Thursday, July 20, 2023

अन्जु शर्माको लघुकथा छनोट कार्यक्रम– लक्ष्मी रिजाल–निरज कोइराला –२०८०–०४–१६ श्रृङ्खला–६५१-डा. हरिमोहन पोखरेल-त्रिपुरा खरेल-

साउन महिनाको हरेक मंगलबार– (लघुकथा छनोट कार्यक्रम) सह-संयोजक तथा प्रस्तोता– लक्ष्मी रिजाल+संयोजक– निरज कोइराला (मिति–२०८०–०४–१६ श्रृङ्खला–६५१) समय– ७ः३०–८ः३० बेलुकी ।।
+++

लघुकथाका माध्यमबाट बौद्धिक क्रान्तिमा सरिक लघुकथा प्रतिष्ठानका नियमित तथा सक्रिय लेखक, पाठक, स्रोता, शुभचिन्तक र मार्गनिर्देशक उमानाथ दाहाल साथै साहित्यमा जुझारु छवि देखाउन तम्सने गरिमा आचार्यको जन्मोत्सवको अवसरमा एकमुस्ट बधाई तथा शुभकामना ।

+++
सम्पूर्ण साहित्यप्रेमीहरूमा नमस्कार । अहिले रातको ७ः३० बजिसकेको छ । यो समय हो लघुकथा प्रतिष्ठानको मङ्गलबारे साप्ताहिक कार्यक्रम– लघुकथा छनोट कार्यक्रम । आजको सह-संयोजक तथा प्रस्तोता म हुँ– लक्ष्मी रिजाल । आज मिति–२०८०–०४–१६ श्रृङ्खला–६५१) हो । यस कार्यक्रमको संयोजकमा निरज कोइराला रहनुभएको छ । कार्यक्रमको सहजीकरणमा नन्दलाल आचार्यले सघाउँदै आउनुभएको छ । व्यवस्थापकीय सक्रियतामा मनोहर पोखरेल र नन्दलाल आचार्य रहनुभएको छ । 

यस कार्यक्रमको प्रशारण फेसबुक लाइभमा हुन्छ । रेकर्ड भएको भिडियो र अन्य गतिविधिहरु युटुभ च्यानलमा पनि सुरक्षित रहन्छ । त्यस कारण लघुकथा प्रतिष्ठानका हरेक कार्यक्रम आजका लागि मात्रै नभई भोलिका लागि पनि हो भनी बुझिदिन सादर निवेदन छ ।

 +++
लघुकथाक्रम-
लघुकथा छनोट कार्यक्रमका लागि साहित्यकार अन्जु शर्मा (रातोपुल, काठमाडौं) ले कारणसहित मन पराएका पाँच लघुकथा यस प्रकार छन्-

१) लघुकथा- दशैं -✍️डा. हरिमोहन पोखरेल
२) लघुकथा- सोह्र श्राद्द -✍️त्रिपुरा खरेल 
३) लघुकथा- करान्ती र खत्रीनी बजै -✍️अन्जु शर्मा 
४) लघुकथाएँ- हाम सब एक है -✍️आलोक कुमार सातपुते अनुवाद- श्री एकदेव अधिकारी
५) लघुकथा- सौचालय -✍️रमेन्द्र कोइराला 
+++
१) लघुकथा -दशैं
✍️डा.हरिमोहन पोखरेल
कोहिमा नागालैंड

भारत

आज बिहान उसलाई आफ्नी सानी छोरीले भनी --'बुबा --!!हामीले पनि दशैँमा मासु नखाई कसैको हत्या नगरी मनाउन सकिन्छ नि होइन ।हामीले त शाकाहारी बनेर पनि दशैं मनाउन सकिन्छ भन्ने सर र मेमबाट पनि सुनेका छौ।त्यो कुरा जीवनमा उतारन सकिन्छ नि --!'
नानीले अगाडि फेरि मुसुक्क हाँस्दै भनी --'देवी मातालाई पशुको बलि नै दिनुपर्ने छैन ।कहिले त मान्छेको दिए कसो होला बुबा --?'
नानीको कुरा सुनेर बाबुका खलखली पसीना आए ।घरबाट बाहिर निस्किएर बाटोतिर लागि ।
नानी हेरेकी हेरै भइन ।
+++
हरेक मंगलबार लाइभ बाचन र विश्लेषण हुने लघुकथा छनोट कार्यक्रमका लागि यस लघुकथालाई साहित्यकार अन्जु शर्माले छनोटमा पार्नुको कारण यस्तो उल्लेख गर्नुभएको छ---
( माथिको कथामा पशु र मानवलाई समान दर्जामा रखिएको छ।जसको मुल कारण प्रकृतिका समान हिस्सेदार पनि हुन भन्न खोजिएको छ । यता देवीको रूपमा बलिदिने प्रथाको घोर विरोध गरिएको छ।जुनकुरा शिक्षकले बिद्यार्थीलाई प्रयोग गरेका छन्।साथै आफ्नो भनाइ नमाने पशुलाई झै मानवलाई बलि दिने  क्रान्तिकारी उद्घोष बालमस्तिस्कबाट गराइएको अब्बल कथा छ।)
+++
२)लघुकथा : सोह्र श्राद्ध  ✍️त्रिपुरा खरेल 
    बाबुको  सोह्र श्राद्धको तिथिमा  कुलायनको निक्कै ताउरमाउर थियो। कुलायनले बिहानै टाउको चिण्डाइसकेको थियो।
   "पण्डितजी कति छिटो आउनुभएको ? मैेले छ बजे बोलाएको होइन ? यहाँ  हामीले श्राद्धको सामान पनि ठीक पारेका छैनौं।"
     "हिजो तपाईंले मलाई बिहानको समय  दिनुभएको हैन ?
छिटोछिटो तयार पार्नु ,आज सातवटा श्राद्ध भ्याउनु छ।" भन्दै उनी कानमा इयरफोन लगाएर मोबाइल खेलाउन थाले।उनले एउटा पण्डितले एउटै श्राद्ध गर्ने नियमलाई फट्को मारेका  थिए।
      "मैले नौ बजे सक्ने गरेर आउनु पो भनेको थिएँ।" कुलायन काँधमा तौलिया बोकेर नुहाउन गए।"
     यस्ता लस्याङलुसुङ गर्ने जजमानले श्राद्ध पनि के गर्नु र! उहाँ सचिवले बाह्र बजे बोलाएका छन्।  पुरोहितको आँखा र हतारको भुटभुटी दुईभागमा बाँडिएका थिए।
    कुलायन नुहाएर श्राद्ध गर्न बसे। कर्ता र कर्मकाण्ड गर्ने दुबैलाई हतारो थियो। पण्डितले पितृको नाम नै कुलायन भन्ने ठाने।  उनले दुई सयको रफ्तारमा मन्त्र उच्चारण गरेर  एक घन्टामै श्राद्ध सिध्याएर बाइकमा हुँइकिए।
   कर्ताले आफ्नो नाममा चढाएको पिण्ड गोठमा गएर गाईको कुँडेमा  लडाइदियो।
+++
हरेक मंगलबार लाइभ बाचन र विश्लेषण हुने लघुकथा छनोट कार्यक्रमका लागि यस लघुकथालाई साहित्यकार अन्जु शर्माले छनोटमा पार्नुको कारण यस्तो उल्लेख गर्नुभएको छ---
(यस कथामा परंरागत सोच साथै आधुनिक सोच र ब्यबहारिक पक्षलाई राम्रो संग ब्यङ्ग गरिएको छ।सोह्र श्राद्दमा धेरैतिर श्राद्द गर्ने पण्डितले र देखावा श्राद्द गर्ने जजमान दुबैले कर्तव्य भुलेर आफ्नै नाममा पिण्ड पूजा गरेको तितो सत्यलाई समेत कथामा उज्गार गरिएको छ।)
+++
३) लघुकथा- करान्ती र खत्रीनी बजै  ✍️अन्जु शर्मा
रातोपुल
     लौन के भा हो ?हिजो संम करान्ती जिन्दावाद भन्दै हिड्ने खत्रीनी बजैले आजै दम तोडिन।दैवको लिला पनि बिचित्रकै छ -जसले गर्यो आस उसैलाई भयो त्रास।
        देशमा सत्ता परिवर्तनको आन्दोलन चलिरहेको बेला खत्रीनी भन्ने गर्थिन " हेर नानी हो जमना परिवर्तन छ,देशमा करान्ती आ'छ।कसैले अन्याय गर्यो कि करान्तीकारीले भाटे कार्यबाही गर्छन् ।हाम्रो पालामा धेरै गाह्रो थियोे ,अलिकति रिस उठ्यो कि पतिले सौता हाल्ने ,सासुससुराले पिट्ने,हेलाँहोचो गर्ने ,बढेका छोरीबुहारी त एक्लै दुक्लै हिड्न नहुने  बलात्कार भैहाल्ने।तिमीहरू जन्मेको समय धेरै राम्रो छ।
        नभन्दै करान्तीकारीहरूले सत्ता हत्याए।देशमा असत्य माथि सत्यको बिजयको घोषणा गरे।घरघरमा दिपावली गरियो ।तर केही दिनमा नै पहिलेकै जस्तो आतंक फैलिन थाल्यो ।खत्रीनीकी नातिनी सिमा हिजो स्कुलबाट आउदै गर्दा बाटोमा बलात्कृत भइन।चंखेले छोरी बलत्कार गर्ने नायिके भनाउदालाई किटानी जाएरी दियो ।
              अपसोच नायिकेको संबध सडक देखि सदन संम हुने रैछ ।तिनै करान्तीकारीका नेताले अराष्ट्रिय तत्वको बिल्ला भिराएर चंखेलाई सदाका लागि समाप्त गरेछन।त्यहीँ पिर सहन नसकेर खत्रीनीको अकालमै श्वास गा'रैछ।
+++
हरेक मंगलबार लाइभ बाचन र विश्लेषण हुने लघुकथा छनोट कार्यक्रमका लागि यस लघुकथालाई साहित्यकार अन्जु शर्माले छनोटमा पार्नुको कारण यस्तो उल्लेख गर्नुभएको छ---
(यस कथामा संस्था फेरिए पछि स्वतन्त्रताको आभास जनतालाई हुनुपर्ने मान्यता एकापट्टी छ भने अर्कोतिर संस्था फेरिए पनि ब्यक्ति नफेरिएको र पुरानै प्रणाली अनुसार कानुनका ठेकेदार चलेको कारण जनतालाई पर्न गएको असुबिधा र अशुरक्षाको बारेमा टड्कारो ब्याख्या गरिएको छ)
+++

४) लघुकथाएँ  ✍️आलोक कुमार सातपुते
832, हाउसिंग बोर्ड कालोनी सड्डू रायपुर छत्तीसगढ़ भारत
अनुवाद- श्री एकदेव अधिकारी
रत्ननगर - १, साैराहा चाैक,
प्रदेश नम्बर ३, चितवन। नेपाल

हामी सबै एकै हौँ (हम सब एक हैं)
स्वतन्त्रताको पश्चात त्यस देशमा लागु भएको लोकतान्त्रिक पद्धतिमा सत्तापक्षले राजतन्त्रको जस्तै परम्परा चलाउन थाल्योप, अनि विरोधीहरूले लोकतान्त्रिक पद्धतिबाट बिरोध दर्ता गरे। अनि जनताले विरोधिलाई नै सत्ता हस्तान्तरण गऱ्यो। अनि त अपराधीहरूलाई अपराध गर्ने छुट मिले झैँ भयो। देशमा खुल्लेआम अपराध हुन थाल्यो। रिसले चुर भएर जनताले अर्को पटकको सत्ता हिजडाहरूलाई सुम्पिए।
आज विभिन्न राष्ट्रिय समारोहहरूमा जनताहरू तिनीहरू सबैलाई एक अर्काको हात समाएर “हामी सबै एकै हौँ”को नारा लगाउँदै गरेको देख्दछन्।
...सायद अर्को पल्ट जनताले दासत्वलाई नै स्विकार गर्ने हुन् कि!

+++
हरेक मंगलबार लाइभ बाचन र विश्लेषण हुने लघुकथा छनोट कार्यक्रमका लागि यस लघुकथालाई साहित्यकार अन्जु शर्माले छनोटमा पार्नुको कारण यस्तो उल्लेख गर्नुभएको छ---

(यो कथा निकै छोटो तर धेरै संभावना बोकेको छ।नयाँ पद्धतिका  नायकहरू पनि पुरानो पद्धतिलाई स्वार्थ स्वरूप अंगाल्न पुग्छन्। बहुदलीय शासन प्रणालीमा बिरोध गर्न पाइने  कुरा उल्लेख छ।विडम्बना यो छ कि जनताले सहि ठहर्‍याएर सत्तासीन गराएका  मान्छे अपराधी र नालायक ठहर्छन्।तिनै नालायकलाई जनता आफू जस्तै ठानेर हिड्छन्।यो सब देखिरहेका समिक्षक तथा अनुसन्धानकर्ता जनता पून:दासत्वमा जाने अनुमान गर्छन् ।मुख्य उद्देश्य सोच परिवर्तन हुन जरुरी देखिन्छ ।)
+++
५) लघुकथा- शौचालय ✍️रमेन्द्र कोइराला
इनरुवा-९ बबिया, सुनसरी
      " तँलाई झोला ठिक ठाउँमा राख भनेको होइन ? " घरभित्र पस्ने बित्तिकै पुजाले छोरीलाई हकारी । सँधै माया गर्ने आमाको राता राता आँखा देखेर भर्खर बोर्डिङबाट घर आएकी पाँच कक्षाकी छोरीले छक्क पर्दै सोधी -  " मम्मी तपाईँलाई के भयो ? "
     "  तँलाई अटेरी ,अझ प्रश्न गर्छेस ? " पूजाले खाउँला झैं  गरी ।     
       " अरू दिन त मिलाएर राख्थ्यौ आज के भयो ? "अघिदेखि हेरिरहेको लोग्नेले भन्यो ।
       " सबै तिमीले उचालेको हो ।" लोग्नेलाई पनि उसले आँखा तरी । दुबै बाउ छोरी पूजाको असामान्य रुप देखेर छक्क परे । डरले एक कुनामा थन्किए ।
      ऊ भने खुट्टा बजार्दै ओछ्यानमा गएर पल्टी ।
    ऊसको दिमागमा बिहानको  दृश्य अझै नाचिरहेको थियो ।
    हतारमा शौचालयभित्र पस्दा कक्षा बाह्र पढ्ने दुई उरन्ठेउला  छात्रहरू छिटकिन नलगाई मस्तसँग अतिरिक्त बिसर्जन गर्दै थिए ।
  ०८०/१/२८

+++
हरेक मंगलबार लाइभ बाचन र विश्लेषण हुने लघुकथा छनोट कार्यक्रमका लागि यस लघुकथालाई साहित्यकार अन्जु शर्माले छनोटमा पार्नुको कारण यस्तो उल्लेख गर्नुभएको छ---

(यो मनोबैज्ञानिक कथा हो । जुन प्रयोजनका लागि बनाइएको सौचालय हो ,त्यसको विपरीत गलत काममा प्रयोग भएको छ।आधुनिकताका नाममा छाडातन्त्रको बिकास भएको देखिन्छ ।सामाजिक विकृतिको कारण एक सबल महिलामा परेको मानसिक विछिप्तताको गहिरो विश्लेषण कथाकारले गर्नुभएको छ।)
+++
अन्त्यमा कार्यक्रम श्रवण गरेर र मनोभावना प्रकट गरेर हामीलाई उत्साह थप्ने अनि युटुभ च्यानलमा गई हाम्रा गतिविधि नियाल्ने सम्पूर्ण साहित्यप्रेमीहरुलाई हार्दिक धन्यवाद दिन्छु । अब यस कार्यक्रमका संयोजक निरज कोइराला र सहजकर्ता नन्दलाल आचार्य लघुकथा विमर्श कार्यक्रम सञ्चालन गर्न आउनुहुनेछ । अर्को पटकसम्मका लागि म विदा चाहन्छु । हजुरहरु भने आजका संयोजक निरज कोइरालाका मुक्तकीला वाणी सुन्न एकैछिन प्रतिक्षा गर्नुहोला । उहाँ मुक्तकका माध्यमबाट लघुकथाको शल्यक्रिया गर्ने कुसल शब्द चिकित्सक हुनुहुन्छ । नमस्कार । धन्यवाद ।
+++

































































































































































No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...