।। जन्मोत्सव शुभकामना ।।
लघुकथाका माध्यमबाट बौद्धिक क्रान्तिमा सरिक लघुकथा प्रतिष्ठानका नियमित तथा सक्रिय लेखक, पाठक, स्रोता, शुभचिन्तक र मार्गनिर्देशक उमानाथ दाहाल साथै लघुकथा साहित्यमा जुझारु छवि देखाउन तम्सने गरिमा आचार्यको जन्मोत्सवको अवसरमा एकमुस्ट बधाई तथा शुभकामना ।
यसै अवसरमा दुबै स्रष्टाको एकएक लघुकथा वाचन र सटिक विश्लेषण गर्न मंगलबारे लघुकथा छनोट कार्यक्रमका संयोजक निरज कोइराला र सहसंयोजक लक्ष्मी रिजाललाई हार्दिक निवेदन छ । धन्यवाद ।
लघुकथा- साहित्य
उमानाथ दाहाल
शिवसताक्षी नगर पालिका झापा
" झोला बोकेको छ लुखुरलुखर हिडेको छ, न बेलामा खानु छ, न घरको काम याद गर्नु छ " घर आइपुगेर बसिसक्न नपाउँदै शारदा श्रीमान् कपिलसंग पटट पड्की ।
' नरिसाउन म गलत काममा हिँडेको छैन। गोष्ठीमा रचना सुनाएर आएको ' कपिलले बुझाउन खोज्यो ।
'खै के सुनाउँदै हिड्नु हुन्छ ? आफ्नु चाँही घरमा हैरान " शारदाले गुनासो गरी ।
" के गर्नु बोलाइहाल्छन्, मेरा रचना राम्रा हुन्छन् भन्छन् " कपिलले अझै बुझाउन खोज्यो ।
" जस्ता भए पनि के गर्नु र ? सुको सहयोग छैन कतैबाट । एकछाक तरकारी ल्याउनु भएको छ कुनै दिन ?" शारदाले गुनासोको मात्रा घटाइन। कपिलले तत्कालै कुनै जवाफ दिएन ।
" बेला बेला एक्लै बर्बराईरहेको सुन्छु , कोनि के के हुन्छ पछि " शारदाले अझै थपी ।
" पखन साहित्य क्षेत्रमा ठुला ठुला पुरस्कार छन् कुनै न कुनै त पाउँलानि , अनि के के ल्याउँछु त्यसबेला देखौली " उसले आशा देखाउँदै फकायो ।
" तपाईंको भनसुन गरिदिने कोछ र पाउनुहुन्छ ? पत्याइंन है मैले त "
" सधैँ यस्तै रहँदैन नि सही काम हुने दिन आउँछ, प्रतिक्षा गर्न सक्नु पर्छ "
बुढाबुढीको वादविवाद चल्दै गर्दा आँगनमा छिमेकी पदमप्रसाद देखापरे । उनले कपिललाई हेर्दै भने " कविज्यू आज त घरै हुनुहुँदो रहेछ " उनी खाली कुर्सीमा बसे ।
" भर्खर आउनु भएको नि । दिनभर घरमा बसे त के के पो हुन्थ्यो " ।शारदाले रुखो जवाफ फर्काई ।
"आफुलाई यसैमा रस भिज्यो "
" ठिक छ , भाषा, भेष, साहित्य, कला , सँस्कृति भनेका राष्ट्रका गहना हुन् यिनको सेवा गर्नु उत्तम कार्य हो । सबैसंग प्रतिभा हुदैन " पदमप्रसादले हौसला दिए ।
कपिलले शारदालाई पुलुक्क हेर्यो र भन्यो " एउटा पुस्तक तयार हुन लागेको छ यसलाई त्यो ठुलो खसी बेचौँ र छापौँ भनेको शारदा पटक्कै मानेकी छैनन् ।"
" हो र भाउजु ?
" कति दुःख गरेर हुर्काएको बेचेर घरखर्च गरौँला भनेर , अहँ म त मान्दिन " शारदाले प्रष्टै इन्कारको भाषा बोली ।
एकछिन् चुप रहेका पदमप्रसाद बोले " भाषा,साहित्यको सेवा गर्नु सबैको कर्तब्य हो , पुस्तक तयार गर्नुहोस् छाप्ने जिम्मा म लिन्छु " ।
++++
(सन्दर्भ- मेरो जन्मोत्सव)
लघुकथा– आशीर्वाद
– गरिमा आचार्य
"खर्च गर्दागर्दै प्लान फेल भो मामू !" २५० रुपैयाँ फिर्ता दिँदै मलिन आवाजमा मैले भनेँ ।
"मागभन्दा बढता रुपैयाँ हात परेपछि प्लान फेल गर्ने तिम्रो पुरानै रोग हो नानी !" मामूले रोष मिश्रित स्वर निकाल्नुभयो ।
"अरु दिन जे भने पनि आजको दिन त नकराउनुस् ।" मैले पनि उस्तै स्वर निकाल्न खोजेँ ।
केही नम्र भएर उहाँले भन्नुभयो, "उसो भा हिसाब देखाऊ त ?"
"वरपरका भाइबहिनीलाई बाड्न ३७० रुपैयाँको चकलेट, मेरा साथीहरूलाई हातमा थम्याउन २३० को चोकोपन, तीनवटी सँगिनीका लागि १५० रुपैयाँको आइस्क्रिम ।" मैले फेहरिस्त सुनाएँ ।
मामू शान्त हुनुभयो । त्यही मौकामा मैले थपेँ; "महंगीले आकाश छोएपछि जतिसुकै कन्जुस्याइँ गर्दा पनि योजना फेल हुने रहेछ ।"
आफूलाई केही नराखी मैले साथीहरूका लागि मात्रै रकम खर्च गरेको देखेर उहाँ पग्लनुभयो । बाँकी पैसो फिर्ता लिन रुचाउनुभएन । उल्टै मेरा गाला सुम्सुम्याउँदै भन्नुभयो; "यस धर्तीमा सर्वप्रथम मलाई आमाको दर्जा दिलाउने प्यारी छोरीलाई कोटीकोटी आशीर्वादका साथ जन्मोत्सवको शुभकामना !!!"
२०८०.०४.१६
कक्षा- टि बार, श्री जनता प्राविधिक मावि, गोलबजार-४, सिरहा ।
No comments:
Post a Comment