Thursday, July 20, 2023

लघुकथा वार्तामा रामकुमार पण्डितसँग मनोहर पोखरेल-परशु प्रधान-भागीरथी श्रेष्ठ-सं.नन्दलाल आचार्य


लघुकथा वार्ता कार्यक्रममा लघुकथाकार रामकुमार पण्डितसँग मनोहर पोखरेल-परशु प्रधान-भागीरथी श्रेष्ठ-सं.नन्दलाल आचार्य


२०८० साउन ७ गते आइतबार राति ७:३० बजे 
कार्यक्रम : सर्जक सम्वाद
भाग : ६४२
प्रस्तोता : मनोहर पोखरेल 
सर्जक संवाद कार्यक्रममा रामकुमार पण्डितज्यूलाई भागीरथी श्रेष्ठ-परशु प्रधान- रामकुमार पण्डित 

मन परेको अग्रज सर्जकको लघुकथा 
१. लघुकथा: बन्द प्रसङ्ग - परशु प्रधान

मन परेको आफ्नो लघुकथा 
२. लघुकथा: दाँतको देश -रामकुमार पण्डित 

मन परेको नारी हस्ताक्षरको लघुकथा
३. लघुकथा: भोक -भागीरथी श्रेष्ठ

+++
अग्रज सर्जकको लघुकथा 
१. लघुकथा: बन्द प्रसङ्ग
- परशु प्रधान
अहिले त म जेलमा छु । सबैजना मलाई माओवादी भन्छन् । तर माओवाद के हो ? मलाई थाहा छैन । जेलमा रमाइलै लाग्यो । कमसे कम घरको जस्तो बिहान बेलुकीको समस्या त छैन । एक पेट दालभात त खान पाइएकै छ । यो रमाइलो यसरी शुरु भयो ।
छिमेकीको घरमा बिहे थियो । सम्पन्न व्यक्ति भएकाले जाँड-पानीको छेलोखेलो थियो । धेरै जाँड लागेपछि म कराएँछु - भोलि शहर बन्द ! त्यहाँका जँड्याहा साथीहरूले मलाई साथ दिए भोलि शहर बन्द । महङ्गीका विरुद्धमा शहर बन्द ।
साँच्चै हिजो शहर बन्द भएको थियो । मानिसहरू डरले बिहानैदेखि ढोका बन्द गर्न लागेका थिए । प्रहरीहरू खुलाउने कोशिसमा थिए । ठाउँ ठाउँमा झड्प पनि भए । यो खुसियालीमा एउटा साथीले बिहानैदेखि चियाको सट्टामा लोकल खुवाइदियो ।
लोकलले बेस्सरी लागेर साँझपख हामी ३/४ जना शहरमा करायौं- भोलि चक्काजाम | खबरदार कसैले गाडी चलाउला ।
अचम्मै भयो । रेडियोले मुख्य समाचार दियो- आज अनाम शहरमा चक्काजामको आव्हान स्थानीय प्रगतिशील युवाहरूले गरेका छन् । नभन्दै हिजो शहरमा न ट्रक थियो, न बस, न अन्य साधनहरू टाढा-टाढा जाने यात्रीहरु अलमलमा थिए । ती सब त्यस रात लजहरूमा बस्न वाध्य भए । एउटा लजले हाम्रो हार्दिक स्वागत गर्यो-लोकलका केही बोतलले । त्यहीं पत्रकारसँग भेट भयो । उसले हाम्रो आव्हानलाई सफल भयो भनी रिपोर्टिङ गर्यो ।
बस ! हामीलाई के थियो । रक्सीले मात्तिएर अर्को दिन हामीले रिक्सामा बसेर माइकबाट जोडतोडले फुकिदियौं- यो शहर मात्र होइन, अब देश नै बन्द । सारा यातायात बन्द । भ्रष्टाचार र महङ्गीको विरोधमा सबै बन्दै - बन्द ।
साँच्चै अचम्म भयो । हामी कसैलाई ठ्याम्मै विश्वास थिएन । अर्को दिन देश स्वतः बन्द भयो । हामी साथीभाइले एक आपसमा बधाईको आदान-प्रदान गर्यो ।
अर्को साँझ अझ जोडले रक्सी धोक्यौं । हाम्रो छलफलको विषय थियो- सधैका लागि नेपाल बन्द गर्ने । कसैले केही गर्नै नपर्ने । जताततै आनन्दै - आनन्द । त्यही आनन्दका बीच पक्राउ परियो र अहिले यहाँ जो छु ।
लघुकथा अङ्क-२०५६ 
+++

आफ्नो लघुकथा 
२. लघुकथा: दाँतको देश
-रामकुमार पण्डित 
 
    मुखभित्र दाँतको देश थियो । बत्तीस सङ्ख्या भएको देश सुन्दर, शान्त र विशाल मानिन्थ्यो । एकदिन दक्षिणतिरबाट उत्तरतिर बहेको तीव्र आँधी हुरीले त्यो देशमा क्रान्ति ल्यायो । क्रान्तिले लोकतन्त्र ल्यायो । लोकतन्त्रले अधिकार प्राप्तिको लागि हानथाप निम्त्यायो । देशको सत्तामा बङ्गारो मात्रै हालीमुहाली गरी बसेको थियो । सत्तामा बस्दाबस्दा एक दुईवटा बङ्गारो कीराले नखाएको पनि होइन । यही कीराले खाएको बङ्गारोको विरोध गर्दागर्दै अरू दाँतहरूले यस्तो भन्न थाले —
    ‘‘बङ्गारोले जस्तो हामी पनि चपाउन सक्छौँ नि, हामी चाहिँ केमा कम छाँै र ? कीरा लागेको बङ्गारो चाँइदैन - चाँइदैन !’’ यसलाई कुकुर बङ्गारोले अझ थपेर भन्यो —
   ‘‘मेरो त नामै कुकुर बङ्गारो । अरू बङ्गारोभन्दा केही कुरामा कम छैन भनेर नामैले जनाउँछ । तैपनि मलाई होच्याएर नामाकरण गरेको प्रति मेरो आपत्ती छ ।’’ उसको कुरालाई अरू दाँतले समर्थन जनाउँदै भने —
  ‘‘सबैले चपाउने काम नै गर्ने हो । आजकाल मान्छे सचेत छन् । नरमनरम खानेकुरा चपाउँछन् । चाम्रो मासु नै चपाए पनि हड्डी त कसले चपाउँछ र ? त्यसैले हामीले पनि सद्दे बङ्गाराको जस्तै अधिकार पाउनु पर्छ, कीरा लागेको बङ्गारो निकाल्नु पर्छ ।’’ 
  यस विरोध कार्यको नेतृत्व कुकुर बङ्गारोले गर्‍यो । विरोधकर्ताहरूलाई मुख बाहिर र भित्रका केही तत्वहरूले समर्थन जनाएर उचालेका थिए । रातदिन बन्द, हडताल हुन थालेपछि, हार खाएर बङ्गाराहरूले उनीहरूको मागको सम्बोधन गरे । समानुपातिक रूपमा आरक्षणको व्यवस्था गरी तिनीहरूलाई अधिकार दिए ।
  साना दाँतहरूले बङ्गाराको अधिकार पाएकोमा खुसी मनाए । बङ्गारोको जस्तै चपाउँदै पनि गइरहे । बजारमा ढुङ्गा नमिसिएको दाल चामल पाउन गाह्रो थियो । एकदिन मान्छेले भातको गाँस हाल्दा अन्जानवश दाँतको आकारको ढुङ्गा पनि चपायो । ढुङ्गाको भार कुकुर बङ्गारोलाई मात्रै पर्न गएछ । विचरा ! त्यो भार सहन नसकेर फेरि कहिल्यै नजोडिने गरी तीन टुक्रा भई भाँचियो ।

का म पा वार्ड न छ सिमलटार ।
+++

नारी हस्ताक्षरको लघुकथा
३. लघुकथा: भोक
भागीरथी श्रेष्ठ 
त्यो बडेमानको अचम्मको रूख थियो । त्यो रूखको हरेक हाँगाविँगाहरूमा अनेकौं रसदार, मीठा, स्वादिला र ठूलाठूला फलहरू फल्थे । त्यो रूखको फल जसजसले मनग्गे चाख्न पाउँथे, त्यसत्यसले अर्को फल विहीन रूखलाई बिर्सन्थे । त्यो फलदार रूखमा पाए त मान्छेहरूले हाँगामै अहोरात्र बसेर फलहरू कि त झोलाभरि राख्ने, कि त चुसेको चुसै गरेर कोया मात्र तल जमिनमा फाल्थे । जमिनमा हेर्ने, फलविहीन रूख हेर्ने आँखा र मन उसको कहाँ खुल्नु; त्यो रूखको हाँगामा बसेर खाने व्यक्तिहरू जाली, फटाहा धूर्तहरू हुन्थे । ती व्यक्तिहरूले आफ्ना छोराछोरी, श्रीमती, सहोदर आफन्तहरू र चाकडीबाजहरूलाई भने त्यो रूखमा चढ्न छुट दिन्थे । तिनीहरूले पनि त्यसै गरेर फल खान्थे र कोया तल फाल्थे ।
तिर्खाएका र त्यो फल चाख्न नपाएका मान्छेले टुलुटुलु हेर्ने र मनमनै गाली गर्ने क्रम जारी थियो ।
बोक्रा, कोया र छोक्राको भुइँभरि यति धेरै थुप्रो लाग्यो कि, फलहीन मान्छेहरू रिसाएर त्यो सबै टिपेर माथि हाँगामा बसेका मान्छेतिर फ्याँक्न थाले । तर ती बोक्रा, कोया र छोक्राहरू यति हलुङ्गा थिए कि उल्टै खसेर आफैँमाथि पर्थे । आनन्दले फल खाइरहेका ती मानिसहरूलाई कुनै चोट लागेन, उल्टै फलहरू चुस्दै फाल्न थाले उनीहरूले । फल खान नपाएर रिसाएका, तिर्खाएका र भोकाएका मान्छेहरूले जब हान्नलाई ढुङ्गा टिप्न थाले, तब ती मानिसहरूको होस उड्यो । डरले तिनीहरूले रूखबाट झरेर ती भोका मान्छेहरूलाई रूख चढ्न छोडिदिए ।
चपली, काठमाडौं
साभारः सुलेख साहित्यिक मासिक २०७६ वैशाख

+++






































































































No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...