Sunday, July 16, 2023

शान्ता तिम्सिनाको रोजाइका पाँच लघुकथा-निरज-लक्ष्मी-अपुरो-लता-किशन-सुनिता-नन्दलाल आचार्य सहजकर्ता

शान्ता तिम्सिनाको रोजाइका पाँच लघुकथा-निरज-लक्ष्मी-अपुरो-लता-किशन-सुनिता
 
साहित्यकार शान्ता तिम्सिनाको रोजाइका पाँच लघुकथा २०८० साउन ०९ । श्रृङ्खला–६४४) संयोजक- निरज कोइराला, प्रस्तोता- लक्ष्मी रिजाल, सहजकर्ता- नन्दलाल आचार्य, व्यवस्थापन सक्रियतामा मनोहर पोखरेल, प्रविधिमा गरिमा आचार्य ।
लघुकथाक्रम-
१. लघुकथा- धनका कुरा ✍️राजु क्षत्री अपुरो 
२. लघुकथा- लघुकथा : हल्लैहल्ला ✍️लता के सी
३. लघुकथा– माया- ✍️किशन पौडेल
४. लघुकथा- माम्री लागेको भात ✍️सुनिता निरौला पौडेल
५. लघुकथा- दु:खद अन्त्य ✍️शान्ता तिम्सिना

+++

 साउन महिनाको हरेक मंगलबार (रोजाइका लघुकथा प्रस्तुतीकरण कार्यक्रम) प्रशिक्षक तथा संयोजक–  निरज कोइराला, सह–संयोजक तथा प्रस्तोता– लक्ष्मी रिजाल (मिति–  २०८० साउन ०९ । श्रृङ्खला–६४४) (समय– ७ः३० बेलुका)
+++
+++
सम्पूर्ण साहित्यप्रेमीहरूमा नमस्कार । अहिले रातको ७ः३० बजिसकेको छ । यो समय हो लघुकथा प्रतिष्ठानको मङ्गलबारे साप्ताहिक कार्यक्रम– रोजाइका लघुकथा प्रस्तुतीकरण कार्यक्रम । आजको प्रस्तोता म हुँ– लक्ष्मी रिजाल । कार्यक्रमको सहजीकरणमा नन्दलाल आचार्यले सघाउँदै आउनुभएको छ ।
यस कार्यक्रमको संयोजकमा निरज कोइराला रहनुभएको छ । व्यवस्थापकीय सक्रियतामा मनोहर पोखरेल र नन्दलाल आचार्य रहनुभएको छ । यस कार्यक्रमको प्रशारण फेसबुक लाइभमा हुन्छ । रेकर्ड भएको भिडियो र अन्य गतिविधिहरु युटुभ च्यानलमा पनि सुरक्षित रहन्छ । त्यस कारण लघुकथा प्रतिष्ठानका हरेक कार्यक्रम आजका लागि मात्रै नभई भोलिका लागि पनि हो भनी बुझिदिन सादर निवेदन छ ।
 साहित्यकार शान्ता तिम्सिनाको रोजाइका लघुकथा प्रस्तुतीकरण कार्यक्रममा समाविष्ट लघुकथाक्रम यस्तो छ–
+++
लघुकथाक्रम-
१. लघुकथा- धनका कुरा ✍️राजु क्षत्री अपुरो 
२. लघुकथा- लघुकथा : हल्लैहल्ला ✍️लता के सी
३. लघुकथा– माया- ✍️किशन पौडेल
४. लघुकथा- माम्री लागेको भात ✍️सुनिता निरौला पौडेल
५. लघुकथा- दु:खद अन्त्य ✍️शान्ता तिम्सिना

+++
साहित्यकार शान्ता तिम्सिना रोजाइमा परेका पाँच लघुकथाहरु :-

१) साहित्यकार शान्ता तिम्सिनाको रोजाइको पहिलो लघुकथा- धनका कुरा ✍️राजु क्षत्री अपुरो

रमा आफ्नो श्रीमानसित माइत पुग्दा उसको सान नै बेग्लै देखिन्थ्यो । आङैभरी गरहना देखेर आफन्तहरूका आँखा चम्किए। साथी सङ्गिनीहरूले जिब्रो टोके।

"गाडी नै पचास लाख भन्दा कमको रहेनछ त "- एउटिले खुसुक्क कुरो झिकी ।

" तिन करोडको त घर छ अरे ! "- अर्किले थपी।

"चालीस पचास लाखको त सामानै छ भन्थे "- अर्किले आँखा नचाउँदै "रे" का कुरा अगाडी सुनाई ।

"हुनेखाने घरमा परिछे, भाग्यमानी रहिछे। हामीपनि यस्तैमा पर्न पाए पो !" अर्किले कल्पना गर्न थाली ।

छोरीका साथीसङ्गिनीहरूका खुसरपुसर कुरा आमाले पनि सुनिन् । गर्वले छाती ढकमक्क फुल्यो।यता रमाको अनुहार भने मलिनै थियो।सबैले धनका कुराहरू गरिरहेका थिए तर श्रीमानले बैँकबाट लिएको ॠणको कुरै थिएन ।

+++

साहित्यकार शान्ता तिम्सिनालाई यो लघुकथा मन पर्नुका कारण उहाँले यसरी उल्लेख गर्नुभएको छ-
1. कथाले आफ्नो घाँटी हेरेर हाड निल्न नसक्दा आउन सक्ने नकारात्मक पक्षको जानकारी दिएको छ।

2. बाहिर जति नै मुस्काउन खोजेपनी भित्री मनमा पिर छ भने मुहारले बताउछ भन्ने सन्देश दिएको छ।

3 आजभोली समाजमा बढेको बिकृती र देखावटी सान प्रती दह्रो व्यंग्य हानेको छ कथाले ।.



(2.) साहित्यकार शान्ता तिम्सिनाको रोजाइको दोश्रो लघुकथा : हल्लैहल्ला -लता के सी

तीनकुने , काठमाण्डौँ ।

`` फलानोको छोरा त गाँजा खान्छ रे ! ´´ भनेर समाजमा गाईँगुईँ चलेपछि रामप्रसाद आत्तिएका थिए ।

`` छोरालाई अलि कडाइ गर् है ! मागेजति खर्च दिएर जथाभावी गर्ला नि ! ´´ उनले स्वास्नीलाई हकारे ।

`` लाठे भएसी बाउको छोरा भन्छन् के रे ! मैले भनेको टेर्छ त ? ´´

स्वास्नी पनि उसै गरि च्याठ्ठिइन् ।एकदिन छोरालाई सम्झाए , `` के पारा हो तेरो ? बुढेसकालको लठ्ठी भनेको त झन, लक्षण राम्रो छैन त ! तेरो समस्या के हो ?

 ´´ऊ लापर्वाहीसंग बोल्यो, ``के भयो ?´´क्या वाइयात् कुरा गरेको ?´´ ´´बाउ बौलाहाझैँ कराए । 

सुनिसकेपछि उसले धम्कीको भाषा बोल्यो , `` म विदेश जान्छु । मेरो अनुहार नदेखेपछि शान्त होला नि ? 

´´बाउले कुलङ्घार भन्दै घरको दाना पानी बन्द गरे । ऊ पनि के कम ? साथीको लहैलहैमा ऋणपान खेपेर परदेसियो । कैयौँ महिना त सम्पर्क नै गरेन । घरमा रुवाबासी चल्यो । हिजोआज त बाउको खातामा रकम पठाउन थालेछ । 

फोन गरेर भन्छ रे , `` शङ्काले लङ्का डढाएझैँ मेरोभन्दा समाजको बढी विश्वास गर्नु भयो, बुबाले । ´´

आजकल त उनी टोलभरि भन्दै हिँडछन् ,``आखिर छोरा कसको ?´´


+++
साहित्यकार शान्ता तिम्सिनालाई यो लघुकथा मन पर्नुका कारण उहाँले यसरी उल्लेख गर्नुभएको छ-
.1. वास्तविक कुरा नबुझीकन घरमा झगडाको वातावरण श्रीजना गर्नु हुदैन भन्ने सन्देश दिएको छ कथाले ।

2. शुरुमा गाउलेक कुरामा बिश्वास गर्यो, "मेरो छोरा त्यस्तो फटाहा हुन सक्दैन भन्न सकेन जब छोराले पैसा पठाउन थाल्यो गर्बका साथ उ भन्दै थियो कि " आखिर छोरा कस्को हो नि ! " 

३ ) साहित्यकार शान्ता तिम्सिनाको रोजाइको तेश्रो लघुकथा- माया-किशन पौडेल

बुढीको कर्कश व्यवहारबाट आजित भएपछि उसले आत्महत्या गर्ने निर्णय गरेर सुटुक्क घरबाट निस्कियो ।अलि पर पुगेर घर तिर फर्किएर लोभलाग्दो नजरले हेर्‍यो । 

"कति सुन्दर घर दुख गरेर जोडेको सुखसँग बसुँला भनेर भाग्य मै रहेन छ ।" 

मनमनै आफ्नो भाग्यलाई धिक्कार्दै अगाडि बढ्यो ।हिँड्दै गर्दा मनभित्र अनेक तर्कनाहरू दौडिन थाले । बिचरा छोरो भर्खरै एस.एल.सी.को जाँच दिएर बसेको छ डाक्टर बन्छु भन्थ्यो अब कसले उसलाई मार्गनिर्देशन गर्ला। आ.. ! जे होस अब त उसको नि बुद्धि आइसकेको छ जे गर्ला गर्ला मनलाई चित्त बुझाउँदै ऊ अगाडि लम्कियो ।

एकछिनमा छोरीको अनुहार मन भित्र दौडिन थाल्यो "बिहे गर्ने बेला हुँदै थियो राम्रो ज्वाइँ खोजेर अब कसले बिहे गरिदेला है ! जे होस् छोरी बुझ्ने भएकी छ अब आफै केटा खोजेर नि जान सक्छे।" भन्दै मनलाई दरो बनाउँदै ऊ आफ्नो आत्महत्या गर्ने विचारमा अडिग हुँदै अगाडि बढ्यो ।

खोला नि आइपुग्यो पुलको बिच भागमा गएर उभियो तल हेर्‍यो गहिरो रहेछ अब यहीबाट हाम फालेर मर्छु । बुढीलाई नि आनन्द हुन्छ रातदिनको झगडा अब अन्त्य गरिदिन्छु भन्दै हाम फाल्न तयार भयो ।

अकस्मात् बगली भित्र मोबाइलमा घण्टी बज्यो हेर्‍यो बुढीको रहेछ उठायो-"कहाँ मरेको हो यस बेलासम्म घरमा नमुन्टिएर रक्सी धोक्न गएको हो कि क्या हो ?"

बुढीको कर्कश आवाज कानमा घनले ठोकिए झैँ ठोकिँदै थियो.....

"छिटो घर आऊ कालेको बा !"आज मैले तिमिलाई मन पर्ने मिठो खानेकुरा पकाएर राखेको छु ।"

उसले एकै झट्कामा बुढीको गाली सबै बिर्सियो ।
***
हेटौंडा 

साहित्यकार शान्ता तिम्सिनालाई यो लघुकथा मन पर्नुका कारण उहाँले यसरी उल्लेख गर्नुभएको छ-
1. एउटा त बुढाबुढीको झगडा परालको आगो भन्ने उखानको ज्वलन्त उदाहरण बन्न सक्छ यो कथा।

2. बुढाबुढिमा जति नै झगडा परे पनि गाली भित्र माया लुकेको हुन्छ भन्ने संदेश पनि पाइन्छ। 

४) साहित्यकार शान्ता तिम्सिनाको रोजाइको चौथो लघुकथा : माम्री लागेको भात✍️सुनिता निरौला पौडेल

"हैन !अहिलेसम्म खाना पाकेको छैन दुलही ? किन हौ आज भोलि तिमीले ढिलो गर्छ्यौ नि! " बुहारीलाई सम्झाउँदै आमा भान्साकोठातिर लाग्नुभयो ।

"लौन नि ! किन ढिलो भनेको त मोबाइल पो चलाएर बसेकी ! यो पाराले कसरी खाना पाक्छ ?अस्ति पनि सब्जी डढेर खाईनसक्नु भएको थियो।"

"आमा मैले त्यसै मोबाइल चलाएको छैन।खाना पकाउँदै अफिसको काम गर्दैछु । सब्जी त कहिलेकाहीँ त्यहीँ बसेर पकाउँदा पनि डढ्छ नि!"

" अफिसको काम त उतै पो गर्नुपर्ने हो ! खाना पकाउँदा अलिक ध्यान देउ हइ !" आमा मोबाइलमा दोहोरी गीत हेर्दै आफ्नो कोठातिर लाग्नुभयो।

"आमा ! अफिसमा आज मिटिङ बस्ने भएकोले अलिक ढिला हुन्छ। नातिनीलाई स्कुलबाट आउँदा खाजा दिनु हइ !" हतारिएर बुहारी अफिसतिर लागिन्।

"हजुरआमा ! मलाई भोक लागेको छ,खाजा दिनु न । पख् न नातिनी ! एउटा सिरियल सकिन लाग्या छ ।" मोबाइलमा व्यस्त हुनुभयो उहाँ ।

केही दिनमा उनी पर सरिन् ।आमा भान्से हुनुहुन्थ्यो । "अझै खाना पाकेको छैन ।अफिस जानलाई ढिलो भयो आमा ।" 

भान्साघरमा उनी जाँदा दोहोरी गीत हेरेर मस्त हुनुहुन्थ्यो । "आमा ....आमा.... । खै ! खाना दिनुन ।"बुहारीले भन्न थालिन् ।

उहाँले खाना पस्किँदै भन्नुभयो : " डडेको भातको माम्री त मलाई कस्तो मिठो लाग्छ ।"

भक्तपुर : राधे ,राधे निकोशेरा ।

+++
साहित्यकार शान्ता तिम्सिनालाई यो लघुकथा मन पर्नुका कारण उहाँले यसरी उल्लेख गर्नुभएको छ-
अरुलाई भन्न सजिलो छ।तर आजभोलि मोबाइलको कारण मानिसलाई यति एकोहोरो बनाईसकेको छ कि भात डडेको पनि थाहा हुँदैन भन्ने समसामयिक अहिलेको यथार्थ संदेश बोकेको कथामा पाएँ।

५) साहित्यकार शान्ता तिम्सिनाको रोजाइको पाँचौ लघुकथा- दु:खद अन्त्य  -शान्ता तिम्सिना

भक्तपुर 

एकदिन पनि उनको फोन नआउँदा अजय छट्पटिन्थ्यो ।समय बित्यो तर आज फोन आएन । उसले न्यास्रो मान्दै आफैँ कल गर्यो । उनी कारण बताउँदै थिइन् ।

ऊ उत्ताउलो भएर भन्दै थियो, ``तिमीसँग नबोली कहाँ बाँच्न सक्छु र ? ´´

सुरू सुरूमा त दुबै जना सामाजिक सन्जालमा व्यस्त हुन्थे । माया पिरतीका कुरा गर्थे । अब दुबैको जागिर भएपछि बोलीचाली पातलो हुन थालेको थियो । अनु गाउँ छाडेर सहर पसी । शहरको वातावरणले परिवर्तन हुँदै हुँदै जान थाली । अजयलाई पहिलाजस्तो मह्त्व दिन छाडी ।

एकाएक उसमा आएको परिवर्तन देखेर उसले धेरै सम्झायो तर सम्बन्ध पुरानो जस्तो हुन सकेन । एकदिन उसले फोन गरेर भेटने इच्छा गर्यो । आफ्नै मामासँग बस्ने हुनाले उसलाई खासै अप्ठेरो नपर्ने थियो । कोठामा नै बोलाई उसले । खाना खाएर एकछिन कुराकानी गरे । 

अनुले भनी, `` हामी छुट्टिएर स्वतन्त्र बाँचौँ । ऊ खिन्न भयो । दुबै अलग अलग कोठामा सुते । बिहान सबेरै मामा भएको कोठामा फेरि जम्मा भए उनीहरु ।आफुले धेरै माया गरेको मान्छेको व्यवहार उसले सहन सकेन । छटपटी भयो । मामासंग ड्रिङ्स गर्ने प्रस्ताव राख्यो । मामाले पनि स्वीकार गरे । उनी रक्सी किन्न पसल गए । जब फर्किए , उनले कारूणिक दृश्य देखे, भाञ्जीको लाश ! ऊ हत्या गरेर भागीसकेको थियो।
+++
साहित्यकार शान्ता तिम्सिनालाई यो लघुकथा मन पर्नुका कारण उहाँले यसरी उल्लेख गर्नुभएको छ-
1. यो हाम्रो जिल्लामा भएको वास्तविक घटनालाई लघुकथाको रुप दिएको हुनाले। 2. अहिलेको समाजमा लभ पर्नु त्यसपछी मर्नु र मार्नु सामान्य कुरा भएकाले।

+++


अन्त्यमा कार्यक्रम श्रवण गरेर र मनोभावना प्रकट गरेर हामीलाई उत्साह थप्ने अनि युटुभ च्यानलमा गई हाम्रा गतिविधि नियाल्ने सम्पूर्ण साहित्यप्रेमीहरुलाई हार्दिक धन्यवाद दिन्छु । अब यस कार्यक्रमका संयोजक निरज कोइराला र सहजकर्ता नन्दलाल आचार्य लघुकथा विमर्श कार्यक्रम सञ्चालन गर्न आउनुहुनेछ । अर्को पटकसम्मका लागि म विदा चाहन्छु । हजुरहरु भने आजका संयोजक निरज कोइरालाका मुक्तकीला वाणी सुन्न एकैछिन प्रतिक्षा गर्नुहोला । उहाँ मुक्तकका माध्यमबाट लघुकथाको शल्यक्रिया गर्ने कुसल शब्द चिकित्सक हुनुहुन्छ । नमस्कार । धन्यवाद ।



+++











































































































No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...