(सन्दर्भ– लुतो फाल्ने दिन)
लघुकथा– लुतो
–नन्दलाल आचार्य
‘यस्तरी मलखाडीमा के हुइक्याउनुभएको मामू ?’ प्रहरी हिरासतबाट छुटेर दलानमा टेक्तै गभर्नरले आमासँग प्रश्न राख्यो ।
‘तँ नामको गभर्नर छस् । धनमा सुधामा होस् । तर ब्यावहारमा सुधामाझैँ सज्जन भइदिएको भए मेरो मुटु किन दुई फ्याक हुन्थ्यो ?’
कुरकुरे बैँसमा भर्खरै उक्लेको गभर्नरले आमाको अमूर्त कुरा बुझ्न सकेन । त्यही कुरा मिठो मुखले भन्न आग्रह गर्यो । परिस्थिति अनुकूल देखाएको भए पो मुस्कुराउनू भनेर आमाले जवाफ फर्काइन् ।
‘उसो भए म जेलमै कुहुँदा तपाईंको अनुहारमा लालीगुराँस फुल्छ ? जीवन नै वसन्तमय हुन्छ ?’ क्रोधलाई दबाउँदा दबाउँदै पनि गभर्नरका मुखबाट यत्ति शब्दहरु भने बाहिर निस्की हाले ।
‘हरप्रश्नको जवाफ मेरो मुखबाट पाउन तँ मेरो कोखको सन्तानजस्तो हुनुपर्छ ।’ आफ्नो जन्म बारे आशंका राखेकोमा तोरीका फूल देख्यो गभर्नरले ।
‘तँलाई जन्माउँदैमा म तेरी आमा हुन्न ।’ आमाको आक्रोशले आशमान छुँदै थियो । गभर्नरले शब्द चुहाउनासाथ चट्याङ्गले लाग्ने अवस्था थियो ।
आफ्नो हात तल परेकोमा मनलाई थुम्थुम्याउँदै नरम बोलीमा गभर्नरले भन्यो; ‘लहैलहैमा लागू पदार्थ खान बानी परिहालेँ । सुरुआतमा खबरदारी गर्ने एउटा पनि चरोमुसो थिएन । अहिले संसार उल्टेको छ ।’
‘आफ्नै लागि मात्रै बाँच्ने स्वार्थीसँग मेरो गोरु बेचेको पनि साइनो छैन ।’ आमाको कठोर मन पोखियो ।
मनसँगै गन्थन गर्न गभर्नर व्यस्त भयो; ‘मलाई छुटाएको पनि हैन; मैरै नेताले फोन गर्देकाले खुला आकाशको छानो पाएँ । घरमा फेर्ने कपडा लगायत मेरो नामका अन्य सारा वस्तु छैनन् । मामूले अघिदेखि भुत्भुताउँदै फालेका चिजहरु के हुन् ?’
आमा दलानमा गजधम्म परेर बसिन् । गभर्नरका आँखा मलखाडीतिर हुत्तिए– आफ्ना लत्ताकपडा, जुत्ताझोला, ओड्नेओछ्याउने, नेतातेतृका फोटा र राजनैतिक दस्ताबेजहरु मलखाडीमा असरल्ल थिए !
आमातिर फर्कंदा सुन्न पायो– साँझमा लुतो फालूँला भनेको तेरो अनुहार देख्नासाथ दिउसै फाल्नुप¥यो ।
२०८०–०४–०१ साउने संक्रान्ति, सोमबारे औँसी, लुतो फाल्ने दिन ।
सिद्धार्थटोल, उदयपुर । अहिले– सिर्जनाकुटी, सिरहा ।
+++
कविता- फर्केर आउ घर -- कवि सुदेश सत्याल
पैसाले सवथोक आउँछ भने मायाँ किनि ल्याउनु
पैसाले यदि शान्ति मिल्दछ भने उद्यान के धाउनु
हो सम्भाव्य विकास कार्य छ यही खाडी गयौ है तर
यो सानो झुपडी बुझे महल हो फर्केर आउ घर
मान्छे आज विदेशको झिलिमिलि देखि रमाए पनि
आमाकै प्रीय हुन्छ काँख जहिले लाखै कमाए पनि
होमिन्छौ किन हो र बेच्न पसिना गर्नु यही जाँगर
आफ्नै देश सिंगार्नु पर्दछ यहाँ फर्केर आउ घर
बाँझो खेत जताततै छ जन हो के काम खोज्छौ भन
नेपाली हुनुमा छ गौरव स्वयं के नाम खोज्छौं भन
हो तिम्रै श्रमशक्तिले मुलुक यो बद्लिन्छ है भर्खर
मुलैमुल अवश्य फुट्दछ यही फर्केर आउ घर
देखाउ बरु देशमै बसेरै पाखो पखेरो खनी
मोती फल्दछ है परीश्रम गरे यही मृतिकामा पनि
तिम्रै कर्मठ हातबाट धरती बन्नेछ यो उर्वर
पक्कै उन्नती हुन्छ पौरख गरे फर्केर आउ घर
बुझ्छौ गोप्य कुरा विदेशतिरको ढोका चियाएपछि
के फल्दैन हुँदैन के दशवटा नङ्गा्र खियाएपछि
के जान्छौ र विदेशमा यही उद्योग र धन्दा गर
आमाको अनुहार चाउरीसक्यो फर्केर आउ घर
- कवि सुदेश सत्याल
+++
No comments:
Post a Comment