुने, स्वास्थ्य लाभको कामना गर्नुहुने, प्रेस विज्ञप्तिमार्फत घटनाको निन्दा गर्दै दोषीमाथि कारवाहीको माग राख्नु हुने, दवाव सृजना गर्नुहुने, वैठक, भेला, आन्दोलन गर्नुहुने, हरपल साथ रहनु हुने सबैप्रति हार्दिक नमन गर्दछु । मेरो जन्मभूमि र कर्मभूमिले मप्रति देखाएको अगाध माया, स्नेह र सद्भावका निम्ति धन्यवाद व्यक्त गर्दछु । यही नै मेरो पुँजी र शक्ति पनि हो । यो शक्ति नै मेरो कलमको मसी हो । प्रजातन्त्र होस की संघीय लोकतान्त्रिक गणतन्त्रको आन्दोलनमा चिसा छिडीमा थुनिदा पनि जेलभित्रै “बन्दी आवाज” पत्रिका निकालिरहेको यो कलम कहिले नुहुने छैन् । ढुक्क हुनुहोस् इतिहास लेख्ने, बर्तमानको बिष्लेषण गर्ने, भविष्यको मार्ग चित्र कोर्ने सृजना कहिले अवरुद्ध हुने छैन् । देश–महादेश डुल्ने, न्याय–अन्याय नियाल्ने, स्वाभिमान र स्वतन्त्रता लेख्ने कलमले आवाज बिहिनहरुको आवाज ओकलिरहने छ । बेइमानीहरुको खबरदारी गरिरहनेछ । युगको आवश्यकता कोर्ने यो कलमलाई कसैले एक्लो देख्ने दुस्साहस नगरे हुन्छ । कलम लाखौ–करोडौको प्रतिबिम्ब हो । तसर्थ एउटा कलम भूगोल, जाती र धर्मको सिमानामा सिमित हुँदैन । जनभावना बुझ्ने, दुःख र बेदनाहरु सुन्ने, उत्पिडनविरुद्ध वकालत गर्ने कलम सँगै करौडौ मुट्ठीहरु जुरुक्क उठने छन, करोडौ मान्छेहरु संयुक्त जुटने छन । मुक्का बर्सियोस कि बुट बज्रियोस् असहायहरुको ब्यथा देख्ने, सुशासनको वकालत गर्ने यो कलम कहिँ कतै रोकिदैन । कहिल्यै निदाउदैन । कहिल्यै थाक्दैन ।
-गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शैयाबाट २०८० साउन १६ गते
+++

हजुरबा
छिमेकी हजुरबाले म्वाइँ खाइदिए । छ वर्षकी बच्चीका गालामा । दारीका ठेट्नाले चिथरिदिए । बच्चीको अनुहार रातो रातो भयो । उनीलाई खपिनसक्नु भएर दुख्यो । उनलाई रोउँ रोउँ लागेको थियो । रुन भने सकेकी थिइनन् । रुन्चे स्वरमा सोधिन, “के गर्नु भएको हजुरबा ?”

“माया गरेको ।”

हजुरबाले माया गरेको भनेपछि बच्ची हँसिली भइन् ।

कोरोना आतङ्कको समय थियो । राज्यले लकडाउनको घोषणा गरेको थियो । देशका सबै गतिविधिहरू ठप्प बनाइएका थिए । बच्चीले पढ्ने स्कुल पनि बन्द थियो । उनले घरमै दिन बिताउन पर्दथ्यो । उनका बाआमाले छिमेकी हजुरबाको रेखदेखमा छोडेका थिए ।

अर्को दिन हजुरबाले बच्चीको हात खुट्टा मुसारिदिए । छाती पेट र गाला निचरिदिए । गुप्ताङ्गसम्म पनि हात पुर्याए । बच्चीलाई काउकुती लाग्यो । अनि उनले सोधिन्,
“के गर्नु भएको हजुरबा ?”

“माया गरेको ।”

टोलले नै अभिभावक मानेका हजुरबाले “माया गरेको” भनेपछि उनले नजाती मानिनन् ।

अर्कोदिन पनि हजुरबाको घरभित्र प्रवेश गरेकी थिइन् । उनी अनौठो गरी चिच्याएको सुनियो ।

‘के गर्नु भएको हजुरबा’ भनेर सोध्नै पाइनन् ।

+++

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...