Saturday, July 15, 2023

लघुकथा छलफल कार्यक्रम- अम्बिका बास्तोला+डा. पुष्करराज भट्ट (२०८०–०४–०१ श्रृङ्खला–६३६)-सरण-उराठी-अन्जु

लघुकथा छलफल कार्यक्रम- अम्बिका बास्तोला+डा. पुष्करराज भट्ट 
 (२०८०–०४–०१ श्रृङ्खला–६३६)

सोमबार– (लघुकथा छलफल कार्यक्रम)सह-संयोजक तथा प्रस्तोता– अम्बिका बास्तोला+प्रशिक्षक- डा. पुष्करराज भट्ट (मिति–२०८०–०४–०१ श्रृङ्खला–६३६) समय– ७ः३०–८ः३० बेलुकी ।।
1) लघुकथा- फ्रेमभित्र मुस्कुराइरहेको तस्वीर -सरण राई 
2) लघुकथाःआ-आफ्नै डम्फू  -मित्र 'उराठी' गौतम
3) प्रकृति र नारी (लघुकथा) -अन्जु शर्मा 


(बालविषयक लघुकथा लेखनका आधारभूत मान्यता बारे प्रष्ट्याइदिन प्रशिक्षक डा. पुष्करराज भट्ट सरलाई निवेदन छ । कृपया यस प्रश्नको जवाफ लघुकथा विमर्शपछि अन्त्यमा दिनुहोला ।)
+++
1) लघुकथा- फ्रेमभित्र मुस्कुराइरहेको तस्वीर -सरण राई 

जिन्दगी गरिबी र अभावमै बित्यो । भने जस्तो मीठोमसिनो खाने इच्छा, राम्रो लाउने रहर र देशविदेश डुल्ने कामना कहिल्यै पूरा भएन । एकप्रकारले अरूले दिएको जदौरी लाएर नै जिन्दगी काटियो ।
जुनबेला खान हुन्थ्यो बिहाको निम्तो खान जाउँ भन्दा तिनी जान मान्दिन थिइन् । धेरै बिहेहरूमा नगए पछि सोचेँ ‘किन जान मान्दिनन् ?’ शिक्षकको थोरै तलब महिनाभरको खर्च चलाउन पत्नीको गहनाहरू धितो राखियो । कति गहनाहरू त सावाब्याज तिर्न नसकेर पच भयो । बिहेमा जानका लागि गहनाहरू थिएनन् । आइमाइहरू बिहेमा गहनाले सजिएर पहेलै भएर आउथे । साथीभाइको अगाडि लाजमर्दो भइएला । तिनी जान्नथिन् । तर कहिल्यै गहना किन्दिएनौ भनेर गुनासो गरिनन् ।
बाजेको चौरासीमा क्यामेरा लिएर मधेस आउँनु भनेर बुबाले भन्नुभएको थियो । ति दिनहरूमा आजभोलिजस्तो डिजिटल क्यामेरा थिएन । ३६वटा फोटो खिच्ने रीलको दाम १२५ रूपिया पथ्र्याे । त्यो किन्ने पैसा नभएर नै बाजेको चौरासीमा हामी पतिपत्नी जान सकेनौँ ।
लाहुरे भाइले छुट्टीमा आउँदा गहना किनी दिन्थ्यो तर अर्को पटक आउँदा दिदीको नाक कान बुच्चै । यस्तो अवस्थामा फोटो खिचेर फ्रेममा सजाउने कल्पना नै हुँदैनथ्यो । तिनी बाचुन्चेल तिनको सिङ्गल ठूलो तस्वीर फ्रेमभित्र राखेर झुन्डाउन सकिएन ।
रोग लागेपछि त फोटो खिच्ने रहरै हरायो । मधुमेह, थाइराइड, उच्च रक्तचाप, मृगौलाको रोगहरू । डायलाइसिस गर्दागर्दै मुटुको रोग थपियो । आखिर रोगहरूले तिनलाइ पराजित गरे, तिनको प्राणान्त भयो ।
मृत्युपछि फ्रेमभित्र राखिएका तिनको नाममा श्रध्दान्जली पत्रहरू थुप्रै आए । ती फ्रेमभित्र राखिएका तिनको नामका श्रद्धाञ्जली पत्रहरू जति हे¥यो मन भक्कानिएर आउँने... आखिर रुवाएर नै छाड्ने । यसरी रोइरहने हो भने बाँच्न सकिन्न ।
फ्रेमभित्र राखिएका श्रद्धाञ्जली पत्रहरूको साइज नापेर त्यसै अनुसारको तिनको मुस्कुराइरहेको सिङ्गल तस्वीरहरू प्रिन्ट गरेर ल्याउँछु । श्रद्धाञ्जली पत्रहरू हटाएर ति फ्रेमहरूभित्र तिनको मुस्कुराइरहेको सिङ्गल तस्वीरहरू राख्छु । बाचुन्जेल फ्रेमहरूभित्र राख्न नसकिएको सिङ्गल तस्वीरहरू...मरेपछि नै भएपनि फ्रेमहरूभित्र राख्छु । र, फ्रेमहरूभित्र सजिएको तिनको मुस्कुराइरहेको तस्वीरहरू हेरेर म मुस्कुराउने असफल प्रय।स गर्छु ।    २०७५।९।२२ धरान
+++
2) लघुकथाःआ-आफ्नै डम्फू  -मित्र 'उराठी' गौतम
अमरपुर –गुल्मी, हालःतिलोत्तमा -२, रुपन्देही
"तँ ढोँगी। साले उपदेश छाँट्छ,जान्ने पल्टेर।´´ भर्खर नाचेर थाकि बसेको अभयले झम्टन खोज्यो भानुलाई।
``पिकनिकको रमाइलोमा गीत बजाउँदै,नाँच्दै मस्तिमा झुमीरहेका साथीहरूलाई तैँले पनि 'दैत्य नृत्य' भनेर नभन्नु पर्थ्यो नि त।´´ भानुलाई रोशनले सम्झाउँदै भन्यो।
`` मासु,मदिराको आहालमा डुबेर बेढङ्गले नाच्नु `दैत्य नृत्य´ नै हो।´´खाँदै गरेको शाकाहारी खानाको थाली भुँईमा राख्दै जवाफ फर्कायो भानुले।
``न हामीलाई मांसाहारीको जस्तो नङ्ग्रा दिएको छ,न त मांसाहारीको जस्तो दाँत नै।हाम्रो आन्द्रा पनि शाकाहारी प्राणीको जस्तै छ।त्यसैले शाकाहारी हुनु पर्छ।शाकाहारी हुनुमै मनुष्यको भलो छ, मात्र त भनेको थिएँ। त्यति भन्दा नै जङ्गिएपछि 'दैत्य नृत्य' भन्दिएको हुँ।´´भानुले अझ प्रष्ट्याउन खोज्यो मूल कुरो।
``मानव पुर्खा जङ्गली अवस्थामा हुँदा प्राकृतिक रुपमै मासु खान शुरु गरेका हुन्।पछिपछि शिकारको अभाव हुँदै गएपछि कन्दमूल,फलफूल खान सिके।विस्तारै पशुपालन थाले, खेतीपाती गर्न लागे।यसरी माछा,मासु,फलफूल,सागपात खान प्रकृतिबाटै सिकेका हुन्।बाघ, सिंह जस्ता जनावरहरुले शुरुबाट मांशाहार अपनाए त्यसमै अभ्यस्त छन्।गाई,बाख्रा,मृग जस्ता जनावरहरुले शाकाहार अपनाए ती पनि त्यसमै अभ्यस्त छन्।अनि मान्छेले प्राकृतिक रुपमै दुबै सिक्यो,त्यही अपनायो।कुरो वुझ्नु छैन् त्यसै प्यारप्यार !´´ अभय पुनः जङ्गियो।
``मैले त अनुसन्धानले देखाएको कुरा न बोलेको हुँ।के खाने,के नखाने आफ्नो मर्जी।´´भानुले वेवास्ताभाव प्रकट गर्यो।
`` मान्छेलाई प्रकृतिले नै शाकाहार,मांसाहार दुबै खान योग्य बनाइदिएको छ।जसलाई जे रुचि हुन्छ उही खान्छ त।किन जान्ने पल्टेर पण्डित्याइँ छाँट्नु ?´´अभयको रिसको पारो अझै ओर्लेन।
+++
3) प्रकृति र नारी (लघुकथा) -अन्जु शर्मा 
रातोपुल(2080/03/28)
" यत्रो पानीमा भिजेर के पो रोप्दैहुनुहुन्छ सान्नानी दिदी ?"
 " उही त हो नि मैया  ;पिपल ,समि,अमला र तुलसीका बिरुवा सार्न लागेकी।यिनै बिरूवाका जराले सिंचेको पानी अमृत समान हुन्छ भन्छन् ।त्यसमा पनि अक्सिजनको मुल श्रोतका रूपमा चिनिएका बिरुवा घरको आसपास रोप्नै पर्यो नि।हैन र?"
   " बुझ्नेलाई श्रीखण्ड ,नबुझ्नेलाई खुर्पाको बिड" भन्या जस्तो नारी र प्रकृति उस्तै हो आफू मिटाएर अरूलाई खुवाउने ।तर के गर्नु मान्छेको बुद्धि उल्टो हुँदै गयो ।नारीलाई झैं बलत्कार ,शोषण ,दमन प्रकृतिलाई गर्न पछि परेनन् मान्छे ।त्यसको मारपनि नारीलाई नै पर्न गयो दिदी ।"
    - मैयाँ साबिस्तार लाउछिन्।
 "  नयाँ बर्ष भन्दै जंगल सफारी गराउन गएका मेरा बुढा गैंडाको बास्थानतिर पुगेछन।हात्ती र गैंडाको भिडन्तमा ज्यानै गुमाए ।तल्लाघर ठूलेको छोरो टुरिष्ट गाइड गर्न गएको हिमपहिरामा परेर बेपत्ता भन्छन् ।मनोरञ्जनका नाममा प्रकृति माथि खेलबाड गर्दा पति छोरा गुमाउनुको पीडा यहाँ कस्ले बुझ्झ र?"धन कमाउन र मनोरञ्जन गर्न कै लागि प्रकृतिको दोहन गर्न थालेसी प्रकृतिले नि बदला स्वरूप बाडी,पैरो,कटान ,भुकम्प आदि द्वारा मान्छेलाई सजाय दिन थालिन् ।त्यहीँ भएर भन्या होलान् " भकुण्डो जति थिच्यो उति माथि उफ्रन्छ।"
   " ओहो कति गहिरो कुरा गरिस् तैंले।वास्तवमा प्रकृतिका समान अंशियारहरूले एकअर्कालाई संमान गर्न नसके प्रकृतिले त्यसको बिनास अवस्य गर्छिन्। जेसुकै भए पनि  हामी नारी जाती भनेका प्रकृतिको उच्च उपहार हौं।यो अमला र तुलसीको बिरुवा लगेर आँगनमा रोप्नु ईश्वरको बास हुन्छ " ।सान्नानी दिदीले मैयालाई बिरुवा हस्तान्तरण गर्नुभयो ।
+++
























































































+++

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...